न्यू अर्लिन्समा भिडमा गाडी जोत्दा १५ जनाको मृत्यु


बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडियो अपलोड गरेको पाइएको बताएका छन् ।
बुधवार अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उक्त सहरमा भएको हमलामा परेर कम्तीमा १५ जनाको ज्यान जानुका साथै कैयौँ घाइते भएका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरे। उनले संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएका छन् ।
अधिकारीहरूले भिडमा गाडी जोतेर हमला गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको बताएका छन् । उनीहरूका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद–दिन जब्बर हुन् ।
उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए । प्रहरीका अनुसार उनले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए। त्यस क्रममा १५ जनाको ज्यान जानुका साथै अन्य ३५ जना घाइते भएका हुन् । संघीय जाँच ब्यूरो एफबीआईले भिडमा कुदाइएको ट्रकमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको जनाएको छ ।
त्यसपछि उक्त घटनालाई ‘आतङ्कवादी कार्य’ मानेर अनुसन्धान गरिरहेको एफबीआईले जनाएको छ । उक्त घटनाका निम्ति ती व्यक्ति मात्र एक्लै जिम्मेवार नभएको र अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने न्यू अर्लिन्सका अनुसन्धानकर्ताहरूले बताएका छन् ।
आक्रमणमा प्रयोग भएको ट्रक र अर्को क्षेत्रमा सम्भावित विस्फोटक पदार्थहरू पाइएको अधिकारीहरूले बताएका छन् ।यसैबीच अमेरिकाकै लस भेगासस्थित ट्रम्प होटल बाहिर पटकाहरू तथा इन्धन भरिएका टिनका भाँडाहरू राखिएको एउटा साइबर टेस्ला ट्रक विस्फोट भएको छ ।
उक्त विस्फोटनपछि अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ । विस्फोटनका कारण त्यसमा रहेका चालकको ज्यान गएको छ भने अन्य सात जना मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् ।