सगरमाथाको कीर्तिमानी आरोही बुढामगरलाई एमालेको सम्मान


काठमाडौँ – नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गर्नुभएका हरि बुढामगरलाई सम्मान गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बिच एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् । बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्नुभएको थियो । उहाँले सगरमाथा आरोहणमा घुँडाभन्दा मुनी अङ्ग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ ।
बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । मानिसले साहस र संल्कप गर्यो भने असम्भव विषय पनि सम्भव हुने उहाँले बताउनुभयो । उहाँले सरोकार नै स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरूका विषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कीर्तिमानी आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरूलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताउनुभयो । उहाँले सगरमाथा आरोहणसँगै नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा राख्नुभयो । अपाङ्गता जागरणका लागि आगामी दिनमा काम गर्ने उहाँको भनाइ छ ।
बुढामगरले बाध्यताका कारण १५ वर्ष ब्रिटिसको जागिर खानुपरेको भन्दै अव देशको सेवा गर्ने बताउनुभयो । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।