`

पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी

Nepal One HD २६ पुष २०८१ १३:३९
विश्व

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न चाहेको बताएका छन्।

सन् २०२२ को फेब्रुअरीदेखि रुसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन्।

फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, ‘उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दै छौँ। राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ। हामीले रुस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ। यो एक रक्तरञ्जित घटना हो।’

ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन्, तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठुलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन्।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरेका छन्।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठुलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शंका व्यक्त गरेका छन्।

बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठुलो युद्धकालीन समर्थक रहँदै आएको छ र फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ।


प्रतिक्रिया