अस्ट्रेलियाका प्रधानमन्त्रीको शिरमा नेपाली ढाका टोपी
काठमाडौं । नेपाली ढाका टोपी अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको शिरमा सजिएको छ।
सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा उनले नेपाली ढाका टोपी लगाएर मञ्चमा सम्बोधन गर्दा त्यहाँ उपस्थित नेपाली समुदाय हर्ष र उत्साहले गुञ्जायमान भयो।
प्रधानमन्त्री अल्बानिज ढाका टोपी लगाएर मञ्चमा देखिनेबित्तिकै नेपालीहरूले हुटिङ र तालीले स्वागत गरे। उनीहरूले आफ्नै देशका प्रधानमन्त्री मञ्चमा उक्लिए जसरी खुसी व्यक्त गरे। कसैले हुटिङ लगाए, कसैले ताली बजाए त कसैले मोबाइलमा त्यो विशेष क्षण कैद गरे। अस्ट्रेलियाको भूमिमा नेपाली पहिचानले पाएको सम्मान देख्दा प्रवासी नेपालीहरू भावुक र उत्साहित देखिन्थे।
नेपाली समुदायसँग तिहार मनाउन पाउँदा निकै खुसी लागेको बताउँदै अल्बानिजले नेपाली संस्कृति र समुदायको प्रशंसा गरे।
उनले भने, ‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ।’ अस्ट्रेलियामा राष्ट्रिय वीरता पुरस्कार प्राप्त नेपाली मूलका प्रहरी विकास भारतीको पनि उनले चर्चा गरे।
अल्बानिजले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री बालेन शाहसँग भएको भेटसमेत स्मरण गरे। प्राकृतिक विपत्तिको समयमा अस्ट्रेलिया सधैँ नेपालको साथमा उभिने बताउँदै जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले भोगिरहेको पीडाबारे आवाज उठाउने प्रतिबद्धता जनाए।
नेपालीका लागि ढाका टोपी पहिरन होइन, राष्ट्रिय पहिचान र आत्मसम्मानको प्रतीक हो। त्यही टोपी अस्ट्रेलियाका प्रधानमन्त्रीको शिरमा सजिँदा नेपाली समुदायले गरेको उल्लासपूर्ण स्वागतले प्रवासमा पनि नेपालीपन कति जीवन्त छ भन्ने देखाएको छ।
