`

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो

खजुरा – बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताउनुभयो । उहाँका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक÷एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ । आर्थिक वर्ष २०७९÷८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी

काठमाडौँ – नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् ।

उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उहाँको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए ।

उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।

सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ ।

“अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भन्नुभयो ।
गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।

उनीहरुले शरणार्थी फारम भर्नेबाट रु १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।

गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै राससलाई बताउनुभएको थियो ।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै रु आठ करोड बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।

बाजुरामा भूकम्पको धक्का

काठमाडौँ – बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीबार काठमाडौँमा ग्रील तथा स्टिल व्यवसायी महासङ्घ नेपालको २८ औँ साधारण सभा तथा नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले देशको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रका अग्रणी संस्थाहरूले रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दक्ष जनशक्तिको अभाव, सहज वित्तीय पहुँच, ग्रीलजन्य बस्तुको मूल्यवृद्धि लगायतका विषयमा आवश्यक कदम चाल्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताउनुभयो । ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवागमन बढेको र बैङ्कहरूको ब्याजदर कमी हुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुँदै गएको सङ्केत पैदा भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा महासङ्घले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

गोदावरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताउनुभयो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उहाँले भन्नुभयो ।

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उहाँको भनाइ छ ।

उहाँले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभयो । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गर्नुभयो ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ / प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को ९होल्ड० लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ ।

ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताउनुभयो । “काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ”, उहाँले भन्नुभयो ।

कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

सिंहदरवारमा कर्मचारीको धर्ना

काठमाडौं । निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि धर्ना दिएका छन्।

संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरवारअगाडि धर्ना दिएका हुन् । कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामति सेवा ऐन ल्याउनुपर्ने माग गर्दै धर्ना दिएको हो । 

तर, निजामती कर्मचारीका अन्य संगठनले भने सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका छन् ।

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान

काठमाडौँ / परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो । सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

एटलान्टा / एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।

एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ।

घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ । (रासस-एएनआई)

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मनहरी / मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु भएको कार्कीले बताउनुभयो । मृतक दुवैको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

कीभ – रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।  

“आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  (रासस-एएफपी)

‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् ।

शरणार्थी प्रकरणमा भिआइपी जालो उजागर हुँदै गएका बेला बिहीबार थापाले आफ्नो धारणासामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।’

सो प्रकरणमा अझै अनुसन्धान गरेर सबै दोषीलाई कारबाही गर्न उनको माग छ ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन’, उनले भनेका छन् ।

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख ११ हजार ८ सय

काठमाडौँ / सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

चौतारा / सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन ।

विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा गिरी कन्सट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

डिपिआरमा उल्लेख गरिएअनुसार रङ्गशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रङ्गशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ । निर्माण व्यवसायीले निर्माण सामग्री छरपष्ट पारेका छन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेललकुदका गतिविधि ठप्प छन् । उहाँका अनुसार निर्माण सामग्री थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन ।

“ठेकदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । कसैले यसमा चासो दिएको देखिएन”, श्रेष्ठले बताउनुभयो । निर्माण व्यवसायीको ढिलासुस्तीपछि चौताराका युवाले आफैँले खर्च गरेर मैदानलाई सम्याएका छन् । “केही न केही खेलकुदका गतिविधि गर्न प¥यो भनेर हामीले आफैँले खर्च जुटाएर मैदान सम्याएका हौँ”, लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भन्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका–५ टुँडिखेलमा रङ्गशाला निर्माण गर्न लागिएको हो ।

बेपत्ता युवक पाँच दिनपछि मृत फेला

रामपुर / कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।

रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिनुभयो ।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर–५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन् । शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए । शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ ।

सन्दिपलाई आज बिहान काठमाडौँ ल्याइयो, केही बेरमा अदालत लगिँदै

काठमाडौँ – पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौँ ल्याइएको हो ।

काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँ ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

खलङ्गा – दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।

मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिनुभयो । कमला र प्रविण आमा छोरा हुन् ।

“पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताउनुभयो । “भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ”, उहाँले भन्नुभयो । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । “वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ”, डिएसपी भट्टले भन्नुभयो–“झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।” सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।

मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ ।

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन आज बेलायत जाँदै

काठमाडौँ / परराष्ट्र मन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ आज बिहान ११ः०० बजे बेलायत प्रस्थान गर्नुहुनेछ । 

सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ ।  परराष्ट्र मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ ।

काठमाडौँ आउँदै गरेका अवस्थामा उहाँलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दीपसँगै उहाँलाई पनि काठमाडौँ ल्याइँदै छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।

उहाँका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उहाँ पनि संलग्न रहेको आरोपमा बुधवार उहाँ माथि पक्राउ पुर्जी जारी गरिएको थियो ।

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्ज – आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् ।

आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिनुभयो । भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन भन्सारमै थन्किएका छन् । आयात भएका कार÷जीप छ सय २९, बस ३४, ट्रकका चेचिस आठ सय ४४, नयाँ चेचिस तीन सय ८६ र ट्र्याक्टर १० भन्सारमा थन्किएका छन् ।

सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ । “आयातकर्ताले आयात गरेर त ल्याउनुभयो, तर बजारमा सवारी साधनको खासै माग छैन, त्यसैले उहाँहरुले जाँचपास गराएर सवारी साधन लैजान चासो देखाउनुभएको छैन”, उहाँले भन्नुभयो ।

आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताउनुभयो । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आवको हालसम्ममा रु दुई खर्ब चार अर्ब ९१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत अर्थात् रु एक खर्ब २२ अर्ब ५७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । कार्यालयको चालु आव २०७९÷८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आव २०७८÷७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ ।

सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले अझै केही महिना यस्तै अवस्था हुने उहाँको भनाइ छ । यता व्यवसायीले सरकारको मौद्रिक नीतिका कारण सवारी साधान बिक्रीमा आएको ह्रास र व्यवसायीको लगानी गर्ने क्षमतामा आएको कमीले सवारी साधन भन्सारमै थन्किएको बताएका छन् ।

“अर्थतन्त्रमा सुस्तता देखिएको छ, हरेक व्यक्तिमा आर्थिक समस्यामा छन्, कसैले निर्माणका काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुबोध गुप्ताले भन्नुभयो, “देशण्को पुँजी र कर्जा नीति पनि ठीक छैन, हामीले त्यसमा सुधार गर्न धेरै पटक सरकारलाई भन्यौँ, तर सुधार भएन ।” अहिले त्यसैको असरस्वरुप बैंक तथा वित्तीय संस्था पनि ऋण प्रवाह गर्न सकिरहेका छैनन, जसका कारण यस्तो समस्या देखिएको हो, उहाँले भन्नुभयो ।

“अहिलेको अवस्थामा सवारी साधन मात्रै नभई अधिकांश समानको बिक्री घटेको छ”, गुप्ताले भन्नुभयो, “बैंकले पनि ऋण लगानी गरेको छैन, यस्तो अवस्थामा व्यवसायीले भन्सारबाट गाडी छुटाएर गोदाममा थन्काउनुबाहेको विकल्प छैन ।” जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्क्याएको उहाँले बताउनुभयो ।

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज

काठमाडौँ  – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ः०० बजे नवनियुक्त तीन मन्त्रीको ग्रहण कार्यक्रम हुनेछ  ।

प्रधानमन्त्री प्रचण्डले बुधवार काँग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति गर्नुभएको थियो भने केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा काँग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । 

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले बढेर रु एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

दम्भ र घमन्ड देखाए गठबन्धन धरापमा पर्छ : माधवकुमार नेपाल

सुर्खेत – एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको प्रतिक्रिया दिनुभएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले आफूहरूलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रूपमा सरकार चलाउने व्यवहार आफूहरूलाई स्वीकार्य नभएको प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भन्नुभयो । आफूहरूसँग गठबन्धन टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तर, आफूहरूलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको बताउनुभयो ।  

उहाँका अनुसार खास गरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ ।  कर्णालीमा माओवादीको दम्भ र घमन्ड देखिएको भन्दै उहाँले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमन्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिनुभयो। 

मृत्युअघि रविका चालकले बोलेकाे अडियो सार्वजनिक गर्दै महेश बस्नेतले भने ‘यो आवाजको पनि छानबिन होस्’ (अडियोसहित)

भक्तपुर । पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले रवि लामिछानेका चालकको मृत्युको घटनामा आशङ्का जनाउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा मङ्गलवार राती मृतक शम्भु थापाको झैँ लाग्ने एक अडियो पोष्ट गर्दै बस्नेतले उक्त आवाजको छानबिनको माग गर्नुभएको हो । 

सार्वजनिक अडियोमा हस्पिटलको आयुसियुमा मृतक थापाले केही भन्न खोजेको जस्तो सुनिन्छ । उक्त अडियोमा रवि र उनका साथीहरू मिलेर आफु माथि आक्रमण गरेको आशयको  शब्द  भनिरहेको जस्तो सुनिए पनि स्पष्ट भने हुनसकेको देखिँदैन  ।  उक्त आवाज शम्भु थापाकै हो होइन अहिलेसम्म स्पष्ट भइसकेको छैन । एमाले नेता बस्नेतले उक्त अडियो छानबिन हुनु पर्ने माग गर्नुभएको हो । प्राप्त अडियोको स्रोत खुल्न सकिरहेको छैन । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियाे । चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको एक घरमा लामिछानेसँगै सँगै बसेका ३९ वर्षीय चालक थापा बैशाख ४ गते राति सोहि घरको तीनतलाबाट खसेर गम्भीर घाईते भएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गराइएका ३९ वर्षीय थापाको मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएको थियाे । उनको आजै पशुपतिमा लगेर अन्त्येष्टि गरिने पनि बताइएको छ ।

सुन्नुहोस् सार्वजनिक भएको अडियो :

दार्चुलाको ब्याँसमा हिम पहिरो अपडेट : बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु

दार्चुला – हिम पहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु गरिएको छ ।

हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिम पहिरोमा परी बेपत्ता भएको बिहानैदेखि खोजी सुरु गरिएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् ।

यार्सा टिप्न गएका उनीहरू मध्ये दार्चुलाको भोलिङमा आएको हिम पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् ।

हिम पहिरो खसेको खबर पाए लगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले मङ्गलवारदेखि नै उद्धार सुरु गरेको थियो तर ६ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन् । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।

रवि लामिछानेका चालक थापाको आज अन्त्येष्टि गरिँदै

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदै छ ।

लामिछानेका प्रमुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १०ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मङ्गलवार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । 

चालक थापाको झन्डै डेढ महिनादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना

काठमाडौँ – एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । 

मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । 

गत वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् । 

महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्कीका सन्देश पुग्ने गरेका छन् । यस्ता धम्कीको आधिकारिक तथ्याङ्क नभए पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्तासँको संवादको आधारमा यो सङ्ख्या सामान्य रूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने महासङ्घका महासचिव रोशन पुरीले जनाकारी दिनुभयो । 

महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पनि पत्रकारको पेसागत सुरक्षाको अभाव जनाउँदै सयौँ उजुरी आएका छन् ।

त्यसैगरी इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको महासङ्घको भनाइ छ । कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यम अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको महासचिव पुरीको भनाइ छ । 

महासङ्घका अध्यक्ष विपुल पोखरेलले भन्नुभयो, “मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष भइसकेको छ तर, यतिका अवधि भइसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण हुन सकिरहेका  छैनन् ।”

दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए

खलङ्गा – दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ ।

यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ ।

“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनी मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भन्नुभयो । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उहाँको भनाइ थियो । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।

“केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरुले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ”, डिएसपी भट्टले भन्नुभयो–“यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

सङ्कलक केही दिनअघि यार्सागुम्बा संकलनका लागी लेकतर्फ उक्लिएका ब्याँस–१ का वडाध्यक्ष अशोक बोहराले बताउनुभयो । “लगातार हिउँ परिरहेको थियो, संकलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन”, उहाँले भन्नुभयो ।

व्याँसस्थित सितापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं – काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।

भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मितिदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा उनी र उनको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दा १ करोड ९२ लाख एक हजार ९२२ रुपैयाँ ३४ पैसा वैधानिक आय देखिएको र ३ करोड ७, लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा खर्च देखिएको आयोगको जिकिर छ।

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

पाल्पा – मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागत रुपमा मजदुरको बीमा गरिदिएको छ । बीमा कार्यक्रमले मजदुरलाई धेरै राहत पुगेको रामपुर–५ कृषिटोल बस्ने श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँ यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । केही समय अघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते हुनुभयो ।

श्रेष्ठको सबै उपचार खर्च नगरपालिकाले बीमामार्फत व्यहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी हुनुुहुन्छ ।“काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुरवर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैप¥यो, बीमा गरेपछि उपचार खर्च मजदुरले व्यहोर्न परेन, नगरपालिकाले ल्याएको बीमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बीमाले ढुक्कको अनुभूति भएको छ” उहाँले खुसी हँुदै भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बीमा गरिएको बताउनुभयो । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बताउनुहुन्छ ।

घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ को जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बीमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गतवर्षदेखि दुर्घटना बीमा सुरु गरेका छौँ”उहाँले भन्नुभयो–“नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ” । मजदुरको हकहित र अधिकारको लागि विसं २०७२ मा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् ।

यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बीमा कार्य सुरु गरेको थियो । भवितव्य हुने ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बीमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सानातिना दुर्घटनाका उपचारखर्च समितिले रु एक लाखसम्म गरिदिएको बीमाले पुग्ने गरेपनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँधौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ” ।

समितिले सुरु गरेको दुर्घटना बीमा कार्यक्रममार्फत हालसम्म ७० जना मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्यूनतम रु ६५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ ।

समितिले कोभिड–१९ को महामारीमा चार सय जना मजदुरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ–ठाउँमा मजदुरको हकहित सहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका विभिन्न कार्य गरिरहेको छ ।

समितिमा स्थापनाका समय एक सय १७ मजदुर आबद्ध रही संस्था सुरुवात गरिएको हो । समितिमा आबद्ध पाँच सय ४३ मजदुरमध्ये हाल करिब चालिस प्रतिशत महिला कामदार छन् । महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइखर्च धान्दै आइरहेका छन् । अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेका छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदुर घर तथा भवन निर्माणको क्षेत्रमा काम गरिरहेको पाइएको छ । यस क्षेत्रमा नेपालका विभिन्न जिल्ला तथा भारतीय मुलुकका मजदुर छन् । रासस

सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित

काठमाडौँ – हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित हुनुभएकाे छ । 

मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयाे । 

सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गर्नुभएकाे हाे  ।

 सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो । सो पत्रपछि सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गर्नुभएकाे हाे  । 

कोइरीले  महोत्तरी- १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जित्नु भएकाे थियाे । 

दार्चुलाको ब्याँसमा हिम पहिरो,यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका

काठमाडौं – दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।

ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८/९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टाली अहिले घटनास्थलतर्फ गएको छ।

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिनुभएको छ ।

उहाँले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिनुभएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।

राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुने विश्वासका साथ आगामी प्रतियोगिताको लागि पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ ।

आज भएको भेटमा उहाँहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गर्नुभएको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिनुभएको थियो ।

महानिर्देशक डा बरमेजोले महासङ्घले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताउनुभएको थियो । भेटमा नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष हिमाल कसजू, महासङ्घका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी हुनुहुन्थ्यो ।

महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ८९ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् ।

नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ ।
हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते

मुजफ्फरपुर / विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् ।

जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् ।

आगलागीको खबर प्राप्त हुने वित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए । घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ । आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् ।(रासस/एएनआई)

सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ – आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ ।

आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन् ।
त्यस्तै, जीवन बीमा तीन दशमलव ९३, उत्पादन तथा प्रशोधन नौ दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव २४ अङ्कले बढेको छ । आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २० दशमलव ६६, लगानी समूह शून्य दशमलव १६, लघुवित्त समूह २० दशमलव ६० र निर्जीवन बीमा समूह २६ दशमलव २५ अङ्कले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ ।

नर्स आत्महत्या प्रकरण : पक्राउ परे डा. सुजन ढकाल

काठमाडौं – प्रहरीले काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाललाई पक्राउ गरेको छ । 

डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएसँगै प्रहरीले ढकाललाई काठमाडौंबाट प्रक्राउ गरेको हो। डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको छ। 

 स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ।

मुलुकको आर्थिक अवस्था सङ्कटमा पुग्दा पनि सरकार गम्भीर हुन सकेन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था सङ्कटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौँमा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक सङ्कटमा सरकार गम्भीर हुन नसकेको र भागबन्डामा रमाइरहेको समेत बताउनुभयो । उहाँले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ता बाहेक केही नदेख्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौ कमाएको तर देश घाटामा गएको उहाँको भनाइ छ । उहाँले अबको डेढ वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गर्नुभयो । ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गर्नुभयो ।

उहाँले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी गर्नुभयो ।

रवि लामिछानेका सवारी चालक थापाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । 

४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।