`

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

“सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट सशक्त बन्ने हो”, मन्त्री शर्माले भन्नुभयो, “ जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”

सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले सार्वजनिक निकायले सम्पादन गरेका कामका बारेमा प्रश्न उठाउन पाइन्छ भन्ने जानकारी धेरैमा नभएको बताउनुभयो ।

“कुन निकायबाट के सेवा सुविधा प्राप्त हुन्छन्, कसको जिम्मेवारी के हो भन्नेसमेत जनस्तरमा पर्याप्त जानकारी नहुँदा जनताले सरकारसँग धेरै आशा गर्ने, आशा पूरा नभएमा निराश हुने अवस्था छ”, उहाँले भन्नुभयो, “सार्वजनिकरूपमा आक्रोश पोख्ने प्रवृत्ति बढ्दै गएको छ, यसलाई कम गर्न पनि सूचनाको हकको प्रयोगलाई ब्यापक बनाउनु आवश्यक छ ।”

सूचनाको हकसम्बन्धी ऐनले प्रत्याभूत गरेका कानुनी व्यवस्था कार्यान्वयनका लागि सरकार दृढ र प्रतिबद्ध रहेको र हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारी र सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको उहाँको भनाइ थियो । सङ्घीय, प्रदेश सरकार र स्थानीय तहहरूले समेत यो अभ्यासलाई अघि बढाएको उल्लेख गर्दै उहाँले सकेसम्म सबै सरकारी सूचना एउटै माध्यमबाट प्रवाह गर्ने गरी तयारी अघि बढाइएको पनि बताउनुभयो ।

मन्त्री शर्माले पारदर्शिताको उद्देश्य सुशासन भएको र वर्तमान सरकारको मुख्य जोड नै सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको पनि स्पष्ट गर्नुभयो ।

“जनताले सरकारी निकायमा पुगेर कानुनीरूपमा माग गरेका सूचना मात्र होइन”, मन्त्री शर्माले भन्नुभयो, “सडक वा सञ्चारमाध्यमबाट अभिव्यक्त गरेका अवाजलाई समेत सार्वजनिक सूचनाकै रूपमा लिएर सम्बन्धित पक्षसँग संवाद गरी जायज मागको सुनुवाइ गर्ने कामलाई समेत सरकारले प्राथमिकता दिएको छ ।”

पछिल्ला केही घटनाक्रमलाई हेर्दा पनि सडक र सञ्चारमाध्यममार्फत प्राप्त सार्वजनिक सूचनालाई गहिरोरूपमा अध्ययन गरी सरकारले कारबाही प्रक्रिया अघि बढाउने तदारुकता देखाएको उहाँको भनाइ थियो । “सुशासन र सेवा प्रवाहको सरकारी प्राथमिकता कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “सरकारले सोझै प्राप्त गर्न नसक्ने जनताका गुनासा, बेथिति र अनियमितताका सूचनाहरू सञ्चारमाध्यमबाट सार्वजनिक भए भने त्यसलाई आधार मानेर कारबाही अघि बढाउन सरकारलाई सजिलो हुनेछ, लुकेका यस्ता कतिपय सूचना सार्वजनिक गरी सरकारलाई सुशासनतर्फ अघि बढ्न सहयोग गरेकामा म आम सञ्चारका माध्यमहरूलाई धन्यवाद पनि दिन चाहन्छु ।”

सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाले दिने गरेका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री शर्माले सार्वजनिक सूचनाको अद्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्न गर्नुभयो ।

सूचनादाताको सुरक्षाको सवालमा पनि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री शर्माले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु भएको र जनताले चाहेको सूचना सहजरूपमा प्राप्त नगरेमा सम्बिन्धत अधिकारीहरू दण्डित हुने कानुनी व्यवस्थासमेत भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न सबैमा अपिल गर्नुभयो ।

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

गण्डकी – प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताउनुभयो । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भन्नुभयो ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताउनुभयो । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उहाँले भन्नुभयो, “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”

“एकीकृत समाजवादीलाई कुन मन्त्रालय दिने भन्ने विषय मुख्यमन्त्रीले नै मिलाउनुहुन्छ, गठबन्धनले त्यसको जिम्मेवारी उहाँलाई नै दिएको छ”, प्रदेशसभा सदस्य जुग्जालीले भन्नुभयो, “मन्त्रालयको संख्या भने सातभन्दा बढ्दैन ।” निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्यालाई १२ बाट घटाएर सातमा पु¥याएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहणका बेला मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाउनुभएको थियो । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ ।

संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौँ – सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । 

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा  सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । 

उहाँले भन्नुभयो, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।”

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ । 

“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो । 

विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताएका छन् ।

शुक्रबार आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको भन्दै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौं ।’

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

मध्यविन्दु – नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताउनुभयो । “न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ”, उहाँले भन्नुभयो । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।

सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्तागठबन्धनको बैठक आज साँझ ५ बजे बोलाइएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बोलाइएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

टोपबहादुर रायमाझीको खोजिकार्य जारी

काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गर्ने गिरोहसँग साँठगाँठ देखिएपछि पूर्व ऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको अहिले खोजिकार्य भइरहेको छ ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा पूर्व ऊर्जामन्त्री रायमाझी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भएका थिए । राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

पूर्व ऊर्जामन्त्री रायमाझीले अनुसन्धानमा सहयोग गर्न आफैँ काठमाडौँ आउँछु भनेका थिए तर बिहीबार उनको गाडी लिएर चालक मात्र आए ।  जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने रायमाझीको खोजी जारी राखिएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रायमाझीले नक्कली शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गर्ने गिरोहका सदस्यलाई गृह प्रशासनसँग सम्बन्ध बनाइदिन र सहजीकरण गरेको भेटिएको छ ।

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर यस क्षेत्रको दिगो विकाससहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढाएकोे जानकारी दिनुभयोे ।

उहाँले सम्पूर्ण मानवजातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारीदिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सम्राट अशोकले इसापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एकवटा गरी जम्मा तीनवटा स्तम्भ स्थापना गर्नुभएको उल्लेख गर्नुहँुदै ती स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भएको बताउनुभयो । “नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले बृहत्तर लुम्बिनीलाई बुद्धको भूमि बनाएको र यस्तो तीर्थस्थल जहाँ एक घन्टाको यात्राबाट तीनवटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहीँ पनि पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन ।”

उहाँले नेपाली भूमिमा बुद्धको जन्म हुनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको र उहाँको जन्मले नेपाललाई विश्वमा चिनारीमात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभयो । “ंसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ? अन्दाज गर्न पनि गाह्रो छ”, उहाँले भन्नुभयो, “तर अनुमानमात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई हृदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।”

प्रधानमन्त्री प्रचण्डले पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको उल्लेख गर्नुहँुदै भन्नुभयो ,“पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुवै छौँ ।”

उहाँले किरात दर्शन, बुद्ध दर्शन, षड्दर्शनलगायतका नेपाली दर्शनमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू रहेको र तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवद्र्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभव हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रो विशिष्टता र मौलिकताको संवद्र्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।”

प्रधानमन्त्री दाहालले मौर्या वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिमार्गमा प्रवेश गर्दा जीवनको उत्तराद्र्धमा बुद्धको अनुयायी भएको बताउँदै माओवादी जनयुद्धको सन्दर्भमा समेत विशेष स्मरणीय रहेको बताउनुभयो । उहाँले नेपाली समाजको आमूल परिवर्तनका लागि गरिएको जनयुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रुपान्तरण हुनु क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्व विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्ति एकअर्काका पूरकका रूपमा व्यवहारसिद्ध गरेको बताउनुभयो ।

“राजनितिक, सामाजिक र आर्थिक रुपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाबाट हामी प्रभावितमात्र नभएर हाम्रो विशिष्ठता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निमित्त अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ र यसलाई बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो, “तर यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्व शान्तिका निम्ति स्वामित्व लिनुपथ्र्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपिल पनि गर्दछुु ।”

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताउनुभयो । लुम्बिनी विकास कोषमा अनेकौँ विकृति, विसङ्गति रहेको भन्दै लुम्बिनीको विकासका लागि अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।

उहाँले आगामी जेठ १६ गतदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नेपाल वायुसेवा निगमका जहाज चल्ने बताउनुभयो । उहाँले यसबाट लुम्बिनी र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउन सङ्घीय सरकारलाई अग्रह गर्नुभयो । उहाँले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकर्षित गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरू निर्माण र हरेक महिना पूजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभयो । लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औँल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मेत्तैयले लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरूलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताउनुभयो ।

शाक्यमुनि बुद्ध इसापूर्व ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण दिनका रूपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताउनुभयो ।

एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आगह

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।

    आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताउनुभयो । उहाँले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताउनुभयो ।  

    उहाँले एचआइभी सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताउनुभयो । “राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन । सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा समस्या रहेको छ,” उहाँले भन्नुभयो, “सङ्क्रमित बालबालिकालाई भर्ना नलिएको, सङ्क्रमितको शल्यक्रिया उपचार पनि नगरेको  पाइयो ।”

    प्रतिवेदनमा पुरुषको तुलनामा सङ्क्रमित महिलाको मानव अधिकार अवस्था थप जटिल रहेको जनाइएको छ । उहाँले भारतमा काम गर्न जाने सङ्क्रमितले सजिलै औषधि नपाएको समेत बताउनुभयो । 

    कामु सचिव खरेलले सङ्क्रमितलाई समाजले सहजै स्वीकार गर्न नसकेको, विभेद  र लाञ्छनामा परेको भन्दै  स्थानीय तहले आफ्नो पालिकामा कति सङ्क्रमित छ भनेर तथ्याङ्क लिन नसकेको पाएको बताउनुभयो । 

    यस्तै, अधिकांश सङ्क्रमितहरु चरम गरिबीको रेखामुनि रहेको, आधारभूत आवश्यकता परिपूर्ति सहज ढङ्गले गर्न नसकेको, पोषण खाद्य सामग्रीको अभावमा जीवन निर्वाह गर्न परेको, एआरटी सेन्टरमा पुग्नका लागि आवश्यक भाडा रकम समेतको अभाव झेल्नु परेको जस्तो  समस्या देखिएको आयोगका उपसचिव बुद्धनारायण साहनीले बताउनुभयो । 

    यस्तै, सङ्क्रमित र तिनका परिवारहरुका लागि स्वास्थ्य बीमाको सकारात्मक प्रभाव रहेको र भारत बाहेकका राष्ट्रमा गई फर्किआएका व्यक्तिमा कम मात्रामा सङ्क्रमण रहेको आयोगले जनाएको छ ।

    यस्तै, आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा एचआइभी सङ्क्रमित महिला, महिला भएकै कारणले थप लाञ्छना तथा भेदभाव ब्यहोर्न परेको र जीवन निर्वाह, उपचार, बालबच्चाको लालनपालन कार्यमा झन् जटिलता थपिएको उल्लेख गरिएको छ ।

    कानुनी आधार प्रमाण नभएका आधारमा नागरिकता नपाएका महिलाहरु थप जटिलता भोग्नु परिरहेको र विद्यालयमा अध्ययनरत सङ्क्रमित बालबालिकाले पहिचान लुकाई अध्ययन गर्ने गरिरहेका, पहिचान खुले खुलाएको खण्डमा शिक्षक, विद्यार्थीसाथीहरुबाट पनि विभिन्न किसिमका घोचपेच, लाञ्छनाजन्य व्यवहार खेप्नु परेको आयोगले जनाएको छ । 

    चरम गरिबीको रेखामुनि रहेका घरपरिवारका सङ्क्रमित बालबालिकाहरु दश जोड दुई र उच्च शिक्षा अध्ययन गर्ने कुरा पहुँच बाहिर रहेको उल्लेख गर्दै दश जोड दुई वा उच्च शिक्षा अध्ययन गर्न चाहने सङ्क्रमित विद्यार्थीहरुका लागि पनि राज्यले छात्रवृत्ति लगायतका सुविधा प्रदान गर्नुपर्ने आवश्यक देखिएको आयोगले बताएको छ । 

    नागरिकता नपाएको गुनासो 

​​​​​​​कतिपय एचआइभी सङ्क्रमण भएकै आधारमा नागरिकता नपाएको व्यक्तिहरु फेला परेको जनाइएको छ । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी आधार र प्रमाण अभावको कारणले सङ्क्रमित भएका व्यक्तिहरुले नागरिकता नपाएको, तिनका सन्तानको जन्मदर्ता नपाएको आयोगले जनाएको छ ।  

    आयोगका अनुसार नवलपरासी पश्चिममा यस्ता सङ्क्रमित व्यक्तिहरुको सङ्ख्या ९० भन्दा धेरै रहेको जनाएको छ । 

    आयोगले एचआइभी सङ्क्रमितलाई लाञ्छना तथा भेदभावजन्य जस्ता व्यवहारबाट मानव अधिकार संरक्षणका लागि उजुरी संयन्त्र प्रभावकारी बनाउने सरकारलाई सुझाव दिएको छ । 

    यस्तै, नयाँ एचआइभी दर लक्ष्यअनुसार घटाउनका लागि समुदाय स्तरमै एचआइभी परीक्षण कार्य प्रभावकारी बनाउनसमेत आयोगले आग्रह गरेको छ । एचआइभी सङ्क्रमण सुईबाट लागूपदार्थ लिने व्यक्ति, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, पुरुष प्रवासी श्रमिक र उनीहरुका परिवारमा उच्च रहेको छ । 

    नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौसम्पर्क गर्ने पुरुष  र ट्रान्सजेन्डर व्यक्तिहरुमा १९, महिला यौनकर्मीमा नौ, पुरुष यौनकर्मीहरुमा आठ र सुईबाट लागूपदार्थ लिने व्यक्तिहरुमा दुई प्रतिशत रहेको  राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा २०२० को डिसेम्बरसम्म ३० हजार तीन सय एचआइभी सङ्क्रमित रहेका छन् । 

सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’

काठमाडौँ – सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ ।

यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । “अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भन्नुभयो, “ससस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।”

उहाँका अनुसार एक जवान एक बेडिङको अवधारणाअनुसार ८५ प्रतिशत कर्मचारीका लागि शय्या तयार भइसकेको छ । बाँकीका लागि पनि तयारीको अवस्थामा राखिएको छ ।

प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरीका विभिन्न ७० युनिटमा शिशु स्याहार केन्द्रसमेत स्थापना गरिएको र त्यहाँ एक सशस्त्र कर्मचारीले रेखदेख गर्ने तथा अरूभने कार्यक्षेत्रमा खटिने गरी व्यवस्था गरिएको छ ।

यस्तै आधारभूत आवश्यकतालाई ध्यानमा राखेर विशेष सुधारका काम पनि गरिएको उहाँले बताउनुभयो । प्रवक्ता खड्काका अनुसार विभिन्न ६५ वटा मेसको स्तरोन्नति गरिएको छ ।

जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण पनि गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । इन्डक्सन चुल्होको प्रयोग बढाउँदै लगिएको र अन्य सुधारात्मक कामलाई तीव्र गति दिइएको जनाइएको छ ।

लुम्बिनीमा बृहत् शान्ति र्‍याली

लुम्बिनी – २५६७औँ बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । 

बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्‍याली  निकालिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।

औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिएको छ ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको उल्लेख्य सहभागिता छ । 

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ ।

अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ । सम्मेलन सम्पन्न गर्न क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनको सञ्चार संयोजन सङ्घका सञ्चार संयोजक चिरन शर्माले गर्नुहुनेछ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार सम्मेलनमा सङ्घका नियमित एजेन्डालगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, सम्मेलनमा सङ्घको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५औँ विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ ।

सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले नेपालमा जति पूँजीको लगानी छ त्यति नै सीप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताउनुभयो ।

सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनुहुनेछ । यस्तै, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय पदाधिकारीहरु सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, सङ्घ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्षहरु, पूर्वअध्यक्षहरु र संस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथि प्राग पुगिसक्नुभएको छ ।

यस्तो छ तीन दिनको मुख्य कार्यक्रम

सङ्घका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रबार दिउँसोदेखि सङ्घको औपचारिक कार्यक्रम सुरु हुनेछ । पहिलो दिन, शुक्रबार बिहानदेखि प्रतिनिधिहरुको दर्ता प्रारम्भ हुनेछ । दिउँसो २ बजेदेखि संस्थागत गतिविधिहरु हुनेछन् । २ देखि साँझ ५ बजेसम्म स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको सञ्जालका बारेमा छलफल हुनेछ भने साँझ ५ बजेदेखि उद्घाटन शत्र सुरु हुनेछ ।

सम्मेलनको दोस्रो दिन, शनिबार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोसन लगायतका कार्यक्रम तय गरिएको छ । यस्तै, सम्मेलनको तेस्रो दिन, आइतबार नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्सफर लगायतका विषयमा छलफल हुनेछ । सोही अवसरमा प्राग घोषणपत्र जारी गरिनेछ ।

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उहाँले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताउनुभयो ।

“अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन”, उहाँले भन्नुभयो, “सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।” उहाँले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताउनुभयो ।

सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र नागरिकले सहजरूपमा सूचना पाउने बताउनुभयो । सरकार पारदर्शी, सुशासन र सेवाप्रवाहका विषयमा गम्भीर रहेको र त्यहीअनुरूप काम गर्दै आएको स्पष्ट पार्नुभयो ।

“संविधान र कानुन कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ”, मन्त्री शर्माले भन्नुभयो, “सरकारका कामकारबाही गलत भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ ।”

उहाँले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताउनुभयो । मन्त्री शर्माले नेपाली नागरिकको सूचनाको हक प्रचलन गर्नका लागि सरकारले आयोगको गठन गरेको स्मरणसमेत गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारको कम प्राथमिकतामा राखिएको जस्तो महसुस भएको उल्लेख गर्दै लोकतन्त्रको सुन्दर उपहार जनता र सरकारलाई जोड्ने सूचनाको हक नै भएको स्पष्ट पार्नुभयो ।

आयोगका अध्यक्ष महेन्द्रमान गुरूङले जनआन्दोलनपछिको उपलब्धि सूचनाको हकसम्बन्धी अवधारणा आएको र कानुन कार्यान्वयन प्रभावकारी भएमा राज्यका काम कारबाहीमा पारदर्शी र सुशासन कायम हुने बताउनुभयो ।

उहाँले सूचनाको हक कार्यान्वयन गर्ने निकाय सरकारी निकायहरू नै भएको हुँदा ती निकायले प्रभावकारीरूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा एक सय ३६ राष्ट्रमा सूचनाको हकको कानुन बनेर कार्यान्वयनमा रहेको र नेपालीको कानुन २२औँ स्थानमा रहेको जानकारीसमेत अध्यक्ष गुरूङले दिनुभयो ।

बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

रुपन्देही – २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो ।

बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति सक्रिय छन् । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिनुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेका थिए ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित आठ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने बौद्ध ग्रन्थमा उल्लेख छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

रेसुङ्गा – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना रु छ करोड ६८ लाखको लागतमा निर्माण सम्पन्न गरिएका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

निर्माणको जिम्मा बिकोइ सुनिल–समिर जेभीले लिएको थियो । निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गर्नुभएको थियो । ती संरचना लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन् ।

नेपाल र नौऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

वासिङ्गटन डिसी–  नेपालले नौऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नौऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिनुभएको छ । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताउनुभएको छ ।

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ ।

आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ ।” सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले सङ्घ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रको प्रभावकारीरुपमा क्रियाशील बनाउन आयोगले अनुरोध गरेको छ ।

लोकतन्त्रको संस्थागत विकासका निर्मित राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै आयोगले नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुने उल्लेख गरेको छ ।

अन्तक्र्रिया र कार्यक्रममार्फत सूचनाको हकका कानुनी व्यवस्था तथा प्रयोगबारे सचेतना गराउने कार्य नियमितरुपमा भइरहेको उल्लेख गर्दै आयोगले संविधान र कानुनले प्रत्याभूत गरेको सूचना माग गर्ने तथा प्राप्त गर्ने नागरिक अधिकारको आधिकारिक सदुपयोग गर्न आम नागरिकलाई आह्वान गरेको छ ।

आयोग स्थापना दिवसको अवसरमा आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता व्यक्ति गर्दै प्रमुख सूचना आयुक्त गुरुङले सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ ।

उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । 

यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रबी लामिछाने पुनः निर्वाचित भएर आउनु भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । 

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

चितवन – व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गर्नुभएको छ । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताउनुभयो । कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिनुभएको थियो । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।

कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेख्नुभएको छ ।

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डन – परराष्ट्र मन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ ।

मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो विमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिनुभयो ।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तर्क्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ । 

परराष्ट्र मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीन वटा बुद्धको जन्मस्थलका रूपमा प्रख्यात रहेको बताउनुभएको छ । 

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७ औँ जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, यो बुद्ध दर्शनको उद्गमस्थल पनि भएको उल्लेख गर्नुहुँदै यस तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेको बताउनुभयो । 

सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्त्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे आफ भेसाक)का रूपमा मनाउने घोषणा गरेको स्मरण गर्नुहुँदै अध्यक्ष ओलीले हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रूपमा पनि मनाउँदै आएको बताउनुभयो । उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान समेत व्यक्त गर्नुभयो ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले संयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको बताउनुभयो । 

उहाँले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन नेकपा (एमाले) को सरकारले सार्थक प्रयास गरेको स्मरण गर्नुहुँदै लुम्बिनीमा ५ हजार ध्यानीहरूले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल निर्माण गरेको बताउनुभयो ।  

अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बौद्धमार्गीहरुसँगै पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासलाई आफूले उच्च महत्त्व दिएको उल्लेख गर्नुहुँदै आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको बताउनुभयो । 

सम्राट् अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एक वटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ । पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्त्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रह्मी लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि सो स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको थियो । 

कांग्रेस पदाधिकारी बैठकमा देउवाको कार्यशैलीमाथि नेताहरुको प्रश्नै प्रश्न

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् ।

देउवा निवास धुम्बाराहीमा  बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् ।

केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् ।

कांग्रेसले गत भदौदेखि केन्द्रीय समिति बैठक राखेको छैन। विधानमा हरेक तीन महिनाको अन्तरालमा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने उल्लेख छ।

विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएकाे छैन । सहमहामन्त्री जीवन परियारले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि राखेका थिए । कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएकोसमेत आरोप छ । कांग्रेसले  बनाएका ८ मन्त्रीमा दलितबाट एकजनाले पनि अवसर पाएका छैनन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यलयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत डा अर्याललाई आज सचिवमा नियुक्त गर्नुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

सरकारी वकिल समूहबाट सहन्यायाधिवक्तामा खुलाबाट प्रवेश गर्नुभएका पाण्डेयसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको अनुभव छ भने डा अर्याल प्रतिनिधिसभाको अर्थ समितिको सचिवका रूपमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो ।

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उहाँले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताउनुभयो ।

उहाँले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गर्नुभयो । “मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।”

नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताउनुभयो । “पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ”, उहाँले भन्नुभयो, “चार्जिङ स्टेशन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।”

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गर्नुभयो । “केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।”

आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताउनुभयो । सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उहाँको भनाइ थियो ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘इमोबिलिटी’ अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताउनुभयो । “सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको सङ्ख्या २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो, “तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न सकेका छैनन् ।”

कार्यक्रममा व्यवसायीले नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा जोड दिएको थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा उनीहरूको जोड थियो ।

समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर

लुम्बिनी – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो । 

    इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताउनुभयो । 
    
    आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताउनुभयो । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” 

    उहाँले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताउनुभयो । उहाँले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताउनुभयो  ।

    सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभयो ।

    इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

नवनियुक्त कानुनमन्त्री धनराज गुरुङले गरे पदभार ग्रहण

काठमाडौं – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति भवनबाट सिंहदरवारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री मोहन बस्नेतले पदबहाली गर्दै गरे चार निर्णय

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रका लागि चारवटा निर्णय गरेका छन् । आज पदभार ग्रहणसँगै मन्त्री बस्नेतले महत्त्वपूर्ण चार निर्णय गरेका हुन् ।

स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीको रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । 

यस्तै स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाएर स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने मन्त्री बस्नेतको दोस्रो निर्णय रहेको छ । 

आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने उनको अर्को निर्णय छ । 

यस्तै स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालहरूबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भएरनभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय मन्त्री बस्नेतले गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त हुनुभएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताउनुभयो । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उहाँले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उहाँको भनाइ थियो । पत्रकारको अर्को जिज्ञासामा उहाँले पछिल्ला समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताउनुभयो । ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनःविचार गरिने उहाँले बताउनुभयो ।

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उहाँले बताउनुभयो । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ ।
कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो ।
सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज(खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ ।

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौँ – नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो । कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ ।

शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको संस्थापक शेयर रु चार करोड ५० लाख मूल्यमा खरिद बिक्री भए । शिवम् सिमेन्ट रु दुई करोड २१ लाख ५५ हजार,नबिल बैंक रु एक करोड ९६ लाख १२ हजार आठ सय ५०,हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक रु एक करोड ६५ लाख ७० हजार आठ सय ६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६,सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ ।

यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ ।

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौँ – उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।
    
    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिनुभयो । 

    उहाँले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुने छ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरुको मागअनुसार ‘युजर म्यानुअल’समेत तयार भइसकेको छ ।” 

    नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकीन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ ।

    अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नसक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिनुभयो । 

    “यसका लागि २५ भन्दाबढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायतका सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ ।” सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्रै एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्नसक्ने उहाँको भनाइ छ । 

    सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्णरुपमा अनलाइन गर्न लागिएको हो । 

    हाल अनलाइनमार्फत् आवेदन दिइ रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गइ लिनुपर्ने व्यवस्था छ । तर अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो । 

टोपबहादुर रायमाझीबारे ओलीले भने : ‘तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं’

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानिएको हो कि तनाइएको हो अध्ययन गरिरहेको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् ।

उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।

निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए ।

रायमाझीबारे उनले भने, ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं ।’

ओलीले थपे , ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।

सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । 

बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो । 

सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबार पुगेका छन् ।

उनीहरुबीच समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भइरहेको जनाइएको छ ।

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो

खजुरा – बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताउनुभयो । उहाँका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक÷एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ । आर्थिक वर्ष २०७९÷८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी

काठमाडौँ – नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् ।

उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उहाँको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए ।

उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।

सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ ।

“अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भन्नुभयो ।
गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।

उनीहरुले शरणार्थी फारम भर्नेबाट रु १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।

गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै राससलाई बताउनुभएको थियो ।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै रु आठ करोड बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।

बाजुरामा भूकम्पको धक्का

काठमाडौँ – बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीबार काठमाडौँमा ग्रील तथा स्टिल व्यवसायी महासङ्घ नेपालको २८ औँ साधारण सभा तथा नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरूको समस्या समाधानका लागि सरकारले अभिभावकी भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले देशको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रका अग्रणी संस्थाहरूले रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दक्ष जनशक्तिको अभाव, सहज वित्तीय पहुँच, ग्रीलजन्य बस्तुको मूल्यवृद्धि लगायतका विषयमा आवश्यक कदम चाल्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताउनुभयो । ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवागमन बढेको र बैङ्कहरूको ब्याजदर कमी हुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुँदै गएको सङ्केत पैदा भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा महासङ्घले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

गोदावरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताउनुभयो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उहाँले भन्नुभयो ।

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उहाँको भनाइ छ ।

उहाँले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभयो । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गर्नुभयो ।