`

पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो

इस्लामावाद / पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुबै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।

पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले भाडा घटाएको पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले बताएका छन् ।

“बेइजिङका लागि उडान पुनःसशुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेका त थिए त्यसैले हामीले द्विपक्षीय यात्रालाई सहज बनाउन यो गर्यौंक,” खानले सिन्ह्वालाई भने ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् ।

स्टेट बैंक अफ पाकिस्तानले जनाएअनुसार पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएको छ जसले हवाई भाडा अकासिएको छ । (रासस/सिन्ह्वा)

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदारबार पुग्नुभएको हो।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ । दुई दिनअघि पनि दुई नेताहरुले भेटवार्ता गर्नुभएको थियो।

युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

ढोरपाटन । निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउनुहुन्छ ।

आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उहाँको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उहाँले लामो समय बालीघरेरूपमा कामसमेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि हिरामानसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ । 

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायी बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने थियो । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउनुहुन्छ ।

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उहाँको भनाइ छ । उहाँले आफूले दुई दशक बढी बालीघरेका रूपमा कामसमेत गरेको सुनाउनुभयो । बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नुपरेको हिरामानले बताउनुभयो । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उहाँको भनाइ छ ।

हिरामान भन्नुहुन्छ, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ ।”

बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको छ । अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न छाडेँ ।”

उहाँका छोरा देवीरामले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसायतिर ध्यान नगएको बताउनुभयो । आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा आफूले यो पेसा नअँगालेको उहाँको भनाइ छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने देवीराम बताउनुहुन्छ । आफ्ना पुस्ताका युवाले यो काम गर्नतर्फ ध्यान नदिएको उहाँले बताउनुभयो ।

“बाउबाजेले यो पेसालाई निकै इमान्दार भएर सम्हाल्नुभयो, हामीहरू लागेनौँ, आरन व्यवसायमा धेरै पैसा छैन, विदेश गयो भने यहाँ कमाउने भन्दा धेरै कमाउन सकिन्छ”, उहाँले भन्नुभयो, “आरन व्यवसाय अलिकति झन्झटिलो पनि छ, एउटै सामान बनाउन धेरै समय लाग्छ, पैसा कम हुन्छ, सम्मान पनि छैन यो पेसामा, हामी त सानैदेखि विदेश लाग्यौँ, यो पेसातिर ध्यान गएन ।”

स्थानीय टीकाराम विकले एक दशक अगाडिसम्म एउटै गाउँमा तीन–चारवटा आरन व्यवसाय हुने गरेकामा अहिले एउटा पनि भेट्टाउन नसकिने बताउनुभयो । उहाँले गाउँमा चाहिने कोदालो, फाली, हँसिया, दराँती, बञ्चरोलगायत फलामका भाँडा बनाउन बजारमै झर्नुपर्ने अवस्था आएको सुनाउनुभयो । अहिले पहिलेको जस्तो झन्झटिलो नभएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिले–पहिले गाउँघरमै आरन हुन्थे, केही सामान बनाउन परे नजिकै बनाउन सकिन्थ्यो, अहिले त खेतबारी जोत्नुप¥यो फाली ल्याउन बजारै पुग्नुपर्छ, बजारमा आएका सामान पनि यहाँ बनेका होइनन्, कहाँबाट बनेर आएका हुन्, ती सामान सबै नक्कली हुँदा रै’छन्, धेरै टिकाउनै हुँदैनन्, पहिले गाउँमा बनाएका भाँडा वर्षौँसम्म टिकाउ हुन्थे ।” रासस

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

ताप्लेजुङ / पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता हुनुभएको छ । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता हुनुभएको हो ।

भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उहाँको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । “भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्”, प्रहरी प्रमुख लिम्बूले भन्नुभयो ।

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बस्नुभएको थियो । उहाँ हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत जानुभएको थियो भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।

बालकृष्ण खाणको अनुरोध : व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगरीदिनुस्

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले आफूबारे प्रकाशित समाचार सत्य नभएको जिकिर गरेका छन् ।

शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति उनले जारी गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

विभिन्न सञ्चारमाध्यममा नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् ।

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

काठमाडौँ । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।

हुन पनि प्रायः नेपालीहरू यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदैछ । त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।

तर कामकै सिलसिलामा युएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो, चाँदनी । कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उहाँ सफल हुनुभएको छ । बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुवईकी यस्तै एक व्यावसायिक मोडल हुनुहुन्छ । अहिले उहाँले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसक्नुभएको छ ।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उहाँको मोडलिङको यात्रा सुरु भएको हो । अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिनुभयो । त्यसपछि उहाँले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिनुभयो । त्यसरी सुरु भएको उहाँको सोख अहिले व्यवसायमा परिणत भएको छ । अहिले युएईकी एक सफल मोडलका रूपमा उहाँ यहाँका नेपालीमाझ परिचित हुनुहुन्छ ।

“मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ । चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ”, मोडल पाठकले भन्नुभयो, “एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ । मोडलिङ पनि गरिरहेकी छु ।” दुबई पुगेर उहाँले सातको हाराहारीमा भिडियोमा काम गरिसक्नुभएको छ । प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उहाँको सहभागिता हुने गर्दछ । यहाँको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

“म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिन । मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो”, मोडल पाठकले भन्नुभयो । ¥याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उहाँ नेपाली समाजको प्रतिनिधिसमेत बन्नुभयो ।
 
बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभए पनि युएईका अन्य सहरमा भने कानुन कडा रहेको उहाँले बताउनुभयो । भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा युएईमा अवसर बढी भएको बताउनुभयो । मोडल पाठकले भन्नुभयो, “आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु । हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैँ हुँ । मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ ।”
 
म्युजिक भिडियो निर्देशनको तयारीमा रहनुभएकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यद्यपि त्यसका लागि उहाँ सिकाइको लागि समेत तयार हुनुहुन्छ । बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिष्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित मोडल पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाउनुभयो ।
 
यतिखेर भने उहाँ इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आउनुभएको हो । सङ्घर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको मोडल पाठकले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ । यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो ।” विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौँमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।
 
नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साताबाट सुरु भएको छ । सो प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको पुरस्कारको व्यवस्था छ । यी दुवै शोमा प्रथम हुनेले रु एक करोड, द्वितीयले रु ३० लाख र तृतीयले रु २० लाख प्राप्त गर्नेछन् । रासस

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्नुहुँर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाउनुभएको छ ।

“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पु¥याउन चाहन्छु”, उहाँले भन्नुभयो ।

मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहनुभएको उल्लेख गर्दै उहाँले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राख्नुभएको बताउनुभयो ।

“नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्णरूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु”, उहाँले भन्नुभयो । आफ्नो जीवनमा एउटा मात्र उद्देश्य मानव सेवा बनाएर अगाडि बढ्न उपभोक्तावादले ग्रस्त आजको समाजमा सजिलो काम नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा निकै महान काम भएको बताउनुभयो ।

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताउनुभयो । “नागरिकका लागि राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले सहयोगी भूमिका निर्वाह गरिरहेको छ”, उहाँले भन्नुभयो ।

विसं २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ । अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब एक हजार छ सय असहाय नागरिकले आश्रय लिइरहेका छन् । अझै झन्डै चार सयको सङ्ख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान गरिएको छ ।

आश्रमका अध्यक्ष रामजी दाहालले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिकस्थलमा बस्न नपर्ने राष्ट्र निर्माणका लागि सरकारको सहयोगी बनेर आश्रमले काम गरिरहेको बताउनुभयो । सो लक्ष्य हासिल गर्न तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।

‘मानव सेवा आश्रम’ले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको छ । मानव सेवाले असहायलाई आश्रय दिने मात्र होइन, अभिभावकत्व, पालन र स्याहारसुसार समेत गरिरहेको छ । आश्रम १० वर्षदेखि सञ्चालित छ । सो अवधिमा सात हजार चार सय ३६ जनालाई सेवा प्रदान गरेको बताइएको छ ।

अहिले मकवानपुर, झापा, मोरङ, सर्लाही, धनुषा, पर्सा, चितवन, काठमाडाँै, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, गोरखा, बागलुङ, सुर्खेत र कैलालीमा आश्रम सञ्चालनमा छन् । हालसम्म विभिन्न १३ स्थान सहयोगापेक्षी सडक आश्रित मानवमुक्त क्षेत्र घोषणा भएका छन् ।

शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुंगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

चितवन – पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा नाम जोडिएका प्रदीप रुगटा पक्राउ नपरेको भन्दै आज (शनिबार) चितवन बन्द गरिएको छ। शंकर कँडेल न्यायिक संघर्ष समितिले चितवन बन्द गरेको हो।

बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् । मुग्लिनबाट आउने सवारी साधनलाई जुगेडीसम्म आउन दिइएको छ । तर, केही बन्दकर्ता मुग्लिनमा समेत देखिएकोले सहज भने छैन ।

पोल्ट्री व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा मंगलबार झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर होल्डर प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका थिए ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ।

दार्चुला हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता

दार्चुला – हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । 

डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला नपरेका हुन । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । 

वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखिएको छ ।

यता, ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीन जनाको भने शव भेटिएको थियो । उनीहरू तीनै जनाको शव भारतीय सीमा हुँदै तीन दिनपछि हिजो सदरमुकाम खलङ्गा ल्याइएको थियो । 

गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर  तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिनुभएको हो ।

शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ ।

त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिनुभएको छ । निजी क्षेत्रलगायत सबैतिर निराशाको अवस्था रहेकाले तत्कालको प्रयास आत्मविश्सास जगाउनु रहेको सुझाव पनि उहाँहरूबाट आएको छ । सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक दलमा समान धारणा बन्नुपर्ने विषयमा पनि पूर्वअर्थमन्त्रीहरूले जोड दिनुभएको छ ।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले अहिलेको समस्या आर्थिकरूपमा मात्र नभई राजनीतिकरूपमा शासन शैलीमै समस्या रहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । “देशको शासन गर्ने पात्र, शासकीय पद्धति र प्रक्रियामा परिवर्तन गर्न जरुरी छ । फजुल खर्च कटौतीका लागि थुप्रै अध्ययन भएका छन्, त्यस्ता अध्ययनका सुझाव कार्यान्वयन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “साधारण खर्च कम गर्ने, निजी क्षेत्रको मनोबल उठाएर जाने र सँगसँगै शासकीय चरित्रमा पनि सुधार गर्दै जानु आवश्यक छ ।”

पूर्वअर्थमन्त्री डा ज्ञानेन्द्रबहादुर कार्कीले सुस्ताएको अर्थतन्त्रमा आशा जगाउने गरी यथार्थपरक बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । “सबै क्षेत्रमा आशा जगाउने गरी यथार्थपरक बजेट आउनुप¥यो । राष्ट्रिय पुँजी निर्माण गर्न ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “कृषि, ऊर्जा र पर्यटन क्षेत्र बजेटको प्राथमिकतामा पर्नुपर्छ । वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षाबारे पनि सोच्नुपर्ने बेला भएको छ ।” अहिले धेरै नेपाली कामदार विदेशको जेलमा रहेको विषयलाई सरकारले गम्भीररूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक ऋण प्रयोगमा सरकारले संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले महँगोमा ऋण लिएर त्यसको उपयोग पुँजी निर्माणमा गर्न नसक्ने हो भने थप समस्या सिर्जना हुने उहाँको भनाइ छ । बहुवर्षीय आयोजनालाई अनावश्यक स्रोत सुनिश्चितता दिन नहुने, आयोजनाको प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजानुपर्ने, सामाजिक सुरक्षामा एकरुपता कायम गर्नुपर्नेलगायतका सुझाव अर्थमन्त्री महतलाई दिएको पाण्डेले राससलाई बताउनुभयो ।

“बहुवर्षीय ठेक्काको मात्रै रु चार खर्ब बराबरको स्रोत सुनिश्चितता भएको छ । चालु खर्चलाई घटाउन भवन निर्माण, सवारी खरिदजस्ता क्षेत्रमा कार्यविधि बनाएर जान सकिन्छ । प्रदेश र स्थानीय तहले यसमा कति खर्च गर्न पाउने भन्ने यकिन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षालाई एउटै बास्केटमा हाल्न जरुरी छ । रोजगारीका क्षेत्रलाई पनि एउटै निकाय मातहत ल्याउन सकिन्छ ।” अहिले वित्त नीति कडा बनाएर मौद्रिक नीति केही खुकुलो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै कर प्रणालीलाई प्रविधिमैत्री बनाउन र करका दर निर्धारणमा बाह्य व्यक्तिको संलग्नता रोकिनुपर्ने पाण्डेको धारणा छ ।

उहाँले भन्नुभयो, “करका दरमा ‘म्यानुपुलेसन’ नहोस् भनेर सजग हुन सुझाव दिएका छौँ । कर प्रणालीलाई सफ्टवेयर बनाएर भ्याट सरकारी खातामा जाने विषयलाई पनि प्राथमिकतामा राखिनुपर्छ । कर प्रणाली चुस्त बनाउन प्रविधिको प्रयोग बढाउन आवश्यक छ । त्यस्तै उत्पादनमा मात्रै अनुदानको व्यवस्था कार्यान्वयनमा ल्याइनुपर्छ ।”

यस्तै पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अहिले ठूलो आकारको बजेट ल्याउन नसकिने भएकाले नयाँ योजना तथा कार्यक्रम बजेटमा हाल्नेभन्दा पनि पुराना कार्यक्रमलाई सक्ने गरी बजेट व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

“बजेटको अङ्कको आकार बढाउने ठाउँ छैन । तोकिएको सिलिङ वरिपरि नै बजेट आउनुपर्छ । नयाँ कार्यक्रम नल्याउने र अधुरा कार्यक्रम सम्पन्न गर्ने नीति लिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारमा मितव्ययितालाई पहिलो प्राथमिकता दिइनुपर्छ । बहुवर्षीय ठेक्कालाई स्रोत सुनिश्चिता दिनु हुँदैन ।”

सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको तर स्रोत अपुग रहेको अवस्थामा सबै दलले यसबारे समान धारणा बनाउनुपर्ने र राष्ट्रिय सहमति जुटाउनुपर्ने खतिवडाको भनाइ छ । बजेटमा विचलन नहोस् भन्नेबारे पनि सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो । ‘‘बजेटमा विचलन नहोस्, करका प्रस्ताव तलमाथि नहोस् । पहिलो त्रैमासिकमै रकमान्तर गर्ने काम रोकियोस्”, डा खतिवडाले भन्नुभयो, “राज्यले भार बोक्न नसक्ने अवस्थाका आयोजनामा निजी क्षेत्रको सहयोग लिन सकिन्छ । अहिले मौद्रिक नीति खुकुलो गर्न सकिन्छ । तर वित्त नीति कसिलो हुनुपर्छ ।”

पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएपछि अर्थमन्त्री डा महतले लक्ष्यको तुलनामा कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको बताउनुभयो । साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

छलफलका क्रममा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उहाँले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको हो । “राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताउनुभयो । संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताउनुभयो । “सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताउनुभयो । वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनुभयो । नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताउनुभयो ।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । टोखा–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढेमात्र स्थानीय तहको विकास हुने बताउनुभयो ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताउनुभयो । प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भएमात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ ।

सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त सिवाकोटीले विष्णुमती करिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभयो ।

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

किन्शासा / पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सो बारे जानकारी दिएका हुन् ।

उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट शुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौं घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।

(रासस/एएनआई र वाम)

यस्तो छ नेपाली चलचित्रको व्यापार

काठमाडौँ / चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा नाई नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी :आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ । यो निकै न्यून व्यापार हो ।

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गर्नुभयो । “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ”, बोर्डका सदस्य अधिकारीले भन्नुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।

दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार÷पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताउनुभयो । “जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।”

सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ । “ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ”, रावलले भन्नुभयो, “त्यसका लागि नेपाल प्रहरीसित पनि समन्य भइरहेको छ ।”

दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ । 

“यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भन्नुभयो, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन”, बाबुबाजेले गर्दै आएको भैँसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताउनुभएको थियो । 

पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गर्नुभएको थियो । तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाउनुभएको छ । “राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु”, पुनले भन्नुभयो, “विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।” 

वर्षमा चार÷पाँच वटा राँगा भैँसी र मासिकरुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्नुहुन्छ । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री गर्नुहुन्छ । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई रु एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिनुभएको छ । अविवाहित एक छोरीले घर धानेर बस्नुभएको छ । विवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ । 

“दिदीहरूको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो”, रेमुले भन्नुभयो, “बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो । वृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु । दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।”

नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उहाँले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाउनुभएको छ । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ । 

तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरूले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् । 

एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिनुभएको छ । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्नुहुन्छ । गोठमा बाधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् । 

भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्नुहुन्छ । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ । चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउनहुँदैन । गीत सङ्गीत सुन्दै काम गर्ने उहाँ अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउनुहुन्छ । रासस

मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकस

मनाङ – हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।

विद्यालयमा पुस्तक पु¥याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरुको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सकस भएको छ ।

हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पु¥याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिनुभयो । “मोटरेवलस्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ”, प्रधानाध्यापक विकले भन्नुभयो ।

प्लाष्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उहाँले बताउनुभयो । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पु¥याउन अझ सकस हुने गरेको उहाँको भनाइ छ ।

मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ । पब्लिकेशनले पाठ्यपुस्तक समयमा नै पु¥याएको दावी गर्दै आए पनि मनाङमा नै एक महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।

हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिनुभयो । “कक्षा सञ्चालन भएको एक महिना पछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पुरा भने आइसकेको छैन”, उहाँले भन्नुभयो ।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन् । लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ ।

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

पाल्पा – राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।

मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउनुहुन्छ सगाहाका अगुवा कृषक ऋषिराम अर्याल । उहाँको सानो चनौटे क्षेत्रमा मात्रै करिब आठ रोपनी जमिन अहिले बाँझै छ । वर्षमा तीनबाली राम्रो उत्पादन दिने खेत भएपनि बाँदरले लगाएको बाली माटोभित्र खोस्रेर खान थालेपछि अहिले धानबालीबाहेक अन्य खेती लगाउन अर्यालले छाड्नुभयो ।
       
“रातदिन खेतबारीमा कुरेर बस्न सकिएन, माटोभित्र लगाएको बीउसमेत खोस्रेर खाएर केही उब्जन पाउँदैन”, उहाँले भन्नुभयो, “सिँचाइ प्रशस्त लाग्ने जमिन भए पनि बाँदरकै कारण जग्गा बाँझो राख्न बाध्य छौँ, आफूले वर्षांैदेखि खेती गरिरहेको जमिन बाँझिदा मन खुसी छैन, बाँदरले घरमा एक्लै बस्न नसक्ने अवस्था छ, झम्टने, चितोर्थे गरेर स्थानीयलाई हैरानी पारेको छ ।” 

गाउँका जङ्गल, खरबारीमा रुख बिरुवा बढ्दै गएका छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई देख्यो कि बाँदरले झम्टिने गरेको हुँदा घरभित्र ढोका लगाएर बस्नुपर्ने अवस्था रहेको अर्याल बताउनुहुन्छ । एक समूहमा तीन सय देखि पाँच सयसम्म बाँदर एकै पटक गाउँ पस्ने गरेकाले स्थानीयलाई ज्यान जोगाउन डर त्रास छ ।

राम्रो सिँचाइ सुविधा पुगेको बिर्ताखण्डको सात रोपनी जग्गामा वर्षे धान खेतीबाहेक अन्य अन्नबाली लगाउन छाडेको छविलाल डुम्रेले बताउनुभयो । सो जग्गामा यहाँले बिगतमा विभिन्न बालीनाली लगाएर उत्पादन लिँदै आउनुभएको थियो । मकै, गहुँ, आलु, चना, केराउ, तोरीलगायतका विभिन्न अन्नबाली राम्रै उत्पादन हुने करिब सात रोपनी खेतमा वर्षको एकबाली धानबाली मात्र लगाउने गरेको उहाँ बताउनुहुन्छ । बाँदर समस्याले विगत सात वर्षदेखि उब्जाउशिल जमिन बाँझिन पुगेको उहाँको गुनासो छ । 

“सिँचाइ सुविधा राम्रो भएपछि खेती गरेर अन्नबाली स्याहार्नै पाइँदैन, वर्षे धान खेतीबाहेक अन्य बाली लगाउन छाडेको धेरै वर्ष भइसक्यो”, उहाँले भन्नुभयो, “बाँदरको विकराल समस्याले खेती गरेर ढुक्कले बालीनाली स्याहार्न नपाएपछि हामी किसानले कसरी जीविकोपार्जन गर्ने हो भन्ने पिरलोले रातदिन सताउँछ, खेती गरेर खान खोज्दा पनि बाँदरले गर्न पाइँदैन ।”

जङ्गल बढ्दै जाँदा ठूलो समूहमा आएका बाँदरले स्थानीयलाई घरमा बस्नसमेत डर त्रास बढेको छ । खेती गरेर लगानी उठाउन नसकिने अवस्था छ । समूहमा गाउँ पसेका बाँदरले घरका आँगन, बार्दली, पिँढीमा राखेका अनाज खाएर सखापै पार्ने गरेको छ । माथिल्लो बारीमा पर्ने करिब तीन रोपनी जग्गा तीन वर्षदेखि बाँझिदै गएको पिताम्बर अर्याल बताउनुहुन्छ । उहाँले बालीनाली लगाएर स्याहार्नै नपाइने अवस्था भएपछि अहिले खेती गर्न छाड्नुभएको छ । खेती गर्न छाडेपछि रुख बिरुवाले जमिन ढाकेको छ । 

राम्रो अन्नबाली उत्पादन हुने बलौटा डुम्रीकुना खेत अहिले बाँझो बनेको बताउनुहुन्छ, नारायण रेग्मी । उहाँको दाजुभाइसहितको करिब एक सय पाँच रोपनी जग्गामध्ये हाल ५० रोपनी जग्गा बाँझै छ । राम्रै अन्नबाली उब्जाउ हुने जमिन भएपछि बाँदर आतङ्कले खेती गर्नै छाडेको उहाँको भनाइ छ । 

सगाहा क्षेत्रका सानो चनौटेको करिब ११, अम्मोटे क्षेत्रका २४, सुखौटाका ५०, बुढीयाबारी एक सय ५०, बिर्ताखण्डको ३५, सगाहाको माथिल्लोबारी एक सय, सिमलगैरा खण्डको एक सय ५० रोपनी क्षेत्रफल बाँझिदै गएको छ । खेतखण्ड रहेका अम्मौटे, सुखौरा, सानो चनौटे, बिर्ता क्षेत्रमा राम्रो सिँचाइ सुविधा पुगे पनि बाँदरले सताउन थालेपछि अहिले बाँझै राख्न कृषक बाध्य छन् । 

पहिला वनजङ्गलमा प्रशस्त मात्रामा बाँदरका लागि आवश्यक पर्ने विभिन्न फलफूल, कन्दमूल पाइन्थ्यो । हिजोआज सालका रुखबाहेक अन्य रुख फँडानी गर्ने कार्यले आहार अभावमा बाँदर गाउँ पस्न थालेको हो । हिजो घाँस काट्ने खरबारी अहिले वनजङ्गलमा परिणत भएको छ । जसले गर्दा बाँदरले सोही खरबारीलाई बासस्थान बनाएर गाउँमा ठूलो सङ्ख्यामा पसेर सताउने गर्दछ । 

यो क्षेत्रमा विगत पाँच सात वर्षदेखि बाँदर पसेर सताउने गरे पनि स्थानीयले ढुक्कले खेती लगाएर स्याहार्न पाएका छैनन् । बाँदर धपाएर पनि नभाग्ने भएपछि खेती नै लगाउन छाडेको कृषकको गुनासो छ । गाउँमा युवापुस्ता पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा बाहिर रहने, घरमा बालबालिका, ज्येष्ठ नागरिक, महिलामात्रै बस्ने गर्दा पनि बाँदरले घरमा एक्लै देखेमा मानिसलाई झम्टने, चिथोर्ने, घरभित्र राखेका विभिन्न खानेकुरा खाने गरेको छ । बाँदर आतङ्कले रम्भाको सगाहा मात्र नभई अन्य क्षेत्रमा पनि सताइरहेको छ । 

कतिपय ठाउँमा बाँदरकै कारण स्थानीयले आफ्नो थलो छाड्नुपरेको छ । गाउँमा बसेर खेती गरेर खान नपाउने अवस्था भएपछि सहर बजार नजिकका क्षेत्र तथा तल्ला समथर क्षेत्रमा स्थानीय बसाइँसराइ गरी जान बाध्य छन् । गाउँका खेतीयोग्य जमिन बाँझो बनेको छ । सहर बजार तथा तल्ला समथर क्षेत्रमा बसोबास भरिन थालेका छन् । खानेपानी, सिँचाइ, मोटरबाटोलगायतका सुविधा भए पनि बाँदर समस्याको कारण देखाउँदै पछिल्लो समय धेरैले पुर्खौली बस्ती छाड्दै गएको बताएका छन् ।

बेलायती राजा चार्ल्सको राज्याभिषेक आज

लन्डन – बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ  ।

लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।

सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरिबाट दुई हजारभन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आइपुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरिका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरू सो समारोहमा सहभागी हुदैँछन् ।

आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बिबिसीले जनाएको छ । 

बिबिसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ ।  

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भएपछि उहाँका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बन्नुभएको हो । उहाँको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घण्टा चल्ने जनाइएको छ । 

व्यवसाय दर्ता तथा नवीकरण सुस्त

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन । जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९/०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ । व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय दर्ताको सङ्ख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गर्नुभयो ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा रु १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ ।

सात वर्षमा ३० बाघ मरे

चितवन – विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् ।

आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उहाँको भनाइ छ । उहाँका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७२-०७३ मा एक, २०७३-०७४ मा चार, २०७४-०७५ मा छ, २०७५-०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६-०७७ मा तीन, २०७७-०७८ मा दुई र २०७८-०७९ मा छ वटा बाघ मृत भेटिएका थिए । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताउनुभयो । निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

पर्वत – घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाउनुभएको छ । दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आउनुभएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताउनुहुन्छ । उहाँको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

एपि सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताउनुभयो । सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोर्नुभएका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताउनुभयो । उहाँले वर्षमा दुई पटक मह निकाल्नहुन्छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थाल्नुभएका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्नुहुन्छ, “ मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पु¥याउन सकिरहेको छैन ।” उहाँले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्नुहुन्छ ।

उहाँले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटबललगायतका क्षेत्रवाट व्यवसायी घरमै आएर लैजान्छन् ।”

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभयो । उहाँले वर्षमा तीन सय घारसम्म बिक्री गर्नुहुन्छ । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाउनुभयो ।

तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाउनुभयो तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उहाँ माहुरीपालनतर्फ आकर्षित हुनुभएको हो । तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बजेट अधिवेशन भोलिदेखि सुरु

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक (बजेट अधिवेशन) भोलि (आइतबार)देखि सुरु हुदैँछ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गर्नुभएको हो ।  

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दियो। 

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सोअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । 

बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति

काठमाडौँ / उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्धले दिएको सन्देशको पूर्ण पालना हुने सकेमात्र विश्व शान्ति कायम हुने बताउनुभएको छ ।

२५६७औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बुद्धको मध्यमार्गअनुसार शस्त्रअस्त्रको व्यापार, मानवबेचबिखन तथा विश्वव्यापार गर्नु पूर्णतः मिथ्या अजिविका हो भन्ने सन्देशलाई सम्पूर्ण क्षेत्रबाट आत्मसात् गर्न सके विश्व शान्ति कायम गर्न कुनै दुविधा हुने छैन । सकारात्मक ऊर्जाको विकास हुँदै जाने छ ।”

बुद्धले अगाडि सार्नुभएको पञ्चशीलको सिद्धान्तको पालनाले हाम्रो घर, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय जतगलाई सकारात्मक बाटोमा अभिप्रेरित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले विश्व जगतमा व्याप्त हिंसा, आतङ्क, प्राणघातक नशालु पदार्थको प्रयोगको पूर्ण रोकथामका लागि बुद्धको उपदेशलाई दिनानुदिन प्रचारप्रसार गरेर लैजानु सबैका लागि सुखद् विषय भएको बताउनुभयो ।

“नेपाल एक स्वतन्त्र अभिभाज्य, सार्वभौम सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, छुवाछूतमुक्त, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा अगाडि बढेको छ । यो ऐतिहासिक उपलब्धि हो, यसलाई कसैले बिर्सन हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालमा दिगो सुख शान्तिसँगै समुन्नत राष्ट्र निर्माण गर्नेतर्फ आजको सङ्क्रमणकालीन अवस्थामा सम्बद्ध सबै पक्ष सुधारिएर लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध भई सहमति प्रणाली अङ्गालेर व्यवहारत परिवर्तन हुन सके राष्ट्रलाई तार्किक निष्कर्षमा पु¥याउन सकिने बताउनुभयो ।

“त्यसलाई आत्मसात् गर्न स्वस्थ्य मानसिकताको विकास गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको विकास गर्नु नै आजको आवश्यकता हो । यसलाई सबैले हृदयङ्गम गर्नुपर्छ”, उपराष्ट्रपतिले भन्नुभयो ।

देशको सार्वभौमिकता, अखण्डता, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत पहिचानको मुद्दामा ठेस नलागोस् भन्नेमा हामी सबै सतर्क र सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले बुद्धले दिएका शिक्षा, दर्शन, संस्कृति तथा इतिहासलाई सरकारले जनभावनाअनुरुप यथोचित विकासका कार्यमा निरन्तर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बुद्धको जन्मभूमि लुम्बिनीको गुरुयोजनालाई यथाशीघ्र सम्पन्न गर्ने र गराउनेतर्फ सरकारको ध्यानाकृष्ट गराउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बुद्धले देखाएको बाटो र उहाँको अनुशरण सबैले गर्नुपर्ने बताउनुभयो । समाजको जुनसुकै क्षेत्रमा रहेका व्यक्तिलाई पनि बुद्ध शिक्षाको महत्व रहेको भन्दै उहाँले बुद्धले देखाएको मार्गमा हिँड्न सबैले सक्नुपर्ने बताउनुभयो ।

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

टोकियो / जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो ।
“कम्पन निरन्तर चलिरह्या जसका कारण मलाई डर लाग्यो,”टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताउनुभएको छ ।

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भ¥्याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।

एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।
एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ । आकाशबाट लिइएका तस्बीरमा केही क्षेत्रमा भूकम्पको कारण घरहरू पूर्ण वा आंशिकरूपमा क्षति भएको देख्न सकिन्छ ।  (रासस/सिन्ह्वा) 

एक लाख ५० हजार घुससहित प्रहरीका लेखापाल रंगेहात पक्राउ

काठमाडौं / जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट एक लाख ५० हजार चेक र ५० हजार नगदसहित पक्राउ परेका छन् । 

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन काठमाडौं आएको मौका छोपी अख्तियारको विशेष टोलीले विष्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई विष्टलाई शुक्रबार नयाँ बानेश्वरबाट रंगेहात पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौं आएका विष्टलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुनेछ । लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कुल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैङ्कको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेटन् । आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सस्केछन् । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैङ्कले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

नवलपरासी / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।”

प्रधानमन्त्री दाहालले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवं पर्यटकिय स्थल रहेको बताउनुभयो । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।

भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्तूपको विकासका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

निर्वाचनबारे गम्भीर समीक्षा हुन जरुरी : नेता कोइराला

चितवन / नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको अनुमान छ ।

अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताउनुभयो ।

हेलिकोप्टर दुर्घटना अपडेट : एकको मृत्यु

खाँदबारी / सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

कोलम्बो / श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ ।

कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताउनुभयो ।

प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताउनु भएको छ । श्रीलङ्काले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ।यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन ।(रासस–सिन्ह्वा)

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो । उहाँले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अहिले निर्माण कम्पनीले कामा ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले आज पत्रकार सम्मेलन गरेका थिए ।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

इस्लामावाद / स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।

गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।

पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ। (रासस/सिन्ह्वा)

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ / नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ ।

सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु

म्लादेनोभाक / एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक जना प्रहरी अधिकारीसँग झगडा भएपछि करिब २० वर्षको एक युवकले स्वचालित हतियारबाट गोली प्रहार गरी उनीहरूलाई मारेको स्थानीय सञ्चारमाध्यमले आज जनाएका छन् । आक्रमणकारीको खोजी भइरहेको छ । सुरक्षा निकायले भारी मात्रमा प्रहरी परिचालनका साथै हेलिकप्टर र ड्रोन प्रयोग गरेर आक्रमणकारीको खोजी गरिरहेको छ । आक्रमणमा मारिएका सबै २३ वर्ष मुनिका किशोरकिशोरी हुन् ।

नरसंहारको घटनाबारे जानकारी प्राप्त हुनेवित्तिकै स्वास्थ्यमन्त्री, सुरक्षा तथा गुप्तचर निकायका उच्च अधिकारी घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

गत बुधबार बेलग्रेडको एक विद्यालयमा १३ वर्षका एक जना विद्यार्थीले गोली हानेर आफ्ना आठ जना साथीको हत्या गरेको थियो । एक साताको अन्तरालमा भएका यी दुई घटनाले सर्वियाली सरकारलाई बन्दुकको स्वामित्वमा कठोर प्रतिबन्ध लगाउन प्रेरित गरेको छ ।

पहिलेदेखि नै बन्दुकसम्बन्धी धेरै कडा कानुन भएको सर्वियामा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका थिए । अन्य युरोपेली देशको तुलनामा सर्वियामा बन्दुकको स्वामित्व स्वतन्त्रता अधिक छ । सन् २०१९ को एक तथ्याङ्कअनुसार हरेक एक सय सर्वियालीमध्ये करिब ४० जनाले बन्दुक बोक्ने वा राख्ने गरेका छन् । अमेरिका र मोन्टेनेग्रोपछि बन्दुक राख्ने अनुमति प्राप्त देश विश्वकै तेस्रो मुलुक सर्विया हो । (रासस एएफपी)

उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

चितवन – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उहाँले भन्नुभयो, “उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो ।

आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उहाँले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताउनुभयो । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उहाँले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताउनुभयो । यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उहाँको भनाइ छ ।

हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै

काठमाडौँ – सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।

दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

बुद्धका उपदेशबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि हुनेः प्रदेश प्रमुख शेरचन

लुम्बिनी – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विश्वले शान्तिको प्रकाशका रूपमा सम्मानित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

पच्चिस सय ६७औँ बुद्ध जयन्तीका अवसरमा हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।

यसबाट राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्वशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले बुद्ध जयन्तीका अवसरमा नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

वैशाख शुक्लपक्ष पूर्णिमाका दिन बौद्धदर्शनका प्रवर्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसङ्योग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

“सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट सशक्त बन्ने हो”, मन्त्री शर्माले भन्नुभयो, “ जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”

सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले सार्वजनिक निकायले सम्पादन गरेका कामका बारेमा प्रश्न उठाउन पाइन्छ भन्ने जानकारी धेरैमा नभएको बताउनुभयो ।

“कुन निकायबाट के सेवा सुविधा प्राप्त हुन्छन्, कसको जिम्मेवारी के हो भन्नेसमेत जनस्तरमा पर्याप्त जानकारी नहुँदा जनताले सरकारसँग धेरै आशा गर्ने, आशा पूरा नभएमा निराश हुने अवस्था छ”, उहाँले भन्नुभयो, “सार्वजनिकरूपमा आक्रोश पोख्ने प्रवृत्ति बढ्दै गएको छ, यसलाई कम गर्न पनि सूचनाको हकको प्रयोगलाई ब्यापक बनाउनु आवश्यक छ ।”

सूचनाको हकसम्बन्धी ऐनले प्रत्याभूत गरेका कानुनी व्यवस्था कार्यान्वयनका लागि सरकार दृढ र प्रतिबद्ध रहेको र हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारी र सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको उहाँको भनाइ थियो । सङ्घीय, प्रदेश सरकार र स्थानीय तहहरूले समेत यो अभ्यासलाई अघि बढाएको उल्लेख गर्दै उहाँले सकेसम्म सबै सरकारी सूचना एउटै माध्यमबाट प्रवाह गर्ने गरी तयारी अघि बढाइएको पनि बताउनुभयो ।

मन्त्री शर्माले पारदर्शिताको उद्देश्य सुशासन भएको र वर्तमान सरकारको मुख्य जोड नै सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको पनि स्पष्ट गर्नुभयो ।

“जनताले सरकारी निकायमा पुगेर कानुनीरूपमा माग गरेका सूचना मात्र होइन”, मन्त्री शर्माले भन्नुभयो, “सडक वा सञ्चारमाध्यमबाट अभिव्यक्त गरेका अवाजलाई समेत सार्वजनिक सूचनाकै रूपमा लिएर सम्बन्धित पक्षसँग संवाद गरी जायज मागको सुनुवाइ गर्ने कामलाई समेत सरकारले प्राथमिकता दिएको छ ।”

पछिल्ला केही घटनाक्रमलाई हेर्दा पनि सडक र सञ्चारमाध्यममार्फत प्राप्त सार्वजनिक सूचनालाई गहिरोरूपमा अध्ययन गरी सरकारले कारबाही प्रक्रिया अघि बढाउने तदारुकता देखाएको उहाँको भनाइ थियो । “सुशासन र सेवा प्रवाहको सरकारी प्राथमिकता कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “सरकारले सोझै प्राप्त गर्न नसक्ने जनताका गुनासा, बेथिति र अनियमितताका सूचनाहरू सञ्चारमाध्यमबाट सार्वजनिक भए भने त्यसलाई आधार मानेर कारबाही अघि बढाउन सरकारलाई सजिलो हुनेछ, लुकेका यस्ता कतिपय सूचना सार्वजनिक गरी सरकारलाई सुशासनतर्फ अघि बढ्न सहयोग गरेकामा म आम सञ्चारका माध्यमहरूलाई धन्यवाद पनि दिन चाहन्छु ।”

सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाले दिने गरेका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री शर्माले सार्वजनिक सूचनाको अद्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्न गर्नुभयो ।

सूचनादाताको सुरक्षाको सवालमा पनि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री शर्माले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु भएको र जनताले चाहेको सूचना सहजरूपमा प्राप्त नगरेमा सम्बिन्धत अधिकारीहरू दण्डित हुने कानुनी व्यवस्थासमेत भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न सबैमा अपिल गर्नुभयो ।

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

गण्डकी – प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताउनुभयो । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भन्नुभयो ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताउनुभयो । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उहाँले भन्नुभयो, “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”

“एकीकृत समाजवादीलाई कुन मन्त्रालय दिने भन्ने विषय मुख्यमन्त्रीले नै मिलाउनुहुन्छ, गठबन्धनले त्यसको जिम्मेवारी उहाँलाई नै दिएको छ”, प्रदेशसभा सदस्य जुग्जालीले भन्नुभयो, “मन्त्रालयको संख्या भने सातभन्दा बढ्दैन ।” निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्यालाई १२ बाट घटाएर सातमा पु¥याएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहणका बेला मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाउनुभएको थियो । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ ।

संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौँ – सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । 

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा  सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । 

उहाँले भन्नुभयो, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।”

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ । 

“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो ।