`

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु,ट्रक चालक प्रहरी नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु , दैनिक २० जना मजदुर परिचालन

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “प्रदेश सरकारबाट प्राप्त रु ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “जङ्गल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पैदलमार्गका साथै दुईवटा विश्रामस्थल बनाउने योजना छ ।”

करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ । पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुईवटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली–मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताउनुभयो ।

करवाकेली–आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन् । राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन् । एक समूहमा दैनिक १०–१५ देखि १५–२० जनाका दरले मजदुर परिचालन गरिएको छ । आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ । ढुङ्गा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताउनुभयो ।

बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुङ्गा नपाइदा पदमार्ग निर्माणमा चुनौती बनेको छ । पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ ।पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ मा पर्ने घोडेपानी, पुनहिलबाट मोहरेडाँडा–करवाकेली हँुदै बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रघुगङ्गा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ ।

गुराँसको जङ्गल, पुन समुदायको करवाकेली थान, सङ्ग्रहालय, ग्रामीण बस्ती, जीवनशैली, वनजङ्गल, वनस्पति र वन्यजन्तु करवाकेली–मोहरेडाँडा पदमार्गका आकर्षण हुन् । यो पदमार्गले करवाकेली र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गलाई जोड्छ । करवाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । यहाँबाट सूर्याेदय, सूर्यास्त, सिस्ने, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ ।

म्याग्दीको दग्नाममा भूमे पूजामा चार सय वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगिता

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मंगलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झैँ गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाइएको थियो । यो वर्ष समान उचाइका दुईवटै गाउँका लिङ्गोे बराबरी भएको स्थानीय अगुवा धनीलाल गर्बुजाले बताउनुभयो ।

करिब चार सय वर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेषगरी प्रकृति पूजाको रूपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गोे जुधाउने गरिन्छ ।

दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् । प्रकृतिको पूजास्वरूप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजा पतकाले सिँगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए ।

दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले जेठ १८ गतेदेखि सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकुद कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) पनि भूमे पूजामा सहभागी भई लिङ्गो जुधाइ प्रतियोगिताको अवलोकन गर्नुभएको थियो । स्थानीय पुर्ख्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवका बीच स्थानीयबासीले बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन लिङ्गोे जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।

“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गोे जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागिरहन्छौँ”, उहाँले भन्नुभयो । केही वर्ष अगाडिसम्म दुई गाउँबीच प्रतिष्ठालाई बढावा दिएर लिङ्गो जुधाउने गरिने भए पनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रूपमा लिङ्गो जुधाउने गरिएको छ ।

जेठा भूमेको रूपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएका छन् ।
–––

फ्रान्स र सर्भिया पठाइदिन्छु भन्दै ५२ लाख ठगी गर्ने दुई जना समातिए

काठमाडौँ-फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौँ बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट रु ४० लाख असुलेको पाइएको छ । उनले जानका लागि प्रतिव्यक्ति रु १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उहाँले बताउनुभयो ।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ । यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।वै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
 

आजको मौसमः यी प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा

काठमाडौं, १७ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा  हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

नारायणमान बिजुक्छेँद्वारा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीलाई सम्मान

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले तीन वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुभएको छ । भक्तपुर नगरपालिकाको यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले २०७७, २०७८ र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी एवं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्री र निर्णायकलाई सम्मान गर्नुभएको हो ।

खेलकुदलाई व्यक्तिगत स्वार्थ र पदीय लुछाचुँडीको विषय बनाउन नहुने भन्दै अध्यक्ष बिजुक्छेँले मित्रता र सहयोगको भावनालाई कायम राख्न खेलाडी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । खेलकुद मानवजीवन र सिङ्गो समाजको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको बताउँदै उहाँले स्वस्थ जीवन जीउन एवं देश तथा समाजको सेवा गर्न खेलकुदको ठूलो भूमिका हुने चर्चा गर्नुभयो । अध्यक्ष बिजुक्छेँले खेलकुद अनुशासनको पर्याय भएको भन्दै खेलकुदको महत्त्वको विषयमा युवालाई शिक्षित गर्नु आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि खेलकुद क्षेत्रमा कुनै उल्लेख्य काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलको माध्यमबाट भक्तपुरको नाम उच्च राख्न युवाले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । भौतिक पूर्वाधारको अभावका बीच पनि भक्तपुरका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो खेल प्रदर्शन गरिरहेको बताउँदै भक्तपुरमा खेलकुदको पूर्वाधार विकास गर्ने विषयमा युवा तथा खेलकुद समितिले क्रियाशीलता देखाइरहेको छ भन्नुभयो ।

भक्तपुर नपाले भलिबल, टेबलटेनिस, कबड्डी, जिम्नास्टिक, शारीरिक सुगठन, पावर लिफ्टिङ, बक्सिङ, टेनिस, भारोत्तोलन, उसु, बास्केटबल, किक बक्सिङ, ब्याटमिन्टन, सितेरियो कराँते, खोखो, एथलेटिक्स, पोर्टबल, बुद्धिचाल, फुटबललगायतका खेल विधाका वर्ष उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय पदक प्राप्त एक सय ३९ खेलाडी, रेफ्री, निर्णायक र प्रशिक्षकलाई सम्मान गरेको नपाकी उपप्रमुख रजनी जोशीले बताउनुभयो ।

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । 

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए । आममाफी नदिएकाे भए चाैधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने  थियाे । अदालतकाे फैसाला अनुसार थप १४ बर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि साे कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।  

नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठजनाको बिभत्स हत्या गरिएको थियो ।

आज भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, १७ जेठ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई बिद्युत विक्री तथा बंगलादेशलाई बिद्युत बिक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको बिषयमा छलफल हुने जनाईएको छ ।  

अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ

तनहुँ-ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।”

प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिनुभयो । उहाँका अनुसार यस दिन गिदरी प्रजातिको काठलाई मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गर्ने र दरै समुदायका सबैले आगोलाई घरमा लैजाने प्रचलन रहेको छ । आगो पूजा गरेपछि प्रसादको रुपमाचामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ ।

“पूजा गरिएको आगोलाई जाँड र डेगुवा चढाउनै पर्ने मान्यता छ”, पुजारी दरैले भन्नुभयो, “आगोको विधिपूर्वक पूजा नगरे घरमा चट्याङ र आगलागी हुन्छ भन्ने किंवदन्ती छ ।” आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताउनुभयो । यसअघि आगोको बृहत् पूजा गरिएको जानकारी नपाएको उहाँले बताउनुभयो ।

“यसरी बृहत् भेला गरेर आगोको पूजा गरेको यसअघि थाहा पाएको थिइनँ”, सुनिताले भन्नुभयो, “यसरी पूजा गर्दा हाम्रो संस्कृति पनि रोचक रहेछ भन्ने अनुभव भएको छ ।” निम्तो पाएपछि छ÷सात जना भएर आफूहरू आगोको पूजा गर्न आएको व्यास–१० अत्रौली दरै समाजका अध्यक्ष हिराबहादुर दरैले बताउनुभयो । यस्तो कार्यक्रमले आफूहरूलाई संस्कृति संरक्षण गर्नेबारे सचेत बनाउने उहाँको भनाइ थियो ।

आगोको पूजा सम्पन्न गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताउनुभयो ।

“युवा पुस्ताले संस्कृति बिर्सिंदै गएकाले पनि यसपटक सबै दरै बस्तीलाई निम्ता गरेका हौँ”, समिति अध्यक्ष दरैले भन्नुभयो, “यस्तो पूजाले संस्कृतिलाई संरक्षण गर्न सहयोग पु¥याउने ठानेका छौँ ।” आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको अध्यक्ष दरैको भनाइ छ ।

आगोको पूजा गरेपछि प्रसाद ग्रहण गर्दै नगर उपप्रमुख दरैले आगोको विधिवत् पूजा गर्ने दरै प्रकृतिप्रेमी रहेको तथ्य प्रमाणित भएको बताउनुभयो । “नदीखोलाको किनारामा माछा मारेर जीविका चलाउँदै आएका दरैहरूको संस्कृति संरक्षण गर्न आवश्यक छ”, उपप्रमुख दरैले भन्नुभयोे, “त्यसको लागि व्यास नगरपालिकाको कार्यालयबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।”

नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार आठ सय ७९ छ ।

आज निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै

प्राचीन मिथिला क्षेत्रका मधेसका महोत्तरीसहितका जिल्लामा आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन् ।

पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा जेष्ठ शुक्लपक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ । जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाअर्चना प्रयोजनको पूmलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन्नजल नखाइ गरिने व्रत) बस्ने मैथिल चलन छ ।

मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष नै मानिन्छन् । हिन्दू मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

“मैथिल परम्परामा वर्षभरिका सबै एकादशी र तुलसीको महत्व छ, यद्यपि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष मानिन्छन्”, झा भन्नुहुन्छ, “निर्जलामा तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसी विवाह गरिने चलन छ ।” हिन्दू मैथिल परम्परामा लक्ष्मीसहित भगवान् विष्णु समुद्रमा जानुहुने, हरिशयनीका दिन विष्णु शयन गर्ने र हरिवोधनीका दिन जागा हुने विश्वास गरिँदै आइएको झाको भनाइ छ ।

अघि सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएकी वर्णन पाइन्छ । त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उहाँको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ ।
धार्मिक विश्वासमा पूजा गरिने तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति रहेको त विज्ञानकै पछिल्ला अध्ययनले पुष्टि गरेको वातावरणविज्ञ सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास सामाजिक संस्थाका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । त्यसैले तुलसीको बीउ छर्ने, रोप्ने र संरक्षणका दायित्वसँग जोडिएका मैथिल परम्पराका चाडवाड परम्परामात्र नभई वैज्ञानिक पनि रहेका यादवको भनाइ छ ।

कोसी प्रदेश सरकारले पहिचान पक्षधरलाई वार्तामा बोलायो

मोरङ- कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको हो । वक्तव्यमा नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ ।

नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार कोशी नामकरण रहन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मन्त्री सिटौलाले नागरिक चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यको समर्थनमा प्रदेशको नामकरण भएको बताउनुभएको छ ।यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभएको थियो ।

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

राष्ट्रिय हितका द्विपक्षीय सहमति हुन्छन् : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रेमश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा राष्ट्रिय हितमा द्विपक्षीय सहमति र सम्झौता हुने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकनपछि आज रासस स्टुडियोमा प्रधानमन्त्री दाहालको बुधबारदेखि हुने भारत भ्रमणबारेमा जानकारी दिँदै उहाँले भ्रमणका क्रममा आफ्नो नेतृत्वको मन्त्रालयका विषयमा हुने सहमति र सम्झौताबारे बताउनुभएको हो ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी रहनुहुने मन्त्री रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण हुने, दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि सहमति हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिलिगुडी चारआली पाइपलाइन र टर्मिनल ट्याङ्क बनाउने कार्यक्रम छ । यसैगरी अमलेखगञ्ज लोथर सम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्याङ्क पनि बनाउने विषयमा सहमति हुने कार्यक्रम छ । यो आधा आधा प्रतिशतमा काम गर्ने मोडेलमा छ ।” सुगौली र चारआली क्षेत्रको पेट्रोलियम पाइपलाइनमा भारतले सम्पूर्ण खर्च लगाउने र अमलेखगञ्जदेखि लोथरसम्मको काममा भारतले पाइपलाइन ओछ्याइने दिने तथा टर्मिनल ट्यङ्क नेपालले बनाउने योजना रहेको मन्त्री रिजालले बताउनुभयो ।

यसैगरी भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगञ्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहलाई अघि बढाउने सन्दर्भमा पनि कुराकानी हुने मन्त्री रिजालको भनाइ थियो । जुट निर्यातमा लगाईएको एन्टिडम्पिङलगायतको विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रसायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उहाँले बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नुहुनेछ । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

काठमाडौं, १७ जेठ-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ ।

कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् । 

‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् ।

पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए ।

‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु

काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ । इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उहाँलाई आज बयानका लागि लगिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

चितवन- नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।”

उहाँले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरुको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो ।”

सरकारले ल्याएको बजेटले आफ्नो विधि प्रक्रिया मात्रै पुर्याएको उहाँले बताउनुभयो । बजेट नारैनारामा सीमित भएको टिप्पणी गर्दै उहाँले भाषाले सबैतिर छोएको, मिलाएको तर स्रोतको कुनै सुनिश्चितता गर्न नसकेको बताउनुभयो । सङ्घीय शासन प्रणालीमा सङ्घीय सरकारको एकात्मक र केन्द्रीकृत ढङ्गको बजेट आएको उहाँले बताउनुभयो ।–

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन

काठमाडौं, १६ जेठ -क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शंकर पौडेलले बताए ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । पूर्व आदेशअनुसार नै गर्नुभनेकाले थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको बताइएको छ ।

वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुने उल्लेख गर्नुभयो । दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ ।

नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ । उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको उहाँको भनाइ छ ।

उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्रिगण, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नुहुनेछ । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले सोमबार मात्रै प्रतिनिधिसभामा भारत भ्रमणको बारेमा जानकारी गराइसक्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत भ्रमणका बारेमा छलफल गरेको छ ।
–

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस मुग्लिनमा दुर्घटना

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिन-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

 तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा  ठोक्किएर  पल्टिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन  भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताउनुभयो ।  

प्रधानमन्त्रीले भारत भ्रमण बारे संसदीय दलमा गराए जानकारी

काठमाडौं, १६ जेठ-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् । सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।

भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने उनले बताएका थिए ।
 

महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गर्नुभएको छ । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उहाँले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गर्नुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गर्नुभयो । उहाँले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गर्नुभयो । समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने धारणा उहाँको छ ।

अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउनसमेत आग्रह गर्नुभयो । “मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दै, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो ।” अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकार पक्षमा अझै आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

नमोबुद्धमा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै,२६ चलचित्र तथा ‘डकुमेन्ट्री’ प्रदर्शनी गरिने

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरमा तीनदिने ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिने भएको छ । ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’को प्रदर्शनीसमेत गरिने छ । यही जेठ २५, २६ र २७ गते खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण मानिसलाई ग्रामीण परिवेशका चलचित्र देखाउने अर्को उद्देश्य हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उहाँले बताउनुभयो । साथै महोत्सवमा सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित चलचित्रका समीक्षासमेत गरिने योजना बनाइएको छ ।

संस्थाले यसअघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरेको थियो । महोत्सव आयोजनाले स्थानीयलाई मनोरञ्जनसँगै चलचित्रप्रतिको चासो तथा सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र नमोबुद्धमा चलचित्र छायाँङ्कनमा आकर्षण बढ्ने विश्वास गरिएको छ ।

चार करोड ८२ लाखमा भूजीखोलामा मोटरेबल पुल बन्दै , ६० प्रतिशत काम सम्पन्न

बागलुङ- बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करिब चार महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ । जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ । केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ । बागलुङको ढोरपाटन नगरपालिका–६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नं ६ को दोगाडीस्थित भूजीखोलामा तीन वर्ष अगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुनसकेको छैन । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते महादेव÷खिम्ती÷क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो ।

दुई वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक विसं २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको छ । निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणकार्य अहिले धमाधम भइरहेको इञ्जीनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । पुल निर्माण अहिलेसम्म ६० प्रतिशतमात्रै सम्पन्न भएको उहाँको भनाइ छ । पुल रु चार करोड ८२ लाखमा बन्न थालेको हो । अहिले काम धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने सम्भावना निकै कम रहेको इञ्जीनियर श्रीसले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कामदार पनि धेरै छन्, काम पनि तीव्रगतिमै भएको छ, तर अब म्याद सकिन धेरै समय छैन काम अलि बढी नै छ, सरसर काम भयो भने अझै छ महिना लाग्ने देखिन्छ, धेरै काम भए पनि मुख्य काम हुन बाँकी हुँदा समय धेरै लाग्छ, पहिला काम निरन्तर नहुँदा समस्या भएको हो, पहिलोपटकको म्याद सकिएपछि दोस्रो म्याद थपका लागि निवेदन दिने तयारी गरेको देखिन्छ ।”

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो । बुर्तिबाङ बजारबाट यी गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुईवटा पुल तर्नुपथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नुपर्ने समस्या अहिलेको बर्खामा पनि यथावतै रहने भएको छ । बर्खा सुरु हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालिको बर्खामा पनि आफूहरूले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दलबहादुर बुढामगरले गुनासो पोख्नुभयो ।

सडक खुलेको वर्षौँ बितिसक्दा पनि स्थानीयले सहजरूपमा यात्रा गर्न नपाएको बुढामगरले बताउनुभयो । सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्याउन निकै समस्या भइरहेको स्थानीय बुढामगरले बताउनुभयो । सरोकारवाला निकायको मौनताले अहिलेसम्म पुल निर्माण हुन नसकेको उहाँ बताउनुहुन्छ ।

“यो पल बन्यो भने एउटा ठूलो भेगका हजारौँ मान्छे लाभान्वित हुनेछन्, पुलका कारण विकास निर्माणमा पनि समस्या भइरहेको छ, गाउँमा सडक पुगे पनि कयौँ वर्ष बर्खाको समय हिँडेर बजार पुग्नुपर्यो, नुनतेल, चामल पनि घोडा खच्चडमा ढुवानी गर्नुपर्यो”, बुढामगरले भन्नुभयो, “सबैभन्दा बढी समस्या त बिरामीलाई अस्पताल पुर्याउँदा हुँदोरहेछ, गाउँबाट पुल बन्न लागेको ठाउँसम्म गाडी आए पनि खोलापारि घण्टौँसम्म गाडी कुर्नुपर्ने बाध्यता छ, सहरबजारमा जस्तो गाडी चलि राख्दैनन्, पुल बनेको हुन्थ्यो भने सिधैँ गाउँबाट अस्पताल पुग्न सकिने थियो ।”

ढोरपाटन –६ का वडाध्यक्ष उमेशकुमार बुढामगरले अहिलेसम्म पुल नबन्दा यस क्षेत्रका दर्जनौँ गाउँका हजारौँ स्थानीय मारमा परेको बताउनुभयो । पुलका कारण गाउँमा उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्याउन र सामान आयात गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ । पुल समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायलाई आग्रह गरिरहेको उहाँले बताउनुभयो ।

महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

भोजपुर, १६ जेठ -उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् ।

पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको कारण नेपाल विद्युत् प्राविधिकरण भोजपुर वितरण केन्द्रले आयोजनामा जडान गरिएको विद्युत् लाइन काटिदिएको उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले जानकारी दिनुभयो ।

“पानी सञ्चालनको क्रममा उठेको महसुल तिर्न नसक्दा विद्युत् काटिएको अवस्था छ”, उहाँले भन्नुभयो, “विद्युत् काटिँदा स्थानीयलाई एक महिना बढी समयबाट पानी खुवाउन सकेका छैनौँ । प्राधिकरणसँग पुनः विद्युत् जडानका लागि पहल गरिरहेका छौँ ।”

अवरोध भएको पानीलाई पुनः सञ्चलानमा ल्याउन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताबीच छलफल गरिएको छ । त्रिपक्षीय छलफलबाट पानीलाई नियमितरूपमा सञ्चालन गर्न पुरानो समितिलाई विघटन गरेर अर्को समिति गठन गर्ने निर्णय भएको छ ।

पुरानो समितिले आयोजना सञ्चालनका क्रममा भएको आयव्ययको वितरण हालसम्म जानकारी नगराएको स्थानीयले बताएका छन् । पन्ध्र दिनको सूचना जारी गरी आगामी जेठ २७ गते साधारणसभामार्फत नयाँ समिति गठन गर्ने निर्णय भएको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिनुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक तामाङ काठमाडौँमा रहेका कारण कामलाई सहजरूपमा सञ्चालन गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ ।

“पानी नियमितरूपमा दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “आर्थिक तथा प्राविधिक समस्या देखापरेका छन् । समितिको अध्यक्ष काठमाडौँमा हुनुहुन्छ । आजको भेलाले समिति परिवर्तन गर्ने निर्णय गरेको छ । नयाँ समिति गठन गरेपश्चात थप काम गर्न सहज हुने आशा गरेका छौँ ।”

हाल भएको समितिले व्यवस्थित ढङ्गले पानी खुवाउन पहल गर्न नसकेको स्थानीयवासी तिलाचन तामाङले बताउनुभयो । योजना सञ्चालनका क्रममा भएको खर्चको विषयमा हालसम्म समितिले स्थानीयलाई कुनै जानकारी दिन नसकेको उहाँको भनाइ छ । “उपभोक्ता समिति जिम्मेवार बन्न नसक्दा स्थानीय पानी खानबाट बञ्चित भएका छन्”, उहाँले भन्नुभयो, “यो आयोजनालाई सहजरूपमा सञ्चालन गर्न सबैले भूमिका खेल्न आवश्यक छ । आगामी दिनका कामलाई व्यवस्थितरूपमा सञ्चालन गर्न समिति पुनःगठन गर्ने सहमति भएको छ ।”

योजना सञ्चालनमा उपभोक्ता समिति गम्भीर नहुँदा स्थानीय पानीको मारमा परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । समितिले यहाँ हुने गरेका समस्याको विषयमा कार्यालयसँग समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताउनुभयो । यसअघि यहाँको स्थलगत अनुगमन गरेर देखिएका समस्याको समाधानमा छलफल गरेको भए पनि समितिले खास चासो नदिएको उहाँको भनाइ छ ।

“उपभोक्ता समिति निष्क्रिय बन्दा जनतालाई समस्या भएको देखिएको छ”, उहाँले भन्नुभयो, “समितिले योजनाको दिगो व्यवस्थापना लागि कुनै योजना बनाएको छैन । यहाँको समितिलाई पुनःगठन गर्ने निर्णय भएको छ । नयाँ समिति बनेपछि यसलाई व्यवस्थित गर्न थप टेवा पुग्ने आशा गरेको छौँ । समिति सक्रिय नबनेसम्म कार्यालयको पहलले मात्र योजना धान्न सम्भव छैन ।” महसुललाई कमी गर्दै स्थानीयलाई सहजता थप्न पिखुपा खेलामा पानी तानेको स्थानमा सोलार जडानका लागि काम गर्ने योजना रहेको प्रमुख सिंहले बताउनुभयो ।

तत्काल आयोजनामा देखिएको समस्या समाधानमा पहल गर्ने वडा कार्यालयले जनाएको छ । खानेपानी कार्यालयसँग समन्वय गरेर हाल देखिएको समस्या समाधन गर्न भूमिका खेल्ने रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङका वडाध्यक्ष जगत् चौहानले बताउनुभयो । “खोलाको पानी बस्तीमा आउँदा स्थानीयमा उत्साह थपिएको थियो”, वडाध्यक्ष चौहानले भन्नुभयो, “एक महिना बढी समयबाट पानी नआउँदा स्थानीयमा निराशा छाएको अवस्था छ । उपभोक्ता समितिलाई सक्रिय बनाउँदै पानी नियमित सञ्चालनमा वडाले भूमिका खेल्छ ।”

विगतमा पानीको खास समस्या नभए पनि विसं २०७२ को भूकम्पपछि यहाँका मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै गएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयले गाउँबस्ती नै छाड्दै गएका थिए । यहाँका स्थानीयको पानीको समस्या समाधान गर्न तीन हजार दुई सय मिटर तल रहेको पिखुवाखोलाको पानी लिफ्टिङ प्रविधिबाट बस्तीमा पुर्याइएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब रु १० करोड ५० लाख लागतमा पिखुवाखोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । छब्बीस वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहनुभएकी उहाँ गत महिना नै सगरमाथा क्षेत्र पुग्नुभएको थियो । उहाँ यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गर्नुभएको थियो । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उहाँ भन्नुहुन्छ । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उहाँले सुनाउनुभयो ।

रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गर्नुभएको थियो । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उहाँहरू साइपाल चढ्न सक्नुभएन । साइपाल छुने प्रयास असफल भए पनि उहाँको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उहाँ भन्नुहुन्छ, “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।” मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उहाँले भन्नुभयो, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उहाँले बताउनुभयो ।

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लाग्नुभएका उहाँले भन्नुभयो, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।”

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उहाँको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उहाँले बताउनुभयो । “एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्”, उहाँले भन्नुभयो, “घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।”

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउनुहुन्छ । “भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ”, उहाँले भन्नुभयो, “सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।” वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उहाँको भनाइ छ ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आउनुभएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताउनुभयो । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उहाँले मासिक रु १० हजार पाउनुहुन्छ । उहाँका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ । “दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।”

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत हुनुहुन्छ फटाहु थारू पनि । उहाँ ४० वर्षको हुनुहुन्छ । उहाँले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताउनुभयो । “वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ”, उहाँले भन्नुभयो, “यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।”

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताउनुभयो । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उहाँलाई भने वन हेरालु नै हुन मन परेको छ । “महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ”, उहाँले भन्नुभयो, “पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।”

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताउनुभयो । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उहाँको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बन्नुभएका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गर्नुभएका अजोद्धयाको मासिक तलब रु १५ हजार छ । वनको रेखदेख गरेवापत उहाँले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उहाँ बताउनुहुन्छ । विसं २०७०÷७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।

गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियोः विजुक्छें

भक्तपुर, १६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनकाे भनाइ छ ।

एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिंदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

वाशिङ्टन -अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भन्नुभयो “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो । ”

सोमवार आयोजित कार्यक्रमपछि राससलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो ।”

कार्यक्रममा सहभागी हुनुभएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आउनुभएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो । त्यसैले सोमबार ७०आँै सगरमाथा दिवस पनि मनाइएको थियो । सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी हुनुभएको थियो । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवस स्थापना भएको अवसरमा अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा झण्डोत्तोलनसहित कार्यक्रम गरिएको छ । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले वाशिङ्टन डिसीस्थित नेपाली दूतावास परिसरमा एक समारोहबीच झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा नेपाली नियोगका उपप्रमुख कुमार खरेललगायत दूतावासका अधिकारीहरू सहभागी हुनुभएको थियो । उक्त अवसरमा राजदूत खत्रीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको थियो ।

यसैगरी नेपाली महावाणिज्य दूतावास न्यूयोर्कमा गणतन्त्र दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले आमन्त्रित महानुभावलाई स्वागत गर्नुभएको थियो ।

१५ लाख लगानीमा गैँडाकोटमा मकैघर सञ्चालन,मकैको चटपटे देखि मकैको मःम सम्मका परिकार पाईन्छन्

नवलपरासी- स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–५ स्थित नगरपालिका चोकमा मकैघर सञ्चालनमा आएको छ । बाह्रै महिना हरिया र ताजा मकै पाइने गैँडाकोटमा राजमार्गका यात्रु तथा स्थानीय ग्राहकलाई लक्षित गर्दै मकैका सम्पूर्ण सामग्री उपलब्ध गराउने गरी मकै घर सञ्चालनमा आएको हो ।

स्थानीय युवा व्यवसायी लीला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्देश्यसहित मकैघर सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँका अनुसार मकै घरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै, मकैको चटपटे, मकैको मःमः, मकैको सातु, मकैको पकौडालगायतका परिकार पाइन्छन् । मकैसँग खान मिल्न गरी मही, उखुको जुस, फलफूलका जुसहरू ग्राहकलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

“यहाँ उपलब्ध हुने मकै र मकैका सबै परिकार ताजा र स्वास्थ्यवर्द्धक छन्”, उहाँले भन्नुभयो, “सस्तो मूल्यमा भिटामिनयुक्त मकैका सबै प्रकारका परिकार पाइने यस मकैघरबाट सबै प्रकारका मकैका पारखीहरू लाभान्वित हुनेछन् ।” राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित गर्न र व्यावसायिकरूपले सेवा दिन यो अवधारणा ल्याइएको उहाँले बताउनुभयो । मकै पोल्न तथा उसिन्नका लागि उहाँले राष्ट्रिय आविष्कार केन्द्रबाट तयार पारिएका औजार ल्याएको बताउनुभयो ।

“मसंँग अहिले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबाट ल्याइएका ग्यासबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने उपकरण छन्”, उहाँले भन्नुभयो, “हामीले उपभोक्ताको अगाडि उहाँहरूकै इच्छाअनुसार मकैका परिकार तयार पारेर दिन्छौँ ।” विद्युतीय उपकरणबाट मकै पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने भन्दै उहाँले यसले मानिसको स्वास्थ्यमा खासै असर नपर्ने बताउनुभयो । रु १५ लाख लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखी नवलपुर, चितवन र राजमार्गमा गुड्ने ठूलादेखि साना सवारीसाधनका यात्रु हुने गरेको उहाँले बताउनुभयो ।

हाल मकैघरमा पांँच जनालाई रोजगारी दिइएको भन्दै उहाँले एकैपटकमा ५० जनासम्म उपभोक्तालाई सेवा दिन सक्ने क्षमता रहेको बताउनुभयो । “मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ”, उहाँले भन्नुभयो, “यस मकैघरका कारण अन्य नयांँ व्यावसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।” मकैघरले छिट्टै नै अर्को शाखा चितवनमा विस्तार गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ ।

बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन समेटिएपछि पूर्वमन्त्री तामाङ प्रसन्न

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गर्नुभएको छ ।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आउनुभएका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”

स्वरोजगार सबै नागरिकलाई पेन्सन

नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने साथै मिटर ब्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने बताउनुभयो ।

आजको मौसमः मधेसबाहेक अन्य प्रदेशमा बर्षा हुने

काठमाडौं, १६ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ- गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

बजेटमा नवलपुर : फलाम खानी उत्खननदेखि ट्रमा सेन्टरसम्म

नवलपुर- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न आठ वटा योजना समेटिएका छन् । बजेटले जिल्लामा धौवादी फलाम खानीसहित नमुना जिल्ला सदरमुकाम तथा ट्रमा सेन्टर निर्माणदेखि अन्य विषयलाई सम्बोधन गरेको छ । बजेटबाट धौवादी फलाम खानीको उत्खनन् कार्य प्रारम्भ गर्ने बताइएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटमा धौवादी फलाम खानीको विस्तृत सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी गर्दै वातावरणीय सम्भाव्यता अध्ययन सम्पन्न सकेर फलाम उत्खनन् कार्य प्रारम्भ गरिने उल्लेख गरिएको छ । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकासका लागि बजेट व्यवस्था भएको महतले बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–बागलुङ खण्ड र बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ६० किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिने बजेटमा जनाइएको छ । कालीगण्डकी करिडोर सडक निर्माणका लागि रु एक अर्ब ५८ करोड बजेटको व्यवस्था गरिएको अर्थमन्त्री महतले बताउनुभयो । पर्यटनको सम्भावना उच्च भएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको विकास गरिने भन्दै उहाँले जिल्लाको देवघाट–त्रिवेणीधाम संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने बताउनुभयो ।

चार लेनमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडकखण्डको विस्तार तथा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । त्यसैगरी नवलपुर र चितवन जोड्ने गरी नारायणी नदीमा सिग्नेचर पुल निर्माण कार्य सुरु गरिने उहाँले बताउनुभयो ।

चार वर्षअघि शिलान्यास गरिएको नवलपुरको नमुना जिल्ला सदरमुकाम निर्माणको काम सुरु हुने भएको छ । नवलपुरको जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रमा एकीकृत कार्यालयहरु तथा सहरी पूर्वाधारको निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ ।

देशको मध्यभाग भएर बग्ने नारायणीलगायतका ठूला सिँचाइ प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मत–सम्भार तथा पुनस्र्थापनाका लागि रकम विनियोजन गरिएको उहाँको भनाइ छ । नारायणीसहितका देशका प्रमुख नदीहरुमा जोखिमयुक्त नदी तथा पहिरो नियन्त्रण तथा व्यवस्थापन गर्न रु एक अर्ब ६५ करोड विनियोजन गरेको उहाँको भनाइ छ । नारायणी नदी नियन्त्रण गरी किनारको जग्गामा आकर्षक उद्यान निर्माण र सौन्दर्यीकरण गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताउनुभयो ।

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पु¥याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पु¥याइएको छ ।

कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पु¥याइएको छ । आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पु¥याइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पु¥याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पु¥याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो रू तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पु¥याइएको छ ।

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पु¥याइएको छ ।

असीदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रू ३० अन्तःशुल्क लाग्ने गरेकोमा रू ३५ पु¥याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ ।

पन्ध्र यु पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पु¥याइएको छ । त्यस्तै, ३० यु पी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर प्रतिलिटर रू दुई सय ३५ पु¥याइएको छ । त्यस्तै रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थको रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ ।

पन्ध्र यु पी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रू एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार आठ सय पु¥याइएको छ । त्यस्तै २५ यु पी शक्ति (४२ दशमलव आठ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय छ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रू एक हजार तीन सय ४५ पु¥याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रू एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिलिटर रू दुई सय ३५ पु¥याइएको छ । अड्चालीस दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा प्रतिलिटर रू ५० बढाएर रू एक हजार आठ सय पु¥याइएको छ ।

त्यस्तै, ४२ दशमलव आठ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार तीन सय छ बाट बढाएर रू एक हजार तीन सय ४५ पु¥याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार दुई सय १५ बाट बढेर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम सात सय १० रुपैयाँ अन्तःशुल्क रहेकोमा त्यसलाई रू सात सय ३० पु¥याइएको छ । सत्तरी मिमिसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रू एक हजार छ सय ९० पु¥याइएको छ । सत्तरी देखि ७५ मिमिसम्म लम्बाइ भएकोमा प्रति एम रू दुई हजार तीन सय, ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम रू दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रू आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढेर प्रतिकिलो रू आठ सय ५० पु¥याइएको छ ।

मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडौँ-सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ ।कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रतिशत) रहेको छ भने वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड (१७ दशमलव ५५ प्रतिशत) छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलव ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलव ३७ प्रतिशतले बढी हो । 
आगामी आर्थिक वर्षमा सबैभन्दा बढी गृह मन्त्रालयका लागि रु एक खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख बराबरको बजेट विनियोजन भएको छ  । सबैभन्दा कम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ । 

अर्थ मन्त्रालयका लागि रु ४७ अर्ब २७ करोड ६५ लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु ९ अर्ब ४५ करोड ९६ लाख, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि रु ८७ अर्ब ४५ करोड चार लाख बजेट विनियोजन भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड २१ लाख, खानेपानी मन्त्रालयका लागि रु २८ अर्ब १५ करोड ५६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि रु ११ अर्ब ९६ करोड २६ लाख, परराष्ट्र मन्त्रालयका लागि रु छ अर्ब दुई करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयका लागि रु १५ अर्ब ५५ करोड ८७ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि रु सात अर्ब २४ करोड ६६ लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३४ अर्ब ३९ करोड ९६ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि  रु एक अर्ब ५७ करोड ६२ लाख, युवा तथा खेलकूद मन्त्रालयका लागि  दुई अर्ब ८७ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ । 

त्यस्तै रक्षा मन्त्रालयका लागि रु ५८ अर्ब ८४ करोड ४६ लाख, शहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड ५५ लाख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब २९ करोड ५५ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड ६७ लाख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि रु नौ अर्ब ९६ करोड ६२ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ८३ अर्ब ९९ करोड १८ लाख, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।

बजेट निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको छ, कार्यान्वयन हेर्न बाँकी छ : अध्यक्ष ढकाल

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताउनुभएको छ । निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवद्र्धन गर्ने विषय यस बजेटमा समावेश भएको उहाँको प्रतिक्रिया छ ।बजेटमा महासङ्घले दिएका कतिपय सुझावहरु समेत समावेश भएको उहाँले बताउनुभयो । उहाँले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ढकालले बजेटमा व्यवस्था गरिएका विषय कार्यान्वयनमा कसरी जान्छ भन्ने हेर्न भने बाँकी नै रहेको जानकारी दिनुभयो । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिएको भए पनि कार्यान्वयनमा कसरी आउँछ भन्ने विषयलाई आफूहरुले हेरिरहेको उहाँले बताउनुभयो ।“बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था तथा एक सय रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्ट अपहरु आकर्षित हुनसक्छन् भन्नुभयो । त्यसैगरी बजेटको नवप्रवर्तन र अनुसन्धानका लागि निश्चित कोष नै खडा गरेर खर्च गरिने विषयले पनि अनुसन्धानलाई प्रश्रय दिने अध्यक्ष ढकालको प्रतिक्रिया छ ।

मिश्रित प्रतिक्रिया

यस बजेटबारेमा मुलुकको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा निजी क्षेत्रका छाता सङ्गठनका अध्यक्षहरुले बजेटमा निजी क्षेत्रले दिएका केही सुझाव समेटिएको भए पनि कार्यान्वयन पक्ष कसरी अगाडि जान्छ भनेर हेर्न बाँकी रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले लगानीको प्रोत्साहनको अपेक्षा गरिएको भए पनि बजेटले सम्बोधन नगरेको बताउनुभयो । उहाँले बजेटमा केही राम्रा कुरा आए पनि लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा चुकेको बताउनुभयो ।

“बजेटमा दुईवटा आद्यौगिक क्षेत्रलाई अगाडि बढाउने र दुईवटालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने कुरा आएको छ । तर यसको चाँडै कार्यान्वयन भएमा नतिजा देखिने छ”, उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीमित साधनस्रोत भएको मुलुकमा वितरणमुखी देखिएको छ । “उत्पादन बढाउन जडीबुटीजन्य, खानीजन्य, कृषिको विकास गर्ने कुरा ल्याए पनि आर्थिक सङ्कट छ । वितरणमुखी भएकाले केही समस्या हुन्छ कि भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।
 

पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित : अर्थमन्त्री डा महत

काठमाडाैँ-अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताउनुभएको छ ।सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताउनुभयो ।

“पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ । यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढङ्गबाट अध्ययन विश्लेषण गरिएको छ ।”

करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उहाँले कसैको पक्ष वा विपक्षमा नभएको बताउनुभयो । “राजस्वतर्फ जहाँ नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।
 

बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ-नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिनुभएको छ । सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “आज प्रस्तुत आगामी आवको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन, यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन ।”

एमाले नेता गोकुल बाँस्कोटाले बजेटप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “सुन्दा मजा लाग्ने, परिणाम केही पनि अनाउने खाल बजेट आएको छ ।” उहाँले आन्तरिक ऋण व्यापक उठाउने भनिएको तर वैदेशिक ऋणको केही कुरा नगरिएको बताउनुभयो । बजेटमा त्यसमा अनुदानको पनि खासै कुरा नगरिएको र रणनीतिक सडक सञ्जालबारेमा प्रष्ट कुरा नभएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सङ्कटको बेलामा आएको हुनाले बजेट नराम्रो नभएको भन्दै ठीक रहेको प्रतिक्रिया दिनुभयो । “कार्यान्वयन पक्ष फितलो देखिन्छ । कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

काठमाडौँ- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बजेटमा चालु आर्थिक वर्षको भन्दा आगामी आवमा कम विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आव २०८०/८१ को बजेट वक्तव्यमा मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरिएको उल्लेख छ । जबकी चालु आवका लागि सरकारले भौतिक पूर्वाधारमा रु एक खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको थियो । जुन रु ३० अर्ब कम हो ।

जसअनुसार पूर्वपश्चिम राजमार्गका लागि रु ३१ अर्ब दुई करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भई नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।रकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आ २०८०÷८१ को बजेट तयार पारेको हो । सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आवमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ । पुल निर्माणका लागि रु दुई अर्ब आठ करोड विनियोजन गरिएको जनाइएको छ ।

सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तारअघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की–वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन रु दुई अर्ब सात करोड व्यवस्था गरिएको छ ।

राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, काठमाडौँको कोटेश्वर र ललितपुर, सातदोबाटो, एकान्तकुना र ग्वार्कोमा फ्लाइओभर निर्माणलाई आगामी आवमा सम्पन्न गरिने भएको छ ।

सुलभ, सुरक्षित र दिगो यातायात व्यवस्थापनमा काम गरिने भएको छ । नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्न बजेटको व्यवस्था भएको छ । हुलाकी राजमार्ग अन्तर्गत आठ जिल्लाका लागि बजेट विनियोजन भएको छ । मदन भण्डारी राजमार्गका लागि रु दुई अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

तराई मधेस द्रुत मार्गका लागि रु २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । हुम्ला जिल्लालाई सडक सञ्जालमा जोडिने भएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली सडकको स्तरोन्नति गरिने भएको छ । महाकाली कोरिडोर र भेरी कोरिडोरलाई निरन्तरता दिइएको छ । भेरी कोरिडोरलाई रु ५० करोड बजेट विनियोजन गरिएको छ ।

कोहलपुर सुर्खेत सडकलाई निरन्तरता दिइएको छ । नागढुङ्गा सुरुङमार्गलाई रु पाँच अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । रानी विराटनगर सडकलाई निरन्तरता दिइएको छ । अन्तरदेशीय व्यापारिक मार्गलाई रु ५१ करोड बजेट विनियोजन गरिएको छ ।

धुलिखेल सूर्यविनायक सडक सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन भएको छ । कोटेश्वरमा फ्लाइओभर बनाइने भएको छ । टोखा छहरे सुरुङ मार्गका लागि बजेट व्यवस्थापन भएको छ । सार्वजनिक यातायात सेवालाई सुलभ र वातावरणमैत्री बनाइने कार्यक्रम बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।