`

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै, गठबन्धनको निर्णायक बैठक बालुवाटारमा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैछ । तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।

शनिबार दिनभरका भेटघाट र बैठकमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेपछि सहमति बनेन । आइतबार बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दाबी पेश नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ ।

अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

एजेन्सी – महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा अफगानिस्तानको तालिबान सरकारले शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ ।

अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए  ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको थियो ।

गठबन्धन नेतृत्वमै सरकार बन्छ – कृष्णबहादुर महरा

बाँके – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमै नयाँ सरकार बन्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाट गर्न पुगेका महराले गठबन्धन नेतृत्व सरकार बन्ने बताएका हुन् ।

माओवादी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए ।  ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ,’ उनले भने, ‘पार्टीले सबै दलसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ, हाम्रो माग अनुसारको सरकार बनाउन हामीले काम गरिरहेका छौँ ।’

समाजवादी दलहरूको मञ्च निर्माणका लागि एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका नेताहरू, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरेका पार्टीसँग समेत छलफल भइरहेको उनले बताए ।

फेरि फैलिँदै कोरोना, सतर्कता अपनाउन अपिल

काठमाडौं – विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको हो ।

मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका लागि बुस्टर डोज लगाउनसमेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरिएको छ ।

एक सातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा ३६ हजारभन्दा बढी संक्रमित हुनुका साथै १० हजार व्यक्तिको ज्यान गएको तथ्यांक सार्वजनिक भएसँगै सरकारले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आम नागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीलगायतका सम्पूर्ण निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

३० करोड रूपैयाँ बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन।

मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे। ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन।’ अर्थले सहमति दिए विभिन्न ७० वटा संघसंस्थालाई अनुदानका रूपमा रकम उपलब्ध गराइने उनले बताए।

मन्त्रालयले प्रतिष्ठान वा संघसंस्थालाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा कार्यविधि तयार पारेको छ। कार्यविधिमा अनुदानका लागि पाँचवटा मापदण्ड बनाइएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘तर नाम छनोट गर्ने क्रममा मापदण्ड लागु भएको छैन।

विशेषगरी मन्त्रीको स्वविवेक र इच्छामा अनुदान पाउने संघसंस्था छानिएका छन्।’ कार्यविधिको मस्यौदा तयार गर्नुअघि नै मन्त्री श्रेष्ठले अनुदान पाउने संघसंस्थाको सूची तयार गरेका थिए। मन्त्रालयका सचिव अधिकारीका अनुसार अनुदान पाउने संघसंस्थालाई पाँच वर्गमा बाँडिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्र केसीका अनुसार मन्त्रालयबाट अनुदान पाउन ५ सयभन्दा बढी संघसंस्थाले निवेदन दिएका थिए। प्राप्त निवेदनका आधारमा अनुदान पाउने संघसंस्थाको नाम छानिएको केसीले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

पुस १५ गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौं – भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित स्थापना गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ । प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेन

काठमाडौं – सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्।

यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि प्रदेश सरकार बाँडफाँटको विषय गठबन्धनका पाँच दलले प्याकेजमै सहमति जुटाउने नेताहरूको भनाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पहिलो प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन्। दाहालले यो गठबन्धन नयाँ नभई चुनावअघिकै निरन्तरता भएकाले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका थिए। चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान उनले सुनाएका थिए। तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी छन्। उक्त समयभित्र सबै विषय टुंग्याएर प्रधानमन्त्रीमा दाबी गर्ने गठबन्धनका नेताहरूको भनाइ छ। ‘भोलि (आइतबार) सहमति जुट्छ होला’, माओवादी नेता शक्ति बस्नेतले भने, ‘सबै विषयमा छलफल भइरहेको छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

बागमतीका सांसदको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने

हेटौडा – बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ । सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।

त्यस्तै, प्रदेश सभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ । यहाँ प्रदेशका १०९ सांसद छन् ।

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम

आज सन् २०२२ को डिसेम्बर २५ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम

रोमानियाका राष्ट्रपतिलाई मृत्युदण्ड
सन् १९८९ मा रोमानियाका राष्ट्रपति निकोला सेउसेस्कु र पत्नी एलेनालाई मृत्युदण्ड दिइएको थियो । क्रान्तिपछि कम्युनिष्ट नेता सेउसेस्कुलाई  अपदस्थ गरिएको थियो ।

अफगानिस्तामाथि रुसी हमला
सन् १९७९ मा रुसद्वारा अफगानिस्तानमा आक्रमण सुरु भएको थियो ।  । ९ वर्ष लामो युद्धमा सोभियतविरोधी विद्रोही मुजाहिद्दीनले अमेरिका र अन्य पश्चिमी सहयोगीहरूबाट समर्थन प्राप्त गरेको थियो ।

जापानका १२४औँ सम्राट
सन् १९२६मा सम्राट सोवा भनेर चिनिने मिचिनोमिया हिरोहितो आफ्ना पिता सम्राट योशिहितोको मृत्युपछि जापानको १२४औँ सम्राट बने । हिरोहितो ६२ वर्षसम्म जापानका सम्राट रहे । उनी जापानको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट समेत बने ।

डिम्बग्रंथीको शल्यक्रिया
१८०९ मा अमेरिकी चिकित्सक एफ्राइम म्याकडोवेल डिम्बग्रंथीको ट्यूमर सफलतापूर्वक हटाएका थिए । रेकर्ड गरिएकपहिलो इतिहासमा उनी सो शल्यक्रिया गर्ने पहिलो व्यक्ति हुन् । उनलाई पेटको शल्यक्रियाको पिता भनेर चिनिन्छ ।

मुस्लिम तीर्थयात्रीको मृत्यु
१९७६ मा तीर्थयात्राबाट मक्का फर्किएका सयभन्दा बढी मुसलमानको डुंगा डुबेर मृत्यु

‘क्रिसमस डे’ ले आपसी आपसी सद्‌भावमा सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् ।उनले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

इसाई धर्मावलम्बीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

‘यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास लिएको छु,’ राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन् ।

बदली र हिमपातको सम्भावना

काठमाडौं, १० पुस-हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ । आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सोमबार मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज क्रिसमस डे, थाहा पाउनुहोस् तपाईंको राशिफल

काठमाडौं, १० पुस-आजको पात्रो : १० पुस २०७९, आइतबार । तद्नुसार डिसेम्बर २५, २०२२ । आज क्रिचियन धर्मावलमीले मनाउने क्रिसमस डे हो । पौषकृष्णपक्ष द्वीतीया, कौलव करण, उत्तरषाढा नक्षत्र, व्याघात योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५२ मा हुनेछ भने सूर्यास्त ०५ः१५ मा हुनेछ । आजका देवता बायु, ग्रहदेव शुक्र हुन् ।

आइतबार सूर्यनारायणको दर्शन गर्नुहोला । आज सरकारले सार्वजनिक विदा दिएको छ । आजको दिन लामो दुरीको यात्रा गर्दा पूर्व फर्केर शुरुवात गर्नुहोला । व्यवसायिक कार्यका लागि मित्रमण्डलीसँग भेटघाट गर्नु उत्तम रहेको छ । आजको दिन ११ः४३ देखि १२ः२५ सम्मको समय शुभ रहेको छ ।

आजको राशिफल:
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । तपाईलेको सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेको आफ्नो कार्य गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
ब्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । चन्द्रमाको साथ रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

नुवाकोट – महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ ।

आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

विशेष सवारी चेकिङ्‍मा सात चालक कारबाहीमा

काठमाडौं – लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

कार्यालयले लागूऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो । पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी सात जना चालक कारबाही गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए ।

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

दार्चुला – दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ । महाकाली नगरपालिका-४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए ।

नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो ।

भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उपराष्ट्रपति पुनले दिइन् क्रिसमस डेको शुभकामना – ‘विविधताबीचको एकता नै नेपालीको पहिचान’

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको उनले बताएका छन् ।

उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण नेपालमा कम भए पनि छिमेकी राष्ट्रलगायतका केही देशमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ ।

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

कुटपिटबाट सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । २९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए  ।शनिबार बिहान साढे ४ बजे घाइते  मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा सम्लग्न  पासाङ लामा शेर्पा र उनका श्रीमान‍् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन

काठमाडौँ, ८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आज आयोजित कार्यक्रममा उहाँले मन्त्रालय र मातहत निकायका कामलाई नतिजामुखी बनाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढङ्गले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गर्नुभयो । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररैे अघि बढ्ने बताउनुभयो ।

“केही नीतिगत कुरा रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन्”, उहाँले भन्नुभयो ।पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

नवनियुक्त पर्यटनमन्त्री तामाङ्लाई पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले स्वागत गर्नुभएको थियो । बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानुन र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका आयोजना गरिने कार्यक्रमका लाागि कार्यविधि नहँुदा ती कार्यक्रम प्रभावित भएकोले सहजीकरण गरिदिन मन्त्रीसमक्ष आग्रह गर्नुभयो । बोर्डको कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।