`

एक महिना पहिले हराएका बालकको शव सेप्टी ट्यांकीमा

वीरगन्ज – वीरगन्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरी शौचालयको सेप्टी ट्यांकीमा फालिएको अवस्थामा आइतबार शव फेला परेको छ ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी  ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका रुमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसको चार पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो ।

त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए ।

प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट निरजको शव फेला पारेको हो ।

चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका-४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाँस काट्न गएकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ ।

अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बालेन भन्छन्- राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ ।

यस्तो छ तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको राजनीतिक जीवन

काठमाडौं – प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उहाँ प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । उहाँको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ ।

पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री हुनुभएको थियो । उहाँले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

उहाँ विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका उहाँ २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभएको थियो । उहाँले एमपीएसम्मको अध्ययन गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गर्नुभएको हो । विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उहाँको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ ।

उहाँ नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गर्नुभएको थियो । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचाँै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभयो ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएको थियो ।

विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभएका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो ।

साथै उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन ।

विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो ।

यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी हुनुभएको हो । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुभएको हो । रासस

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जेट विमान अवतरण

पोखरा – पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ ।

सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा उडान गरिरहेको सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ । ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु,’ अध्यक्ष दीपक पोखरेलले भने, ‘आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु ।’

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यसअघि बुद्ध र यती एयरलाइन्सले परीक्षण उडान भरेका थिए । जनवरी १ देखि विमानस्थल सन्चालनको तयारी गरिएको छ ।

केन्द्रीय समिकरणले प्रदेश सरकारको समीकरण पनि बदलियो

धनगढी – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बन्ने सहज परिस्थिती भए पनि केन्द्रमा राष्ट्रिय राजनीतिको समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ ।केन्द्रीय सरकारमा माओवादी केन्द्रले कांग्रेस संगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार बनाउने भएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा बनेको सकरारमा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले लगायत दलले समर्थन गरेका छन् । केन्द्रको यही समीकरण प्रदेशमा कायम रहनेहो भने प्रत्यक्ष र समानुपातिक सहित १९ सिट प्राप्त गरेको नेपाली कांग्रेस प्रतिपक्षी दल बन्ने देखिएको छ ।

‘अव सुदूरपश्चिम प्रदेश सरकार नेकपा आमोवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर बन्ने सम्भावना बढेको छ,’ प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश अध्यक्ष धर्मराज पाठकले भने, ‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु स्वभाविक हो ।’नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी (उत्सव)ले पनि केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार बन्ने बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा प्रदेश सरकार बनाउन आवश्यक पर्ने बहुमत पुग्ने उनले बताए । ‘भोलिदेखि हामी त्यही परिवेसमा रहेर छलफल गर्ने छौं,’ अध्यक्ष चौधरीले भने, ‘नेतृत्व कस्ले पाउने भन्ने बारेमा भने अझै केन्द्रको निर्णय कुर्नुपर्ने हुन्छ ।’केन्द्रबाट कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने कुराको टुङ्गो लागेपछि सो विषयमा छलफल हुने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओबादी केन्द्रका ११, नेकपा एमालका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्य रहेका छन् । चार वटै पार्टी मिल्दा प्रदेश सभामा सरकार चलाउन आवश्यक पर्ने बहुमत पुग्ने छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जना सदस्य आवश्यक पर्ने छ । यदी चार वटा लद मिलेको अवस्थामा प्रदेश सभामा २८ सदस्य संख्या हुने छ ।

तर नागरिक उन्मुक्ति पार्टी नमिलेको खण्डमा भने एमाले र माओवादी केन्द्र मिलेर मात्रै सरकार बन्ने स्थिती हुने छैन ।नागरिक उन्मुक्ति पार्टी कांग्रेस संग मिलेको अवस्थामा पनि सरकार बन्न सक्ने देखिएको छ । त्यसका लागि नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन आवश्यक पर्ने छ ।

प्रधानमन्त्री प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।

कर्णालीमा कोबन्ला अब मुख्यमन्त्री

सुर्खेत – संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिए लगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा (माओवादी केन्द्र) इन्चार्ज कालीबहादुर मल्लले बताए । नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आकलन सुरु भएको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए ।  केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । एमाले भन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । राप्रपा पनि सरकारमा गए २४ सिट हुनेछ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मालाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । सुर्खेतका विन्दमान विष्टको पनि चर्चा कायमै छ ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ ।आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कांग्रेससहित ३ दल सरकार बाहिर

काठमाडौं – कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् ।

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए ।

प्रभु साह र अमेरश सिंह पनि शीतल निवासमा

काठमाठौं, १० पुस । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंह पनि शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह शीतल निवास पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्यादभित्र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे

काठमाडौं, १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

३ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिएको छ । तर, समय सकिनुअघि नै प्रचण्ड राष्ट्रति भवन शीतल निवासमा पुगेर १६६ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् ।

प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई

काठमाडौं, १० पुस । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् ।
यसपछि डा. भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।

‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ भट्टराईले ट्वीट गरेका छन् ।

ओली र प्रचण्ड बालकोटबाट निस्किए

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् ।

राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् ।

राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो ।

फेरि ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति

काठमाडौं, १० पुस । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो ।

नेकपाभित्रको विवादले ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपाभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुनर्र्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टीभित्रबाट ओलीलाई कारबाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष चल्यो । र अन्ततः संसद पुनरर््थापित भयो भने एमाले विघटन भई एमाले र माओवादी केन्द्र ब्यूँतियो । साथै एमाले विभाजन भयो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको कारक थियो– ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु । ठिक आइतबार उनै ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
सात दलको सहमतिमा प्रचण्ड प्रधानमन्त्री बन्दै छन् ।

सरकारमा सहभागी हुन्छौं – मुकुल ढकाल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । अहिले सरकारमा जाने विषयमा ओली निवासमा सहमति पत्र तयार हुँदै छ ।

सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाने

काठमाडौं, १० पुस । माओवादी केन्द्र संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच सहमति भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दावी गर्न राष्ट्रपति भवन शीतल निवास जाने तयारीमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समय सकिन एक घण्टा बाँकी छ ।

ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै बालेनले भने – देश व्यापार हो कि खेल ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

विराटनगर – नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी  थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।

बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

काठमाडौं – सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई समेत सहभागी छन् ।  उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ ।  भने, यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग पक्का देखिएको छ ।

बालकाेटमा ओली-प्रचण्ड वार्तामा

काठमाडौं – नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।  सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।

छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् ।  माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् ।उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र  जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेको बताइएको छ ।

सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर  आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।

प्रचण्डलाई फकाउँदै एमाले

काठमाडौं – कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन ।

गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

कांग्रेसले माओवादी केन्द्रलाई भागबण्डामा सहमति नगर्दा प्रचण्ड एमालेतर्फ नजिकिएका हुन् । एमाले र माओवादीको दोस्राे तहका नेताहरूका यसअघि नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याउने पक्ष थिए । कांग्रेससँग भागबण्डामा कुरा नमिलेपछि ओली प्रचण्ड थप नजिकिएका हुन् ।

ओलीलाई भेट्न प्रचण्ड बालकोटतिर

काठमाडौं – वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए ।

बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन् ।

बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमित जुट्न नसकेकाे स्राेतकाे भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।

गृहमन्त्री खाणले दिए क्रिसमसको शुभकामना

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको शुभकामना दिएका छन् । आइतबार शुभकामना सन्देशसहित गृहमन्त्री खाणले स्वदेश तथा विदेशका इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविधतायुक्त जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको पनि बताएका छन् ।

वालुवाटार पुगे झलनाथ खनाल

काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।  नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल वालुवाटार पुगेका हुन् ।

वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छलफलमा छन् ।

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयमा आज साँझ ५ बजे सकिँदैछ । गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ । आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नआएपछि नेपालको संविधानको धारा ७६ को उपधारा ९ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान भएको हो ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ ।

केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलका लागि भालि (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । १४ चैत यो ट्रेजरी परिपक्व हुनेछ ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी १० पुस २०८० मा परिपक्व हुनेछ ।

सथै ट्रेजरी बिलका लागी सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउने बैंकले जानाएकाे छ । बोलकबोलमा अत्याधिक मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी तोकिएको रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

देउवा र प्रचण्डको बैठकमा माधव नेपाल प्रवेश

काठमाडौं, १० पुस । सरकार गठनका विषयमा सत्तारुढ दलबीच घनिभूत छलफल चलिरहेको छ । सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्वियपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल चलिरहँदा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि प्रवेश गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका सकिनै लाग्दा दलहरु निर्णायक भन्दै छलफलमा जुटेका हुन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गर्दै पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । यता माओवादीले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउनुपर्ने बताउँदै आएको छ ।

विभिन्न विकल्पमा अहिले नेताहरुबीच कुराकानी भइरहेको छ ।

द सनले पीआर स्टन्ट गरेको ह्यारी र मेघनका प्रवक्ताको आरोप

एजेन्सी – प्रिन्स ह्यारी र श्रीमती मेघनले शनिबार द सनलाई पीआर स्टन्टको आरोप लगाएका छन् । सर्वाधिक विवादित एउटा लेखमा ह्यारी दम्पत्तिको आलोचनापछि उनलीहरुले पत्रिकाले स्टन्ट गरेको आरोप लगाएका हुन् । उक्त विषयलाई लिएर ब्रिटिश ट्याब्लोइडले क्षमा माग्नुका साथै  दम्पतीको बारेमा धेरै आलोचना गरिएको स्तम्भ प्रकाशित गरेकोमा खेद समेत व्यक्त गरेको थियो ।

गत हप्ता जर्मी क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा  बढी उजुरी परेका थिए । स्तम्भकारको विचार आफ्नै रहेको पनि पत्रिकाले माफी मागेको थियो । तर, कटु आलोचनामा मेघनका प्रवक्ताले पत्रिकाले मेघनसमक्ष सीधा माफी माग्न सम्पर्क नगरेको भन्दै आलोचना गरे ।

‘द सनले ससेक्सको डचेसलाई माफी माग्न सम्पर्क नगरेको तथ्यले उनीहरूको मनसाय देखाउँछ । यो पीआर स्टन्टभन्दा बढी केही होइन’,  प्रवक्ताले भने ।

कर्णालीमा आज मनाइँदै छोरा तिहार

सुर्खेत , १० पुस । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वितियाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाउने गर्दछन्  ।

आजको दिनमा बिहानै आमा र छोरा दुबैले नुहाई धुवाई गरेर छोराहरुले आमाको हातबाट टिका थाप्ने प्रचलन छ । भाइ टीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा फूलको माला र सगुनको रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनिरोटीजस्ता परिकारहरू सहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति दीर्घायू र प्रगतिको कामना गर्दै आशिर्वाद दिने गरिन्छ ।  छोराले पनि आमाको हातबाट टीका र आशिर्वाद ग्रहणपछि दक्षिणाको रुपमा आफूसक्दो पैसा, कपडालगाएतका कोशेली दिएर ढोक्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोराहरू पनि आजको दिन जसरी पनि घर पुग्ने गर्दछन् ।

कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरूले फोन लगायतका विभिन्न माध्यामबाट आशिर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोशेली छुट्यायर राखिदिने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टिका थापिसके पछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भाइ टीकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ ।

यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटो लगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ । आजको दिनमा महिलाहरू पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एक अर्काको पीरव्यथा साटासाट गर्ने  गर्दछन् । डोल्पा लगायत कर्णालीका अन्य जिल्लाहरूमा मात्र मनाइने छोरा तिहार नेपालमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ ।

‘पहिला पहिला धेरैजसो मान्छेहरू गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो । अहिले धेरै मानिसहरू सहरबजार छन्, कतिपय जागिर र काम विशेषले जिल्ला बाहिर छन्, त्यही भएर पनि पहिलाजस्तै रौनक छैन,’ देवकोटाले भने ।

‘प्रत्येक वर्ष गाउँघरमा मान्छेको जमघट छैन । धेरैजसो छोराहरू बाहिर छन् । त्यसैले छोरा तिहार लगायतका प्राचिन चाडपर्वहरू लोप हुने अवस्थामा छन्,’ उनले थपे । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिन्छ भने र आज खेलिनेभन्दा देउसी फरक ढङ्गबाट र फरक लयमा खेलिन्छ ।  भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरू सबैजना मिलेर पाठीभात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उनले बताए ।  छोरा तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरहरूमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

छोरा तिहारमा खेलिने भैलोको केही अंश

आउँशीया बार,भैलो
दरमुद बार,भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली,भैलो
बाँस भित्र,भैलो
आर्या न तार्या,भैलो
पिपलु पाती,भैलो
रायकी छाती,भैलो
बाखरी खानु,भैलो
त्यो बाखरी कसो सुवाला,भैलो
कसो सुवाला,भैलो
भैलो दिने घरीनाको एककान सुन छ,भैलो
एक कान मोती,भैलो
सूर्यकी ज्याेति,भैलो
भेडो दिन्नन् डोर्‍याइए ल्याउला भैलो, घोडो दिन्नन चढी ल्याउँला, त्यहीँ पर जाउँला पिरती लगाउँला भैलो
पिरतीका बार,भैलो
आकाश जरा,भैलौ,
पात्तला शिला,भैलो

विराटनगरलाई लुम्बिनीको १५८ रनको लक्ष्य

काठमाडौं, १० पुस । नेपाल टी–२० लिगअन्तर्गत जारी खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १५८ रनको चुनौती दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको हो । 

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेल्दा कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पभेलियन फर्किएका थिए भने बिपुल शर्मा ११ रन जोडे । 

विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।
 

लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ ।

बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन ।

लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।

जसका लागि अहिले प्रदेशसभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ । प्रदेशसभा सचिव पुनले नवनिर्मित प्रदेशसभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको बताए ।

प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए । ‘अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ,’  उनले भने ।

उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए । उनले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिए ।

उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ । यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ ।

बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता

काठमाडौं – भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका का‌ंग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन् ।

बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन् । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन ।

एमाले कर्णाली दलको नेता को ?

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लविङ सुरु भएको छ । प्रदेश सभामा १० सांसद रहेको एमालेको संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ ।

यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म चार जना सांसद खुलेका छन् भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् ।

‘हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकांक्षा देखाएका छन् । शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौं । चार जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् तर उनको लविङ दलका नेता केन्द्रित नै देखिएको छ ।

चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो । पुस ११ गते कर्णाली प्रदेशससभा सदस्यको सपथ रहेको छ ।

इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी – दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।

‘ पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो ।  दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड १९ तथ्यांक सार्वजनिक नगर्ने

एजेन्सी – विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ ।परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।

नेपाल टी २० क्रिकेट : पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगरबीच हुँदै

काठमाडौं – नेपाल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा दुई खेल हुँदैछ । आइतबार पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ ।

खेल बिहान ९ः१५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरको पहिलो खेलमा जित निकाल्ने दाउमा छ ।  दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ः१५ बाट सुरु हुँदा पोखरा पहिलो जित निकाल्न चाहन्छ । पोखरा पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो ।

पुस २७ गते हुने फाइलनमा खेलको विजेताले ५५ लाख पाउनेछ । यसैगरी उपविजेताले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतियोगिताका काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।

मेसी पिएसजी सम्झौता नजिक

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ ।

खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता सकिँदै छ ।

यदपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन् ।