`

रवि लामिछाने बने उपप्रधान तथा गृहमन्त्री

काठमाडौं, ११ पुस-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसँगै गृहमन्त्री बनेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

लामिछानेसहित एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ मन्त्रीमा नियुक्त भएका छन् ।

शपथ ग्रहणका लागि प्रचण्ड शीतल निवासमा

काठमाडौं – नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

मध्यपहाडी लोकमार्गः चखेवा-सेखुवा सडक खण्ड कालाेपत्रेकाे ठेक्का तोड्ने तयारी

खोटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठमाडाैंको ढिलासुस्तीका कारण अलपत्र पारेको सडक कालोपत्रेको ठेक्का तोड्ने प्रकृया थालिएको हो ।

ठेकेदारले कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि गत १८ मंसिरमा सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलिखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेयले बताए ।

सम्झौताअनुसार कालोपत्रेको प्रगति नभएपछि २२ कार्तिकमा ‘ठेक्का किन नतोड्ने ?’ भनेर दोश्रोपल्ट सूचना निकालेको कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन ०६३ तथा नियमावली ०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

ठेकेदारले सम्झौता बमोजिम तोकिएको समयमा काम सम्पन्न नगरेपछि पटक पटक मौखिक तथा लिखित निर्देशनदेखि सूचना प्रकाशन गर्दा समेत कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको/प्रयास नगरेको तथा कुनै ठोस कार्य गरेको नदेखिएकाले ठेक्का सम्झौता तोड्ने प्रकृया थालिएको सिनियर डिभिजन इन्जिनियर पाण्डेय बताउँछन् । कालोपत्रेको काम करिब ३४ प्रतिशत भएपछि ठेक्का सम्झौता रद्द गर्ने प्रकृयामा लगिएको हो । कालोपत्रेको काममा चरम ढिलासुस्ती भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले १९ मंसिर ०७७ को पनि ‘ठेक्का किन नतोड्नेबसम्बन्धी अत्यान्त जरुरी सूचना’ प्रकाशन गरेको थियो ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ३० फागुन ०७५ सम्ममा सम्पन्न गर्ने गरी २ चैत ०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस ०७७ मा, दोश्रो म्याद १३ असार ०७८ मा र तेश्रोपल्ट थप भएको म्याद ३० फागुन ०७८ मै गुज्रिसकेको छ । भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रमअन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सब–बेस, बेससहित डिबिएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले चेनेज ठेक्का लिएको थियो ।

चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडाैं आवत–जावत गर्न स्थायीरुपमा छोटो र सहज बाटो खुल्ने छ । मध्यपहाडीको भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडक खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको सडक हालसम्म कालोपत्रे हुन सकेको छैन ।

खोटाङभित्रको जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–सेखुवासम्मको खण्ड कालोपत्रे भइसकेको छ । अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला, मेवा खोला र छेपे खोलामा पुल बन्नै बाँकी छ ।

पंखु खोला पुल पनि रद्दकै प्रकृयामा
मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै पंखु खोलाको पक्की पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृया सुरु भएकाे छ । सम्झौता म्याद नाघेको चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुलको दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन ।

पंखु खोला पुल दुई करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले ७ असाेज ०७२ मा ठेक्का सम्झौता गरेको थियो । ०७५ साल असार मसान्तमै सम्पन्न गर्नुपर्ने पुलको काम हालसम्म ३९.८४ प्रतिशत मात्र सकिएको छ ।

पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद पनि असार ०७७ मै सकिएको थियो । पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ । पुल निर्माण अलपत्र परेपछि आयोजनाले सम्पर्कमा आउन भन्दै २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरेको थियो ।

मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने छेपे खोलाको पुल निर्माणाधिन अवस्थामा छ । सगरमाथा/सजिव जेभीले १३ जेठ ०८० मा  सम्पन्न गर्नेगरी १४ मंसिर ०७८ मा ठेक्का लिएको हो ।

हालसम्म १२.११ प्रतिशत वित्तीय प्रगति भएको छ । यस्तै, केएम इन्जिनियर्स विल्डर्स प्रालिले २१ असार ०८१  सम्ममा सम्पन्न गर्नेगरी २२ असार ०७९ मा छेपे खोला र मेवा खोला पुलको ठेक्का सम्झौता गरेको छ ।

मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको कार्यालयले जनाएको छ ।

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो : गगन थापा

पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर ?’

महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अली लामै दिए । केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्‍याङ चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ।’

उनले हिजो दिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोखे। ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको।’

अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो । वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो।’

कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे।

‘एउटा पुर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ।’

छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने।

उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे।
छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो।

‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने।

यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए।

उकालाे लाग्दै सेयर बजार, ५७ अंक वृद्धि

काठमाडौं – सोमबार बिहानैदेखि उकालाे लागेकाे नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३.०५ प्रतिशतले बजार बढेको हो ।

साथैै, २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।

नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।

गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धाैलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

आज १३ वटा उपसुचकहरूमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ । बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ । बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।

रवि लामिछानेले पाउने भए उपप्रधानसहित गृहमन्त्रालय

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो । 

उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् । २० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो । 
 

जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए ।

जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।

प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ

विराटनगर – प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय अघि प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए थिए । बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो ।  जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिएका छन् ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिएका छन् ।

यस्तै, सुनसरीबाट नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण लिएकी छिन् । बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिएका छन् ।
प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन् ।

मन्त्रालय भागबन्डामा कुरा मिलिसकेको छैन : बाबुराम भट्टराई

काठमाडौं – सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।

मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ । सहमति जुटिसकेको छ्रैन । शपथ लिन जानुअघि सहमति हुन्छ,’ बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने ।

सत्तारुढ दल राप्रपामा सरकारमा नजाने भएको छ ।

राप्रपा सरकारमा जादैन – अध्यक्ष लिङ्देन

काठमाडौं – संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् । उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताए ।

यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज साँझा ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ ।

सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि चितवनमा खुशीयाली

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि गृह जिल्ला चितवनमा खुशीयाली छाएको छ । प्रचण्ड प्रधानमन्त्री बन्दा चितवनको विकास निर्माणले फड्को मार्ने अपेक्षाले चितवनवासी खुशी भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड यसअघि जनप्रतिनिधि हुँदा २० वर्षमा हुने विकास पाँच वर्षमै भएकाले आउँदो समयमा चितवनमा विकासको लहर आउने चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल बताउँछन् ।

यस्तै, एमालेका नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्त्वपूर्ण अवसर भएको बताए । आइतबार एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहिन

काठमाडौं – काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहिन बनेको छ ।  सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सोझो सेटमा पराजित भएको हो ।

बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा पहिलो सेट २५–२२ जितेकोनेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले गुमाएको थियो । चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पार्दा  खेल पाँचौ तथा अन्तिम सेटसम्म लम्बिएको थियो । पाँचौ सेट नेपालले  १५–१० ले गुमायो ।

आइतबार सम्पन्न सेमिफाइनलमा नेपाल घरेलु टोली बंगलादेश तथा श्रीलंका कीर्गिस्तानसँग समान सोझो सेटमा पराजित भएका थिए । यसअघि नेपालले समूह चरणमा घरेलु टोली बंगलादेश र श्रीलंकासँग  समान ३–० को सोझो सेट तथा किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।

सोमबार नै हुने फाइनलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन् ।

सत्ता गठबन्धनको बैठक सुरु, भागबण्डाबारे छलफल हुँदै

काठमाडौं, ११ पुस । सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।  केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका गठबन्धनका नेताहरूको सहभागिता छ ।

आज साँझ ५ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ लिँदैछन् ।

नेपालका लागि अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाइ दिएका छन् ।

प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ११ पुस । सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य साेमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सार्वजनिक गरेको विवरणआनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । साेही मूल्यमा आइतबार सुन किनबेच भएकाे थियाे ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार  मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेकोमहासंघले जनाएकाे छ ।

मधेश प्रदेशको मुख्यमन्त्री सिके राउतको दाबी

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् । सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन् ।

रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने

काठमाडौं – सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् ।

देउवाले दिए प्रचण्डलाई बधाई

काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डलाई बधाई तथा शुभकामना दिएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहेका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामन दिएका हुन् ।

कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीकाे निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नेछन् ।

चीनको यो सहरमा दैनिक १ लाख कोभिड संक्रमित

बेइजिङ – चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ । यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतवार जनाएको छ ।

संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य–कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्र्याक गर्न गाह्रो बनाएको बताइएको छ । आइतवार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्यांक रिपोर्ट गर्न बन्द गरेको थियो । आयोगको सट्टा सीडीसीले तथ्यांक प्रकाशित गर्ने भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा

बुटवल, पुस ११ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडाैँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्राेतले बताएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्राेतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडाैँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने।

प्रदेश १ : सभा सदस्यको शपथ ग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिने

विराटनगर, १० पुस ।  प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले साेमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्  । जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारू भाषामा शपथ लिने भएका छन् ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली कांग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिनेछन् ।

सुनसरीबाट नेपाली कांग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारू भाषामा शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार सोमबार दिनको मध्यान्ह साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम शपथ लिनेछन् ।

उनले शपथ लिएपछि प्रदेश सचिवालयमा पुगेर प्रदेश सभा हलमा बाँकी ९२ सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् । गनगाईंले प्रदेशसभामा अर्को सभामुख चयन नहुञ्जेलसम्म प्रदेश सभा बैठकको अध्यक्षता पनि गर्नेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोही बमोजिम शपथ ग्रहण गर्ने व्यवस्था गरेअनुसार उनीहरूले लिम्बू र थारू भाषामा शपथ ग्रहण गर्ने जनाइएको छ ।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद छन् ।

फिल्म ‘पठान’ २०२३ को जनवरी २५ मा रिलिज हुँदै, सय करोडमा बिक्यो ओटीटी राइट्स

मुम्बई, ११ पुस । शाहरुख खानको आगामी फिल्म ‘पठान’ २०२३ को जनवरी २५ मा रिलिज हुँदै छ । यो फिल्मको ओटीटी राइट्स सय करोडमा बिक्री भएको छ । अमेजन प्राइमले फिल्मको राइट् यति महंगो मूल्यमा किनेको हो ।

यो फिल्म मार्चको अन्त्यमा या अप्रिलको सुरुवातमा ओटीटीमा प्रसारण हुनेछ । शाहरुख ‘पठान’मार्फत चार वर्षपछि ठूलो पर्दामा कमव्याक गर्दैछन् । उनका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् । शाहरुख यसअघि सन् २०१८ मा रिलिज फिल्म ‘जीरो’मा देखिएक थिए ।

यो फिल्मको बजेट करिब २ सय ५० करोड रुपैंयाँ छ । फिल्मको मिडिया राइट्स पनि सय करोडमा बिक्री भएको छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । फिल्मको ‘बेसर्म रंग’ रिलिज भएसँगै विवाद सुरु भएको थियो ।

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैँकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद १४० रुपैयाँ ३९ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा भैरहेको थियो ।

अष्ट्रेलियन डलरमा २७ पैसाले वृद्धि भएको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४७ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।

आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  सोमबार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५५ रुपैयाँ, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३६ रुपैयाँ ६७ पैसा गान्टे मुला ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ ६७ पैसा, तिते करेला ९६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

रुसमा विभाजनको प्रयास हुँदै छः पुटिन

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास गरेको भन्दै  पश्चिमा राष्ट्रको आलोचना गरेका छन् । युक्रेनमा आफ्नो आक्रमणको उद्देश्य ‘रुसी जनतालाई एकताबद्ध’ गर्ने भएको बताए।

यसैबीच कीभमा, दक्षिणी युक्रेनमा घातक गोलाबारीको एक दिन पछि, बासिन्दाहरूले आइतवार क्रिसमस सेवाहरू मनाएका छन् ।

कीभको सार्वभौमिकतालाई नजरअन्दाज गर्दै र युक्रेनमा उनको १० महिनाको आक्रमणलाई जायज ठहराउँदै तथा ‘ऐतिहासिक रूस’को अवधारणा प्रयोग गर्दै पुटिनले युक्रेनीहरू र रुसीहरू एउटै व्यक्ति भएको तर्क गरेका छन् ।

पुटिनले एक अन्तर्वार्ताको अंशमा रुसका ‘भूराजनीतिक विपक्षीहरू’ले ऐतिहासिक रुसलाई टुक्राटुक्रा पार्ने लक्ष्य राखेको  आरोप लगाएका छन ।‘विभाजन गर्नुहोस् र जित्नुहोस्, जुन उनीहरूले सधैं पूरा गर्न खोजेका छन् र अझै पनि त्यही गर्न खोजिरहेका छन्’, राष्ट्रपति पुटिनले थपे ।

खुसी छैनन् कोन्टे

काठमाडौं – कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ । बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ ।

तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे ।

निलम्बरका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग हुने छैनन् । लुकास मौरा भने सम्भवत खेल्नेछन् । तर, पक्का छैन ।

१५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ । आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ ।

विश्विद्यालयमा महिलामाथि प्रतिबन्धः पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार

काबुल, ११ पुस-तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन् । छात्राका लागि पनि खुला नभएसम्म कक्षामा उपस्थित हुन पुरुष विद्यार्थीले कडा विरोध गरेका छन् ।

‘हामी हाम्रो बहिष्कार जारी राख्नेछौं र यदि महिला कक्षाहरू पुनः खोलिएन भने, हामी हाम्रा पाठहरू पनि बहिष्कार गर्नेछौं र शिक्षालाई निरन्तरता दिनेछैनौं’, विद्यार्थी मुजामेलले भने ।
‘हाम्रा दिदीबहिनीका लागि विश्वविद्यालयहरू बन्द छन् । हामी पनि विश्वविद्यालय जान चाहँदैनौं’, अर्का विद्यार्थी नविदुल्लाहले भने ।

यसबाहेक, काबुल विश्वविद्यालयका धेरै लेक्चररहरूले पनि तालिबानलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका छन् । शैक्षिक संस्थानहरू बन्द गर्नु दुर्भाग्यपूर्ण भएको टोलो समाचारले जनाएको छ । ‘हामी इस्लामिक इमिरेट्सलाई हाम्रा दिदीबहिनीहरूका लागि विश्वविद्यालयहरू फेरि खोल्न आग्रह गर्छौं’ लेक्चरर तौफिकउल्लाहले भने ।

नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

काठमाडौं, ११ पुस-नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियोगितामा पहिलो जितको खोजीमा छ । शनिबार आफ्नो पहिलो खेलमा फार वेस्टले लुम्बिनी अल स्टार्सलाई ६७ रनको नतिजा सुम्पिएको थियो ।

काठमाडौं भने प्रतियोगितामा लगातार दोस्रो खेलसम्म जितको लय कायम राख्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जरलाई २६ रनले हराएको थियो ।कीर्तिपुरमा आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

चीनबाट स्वदेश फर्किएका भारतीयमा कोभिड देखियो

एजेन्सी – दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । व्यक्तिलाई  उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरुमा जनाइएको छ । २३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो ।

चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ । व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो । त्यसपछि दैनिक लाखौँमा संक्रमण फैलिएको अनुमान गरिएको छ । छिमकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको छ ।

‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’

एजेन्सी – अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन् ।

आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्याछउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

ट्रम्पले भने सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’  लगाएको दाबी गरेका छन् ।

सहकार्य र तिक्तताका दुई तस्बिर

काठमाडौं – आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात’ भन्दै प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे।

दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘हामी यहाँ छौँ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा थिए ।

मल्लले सार्वजनिक गरेको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ। तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ। ओली र प्रचण्डको ‘सरप्राइज’ भने यो नै पहिलो होइन। राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा ‘सरप्राइज’ दिएका थिए । जुन अहिलेको भन्दा बढी रोचक थियो। आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

अनि भत्कियो गठबन्धन..

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो ।नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए ।

आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए ।

सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए ।शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे ।

सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने ।आजको राजधानी दैनिकमा समाचार छ ।

इन्धनको आयात आधा मात्राले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ ।भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए ।विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उहाँले बताउनुभयो । भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उनको भनाइ छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित, धमाधम काम रोक्दै विदेशी सहायता समूह

काबुल, ११ पुस-तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “हाम्रा महिला कर्मचारी बिना“ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन् ।अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ।अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ ।

तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो।यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए ।तालिबानले तत्काल प्रतिबन्धको पालना नगर्ने कुनै पनि संगठनको इजाजतपत्र रद्द गर्ने धम्की दिएको छ ।

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच पारी कित्तामा

काठमाडौं । संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए ।ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए ।यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैँले राख्ने महत्त्वाकाङ्क्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।

निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैँले गर्ने महत्त्वाकाङ्क्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ ।उपराष्ट्रपति, राष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा करिबकरिब नहुने निश्चित भएको छ ।पाँच वर्षमा तीन सरकार बनाउँदै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आलोपालो नेतृत्व गर्नेमा शीर्ष नेताहरू सहमत भएका थिए ।

देउवाको रणनीति यसरी पल्टाइदिए ओलीले

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्।चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। सत्ता हातमा लिन सफल बने।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट्रपति, सभामुख र आधा कार्यकालपछि प्रधानमन्त्री पाउने गरी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो लटमै प्रधानमन्त्री बनाए।

अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले भनेका थिए, ‘प्रचण्डको प्रधानमन्त्री हुने रहर अब पूरा हुँदैन। उनले समय गुजारे।’ सम्भवतः यो राजनीतिक चालबाजी थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई यही कथनले पनि दाहालसँग अडान राखिरहन बल पुर्‍यायो।

देउवा स्रोतका अनुसार उनी सहमतिबिनै आइतबार ५ बजे गुजार्न चाहन्थे। त्यसपछि संविधानको धारा ७६ ९३० अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने अपेक्षामा थिए।

त्यसो गर्दा १ महिनाभित्र विश्वासको मत लिँदा पुग्थ्यो। त्यहीबीच बाँकी सहमति जुटाउने ‘उधारो बाटो’ मन पराएका थिए उनले। तर, त्यसलाई अन्तिम समय पल्टाइदिए ओलीले।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

विश्व इतिहासमा आजः विनाशकारी सुनामीदेखि माओको जन्म

आज २६ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

विनाशकारी सुनामी
सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विनाशकारी सुनामीबाट इन्डोनेसिया, भारत, मलेसिया, श्रीलंका र थाइल्यान्डमा ठूलो क्षति भएको थियो । ९ दशमलब १ रेक्टर स्केलको भूकम्पपछिको सुनामीलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपद् मानिन्छ ।

मेन अफ दी इयर
सन् १९८२ मा अमेरिकाको प्रसिद्ध टाइम म्यागेजिनले पर्सनल कम्प्युटरलाई मेन अफ दी इयर घोषित गरेको थियो । कुनै पनि घटना चाहे ती सकरात्मक हुन वा नकरात्मक, त्यसले समाजमा पार्ने असरलाई आधार मानेर टाइम म्यागेजिनले सन् १९२७ देखि मेन अफ दी इयर घोषणा गर्न थालेको थियो ।

अमेरिकामा सांस्कृतिक बिदा
सन् १९६६ मा पहिलो पटक अमेरिकामा रहेका अफ्रिकी डायसपोराले एक साता लामो सास्कृतिक पर्व कावान्जा मनाएका थिए । अफ्रिकी संस्कृतिको अध्ययन गर्ने प्राध्यापक तथा अश्वेत आन्दोलनका अग्रणी  मौलाना कारेन्गाको अगुवाइमा सो पर्वमा बिदा दिन थालिएको थियो ।  यो पर्व हरेक वर्षको २६ डिसेम्बरदेखि १ जनवरीसम्म मनाइन्छ र सातै दिन अफ्रिकी समुदायलाई सार्वजनिक बिदा दिइन्छ ।

माओको जन्म दिन
आजकै दिन अर्थात सन् १८९३ को २६ अक्टोबरमा चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म भएको थियो । जनगणतन्त्र चीनका अध्यक्ष रहेका माओ चीनको चर्चित सांस्कृतिक क्रान्तिका अगुवासमेत हुन् ।

थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो ः ११ पुस २०७९, सोमबार । तद्नुसार डिसेम्बर महिनाको २६ तारिक २०२२ । पौषशुक्लपक्ष चर्तुर्थी, बणिज करण, श्रवण नक्षत्र, हर्षण योग, चन्द्रमा मकर राशिमा रहेको छ ।

आज विहान सूर्योदय ६ः५२ मा हुनेछ भनेसूर्यास्त ५ः१५मा । विहान ११ः४४ देखि १२ः१५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । सोमबारको दिन शिवालय र देवालयको यात्रा शुभ हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा कार्य उत्तम हुनेछ । धार्मिक कार्यका लागि दिन शुभ रहेको छ । आजको दिन राजनीतिकसम्बन्धी शुभारम्भ कार्य गर्दा उपयुक्त समय रहेको छ। नयाँ कार्य, नयाँ बस्त्र, कार्यालय र व्यापारको शुरुवातको लागि पनि दिन अति उत्तम रहेको छ ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकको लागि अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचे भन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई मान सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल  छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नक्छि । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । शिवालयको ध्यान साधना गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले आजको दिन धनलाभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ चयन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन् । यही पुस ८ र ९ गते काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको छ ।यस्तै सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरीलाई चयन गरेको छ । भने सचेतकमा घनश्याम चौधरीलाई चयन गरेको छ ।

यस्तै लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ ।