`

पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।

आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए ।

दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए ।

दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए ।

सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु

सल्यान – सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् ।

मेला हेर्न गएका ओली सोमबारदेखि घर नफर्केपछि आफन्तले खोजी गर्दै जाँदा मंगलबार बेलुकी भीरबाट लडेर मृत अवस्थामा फेला पारेका थिए । भीरबाट खसेर घाइते भएकी डाँगीको भने उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले बताए ।

भाटभटेनी सुपर मार्केटको हेटौँडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए ।

टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो ।

त्यस्तै, न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।

टोलीले भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ ।

कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने

काठमाडौं, १२ पुस । कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक( एनसीसी) पुस १७ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने कुमारी बैंकको नामबाट हुने सुचना मार्फत जनाएको छ ।

दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो । दुबै बैंकले विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवाहरु पुस १५ र १६ गते सार्वजनिक विदा रहेकोले सो दिन सबै सेवाहरु बन्द रहने पनि बैंकले जानाएको छ ।

व्याजदर घटाई समयावधि बढाउन उद्योगी व्यवसायीको माग

भैरहवा – रुपन्देहीका उद्योगी व्यवसयाी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको बिरोधमा उनीहरुले भैरहवा स्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको छाता संगठनले अगुवाई गरी धर्ना दिएका हुन् । उद्योगी व्यवसायी बैंकको ज्यादतिका कारण प्रभावित भई उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको छ । रुपन्देहीका दर्जनबढी संस्थाको अगुवाइमा शान्तिपूर्ण विरोध र्‍यालीसहित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

संघको परिसरबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि धर्नामा परिणत भएको थियो । विभिन्न माग सहित नारावाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय भैरहवाको मुल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो ।

राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायी आतंकित हुने परिस्थिती आएको छ । ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन गर्न बाध्य भएका हुन् ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘हामीले रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका छौं, हाम्रो मागहरु पुरा नभएसम्म आन्दोलनको कायृक्रम निरन्तर रहने छन्,’ उनले भने।

आन्दोलनको कार्यक्रम गरे पनि राज्यले सुनेको छैन । माग पुरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जानरी राख्ने बताए ।

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने

पोखरा – पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ ।प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन् ।

यो वर्ष पुरस्कार राशीमा समेत बृद्धी भएको छ । यसअघि १० लाख पुरस्कार रहेकोमा अहिले २ लाख थपेर १२ लाख बनाइएको छ । दोश्रो पुरस्कार ६ लाख छ । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ । उद्घाटन समारोहका बेला ५० लाख नगद सहित उनलाई सम्मान गर्न लागिएको हो । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट यही पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।

सहारा क्लवले फुटवल टुर्नामेण्टबाटै एकेडेमी समेत सन्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम दोबिल्लामा सन्चालित एकेडेमी सन्चालनमा खर्च हुने छ । एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन् ।

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो – अध्यक्ष नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताए ।

राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे ।

राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बस्तीमा वन्यजन्तुको त्रासः जोखिमबाट जोगाउने योजना बनाउन आग्रह

काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्ज नजिकै रहेको निजगढ नगरपालिका–३, सिंगौलस्थित सूर्यमानमा असोज पहिलो साता साँझपख बस्ती नजिकै बाघ देखियो । नजिकै रहेको रौतहट जिल्लामा पाटेबाघले मान्छे खायो भन्ने हल्लाले सुनेका स्थानीयले बाघ देखेपछि झनै त्रसित भए ।

यस्तै निजगढ नगरपालिका–१३, डम्बरपुर र साबिक रतनपुरी गाविसमा दशैतका बाटनै बाघ देखा परेको थियो तर निकुञ्ज नजिक रहेकाले बाघ देखा पर्नु सामान्य मानेका स्थानीय अहिले त्रसित भएका छन् । बिगत १५ दिनमा करिब दुई दर्जन बाख्रा गाँउमै पसेर बाघले खाएपछि स्थानीय त्रसित भए।

त्यस घटनापश्चात् पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएनन् । साँझ ढुक्कका साथ सुत्नै सकेनन् । यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्। तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि निकुञ्ज नागरिकलाई सचेत गराउँदैन ।

पछिल्लो समय हात्तीले निजगढ तथा कोल्हवी नगरपालिकामा घर तथा बालीको क्षति गरेको तथा पाटेबाघ खुल्ला सडकमा देखिएकाले मानविय क्षेती भविष्यमा हुन नदिन लागी निकुञ्जको गस्ती बढाउन तथा जनचेतनाको लागी स्थानिय एफएम तथा अन्लाईन समेत प्रयोग गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई कार्यलयमा पुगेर आग्रह गरेका छन् ।

मैनालीले महानिर्देशक डा. ढकाललाई भने, ‘निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढनु राम्रो हो तर बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन दीर्घकालीन योजना तयार गर्न र हाल भएको क्षेतीको क्षेतिपुर्ति दिन समेत उनले आग्रह गरे ।’ संघीय संसद मैनालीले भविष्यमा मानवीय क्षती लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढन समेत माननीय मैनालीले अनुरोध गरेका छन् ।

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटक-पटक क्ष्यति गर्दा पनि पर्सा राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन । बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्षति गर्ने गरेको स्थानीयको भनाइ छ । बाघले जनावर खाँदासमेत निकुञ्जले वन्यजन्तुबाट बस्तीलाई सुरक्षित राख्ने क्रियाकलाप नगरेको स्थानीय बताउँछन् ।

‘कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ स्थानीय तिलक घलानले भने, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् । माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ ।

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए । दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिए ।

आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए । मंसिर ४ गतेको निर्वाचनबाट उनी पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

नेपाल एयरलाइन्सद्धारा उडान संख्य थप

सुर्खेत – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।

हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्ने छ। यसअघि सिमकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो ।

त्यसैगरि जुम्लामा नेपालगंजबाट सोमबार र मंगलबार उडान हुनेछ । भाडादर पनि ६ हजार २८० रुपियाँ तोकिएको छ । त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ। डोल्पाको जुफालका लागि हप्तामा दुई दिनमा सोमबार र बुधबार उडान हुनेछ । भाडादर नेपालगंजबाट डोल्पाका लागि ६ हजार ८०५ रुपैयाँ निर्धारण गरिएको छ ।

बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ । नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ ।

यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगंजमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ । उडान पनि नियमित रुपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ । जिनी प्रदायक कम्पनीले उडान भर्ने गरे पनि भाडा दर चर्को रहेको छ । हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका सयौँ यात्रुहरु हैरानी खेप्दै आएको गुनासो आएपछि उडान संख्या थप गरिएको हो । हुम्ला सडक सञ्जालसँग जोडिएको छैन ।

हिमाली जिल्लामा चिसोसमेत भारी मात्रामा बढेको स्थानीयबासीले बताएका छन् । चर्को रकम तिरेर पनि जहाज चढन नपाएको भन्दै हिमाली जिल्लामा नागरिक आक्रोष व्यक्त गरिरहेका छन् । अब सरकारी स्वमितत्वको कम्पनीले उडान दर बढाएपछि यात्रुलाई सहजता भएको मुगुकी स्थानीय रामदेवी खड्काले बताइन् ।

सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

काठमाडौं – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले  बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए ।  तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।

संसद् सचिवालयले डाक्यो दुवै सदनको संयुक्त बैठक

काठमाडौं, १२ पुस ।संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

पोखराको फोहोर सडकमै

पोखरा – पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’

पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थलका कारण पुरिएको छ । अहिले महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३२ लामे आहालमा अल्पकालीन ल्याण्डफिल राख्ने निर्णय गरेको छ । सोहीअनुसार सडक विस्तार गरिएको छ भने आवश्यक तयारी थालिएको छ ।

तर, स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर अहिले सडकमै थुप्रिएको हो । तिमिल्सिनाका अनुसार अझै ३–४ दिनसम्म फोहोर उठाउने अवस्था छैन । ‘केही दिन अझै लाग्छ । उता ल्याण्डफिल बनाउदै छौं । स्थानीयसँग पनि कुरा गर्नुछ,’ अघि भने । लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजि गरेको छ । महानगरले समयमा ल्याण्डफिलको व्यवस्था गर्न नसक्दा समस्या देखिएको हो ।

चार वर्षअघि देखि नै प्रयोगमा रहेको ल्याण्डफिल हटाउन सुझाव दिइएको थियो । तर, महानगरले वास्ता गरेन । अहिले पोखरा २१, २२ र ३३ मा दीर्घकालका लागि ल्याण्डफिल र प्लाण्ट राख्ने जग्गा खोजी गरि वातावरणीय प्रभाव मूल्यांकन गरिरहेको छ । पोखरा ३२ मा भने स्थानीयसँग सल्लाह नगरेको र वातावरणमा पर्ने असरको मुल्यांकन नगरेको गुनासो स्थानीयबासीको छ ।

प्रदेश राजधानी कार्यान्वयन लुम्बिनी प्रदेश सरकारको उपलब्धि

बुटवल – लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयलाई मुख्य उपलब्धिको रुपमा लिएको छ । प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मुख्य उपलव्धिका रुपमा राजधानी कार्यान्वयनलाई  लिइएको हो  ।

प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तीव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञसहित देशकै नमूना अस्पताल निर्माण गर्न काम अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

त्यसैगरी  मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका १०९ वटै पालिकामा संचालन गर्दा यसले सकारात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सरकारले यातायातको विस्तार गरेको, स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूना कामहरु गरेको बताए  ।

वर्तमान सरकारले पाँच वर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उनले शुन्यबाट सुरु भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरु अब सुविधा सम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरेको बताए  ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारको पाँच बर्षे कार्यकाल राजधानी कार्यान्वयनमै वढी केन्द्रित रहेपनि भौतिक पूर्वाधारको क्षेत्र र जनजीविकाका सवालमा गरेका कामलाई लिपिबद्ध प्रस्तुत गरेको बताए ।

कार्यक्रममा जेष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले नयाँ र सबैको पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोकेर हिम्मतका साथ काम गर्नु नै प्रदेश सरकारको मुख्य उपलब्धिको रुपमा आफुले लिएको बताए ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौं, १२ पुस । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । खातीले पदबाट प्रधानमन्त्रीमार्फत दिएको राजीनामा राष्ट्रपति विद्यादेवप् भण्डारीले स्वीकृत गरेकी हुन् ।

सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९/९/११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने आयोगको तयारी

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद पाठकले जानकारी दिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भइरहेको उनले बताए ।

सहायक प्रवक्ता पाठकका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक भने हुनै छैन । दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण दुवै पदमा एकै पटक निर्वाचन नहुने भएको हो । आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको व्यवस्था मिलाउने छ ।

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं, १२ पुस । सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

‘सरकारबाट संसद अधिवेशन आह्वान गर्न पत्र आउँदैछ भन्ने जानकारी आएको छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पत्र आउनेबारे जानकारी आएको र आएपछि राष्ट्रपति कार्यालय निर्णय गर्ने उनले बताए ।२५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गर्न लागेको हो ।

सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं – सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राजविराज नगरपालिका-११ का शुभनारायण शर्माको को३०प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ का २२ वर्षीय सोनु सेखलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

६ पुसकाे राति शर्माको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

चुनाव हारेपछि कांग्रेस कपिलवस्तुमा किचलो, ११ नेतामाथि कारबाहीको सिफारिस

बुटवल – गत निर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेस कपिलवस्तुमा किचलो सुरु भएको छ । पार्टीका जिल्ला सभापतिमाथि गम्भीर आरोप लगाउँदै कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले कारबाहीको माग गरेका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाएर पार्टीका जिल्ला सभापतिमाथि निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन् । कांग्रेस कपिलवस्तुका एक जिल्ला नेताले पार्टीभित्र चरम असन्तुष्टि सिर्जना भएको बताए । “यही अवस्था हो भने धेरै कार्यकर्ता पार्टीमा नरहने अवस्था छ,” उनले भने ।

युवा नेता शाहले भने पार्टीका कपिलवस्तुका सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् । उनी ४ मंसिरमा सम्पन्न निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा लडेका थिए । तर पराजित भए । निर्वाचनमा पराजित भएपछि शाहले जिल्ला सभापति कलामसँगै अन्य ११ जना नेतामाथि पनि कारबाही गर्न माग गरेका छन् ।

उनले जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोखरेललाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेका छन् । पत्रमा कपिलवस्तु–३ (ख) प्रदेशसभाका उम्मेदवार वीरेन्द्रकुमार कनौडिया, शिवराज नगरपालिकाका नगर सभापति मधु पोखरेललगायतको नाम पनि उल्लेख छ ।

२०६४ देखि लगातार चुनाव जित्दै आएका शाह पाँचदलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन् । यसअघि क्षेत्रीय समितिले नेता शाहलाई कारबाहीका लागि सिफारिस गरेको थियो । कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

रवि लामिछानेलाई गृहमन्त्री बनाएकाेमा निगरानी समितिको आपत्ति

काठमाडौं – जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएको छ । स्वार्थ द्वन्द्व हुने गरी रवि लामिछानेलाई गृहमन्त्रालयको कार्यभार सम्हाल्नु दिएकोमा समितिले आपत्ति जनाएको हो ।

समितिको तर्फबाट संयोजक चरण प्रसाई, ओम प्रकाश सेन ठकुरी, कपिल श्रेष्ठ, डा. मन्दिरा शर्मा, डा.गौरीशंकर लाल दास, कनकमणि दिक्षित, डा. गोपाल सिवाकोटी, सुमन अधिकारी, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाईं, सवित्री श्रेष्ठ, जनक राउत, ईन्द्रप्रसाद अर्याल, महामनिुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईंकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्री भुसाल, रुकमनी महर्जन, रणधिर चौधरीले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

विज्ञप्ति

नेपाल प्रहरीले नागरिकता तथा पासपोर्ट दुरुपयोगको बिषयमा अनुसन्धानको दायरामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई उक्त छानविन तथा अनुसन्धानको कार्य टुंगो नलाग्दै नेपाल सरकारको उपप्रधानमंत्री तथा गृहमंत्री नियुक्त गरिएको प्रति जवाफदेहीता निगरानी समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

रवि लामिछानेको गृह मन्त्रालयमा भएको नियूक्तिले स्पष्टरुपमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ् इन्ट्रेसट)को  स्थिति पैदा तथा यसले नवगठीत पुष्पकमल दाहालको नेतृत्वको मंत्रीपरिषदको पहिलो बैठकले ‘सुशासनलाई प्राथमिकता’ दिने भनी गरेको निर्णय र रास्वपाका सभापति रवि लामिछानेले लामो समयदेखि सुशासनका पक्षमा चलाउँदै आएको अभियानको समेत विपरित छ । ‘स्वार्थ द्वन्द’का कारणबाट उक्त अनुसन्धान प्रकृया प्रभावित हुँने मन्त्रालय र प्रहरी संगठनको वैधता र विश्वस्नियतामा पनि गम्भीर आँचआई कानुनी शासन गहिरो क्षति पुग्ने निगरानी समितिको ठहर छ ।

साथै नेपाल प्रहरी गृहमंत्रालय अन्तर्गतको संगठन भएको र यसका अनुसन्धानको नेतृत्व पनि गृहमंत्रीको प्रत्यक्ष वा परोक्ष नियन्त्रण वा प्रभावमा  हुने तथा संबन्धीत उजुरीमाथि विनाभय निष्पक्ष एवं स्वतन्त्र छानविन गर्ने वातावरण नरहने अवस्था श्रृजना हुने भएकाले आमनागरिकलाई नेपाल सरकारले न्याय तथा सुशासनकाप्रति आश्वस्त पार्न छानविन तथा अनुसन्धानको कार्य टुंगो नलाग्दासम्म गृह मन्त्रालयको जिम्मेवारीबाट अलग राख्न एवं यस्तो गल्ति भविष्यमा दोहोरिन नदिन नेपाल पक्ष भएको भ्राष्ट्राचार विरुद्धको महासन्धिअन्तर्ग सृजित दायित्व अनुरुप ‘स्वार्थको द्वन्द’ संबन्धी नयाँ कानुन निर्माण गरी लागु गर्न समेत निगरानी समिति नेपाल सरकारसंग अपील गर्दै यसको कार्यन्वयनका लागि नयाँ गठवन्धनका प्रमुख घटक एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपीशर्मा ओली समेतलाई आग्रह गर्दछ ।

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री पाैडेल

काठमाडौँ / उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभयो । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उहाँले बताउनुुभयो ।

“वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ ।” उहाँले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस्”, मन्त्री पौडेलले भन्नुभयो, “म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्ने छु ।” भेटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उहाँले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो । अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।

मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गर्दै उहाँले तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । “तपाईं आएपछि दुई दिनमै पूँजी बजारले सकारात्मक सङ्केत गरेको छ । समग्रमा अर्थतन्त्र अप्ठ्यारोमा छ, निजी क्षेत्र समस्यमा छ, चालू खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा छैन”, अध्यक्ष गोल्छाले भन्नुभयो । अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बंैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो ।

भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा सङ्कुचनका साथै पूँजीबजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको बताएका थिए । रासस

धनढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

काठमाडौं – कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो ।

धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का लालबहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको हो । उनी नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको कैलाली प्रहरीले जनाएको छ ।

यस्तै, उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुर स्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० को करनसिंह धामी र बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५० को मोहनसिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप–महानरपालिका वडा नम्बर  १३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० को करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।

धामी बसेको कोठाको पलङ खटियाको सिरानी मुनी लुकाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार का नोटहरू १३८ (एक लाख अठतिस हजार)  गरी जम्मा एक लाख ४२ हजार फेला पारेको छ । खानतलासी कै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्सा भित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू  ५ किलो ५ सय ३० ग्राम, बैङ्क तथा आई एम ई भौचर तथा चेकहरू, प्लास्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू (आइएन के) र फलामका टुक्राहरू समेत फेलापारि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भई रहेको जनाइएको छ ।

सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिने बताउका छन् । सोमबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाई छ । उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसनु र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरे। “हामीले राजनीतिक परिवर्तन ग¥यौँ, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ । जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ”, उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन् ।

गैँडाकोटका तीन शिक्षक पक्राउ, यस्तो छ कारण

पूर्वी नवलपरासी – विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।

उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रदेश १ संसदीय दलको नेता छान्न कांग्रेसले गठन गर्‍यो निर्वाचन समिति

मोरङ – नेपाली कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

समिति सदस्यमा कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ रहेका छन् ।

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेताका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यहरु अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश समिति सभापति समेत रहेका उद्धव थापा आकांक्षी छन् । पार्टीको संस्थापन पक्षका अर्याल र सुनुवार, कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका पराजुली र थापा र संस्थापन इत्तर पक्षबाट कार्की हुन् ।

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् ।

एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुबै जनालाई पक्राउ गरेको हो ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुने छु : मन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं, ११ पुस-नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार न्युनिकरणमा केन्द्रित हुने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए ।

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर सम्बृद्धिमा फड्को मार्नु भएको दाबी गरे । उनले जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार अनुरुप काम गर्ने बताए ।मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए ।

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं, ११ पुस-नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ–संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताए ।

चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ ।‘मुलुकको अर्थतन्त्र यतिबेला संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि हामीले धेरै ठूलो मेहनत गर्नुपर्ने छ । आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्छौं,’ पौडेलले भने ।

नेतृत्वको कमजोरीले पार्टी अहिलेको अवस्थामा पुगेको कांग्रेस लुम्बिनीको निष्कर्ष

बुटवल, ११ पुस-पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनीले गम्भीर असन्तुष्टी प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको काँग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताले दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं, ११ पुस-प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौं, ११ पुस-गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।

अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् । ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

काठमाडौं, ११ पुस-नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए ।

प्रचण्डलाई बधाई दिएर निस्किए देउवा

काठमाडौं, ११ पुस-निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्री
प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए ।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिएका थिए ।प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उनी बसेनन् । प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रमबाट बाहिरिएका थिए ।

प्रचण्डसँगै सात जना मन्त्रीले लिए शपथ

काठमाडौं, ११ पुस-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनीहरूले शपथ लिएका हुन् ।

विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् ।ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । तर उनीहरूको मन्त्रालय तोकिएको छैन ।

उपप्रधान तथा भौतिक मन्त्रालयको जिम्मेवारीमा नारायणकाजी

काठमाडौं, ११ पुस-उपप्रधान र भौतिक तथा पूर्वाधार मन्त्रीको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

तीन जनाले लिए उपप्रधानमन्त्रीको शपथ

काठमाडौं, ११ पुस- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै तीनै जना उपप्रधानमन्त्रीले शपथ लिएका थिए ।