`

तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

मस्कले ट्वीटर किनेपछि टेस्लाको वाल स्ट्रीटसको सेयर दुई तिहाईले घट्यो

एजेन्सी – एलोन मस्कको नेतृत्वमा रहेको टेस्लाको सेयर एक सेसनमा  ११ प्रतिशतले घटेपछि प्रमुख अमेरिकी स्टक सूचकांकका शीर्ष १० कम्पनीहरूबाट बाहिरिएको छ । मंगलबार टेस्लाको गिरावट सन् २०१८ पछिको सातौं दिन थियो ।

टेस्लाको सांघाई कारखानामा उत्पादन रोक्ने एलन मस्कको निर्णय र यसका प्रमुख उत्पादन इकाईहरूमा उत्पादनमा कमी टेस्लाको सेयरमा गिरावट आउनुको तत्कालका कारण मानिएको छ ।

यसबाहेक टेस्लाले अमेरिकामा व्यक्तिहरूलाई यसको दुई उच्च–भोल्युम मोडेलहरूको लागि ७ हजार ५ सय डलर छुटको प्रस्ताव गरिरहेको रिपोर्टले टेस्लाका लगानीकर्ताहरूलाई कम मागको संकेतको अतिरिक्त प्रभाव पारेन ।

२०२२ को अन्त्यमा टेस्लाको ६९ प्रतिशत मूल्य एलोन मस्कको ट्विटर अधिग्रहण बीचमा हराएको छ । मस्कको कदमले लगानीकर्ताहरू बीच झगडा सिर्जना गरेको छ ।

कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए ।

लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई  महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विकास बोर्डको स्वास्थ्य बिमा पाउने रामचन्द्र अधिकारी

काठमाडौं, १३ पुस । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६ सय रुपैंयाँ बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरूप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा एक सय दुईजना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो । बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक÷निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भइसकेको छ ।

चालु बीमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे । बीमा गरेको ६–७ महिनामा बल्ल एकजनाले दाबी गरेको बताउँदै भण्डारीले थोरै नै रकम भए पनि दाबी पेस गरेपछि २४ घन्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जनाए ।

कलाकार अधिकारीले बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रूपमा आफूले हेरेको बताए । बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए ।

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै

काठमाडौं, १३ पुस । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रूपमा तानिएका विद्युत,  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।

ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तार हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरूप बनेको थियो ।

प्राधिकरणले गत कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण÷व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो । सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा  लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरू निकालिएको छ
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित  उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई फेर्ने, बांगो र मक्किएका पोलहरू हटाएर राम्रा राम्रो पोलहरू राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए ।

‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरूप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेका छौं’, घिसिङले भने । उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताए ।

प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनु पर्ने छ । पोलहरूमा लुप वनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दासमेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरूले निजहरूको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्ने छ ।  सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ ।  तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरू हटाउनुपर्ने छ ।

हिट फिल्मको खोजीमा चिरञ्जीवी

मुम्बई, १३ पुस । साउथका मेगास्टार चिरञ्जीवी हालका दिनमा नयाँ फिल्म ‘वाल्टेयर वीरय्या’का कारण चर्चामा छन् । यो फिल्म आगामी १३ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्मको प्रमोसन पनि जोडतोडका साथ भइरहेको छ ।

लामो समयदेखि चिरञ्जीवी एक हिट फिल्मको खोजीमा छन् । उनको यो इच्छालाई फिल्म ‘वाल्टेयर वीरय्या’ले पुरा गर्नेमा निर्माण पक्ष ढुक्क छन् । यो फिल्मका निर्माता तथा निर्देशक फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारीमा छन् ।

चिरञ्जीवीको पछिल्लो फिल्म ‘गडफादर’ हिन्दीमा पनि रिलिज भएको थियो । यो फिल्ममा बलिउड सुपरस्टार सलमान खानले केमियो गरेका थिए ।

सलमानको उपस्थिति भए पनि फिल्मले हिन्दी दर्शकबीच खासै कमाल देखाउन सकेन । चिरञ्जीवीको हिन्दी बेल्टमा फ्यान फलोइङ उल्लेख्य छैनन् । सोहीकारण पनि उनको नयाँ फिल्म पनि ‘गडफादर’ जस्तै पो हुने हो कि भन्ने चासो र चिन्ता बढ्दो छ ।

‘वाल्टेयर वीरय्या’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा श्रुति हासन, रवि तेजा र केथरीन तिरेसा प्रमुख भूमिकामा छन् । रवि चिरञ्जीवीसँग २२ वर्षपछि पुनः स्क्रिन शेयर गर्दैछन् ।

सहकारी ऐनलाई मिच्दै तीन कार्यकाल अध्यक्ष, कर्मचारीलाई जस्तै तलब

बुटवल, १२ पुस । सहकारी संस्थाहरूमा सेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिई सहकारीको मर्म र भावनाविपरीत ऐन, कानुनलाई नै मिचेर एउटै व्यक्ति लगातार तीनपटकसम्म नेतृत्वमा बस्ने परिपाटी मौलाउँदै गएको पाइएको छ । त्यति मात्र होइन सञ्चालक समितिका अध्यक्षले कर्मचारीले जस्तै तलब सुविधा समेत लिने गरेको समेत पाइएको छ ।

सहकारी सिद्धान्त विपरित निर्वाचन प्रकृयामा निवर्तमान अध्यक्ष र सिस्टर सोसाइटीको सचिवालय अध्यक्ष स्वतः सञ्चालक सदस्य हुने,  सञ्चालक सदस्य हुन एक कार्यकाल उपसमिति सदस्य हुनुपर्ने जस्ता गैरकानुनी प्रावधान राखेर सञ्चालक समितिमा आउन चाहने आम सेयर सदस्यलाई रोक्ने बेथिति भएपछि रुपन्देहीको तिलोत्तमा–२ स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको विवाद अदालतसम्म पुगेको छ ।

संस्थाका शेयर सदस्य इश्वर पाण्डे सहकारीको सर्वमान्य सिद्धान्त अनुसार १०औं अधिवेशनमा सञ्चालक समितिको अध्यक्षमा उम्मेदवारी दिन चाहन्थे । तर, उनलाई उम्मेदवारी दिनबाटै बञ्चित गर्न सञ्चालक समितिको पदाधिकारी भएर काम नगरेकाले योग्यता नपुगेको भन्दै रोकियो ।

उपसमितिको सदस्य सञ्चालक समितिले मनोनयन गर्ने भएकाले अघिल्लो सञ्चालक समितिले मनोनयन नगर्ने शेयर सदस्य सञ्चालक समितिमा जानै नसक्ने अलोकतान्त्रिक परिपाटी र मनोमानी मौलाएको महसुस गर्दै पाण्डे निर्वाचन प्रकृया रोक्न निर्वाचन समिति हुंदै सहकारी सम्बद्ध निकायहरुमा पुगे । तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण प्रमुख संरक्षक रहेको उक्त सहकारीको मनोमानीविरुद्ध आवाज उठाएका पाण्डेको आवाज कसैले सुनेनन् । अन्ततः उनी न्याय खोज्दै उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा पुगे ।

निर्वाचन प्रकृयामा सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण र खुला प्रतिस्पर्धा जस्ता सहकारीका सर्वमान्य सिद्धान्तविपरित पाण्डेलाई उम्मेदवारीमा रोक्न बिमा कम्पनीमा काम गरेको सदस्य सञ्चालक हुन नपाउने नियम सहकारीले बनाएको पाण्डेले बताए ।

सीमित व्यक्तिको यस्तो सिण्डिकेटजन्य नियमले सहकारीका सदस्यको अधिकार हनन् भएको भन्दै उनले तिलोत्तमा बहुमुखी सहकारी सस्था लिमिटेड प्रधान कार्यालय, सहकारीको १० औै अधिवेशनका लागि गठित निर्वाचन समिति र सहकारीका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालकसमेत रहेका माधवलाल देवकोटालाई विपक्षी बनाई उत्प्रेषण परमादेश माग गर्दै निवेदन दिएका छन् । अदालतले अन्तरिम आदेश जारी नगरेपनि अन्तिम फैसला हुन बाँकी छ । देवकोटा अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अध्यक्षको हैसियतमा राष्ट्रिय सहकारी बैंकको पुनः सञ्चालक बन्न उम्मेदवारी दिएका छन् । बैंकको चुनाव पुस १६ गते काठमाडौंमा हुँदैछ ।

लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले एउटै व्यक्ति लगातार तीनपटक अध्यक्ष हुन नपाइने सहकारी ऐनले स्पष्ट किटान गरेको बताए । यस्तै सञ्चालक समितिका अध्यक्षले मासिक पारिश्रमिक लिन पनि नपाइने बताए । ‘एउटै व्यक्ति लगातार २ पटक भन्दा बढी कार्यकाल सञ्चलक समितिको अध्यक्ष बन्न पाउँदैन, तर प्रदेशको एन २०७५ मा आएकाले केही द्विविधा भने छ, तर अदालतले सहकारीको मूल्यमान्यता अनुसार उचित फैसला गर्ला,’ उनले भने ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटा २०७१ सालदेखि यता निरन्तर अहिले तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका छन् । उनले कर्मचारीले जस्तै मासिक २५ हजार पारिश्रमिकसमेत लिने गरेको सहकारीको वार्षिक प्रतिवेदनमै स्पष्ट उल्लेख छ । सहकारी ऐन अनुसार सञ्चालक समितिका पदाधिकारीले बैठक भत्ता मात्रै लिन पाउँछन् ।

सहकारीका पूर्व उपाध्यक्ष एवं शेयर सदस्य बाबुराम अधिकारीले तिलोत्तमा सहकारीको नेतृत्वमा जो कोही सेयर सदस्य सञ्चालक सदस्य, पदाधिकारी र नेतृत्वमा पुग्ने ढोका खुला नभएको गुनासो गरे । १२ वर्षसम्म संस्थाको उपाध्यक्ष भएका उनले संस्थाको अध्यक्ष बन्न १७ वर्ष लाग्ने गरी विधान बनाइएको जुन सहकारीको मर्म विपरित रहेको बताए । ‘यो सहकारीको नेतृत्वमा पुग्न शेयर सदस्यहरु कुनै उपसमितिको सदस्य मनोनित हुनुपर्‍यो, त्यसपछि कार्यसमिति सदस्य हुन पर्‍यो, त्यसपछि पदाधिकारी हुनुपर्‍यो यति खुड्किला पार गरेपछि मात्रै अध्यक्षमा प्रतिस्पर्धा गर्न पाइयो,’ अधिकारीले भने, ‘सहकारीको सिद्धान्तले यस्तो कतै भनेको छैन तर यस्तो बेथिति धेरैतिर छ ।’

सहकारीहरुको प्रभावकारी अनुगमन नहुँदा सहकारी संस्थाहरुमा सीमित व्यक्तिको मनोमानी बढ्दै गएको जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले बताए । सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीका विषयमा अदालतमा मुद्दा परेकाले अदालतले फैसला गर्ला भन्दै थप प्रतिक्रिया दिन चाहेनन् ।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी संचालक हुन पाउने छैन भन्ने कानुनी व्यवस्था रहेको छ । तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडको विनियम २०७८ को दफा ३५ (४) समेतमा एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन सक्ने छैन भन्ने प्रावधान छ ।

निर्वाचन समिति मार्फत प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ (१) तथा तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडको विनियम २०७८ को दफा ३५ (४) मा भएको कानूनी व्यवस्थाको विपरीत हुने गरी निर्वाचनसम्बन्धी कार्य अगाडि बढाइएको पाण्डेको दाबी छ ।  विपक्षीहरूका कानुन विपरीतका काम कारबाही र निर्णयबाट एकातर्फ सेयर सदस्य पाण्डेलाई सञ्चालक समिति वा अध्यक्ष पदमा निर्वाचनमा सहभागी हुन पाउने हक अधिकारबाट बन्चित गरिएको छ भने अर्को तर्फ ठाडो रुपमा कानुनको विपरीत हुने गरी एउटै व्यक्ति तेस्रो कार्यकालको लागि अध्यक्ष चयन हुन जाने देखिन्छ ।

विपक्षीहरुको आपसी मिलेमतोमा प्रदेश सहकारी ऐन, २०७६ तथा तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडको विनियम, २०७८ विपरीत सहकारी संघ सस्था दर्ता संचालन लेखा परिक्षण अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०६८ को दफा ९(१०) प्रतिकुल  सहकारी सस्थाका सदस्यहरूका बीचमा विभेद हुने गरी योग्यता निर्धारण गरी भएकोे १० औं अधिवेशनका काम कारवाही र निर्णयहरू गैरकानुनी रहेको पाण्डेको दाबी छ ।

सेयर बजर ११.८१ अंकले घट्याे

काठमाडौं – लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेकाे छ ।  बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो ।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नविल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल ६० कम्पनीकाे सेयर मूल्य उकलो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीकाे मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीकाे मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूकाे मूल्य घटेको नेप्सेले जनाएको छ ।

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

पेरिस – कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएको छ ।

सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भन्नुभयो, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ ।“दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उनले एएफपीसँग भन्नुभयो ।

सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो ।केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो ।

धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन् । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् ।

केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले ।संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।

– सावधानीपूर्वक खर्च –
विकसित र उदीयमान राष्ट्रहरूको समूह (जी–ट्वेन्टी) मा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५.५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकासमामिला सङ्गठन ( ओईसीडी)ले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ ।

ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली संघ (ईयूमा)मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो (करिब ७०४ अर्ब अमेरिकी डलर) छुट्याइएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ ।

अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड (ईवाई) नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावश्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् ।बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ ।

अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् ।

अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ ।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको छ ।चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ ।

यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए ।चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बीन्धत ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो ।

– जलवायु लागत –
तर अर्थशास्त्री बीट्स्माको विचारमा अहिलेको विश्वको सबैभन्दा ठूलो सङ्कट जलवायु परिवर्तन हो, जुन ‘सुस्त गतिमा’ तर निरन्तर चलिरहेको छ ।प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा हालसम्म २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्वीस रि हरिकेन इयानले मात्र ५० देखि ६५ अर्ब अमेरिकी डलर बराबरको अनुमानित क्षति व्यहोरेको छ ।

पाकिस्तानमा आएको बाढीका कारण यस वर्ष ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति तथा व्यापक मानवीय क्षति भएको छ ।गत नोभेम्बरमा इजिप्टमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप–२७) मा सरकारहरूले प्राकृतिक प्रकोपबाट तहसनहस भएका कमजोर विकासशील देशहरूले व्यहोर्नुपरेको क्षतिलाई पूर्ति गर्न कोष खडा गर्न सहमत भएपनि हरितगृह ग्याँस उत्सर्जन घटाउन र विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न आवश्यक भए तापनि जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने नयाँ प्रतिबद्धताबिना कोप–२७ शिखर सम्मेलन समाप्त भएको थियो ।

“यो गम्भीर सङ्कट होइन, तर दीर्घकालीन सङ्कट हो,” बीट्स्माले भन्नुभयो । उहाँले थप्नुभयो, “यदि हामीले पर्याप्त काम गर्न सकेनौं भने यसले हामीलाई अभूतपूर्व स्तरमा प्रहार गर्नेछ ।

नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ

काठमाडौं – १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले  बताएको छ ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

कांग्रेसमा इतर समूहले केन्द्रीय सदस्यको भेला डाक्ने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनुपरेपछि डा.शेखर कोइराल–गगन थापा समूहले छलफल सुरु गरेको छ ।

बुधबार काठमाडौंको बालुवाटारमा भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । आजको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए।

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको छ। बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो।

कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ। त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि बस्ने तय भएको छ। सत्ताको केन्द्रमा हुँदाहुँदै पनि सुझबुझ पुर्याउन नसक्दा संघसहित सबै प्रदेशमा सरकार गुम्ने भएपछि पार्टी सभापति देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना, युवतीको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका – १ की कल्पना नेपाल रहेकी छिन् ।  उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरीजलबाट आर्खेनीतर्फ जाँदै गरेको बा५ख ७३ ०९ नम्बरको मिनी ट्रक तीव्र गतिका कारण हिजो बेलुकी ७ बजे सडकबाट करिब तीन फिट तल खसको थियो ।

सत्ताको दुरुपयोग : हत्याका अभियुक्त संरक्षणमा, भ्रष्टाचारका आरोपी निलम्बनमा

महोत्तरी, १३ पुस, सरकारले दुई अभियुक्तलाई फरक फरक व्यवहार गरेको आरोप लागेको छ । एकै प्रकृतिको मुद्दा खेपिरहेका दुई सांसदलाई फरक फरक व्यवहार गरेको आरोप लागेको हो । भ्रष्टाचार आरोपीको सांसद पद निलम्बन गर्दा हत्या आरोपलाई संरक्षण गरेको आरोप लागेको हो ।

रवि लामिछाने गृहमन्त्री बनेसँगै सत्तापक्षका आरोपितहरुलाई काखा र प्रतिपक्षलाई पाखा लगाएको आरोप सुरु भएको आरोप लाग्न थालेको छ । संघीय संसद सचिवालयबाट १२ पुसमा जारी भएको सूचनालाई आधार मान्ने हो भने एकै प्रकृतिको मुद्दा  खेपिरहेका अभियुक्तद्वय टेकबहादुर गुरुङलाई निलम्बन र लक्ष्मी महतोलाई सुरक्षित गरेको आरोप लागेको हो ।

भ्रष्टाचार मुद्दा  खेपिरहेका  टेकबहादुर गुरुङ कांग्रेसबाट निर्वाचित भएका हुन् भने हत्या अभियोगको मुद्दा  खेपिरहेका लक्ष्मी महतो नेकपा एमालेबाट निर्वाचित संसद हुन् ।

कानुनी प्रावधानविपरित प्रहरीको आँखा छल्दै संसद छिरेर दुवै अभियुक्तहरुले शपथग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट संसद सचिवालयलाई उनीहरुलाई संसदीय गतिविधिमा रोक्न पत्राचार भएको थियो ।

दुवैजनाको मुद्दा अदालतमा विचाराधिन रहेकै बेला मनाङबाट निर्वाचित गुरुङको सांसद पदबाट निलम्बन र महतोलाई सुरक्षित गर्नुले गृहमन्त्री लामिछाने बने पनि सत्ताको दुरुपयोग हुन नरोकिएको भन्दै महोत्तरीमा विरोध सुरु भएको छ ।

२५ भदौ २०७२ मा मधेश आन्दोलनको केला सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लखेटी हत्या गरेको आरोप महतोमाथि छ ।
सोही विषयलाई उच्च अदालत जनकपुरले १९ मंसिर २०७७ मा महतोलाई थुनामा राखेर मुद्दा अगाडि बढाउन आदेश दिए पनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

निर्वाचनमा समेत वारेसमार्फत् उम्मेदवारी दिएका महतोले निर्वाचित भएपछि पनि वारेसमार्फत् नै प्रमाणपत्र बुझेका थिए । उता, गुरुङले काठमाडांैको फनपार्कमा जग्गा भाडा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित १६ जनाविररुद्ध २०७५ मा नै मुद्दा  दायर गर्दै ३१ करोड रुपैयाँको विगो माग दाबी गर्दै आएको छ ।

संघीय संसद सचिवालयले सूचनामा गुरुङको मुद्दा  अदालतबाट किनारा नलागेसम्म भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बम्मोजिम निलम्बन गरिएको उल्लेख छ । तर, यस्तै पकृतिको मुद्दा  विचाराधिन रहेका महतोमाथि कुनै कारबाही नहुनुले यो सरकार पनि दण्डहीनताको पक्षपोषणमा लागेको आरोप सुरु भएको छ ।

अधिवक्ता प्रकाश बस्नेतले एकै प्रकृतिको मुद्दा  खेपिरहेका आरोपित महतोलाई संसद सचिवालयबाट उन्मुक्ति दिनु कानुनविपरीत भएको बताए ।
‘पहिले त दुवै जनालाई शपथ ग्रहणमा सहभागी गराउनु हुँदैन थियो । शपथ गराउनु नै कानुनविपरित छ । यदि शपथ ग्रहण गराए पनि कसैलाई पाखा र कसैलाई काखा गर्ने प्रवृत्ति आपत्तिजनक छ,’ उनले भने ।

उनले महतोलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने र अनुसन्धान अवधिभर गुरुङको जस्तै उनको पद पनि निलम्बन गर्नुपर्ने जिकीर गरे ।

जसपा संसदीय दलको नेतामा यादव

काठमाडौं – जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्। जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन् ।

यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन् । यो घटनाले जसपामा विवाद देखिएको छ ।

सलीसल्लामा अझै अस्थायी प्रहरी चौकी स्थापना भएन

सुर्खेत, १३ पुस । हुम्लाको सिमकोट-सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि प्रहरीको माथिल्लो निकायबाट स्वीकृत भए पनि हालसम्म स्थापना हुन सकेको छैन।

सो स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि भौतिक संरचना नभएको कारण प्रहरी चौकी स्थापना हुन नसकेको हो। प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले मंसिरमै सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि प्रहरीको क्षेत्रीय कार्यालयबाट स्वीकृत भएर आए पनि हालसम्म स्थापना गर्न नसकिएको बताए ।

चौकीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट नभएको कारण स्वीकृत भएर आएको चौकीलाई स्थापना गर्न नसकिएको हो। यसका लागि प्रहरीले सर्केगार्ड र चंखेली गाउँपालिकालाई दुुई वा तीन कोठे भए भवन नभए हाललाई टहरो बनाइदिन आग्रह गर्दा दुुवै गाउँपालिकाले हालसम्म सुनुवाइ नगरेको भन्दै उनले सलीसल्लामा प्रहरी चौकी अति आवश्यक रहेको र संरचना अभावमा स्थापना गर्न कठिन भएको बताए।

उक्त स्थानसम्म कर्णाली करिडोर जोडिएकाले बजार विस्तार हुँदै गएको छ। प्रहरीले हाललाई दुई कोठा मात्र भए पनि दश जना प्रहरी खटाएर शान्ति–सुरक्षा प्रदान गर्न सकिने जनाएको छ।

प्रहरीले मानिसको बस्ती बाक्लिँदै गएका कारण दैनिकजसो घटना भइरहने भएको अस्थायी प्रहरी चौकी स्थापनाका लागि माथिल्लो निकायमा माग गरिएको जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ । एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।

उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको कुशल नेतृत्वमा राष्ट्रको आर्थिक र सामाजिक विकासले गति लिने र मुलुक सम्बृद्धि तर्फ उन्मुख हुनेमा संघ विश्वस्त रहेको छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारलगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौँ । साथै नेपाल र नेपाली  भएका विश्वभरका देशहरुमा दोश्रो पिढीका नेपालीलाई नेपाल संग जोडन भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाई लिनेमा आशावादी छौँ ।’

एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

काठमाडौं नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ  भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ ।

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।

बागमती प्रदेश कांग्रेस दलको नेतामा बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी

हेटौँडा, १३ पुस । कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ । बुधबार हुने दलको नेताको निर्वाचनका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी दर्ता गरेका हुन् ।

लामा केन्द्रीय सदस्य हुन् । बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । उनी यसअघि दलकाे नेता थिए ।दुवै सभापति शेरबहादुर देउवा पक्षधर नेता हुन् । बुधबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको समय थियो । उक्त समयमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् । लामाकाे प्रस्तावकमा अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रस्तावक, उर्मिला केसी नेपाल, तीर्थ लामा र रामकृष्ण चित्रकार समर्थक छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकाले लामालाई दलको नेता बनाउन अहिले कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मदनकृष्ण श्रेष्ठ हेटौंडा पुगेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर हेटौँडामा बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

शेरबहादुर देउवाले छाडे बालुवाटार

काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् ।बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् ।

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सरेका हुन् ।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले तत्काल कसैलाई समर्थन नगर्ने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइको माग नागरिक उन्मुक्तिले गरेको छ ।

ती नेता कार्यकर्तालाई रिहाई नगरी प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपपिश्चम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । ‘केन्द्रमा अहिले हाम्रो पार्टीले सरकारसँग छलफल गरिरहेको छ,’ चौधरीले भने, ‘सरकारले उहाँहरुलाई छुटाउने पहल गरेमा हामी सरकार निर्माण प्रक्रियामा सहभागी हुनेछौं, अन्यथा केन्द्रको निर्णय नभई हामी सरकार निर्माण प्रक्रियामा जाँदैनौं ।’

नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि आवश्यक पर्ने बहुमत पुर्याउन दलहरूलाई सकस पर्ने देखिएको छ ।
केन्द्रमा सत्ता गठनब्धन गरेको नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर मात्रै सुदूरपश्चिममा सरका गठनका लागि आवश्यक बहुमत पुग्ने छैन । तीन वटै दल मिल्दा प्रदश सभा सदस्यको संख्या २२ मात्रै हुन्छ । नागरिक उन्मुक्ति पार्टीका सातजना सदस्यको समर्थन भएको अवस्थामा मात्रै शत्तारुढ दलहरुलाई प्रदेश सरकार निर्माण गर्न आवश्यक पर्ने बहुमत पुग्ने देखिएको छ ।

त्यसैगरी प्रदेश सभामा ठूलो दल रहेको नेपाली कांग्रेस र नेकपा एस मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने सम्भावना छैन । प्रदेशमा कांग्रेसका १९ र  नेकपा एसका चार गरी २३ जना मात्रै सदस्य पुग्ने छन् । केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधामन्त्री बनाउन समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग राखेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोप लागेर जेलमा रहेका व्यक्तिको ससर्त रिहाई गरिनुपर्ने माग नागरिक उन्मुक्तिले राखेको छ । सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता नजनाएसम्म सरकारमा नजाने नागरिकको अडान रहेको छ । केन्द्रीय सरकारमा जान नागरिक उन्मुक्तिले राखेको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषय पनि जटिल बनेको छ ।

सरकार निर्माणका लागि २७ जना आवश्यक पर्ने सुदूरपश्चिममा जताबाट पनि नागरिक उन्मुक्ति पार्टी निर्णायक भूमिकामा रहेको छ । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा सरकार बनाउन माओवादी केन्द्र र एमालेलाई नागरिक उन्मुक्ति पार्टीको साथ आवश्यक पर्ने भएको छ । सुदूरपश्चिममा १५ पुसमा प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ । त्यसैगरी १८ पुस प्रदेश प्रमुखले पहिलो प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुखले प्रदेश सभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि पनि उनले समय तोक्न सक्दछन् । तर नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन नगरेको अवस्थामा भने प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैको पनि बहुमतको सरकार बन्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा प्रदेश प्रमखले दोस्राेपटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बताए ।

‘पहिलो चरण्मा एउटा मात्रै दलको नेतृत्वमा सरका बन्ने सम्भावना नदेखिएमा प्रदेश प्रमुखज्यूले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन समय दिन सक्नु हुन्छ,’ निमित्त सचिव ढुंगानाले भने, ‘ताकेको समयमा दुई वा दुईभन्दा बढी दल मिलेर पनि सरकार नबनेको खण्डमा दोस्राेपटक अल्पमतको सरकार निर्माण गर्ने समय दिन सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले भेटे माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् ।

नेपालसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएका छन् ।

को बन्ला कर्णालीमा मुख्यमन्त्री

सुर्खेत, १३ पुस । नेपाली कांग्रेससँगको गठबन्धन तोडिएसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्दै आएको छ । अघिल्लोपटक सबैभन्दा बढी प्रदेशसभा सदस्यहरू भए पनि सरकारको नेतृत्व गर्न नपाएको नेकपा एमाले योपटक कर्णालीमा आफ्नो नेतृत्वमा सरकार बनाउन तीव्र रुपमा लागेको छ । उत्ता माओवादी अहिले सत्ता गठबन्धन भित्रको ठूलो दल भएकाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै लबिङ तीव्र बनाएको छ । माओवादी र एमालेमा संसदीय दलको नेतासमेत अहिलेसम्म टुंगो लागेको छैन । धेरै नेताहरूको चाहना भएका कारण दलको नेता सजिलै टुंगो लगाउन मुस्किल भएको हो ।

केन्द्रले प्याकेजमै टुंग्याउने भएकाले अहिले नै मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने आंकलन गर्न कठिन रहेको नेताहरूले बताएका छन् । यसपालि पहिलो चरणमा कर्णालीको मुख्यमन्त्री माओवादीले नै पाउने सम्भावना बलियो रहेको माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए  । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा माओवादीको प्रभाव बलियो रहेकाले एमालेलाई नेतृत्व लिन त्यति सहज भने छैन । यद्यपि, कर्णाली सरकारको पहिलो कार्यकालमा एमाले र माओवादीबीच प्रदेशको भागबन्डा हुँदा कर्णाली माओवादीको भागमा परेको थियो ।

कर्णालीमा आफूहरूले मुख्यमन्त्री पाउनैपर्ने एमालेका अरु सांसदहरूको पनि जिकीर छ । अघिल्लो कार्यकालमा एमालेकै समर्थनमा माओवादीले मुख्यमन्त्री पाएकाले यसपटक सरकारको नेतृत्वका लागि स्वाभाविक रूपमा एमालेको दाबी रहने बताइएको हो ।

माओवादीले अघिल्लो पटक नेतृत्व गरिसकेकाले अहिले एमालेलाई मुख्यमन्त्री छोड्नुपर्ने एमाले नेताहरूको तर्क छ । यद्यपि, केन्द्रमा नै प्रदेशहरूको नेतृत्वबारे छलफल र निर्णय हुने भएकाले सोहीअनुसार नै अघि बढ्नुको विकल्प भने नरहेको उनीहरू बताउँछन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य यामलाल कँडेलले मुख्यमन्त्री कसले लिने भन्ने विषयमा माथि नै छलफल हुने बताए ।

दुवै दलहरू अहिले केन्द्रबाट आउने निर्देशन र निर्णयको पखाईमा छन् । केन्द्रीय गठबन्धनले जुन पार्टीले मुख्यमन्त्री लिने भन्ने सहमति गर्छ, त्यसैअनुसार हुने नेताहरूको भनाइ छ ।  प्रदेशको नेतृत्वबारे भागबन्डा हुन बाँकी रहे पनि सरकारको नेतृत्व बारे छलफल सुरु भइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान हुनेछ भने ३० दिनभित्र नयाँ सरकार गठन गरिसक्नु पर्नेछ ।

बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । राष्ट्रिय राजनीतिमा फेरबदल आएसँगै त्यसको असर कर्णाली प्रदेशमा पनि परेको छ । संघीय सरकारदेखि प्रदेशसम्मका सत्ता समीकरण बदलिएका छन् । जसले गर्दा नेपाली कांग्रेस अब सरकारभन्दा बाहिर रहनेछ ।

कर्णाली प्रदेशसभाको पहिलो दल कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कर्णाली प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ सांसद छन् । कर्णालीमा एमाले र माओवादीको गठबन्धन सरकार बन्नेछ । योसँगै एमालेले नेतृत्व गर्ने कि माओवादीले भन्ने विषय पेचिलो बन्दै गएको छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीका १३ र एमालेका १० गरी २३ सांसद छन् । जुन सरकार गठनका लागि पर्याप्त संख्या हो । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ । राष्ट्रिय राजनीतिको समीकरण हेर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यी दुई दलको सरकारलाई समर्थन गर्ने देखिन्छ । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद छन् ।

भावी मुख्यमन्त्रीका लागि एमाले र माओवादीबाट चारजनाको नाम सुनिने गरेको छ । एमालेबाट यामलाल कंडेल र विनोदकुमार शाह तथा माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्टमध्ये एक जना मुख्यमन्त्री बन्ने आकलन गरिएको छ ।

उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ

एजेन्सी – सीमा बन्द र अन्य महामारी विरोधी उपायहरु लम्ब्याउँदै तथा अन्तर्राष्ट्रिय संलग्नता अवरुद्ध र आर्थिक समस्या निम्त्याउदै देशले मे मा आफ्नो पहिलो कोभिड १९ प्रकोप स्वीकार गरेको थियो । परीक्षण र स्वतन्त्र अनुगमनको अभावमा त्यहाँ कोभिडको वास्तविक सीमा अपुष्ट छ ।

यस वर्षले उत्तर कोरियाले आफूलाई स्थायी आणविक हतियार शक्ति ठानेको र प्योङयाङले अमेरिकालाई निशस्त्रीकरण वार्तामा संलग्न गराउने कुनै आसय राखेको छैन भन्ने स्पष्ट प्रमाण दिएको पूर्वअमेरिकी कूटनीतिज्ञ इभान्स रेभरेले बताए ।

‘उत्तर कोरियाको खतराको कुरा गर्दा हामी खतरनाक र अज्ञात क्षेत्रमा छौं’ उनले भने ‘उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना सबै हराइसकेको छ ।’

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक यसै वर्ष अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो । उसले सन् २०२२ को सुरुदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गर्दै आएको छ । उसको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

अमेरिकामा हिमआँधीः मृत्यु हुने ५० पुगे

न्युयोर्क–अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  हिमआँधीका कारण टेनेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिजौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।

हिउँको प्रभावक अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन् । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

पोखरा – गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ ।

बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए ।

यहाँका अन्य ५९ सांसदलाई विहिबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ ।

बीच भलिबलः नेपालको विजयी सुरुवात

काठमाडौं – काभा बीच पुरुष भलिवल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन् । आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ ।

रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए

बुटवल । रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । ‘हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्‍याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,’ उनले भने ।

बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं. १९ का  १२ र मायादेवी गाउँपालिका वडा नं. ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए । लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए । ‘हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ,’ उनले भने ।

जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए  ।

राष्ट्रसंघले तालिबानलाई भन्यो—महिला लक्षित नीति तत्काल खारेज गरियोस्

एजेन्सी – तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  संयुक्त राष्ट्रसंघले माग गरेको छ । ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भने ।

उनले अगाडि भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ । ’

उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए।शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।

इंग्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रोे गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ । मंगलबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।

रसफोर्ड चम्किदा युनाइटेडको सहज जित

काठमाडौं – मार्काेस रसफोर्ड चम्किदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए । युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे ।

खेलको १९औं मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । रसफोर्डको पासमा मार्टिअलले २२औं मिनेटमा २–० को अग्रता बनाए । दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो ।

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे । जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ । पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।

बागलुङमा तीनपटक भूकम्पको धक्का महसुस

काठमाडौं – गएराति बागलुङमा तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ । गए राति बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राति १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको जनाइएको छ ।

रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध

एजेन्सी – रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग सहमत भएको मूल्य सीमा डिसेम्बर ५ मा लागु भएको थियो ।

क्यापले देशहरूलाई रूसी तेलको प्रति ब्यारेल ६० डलरभन्दा बढी तिर्न निषेध गर्दछ । रुसले अब आफ्नो तेल र तेल उत्पादनहरू मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ ।

राष्ट्रपतिको आदेशमा यो प्रतिबन्ध फेब्रुवरी १ देखि जुलाई १ सम्म पाँच महिनासम्म लागू हुने बताएको छ ।आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धमा परेका देशहरूलाई आपूर्ति गर्न विशेष अनुमति दिन सक्ने पनि भनिएको छ।

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन, राप्रपा र जसपा बिटुंगोमा

काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा आबद्ध सात दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् ।

सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार भएको भागबण्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११, माओवादी केन्द्रले ५ देखि ७ रास्वपाले ५, राप्रपाले ३, जनमत र नागरिक उन्मुक्तिले २र २ मन्त्रालयको दाबी गरेका थिए । तर, मंगलबारसम्मको सूचनाअनुसार राप्रपा र जसपा सरकारमा नजाने बुझिएकाले बाँकी दलहरूलाई बढी संख्यामा मन्त्रालय भाग पर्ने नेताहरूको भनाइ छ।

यद्यपि, राप्रपा सरकारमा जाने वा नजाने भन्ने टुंगो बुधबार मात्र लाग्ने जानकारी दिँदै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले भने ‘अहिले हामीले राजनीतिक स्थिरताका लागि सरकारलाई समर्थन मात्रै गरेका हौं । सरकारमा सहभागिताको कुरा पार्टीको बुधबार बस्ने बैठकले निर्णय गर्छ । सरकारमा जाँदा हाम्रा एजेन्डाहरू कसरी लाने र नजाँदा सरकारलाई समर्थनसहित कसरी खबरदारी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ।’

त्यस्तै, जसपाले पनि केन्द्रीय कमिटिको बैठकबाट निर्णय गर्ने भनेपछि प्रधानमन्त्री प्रचण्ड कसलाई कति मन्त्रालय, प्रदेशलगायत अन्य राजकीय पदहरू दिने लिने भन्ने विषयमा निर्णयमा पुग्न सक्नुभएको छैन।

जसपाको पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने ठोस निर्णय गर्ने तयारी गरेको बताइएको छ ।राप्रपा र जसपा सरकारमा सहभागी नहुने हो भने सत्ताको नेतृत्व गरेको माओवादीले ७ देखि ९ मन्त्रालय पाउने पाउनेछ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्ष

काठमाडौं । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् ।वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।

स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अध्ययनमा आधारित सो प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन, किनभने वैश्विक तथ्यले यो वर्ष बितेका अन्य वर्षको तुलनामा केही चिसो वर्षका रूपमा गनिएको छ ।

प्रतिवेदनअनुसार विगत १० वर्षमा कम्तीमा पनि एक डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ ।सन् १९९३ देखि हालसम्म समुद्री सतहको दोब्बर वृद्धि भएको अर्को नयाँ रेकर्ड अध्ययनमा उल्लेख गरिएको छ ।

त्यस्तै युरोपेली आल्पस क्षेत्रमा अभूतपूर्व रूपमा हिउँ पग्लने सङ्केत पनि अध्ययनले गरेको छ ।प्रतिवेदन सार्वजनिक गर्दै विश्व मौसम सङ्गठनका प्रमुख पिटर तालासले भने, “जति धेरै गर्मी बढ्यो, त्यति नै खराब असरहरू देखिन्छ।”

उनका अनुसार अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको यति उच्च स्तर छ कि पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियसमा त्यो अटाउन्न ।बढ्दो तापक्रमका कारण हिमनदी र ताजा पानीको सुरक्षा गर्न ढिलाइ भइसकेको उनले प्रस्ट पारे ।

यस वर्षको अवस्था विश्लेषण गर्दै उनले चरम गर्मी र खडेरी, मौसम र जलवायुसम्बन्धी प्रकोपका कारण अर्बौं खर्च हुनुका साथै विश्वका लाखौँ मानिस प्रभावित बनेको औँल्याए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

भारतबाट मध्यरातमा भित्रिन्छ तस्करीका सामान

काठमाडौं । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ ।विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय, रानी मातहत रहेको इप्रका रानी सीमा र इलाका प्रहरी कार्यालय, बुधनगरको टोलीले राति १०ः३० बजे सामान बरामद गरेको थियो ।भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेकामध्ये इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्री छन् ।

आफ्नो उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेबाट भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको प्रहरीले जनाएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाडौं । नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ ।

मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्नेको सुरक्षाकर्मी फिर्ता गर्ने भनेको हो । तर कार्यविधि अनुसार नै पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी खटाइएकोले उनीहरुलाई फिर्ता ल्याउन नमिल्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।यो खबर आजको नागरिक दैनिकमा छ ।

तुलाको काम सफल हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं – आजको पात्रो : १३ पुस २०७९, बुधबार । तद्नुसार डिसेम्बर २८ तारिक २०२२ । पौषशुक्लपक्ष षष्ठी, कौलव करण, शतभिषा नक्षत्र, सिद्धि योग, चन्द्रमा कुभ्म राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५४ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ ।

आजका देवता गणेश र ग्रहदेव बुध हुन् । बुधबार घर गृहस्थसम्बन्धी कार्यका समय दिँदा उत्तम हुनेछ । ऋण लिनु परेमा बुधबार शुभ रहनेछ । अचल सम्पत्तिको कारोबार पनि उत्तम मानिँदैन । छोटो दुरीको यात्राका लागि आजको दिन शुभ रहेको छ । व्यापार व्यवसाय शुरुवात गर्न, भवन निर्माणको कामका लागि पनि आज राम्रो रहेको छ । आज ११ः४५ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा आजको सबैभन्दा शुभ समय हो ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनबाट अपमान हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपजस आउनसक्छ । आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन सुुरु गरेको काम सफल हुनेछ । सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच विवाद हुनसक्छ । त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर वा देवालयमा जानु वेश हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । आजको दिन हरेक काममा सर्तकता अपनाउनुहोला । आफूले गरेको कामबाट निकै सन्तुष्टी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन

मुम्बई – पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा अभिनय गरेका अभिनेता मिलिन्द सोमन जनवरी २०२३ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म ‘लकडबग्घा’बाट कमव्याक गर्दैछन् ।

मिलिन्द, अंशुमन झा र रिद्धी डोगरा स्टारर यो फिल्मले आगामी १३ जनवरीमा अर्जुन कपुरको फिल्म ‘कुत्ते’ सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्दैछन् । मिलिन्द आठ वर्षपछि अभिनयमा कमव्याक गर्न लागेका हुन् ।

‘लकडबग्घा जस्तो अनौठो एक्सन फिल्मको हिस्सा बन्नु रोमाञ्चक हो । कथाका हरेक पात्र असामान्य र सुविचारित छन् । मलाई एक रोमाञ्चक मार्शल आर्ट फर्मको रुपमा स्क्रिप्टमा राखिएको छ,’ उनले भनेका छन् ।

फिल्ममा मिलिन्दले एक मार्शल आर्ट इन्स्टक्टर र अंशुमानको पिताको भूमिका निभाउँदैछन् । फिल्ममा विक्टर मुखर्जीको निर्देशन र फस्ट रे फिल्मसको निर्माण छ ।