`

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा

काठमाडौं – एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् ।

एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् ।

‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत  समाजवादी   कुनै पार्टीसँग एकीकरण  गर्ने गरी अगाडि बढेको छैन,’ उनले भनेका छन्, ‘ कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’

पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी  विस्तारका अभियानहरु  कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

सिराहा, १४ पुस । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच लाख रुपैयाँ बराबरको एक सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा पाँच लाख ५० हजार रुपैयाँ बराबरको एक सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका–३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुंगा हान्दा सशस्त्र प्रहरीको बा१ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

मूल भूमि चीनको अनुसरण गर्दै हङकङले पनि हटायो प्रतिबन्ध

एजेन्सी – मुख्य भूमि चीनको अनुसरण गर्दै हङकङले यस हप्ता लगभग सबै कोभिड प्रतिबन्धहरू हटाइरहेको छ । बिहीबारदेखि चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जाने आउने मानिसहरूले अब अनिवार्य पीसीआर परीक्षणहरू गर्नु पर्दैन ।

खोप पास प्रणाली पनि खारेज गरिनेछ । तर, सार्वजनिक स्थानहरूमा अनिवार्य मास्क जारी रहनेछ । यो शहरद्वारा चालिएको नाटकीय कदम हो, जुन एक पटक संसारमा केहि कठिन प्रतिबन्धहरू थिए ।

बाहिर १२ जनाभन्दा बढी भेला हुन निषेध गर्ने नियम पनि बिहीबारबाट खारेज भएको छ । यो शहर पुनः खोल्न सुरु गर्ने उपायहरूको रूपमा अक्टोबरमा चार व्यक्तिबाट बढाइएको थियो ।

हङकङका नेता जोन लीले खोपको उच्च दरलाई प्रतिबन्ध हटाउनुको एउटा कारण बताए । सरकारी तथ्यांकअनुसार ९३ प्रतिशत जनसंख्याले दुईवटा खोप लगाएका छन् भने ८३ प्रतिशतभन्दा बढीले तीनवटा खोप पाएका छन् ।

आफ्नै खोपहरू विकास गरेको मुख्य भूमि चीनको विपरीत हङकङले जर्मनीमा बनेको बायोएनटेकसहित एमआरएनए खोप लगाएको छ जुुन अझ प्रभावकारी देखिएको छ । ‘कोभिडविरुद्ध लड्न हङकङसँग पर्याप्त मात्रामा औषधि छ र महामारी सामना गर्न स्वास्थ्य कार्यकर्ताहरुले राम्रा अनुभव बटुलेका छन्’, लीले भने ।

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

काठमाडौं, १४ पुस । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्‍याली निकाल्ने पनि निर्णय गरेको छ ।

स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई गृहको निर्देशन

काठमाडौं / गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन दिएको छ ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामाबाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै गृहमन्त्रालयले सुरक्षाकर्मी र पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।

अन्यथा विभागीय कारबाही हुने गृहले चेतावनीसमेत दिएको छ ।

गृहमन्त्रालले जारी गरेको विज्ञप्ति

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसंग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसंग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

फणिन्द्रमणि पोखरेल
सहसचिव/प्रवक्ता
मितिः २०७९/०९/१४

रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला

काठमाडौं – नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ ।

त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेश : प्रतिनिधिसभा सदस्यमा आफू पराजित भएको रिस बानियाँलाई हराएर फेरिन् डिनाले

काठमाडौं – कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा विजयी भए । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पाँच मतले पराजित भए । लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ पाँच वर्षसम्म दलको नेता निर्वाचित भएका थिए ।

लामा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । दुवै नेता संस्थापन पक्षका हुन् । तर, अहिले बानियाँ पराजित भएको विषयले मकवानपुरमा ठूलै तरंग ल्याएको छ । बानियाँलाई हराउन सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकै महालक्ष्मी उपाध्याय डिनाको ठूलो हात रहेको मकवानपुर कांग्रेसमा चर्चा छ । आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएको बदला डिनाले अहिले बानियाँलाई दलको नेतामा हराएर लिएको मकवानपुरका एक कांग्रेस नेताले बताए ।

डिना मवकानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उठेकी थिइन् । उनी राप्रपाका दिपक सिंहसँग दुई हजार मतान्तरमा पराजित भइन् । आफूलाई बानियाँले चुनावमा असहयोग गरेको डिनाले आरोप लगाउँदै आएकी छन् । त्यति मात्र होइन, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई बानियाँकै असहयोगका कारण आफूले चुनाव हारेको कुरा लगाएकी थिइन् । जसकारण देउवा दम्पतीले बहादुरसिंह लामालाई अगाडि सारेर बानियाँलाई दलको नेता हुनबाट रोकेको कांग्रेस नेतृ मिना पोखरेलले बताएकी छन् । डिना देउवाकै कारण सधैं पार्टीमा अवसर पाउने नेतृ हुन् ।

डिना र बानियाँको आपसी द्वन्द्वको फाइदा भने मकवानपुरमा राप्रपा, एमाले, माओवादीलगायतका दलले उठाएका छन् । मकवानपुरमा यसपटक कांग्रेसबाट बानियाँ मात्र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । अरु सबै उम्मेदवार पराजित भएका छन् ।

महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

काठमाडौं – महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बहस गरेका थिए । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

लुम्बिनी जनरल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने

काठमाडौं – लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई कम्पनीको चुक्ता पूंजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० को ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित वित्तीय विवरणहरू नियामक निकाय नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् ।

बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात राजनीतिक दलले समर्थन गरेका थिए ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

प्रि-ओपन सेसनमा नेप्से उकालो

काठमाडौं – प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जिल बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन् । हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्रिउ ब्यारीमोर शो’ को एक एपिसोडमा अमेरिकी राष्ट्रपतिले उक्त कुरा स्वीकार गरेका हुन् ।

सीएननद्वारा ट्विटरमा अपलोड गरिएको अन्तर्वार्ताको क्लिपमा ड्र्यु ब्यारीमोरले राष्ट्रपतिलाई के उनले साँच्चै पहिलो महिलालाई पाँच पटक आफ्नो प्रेम प्रस्ताव गरेका थिए र के ले उनलाई मोहित ग¥यो भनेर प्रश्न गरेका थिइन् ।

बाइडेनले भने, ‘जब म उनीसँग पहिलो पटक बाहिर गएँ, मलाई थाहा थियो कि उनी असल महिला हुन । मैले साँच्चै प्रस्ताव गरें ।’ पहिलो नजरको प्रेममा विश्वास गर्नुहुन्छ कि भनेर सोध्दा राष्ट्रपतिले जवाफ दिए, ‘म गर्छु ।’ राष्ट्रपतिले थप भने कि उनी आफ्नो जीवनमा दुई पटक मात्र प्रेममा परेका थिए र दुबै पटक उनले ‘तुरुन्त’ थाहा पाए ।

जो बाइडेनकी पहिलो पत्नी निलिया र उनकी एक वर्षीया छोरी नाओमीको सन् १९७२ मा कार दुर्घटनामा मृत्यु भएको थियो ।  यसपछि, जो बाइडेन एकल अभिभावक बनेका थिए र आफ्ना दुई छोराहरूलाई हुर्काउँदै राजनीतिक करियरमा पनि काम गरिरहेका थिए । आफ्ना छोरा बिउ र हन्टरले जिलसँग प्रस्ताब गर्न प्रोत्साहन गरेको बाइडेनले स्मरण गरेका छन् ।।

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  अमेरिकी डलरकाे भाउमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ । बुधबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३७ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा १९ पैसाले युरोपियन युरोमा आरालो लागेको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९५ पैसा तोकिएको छ । बुधबार यसको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकीएको थियो । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ५ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४३ पैसा र बिक्रीमा १० रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४४ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

फूल और काँटेको रिमेक चाहन्छन् अजय

मुम्बई, १४ पुस । बक्सअफिसमा कैयौं हिट फिल्म दिएका अभिनेता अजय देवगनले सन् २०२२ मा ‘दृश्यम २’ जस्तो ब्लकबस्टर फिल्म दिएर  बलिउडका सुपरस्टार हुन् भन्ने साबित गरिदिए ।

रिमेकको यो ट्रेण्डमा अजय अब आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन् । हाल दिन नयाँ फिल्म ‘भोला’को तयारी गरिरहेका छन् ।

फिल्म ‘दृश्यम २’को प्रमोसन गर्न रेड एफएम पुगेका अजयलाई आरजे मलिष्काले ‘तपाईंको कुन फिल्म रिमेक गर्न चाहनुहुन्छ ?’ भनी सोधेकी थिइन् । जवाफमा उनले कसैले उनको सन् १९९१ को फिल्म ‘फूल और काँटे’को रिमेक बनाएको हेर्न चाहेको बताएका थिए ।

‘यसका लागि मैले केही अभ्यास गर्नुपर्नेछ । खास गरी फिल्मको फाइट सिक्वेन्सका लागि मैले एक डेढ महिना अभ्यास गर्नुपर्छ’, उनले भने । फिल्म ‘फूल और काँटे’मा अभिनेत्री मधु पनि देखिएकी थिइन् । फिल्मको कथा, गीत र एक्सनलाई दर्शकले खुबै मनपराएका थिए ।

कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ ।  मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछन् । सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेलसम्म ज्येष्ठ सदस्य शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।

लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

बुटवल – लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

एजेन्सी – बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक परीक्षणहरू सहित चिनियाँ यात्रुहरूका लागि कडा उपायहरू रेखांकित गरिसकेका छन् । बेइजिङले कोभिड नियमहरू ‘वैज्ञानिक’ आधारमा ल्याउनुपर्ने जनाएको छ ।

भारतले पनि चिनियाँ आगमनका लागि उपायहरू बढाउँदैछ, तर बेइजिङले आफ्नो कडा सीमा नीतिलाई ढिलाइ गर्ने घोषणा गर्नुअघि यो घोषणा गरिएको थियो । अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकका लागि राहदानी आवेदन जनवरी ८ देखि सुचारु हुने देशको अध्यागमन अधिकारीहरूले भनेका छन् ।

‘चीनमा जारी कोभिड १९ वृद्धि र भाइरल वंशानुगत अनुक्रम तथ्यांकसहित पारदर्शी तथ्यांकको  अभावमा अन्तर्राष्ट्रिय समुदायमा बढ्दो चिन्ताहरू छन्’ अमेरिकी अधिकारीहरूले समाचार एजेन्सीहरूलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनका विदेश मन्त्रीका प्रवक्ता वाङ वेनबिनले पछि पश्चिमी देशहरू र मिडियालाई बढाइचढाइ र चीनको कोभिड नीति समायोजनलाई तोडमोड गरेको आरोप लगाए ।

देशहरूको कोविड प्रतिक्रियाहरू विज्ञानमा आधारित र समानुपातिक हुनुपर्ने र सामान्य मानिसहरू–जनताको आदानप्रदानलाई असर गर्नु नहुने उनले बताए ।

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

एजेन्सी – उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।

गण्डकीका सांसदलाई आज सपथ

पोखरा – गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई सपथको कार्यक्रम छ । संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई सपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका थिए ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन् । कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन् ।

कांग्रेसले चुनावी प्रतिश्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ । माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन ।

हाल्यान्ड चम्किदा सिटीको सहज जित

काठमाडौं – एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार लिड्स युनाइटेड ३-१ ले हराएको छ ।  जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको  ३३ अंक छ । चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे । जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो । उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए । ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे ।

सिटीले गत साता इङ्लिस लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो । कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ ।

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् ।

६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पिएसजी जित निकाल्यो ।

नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पिएसजी बराबरीको स्थितिमा थियो ।

दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे ।जितपछि पिएसजी १६ खेलको समाप्तीमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ ।

१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।

अमेरिकामा हिमपातको कहरः सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मीनलमै सुत्न बाध्य

एजेन्सी – घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् । उडान ट्र्याकिङ गर्ने फ्लाइट अवेरका अनुसरा अलपत्र परेका हजारौं यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् ।चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।

रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गरेका छन् ।
कीर्तिमान कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौतीहरू ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनले बताए ।

यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा लाखौ मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।

कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता

विरगञ्ज – छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए ।

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे ।

नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै ठुलो दल बन्ने एमाले प्रयास

काठमाडौं – एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन्।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए। उनले एमालेभित्र सम्मानजनक स्थान दिने बताउँदै पार्टी एकता वा समाहितका लागि प्रस्ताव राखेका थिए।

नेकपा एसका नेता एवं नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूबीच भेटघाट भएको थियो। सो भेटघाटमा उनीहरूले सम्भावित योजना र सरकारको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ। यद्यपि उनीहरूबीचको भेटघाटबारे कुनै धारणा सार्वजनिक गरिएको छैन।

एमाले र माओवादी केन्द्रभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको प्रतिनिधित्व गर्दै पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका थिए। यस विषयमा एमाले अध्यक्ष ओलीकै पहलकदमी रहनुपर्ने धारणा नेकपा एसबाट आएको स्रोतको दाबी छ। अर्थमन्त्री पौडलेले भेट्नुअघि एमालेकै पूर्वउपाध्यक्ष वामदेव गौतमले पनि नेता नेपाललाई भेटेका थिए । यो समाचारनागरिक दैनिकमा छ ।

नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस

काठमाडौं – एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।

धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकी छिन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरिसकेका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

तलब खुवाउन पनि ऋण माग्दै सरकार

काठमाडौं – पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काँधमा छ। झन्डै १९ महिनापछि फेरि अर्थतन्त्रको बागडोर पौडेलले सम्हाल्दै गर्दा आर्थिक सूचकांक निकै कमजोर छन्। सरकारी आम्दानी ह्वात्तै घटेको छ, राजस्व संकलन हुन नसक्दा आम्दानीभन्दा खर्च बढी भएर सरकारको विभिन्न कोषमा भएको रकम रित्तिने क्रममा छ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजस्व दोब्बर बनाउने नीतिले वर्षौं लगाएर बलियो बनाएको विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल बताउँछन्। ‘राजस्व वृद्धि गर्ने भन्नुको अर्थ बढी आयात गर्ने नीति अपनाउनु हो,’ उनले भने, ‘राजस्व दोब्बर बनाउने लक्ष्यसहितको बजेट ल्याउँदै गर्दा सरकारले सञ्चिति रित्तिन्छ भन्ने हेक्का राख्नुपर्थ्यो।’

विदेशी मुद्राको सञ्चिति बलियो बनाउने केन्द्रीय बैंकको दायित्व भएको बताउँदै डा। नेपालले केन्द्रीय बैंकको नीतिमा सरकारले निरन्तरता दिँदा राजस्व संकलनको पाटो कमजोर बनेको जिकिर गरे। नेपालले भने, ‘साढे ७ महिना आयातमा प्रतिबन्ध लगाएर सरकारले अहिले आयात खोलिदिएको छ। अब फेरि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने चुनौती सरकारसामु छ।’

आयातमा प्रतिबन्ध लगाउँदा सोचेअनुसार राजस्व उठ्न नसकेपछि सरकारलाई सामान्य खर्च धान्नसमेत सकस परेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस १२ गतेसम्म सरकारले ३ खर्ब ७८ रुपैयाँ प्रशासनिक खर्च गरेको छ। तर, राजस्व संकलन ३ खर्ब ४६ अर्ब रुपैयाँ मात्र छ। अर्थात्, सरकार राजस्व उठाएर प्रशासनिक खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको छ।

सरकारले चालू आवमा अघिल्लो आवको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलनको लक्ष्य लिएको छ। तर, पुस १२ गतेसम्मको राजस्व संकलन गत आवको भन्दा २० दशमलव ८ प्रतिशत कम हो। राजस्व उठाएर तलब खुवाउन नसक्ने अवस्था भएपछि सरकार ऋण उठाएर खर्च धान्नुपर्ने अवस्थामा पुगेको छ। बजारमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला सरकारले आन्तरिक ऋण उठाउँदा अभाव झन् चर्किने अनुमान गरिएको छ। पुस मसान्तमा सरकारले आयकरको ५० प्रतिशत र मुअकरलगायत कर उठाउनेछ भने ६० अर्ब रुपैयाँ पुनर्कर्जा बजारबाट फिर्ता हुँदैछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडौं – नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ ।

प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन् ।

यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन् । प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न भने तयार भइसकेका छन् ।

बुधबार नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका थिए ।

पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टीसहित एकताको गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई म्यान्डेट दिइसकेका छन् । यो समाचार द नेपालटप दैनिकमा छ ।

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

एजेन्सी – आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् ।

हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै बैठक रद्द  भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु  क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरुको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

नेमकिपा सरकारमा जाँंदैन, प्रखर प्रतिपक्षमा रहन्छ : सचिव सुवाल

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।  नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।

संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।

विश्व इतिहासमा आजः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्र

आज सन् २०२२ को  २९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त

सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो । राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि  आदिवाशी जनजाति तथा गरिब रीब वर्ग र सरकार पक्षबीच भएको साढे तीन दशक लामो गृहयुद्ध समाप्त भएको थियो । देशमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिकामा रहेको भन्दै मोरान र अर्जुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

आयरल्यान्डको स्थापनाः

राष्ट्रिय जनमत संग्रहमार्फत स्थापित नयाँ संविधानले आइरिस फ्रि स्टेटलाई नयाँ नाम दिएर सन् १९३७ मा आयरल्यान्ड स्थापना गरिएको थियो । यसअघि आइरिस फ्रि स्टेट ब्रिटीश कमनवेल्थको अभिन्न अंग थियो । सन् १९२१ मा हस्ताक्ष्र गरिएको एंग्लो आइरिस सन्धिअन्तर्गत आइरिस फ्रि स्टेट स्थापना गरिएको थियो ।

मंगोलिया स्वतन्त्र

सन् १९११ मा मंगोलिया स्वतन्त्र भएको थियो । सन् १९११ को मंगोलिया क्रान्तिपछि भूपरिवेष्ठित उत्तरपूर्वी एशियाली देश मंगोलिया किङ वंशबाट स्वतन्त्र भएको थियो । मंगोलियामा २०० वर्षसम्म किङ वंशले शासन चलाएको थियो ।

वन्डेड नि क्रिकमा नरसंहार

सन् १९९० को २९ डिसेम्बरमा अमेरिकी सेनाको सातौ घोडाचढी फौजले लाकोटा जातिका सदस्यहरुलाई निशस्त्र पार्ने कोशिस गरेको थियो । लाकोटाले वन्डेड नि क्रिकमा क्याम्प खडा गरेर बसेका थिए । निशस्त्र पार्ने क्रममा गोली चल्दा महिला र बालबालिकासहित सो जातिका १५० सदस्यहरुको मृत्यु भएको थियो । तर, सो क्षेत्रमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको इतिहासकारहरुको विश्वास छ । वन्डेड नि क्षेत्र अहिलेको दक्षिण डाकोटा राज्यमा पर्छ ।

कस्तो छ आजको मौसम ?

काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

कुम्भको मनमा खुसीयाली छाउने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं – आजको पात्रो : १४ पुस २०७९, बिहीबार । तद्नुसार डिसेम्बर महिनाको २९ तारिक २०२२ । पौषशुक्लपक्ष सप्तमी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, व्यतिपात योग, चन्द्रमा मीन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः५४ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ । बिहान ११ः४५ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय सबैभन्दा शुभ समय हो । बिहीबार बहुमूल्य धातुका सामान खरिद गर्नका लागि शुभ हुनेछ । आजका देवता रुद्र र ग्रहदेव राहु रहेको छ । आजको दिन अध्ययन, अध्यापन, लेखनका कामको शुरुवात गर्दा शुभ हुनेछ । आजको दिन व्यापार व्यवसायमा लगानी गर्नका लागि उत्तम रहेको छ । विद्युतीय सामान खरिदका लागि आजको दिन र बार शुभ रहेको छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि यात्राबाट फाइदा पुग्नेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तुला राशिमा जातकका लागि आजको दिन सोचअनुसार काम हुनेछ ।  व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्म यात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन मनमा अति खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । साँझको समयमा शिवालयमा पुगेर आरती दर्शन गर्दा सकारात्मक उर्जा थपिने छ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

महोत्तरीको बर्दिबासमा वडा अध्यक्षले नै अतिक्रमणको चपेटामा परेको जग्गा फिर्ता गर्दै

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ ।पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन  ।

लामो समयदेखी  जोतभोग गर्दै आएको दावी गर्दै ब्यक्तीले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले बुधबार नै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत वनाएका छन ।

विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दयकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिए ।`स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानियहरुको लागी आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,` अध्यक्ष बिष्टले भने ।

रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानियहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसगैँ मनलागी  अतिक्रमण गर्ने स्थानियहरुमा समेत नियन्त्रण हुने बिस्वास लिइएको छ ।

`जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइनेछ,´ अध्यक्ष बिष्टले भने ।´नगरमा नै  सवैभन्दा बढी बर्दिबास-३ मा भु-माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भैइरहेको वेला वडा अध्यक्ष बिष्टले लिएको पहलकदमीलाइ निक्कै सकारात्मकरुपमा लिइएको छ ।स्वयम अध्यक्ष बिष्टले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको संख्या वढीरहेको वताउदै चिन्ता ब्यक्त गर्दै आएका छन् ।

मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय

सुर्खेत – मुगु मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाले गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई हरेक वर्ष हिउँद आफ्नो जन्मथलो छोडेर बाहिरिने गरेका छन् ।

कठ्याङग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छोडेर महिला पुरुष बालबालिका वृद्धाहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् ।

गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन्। चिसोले गर्दा यहाँका स्थानीय हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए । चिसो खप्न नसकेर स्थानीय बाहिरिने गरेपछि मंसिरदेखि फागुन महिनासम्म सो बस्तीहरुमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

स्थानीय बाहिरिए पछि कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरी चौकीमा पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरी चौकी बन्द हुने गरेको छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरने गरेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जिल्लातिर डाक्ने गरिएको छ ।

मौसमी बसाइ भौगोलिक विकटता गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयहरुमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय ४ महिना गाउँ बाहिर र ८ महिना गाउँमै बसेर खेतीपाती जडिबुटी, विकास निर्माणका काम गरेर जीवन निरवाह गर्न बाध्य छन् ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

धनगढी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनाहुँदा श्रीमालको मृत्यु भएको हो ।

श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।

प्रधानमन्त्री मोदीकी आमा बिरामी, स्वास्थ्यस्थिति बुझ्न पुगे अस्पताल

काठमाडौं – प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदी बिरामी परेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मन्त्रीकी आमालाई अस्पतालमा भर्ना गरिएको थियो ।

आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र गएका छन् । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो ।

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेटेका थिए ।

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

सुर्खेत – कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

गण्डकीका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ गराए । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नु गर्ने छन् ।

सरकारी निवास बालुवाटार सरे प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् । आज बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई माघदेखि भत्ता

लमजुङ – लमजुङको बेसीशहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपाङ्गता र एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० को माघबाट लागुहुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो ।

एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका अपाङ्गतालाई संघ सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएपनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपाङगता भएका व्यक्तिलाई नगरपालिकाले जनही ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाका अनुसार मध्यम अपागंता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १६ वर्ष मुनिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र मध्यम अपागंता परिचयपत्र (पहेंलो रङ) को प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इमनाथ कडेलले बताए ।

एकल पुरुष भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, अविवाहित भएको भए सम्बन्धित वडाको अविवाहित सिफारिस र सम्बन्ध विच्छेद भएको भए सम्बन्ध विच्छेद भएको प्रमाण पत्र आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत कडेलले बताए ।

बेसीशहर नगरपालिका भित्र स्थायी बसोवास गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेको नागरिक र प्रचलित कानुन बमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले मध्यम अपाङ्गता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।