`

मुख्यमन्त्रीमा आश नभए पनि धमाधम प्रदेश दलको नेता चुन्दै कांग्रेस

काठमाडौं – नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा आइपुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले हातमै आएको सत्ता गुमाउन पुगेको हो ।

अहिलेकै सत्तागठबन्धन कायम रहेमा कांग्रेस आगामी पाँच वर्षसम्म प्रतिपक्षमै सीमित हुने निश्चित छ । तर प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेसले सर्वसम्मत र निर्वाचनका माध्यमबाट प्रदेश संसदीय दलको नेता चयनलाई तीव्र पारेको छ ।

अहिलेसम्म कांग्रेसले पाँचवटा प्रदेशमा दलको नेता चयन गरिसकेको छ । जसमध्ये कर्णालीमा जीवनबहादुर शाही सर्वसम्मत भए भने चारवटा प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका छन् । कांग्रेसमा प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा निर्वाचनको माध्यमबाट दलको नेता चयन भएका हुन् । अब लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलको नेता चयन हुन बाँकी छ ।

अहिलेसम्म चयन भएका सबै प्रदेश संसदीय दलका नेता सभापति शेरबहादुर देउवा निकट रहेका छन् । प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे र कर्णालीमा जीवनबहादुर शाही पाँचैजना देउवा पक्षका हुन् । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धन हुन्थ्यो भने उनीमध्ये धेरै मुख्यमन्त्री बन्ने निश्चित थियो ।

प्रदेश १ मा थापाले अमृत अर्याल र केदार कार्कीलाई पराजित गरेका हुन् । मधेसमा कृष्ण यादवले रामसरोज यादव, बागमतीमा बहादुरसिंहले इन्द्र बानियाँ, गण्डकीमा पाण्डेले भोजराज अर्याललाई पराजित गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । अन्य प्रदेशमा प्रदेश सभा बैठक आह्वान गरिसकेकाले पनि चाँडै दलको नेता चयन गरिएको हो । लुम्बिनी र सुदूरपश्चिममा अझै बैठक आह्वान गरिएको छैन ।

राप्रपा प्रदेश १ दलको नेतामा सिटौला

झापा, १५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।

राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।

प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न मत पुग्नेछ । एक मात्र सांसद रहेको जसपाले साथ नदिएमा एमाले वा माओवादीका कोही पनि मुख्यमन्त्री बन्न सक्दैनन् ।

कसरी सर्वशक्तिमान मेघनाथको विनाश भयो ?

काठमाडौं – रामायणमा मेघनाथको वर्णन एक पराक्रमी योद्धा र एक मायावी राक्षसको रूपमा गरिएको छ । मेघनाथ आफ्नो बुवाभन्दा पनि बलशाली थिए । उनलाई मार्न लगभग असम्भव नै थियो । भनिन्छ मेघनाथको जन्म जुन नक्षत्र योगमा भएको थियो, त्यस योगमा कुनै पनि प्राणीको अझै जन्म भएको छैन । लक्ष्मणलाई छोडेर कुनै पनि योद्धा मेघनाथलाइ मार्न सक्षम थिएन भन्ने गरिन्छ । स्वयंं श्रीराम पनि मेघनाथलाई मार्न सक्दैनथे ।

लंकापति रावण त्रिलोक विजेता थिए । देवताहरूलाईसमेत उनले परास्त गरेका थिए । रावणले चाहन्थे, उनको सन्तान पनि उनी जस्तै पराक्रमी होस् । त्यसैले मेघनाथ जब आफ्नो आमाको गर्भमा आए, तब रावणले मेघनाथको जन्मभन्दा पहिले नै सबै तयारी गरिसकेका थिए । मेघनाथ रावणको ज्येष्ठ पुत्र थिए । रावण मेघनाथको जन्मँदा सबै ग्रहहरु शुभ योगमा रहोस् भन्ने चाहन्थे । त्यसैले उनले सबै ग्रहलाई पराजित गरेर आफ्नो वशमा राखेका थिए । रावणले सबै ग्रहलाई चेतावनी दिँदै भनेका थिए– ‘जब मेरो पुत्रको जन्म हुन्छ, तब तिमीहरु सबै ११औं स्थानमा बस्नु ।’

शनिदेवले बुझिसकेका थिए कि मेघनाथको जन्मको समय ग्रहहरुको यही शुभयोग भए मेघनाथ पनि रावण जस्तै अजरअमर योद्धा बन्ने छ । देवताहरूले उसलाई हराउन असम्भव हुनेछ । त्यसैले शनिदेवले रावणको कुरा नमान्ने निर्णय गरे । मेघनाथको जन्म हुने दिन सबै ग्रहहरु ११औं स्थानमा गएर बसे, तर शनिदेव १२औं स्थानमा गएर बसे । शनिदेवको यो व्यवहार देखेर रावण क्रोधित भए । उनले शनिदेवसँग भयानक युद्ध गरे । युद्धमा शनिदेवलाई पराजित गरेर उनको खुट्टा भाँचिदिए । मेघनाथको जन्मको समयमन शनिदेव १२औ स्थानमा भए पनि अन्य ग्रहहरु रावणको डरले ११औं स्थानमै बसिरहे । नक्षत्रको यो शुभयोगको असर मेघनाथको व्यक्तित्वमा पर्न गयो । उनी रावण भन्दा पनि अधिक मायावी शक्तिशाली भए ।

भनिन्छ, मेघनाथको जन्म हुँदा उनले मेघको समान वर्षात गरेका थिए । त्यसैले तिनको नाम मेघनाथ राखिएको हो । मेघनाथ सानैदेखि उग्र स्वाभिमानी र महत्वाकांक्षी थिए । उनी हरेक प्रकारको विद्यामा निपूर्ण बन्न चाहन्थे । असुरहरुको गुरु शुक्राचार्य मेघनाथको गुरु थिए । शुक्राचार्यले नै मेघनाथलाई सबै प्रकारको विद्या सिकाएका थिए ।
१२ वर्षको आयुमै मेघनाथ हरेक प्रकारको शिद्धी शक्तिहरु र मायावी विद्यामा पारंगत भएका थिए । समयसँगै उनले अनेकौ युद्ध विद्याहरु सिके । अनेकौ दिव्यास्त्र प्राप्त गरे । यसरी मेघनाथ एक अत्ति विनाशकारी योद्धाको रुपमा निस्किए । तर उनी यतिले मात्र सन्तुष्ट भएनन्, उनले अनुस्ठानद्वारा महादेवलाई प्रसन्न गरे र बरदानस्वरुप अनेकौं घातक अस्त्र प्राप्त गरे ।

भनिन्छ भ्रमास्त्र, व्यस्णवस्त्र तथा पशुपथ अस्त्रको ज्ञान भएको मेघनाथ एकमात्र योद्धा थिए । मेघनाथसँग तामसिनामक एउटा ठूलो मायावी रथ थियो । जो उनको इच्छाअनुसार जहाँ पनि जुनै पनि गतिमा जान सक्थ्यो । देवअसुर संग्रामको समयमा रावणले असुरहरुको साथ दिँदै अनेकौं देवतालाई पराजित गरेका थिए । यो युद्धमा रावणले देवताहरुलाई मात्र हैन, उनीहरुलाई बन्दी बनाएर लंकाको कारागारमा हालेका थिए ।

एकदिन मौका पाएर सबै देवताहरु रावणको कैदबाट मुक्त भए । उनीहरुले सुतिरहेको रावणलाई बन्दी बनाएर देवलोक लाग्दै गर्दा मेघनाथ मायावी तरिकाले प्रकट भए र उनले एक्लै सबै देवतालाई परास्त गरे अनि आफ्नो पितालाई मुक्त गराए । यस युद्धमा मेघनाथले इन्द्रदेवलाई समेत बन्दी बनाएका थिए । रावण र मेघनाथ इन्द्रदेवको बलि दिन चाहन्थे । त्यसैक्षण त्यहाँ ब्रम्हदेव प्रकट भए र उनले इन्द्रदेवलाई मेघनाथबाट बचाए । मेघनाथले ब्रम्हदेवको कुरा माने र मेघनाथबाट प्रशन्न भएर ब्रम्हदेवले मेघनाथलाई इन्द्रजितको उपाधि दिए ।

मेघनाथले ब्रम्हदेवसँग अमरथको बरदान माग्नु चाहन्थे, तर ब्रम्हदेवले उसलाई अमरथ नदिएर तान्त्रिक यज्ञको बरदान दिए । जुन यज्ञ गरेर उसलाई कुनै पनि युद्धमा कसैले पनि हराउन भने सक्दैनथे । यसरी अनेकौं सिद्धिहरुबाट युक्त मेघनाथलाई हराउन असम्भव थियो । मेघनाथले इन्द्र आदि देवताहरुलाई मात्र हैन, उनले राम रावण युद्धको समयमा पनि अनेकौ योद्धाहरुलाई पराजित गरेका थिए । मेघनाथले ब्रम्हास्त्र प्रयोग गरेर भगवान हनुमानलाई बन्दी मात्र बनाएनन्, उनले त नागपासको माध्यमबाट राम र लक्षमणलाई गहन निन्द्रामा सुताएका थिए । यी सबैको बावजुद मेघनाथको अन्त्य लक्ष्मणको हातबाट भयो ।

बरदान दिने बेला महादेवले मेघनाथलाई भनेका थिए, ‘त्यो योद्धाले मात्र माथ दिन सक्छ, जसले १० वर्ष अधिक कठोर ब्रम्हचार्यको पालन गरेको छ ।’ यही कारणले गर्दा लक्ष्मण मेघनाथलाई मार्न सफल भए । लक्ष्मणले युद्धभन्दा पहिले नै मेघनाथको सबै तान्त्रिक यज्ञ पनि भंग गरेका थिए । यसप्रकार लक्ष्मणले महादेव र ब्रम्हदेवको बरदानको पालना गर्दै आफ्नो शक्तिले मेघनाथको बध गरिदिए । लक्ष्मण स्वयं शेषनागको अवतार थिए । एकदमै कुशल धनुर्धर थिए । लक्ष्मण पनि हरेक युद्ध विद्यामा पारंगत थिए । उनलाई मेघनाथको समान अनेकौ दिव्यास्त्रको ज्ञान थियो ।

लक्ष्मण धेरै वर्षसम्म ब्रम्हचारी बन्नु नै मेघनाथको मृत्यृको मुख्य कारण बन्यो । त्यसैले लक्ष्मणबाहेक अरु कुनै पनि योद्धा मेघनाथलाई हराउन सक्षम थिएनन् ।
रावणको अन्य नातागोता जस्तै मेघनाथले आफ्ना पितालाई सत्यतथ्यको अवगत गराएका थिए । किन्तु अभिमानी रावणले मेघनाथको कुरा भने मानेनन् र यसरी उसको कुलको विनाश भयो ।

टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।

साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको तयारी पूरा

काठमाडौं, १५ पुस । काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस  २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रु लगायत बन्दोबस्तीका सामानसहित स्वयंसेवकहरू परिचालित गर्ने बताएका छन् ।

साँखु शालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक  गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि शालीनदी  परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिले अपेक्षा लिएको छ । शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ

रुपन्देही – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् ।कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो ।

भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।

कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए ।

संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

बिहीबार अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।

प्याब्सनका प्रतिनिधि भन्छन्- सरकारको सौतेनी व्यवहारविरुद्ध लडदै छौं

महोत्तरी – निजी तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेस प्रदेशको भेला बर्दिबासमा सुरू भएकाे छ । प्याब्सनअन्तर्गत रहेका मधेस प्रदेशका निजी विद्यालयलाई कसरी थप व्यवस्थित र गुणस्तरीय बनाउने भन्ने बिषयमा बिहीबारदेखि बर्दिवासमा भेला सुरू भएकाे हो । भेला शनिबारसम्म चल्ने प्याब्सनका केन्द्रीय सदस्य दिपक रायमाझीले जानकारी दिए ।

मधेस प्रदेशमा प्याब्सनअन्तर्गतका ७११ वटा निजी विद्यालय छन । यी विद्यालयमा एक लाख विद्यार्थी अध्ययन गरिरहेका छन्र भने तीन हजार शिक्षकहरुले प्रत्यक्ष रोजगार पाएका छन्। झण्डै तीन सय कर्मचारीसमेत कार्यरत रहेका यी विद्यालयमा गुणस्तरीयतालाई थप गतिशील बनाउने अभियानअन्तर्गत भेला बसिरहेको प्याब्सन मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।

शिक्षकहरूको समेत वृत्तिविकासलाई ध्यानमा राख्दै नेतृत्व विकास तालिमसमेत दिइएको छ । भेलाले नयाँ कार्यायोजना बनाएर तिनै तहका सरकारलाई ध्यानाकर्षण गराउने भएकाे छ ।

निजी र सामुदायिक विद्यालयबीच सौतेनी व्यवहार भइरहेको बताउदै अर्का केन्द्रीय सदस्य नरेन्द्र शर्माले यही विषयमा अदालतमा मुद्दा समेत लडिरहेको वताए । उनले भने, ‘हाम्रा विद्यार्थीहरुले सरकारी छात्रवृत्ति नपाउने र सरकारी विद्यालय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु वास्तवमै भेदभाव र सौतेनी व्यवहार भइरहेको छ,’ उनले भने । प्रदेशको समस्या पहिचान गरी भेलावाटै गहन बहस र छलफल गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।

सरुवा बढुवाका लागि नेताहरूको घरघरमा नजान गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौं, १५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् । उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् ।

‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’

कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिए ।

कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई  निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् ।

नेपाल टी-२० : काठमाडौंलाई हराउँदै लुम्बिनीको लगातार पाँचौं जित

काठमाडौं, १५ पुस । काठमाडौं नाइट्सलाई हराउँदै लुम्बिनी अलस्टार्सले हराउँदै पाँचौं जित निकालेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी– २० खेलअन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो । यो जितसँगै लुम्बिनीले जारी लिगमा लगातार पाँचौं जित निकालेको हो ।

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेर पराजयको सामना गरेको हो ।
काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे ।

लुम्बिनीको जितमा उत्कृष्ट बलिङ गर्दै हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल शाह १३ हर्मितसिंहले १२ जोड्दा  सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

मानव तस्करीमा संलग्न सूर्य कर्पोरेसनसँग दुबईमा अवार्ड गर्ने चलचित्र विकास बोर्डकाे सम्झौता

काठमाडौँ, १५ पुस- चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’का लागि बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ । बिहीवार बोर्डले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सिईओ बासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १–३ गते) सम्म यो कार्यक्रमको आयोजना हुँदैछ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो । यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।

तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारहरुको विभिन्न प्रस्तुतिहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मिङ डेष्टिनेशन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ ।

बोर्डका अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आफैंमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे ।

सूर्य नेपाल विवादास्पद कम्पनी हो । यसले विभिन्न अवार्ड कार्यक्रमका नाममा विदेशमा मानव तस्करी गर्दै आएको छ । केही समयअघि आन्तरिक राजस्व कार्यालयले सूर्य कर्पोरेसनको कार्यालयमा छापा मारेको थियो । कलाकार बनाएर धेरै मानिसलाई यसका सञ्चालक लामिछानेले विदेश पठाउँदै आएको चलचित्रकर्मीहरु बताउँछन् ।

सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नाै सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख नाै सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

कास्की, १५ पुस-देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।

शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।
त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ ।महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।”

विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ ।

पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।”

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।रासस

नेपाल इन्जिनियरिङ कलेजमा हावाबाट बिजुली

भक्तपुर । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हावाबाट बिजुली निकालिने भएको छ । जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले उपलब्ध गराएको उपकरणहरुको प्रयोग गरी यहाँं बिजुली निकाल्न लागिएको हो । यसका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू कलेजलाई हस्तान्तरण गरिएको छ । ‘यी सामानहरूको जडान गरी एक दुई दिनबाट नै बिजुली उत्पादन गर्नेछौं, कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले भने, ‘अहिलेलाई डेमोको रुपमा मात्रै यो गर्न खोजेका हौं ।’

कार्यक्रममा जेइएसएका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई आवश्यक सम्पूर्ण सामाग्रीहरु हस्तान्तरण गरे । कलेज भवनको छतमा यो प्रविधि जडान गर्न खोजिएको हो । कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई प्रेरणा दिई उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजको भबनमा र कलेजसँंग सम्वन्वय गरी यो कार्य गरिएको कार्यक्रममा जनाइयो । साथै विद्यार्थीलाई पनि यस प्रविधिकोबारेमा जानकारी गराई थप अनुसन्धानमा सहयोग गराउने उद्देश्यका साथ यसो गरिएको कार्यक्रममा जनाइयो ।

यसका लागि संस्था र कलेजबीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्रा डा हरिकृष्ण श्रेष्ठ र जापानको जेइएसए संस्थाका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले हस्ताक्षर गरेका छन् ।

उपलब्ध सामानहरू जोडेर केही दिनभित्रै विजुली निकालिने कलेजले जनाएको छ । यस अनुसन्धानबारे विद्यार्थीलाई पनि कक्षामा अभ्यास गराइने कलेजले जनाएको छ ।

जनाइए अनुसार कलेज भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिनेछ । त्यसपछि त्यसको बेगबाट बिजुली स्टोर हुनेछ । त्यही स्टोर भएको विजुलीबाट आवश्यकताअनुसार बिजुलीको प्रयोग गरिने छ । जनाइअनुसार यसबाट पाँंच सय वाटको बिजुली उत्पादन हुनेछ ।

जापानका लागि नेपाली फ्रेण्डशिप एम्बेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो । हावाबाट पनि विजुली उत्पादन सम्भब छ र यसै प्रविधिबाट नेपालमा पनि विजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा गर्न खोजिएको जनाइएको छ ।

नेपालका विभिन्न ठाउँंहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि वढाउन यसो गरिएको जनाइएको छ ।

नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा बिजुली उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न नसकिएको जनाइएको छ ।

हावाबाट बिजुली निकाल्नका लागि सम्भाव्यता अध्ययन गर्नेे विश्वको सबैभन्दा प्रचलित मोडेल मेसो स्केल मोडेल हो । यसअन्तर्गत भूउपग्रहमार्फत् १० वर्षको तथ्यांक लिएर विश्लेषण गर्ने प्रचलन छ । उक्त तथ्यांकलाई प्राविधिक रुपमा पुष्टि गर्न दुई वर्ष परीक्षण गर्नुपर्छ ।

कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा

विराटनगर, १५ पुस । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८  मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी  केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए ।  सिटौला समुह भनिएका थापालाई देउवा समुहले  समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्व बाट थापालाईनै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन्

संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की  यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।

आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको वान टू वान वार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भइरहेको छ ।

सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । दुई घण्टादेखि चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । शुक्रबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७८ पैसा तोकिएको छ । अघिल्लो दिनको यसको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर ६९ पैसाले लोरालो लागी यसको खरिदमूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २६ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५२ रुपैयाँ १८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

आदिवासीको भूमि गण्डकीमा सांसदले लिएनन् मातृभाषामा शपथ

पोखरा – गण्डकीका ६० मध्ये ३ सांसदले मातृभाषामा शपथ लिएका छन् । गण्डकीलाई गुरुङ जातिको उद्गम थलोका रुपमा लिने गरिन्छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी समानुपातिक क्लष्टरमा आदिवासी जनजाति पर्छन् । ४२.३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिबाट प्रतिनिधित्व हुन्छ । यहाँ खसआर्यको ३७.२४ प्रतिशत मात्रै प्रतिनिधित्व छ । गण्डकीमा आदिवासी जनजातिबाट २३ जना सांसद निर्वाचित भएका छन् ।

तिमध्ये अधिकांशले नेपाली भाषामै शपथ लिए । ३ जना सांसदले मात्रै आफ्नो मातृभाषामा शपथ लिएका छन् । कास्कीकी सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मात्रै आफ्नो मातृ भाषामा शपथ लिएका हुन् । उनीहरु आफ्नै जातिको पहिरनमा सजिएर संसद छिरेका थिए । अरु सांसदहरू मातृ पहिरनमा सजिए पनि शपथ भने नेपाली भाषामा लिए ।

मातृभाषामा शपथ लिने मध्ये सरस्वती र पार्वती नेपाली कांग्रेसका हुन् भने पञ्चराम राप्रपाका हुन् । जातीय एकता देखाउनकै लागि आफुले मातृभाषामा शपथ लिएको सांसद सरस्वती गुरुङले बताइन् । ‘यो एकताको प्रतिक हो । सबै जातजातिका व्यक्तिहरुको फूलबारी हो गण्डकी भन्ने सन्देश गएको छ,’ उनले भनिन् । मातृभाषामा शपथ लिने तीनै जना समानुपातिक सांसद हुन् ।

लुम्बिनी प्रदेशसभाले बनायो ७२ कानुन

बुटवल – लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् ।

जिल्ला समन्वय समिति दाङले आयोजना गरेको स्थानीय पालिकाको समन्वय बैठकलाईं सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशले बनाएका कानुन पालना गर्नु सबै प्रदेशबासीको कर्तव्य भएको पनि बताए ।

उनले स्थायी राजधानी कार्यान्वयनमा आफूले प्रदेशबासीलाई न्याय गरेको दावी पनि गरे । ‘नेपालको संविधानले एक पटकमात्रै प्रदेशको नाम र राजधानीको विषयमा निर्णय गर्ने अधिकार दिएको छ, हामीले प्रदेशबासीको समग्र हितका लागि एक पटक निर्णय गरेर कार्यान्वयनका लागि स्थायी मुकामबाट कार्य सञ्चालन गरिसकेका छौं,’ केसीले भने ।

नेपालको संघीय व्यवस्थालाई मजवुत बनाउनको लागि प्रदेशको संरचना बलियोका साथसाथै अधिकारसम्पन्न र कार्यकारी बनाउनु पर्ने उनले बताए ।  उनले स्थानीय तह पनि स्वायत्त सरकार भएकोले नदीजन्य पदार्थ उत्खनन् गरी स्थानीय तहको विकासका लागि राजश्व लिई अगाडि बढाउनको लागि आग्रह गरे । उनले नगर प्रहरी गठन गरी आफैले चोरी निकासीलाई नियन्त्रण गर्नुपर्ने बताए ।

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

सुर्खेत – मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ । असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो  ।

सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए ।

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ। स्थानीय रामकृष्ण भामले स्थानीय उत्पादन कोदो, सिमी, फापर र धान जिल्लाबाहिरका व्यापारी आएर किनबेच हुन थालेको बताए ।

सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढङ्गासमेत बिक्री बढेको छ। स्थानीयस्तरमा विकास–निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहजता भएको छायानाथ रारा पालिका–६ का स्थानीय  कुल कुलालले बताए ।

गमगढी–बालै सडक खुलाउन करिब एक हप्ता लागेको थियो। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको उनको भनाइ छ।

ल्होसार सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्व : प्रधानमन्त्री

काठमाडौँ, १५ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताउनुभएको छ ।

उहाँले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिनुभएको छ । ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । रासस

फागुन १ देखि सर्वोच्च प्रधानन्यायाधीशविही

काठमाडौं । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ छ ।

कायममुकायमले अदालतको नेतृत्व लिइरहेका छन् । जबरापछि तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र अहिले न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी पाएका छन् ।
निर्वाचन सम्पन्न भए पनि प्रधानन्यायाधीशको सिफारिस, संसद् अधिवेशनको प्रारम्भ, नियमावलीको तर्जुमा, सुनुवाइ समिति गठनलगायतका प्रक्रिया पूरा नहुँदासम्म सर्वोच्चले प्रधानन्यायाधीश पाउने अवस्था छैन । सर्वोच्च अदालत मात्र होइन, मातहतका उच्च अदालत पनि कायम मुकायमकै भरमा छन् ।

सात उच्चअदालत मध्ये छ उच्च अदालतमा कायममुकायम मुख्य न्यायाधीशले नेतृत्व गरिरहेका छन् । उच्च अदालत दिपायलबाहेक अन्य उच्चअदालत कायममुकायमको भरमा नै छन् । दिपायलमा भने नृपध्वज निरौला मुख्य न्यायाधीश छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएकी छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बिच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएको छु,’ उनले भनेकी छन् ।

उनले तमु ल्होसार पर्वले आपसी विश्‍वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेकी छन् ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी‚ कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

धनगढी – सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

प्रभु साहले किन खोले पार्टी ?

काठमाडौं । नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ।‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्।

स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ।

राजनीतिमा संगठित शक्तिले महत्व राख्छ। त्यसै कडिको रूपमा यसलाई लिन सकिन्छ।’ मंसिर ४ को चुनावमा एमाले छोड्दै साह समूहबाट केहीले प्रतिनिधिसभा र प्रदेश सभामा विजयी भएका छन्।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

घरजग्गा कारोबार बढ्न थाल्यो

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो ।

सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्नेगरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो ।राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा मन्दी छाएको थियो । यद्यपि, मंसिरमा कारोबार बढेको देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेखन विभागका अनुसार मंसिरमा मात्रै कुल ८९ हजार २ सय ४६ घरजग्गा कारोबार भएको छ । कारोबार र जग्गा कित्ताकाट संख्या पनि बढेको छ । मंसिरमा ३० हजारभन्दा बढी जग्गा कित्ताकाट भएको छ ।

विभागका अनुसार गत कात्तिकमा ७६ हजार ५ सय ६२ र असोजमा ७४ हजार ८ सय ५० वटा घरजग्गा कारोबार भएको थियो ।जग्गा वर्गीकरण सकिन थालेसँगै प्रत्येक महिना कारोबार बढेको हो । गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएकोमा मंसिरमा भने बाँके नेपालगन्जमा भएको छ ।

गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको थियो । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा भएको थियो ।अहिले इनरुवालाई उछिन्दै नेपालगन्जमा ४ हजार १ सय ७८ वटा कारोबार भएको छ । सो मालपोत कार्यालयबाट १ हजार ३ सय ८२ लिखत पारित भएको थियो ।यो खबर आजको राजधानी दैनिकमा छ ।

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं – विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए   पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा पनि

काठमाडौं – गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।सरकारले तमु ल्होसारकाे अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं – आजको पात्रो : १५ पुस २०७९, शुक्रबार । डिसेम्बर ३० तारिक २०२२ । पौषशुक्ल पक्ष अष्टमी, अष्टमीव्रत गोरखकाली पूजा र तमुल्होसार परेको छ । आज सरकारले सार्वजनिक विदा समेत दिने घोषणा गरेको छ ।

उत्तरभाद्रपदा नक्षत्र, वरीयान योग, विष्टि करण, चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५५ र सूर्यास्त ५ः१८ मा हुनेछ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् ।  शुक्रबार विदेश यात्राका लागि शुभ मानिन्छ । नयाँ बस्त्र र आभूषण खरिदका लागि शुक्रबारको दिन शुभ मानिन्छ । आर्थिक लगानीका लागि शुक्रबारको दिन शुभ मानिदैन । लेख, अनुसन्धानको कामको लागि आज उपयुक्त मानिन्छ । शुक्रबारको दिन शुक्रायः नमः मन्त्रको एकसय आठ पटक जप गर्दा मनमा शान्ति प्राप्त हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
तपाईको सोच अनुसार काम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन तपाईको शुभ छ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला। कसैसँग विवाद हुने काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको धनराशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन मानसम्मान मिल्ने योग रहेको छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालयको दर्शन गर्नुभयो भने मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ ।

बर्दियामा लागूऔषधसहित एक पक्राउ

बर्दिया – सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका—२ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर—२ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।

थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ ।

नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

धनगढी – नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।

गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं – गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन – अर्थमन्त्री पौडेल

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको बताए ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा चेम्बरले पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए ।यस्तै अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे ।

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

बेंसीसहर – लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् ।घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न निर्वाचन, ३ जनाबीच प्रतिस्पर्धा

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन् ।

दलको नेतामा आकाङ्क्षी देखिएका भीम प्रसाद पराजुलीले थापालाई समर्थन गरेका हुन् । थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन् ।

संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिता कुमारी गुरुङ रहेकी छन् ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन् । उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन् ।

सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिए । उनले सहमति जुट्न नसके शुक्रबार बिहान ९ बजे मतदान हुने जानकारी दिए । कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउने छन् ।

लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै

सुर्खेत – कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको संख्य बढेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए ।

उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८४ ग्राम ब्राउन सुगर, ३६ किलो चरेश, ४० किलो गाँजा, पाँच सय ६९ वटा नाइट्रोभेट ट्याब्लेट, एक हजार एक सय ११ ट्रमाडोल र दुई सय ५३ वटा नाइट्राजेपाम बरामद गरिएको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७८/०७९ मा ब्राउन सुगर एक सय १० ग्राम, चरेश एक केजी सात सय ९३ ग्राम, अफिम एक केजी आठ सय ग्राम, गाँजा नौ सय २८ ग्राम र ट्याब्लेट एक हजार आठ सय ७४ वटा बरामद गरिएको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७७/०७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए भने ९४ जना पक्राउ परेका थिए ।

यो संख्या पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ६९ वटा मुद्दा दर्ता भएकोमा एक सय १८ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा यहाँ लागूऔषधसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जना पक्राउ परेका छन् ।

लागूऔषध कारोबार र सेवनमा १५ देखि २२ वर्ष उमेर समूहका बढी पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । नेपाल–भारत सीमा रुपैडिया नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको छ ।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, १४ पुस -सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुछ लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । नाबालिका बलात्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जिकीर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।