`

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौैं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

सोमबार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

अंग्रेजी वर्ष सन् २०२३ सुरु

काठमाडौं – आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।पर्यटकको  भीड भाड हुने नेपालको राजधानी  काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू  इयर  इभ ’ का नाममा यो संवत् मनाइन्छ ।

धादिङमा दुई माइक्रो बस ठोक्किँदा २२ जना घाइते

धादिङ – धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्रो बस ठोक्किँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा३ख ६१६४ नम्बरको माइक्राेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

धारामै हिउँ जम्न थाल्यो

सुर्खेत – हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ ।

बाल्टिनलगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानीसमेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताइन् । दिउँसो घाम लागेपछि मात्रै जमेको हिउँ पग्लिने गरेको छ ।

यस्तै उत्तरी चीनको सीमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन् ।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए भने सशस्त्र प्रहरी मात्रै सीमा सुरक्षामा रहँदै आएका छन् । मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरीचौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन् ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक : छान्न सकेन दलको नेता

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोटका लागि आज बिहानदेखि बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताका लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेकोमा अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्जसमेत रहेका भट्टलाई समर्थन गरेका छन् ।

भाटले भने दलको नेतामा आफ्नो अडान कायमै राखेका छन् । आज छनोट हुन नसकेपछि भोलि बस्ने बैठकले दलको नेता छनोट गर्ने बताइएको छ ।

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

काठमाडौं – विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

काठमाडौं – डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् ।

थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । ‘अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव उच्च छ । प्रकृति, जीवन र जागरणसँग कविता निकै नजिक छन् । कविले जीवनमा जे देखेका त्यसलाई नजिकबाट लेखेका छन्,’ उनले भने । कविता जीवन र दर्शनसँग निकै नजिक रहेको श्रेष्ठ बताउँछन् ।

उनले पछिल्लो समय कवि, साहित्यकारहरूले सिर्जनामा आदर्शका कुरा गर्ने गरेको भए पनि व्यवहारिक जीवनमा त्यो लागू नगर्ने गरेको गुनासो गरे । तर, डा. अमृतले भने जीवनमा पनि आदर्शलाई अंकालेको आफूले पाएको श्रेष्ठको भनाइ छ ।

अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै डा. चिन्तामणिनाथ योगीले आफ्नो विद्यार्थीलाई बहुआयामीक व्यक्तित्वका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘म आफ्नो विद्यार्थीले लेखेको कविताका बारेमा धेरै विमर्श गर्न सक्दिनँ। किनकि मैले उनका कविता पढ्दा केवल कोमलता र सरलता पाउँछु। उच्च मानवीय पक्षा र नैतिकता पाउँछु,’ उनले भने ।

यस्तै भरतबहादुर थापाले अमृतका कविता निकै उत्कृष्ठ भएको बताए । उनले कविले आफ्नै बाल्यकालीन अनुभव, अनुभूति र श्रद्धामा टेकेर कविता कोरेको बताए ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् । उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।

रोनाल्डो कीर्तिमानी मूल्यमा साउदी क्लबमा अनुबन्ध

काठमाडौं – क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए ।

सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् । नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा अनुभव बाढ्न उत्सुक रहेको बताएका छन् ।

‘युरोपिनय फुटबल जित्नबाट टाढा रहेको छु । यो निर्णय नै ठिक छ । मेरो अनुभव एसियामा बाढ्नेछु,’ रोनाल्डोले भनेका छन् ।

अल नासेर नौं पटक साउदी प्रो लिग च्याम्पियन भएको छ । साउदीले यो ऐतिहासिक सम्झौता भनेको छ । यो सिजनको सुरुवातमा रोनाल्डोलाई साउदी अर्काे क्लब अल हिलालले तीन सय पाँच मिलियन पाउन्डमा लिने बताएको थियो ।

रोनाल्डोले युनाइटेडमा तीन सय ४६ खेल खेल्दा एक सय ४५ गोलगरेका छन् । युभेन्ट्स जोडेपछि सन् २०२१ अगस्टमा रोनाल्डो युनाइटेड आएका थिए । ११वर्ष अघि रोनाल्डो युनाइटेड छाड्दै रियल मड्रिड पुगेका थिए ।

कैलालीमा हाइस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

धनगढी – कैलालीको गौरीगंगामा बिहान १०:२० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७३ वर्षीय कर्मा प्याकुरेल रहेकी छन् । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

घाइते मध्ये पदमा अस्पताल अत्तरियामा उपचाररत २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाइस दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा, उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, मोहन डगौरा र जानकी डगौराको छोरा ६/७ वर्षीय समेत घाइते छन् ।

त्यस्तै टिकापुर नगरपालिका–१ का ४० वर्षीया कृष्णी चौधरी, सोही स्थानकी २० वर्षीया पुजा चौधरी, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अन्जली चौधरी, टिकापुर नगरपालिका–१ की कृष्णी चौधरीको छोरा प्रिन्स चौधरी, बर्दिया गोरुवा–५ का ४४ वर्षीय रामबहादुर खडायतको कम्मर र मुखमा चोट लागेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर, बर्दियाकी ४२ वर्षीया मनुकुमारी चौलागाई रहेका छन् ।

त्यस्तै जानकी गाउँपालिका–४ का ५६ वर्षीय मन्तराम कठरिया, कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्र गुरुङ, जानकी गाउँपालिका–४ की ३२ वर्षीया अञ्जली रावत, ३७ वर्षीय रामबिलास रावतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भतरबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन् ।

मनोजको साथबाट १.०२ ग्राम र सुरजबाट २.७७ ग्राम खैरो हिरोइनसहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मधेस प्रदेश जनमतको संसदीय दलको नेतामा यादव

जनकपुरधाम – जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् ।

जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ – तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्‍याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो ।बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप हुँदैन – महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरिने बताएका छन् । शनिवार महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

उनीहरुले पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने बताए । विज्ञप्तिमा उनीहरुले कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ “नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन”

उनीहरुले कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने बताएका छन् ।

निशिका र रोहनलाई ‘मोडल अफ इरा’ उपाधि

काठमाडौं – कृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् ।

होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै दुवैले २५ हजार रुपैयाँ, अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा अस्मिता मगर र सिद्धान्तराज शाह ‘फस्ट रनर अप’ तथा शिला नेपाली र रोहित शाह ‘सेकेण्ड रनरअप’ भए । प्रतियोगितामा रोहन थापा मगर र जश्मिन कलवार ‘मस्ट पपुलर’, राजा अन्सारी र अस्मिता बुढाथोकी मगर ‘बेष्टवाक’, सिद्धान्तराज शाह ‘बेस्ट फिजिक’, स्रिज्मा केसी ‘बेस्ट फिगर’, डेभिल थापा मगर र समृद्धि रेग्मी ‘बेस्ट पर्सनालिटी’, रवी शाह र निशिका श्रेष्ठ ‘मस्ट कन्फिडेन्ट’, रोहन थापा मगर र शीला नेपाली ‘मस्ट फोटोजेनिक’, रोहित शाह र अप्रिस्का सेढाइ ‘मस्ट ट्यालेन्टेड’, रोहन थापा मगर र छोटी शेर्पा ‘भ्यूवर च्वाइस’ तथा नमोजी  गुप्ता र अञ्जना बुढा ‘बेस्ट स्माइल’ बने ।

प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडल तथा अभिनेता मनिष राउत र मोडल तथा कलाकार मारिया कार्की  थिए ।

कम्बोडियाली क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

पोइपेट, कम्बोडिया, १६ पुसकम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ ।

थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताउनुभयो ।

आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उहाँले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।”

होटल–क्यासिनोको जटिल लेआउट र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उहाँले बताउनुभयो । कम्बोडियाका आपतकालीन टोलीले शुक्रबार साँझ रात परेपछि आफ्नो उद्धार प्रयास अन्त्य गरिएको बताउँदै किमले भन्नुभयो, “टोलीले परिसरको सबै भागमा खोजी गरेको थियो ।”

आफ्नो उपनाम मात्र दिएका ४२ वर्षीय थाई क्यासिनो कामदार नेउङले दुई महिलालाई भाग्न सहयोग गरेपछि होटलको कोठामा आफ्नो बुबाको मृत्यु भएको बताए । उहाँले भन्नुभयो, “उनीहरूलाई सहयोग गर्न उहाँले धेरै ऊर्जा प्रयोग गर्नुभयो तर आफु भने धुवाँले निस्सासिएर बित्नुभयो ।

उहाँले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “अब म उहाँको शवको प्रतीक्षामा मात्र रहेको छु । घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए । थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए ।

थाइल्याण्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । कम्बोडियाली अधिकारीहरूले होटल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् । (रासस÷एएफपी)

ऋतिकलाई ‘विक्रम बेधा’को पछुतो

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।

‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो । यो असफल हुँदा यसले मभित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् । यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन् ।’

फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए । ‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् । महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो ।

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

सिउल, १६ पुस-उत्तर कोरियाले शनिबार कम्तिमा एउटा “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् । प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग¥यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने । उक्त मिसाइल जापनी सागरमा खसेको बताइएको छ । कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ ।किमले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । किनभने उनको सत्तारुढ वर्कर्स पार्टी बैठकले वर्षको अन्त्यमा नीति तय गर्छ ।

बेलायतमा चिनिया यात्रुलाई कडाइ, प्रस्थानको दुई दिनअघि गरिएको पीडीटी देखाउनुपर्ने

लन्डन, १६ पुस-बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिन अघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी) देखाउनु पर्नेछ ।

यद्यपि चीनबाट स्कटल्याण्ड, वेल्स वा उत्तरी आयरल्याण्डको लागि कुनै सीधा उडानहरू छैनन्, तर सरकारले यसलाई जतिसक्दो चाँडो बेलायतव्यापी रूपमा लागू गरिएको सुनिश्चित गर्नका लागि विकसित क्षेत्रहरूसँग काम गरिरहेको बताएको छ ।

‘अर्को हप्ता चीनले सिमाना पुनः खोल्ने तयारी गर्दा चीनमा कोभिड १९ मामिलाहरू बढिरहेकाले हामीले तथ्यांकको मूल्याङ्कन गर्दा यी अस्थायी उपायहरूको घोषणा गरेर सन्तुलित र सावधानी अपनाउनुपर्ने हाम्रो लागि उचित छ’, बेलायतका स्वास्थ्यमन्त्री सचिव स्टीभ बार्कलेले भने।

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाँै-पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी वा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

कोरोना फैलिन नदिन जमुनाहा नाकामा परीक्षणमा कडाइ गरियो

राँझा- कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बताउनुभयो । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।

भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ ।

अवैध हतियार राखेको आरोपमा बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

बोत्स्वाना, १६ पुस-बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । अदालतका एक न्यायाधीशले खामालाई पक्राउ गर्न आदेश दिएका हुन् । ६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन् ।

उनले आरोप अस्वीकार गरेका छन। आफूमाथि राजनीतिक षड्यन्त्र भएको उनले बताएका छन् । आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो । उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।

बाइडेन, म्याक्रोन र जर्मन चान्सलर स्कोल्जलाइ नयाँ वर्षको शुभकामना दिने छैनन् पुटिनले

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजेी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो ।  विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् ।

तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूलाई नयाँ वर्षको शुभकामना दिने छैनन् । ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए ।

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई

एजेन्सी – दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ । बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो ।

इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो । ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,“ प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने ।हानले थपे, “चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदैछ।’

चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टाभित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्नेछ । उनीहरूले आफ्नो आगमनको पहिलो दिन भित्र पीसीआर परीक्षण पनि गर्नुपर्नेछ ।

मलेसियामा यो वर्ष नेपालीको ओइरो

काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।

मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् । गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।

विगतमा पनि हावापानीका कारण मध्यपूर्वका मुलुकभन्दा मलेसिया रोजाइमा थियो । मध्यपूर्वका मुलुकमा उच्च गर्मी हुने तर मलेसियाको हावापानी काठमाडौं उपत्यकाको जस्तै भएकाले धेरैको रोजाइमा मलेसिया पर्ने गरेको थियो । तर, यो वर्ष मलेसियामा नेपालीको ओइरो लाग्ने कारण भने भिन्दै छ । मलेसियाले एकै वर्षमा लगभग २५ प्रतिशत तलब बढाएको छ ।

विगतमा न्यूनतम तलब १२ सय रिंगेट रहेकामा त्यसलाई बढाएर १५ सय पुर्याइएको हो । यो वृद्धिपछि त्यहाँ काम गर्ने नेपालीको तलब ९ हजार रुपैयाँभन्दा बढीले बढेको छ । अहिले मलेसियामा कार्यरत नेपालीको न्यून्तम पारिश्रमिक मासिक ४५ हजारभन्दा बढी पुगेको छ । मलेसियामा साधारणतयाः दैनिक २ घन्टा अतिरिक्त काम पाइन्छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं – संघीय संसद्का सदस्यले ‘लोगो’ लगाउन पाउँछन् । ‘लोगो’ का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय ‘लोगो’ बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय ‘लोगो’ बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका ‘लोगो’ अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै ‘लोगो’ फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं – २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् ।

प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा (माओवादी केन्द्र)को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ ।

हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् । समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ ।

नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् । यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले एक दशमलव ९२ प्रतिशत मत गुमाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

नाइजेरियामा कु
सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिडले विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।

अमेरिकाद्वारा पानामा क्यानल पानामलाई हस्तान्तरण
लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा क्यानललाई सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

सौर्यमन्डलमा दुर्लभ घटना
सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो । सो दिन ब्लू मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ ।

सुकीलाई थप ७ वर्ष जेल सजाय

नेपिद – म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको । नोबेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।

सुकीलाई हेलिकप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो । उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ ।

सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको थियो । सुकी लामो समय देखि घरमा नजरबन्दमा विताएकी छन् ।

पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको छ भने सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।

हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया हिरामाया लोप्चन, ट्रक चालक बाराको निजगढ-९ का २५ वर्षीय सूर्यबहादुर घिमिरे र ट्रकमा सवार अन्दाजी २० वर्षीय युवकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको ट्रक सोही दिशातर्फ जाँदै गरेको  ना२२प ९९७७ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ८ बजे ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

ह्याण्डसम उमेशसँग रोमान्स गर्दै गर्दा भेटीइन् सुन्दरी केकी,खास कुरा यस्तो रहेछ

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ । कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकाश दाहालको सम्पादन, उत्सब दाहालको छायांकन रहेको गीतमा सन्जीब बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

कपिलवस्तु, १५ पुस, बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

शशाङ्कले भने- रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् ।  आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् ।

‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,’ उनले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए । उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

६ वर्षीया बालिका करणी आरोपमा युवक पक्राउ

सोलुखुम्बु, १५ पुस, सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिए ।

बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई श्रीलंकाका राष्ट्रपतिको बधाई

काठमाडौं, १५ पुस, प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोन मार्फत् बधाई दिएका हुन् ।

फोन वार्ताको क्रममा दुई नेताहरूबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाललाई यसअघि भारत र चीनका प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।

कानुन नमान्नेको कथामा ‘द आउट ल’

काठमाडौं, १५ पुस । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो फिल्म निर्माण गर्ने घोषणा गरेको हो । साथै, फिल्मको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।

निर्माता शशांक खड्काले फिल्मको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।

उनले भने, ‘फिल्मको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने फिल्म मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले फिल्मको आउटपुट राम्रो निस्कने विश्वास छ ।’

नविन गुरुङ फिल्मका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो फिल्म आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

भारतबाहिर पठानको आक्रामक बुकिङ

मुम्बई, १५ पुस । सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ । चार वर्षपछि दर्शकमाझ कमव्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्मको गीत रिलिज हुनासाथ विवादमा तानिएको छ । जसको चर्चा अहिले पनि बलिउडमा छ । तर, विवादका बाबजुद पनि यो फिल्म प्रति दर्शकको क्रेज घटेको छैन । यो फिल्मको भारत बाहिर बुकिङ आक्रामक छ ।

जर्मनीमा फिल्मको बुकिङ २८ डिसेम्बरबाट सुरु भएको थिया । एक महिना अघिबाट नै बुकिङ खुलेपछि केही समयमा नै सबै टिकट बिकिसकेको छ । ‘पठान’को टिकट आक्रामक रुपमा बुकिङ भएपछि यो प्रतिक्षित फिल्म हो भन्ने प्रमाणित भएको छ ।

जर्मनीको बर्लिन, एसेन, डेमटोर, हार्बर्ग, हनोवर, म्युनिख र अफेनबैकमा भएका थिएटरमा जनवरी २५ का लागि ‘पठान’को शो करिब करिब भरिएको छ ।

भारतमा जनवरीको पहिलो साताबाट बुकिङ खुल्दैछ । सिद्धार्थ आनन्दको फिल्ममा भीएफएक्स र एक्सनको जबरदस्त संयोजन छ । फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

अश्लील भिडियो पोष्ट गरेर आर्थिक लाभ लिने व्यक्ति पक्राउ

काठमाडौं, १५ पुस । टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी-प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू सामाजिक सञ्जालका विभिन्न च्याटग्रुपहरुमा आर्थिक लाभका लागि प्रसारण गरी महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ, कर्ण र हैदरले लिन पाएनन्

जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ  । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वाेच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो । चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।