`

मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकारलाई सहयाेग गर्छु : वर्षमान पुन

काठमाडाैं, १७ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो । पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्राे तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए ।

चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’

पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध सबैलाई आग्रह गरे । पहिलोपटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटकमै उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका थिए ।

‘धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जाने/नजाने हुँदैन’, पुनले भने, ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’

राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको दाबी उनको थियो ।

उनले विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मोबाइल फोनमा लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारले जनपक्षीय कामको थालनी गरिसकेको बताए ।

फरक प्रसङ्गमा पुनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताए । सरकार र आफ्नो दलले दुई छिमेकी भारत र चीन तथा अमेरिकासहित सबै मित्र राष्ट्रसँग समानता र सहअस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सधैं केन्द्रमा राख्ने उनको भनाइ थियो ।

‘कहिले कता र कहिले कता ढल्किने गर्दा कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुन्छ । हामी कतै ढल्किने भन्दा पनि नेपालतिर ढल्किनुपर्छ’, पुनले भने, ‘छिमेकी र अरु अन्तर्राष्ट्रिय मित्रहरुका जायज र स्वभाविक चासोको सम्बोधन गर्नुपर्छ । सबैसँग सहयोग र सहकार्य गरेर जानुपर्छ भन्ने नै सरकार र हाम्रो दलको परराष्ट्र नीति सञ्चालनको आधार हो ।’

आम जनता पार्टीले तोक्यो मधेश प्रदेशका जिल्ला संयोजक

काठमाडौं, १७ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ । पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् ।

यसैगरी, बारा संयोजकमा उमेश कुश्वाहा, सचिवमा राजकिशोर साह र इन्चार्जमा अशोक लामा छन् । रौतहट संयोजक धर्मेन्द्र पटेल, सचिव पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह तोकिएका छन् ।

सर्लाही संयोजकमा तुल्सीप्रसाद हुमागाईं, सचिवमा नविन साह र इन्चार्ज रिता देवी, महोत्तरी संयोजकमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्याम साह तोकिएका छन् ।

धनुषा संयोजकमा श्रीलाल महासेठ, सचिवमा बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठ, सिरहा संयोजकमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादव र सप्तरी संयोजकमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजादलाई तोकिएको अध्यक्ष साहले जनाए ।

संसद्ले २२ पुसमा बोलायो सर्वदलीय बैठक, यस्तो छ एजेन्डा

काठमाडौं – संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन् ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँचजना स्वतन्त्र सांसद विजयी भ्एका छन् । सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए ।

संसदमा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् ।

चेपे ‘ए’ जलविद्युत् आयोजना निर्माण ठप्प

लमजुङ – लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपेखोलामा निर्माणाधीन ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत् आयोजनाको संरचनामा आगजनीपछि निर्माण कार्य ठप्प छ । आयोजनाका अनुसार २४ मंसिरमा लमजुङको राइनास नगरपालिकाका बासिन्दाले आगजनी गरेपछि काम राेकिएकाे हाे ।

आयाेजनाकाे प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेड अब कसरी अगाडि बढ्ने भन्नेमै अन्योलमा छ । आयोजना सञ्चालन, दोषीलाई कारबाही र क्षतिपूर्ति बारे कुनै प्रक्रिया अघि नबढ्दा निर्माण कार्य सुरु गर्न अलमल भएको हो ।

आयोजनाको कार्यालय परिसरमा रहेका दुई मिनी ट्रक, एउटा एक्स्काभेटर र दुई अस्थायी टहरोमा आगजनी भएकाे थियो । आगजनी र तोडफोडकाे आरोपमा प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेडले राइनास नगर उपप्रमुख पुष्पराज खनाल, राइनासटार सिंचाइ जल उपभोक्ता समूहका अध्यक्ष फणिन्द्रराज चिलुवाल, सचिव हरिप्रसाद चिलुवाल, कोषाध्यक्ष गोविन्दराज न्यौपाने, उपभोक्ता नारायण अधिकारी, इन्जिनियर प्रकाश न्यौपाने, कांग्रेस राइनास नगर सभापति श्रीकृष्ण पौडेल र एमाले राइनास नगर कमिटी सचिव बलराम घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ ।

आठ जनाविरुद्ध मुद्दा चलाएको र यसबारे थप छलफल गर्न आवश्यक रहेको गोरखा प्रहरीका एसपी केदार खनालले बताए । ‘आयोजना खाेल्ने विषयमा प्रवर्द्धक आफ्नै ढंगले अघि बढेको छ । हामी पनि छलफल र समन्वयमै छौं,’ उनले भने, ‘नयाँ सरकार बनेको छ, केही दिनमा ठोस निर्णय आउला ।’ आयोजनाको निर्माण थाल्नेबारे यसअघि बसेका सर्वपक्षीय बैठकबाट निष्कर्ष निस्कन सकेको थिएन । केही राइनासवासीले नियोजित रूपमै आन्दोलन, तोडफोड र आगजनी गरेको प्रवर्द्धक चम्पावतीका अध्यक्ष हरिराम पराजुलीको दाबी छ । ‘त्यसयता आयोजना निर्माण ठप्प छ । अघि बढाउने प्रयास पनि भएको छैन,’ उनले भने ।

गोरखाको सिरानचोक गाउँपालिका-२ कुबिन्डेबेँसीमा निर्माणाधीन आयोजनाले लमजुङको राइनासटार सिँचाइको मुहानभन्दा करिब डेढ सय मिटर तल पानी झार्ने र यसले सिँचाइ आयोजना ठप्प पार्ने भन्दै राइनासवासी आन्दोलित छन् ।

माघ ०७७ देखि आयोजना निर्माण सुरु हुँदा नै सिँचाइको मुहानमाथि पानी झर्ने गरी विद्युत् गृह बनाउन आग्रह गर्दा अटेरी गरिएपछि आन्दोलनमा उत्रनु परेको राइनास–१ बोराङखोलाका गोविन्दराज न्यौपानेले बताए । आयोजनाले सिरानचोक र दूधपोखरी गाउँपालिकालाई प्रभावित क्षेत्रमा समेटे पनि राइनास नगरपालिकालाई भने नसमेटेको उनको गुनासो छ ।

यो सिँचाइ योजनाले अहिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १८ हजार परिवारलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउँदै आएको छ । चम्पावतीले तोडफोड र आगजनीबाट ३३ करोड ४० लाख रुपैयाँ नोक्सान भएको भन्दै दोषीबाट क्षतिपूर्ति भराउन समेत माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड भन्छन्- पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें

पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन् । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन गर्दै उनले भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै पोखराको विमानस्थल निर्माणमा पहल गरेको दावी गरे ।

‘शान्ति सम्झौतामा आएदेखि नै लगातार यो विमानस्थल निर्माणका लागि संवाद गर्दै आएको थिएँ । निर्माणका लागि भएका आन्दोलन र अनसन र त्यसलाई तोड्न भूमिका खेलेको छु । सबैका सपना आज पूरा भएको छ,’ उनले भने, ‘आजको जमानामा आवश्यक पर्ने भनेकै कनेक्टिभिटी हो । हाम्रो लागि हवाई कनेक्टिभिटी प्रमुख विषय हो । यसका लागि मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु । चीन भ्रमणमा जाँदा तत्कालीन महासचिव हु जिन्ताओ र हालका महासचिव सि चिन फिङसँग प्रत्यक्ष कुरा गरेको थिएँ ।’

उनले अब कुरा नगरी काममा लाग्ने दोहोर्याए । ‘मैले अहिले गण्डकी प्रदेशकै प्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको छु । सामाजिक न्याय, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्दता जनाएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन यही कामका लागि व्यतित गर्नेछु । छिट्टै निजगढ विमानस्थल निर्माणको प्रक्रिया थाल्ने विश्वास व्यक्त गर्दछु ।’ उनले चीनतर्फको नाका खोल्न र रेलमार्ग अध्ययन छिटो सक्न चीन सरकारसँग आग्रह पनि गरे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताए । राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने उनले बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।

अयोग्य नोटबाट बनेकाे ब्रिकेट–स्रेडेड बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयाेग्य नोटबाट बनाएकाे ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावकाे आह्वान गरेको छ । चलनचल्तीका लागि अयाेग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकहरूबाट शिलबन्दी निवेदनकाे आह्वान बैंकले गरेकाे हाे ।

बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका  विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट–स्रेडेड टुक्राहरू बिक्री गर्ने जानाएको हो ।

कुल दुई लाख ७५ हजार केजी ब्रिकेट–स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताहरूबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको नेतृत्व लिला गिरीले गर्ने सम्भावना बढ्यो

बुटवल, १७ पुस । लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

महासचिव पोखरेलले यसबारेमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लिला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाललगायतलाई यो विषयमा जानकारी गराएका छन् ।

पार्टीको निर्णय मानेर जाने सबै आकांक्षीले बताइसकेका छन् । एमालेले आइतबारै संसदीय दलको नेता चयन गर्दै छ । गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक : प्रधानमन्त्री दाहाल

पोखरा, १७ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो ।

“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उहाँको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो । “म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । “मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवद्र्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु”, उहाँले भन्नुभयो ।(रासस)
–––

आइतबार १७.२४ अंकले बढ्याे नेप्से परिसूचक, ४ अर्ब अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक १७.२४ अंकले बढेको छ । शुक्रबारको तुलनामा १७.२४ अंकले बढेर २०४६.२४ विन्‍दुमा पुगेको हो ।

पछिल्लो समय नेप्से परिसूचक उकालो लागेसँगै सेयर कारोबार पनि बढ्दै गएको छ । यसदिन २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको छ । पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सिर्जनशील लघुवित्त वित्तीय,खप्तड लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आइतबार सबैभन्दा धेरै कारोबार नविल बैंकको भएको छ जस्को २२ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो । यस्तै नेपाल दूरसंचार कम्पनी १९ करोड बढि मूल्यको कारोबार गरी दोस्रो स्थानमा रहेका छ ।

सुदूरपश्चिम प्रदेशसभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि (सोमबार)का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।

प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

लुम्बिनी प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीमा लिए शपथ

बुटवल – लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेकाे प्रदेशसभा भवनमा  शपथग्रहण कार्यक्रम आयाेजना गरिएकाे थियाे । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएकाे भवनको अधिकांश काम सकिएको छ । अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम चरणमा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन ६ र ७ मेमा

लण्डन, १७ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेकाे पहिलो साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हाे ।

२४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना : चीन

काठमाडौं, १७ पुस । नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् ।

पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना रहेको पनि बताए । चिनिया डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ ।

पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि रहेको भन्दै उनले भने, ‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको  सपना हो । यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताएका उनले  नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यबाहक राजदूत सिनले  परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद तथा उत्कृष्ट योगदानका लागि चिनियाँ र नेपाली इन्जिनियरहरू र प्राविधिककर्मीहरूलाई पनि  धन्यवाद  दिए ।

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

दोलखामा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’ बनाउन चलचित्र विकास बोर्डले थाल्यो छलफल

काठमाडौँ – चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ वर्षअघिदेखि निर्माण प्रक्रिया तालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफलसमेत भएको छ ।

राष्ट्रतिद्वारा प्रस्तुत चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, मन्त्रालयका उपसचिव तथा बोर्डका सदस्य सचिव टंकप्रसाद महतलगायतले फिल्म सिटी रहेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुलगायतसँग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल भएको छ ।

बोर्ड अध्यक्ष केसीले भीमेश्वरमा फिल्म सिटी ल्याउनुपर्छ भन्ने योजना ल्याउने वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरुप्रति आभार व्यक्त गर्दै फिल्म सिटी बन्दा सबैभन्दा खुसी यो देशको कलाकारलाई हुने बताए । ‘फिल्म सिटी बन्दा यो देशका सबै कलाकारहरु सबैभन्दा खुसी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ,’ उनले भने, ‘फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै नै हो यो फिल्म सिटी पनि । चलचित्र विकास बोर्डले मात्र होइन, नेपाल सरकार एकदमै रुचि राखिरहेको छ । चलचित्र मनोरन्जनको माध्यम मात्र नभएर हाम्रो देशको कलासंस्कृतिको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी छिट्टै नेपाली र विदेशी फिल्महरु यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौँ ।”

नगरपालिकाका प्रमुख मानन्धरले सम्पूर्ण दोलखाबासीले अतिमहत्वपूर्ण फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसके पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उनले भने, ‘यो सपना देखेको धेरै वर्ष भइसकेको छ । यो बीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाब्यथाले बताउँछ ।’ राष्ट्रिय योजनाको रुपमा एउटा योजना चलिरहेको क्षेत्रभित्र अर्को मन्त्रालयद्वारा अन्य कामका लागि ठेक्का लगाउने कोिसस गरेको भन्दै मानन्धरले आपत्ति जनाए ।

सहसचिव खत्रीले नेपालको पहिलो फिल्म सिटी दोलखामा बन्दै गरेको दोलखाबासीलाई बधाई दिए । उनले यो ठूलो परियोजना रहेको बताउँदै स्रोत र साधन धेरै चाहिने भएको हुँदा तुरुन्तै कार्यसम्पन्न भइहाल्ने सम्भावना नरहने जिकिर गरे । यसको लागि ‘पब्लिक, प्राइभेट पार्टनरसिप’ को मोडलमा काम अगाडि बढिरहेको बताए ।
बोर्डले केही वर्ष पहिले लगभग दुई हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डिपिआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाइन तान्ने, स्टुडियो भित्रपर्ने झण्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सुचना केन्द्र तथा गेष्ट हाउसका लागि तीनवटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ । ती भवनहरु र प्रवेशद्वार भीमेश्वर नगरपालिका मातहतमा बाग्मती प्रदेश सरकारको लगानीमा तयार हुन लागेका हुन् । केही महिनाभित्र फिल्म सिटी परियोजनालाई नगरपालिकाले भवन हस्तान्तरण गर्नेछ ।

फेसबुकमा कहिले फर्किन्छन ट्रम्प ?

एजेन्सी – फेसबुकको मालिक मेटा इंकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फर्कन अनुमति दिने कि नदिने  भनेर घोषणा गर्ने तयारी गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।

सोसल मिडिया कम्पनीले राष्ट्रपतिलाई फर्कन अनुमति दिने कि नगर्ने भनेर जनवरी ७ सम्ममा निर्णय गर्ने बताएको थियो ।  यद्यपि, त्यो निर्णय अब महिनाको अन्त्यमा घोषणा हुने अपेक्षा गरिएको अखबारले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

मेटाले यस विषयमा ध्यान केन्द्रित गर्न एक कार्य समूह स्थापना गरेको छ । समूहमा सार्वजनिक नीति र सञ्चार टोलीका साथै सामग्री नीति टोलीका कर्मचारीहरू समावेश छन्।
मेटाले टिप्पणीको लागि रायटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।

ट्विटरका नयाँ मालिक इलोन मस्कले गत वर्ष नोभेम्बरमा सोशल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूको मतदानपछि ट्रम्पमाथि स्थायी प्रतिबन्ध खारेज गरेका थिए ।

प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर, १७ पुस । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन् ।

नेपाल टी-२० लिग: काठमाडौंको तेस्रो जित

काठमाडौं – काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो ।

सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपुर सहज जित निकाल्न सफल भयो । यस जितसँगै काठमाडौं पाँच खेलमा  ६ अंक जोडेर तेस्रो स्थान छ । जनकपुक ६ खेलमा आठ अंकका जोडेर दोस्रो स्थानमा यथावत् छ ।

काठमाडौंले प्रस्तुत गरेको एक सय ८१ रनको  लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सवै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । जनकपुरका लागि सराफुद्दिन असरफलले ३१ बलमा तीन छक्का र दुई चौका मद्दतमा सर्वाधिक ३७ रनको योगदान दिए ।

यसैगरी सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  आठौं विकेटका लागि सराफद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । काठमाडौंका लागि अविनाशले चार,अज्मतुल्लाह ओमरजाईले दुई तथा अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  एक सय ८० रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि सुनामले ४७ बलमा समान चार चौका र छक्का मद्दतमा सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी रायनले ४० बलमा चार चौका र तीन छक्का मद्दतमा अविजित ६१ रन बनाउँदा एलेक्स ब्लेकले २० तथा अज्मतुल्लाह ओमार्जाइले १० रन जोडे ।

चौथो विकेटका लागि सुनाम र एलेक्सले ८४ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि जितेन्द्र मुखियाले तीन तथा सराफुद्दिन असरफ र कप्तान ट्रिभोन ग्रिफिथ समान एक विकेट लिए । आइतबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सको सामान गर्नेछ ।

लागुऔषधको हव बन्दै जुम्ला, १८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै

जुम्ला – पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागुऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ,’ उनले भने,  ‘प्रहरीको एकल प्रयासले मात्रै आगुऔषध रोक्न सकिँदैन । यसमा स्थानीय सरकार र यहा राजनीतिक दलहरू पनि लाग्नुपर्ने जरुरी छ ।’

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनीधि र विद्यालयका प्रधानाध्यापकबीच लागुऔषध निर्मूल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावको हेलचेक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागुऔषधको कुलतमा फस्दै जान थालेका हुन्र । जुम्ला प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेकाहरुको उम्मेर  १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन् ।

जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८-७९मा ब्राउनसुगर र चरेस गरी सातवटा मुद्दा दर्ता भएका छन्। चालू आवमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन् । जुम्ला प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उम्मेरका ४४ जना पक्राउ परेका छन् । १८ वर्षभन्दा मुनिका तीनजना छन्। ४० देखि ६० वर्षका २ जना छन् ।

प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  जुम्लाका प्रमुख  जिल्ल अधिकारी मुकेशकुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागुऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागुऔषधको कुलतमा फसेको पाइन्छ ।’

सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले ब्राउनसुगर जस्ता लागुऔाषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुओषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य गर्ने बताए ।

अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर)

काठमाडौं, १७ पुस । काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्‍याली निकालिएको छ ।


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १४ पुस । सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली – नेकपा  माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ७ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७ रुपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ५० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८४ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रि-ओपन सेसनमा नेप्से उकालो

काठमाडौं, १७ पुस । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

भेनेजुएलाका विपक्षीद्वारा समानान्तर सरकार खारेज गर्ने पक्षमा मतदान

एजेन्सी – भेनेजुएलाको विपक्षी दलले आफ्नो समानान्तर सरकार भंग गर्ने र आफ्ना नेता जुआन गुएइदोलाई हटाउने पक्षमा मतदान गरेका छन् । विवादित चुनावमा निकोलस मदुरो पुनः निर्वाचित भएपछि गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेको चार वर्षपछि यो कदम आएको हो । उनलाई अमेरिकासहित धेरै पश्चिमी देशहरूले मान्यता दिए, तर वामपन्थी राष्ट्रपतिलाई हटाउन असफल भए ।

मतदानले भेनेजुएलाका अधिकांश विपक्षी राजनीतिज्ञहरूले गुएडोमाथिको विश्वास गुमाएको देखाउँछ ।नेसनल एसेम्ब्लीमा भएको निर्वाचनमा उनको अन्तरिम सरकारलाई खारेज गर्ने पक्षमा ७२ र विपक्षमा २९ मत परेको थियो ।  सांसदहरूले देशको विदेशी सम्पत्तिहरू नियन्त्रण गर्न आयोग नियुक्त गर्न पनि मतदान गरे । भेनेजुएलामा सन् २०२४ मा चुनाव गर्नुपर्ने तालिका छ । भेनेजुएलाको लामो समयदेखि चलिरहेको राजनीतिक र मानवीय संकटले सन् २०१५ यता करिब ७० लाख मानिसहरूले देश छोडेका छन् ।

इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री दाहालले सो अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् ।

अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

एजेन्सी – टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् ।

यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनु पर्ने हुन्छ । बाइडेनको भर्खरै हस्ताक्षर गरिएको १ दशमलब ७  ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् ।

‘हामी निराश छौं कि कंग्रेसले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने कदम चालेको छ  । प्रशासनलाई यसको राष्ट्रिय सुरक्षा समीक्षाको निष्कर्षमा पुग्न प्रोत्साहित गर्नुको सट्टा यो राजनीतिक इशाराले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन’, टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले भने ।

एनटीआर ३१ मा आमिर भिलेन

एजेन्सी – टलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ । यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन् । तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन् ।

आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन् । फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन् ।

फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ । निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए । जुन चाहना अहिले आएर पुरा गरेको छ ।

आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए । आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए ।

कोभिडबीच नयाँ वर्ष मनाउन चीनको वुहानमा हजारौँको भेला

एजेन्सी – शनिबार राति मध्य वुहानमा हजारौं मानिस भेला भएका थिए जहाँ धेरैले आशा गरेका थिए कि लकडाउनले भरिएको कठिन २०२२ र डिसेम्बरमा कोरोनाभाइरसको नयाँ महामारीपछि धेरै राम्रो वर्ष हुनेछ ।

घडीको सुइले मध्यरातको संकेत गरेपछि तीन वर्षअघि महामारी सुरु भएको केन्द्रीय चिनियाँ सहरमा आफ्ना साथीहरूसँग सेल्फी खिच्नुअघि धेरैले बेलुनहरू आकाशमा उडाए ।

“गत वर्ष कोभिड १९ धेरै गम्भीर थियो र मेरो परिवारका केही सदस्यहरू अस्पतालमा भर्ना भएका छन्’,  मध्यरातमा नयाँ वर्ष स्वागत गर्न वुहान पुगेका वुहान हाई स्कूलका  एक १७ वर्षीय विद्यार्थीले भने ।

उनीलगायत हजारौँ मानिस नयाँ वर्षलाई स्वागत गर्न वुहानको हान्काउ भन्सार गृहमा रहेको पुरानो घडी टावरको अगाडि भेलाभएका थिए ।

विशेष गरी कसिलो रूपमा खचाखच भएका जिन लगायत भीडलाई ठूलो संख्यामा प्रहरी अधिकारीहरू, स्वाट, अज्ञात सादा पोशाकका कर्मचारीहरू र अन्य सुरक्षाकर्मीहरूले हेरेका थिए । नोभेम्बरको अन्तसम्म  वुहानलगायत देशका विभिन्न सहरका सडकमा मानिसहरूले लकडाउनको विरोधमा प्रदर्शनमा भाग लिएका थिए ।

नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको छ – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा जारी शुभकामना सन्देशमा उनले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरो छन्।

सन्देशमा उनले भनेका छन् , “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।”

उनले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए।

उनले भने “हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ

मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष

एजेन्सी – उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।

राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस) ले भनेको छ ।

जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण  रोक्न आग्रह  गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पु¥याउने गम्भीर उत्तेजना हो । ’

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

एजेन्सी – अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको  अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ । यो बेइजिङले नोभेम्बरमा कठोर शून्य–कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौंदेखि थियो ।’

एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा तालाबन्दीका कारण विरोध प्रदर्शन सुरु भएको थियो । क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लक भित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए ।

आर्सनललाई सात अंकको अग्रता

काठमाडौं – आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ४–२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।

भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।

राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित ग-यो । यसैगरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले  बर्थमाउथलाइ हरायो ।

एभर्टनसँग रोकियो सिटी

काठमाडौं – एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो ।

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए ।

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले  उल्भ्सलाई १–० ले पराजित गरेको थियो ।

पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार

काठमाडौँ । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै हुने भएको हो ।सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दै हुनुहुन्छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीलगायतको बृहत् सहभागितामा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।

गौतमले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसँग सम्बन्धित सङ्घ संस्थासम्बद्धको सहभागिता रहनेछ ।” आइतबार बिहान विमानस्थलमा अवतरण हुने पहिलो जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालन भएकै दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भए पनि अनुमति प्रक्रिया पूरा नहुँदा आइतबार आन्तरिक उडानबाट विमानस्थल उद्घाटन हुन लागेको हो ।

विमानस्थल उद्घाटनसँगै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । विमानस्थल उद्घाटनसँगै आइतबारदेखि सबै आन्तरिक उडान यही विमानस्थलबाट हुनेछन् ।

चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माणकार्य सुरु भएको थियो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

काठमाडौं – एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए ।

७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए । खेलमा दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए ।

७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो । ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो । उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन् ।

खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको साहायतामा फिर्ता लिएका थिए । नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ । स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ ।

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ । पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज, जनमतका सांसदले मातृ भाषामा शपथ लिने

दाङ – लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।

जनमतका सांसदले मातृ भाषामा शपथ लिने
लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचितमध्ये दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गीता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

प्रदेश १ को पहिलो संसद बैठक आज

मोरङ – प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ ।

४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।  त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

विश्व इतिहासमा आजः गणतन्त्र चीन स्थापनादेखि युरोपेली देशमा साझा मुद्रा युरो

आज १ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

युरोपेली देशमा साझा मुद्रा युरो
सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो । सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए । युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ ।

चेकोस्लाभिया विघटन
सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो । शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए ।

रसिया महासंघको स्थापना
सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो । सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो ।

युरोपेली आर्थिक समुदाय स्थापना
सन् १९५८ मा युरोपेली आर्थिक समुदाय (इइसी) स्थापना भएको थियो । इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो ।

गणतन्त्र चीन स्थापना
सन् १९१२ मा गणतन्त्र चीन स्थापना भएको थियो । सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो ।