`

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने कार्यसूची

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बस्ने छ ।

बैठकमा शुभकामना आदानप्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेशसभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सोसम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले दिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।

वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले

काठमाडौं – उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् । आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।

भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए । मन्त्री श्रेष्ठले सोमबार (आज) मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिने कार्यक्रम राखिएको छ । केही बेरअघिदेखि मन्त्री श्रेष्ठ कर्मचारीसँग छलफलमा बसेका छन् ।

सन् २०२२ मा म्यानमारमा बम विष्फोट र हवाई आक्रमणमा परेर १६५ बालबालिकाको मृत्यु

एजेन्सी – सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको मृत्युको संख्यामा ७८ प्रतिशतले वृद्धि भएको छ ।

एनयुजीका लागि महिला, युवा र बालबालिका मामिला मन्त्रालयका प्रवक्ताले जुन्ताले आफ्नो बम विष्फोट र हवाई आक्रमणलाई तिव्र बनाएको र विद्यालयलाई निशाना बनाएको आरोप लगाए । गार्जियनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय संकट समूहका लागि म्यान्मारका वरिष्ठ सल्लाहकार थोमस केनले भने ‘एनयुजीका तथ्याबं विश्वसनीय देखिन्छन ।’

सन् २०२१ को फेब्रुवरीमा  आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गरेपछि सुरु भएको रक्तपातपूर्ण नरसंहारमा हालैका महिनाहरूमा दर्जनौं बालबालिकाको मृत्यु भएका छ । कुपछि हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् ।

आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन – राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउनुहोस्

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिको मितिका बिषयमा निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन आयोगलाई निर्देशन दिए । उनले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

यस्तै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए

त्रिपोली – लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका आइतबार जनाएका छन् ।सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु¥याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् ।गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो ।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो । पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ । (रासस÷सिन्ह्वा)

बागमती प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय

काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको छ । प्रदेश सभाको पहिले अधिवेशन सोमबार दिँउसो १ बजे बोलाइएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।

आज बस्ने प्रदेश सभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन्। निर्वाचनबाट नयाँ संसद् आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन् ।

एकीकृत समाजवादी सरकारमा जानुपर्छ भन्ने लाइनमा को-को ?

काठमाडौं – एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने तीव्र बहस भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने निर्णय अब पोलिटब्युरो बैठकले लगाउने भएको छ ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले समेत यो सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राखेका थिए । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपाल अलमलमा परेका छन् । प्रचण्डको निकै ठूलो दबाबपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोच राखेका नेपाललाई अहिले के गर्ने भन्ने अन्योल देखिएको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा दुई नेताले मात्र सरकारमा जानुपर्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताले मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले मात्र प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेका थिए । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । ज्वाला भने जसरी पनि एकपटक मन्त्री बन्न चाहिरहेका छन् । यदि पार्टीले प्रचण्डलाई विश्वासको मत दिए आफ्नो मन्त्री पद सुरक्षित हुने उनले देखेको एक नेताले बताए । ‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो,’ एक नेताले भने ।

बैठकमा महासचिव बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए। अन्य नेताहरूले पनि पार्टी संगठन निर्माणमै ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छmलफल भएको छ ।

सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू बालुवाटार पुगेर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।

कारागारमा गोली चल्यो, दर्जनौँ कदी फरार

एजेन्सी – बन्दुकधारीको एउटा समूहले  गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन् । बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ ।

सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर  गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए ।

सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा चार बन्दीसहित १० जनाको मृत्यु भएको थियो ।  प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो ।

झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।

घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ । आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन् ।

चुस्त दुरुस्त ढंगले जनताको काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले जनताको काम गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएकागृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न पनि निर्देशन दिएका छन् ।

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् ।

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

मुम्बई, १८ पुस । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ । यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ ।

सलमान खान

अभिनेता सलमान कलेज ड्रप आउट हुन् । उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए । त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए । मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए । यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए । तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए ।

अरबाज खान

अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन् । यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले ।

सोहेल खान

अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन् । सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए । तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन् ।

अर्पिता खान

सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।

अलविरा खान

सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन् । उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन् ।

आयुष शर्मा

अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन् । आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो । यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे ।

सलिम खान

सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन् । उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छ्न ।

सिक्लेसमा २ घर जलेर नष्ट, पूर्व वडाध्यक्षको मृत्यु

पोखरा – कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व  वडाध्यक्षको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन ।

आगो करिव ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

एजेन्सी – एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो ।

जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनायो, जुन अझै सञ्चालनमा छ । टेलिस्कोपको मुख्य लक्ष्य ताराहरूको जीवन चक्र अध्ययन गर्नु रहेको छ ।

नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए

एजेन्सी – युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए ।

घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीले जनाएको छ । हतार र लापरबाहीले उक्त घटना भएको उनले बताए ।

कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा पहिलो थियो ।

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी – काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।

विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् । उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो ।

उक्त विस्फोटमा चार जना घाइते भएका थिए । पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ । पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ ।

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा – निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा  जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन ।श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो ।त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन् ।

इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित

काठमाडौं – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो ।

इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए । ७३ औं मिोटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

काठमाडौं – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं. स्थानमा छ । १४ अंकजोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो । बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए ।

राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार गर्न कतिको पहल गर्लान् प्रचण्डले ?

काठमाडौं । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान् ? भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ ।

प्रधानमन्त्री नियुक्ति भएलगतै चीनले सुरुमा बधाई दिए पनि दक्षिणी छिमेकी भारतले भने केही दिनपछि बधाई दियो ।पछिल्ला वर्षमा नेपालमा पश्चिमा राष्ट्रहरू विशेषगरी अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा बढेर गएको छ ।जसमा भारतको जर्बजस्ती उपस्थिति छ । प्रधानमन्त्री नियुक्त भएलगतै उनले ‘नेपालमुखी’ परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समाचार संस्था एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा आफू नेपालमुखी बन्ने बताएका हुन् । तर, उनले भनेअनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्छन् या सक्दैनन् त्यो भने अब आउने दिनेले देखाउने नै छ ।यो खबर आजको राजधानी दैनिकमा छ ।

पशुपतिनाथ मन्दिरको नाममा रहेको जग्गा मारवाडी सेवा समितिले गर्यो कब्जा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ ।पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले आरोप लगाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं. २०६० जेठ १२ गते भएको सम्झौता विपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो ।

सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न अस्वीकार गर्दै आएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

पर्यटक आगमनमा सुधार, कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिए

काठमाडौँ । कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो ।महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले महामारीपछि तुलनात्मक रूपमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले पर्यटन क्षेत्र थप चलायमान बन्दै गएको बताउनुभयो ।“नेपालमा पर्यटनको दोस्रो ठूलो बजार मानिएको चीनबाट पर्यटक आउन नसक्दा एक लाख १५ हजारको हाराहारीमा चिनियाँ पर्यटक घटे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत सुधार भएको छ,” उहाँले भन्नुभयो ।

पछिल्लो समय भारतीय पर्यटकको आगमन थप सुधार देखिएको छ । कोरोनाका कारण लामो समय घरभित्रै सीमित रहेकाहरू बिस्तारै भ्रमणमा निस्कन लागेकाले पर्यटन आगमनमा थप सुधार हुँदै जाने रेग्मीको विश्वास छ ।

भारतसँगका २१ वटै नाकामा सडक मार्गबाट आउने पर्यटक धेरै रहेको र तथ्याङ्कमा नआएपछि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्यासमेत गणनामा ल्याउन गृह मन्त्रालयसँग तथ्याङ्क राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तेब्बरले घट्यो खाने तेलको निर्यात

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।

चालू आवको पाँच महिनामा पाम तेलको निर्यात ६० प्रतिशत घटेर १० अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ । खानामा बाहेक भारतमा खासगरी शृङ्गार सामग्री र साबुन उत्पादनका लागि पनि पाम तेल निर्यात हुने गरेको छ । भटमास तेलको निर्यात ७७ प्रतिशतले घटेर छ अर्ब ९८ करोड र सूर्यमुखी तेल ९० प्रतिशतले घटेर २२ करोड ३१ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकको समग्र निर्यात ३४ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपियाँको निर्यात भएको छ । समग्र निर्यातमा २६ प्रतिशत योगदान पाम, भटमास र सूर्यमुखी तेलको रहेको छ ।

गत वर्ष पाँच महिनामा मुलुकबाट एक खर्ब २९ अर्ब २० करोड रुपियाँ बराबरको समग्र वस्तुको निर्यात भएको थियो । त्यतिबेला पाम, भटमास र सूर्यमुखी तेलको कुल निर्यातमा ५८ प्रतिशत योगदान थियो ।

भारत सरकारले कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएसँगै पाम, सूर्यमुखी र भटमास तेलको निर्यातमा कमी आएको हो । व्यवसायीले कच्चा पदार्थ आयात गरेर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने गरेका थिए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

अब तीन महिना काम गर्नका लागि पनि विदेश जान पाइने

काठमाडौं । सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो।छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम ९१० को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो। ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ ।

यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन ।

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज सन् २०२३ को २ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु

सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुःखद घटना भएको थियो । स्कटल्यान्डको ग्लास्गोमा दुई ओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाईते भएका थिए ।

राष्ट्रपति हुनुअघि रेगानले गभर्नरको सपथ खाएको दिन

सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए । रेगान सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए ।

लुना १ अन्तरिक्षमा

सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो । लुना १ चन्द्रमानजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो ।

नयाँ ग्रह पत्ता लागेको दाबी

सन् १८६० मा अर्बान ली भेअिरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए । तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन् । वृहत खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन् ।

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ ।

मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो : १८ पुस २०७९, सोमबार । तद्नुसा जनवरी महिनाको २ तारिक २०२३ । पौषशुक्लपक्ष एकादशी तिथि, बणिज करण, भरणी नक्षत्र, सिद्ध योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः५५ मा र सूर्यास्त ५ः२१ मा हुनेछ ।

आज विहान ८ः१४ देखि ९ः३२ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । आजको दिन भवन निर्माण गर्न, व्यापार ब्यबसाय गनए, बाहन तथा कपडा खरिद गर्नका लागि शुभ मानिन्छ । सोमबारको दिन शिवालय यात्रा शुभ हुनेछ । आजको दिन कुनै चलायमान बस्तुको ब्यापार र सुन चाँदीको खरिद विक्री समेत उत्तम मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा  छाउने छ  आज । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कपिलकुमारी बस्नेतको आइतबार काठमाडौंस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

अर्थतन्त्रलाई लयमा फर्काउने छौं – अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताएका छन् । आइतबार पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा एमालेका नेता समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।

नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् – डा कोइराला

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले पार्टीले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्ने बताएका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।

बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं – डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।

शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

बझाङमा सडक किनारको झाँडीमा मिनबहादुर मृत फेला

धनगढी – बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।

मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतबाट बढेर आयो इन्धन मूल्य

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।

निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल – लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने संभावना बलियो भएको हो । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए । त्यसपछि अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् । एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ ।

पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

इलाम – इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उपमहासचिव पुन भन्छन् – मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्छु

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढकरणमा भूमिका खेल्ने बताए ।

एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउँदा मन्त्रिपरिषद्मा मर्याक्रम नमिलेकोमा नेता पुन असन्तुष्ट रहेको बताइएको थियो । तर उनले भने त्यस्तो नभएको जिकिर गरका छन् ।

पुनले राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको बताए ।

दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ

दाङ, पुस १७ । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन् ।प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेवुलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए ।

शपथको बेहोरा केहीबेरमा आएपछि फेरि शपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो । त्यसपछि फेरि सबै सांसदहरू उभिएर शपथ खाएका थिए । सांसदहरुले शपथ खाँदा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्य मन्त्री भने बसिरहे । उनीहरु बसेको सिटबाट उभिएनन् ।

शपथ ग्रहणका क्रममा बिभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरु सांसदहरुले लगाएका थिए । रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुषा लगाइएर सपथ खान खाएका थिए । त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए । रुपन्देही क्षेत्र लगाएतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा शपथ लिन आएका थिए ।

शपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षरपछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो । बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्य मन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरे । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने गरेका छन् । अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ ।

शपथपछि सञ्चारकर्मीसंँग कुरा गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले अनेत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिए पनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुना योग्य रहेको बताए ।

देशकै नमुना योग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए । शपथपछि बाहिर विभिन्न सांसदहरूको फोटो सेसन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहनाअनुरुप बिकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए । त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट व्यक्त गरेका थिए ।

निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

काठमाडौं, १७ पुस । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।