`

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छन् ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।यस्तै, आज राती भने देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न आवश्यक छ’ – अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई आज महासङ्घमा स्वागत गर्दै उहाँले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको बताउनुभयो ।

अध्यक्ष ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै सकारात्मक दृष्टिकोण निर्माणमा सहयोग गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो ।

“निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ । तथापि, यो क्षेत्र सबैको निशानामा पर्ने गरेको छ”, उहाँले भन्नुभयो,“जेनजी आन्दोलनका क्रममा पनि त्यस्तै भयो । देशभरि निजी क्षेत्रमा भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार करिब रु ८० अर्ब बराबर क्षति भएको प्रारम्भिक आकलन छ । यो निकै दुःखद् हो ।”

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आमनागरिकको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवादका लागि संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), ८ असोजः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख ३० हजार राजश्व सङ्कलन भएको छ । उक्त अवधिमा रु एक अर्व ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार तीन सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु ८४ करोड ४२ लाख मूल्य बराबरको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी रु ४० करोड ४९ लाख मूल्य बराबरको चार हजार दुई ३३ मेट्रिक टन एलपी ग्यास, रु १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र रु दुई करोड २२ लाख मूल्यबराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ ।

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर, ८ असोज: टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् ।

गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वषौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उहाँको भनाइ छ ।

“गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उहाँले भन्नुभयो, “वर्षात तथा जाडोको समयमा जीवनयापन गर्न कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताउनुभयो । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उहाँले भन्नुभयो, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्न सक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिक जसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताउनुभयो । सरकारले आर्थिक अवस्था कमजोर भएका घरविहीन दलित परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । “राज्यको तहबाट १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “आर्थिक रुपमा अतिविपन्न परिवारले घर पाएका हुन् । आर्थिक अवस्था कमजोर भएकाको घर निर्माणको लागि सिफारिस गरेको थियाँै ।” यी घर निर्माण सम्पन्न भए पश्चात पुनःअन्य तीन विपन्न परिवारको आवश्यक प्रक्रिया पूरा गरेर पठाएकोमा हालसम्म बजेट प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

फेरियो लोपोन्मुख राउटेको जीवनशैली, समाजमा घुलमिल हुन थाले

दोधारा चाँदनी (कञ्चनपुर), ७ असोजः कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरु समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रुपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उहाँले भन्नुभयो ।

जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उहाँको गुनासो छ ।

“हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपथ्र्यो”, राउटेले भन्नुभयो, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”

समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।”

उहाँले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताउनुभयो । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उहाँले भन्नुभयो, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”

करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरु परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् ।

“हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भन्नुभयो, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”
जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ ।

दसैँ नजिकिएसँगै लेकबाट बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन (बागलुङ), ८ असोज: दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।

गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ ।

महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् ।

यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताउनुभयो । आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।”
वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताउनुभयो ।

आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उहाँको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०÷२२ तिर झथ्र्यो अहिले त अलि छिटै प¥यो”, उहाँले भन्नुभयो, “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।”

लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताउनुभयो । गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उहाँको भनाइ छ । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९३ पैसा र बिक्रीदर २० रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६९ रुपैयाँ ६३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ, ८ असोजः बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।

नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

मुग्लिन–नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक

दमौली (तनहुँ), ८ असोज: मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।

साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसक्नुभएका प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।

मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौँ, ८ असोज: गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो ।

चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो ।

राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् ।

सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ ।मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनुहुन्छ ।

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उहाँको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ ।

देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले रु १० अर्ब ८५ करोड बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिनुभएको छ । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ ।

कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठूलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ ।

“रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन”, गुरुङले भन्नुभएको छ । भाटभटेनीका स्टोरमा राखिएका रु पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९३ बराबरको सामग्री पूर्णरुपमा जलेका छन् । यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ ।

त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् ।
लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब चार सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ ।

एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ । काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ ।

महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।

ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ ।

यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ ।

सरकारले यसबीचमा के ग¥यो

जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ ।

आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिनुभयो ।

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बिमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ ।

त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनःनिर्माण कोषबाट प्रदान गरिनेछ ।

त्यस्तै, सरकारले पुनःनिर्माणका लागि पुनःनिर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् ।

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताउनुभएको थियो । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।

बिमा दाबी २२ अर्ब २५ करोड

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

बागमती प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा बिमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बिमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन ।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ । सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ ।

उद्योग वाणिज्य सङ्घको हलबाट कर कार्यालयको सेवा

तुलसीपुर, ७ असोज : आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आजदेखि सेवा सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घको हलबाट सेवा सुरु गरेको हो ।

हाललाई कार्यालयबाट सेवा प्रवाह गर्न नसकिने अवस्था आएपछि उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा सुरु गरिएको प्रमुख कर अधिकृत श्रीधर टण्डनले बताउनुभयो । उहाँका अनुसार हाल करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरिएको छ ।

कार्यालयले दाङसहित पूर्वी रुकुम, प्यूठान, रोल्पा जिल्लालाई सेवा प्रवाह गर्दै आएको छ । कार्यालयका ३५ हजार बढी करदाताहरू छन् । जेनजी आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रूपमा जलेर क्षति भएको छ भने दुई वटा गाडी र कार्यालयभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् । हाललाई उद्योग वाणिज्य सङ्घले निःशुल्क रूपमा भवन उपलब्ध गराएको छ । केही समयपछि भवन भाडामा लिएर सेवा प्रवाह गर्ने प्रमुख टण्डनले बताउनुभयो ।

विश्वको आर्थिक वृद्धिदर घट्ने : ओईसिडी

आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वको आर्थिक वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा पुग्ने अनुमान छ ।

यस गिरावटको मुख्य कारणहरूमा अग्रिम व्यापार आपूर्ति प्रणालीको अन्त्य, भन्सार दरमा वृद्धि र नीतिगत अनिश्चितता रहेका छन्, जसले लगानी र अन्तर्राष्ट्रिय व्यापारलाई कमजोर बनाएको ओईसिडीको भनाइ छ ।
यद्यपि दीर्घकालीन अनुमान कमजोर देखिए पनि, सन् २०२५ को पहिलो छ महिनामा केही राष्ट्रहरूमा, विशेषतः उदाउँदो अर्थतन्त्रहरूमा, अपेक्षाभन्दा मजबुत आर्थिक गति देखिएको छ । व्यापारिक कम्पनीहरूले भन्सार बढ्नुअघि सामान आपूर्ति तीव्र बनाएकाले उत्पादन र व्यापारमा अस्थायी वृद्धि भएको हो ।

यसैबीच, संयुक्त राज्यले अधिकांश व्यापार साझेदारहरूमाथि भन्सार दर तीव्र रूपमा बढाएको छ । ओईसिडीले सन् २०२५ को अन्त्यसम्ममा अमेरिकी भन्सार दर १९.५ प्रतिशत पुगेको बताएको छ, जुन सन् १९३३ पछि कै सबैभन्दा उच्च हो ।
प्रतिवेदनमा भविष्यमा आर्थिक वृद्धिमा थप जोखिमहरू रहन सक्ने भनिएको छ, जसमा भन्सार दरको फेरि बढोत्तरी, मूल्यवृद्धिको चाप, बजेटीय असन्तुलन र वित्तीय बजारको अस्थिरता प्रमुख हुन् ।

संयुक्त राज्यको आर्थिक वृद्धिदर सन् २०२६ सम्ममा १.५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जहाँ प्रविधिमा लगानी बढे पनि भन्सार र आप्रवासन नीतिका कारण समग्र वृद्धिमा अवरोध देखिएको छ ।

युरोपेली क्षेत्रमा पनि आर्थिक गति सुस्त हुने देखिएको छ । सन् २०२५ मा १.२ प्रतिशत र सन् २०२६ मा १.० प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सहज कर्जा उपलब्धताले केही राहत दिए पनि व्यापारिक अवरोध र भू–राजनीतिक जोखिमले प्रभाव पार्नेछ ।

ओईसिडीले अन्त्यमा जीवनस्तरमा सुधार र नयाँ प्रविधिको प्रभावकारी उपयोग गर्नका लागि गहिरो संरचनात्मक सुधारहरू अनिवार्य रहेको जोड दिएको छ ।

पाँच हजार जनामा डेङ्गी सङ्क्रमण,दुई जनाको निधन

काठमाडौँ, ७ असोज : डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम कम हुने बताउनुभयो ।

तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

गोल्छा ग्रुपद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई बिस थान मोटरसाइकल प्रदान

काठमाडौँ, ७ असोज : गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ ।” मोटरसाइकल हस्तान्तरण कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

जेनजी प्रदर्शनमा प्रहरीको ज्यान लिएको आरोपमा एक युवक पक्राउ

काठमाडौँ- प्रहरीले गत भदौ २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँ बालुवाटारस्थित एक मासु पसलमा काम गर्ने २५ वर्षीय युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्याप्छाकीले गत भदौ २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको र सोही भिडियोको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका क्याप्छाकी विरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

आगोले खन्डर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक

जनकपुर । जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ ।कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भिक्ता मर्मतको क्रममै रहँदा मंगलबार (आज) बाट छैठौं अधिवेशनको बैठक सुरु भएको छ ।

आजको बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनकै पार्टीका अन्य सांसदहरु दुई कितामा बाँडिएको देखापरेको छ ।मुख्यमन्त्री सिंह बाहेकका जनमतका प्रदेशसभा सदस्यहरु प्रतिपक्षीतर्फ बसेका छन् । जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिस सिंहले फेसबुकमार्फत राजिनामा घोषणा गरेका थिए तर प्रदेश प्रमुख कार्यालयमा आधिकारीक राजिनामा पत्र बुझाएका थिएनन् ।

पछि उनले संघीयता बचाउनका निम्ति राजिनामा घोषणा गरेको अभिव्यक्ति दिएका थिए । सो पछि जनमत पार्टी मधेश प्रदेशका दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहलाई स्पष्टिकरण सोध्नुका साथै मुख्यमन्त्री सहित प्रदेशमा रेहका सम्पूर्ण जनमतका नेतालाई फिर्ता बोलाईएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । त्यस पछि मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रतिक्रिया दिँदै आएका थिए ।

जनमत पार्टीका दलका नेता महेश यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उनले सोहीअनुसार सिटको व्यवस्थापन गराउन लगाएका थिए । तर मुख्यमन्त्री सिंह भने सक्ता पक्षमा रहेका अन्य दलहरुसहितको स्थानमा बसेका थिए ।

आजको बैठकमा जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभ कामना सहित मृत्यु भएकाहरु प्रति सोक प्रस्ताव पेस गरिएको थियो । टेबुलको अभावमा सभामुख मण्डलले हात उठाएर प्रस्तावमा समर्थन जनाउन आदेश दिएका थिए । मधेश प्रदेश सभाको अर्को बैठक असोज ८ गत्ते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

पृथ्वीराजमार्ग अबरुद्ध भएपछि गोरखा सडक व्यस्त, गाडीले बजार भरिभराउ

गोरखा, ७ असोज : पृथ्वीराजमार्ग पहिरोका कारण अबरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ । जवाङ खोलामा खसेको सुक्खा पहिरोले राजमार्गको मुग्लिन मलेखु खण्ड अबरुद्ध भएपछि दमौली, पोखरा, बेँसिसहर, बागलुङदेखिका गाडी गोरखाको रुट भएर गन्तव्यतर्फ जान थालेका हुन् ।

कतिपय गाडी मध्यपहाडी लोकमार्ग हँुदै आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कने गरेका छन् । गत शुक्रबार तुइनखोलामा खसेको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड अबरुद्ध भएदेखि पृथ्वीराजमार्ग भएर गुड्ने गाडी पनि गोरखा, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन थालेका हुन् ।

“पृथ्वीराज मार्गमा समस्या भएको धेरै दिन भइसक्यो । त्यसैले हिजोआज पोखरा, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङका गाडी मध्यपहाडी लोकमार्ग हँुदै मलेखु निस्कन थालेका छन्”, गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहोरा भन्नुहुन्छ, “विशेषगरी माइक्रोबस, कार, जीप, भ्यान, बाइक चाहीँ आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन्छन् ।”

दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन मध्यपहाडी राजमार्ग तथा गोरखा बजार हुँदै आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । गोरखा, आरुघाट हुँदै घुमेर मलेखु झर्दा दुईघण्टा समय थप लागे पनि यात्रुहरू गन्तव्यमा पुग्न सम्भव भएको उहाँले जानकारी दिनुभयो ।

ग्रामीण सडकबाट सदरमुकाम आउने गाडीले भरिभराउ हुने गोरखा बजार अहिले लमजुङ, तनहूँ, पोखरादेखि आएका गाडीले थप व्यस्त हुन थालेका स्थानीय बताउँछन् । “यतिबेला यसै पनि दसँैंका कारण बजारमा गाडीको चाप धेरै हुन्छ । झन् बाहिर जिल्लाबाटसमेत गाडी आउन थालेपछि भीडभाड बढेको छ”, हरमटारीचोकका व्यापारी भरत भट्ट भन्नुहुन्छ, “पोखरा, बेँसीसहर, दमौलीबाट आएका गाडी गोरखा बजारहुँदै हिँडेको देख्दा अनौठो पनि लागिरहेको छ ।”

मुग्लिन नारायणगढको तुइनखोलामा पहिरो झरेपछि गत शुक्रबारदेखि सो सडकमा सवारी गुड्न अवरोध भइरहेको छ । त्यस्तै सोमबार राति जवाङखोलामा झरेको सुक्खा पहिरोले मुग्लिन मलेखु सडकखण्डमा आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।

शिक्षामन्त्री महावीर पुनले गरे ३ महत्वपुर्ण काम, अब हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा आफूले तुरुन्त अगाडी बढाउन निर्देशन दिएका ३ वटा कदमहरुको जानकारी गराएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले आफूले दिएको कामको निर्देशन बारे बताए ।

उनले लेखेका छन् – “मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने!”

अभिषेक महतो प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

सिरहा, ७ असोज: यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको छ ।

“हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भन्नुभयो,“दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।”

उहाँका अनुसार आज बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो ।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए । रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै रुसलाई ती कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।गत साता इस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकु विमानले १२ मिनेटसम्म अनधिकृत प्रवेश गरेपछि नाटोले आपतकालीन बैठक बोलाएको थियो ।त्यसपछि मङ्गलबार नाटोका ३२ सदस्य राष्ट्रहरूले संयुक्त वक्तव्य जारी गर्दै भने,“रुसले यस्ता खतरनाक र उत्तेजनात्मक गतिविधिहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ । यस्ता कार्यहरूले दुर्घटना, गलत निर्णय र ज्यानको जोखिम बढाउँछन् । यी कार्यहरू तुरुन्त बन्द गरिनुपर्छ ।”
“हामी सबै प्रकारका खतराबाट जोगिन अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक सबै सैन्य वा गैर–सैन्य उपाय अपनाउन तयार छौँ ।”

पूर्वी सुरक्षा कडा
रुसी हवाई उल्लङ्घनलगत्तै नाटोले लडाकु विमान परिचालन गरेको थियो । यसअघि पोल्याण्डको आकाशमा रूसी ड्रोन देखिएपछि पनि नाटोले ती ड्रोन खसालेको थियो ।
यस्ता घटनाहरू दोहोरिन थालेपछि नाटोले पोल्याण्ड, रोमानिया, लाट्भिया, लिथुआनिया र फिनल्याण्डजस्ता पूर्वी सीमामा पर्ने राष्ट्रहरूको सुरक्षालाई थप मजबुत बनाउने निर्णय गरेको छ ।

नाटोले भनेको छ,“रुसका यस्ता गैरजिम्मेवार गतिविधिहरूले युक्रेनप्रतिको हाम्रो समर्थन कमजोर हुने छैन ।”
इस्टोनियाले नाटोको संस्थापक सन्धिको धारा ४ अन्तर्गत आपतकालीन परामर्शको माग गरेको थियो ।

यस धारा अनुसार, कुनै सदस्य राष्ट्रलाई आफ्नो भू–सम्प्रभुता वा सुरक्षामा खतरा महसुस भएमा तत्काल बैठक बोलाउन सकिन्छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि यो तेस्रोपटक धारा ४ प्रयोग गरिएको हो । नाटोको धारा ५ अनुसार, यदि कुनै सदस्यमाथि आक्रमण हुन्छ भने बाँकी सबै राष्ट्रले मिलेर उसको रक्षा गर्छन् ।
यो धारा अहिलेसम्म मात्र एकपटक सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि प्रयोग गरिएको हो ।

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन्: महामन्त्री शर्मा

झापा, ७ असोजः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताउनुभएको छ ।पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उहाँले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राख्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो,“समय बदलिएको छ, सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरबार मात्र होइन, गाउँगाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिदैनन् तिनले बिदा लिन्छन् ।”

‘जेनजी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उहाँले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताउनुभयो ।

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गर्नुभयो ।

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धामा खरो उत्रन सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौँ, ७ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गर्नुभएको छ ।त्यसअवसरमा उहाँले परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरु सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “रेडियो नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहास हो, जनताको जीवनसँग जोडिएको यो संस्था हाम्रो ऐतिहासिक धरोहर हो, गर्विलो वर्तमान पनि हो । त्यसैले भविष्यमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्नुपर्छ ।”

उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग र सामाजिक सञ्जलसँग पनि जोडेर रेडियो नेपाललाई आधुनिक समाज सुहाउँदो बनाउन आग्रह गर्नुभयो । उहाँले रेडियोलाई आधुनिक विश्व र नयाँ पुस्तालाई सुहाउने नयाँ नेपालको साच्चिकै समावेशी आवाज बनाउने कुरामा आफ्नो सहयोग र समर्थन रहने विश्वास दिलाउनुभयो ।

मन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालको समाचार तथा कार्यक्रम सुनेर आमनागरिकले सूचना लिने गरेको इतिहास स्मरण गर्नुभयो । उहाँले रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज भएकाले त्यसलाई कार्यान्वयन गर्न समाचार तथा कार्यक्रमका विषय थप समावेशी बनाउन पनि आग्रह गर्नुभयो ।

त्यसअवसरमा मन्त्री खरेलले रेडियो नेपालको सङ्गीत स्टुडियो, प्रसारण स्टुडियो, समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ २४ गतेको प्रदर्शनबाट पुगेको क्षतिको समेत अवलोकन गर्नुभयो ।यसअघि नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलगायत पदाधिकारीले रेडियो नेपालमा स्वागत गर्नुभएको थियो ।

नेपालगञ्जमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज, ७ असोजः नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदाँ भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहनुभएका नेपालगञ्ज –१ निवासी मोटरसाइकल चालक ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो । नेपालगञ्ज –१ का वडाध्यक्ष प्रमोद रिजालले थापा निधनले आफू मर्माहत भएको भन्दै भारतको चेन्नईमा अध्ययनरत मृतकका छोरा फर्किएपछि अन्तिम संस्कार गरिने जानकारी पाएको बताउनुभयो ।

गीतकार पोखरेलको ‘आमाको सपना’ बजारमा, भिडियोको चर्चा

काठमाडौँ । आमाको सपना बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ । गायकद्धय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्धय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् ।

दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा रश्मि भट्टसहित गायकद्धय डेविड, सबिनका साथमा गायिकाद्धय बेनिशा र सरुसहित गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।

जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको छ । भिडियोले अबको देशको जिम्मेवारी युवाको काँधमा आएको भन्ने सन्देश दिएको छ ।

नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।

पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने बताए । उनले भने, ‘दशैँ र तिहारको संघारमा छौं । यो बेला कसरी हुन्छ विद्युतलाई नियमित आपूर्ति गर्ने भन्ने पहिलो प्राथमिकता हो त्यसमा काम गर्छौ । योसँगै नवनियुक्त मन्त्रीज्यूले डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउन निर्देशन दिनुभएको छ । त्यो निर्देशनलाई कार्यान्वयन गर्नतिर हामी जान्छौ ।’

सिलवालले सेवा प्रवाहलाई चुस्त दुरुस्त र गति बढाउन पर्ने धारणा समेत राखे । ‘मलै तीन चारवटा कुरा मनन गरेको छु, अहिलेको युवा पुस्ताले के खोजेको हो भने एउटा सिस्टम खोजेको हुन् । हामीले बाटो काट्दा पनि यसो हेर्यौ भने सटकर्ट खोज्छौ । उनीहरु जेब्राक्रसिङ खोज्छन् । यसलाई मनन गरेर हामीले दिनुपर्ने केहोसेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नुपर्यो र सेवा सुविधाको गति बढाउन पर्यो,’ उनले भने ।

जेनजी’ प्रदर्शनमा चोरी भएका सामान बुझाउन नेपाल वायुसेवा निगमको आग्रह

काठमाडौँ, ७ असोजः नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको छ ।आज एक सूचना जारी गरी निगमले भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरेको हो ।

निगमको कार्यालयबाट नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको जनाइएको छ ।निगमले तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान पुनः सुरु गर्ने, कति छ भाडा ?

काठमाडौँ, ७ असोज : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो ।

सुरुमा साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । काठमाडौँबाट बिहान ७ः०० बजे र कोलकाताबाट स्थानीय समय ०९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।

यात्रुको एकतर्फी भाडा रु १३ हजार ३५३ तोकिएको छ । घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ । समय र पैसाको बचत होस हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थल भ्रमणको लागि ‘आउटबाउन्ड’ तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ पनि सञ्चालन गरिरहेको छ ।

नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गङ्गासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास बुद्ध एयरको रहेको छ ।

बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ छ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ गतेदेखि कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मङ्सिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो ।

अर्थमन्त्री अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली

काठमाडौँ, ७ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उहाँलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ । पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेनजी’को प्राथमिक माग भएकाले त्यसैअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्इक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छु : सञ्चारमन्त्री खरेल

काठमाडौँ, ७ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताउनुभयो । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उहाँको भनाइ थियो ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ । मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

“सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, स्व पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ । गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु । प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पु¥याउने छु”, उहाँले भन्नुभयो, “पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मालेर काम गरिरहेका हुन्छाँै । गाँस, बास कपासको दुःख हुन्छ तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ । आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन ।”

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिनुभयो । “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ । जिम्मेवार, जवाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।

सो समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले स्व पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्व पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्नुभएको थियो ।

सार्वजनिक प्रशारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा रूपान्तरणको क्रममा रहेको उल्लेख गर्दै यस सेवालाई सही तवरले परिभाषित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आवश्यक आधार तयार गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण सञ्चालन र बजेटको सुनिश्चितताको माग गर्नुभयो । उहाँले बजेट सुनिश्चित नहुँदा नेपाल टेलिभिजनका पाँच वटै च्यानलको सञ्चालनमा कठिनाइ देखिएकातर्फ ध्यानार्कषण गराउनुभयो ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित रु एक लाख राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिँदै आएको छ ।

विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

काठमाडौँ, ७ असोज : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गर्नुभयो । पदबहालीपछि मन्त्री सिन्हाले कानुनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गर्नुभयो ।

त्यसअवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जेनजी पुस्ताले उठाएको मूल विषय भनेकै सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीसम्बन्धी विषय भएकाले सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “अहिलेको तत्कालका लागि जति पनि प्रश्न उठेका छन् त्यसलाई सम्बोधन गर्दे लानुपर्नेछ । चुनावी सरकार भएकाले पहिलो प्राथमिकता चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने छ । त्यसमा सम्झौता गर्न सक्दैनौँ ।”

उहाँले चुनावका लागि आवश्यक पर्ने केही संशोधन र परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भए पनि कानुनको व्यवस्था गरिने बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताउनुभयो ।

सर्वाेच्चलगायतका अदालतमा भएको आगजनीबाट क्षति पुगेका मिसिलहरूलाई जस्ताको तस्तै त अवस्थामा राख्न कठिन रहेको बताउँदै उहाँले तथापि सकेसम्म मिसिलसम्बन्धी सङ्कलन गरेर मुद्दा फर्छ्योटलाई अघि बढाउन पर्ने कार्यजिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, “यो ठूलो चुनौती छ अदालतको लागि । तथापि जसरी काम सुरु गरिएको छ, कर्मचारी त्यसमा लागिपरेका छन् । दसैँपछि ट्र्याकमा ल्याउन सकिन्छ । तर पूर्ण रूपमा ल्याउन धेरै नै समय लाग्छ किनकी ठूलो नोक्सानी भएको छ । हामी कोसिस गर्छौं । सबै कुरालाई सकारात्मक रूपमा लिएर जानुपर्छ ।”

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख, ७ असोजः जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ ।

बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताउनुभयो ।

“संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताउनुभयो ।

अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ । निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको बताउनुभयो । उहाँले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताउनुभयो ।

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् ।

बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन, ७ असोजः जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।

“भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो”, प्रमुख रुपाखेतीले भन्नुभयो ।

जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ ।

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण (एल्गोरिदम) को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।” यसका लागि ओरेकलले सुरक्षा प्रदायकको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ।

सम्झौताले टिकटकको सामग्री सिफारिस एल्गोरिदमको एक प्रतिलिपि अमेरिकी संयुक्त उद्यम प्रणालीमा ल्याइने व्यवस्था गरेको छ।

नाम नबताउने सर्तमा ती अधिकारीले भने, “टिकटकलाई अमेरिकी प्रयोगकर्ताको तथ्याङ्कमा सुरक्षा प्रदायकद्वारा पूर्ण रूपमा निरीक्षण र पुनः प्रशिक्षित गरिनेछ, र त्यसपछि यो अमेरिकी संस्थाद्वारा सञ्चालन गरिनेछ।”

वाशिङटनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई अमेरिकी संस्करणलाई चिनियाँ मातृ कम्पनी बाइटडान्सको हातबाट लिन खोजेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा अमेरिकी संसद् (कङ्ग्रेस)ले बाइटडान्सलाई अमेरिकी संस्करण बेच्न बाध्य पार्ने कानुन पारित गरेको थियो ।

ट्रम्पको पहिलो कार्यकालमा रहेका अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकको प्रयोगबाट अमेरिकीहरूको तथ्याङ्क चोनै वा उनीहरूले सामाजिक सञ्जालमा देखेका कुराहरूमा प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार अमेरिकी अधिकारीले भने, “एल्गोरिदमलाई ‘अनावश्यक प्रभाव नपरोस’ भनेर सुनिश्चित गर्न ‘निरन्तर निगरानी’ गरिनेछ।

राष्ट्रपति ट्रम्प राष्ट्रपतिमा फर्किएपछि सुरू भएको टिकटकबारे बहस शुक्रबार दुई देशका राष्ट्रपतिले टेलिफोनमा कुराकानी गरेपछि समाधानजजिक पुगेको हो । शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टिकटकलगायतका मुद्दाहरूमा भएको प्रगतिको ट्रम्पले प्रशंसा गर्नुभएको थियो ।

ट्रम्पले यसै हप्ता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जसमा टिकटक सम्झौताका सर्तहरूले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकताहरू पूरा गरेको घोषणा गरिएको हुनेछ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सप्ताहन्तमा फक्स न्यूजसँग भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा एपलाई नियन्त्रण गर्ने समितिमा सात सदस्य हुनेछन्, र तीमध्ये छ जना अमेरिकी नै हुनेछन्।”

छुट्टै प्रसङ्गमा अमेरिकी राष्ट्रपति ट्रम्पले विशाल मिडिया कम्पनीका मालिक रुपर्ट मर्डोक र उहाँका जेठा छोरा लाचलान संयुक्त राज्य अमेरिकामा टिकटकको नियन्त्रण गर्ने लगानीकर्तामा पर्न सक्ने बताउनुभएको छ ।

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रेपलाञ्चोक, ७ असोजः नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो । गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत हुनुहुन्थ्यो । तिमल्सिनाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

वीरगञ्जमा फैलिएको हैजा अझै आएन नियन्त्रणमा

वीरगञ्ज (पर्सा)-वीरगञ्ज महानगर वरपर हैजाका बिरामी भेट्टिएको एक महिनाभन्दा धेरै भइसक्यो । तर अहिलेसम्म हैजा कसरी फैलियो भनेर स्रोत पत्ता लाग्न सकेको छैन भने नियन्त्रणमा पनि आउन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका अनुसार आइतबार बेलुकी ५ देखि सोमबार बेलुकी ५ बजेसम्मको २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यही असोज ६ गतेसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा २४० जनामा संक्रमण भेटिएको जानकारी दिनुभयो ।

जसमध्ये २३६ जना हैजाका बिरामी उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । जसमध्ये अझै चार जना उपचारत छन् । महानगर आसपासमा हैजा देखिएपछि यहाँका २१ वटा अस्पतालमा सुरुवाती दिनदेखि असोज ६ गतेसम्म एक हजार ५१२ जना बिरामी हैजा तथा झाडापखलाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन् ।

भर्ना भएकामध्ये एक हजार ४७९ जना उपचारपश्चात घर फर्किसकेका छन् । हैजाका चार बिरामी ‘आइसियू’मा उपचाररत छन् भने एक जना ‘एचडियू’मा उपचारत छन् । त्यसैगरी २८ बिरामीको जनरल वार्डमा उपचार भइरहेको छ । जनस्वास्थ्य अधिकृत ठाकुरले सर्वसाधारण जनता आफै सचेत र सजग नहुँदासम्म हैजा नियन्त्रण गर्न गाह्रो हुने बताउनुभयो ।

‘‘हामीले पर्याप्त मात्रामा जनचेतनाका अभियान सञ्चालन गरिरहेका छौँ । तर सर्वसाधारणहरु अटेरी हुँदा पनि हैजा नियन्त्रण गर्न गाह्रो भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘पानी उमालेर वा क्लोरिन राखेर खानका लागि अनुरोध गरेका छौँ । सर्वसाधारणले मानेका छैनन् ।’’ उहाँले मङ्गलबारदेखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुको समूह हैजा प्रभावित वडामा घरघरमा पुगेर क्लोरिनयुक्त पानी खुवाउन सिकाउने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु

काठमाडौँ, ७ असोजः बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले लिए अनुमति

म्याग्दी, ७ असोज – सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । चौबीस जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ ।

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।

शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एकवटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।

प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चितवनको चेपाङ बस्तीमा राहत

चितवन । प्रसिद्ध ज्योतिष, पण्डित, गीतकार तथा समाजसेवी डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंको अवसरमा राहत वितरण गरेका छन् । विपन्न निमुखा दुई सय जना चेपाङहरुलाई चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् ।

पूर्वी चितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो ।
लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषिय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका डा अधिकारीले दशैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए ।पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए । विन्दु सिंजाली थापा मगरले संचालन गरेको कार्यक्रममा डा.अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

डा.अधिकारी भन्छन्,‘मैंले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन् । यो कल्पना भन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भएको छ ।’डा.अधिकारी कुशल गीतकार, समाजसेवी, लेखक एवं विश्लेषक पनि पनि हुन् । राहत वितरणपछि उनले राम मणि न्यौपाने, स्थानीय आमा समूह, सुरक्षा निकाय, समाजसेवी तथा २ नं का वडा सदस्य एक बहादुर गुरुङ तथा टोल सुधार समितिका अध्यक्ष सुक बहादुर गुरुङलाई धन्यवाद दिएका छन् ।

आजको मौसम : स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानमा बर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।