`

अर्थमन्त्री खनालले संसद् भवन अगाडि गरे दीप प्रज्वलन

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजी आन्दोलनका शहीदहरूको लागि संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।

आज साझँ उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।

कात्तिक ३ गतेदेखि हराएका दुई भारतीय पर्यटक मृत भेटिए

मनाङ – यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आज मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्लाई जानकारी गराएको थियो ।

“शव प्रदेश अस्पताल मनाङ ल्याइँदैछ । सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ”, प्रजिअ पौड्यालले भन्नुभयो ।

जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिनुभयो ।

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गर्नुभयो । प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उहाँको भनाइ थियो ।

“हामी कुनै घुसपैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यसकारण हामीविरुद्ध सरकारले संविधानविपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,” अध्यक्ष ओलीले भन्नुभयो । उहाँले उद्योगीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा – जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।

घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए

“सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुविधा दिनसक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद् छ – अध्यक्ष ढकाल

धुलिखेल – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताउनुभएको छ ।

आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपालका घरेलु पुँजी परिचालन गरेर ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि सबै व्यवसायी सहभागी हुने गरी रु १० अर्बको लगानीमा नेपाल डेभेलपमेन्ट कम्पनी सञ्चालनमा ल्याएको बताउनुभएको छ । जसबाट नेपालमा आफ्नै पुँजी परिचालन गरेर धेरै काम गर्न सकिने आत्मविश्वास बढाउने काममा टेवा पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गरेको अवस्थामा उद्योग वाणिज्य महासङ्घको पहलमा यसखालको काम अगाडि बढाइएको छ, कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय अगाडि बढाउन खोजेको अवस्थामा पैसाको आवश्यक पर्दा उक्त कम्पनीले लगानी गरिदिन्छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो व्यवसायहरु जलिरहेको अवस्थामा व्यवसायीहरु पीडा बोकेर हिँड्नुपरेको अवस्था दुःखद् भएको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा, पनौती, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यावसायिक कठिनाइ भोगिरहनु परेको बताउँदै व्यावसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यावसायिक स्थान, कृषि क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गर्नुभयो ।

उहाँले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) र मण्डनदेउपुरमा निर्माण भइरहेको औद्योगिक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीचको भेटवार्तामा के के भयो ?

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको उक्त दुई पक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्तिसुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही अवसरमा गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्तिसुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको तथा घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सरकार अहोरात्र लागिपरेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने प्रष्टपार्नुभयो । दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

त्यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध सधैँ सकारात्मक र सुमधुर ढङ्गले अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्वाचन सफल बनाउन खेल्नपर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो ।

‘शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिनेछ’ – शिक्षामन्त्री महावीर पुन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गर्नुभएको छ ।

मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसङ्गठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने बताउनुभयो ।

मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ ।

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ – पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो । तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन । प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन् ।

मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन् । किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन् । तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित तथा गुमनाम हुन्छन् ।

चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन् । निर्देशकको योजना र भिजनलाई छायाङ्कन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन् । छायाङ्कनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उहाँहरूको जिम्मेवारी हो । यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन् ।

हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ । तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ ।

‘पर्दा पछाडिका हिरो’ का रुपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन् । विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसक्नुभएका फिरोज खड्काका अनुसार निर्देशक र कलाकार बीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन् ।

“सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ । तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ । आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ”, मुख्य सहायक निर्देशक खड्काले भन्नुभयो ।

उहाँका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ । उहाँले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गर्नुभएको थियो । त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उहाँले काम गरिसक्नुभएको छ ।

उहाँ पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित हुनुहुन्छ । प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उहाँले काम गर्दैै आउनुभएको छ । “निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो । त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु । राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।

निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसक्नुभएका अर्का निर्देशक हुनहुन्छ, अनिल खड्का । उहाँले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसक्नुभएको छ । केही चलचित्रमा निर्देशकले विश्वास गरेर उहाँलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गर्नुभएको छ ।

“हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं । कलाकार र निर्देशक बीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ । त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ”, उहाँले भन्नुभयो ।

मुख्य सहायक निर्देशक भएर काम गरिरहनुभएका खड्का विस्तारै चलचित्र निर्देशनको तयारीमा हुनहुन्छ । तर, आफूलाई चित्त बुझ्दो पटकथा नपाउँदासम्म उहाँले त्यो आँट गर्न सक्नुभएको छैन ।

“मुख्य सहायक निर्देशकका रुपमा हामीले निरन्तर काम पाउँछौँ, गर्ने वा नगर्ने हाम्रो निर्णय हुन्छ । तर, निर्देशक बनिसकेपछि हामी पछाडि फर्किन सक्दैनौँ, त्यसैले चित्त बुझाउने कथा नपाएसम्म निर्देशन नगरेको हो । प्रस्ताव आएका छन्, तयारी पनि छ । सम्भवतः अर्को वर्ष निर्देशन गर्ने सोचमा छु । तर अहिले केही भन्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

उहाँ झैँ मुख्य सहायक निर्देशककै रुपमा काम गरिरहनुभएका फिरोज खड्का पनि पटकथाको खोजीमा हुनुहुन्छ । आफूले खोजेजस्तो पटकथा पाएमा आएको निर्देशकको प्रस्तावलाई स्वीकार गर्ने उहाँको भनाइ छ ।

उहाँ दुई झैँ मुख्य सहायक निर्देशकका रुपमा लामो समय काम गर्नुभएका वसन्त अधिकारीले ‘जानी नजानी’ चलचित्रमार्फत निर्देशक बन्नुभयो । उहाँसँग प्राविधिकका रुपमा काम गरेकोसँगै सम्पूर्ण टोलीको कप्तानी गरेको अनुभव छ ।

“मुख्य सहायक हुँदै निर्देशक बन्दा चलचित्र भव्य हुनुपर्छ । जसले तपाईंको कामलाई आमदर्शकसँगै अन्य निर्मातासम्म पनि पु¥याउँछ । किनकि पहिलो निर्देशकीय चलचित्र पाउन जति सहज हुन्छ, दोस्रो पाउन त्यति नै मुस्किल । फेरि पर्दापछाडि काम गर्नेहरू पर्दाअगाडि आएर आफ्नो बजारीकरण (मार्केटिङ) पनि धेरै गर्न सक्दैनन् । त्यसैले दोस्रो चलचित्र पाउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले पहिलो चलचित्र निर्देशन गरेको करिब पाँच वर्ष भइसके पनि दोस्रो चलचित्र निर्देशन गर्न सक्नुभएको छैन । यसमा उहाँ आफ्नो ‘पब्लिक रिलेसन’ कारक मान्नुहुन्छ । “मैले चलचित्रमा काम गर्दा आफ्नो काममा मात्र केन्द्रित भएर काम गरिरहँे । आफ्नो सम्बन्ध निर्माता वा अन्यसँग बढाउन नसके जति वर्ष काम गरे पनि निर्देशकका रुपमा प्रस्ताव आउन कठिन नै हुन्छ । त्यसमाथि पहिलो चलचित्रले व्यावसायिक रुपमा सफलता पाउन सकेन भने त दोस्रो चलचित्र निर्देशन गर्न निकै कठिन हुन्छ”, निर्देशक अधिकारीले स्पष्ट गर्नुभयो ।

उहाँले चलचित्रमा ध्वनि, वेशभूषालगायतका विभागमा काम गरेपछि मात्र निर्देशन विभागमा काम गर्ने अवसर पाउनुभएको थियो । विदेशतिर चलचित्रमा व्यावसायिक घरानाको लगानी हुने भएकाले निर्देशकहरूले नै आफ्ना सहायक निर्देशकलाई निर्देशकका रुपमा अगाडि ल्याउने चलन छ । तर, नेपालमा भने त्यस्तो परिपाटी नरहेको उहाँको भनाइ छ ।

“हामीले छिमेकी देश भारतकै बलिउडको उदाहरण हे¥यौँ भने त्यहाँ आफ्नो सहायकलाई निर्देशकका रुपमा अगाडि ल्याएको देखिन्छ । तर, नेपालमा लगानीकर्तासँग ‘कर्पोरेट हाउस’ विरलै जोडिन्छन् । फलतः आफ्नो गोजीको लगानीमा ‘रिस्क’ लिन कसैले आँट गर्दैनन् । त्यही भएर मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका धेरैले निरन्तरता दिन सकिरहेका छैनन्”, निर्देशक अधिकारीले भन्नुभयो ।

उहाँहरू झैँ काम गरेर निर्देशक बन्नुभएका भद्र भुजेल, सम्राट शाक्य, मुस्कान ढकाललगायतका निर्देशकले आफ्नो पेसालाई निरन्तरता दिन कठिनाइको सामना गरिरहनुभएको छ । त्यसकारण पनि केही साहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन् । उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रुपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसीले प्रधानमन्त्री कार्कीसमक्ष बुझाए दशबुँदे ज्ञापनपत्र

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनी झा र डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी हुनुहुन्थ्योे ।

ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग रहेका छन् ।

रास्वपाको विस्तारित बैठक सौराहामा सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।”

जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।

बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।

विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ ।

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडी (कैलाली) – पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हेटौँडामा यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती, २३ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर, २३ कात्तिक : भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएकामा पोशाक वितरणले सहयोग पुगेको उहाँको भनाइ छ ।

सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खुसी भएका छन् ।

रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड

देवदह (रुपन्देही), २३ कात्तिक : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।

जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् ।

“जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो । नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो । तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ । अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उहाँको भनाइ छ ।

जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो । यहाँ दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन् । “हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन । बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ । बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ । त्यसैगरी अद्यावधिकबाट (ठाउँसारी) गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ”, उहाँले भन्नुभयो ।

जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३५६ मतदाता छन् । जसमध्ये तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ जना महिला रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन ।

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।

नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे।

नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज (सप्तरी) – भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।

प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छ । यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एकहत्तर सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ ।

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।

“यसअघि वडामा २० एमबिपिएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता बढी भएको छ । अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जिबिपिएस आधारभूत र प्रिमियम तथा ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ । २४ घण्टा प्राप्त गर्न सकिने यस सुविधा आगामी साउन मसान्तसम्म रहने छ”, उहाँले भन्नुभयो ।

काफ्लेका अनुसार यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रका लागि खरिद गरिएको हो ।

उक्त सेवा प्रवाह गर्नका लागि कामपाले नेपाल टेलिकमसँग सम्झौतासमेत गरिसकेको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बाग्मती प्रदेशका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भीर

गोरखा, २३ कात्तिकः सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।

भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

हिमपातपछि मुस्ताङमा अत्यधिक चिसो, याकचौँरी बेँसीमा स्थान्तरण

मुस्ताङ, २३ कात्तिकः एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।

बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताउनुभयो ।

हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।

यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छवटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उहाँको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो ।

यहाँको घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् । समुद्री सतहको उच्चस्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँदयाममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाउनुभयो । यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौँरीपालन गरेका उहाँ बताउनुहुन्छ ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिनुभयो । बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिनुभयो । त्यसैगरी लोघेकर–४ ध्येका चाँैरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताउनुभयो ।

त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

यहाँका पालन गरिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ । मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ ।

यहाँको घरपझोङ र थासाङका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौँरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन् । यहाँ वयस्क याकचौँरीलाई मासुका रूपमा समेत उपयोेग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्छ ।

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार

वीरगञ्ज (पर्सा), २३ कात्तिक- कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको छ ।

शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उहाँले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले सो वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिनुभयो ।

“सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेका छन् । त्यस्ता खालका गुनासालाई सम्बोधन गर्नका लागि अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने खालको अनलाइन प्रणालीको विकास गर्न जुटेका छौँ । सम्भवतः सो कार्य छिट्टै सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो, “सरकारले ठूलो धनराशिको रासायनिक मल खरिद गरेर किसानलाई अनुदानका रूपमा सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । तर, अनुदानको मलमा वितरण प्रणालीमा कतै न कतै समस्या भने कायमै छ । सो कमजोरीलाई सुधार्न हामीले खोजिरहेका छौँ ।”

मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले रासायनिक मल प्राप्त गर्न नसकिरहेको जानकारी दिनुभयो ।

“कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने वितरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्दैछौँ । यो प्रणालीले मल प्राप्त गर्ने र नगर्नेको मूल्याङ्कन गर्न पनि सहज हुनेछ”, उहाँले भन्नुभयो, “मल वितरण प्रणालीमा अहिले पहुँचवालाको मनलाग्दीलाई पनि अन्त्य गर्न सहयोग पुग्नेछ”, मन्त्री परियारले अनुदानको मल वितरणमा भएको त्रुटिलाई दीर्घकालीन रूपमा सम्बोधन गर्नेगरी अनलाइन प्रणालीको विकास गर्न लागेको बताउनुभयो । “सरकारी अनुदानको मल कुन सहकारीमा कति पुग्यो, कुन–कुन किसानले प्राप्त गरे भन्ने खालको तथ्यपरक तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने खालको संरचना निर्माणको तयारीमा जुटिरहेका छौँ । यसले अनुदानको रासायनिक मल दुरुपयोग रोक्नलाई सहज हुने अपेक्षा राखेका छौँ ।”

सरकारले अहिले युरिया मलको आयात विन्दुको मूल्य रु १४ प्रतिकिलोग्राम तोकेको छ । त्यस्तै डिएपीको प्रतिकिलोग्रामका लागि रु ४३ र पोटास प्रतिकिलोग्रामका लागि रु ३१ तोकेको छ । मन्त्री परियारले सरकारले निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरेर किसानलाई सस्तो मूल्यमा अनुदानको मल उपलब्ध गराउँदै आइरहेको दाबी गर्नुभयो । “रासायनिक मलको माग बर्सेनि वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष साढे चार लाख मेट्रिक टनदेखि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै आइरहे पनि किसानको माग अझै थेग्न सकिने अवस्थामा पुगेको छैन”, उहाँले भन्नुभयो, “किसान पनि प्राङ्गारिक मल प्रयोग गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।” मन्त्री परियारले विगतका वर्षमा जस्तो यो वर्ष रासायनिक मलको हाहाकार नहुने दाबी गर्नुभयो ।

फरक प्रसङ्गमा कृषिमन्त्री परियारले उखु किसानको विगतमा प्रतिक्विन्टल रु ७० दिँदै आएको अनुदानलाई निरन्तरता दिनका लागि मन्त्रिपरिषद्मा लगिसकेको जानकारी दिनुभयो । “उखु किसानको समस्याको विषयमा गम्भीर छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालयको तर्फबाट आवश्यक समन्वय हुने काम भइरहेको छ ।”

मन्त्री परियारले कृषिमा यान्त्रिकीकरण गर्न जरुरत भएको बताउनुभयो । कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रले कृषि औजार प्रयोग गरेर खेतीकिसानी गर्न सकेको खण्डमा बाली लगाउने लागत घटाएर उत्पादकत्व बढाउन सकिने बताउनुभयो । “सरकारले कृषि औजार यान्त्रिकीकरणमा विशेष जोड दिने बेला भइसकेको छ । यान्त्रिकीकरणका माध्यमबाट कृषिमा राम्रो फड्को मार्न सकिनेछ ।”

कृषि अनुसन्धान निर्देशानलय परवानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवले निर्देशनालयले लाइफस्टकअन्तर्गत भैँसीपालन गर्न थालेको बताउनुभयो । “यहाँ कृषि क्षेत्रसँग भएका नवीनतम् अभ्यासको काम गर्दै आइरहेको छ । सरकारले कृषि अध्ययन अनुसन्धान र यान्त्रिकीकरणमा आवश्यक सहयोगको आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका उप प्रमुख डा अजित झाले सरकारले उन्नत जातका पन्छीका अण्डाहरू अनुसन्धान प्रयोजनमा ल्याउनका लागि सहज वातावरण मिलाउनुपर्ने बताउनुभयो । “अहिले नेपालमा उन्नत जातका पन्छीका अण्डा ल्याएर यहाँ अध्ययन अनुसन्धान प्रयोजनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ”, उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले अध्ययन र अनुसन्धानका लागि आवश्यक सहजीकरण गर्न जरुरी भइसकेको छ ।”

कृषि मन्त्री परियारले आजै साल्ट्र टे«डिङ कर्पाेरेसन, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जसँग मौज्दात रहेको रासायनिक मल तथा नुनको उपलब्धताको विषयमा जानकारी लिनुभएको थियो । त्यसैगरी, मन्त्री परियारले राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, बाराको फत्तेपुरका उखु कृषक, जीतपुर सीमरा उमहानगर वडा नं ८ का उखु किसान, बाराको कोल्हवीका माछापालक कृषक, निजगढका केराखेती गर्ने किसानलगायतसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम गर्नुभएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

दोधारा चाँदनी (कञ्चनपुर), २३ कात्तिक – यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उहाँमा थियो ।

आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ । “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुसी भएका थियौँ”, थापाले भन्नुभयो, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिलेसम्म बनेन ।”

उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सजह छैन । वर्षात्को समयमा त उक्त सडक बन्द हुने गरेको उहाँको भनाइ छ । “सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै”, उहाँले भन्नुभयो, “हाम्रो मुख्य समस्या भनेकै सडक हो, सडक नहुँदा निकै सास्ती खेप्नुपरेको छ ।” उहाँले दुई घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताले नातिनीलाई कैलालीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताउनुभयो । अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उहाँको भनाइ थियो ।

बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आउनुभएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही हुनुभयो । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उहाँको उत्साह पनि निराशामा परिणत भएको छ । “करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्रयाक (मार्ग) खुलेको छ, अझै आशा त मरेको छैन तर सडक बनिसक्नुपर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन”, उहाँले भन्नुभयो, “सरकारले ढिलाइ गर्नु भएन यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उहाँले सडक निर्माणपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा समेत ठूलो भूमिका खेल्न सक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन् । “यो सडक यातायातका लागि मात्र नभई व्यापारिक हिसाबले महत्त्वपूर्ण छ ।” उहाँले भन्नुभयो, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।”

उहाँले करिडोर सञ्चालनमा आए सुदूरपहाडका जनताको आर्थिक अवस्थामा पनि सुधार आउने बताउनुभयोे । “करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठआठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ”, उहाँले भन्नुभयो, “यो सुदूरपहाडका जनताका लागि लाइफ लाइन नै हो ।”

करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हँुदै टिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।

महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा पनि बजेट अभाव, प्रक्रियागत उल्झन र सरकारी उदासिनताका कारण अलपत्र अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिलर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निर्माणपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । यसका साथै धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत उल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिनसकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्पजस्तै छ ।

चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाखमात्र बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिनुभयो । उक्त बजेटले निर्माण व्यवसायीको पनि भुक्तानी गर्न सकिँदैन । “योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” उहाँले यही गतिमा बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने बताउनुभयो ।

योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर मार्ग खुलिसकेको छभने डडेल्धुरामा २८ किलोमिटर खुलेको छ । त्यसैगरी, बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर मार्ग खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडकखण्डमा मार्ग खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा मार्ग खोल्न बाँकी छ । हाल योजनाले छवटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमीमा सडक कालोपत्रको काम निर्माणाधीन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०–१० किमी गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निमार्णाधीन छ ।

आर्थिक वर्ष २०६५÷६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोडमा आर्थिक वर्ष २०८०÷८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायत प्रक्रियागत उल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै

काठमाडौँ, २३ कात्तिकः सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वल्र्ड’को औपचारिक शुभारम्भ गर्नुहुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । नेपाल सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्री समावेश गर्नेछ ।

विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पिएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुनःस्थापनापछि भएको हो । विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसद्बाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । ऐन कार्यान्वयनका क्रममा लोकसेवा आयोगका अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते पिएसबी नेपालको पहिलो नेतृत्वकर्ताका रूपमा डा विष्ट कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

यस संस्थाले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएपश्चात गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी विषयवस्तुसहित जनउत्तरदायी सार्वजनिक सेवा प्रसारणका कार्य गर्दै आएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत विनियमावली तर्जुमालगायत कार्य भने प्रक्रियामा छन् ।

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

देउखुरी (दाङ) – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो ।

प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शवपरीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उहाँले ‘पोष्टमार्टम रिपोर्ट’ आएपछि थप कुरा प्रस्ट हुने उल्लेख गर्नुभयो । उहाँले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ ।

आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ साल कात्तिक २२ गतेका दिन प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको छ ।”

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

किमाथाङ्का (सङ्खुवासभा), २२ कात्तिकः दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ । प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको हो ।

सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रको किमाथाङ्का नाकासम्मका दुर्गम गाउँबस्तीमा लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्गम तथा ग्रामीण बस्तीमा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । उहाँका अनुसार यही कात्तिक १८ गतेदेखि छ दिनसम्मका गस्ती सुरु गरिएको हो ।

प्रहरी नायब उपरीक्षक मैनालीसहितको टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिलागोला, चेपुवा, किमाथाङ्का, हटियागोला, मकालु गाउँपालिकाको हेदाङना, नुमलगायत बस्तीमा गस्ती गर्ने जनाइएको छ ।

स्थानीय क्षेत्रमा शान्तिसुरक्षाको अवस्था सुदृढ गर्नाका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।

विकट भौगोलिक अवस्था र दुर्गम क्षेत्रमा नियमित गस्ती, समुदायसँग भेटघाट र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन यो गस्ती उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । भोटखोला उत्तरी क्षेत्र चीनसँग जोडिएको छ ।

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौँ, २२ कात्तिकः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको हो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरेका हुन् ।

मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्ककका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।

खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ ।

मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षतिको तथ्याङ्ककका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी, २२ कात्तिकः प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत आज भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुआत गरेको छ ।

जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्‍यो । एनआरवाइसी यो हारसँगै लिग चरणबाटै बाहिरिएको छ । उसको यो दोस्रो हार हो । एनआरवाइसी यसअघि शुक्रबार त्रिपुरा क्रिकेट क्लबसँग १८६ रनले पराजित भएको थियो ।

जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलव दुई ओभरमा १३८ रनमा ‘अलआउट’ भयो । जसमा निशान्त जोशीले अर्धशतकीय पारि खेल्दै ५९ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । खेलका ‘प्लेयर अफ द म्याच’ समेत भएका जनसेवाका नरेन्द्र चन्दले तीन विकेट लिए भने भरत चन्द र कमलेश महरले दुई÷दुई विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो । जनसेवाका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारि खेले । एनआरवाइसीका भूपेन्द्र चन्दले चार र सुशील भाटले तीन विकेट झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यस्तै ‘म्यान अफ दी सिरिज’लाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।

दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने ट्रम्पको भनाइ

दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताउनुभएको छ ।

दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ। ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्स यस महिनाको अन्त्यमा उहाँको सट्टा बैठकमा सहभागी हुने बताउनुभएको भए पनि यसलाई संशोधन गर्दै अमेरिकी प्रतिनिधिहरूले यसलाई पूर्ण रूपमा वेवास्ता गर्ने बताउनुभएको छ।

“जी–२० दक्षिण अफ्रिकामा आयोजना गरिनु पूर्ण रूपमा लज्जाको बिषय हो,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा भन्नुभयो ।उहाँले भन्नुभयो, “यी मानवअधिकार उल्लङ्घनहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित हुने छैनन्।”

ट्रम्पले भन्नुभयो, “दक्षिण अफ्रिकाका युरोपबाट आप्रबासन गरी सवैभन्दा पहिले बसोबास गर्ने श्वेत अफ्रिकीहरूलाई ‘हत्या’ गरिएको र उनीहरूको जग्गा र खेतहरू अवैध रूपमा जफत गरिएको छ।”

उहाँले थप्नुभयो, “संयुक्त राज्य अमेरिका सन् २०२६ को जी–२० शिखर सम्मेलन आयोजना गर्न उत्सुक छ । अर्बपति अमेरिकी राष्ट्रपतिले विवादास्पद रूपमा फ्लोरिडाको मियामीमा रहेको आफ्नै गल्फ रिसोर्टमा सम्मेलन आयोजना गर्ने यस पहिले नै घोषणा गर्नुभएको छ।

दक्षिण अफ्रिकी विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई ‘खेदजनक’ भनेको छ र नोभेम्बर २२ र २३ मा तय गरिएको शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गर्ने बताएको छ।

“अफ्रिकीहरूलाई विशेष रूपमा गोरा समूहको देशको रूपमा चित्रण गर्नु ऐतिहासिक छ तर यो समुदायले सतावटको सामना गरिरहेको दाबी तथ्यले प्रमाणित गर्दैन,” विज्ञप्तिमा भनिएको छ।

प्रिटोरियाले आफ्नो जी–२० अध्यक्षताको विषयवस्तुको रूपमा ‘एकता, समानता, र दिगोपन’ रोजेको तर वाशिङ्गटनबाट केही प्रतिरोधको सामना गर्नु परेको जनाएको छ।“दक्षिण अफ्रिकाको ध्यान यसको सकारात्मक विश्वव्यापी योगदानमा केन्द्रित छ,” विदेश मन्त्रालयले भनेको छ।

“जातीय विभाजनबाट लोकतन्त्रसम्मको हाम्रो आफ्नै यात्रालाई ध्यानमा राख्दै हाम्रो राष्ट्र जी–२० भित्र वास्तविक एकताको भविष्यको विशिष्ट रूपमा काम गर्नेछ।”

जनवरीमा ह्वाइट हाउस फर्केदेखि ट्रम्पले दक्षिण अफ्रिकालाई धेरै मुद्दाहरूमा कठोर व्यवहार गरेको आरोप लगाउनुभएको छ । विशेष गरी दक्षिण अफ्रिकामा ‘श्वेत नरसंहार’ हुने गरेको दावी उहाँको छ।

उहाँले यस वर्षको सुरुमा ओभल अफिसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाविरूद्ध बोल्दै रङ्गभेद पछिको सरकारद्वारा गोरा किसानहरू विरुद्धको अभियान चलाएको आरोप लगाउनुभएको थियो । दक्षिण अफ्रिकाको सरकारले यस्तो कुनै पनि नीतिलाई अस्वीकार गर्दछ।

ट्रम्पको प्रशासनले गत हप्ता संयुक्त राज्य अमेरिकाले वार्षिक रूपमा स्वीकार गर्ने शरणार्थीहरूको सङ्ख्यालाई सात हजार ५०० को रेकर्ड न्यूनतम सङ्ख्यामा घटाउने र गोरा दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने योजना घोषणा गरेको थियो ।

संयुक्त राष्ट्र संघको सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय न्याय अदालतमा गाजामा इजरायललाई नरसंहारको आरोप लगाएको दक्षिण अफ्रिकाको मुद्दा लगायतका मुद्दाहरूमा पनि दुई देशहरू विवादमा परेका छन्।

यसैबीच ट्रम्पले दक्षिण अफ्रिकाबाट आयातच हुने सामानमा ३० प्रतिशत कर लगाउनुभएको छ र यो उप–सहारा अफ्रिकामा सबैभन्दा उच्च हो।

फाइजरले १० अर्ब डलरमा मेटसेरालाई किन्ने तयारी

डेनिस प्रतिद्वन्द्वी नोभो नोर्डिस्कले बोलकबोल रोक्ने घोषणा गरेपछि मेटसेरालाई अधिग्रहण गर्ने तयारी गरेको फाइजरले शनिबार जनाएको छ।

मोटोपन उपचारमा विशेषज्ञता हासिल गरेको अमेरिकी फर्म मेटसेरा अमेरिकी औषधि दिग्गज फाइजर र नोभो नोर्डिस्कबाट बढ्दो प्रस्तावहरूको विषय बनेको थियो । तर नोभो नोर्डिस्क पछि हटेपछि तौल घटाउने औषधि वेगोभी र मधुमेह प्रतिरोधी औषधि ओजेम्पिक उत्पादन गर्दै आएको मेटसेराको शेयर मूल्य किनेर गाभ्ने तयारी गरेको फाइजर बताएको छ ।

शुक्रबार जारी एक प्रेस विज्ञप्तिमा मेटसेराले भनेको छ, “फाइजरले प्रति शेयर ८६.२५ सम्ममा यसलाई प्राप्त गर्न सुधारिएको प्रस्ताव गरेको बताएको छ। यसरी हेर्दा मेटसेराको सबै सेयर किन्न करिब ४१० अर्ब अमेरिकी डलरको सम्झौता भएको छ।”

मेटसेराको सम्झौताका लागि जिम्मा पाएको सञ्चालक समितिले स्टकहोल्डरहरूले संशोधित फाइजर मर्जर सम्झौतालाई स्वीकार गर्न र मर्जरलाई अनुमोदन गन ‘सर्वसम्मतिले सिफारिस गरेको बताएको छ।

शेयरधनीहरूको नोभेम्बर १३ को बैठकपछि ‘तुरुन्तै’ सम्झौता कार्यान्वयनमा लाने अपेक्षा गरिएको छ।फाइजरको पछिल्लो प्रस्तावले सेप्टेम्बरमा कम्पनीहरूले गरेको प्रारम्भिक सम्झौताको तुलनामा यसको मूल्याङ्कन दोब्बर हुनेछ ।

डेनिस फर्म नोभो नोर्डिस्कले शनिबार भनेको छ, “कम्पनीले ‘मेटसेरा’ अधिग्रहण गर्ने प्रस्ताव गर्ने कुनै थप चाहना राख्नेछैन।”फाइजरले ‘व्यापार विकास र अधिग्रहणका लागि अवसरहरूको मूल्याङ्कन गर्ने कार्यलार्ई जारी राख्नेछ र अधिग्रहणपछिको रणनीतिक उद्देश्यहरूलाई अगाडि बढाउने बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ सम्ममा विश्वभर एक अर्बभन्दा बढी मानिसहरू मोटोपनको साथ बाँचिरहेका र ८० करोडभन्दा बढी मानिसहरू मधुमेहको समस्यासाथ बाँचिरहेका बताएको समय यससम्बन्धी औषधी उत्पादन गर्ने मेटसेराको अधिग्रहणलाई फाइजरले विशेष चासोका साथ हेरेको थियो।

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौँ, २२ कात्तिकः ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ का ३१ वर्षीय सोनामसिंह घिसिङ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ३५ वर्षीय सुमन रुपाखेती, रौतहटको बौधिमाई नगरपालिका–२ का २४ वर्षीय बिकि ठाकुर हजाम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय अनिल मोक्तान र सुनसरीको हरिनगर गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार कुशुहवालाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बढीभन्दा बढी सवारी चालकलाई कारबाही गरेर हामी सक्षम छौँ भन्ने वा अब्बल बन्ने कोसिस गर्दैनाँै । सडक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने वातावरणको सृजना गर्नु, सडकमा हुने दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक बनाउनु हाम्रो लक्ष्य हो ।”

आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो ।

महामन्त्री थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड

गोरखा, २२ कात्तिकः नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । जिल्ला समितिले महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकाअनुसार पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको हो ।

आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानले विधानअनुसार महाधिवेशन हुन नसके ५४ प्रतिशत प्रतिनिधिले माग गरेबमोजिम विशेष महाधिवेशन हुनुपर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिनुभयो ।

“महामन्त्रीले माग गरेबमोजिम महाधिवेशन हुँदैन भने ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन हुनुपर्छ भन्ने निर्णय जिल्ला समितिले गरेको छ”, उहाँले भन्नुभयो, “हामीले सोही अनुसार केन्द्रीय समितिलाई अनुरोध गर्नेछौँ ।”

कांग्रेसको विधानले जिल्ला समितिसहित सबै तहको कार्यकाल चार वर्षका लागि तोेकेकाले आगामी मङ्सिरमा सबै तहको कार्यकाल सकिने भएकाले पुसमा नियमित अधिवेशन हुनुपर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कांग्रेस गोरखाका ५१ महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरेका छन् ।

बैठकले विषम परिस्थितिमा देशले निकास खोजिरहेका बेला जिल्लाभित्रका ११ वटै पालिकामा पार्टीले भेला गरेर नागरिकहरूसँग छलफल र आवश्यक संवाद गर्ने निर्णयसमेत गरेको सभापति न्यौपानेले बताउनुभयो । वर्तमान अवस्थामा देशलाई निकास दिनका लागि पनि तत्काल पार्टीको महाधिवशेन जरुरी रहेको उहाँको भनाइ छ ।

किसानले भित्र्याउने तयारी गरेका धानबालीमा वर्षाले ठूलो क्षति पु¥याएकाले स्थानीय प्रदेश र सङ्घीय सरकारलगायत सरोकार भएका निकायसँग पीडित किसानलाई विशेष राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको भ्रातृ सङ्गठनलाई थप चलायमान बनाउन तथा विकास निर्माणका योजनालाई समयमा सम्पन्न गर्नेगरी दबाब दिने निर्णय बैठकले गरेको छ । जिल्ला सभापति न्यौपानले वर्तमान सरकार संविधानअनुसार बन्यो वा बनेनभन्दा पनि यो जेनजीको माग र आन्दोलनको मर्मबाट बनेको सरकार भएकाले स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“यो सरकार आन्दोलनबाट बनेकाले हामीले स्वीकार गर्नुपर्छ । यो युवा पुस्ताको सङ्घर्ष र मागपछि बनेकले हामी निर्वाचनमा जानु पर्छ”, उहाँले भन्नुभयो, “हामीले विगतमा गरेका आन्दोलनबाट पनि कतिपय कुराहरू भत्कायौँ र नयाँ ढङ्गले अगाडि बढ्यौँ । त्यसैले अहिले जेनजीको आन्दोलनपछि जुन सरकार बनेको छ र फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ, उक्त निर्वाचनमा सहभागी हुनुपर्छ र कांग्रेस गोरखा निष्पक्ष निर्वाचनको पक्षमा छ ।”

अन्तरराष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौँ, २२ कात्तिकः त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा केसीले जेनजी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताउनुभयो । पछिल्लो पुस्तालाई अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्रनीतिको महत्त्वबारे बुझाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

“राजनीतिक दल र नेताहरूले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रुपबाट जेनजी आन्दोलन जन्मिएको हो”, उहाँले भन्नुभयो, “तर, युवाले अन्तरराष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनैतिक महत्त्वबारे बुझ्न जरुरी रहेको देखेको छु । र युवालाई यसबारे बुझाउनु हाम्रो दायित्व पनि हो ।”

प्राध्यापक डा युवराज सङ्ग्रौला र पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा चन्द्रलाल पाण्डे जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

डा सङग्रौलाले जेनजी पुस्ताले चाहेको रुपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । डा पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिनुभयो । पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गर्नुभएको थियो ।

डा हरिप्रकाश चन्दले अन्तरराष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राख्नुभयो । उहाँले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तरराष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । “परराष्ट्रनीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ”, उहाँले भन्नुभयो, “तर, हामीले परराष्ट्र नीतिलाई खासै महत्त्व दिएको पाइँदैन ।”

कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्धका विद्यावारिधी (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तरराष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताउनुभयो । कार्याक्रममा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाह पनि उपस्थित हुनुहुन्थ्यो ।

हजारौं समर्थकको साथमा सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ ।सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।

दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो ।दोस्रो दिन शनिबार ट्रफीलाई बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरियो।

त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी ट्रफी टूर सम्पन्न भएको थियो ।शुक्रबार धनगढीबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी टूरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दिपक विष्ट, तथा खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए ।ट्रफी टूरको क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति पनि दिएका थिए ।

 

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौँ, २२ कात्तिकः ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बाग्मतीको गोठाटार पहेँलो पुल क्षेत्रमा सफाइ गरी नकुहिने करिब साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइ महाअभियानका ६५२औँ हप्तामा आज गोठाटार नयाँबस्ती पहेँलो पुल क्षेत्रको बाग्मतीमा सफाइ गर्दा धेरैजसो नकुहिने फोहर नदीमा फालेको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्याल, गोकर्णश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीलगायत ५० जना अभियानकर्मीको सहभागिता थियो । सफाइबाट उठाइएको फोहर गोकर्णेश्वर नगरपालिकाको ट्रकमा राखी व्यवस्थापन गरिएको शाहीले बताउनुभयो ।

अर्को साता (कात्तिक २९ गते)को सरसफाइ कार्यक्रम सोही नगरपालिकाको जम्बो डाँडा, प्रहरी अघिको बाग्मती नदी किनार र पारिपट्टिको गोठाटार क्षेत्रमा गरिने माथिल्लो बाग्मती सफाइ अभियानका अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सञ्चालन हुँदै आएको छ । जाडो, बर्सात्, चाडपर्व, विपद् जस्तोसुकै अवस्थामा पनि सफाइ महाअभियान निरन्तर चलिरहेको छ । यो महाअभियान विश्वमा लामो अभियानका रूपमा अघि बढेको दाबी गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यो महाअभियान सुरु भएको थियो ।

मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।

संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ जना सांसदको मत रहेको छ ।

वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा) – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने रु एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिनुभयो ।

वीरगञ्ज नाका हुँदै तीन महिनामा रु ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । रु १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । रु १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

त्यस्तै रु १२ अर्ब ८१ करोड मूल्य पर्ने मलखाद आयात भएको छ । रु १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ । रु १२ अर्ब छ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपुजा आयात भएका छन् । सोही अवधिमा रु १० अर्ब १२ करोड मूल्य पर्ने यातायातका साधन र तिनका पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।