`

लमजुङमा जिप अनयन्त्रित भई सडकबाट ८०० मिटर तल खस्दा दुई जनाको मृत्यु

लमजुङ, २२ कात्तिक : लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।

घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

कुखुराको आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णयको ब्राजिलद्वारा स्वागत

कुखुराको मासुको विश्वको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक ब्राजिलले यस वर्षको सुरुमा बर्ड फ्लूको प्रकोपपछि उत्पादनको आयातमा इयू र चीनमा लागेको प्रतिबन्ध हटाउने इयू र चीनको कदमको शुक्रबार स्वागत गरेको छ।

प्रकोप पछि मे महिनामा चीन र युरोपेली सङ्घ (इयू)ले ब्राजिलबाट कुखुराको मासुको आयात स्थगित गरेको थिए।ब्राजिलले जुनमा बर्ड फ्लू मुक्त भएको र निर्यात पुनः सुरु गर्ने बताएको थियो।“बिस्तारै, कुखुराको मासुका सबै प्रमुख आयातकर्ताहरूले खरिद पुनः सुरु गरेका छन्,” ‘ब्राजिलियन एनिमल प्रोटिन एसोसिएसन (एबिपिए)’ ले शुक्रबार आफ्नो वेबसाइटमा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हालै, युरोपेली सङ्घले ब्राजिलबाट कुखुरा ढुवानी पुनः सुरु गर्ने घोषणा गरेको थियो भने चीनले शुक्रबारदेखि प्रतिवन्ध फुकुवा गरेको छ।” एबिपिएले निर्यात पुनः सुरु गर्न ब्राजिल सरकारले ‘व्यापक र तीव्र कूटनीतिक प्रयास’ गरेको बताएको छ।निलम्बन अघि चीन ब्राजिलबाट कुखुराको मासुको सबैभन्दा ठूलो आयातकर्ता थियो।

एबिपिएका अनु्सार जनवरीदेखि मे महिनाको बीचमा चीनले दुई लाख २६ हजार २०० टन कुखुराको मासु आयात गरेको थियो । यसबाट ब्राजिलले ५४ करोड ५० लाख ८० हजार अमेरिकी डलर राजस्व आर्जन गरेको थियो । हालैका वर्षहरूमा ‘एभियन फ्लू’ विश्वव्यापी रूपमा फैलिएको र केही मानव मृत्युसमेत भएको छ, जसले गर्दा कुखुराको मासुको मात्राको प्रयोगमा व्यापक कटौती भएको छ भने अण्डाको मूल्य बढेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसहरूमा सङ्क्रमणले उच्च मृत्युदरको साथ गम्भीर रोग निम्त्याउन सक्छ, तर भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने देखिँदैन।अहिलेसम्म पत्ता लागेका मानव सङ्क्रमण प्रायः सङ्क्रमित चरा र अन्य जनावर वा दूषित वातावरणसँग नजिकको सम्पर्क भएका मानिसहरूमा थिए।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ७०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १४०, भटमास कोसा प्रतिकिलो रु २००, तीतो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकेजी रु २५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु ४००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ११०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ८००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११५, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ६०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २४०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु ९००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काक्रो (लोकल क्रस) प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

नेपाल दक्षिण अफ्रिकासँग पराजित

काठमाडौँ, २२ कात्तिक : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।

जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।

यता नेपालका लागि लोकेश बमले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

रहेनन् पूर्वमन्त्री मोहम्मद अफताब आलम

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका आलमको गएराति निधन भएको हो ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौं मेडिकल कलेज ९केएमसी०मा भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनको गएराति साढे २ बजे निधन भएको जनाइएको छ । उनको मिर्गौला फेल भएको भएपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।

गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनी बिरामि भएका थिए । उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो ।

तनहुँमा दैनिक ४० वटा राहदानीको कोटा निर्धारण

दमौली (तनहुँ), २ कात्तिक-जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०ः३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एकवटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरुबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ । विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ ।

‘थानकोटमा करिव एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो’

काठमाडौँ, २२ कात्तिक : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।सो अवसरमा उहाँहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो ।

सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुहुँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिनुभएको थियो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शथ्याको अस्पताल बन्न लागेको हो । यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेण्डर’का चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिव एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ । नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर ) तयार पारेका थिए ।

गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्लूको केन्द्रिय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो ।

असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी

काठमाडौँ, २२ कात्तिकः गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ ।गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग

काठमाडौँ, २२ कात्तिक :आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ ।

मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ, २१ कात्तिक : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालमा सञ्चालिन सिसं १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगतमात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्नसमेत निर्देशन दिनुभएको छ ।

दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई हार्दिक बधाई दिनुुहुँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले सीमित स्रोत साधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहेनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्नुहुँदै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पुर्याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतका रूपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरूलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले आधारभूत तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई पेसागत जीवनको पहिलो खुट्किलो पार गरी राष्ट्र सेवामा प्रवेश गरेको बताउनुहुँदै कार्यक्षेत्रमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न लिएको प्रत्येक कार्य, निर्णय र व्यवहारले व्यक्तिगत छविसँगै सङ्गठनको प्रतिष्ठाको समेत प्रतिनिधित्व गर्ने बताउनुभयो ।

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा, २१ कात्तिक : शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

खेलको ७०औँ मिनेटमा पुलिस क्लबले खेलमा अग्रता बनाएको थियो । पुलिस क्लबकी मीना देउवाले सटिक हेडमार्फत पहिलो गोल गरेकी थिइन् । यसपछि ८२औँ मिनेटमा पुलिस क्लबकै रेखा पौडेलले दोस्रो गोल गरिन् ।

खेलको प्लेयर अफ द म्याच पुलिस क्लबकी रेखा पौडेल भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । दुई–शून्य गोलको जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छभने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार एपिएफ र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनलको अर्को प्रतिस्पर्धा हुनेछ ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर, २१ कात्तिक : कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो । राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किँदा राना गम्भीर घाइते भएका थिए ।

उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा दिउँसो रानाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उहाँको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेकोे छ ।

हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, २१ कात्तिक : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले आज उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, “अन्तरवस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुनसक्ने विषय देखिए समेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै रात्रि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन”, अदालतले आगामी मङ्सिर ९ गतेका लागि पेसी तोकेको छ ।

न्यायाधीश निरौलाको इजलासले यही कात्तिक १८ गते कारण देखाऊ आदेश जारी गर्दै सात दिनभित्र लिखित जवाफ माग गरेको थियोे भने दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियोे । प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै आफूलाई पुनःबहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियोे ।

अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । वर्तमान सरकारले शाक्यलाई सरुवा गरेका थियो ।

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताउनुभएको छ । उहाँका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्धहरू हटाउन माग गर्दै आएको छ ।

मध्य एसियाली नेताहरूसँगको रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “स्पष्ट रूपमा भन्नुपर्दा, इरानले प्रतिबन्धहरू हटाउन सकिन्छ कि भनेर सोधिरहेको छ । उनीहरू अत्यन्त कठोर अमेरिकी प्रतिबन्धको चपेटामा छन्, जसले उनीहरूको स्थिति साँच्चै कठिन बनाएको छ । म यो विषय सुन्नका लागि खुला छु र के हुन्छ भनेर हेर्नेछौँ, तर म यसबारे छलफल गर्न इच्छुक छु ।”

संयुक्त राज्य अमेरिका र पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार प्राप्त गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्, तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

सन् २०१८ मा अमेरिका तत्कालीन अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट पछि हटेपछि र पुनः कठोर आर्थिक प्रतिबन्धहरू लागू गरेपछि इरान वर्षौंको अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको थियो ।

यस वर्ष जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध अभूतपूर्व हवाई आक्रमण अभियान सुरु गरेपछि युद्ध भड्किएको थियो । सो आक्रमणका क्रममा अमेरिकाले पनि केही समयका लागि इजरायलको पक्षमा इरानी आणविक स्थलहरूमा आक्रमणमा भाग लिएको देखिएको थियो ।

१२ दिन लामो उक्त युद्धमा इजरायली बमबारीको प्रत्युत्तरमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो, जसका कारण तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता स्थगित भएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “इरान एक समय मध्यपूर्वको ‘बदमाशी’ राष्ट्र थियो, तर अहिले त्यसले आणविक हतियारको सम्भावना गुमाइसकेको छ ।” जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि उहाँले हालको आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गरेको बारम्बार दाबी गर्दै आउनुभएको छ, यद्यपि क्षतिको वास्तविक स्तर अझै स्पष्ट भएको छैन ।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घले बेलायत, फ्रान्स र जर्मनीको पहलमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत तेहरानविरुद्धका पुराना प्रतिबन्धहरू पुनः लागू गरेको थियो । ती प्रतिबन्धले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै आर्थिक कारोबारलाई रोक लगाएका छन् ।

अमेरिका–इरानबीचको आणविक वार्ताका धेरै चरणको संयोजन गरिसकेको ओमानले पुनः दुवै पक्षलाई वार्तामा फर्किन आग्रह गरेको छ । वार्ताको उद्देश्य नयाँ सम्झौता तर्जुमा गर्नु हो, जसअन्तर्गत इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सर्तमा प्रतिबन्धहरूको केही राहत पाउनेछ ।

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “यदि इरानले शान्तिपूर्ण बाटो रोज्छ भने, भविष्यमा सहकार्यका ढोका खुला रहनेछ ।”

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ।“युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेख्नुभयो ।

उहाँले भन्नुभयो, “युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रूसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।”धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।

ब्रसेल्सले भनेको छ, “अबदेखि रूसी नागरिकहरूले इयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ।”

नयाँ नियमहरू ‘स्वतन्त्र पत्रकार र मानव अधिकार रक्षकजस्ता जायज मामिलाहरूको लागि अपवाद’ हुने बताइएको छ। गत महिना नयाँ प्रतिबन्धहरूमा २७ सदस्य राष्ट्रहरूको समूह (इयू) मा तैनाथ रूसी कूटनीतिज्ञहरूको यात्रामा समूहले पहिले नै कडा नियन्त्रण गरिसकेको छ।

रूसप्रति कडा अडान राख्ने केही देशहरूले युक्रेनमा युद्ध चलिरहेको बेला पर्यटनको लागि स्वतन्त्र रूपमा सहज यात्रा गर्न सम्भव छैन भन्दै लामो समयदेखि साधारण रूसीहरूमा कडा भिसा सीमाको लागि जोड दिइरहेका थिए । उनीहरूले सन् २०२२ मा रूससँगको आफ्नो भिसा सहजीकरण सम्झौता निलम्बन गरेको र सदस्य राष्ट्रहरूलाई रूसीहरूको लागि भिसामा ‘रोक’ लगाउन निर्देशन गरेको छ।

ब्रसेल्सका अनुसार इयूले रूसीहरूलाई दिएको भिसाको सङ्ख्या युद्धअघिको ४० लाख थियो भने यो सन् २०२३ पछि घटेर पाँच लाखमा सीमित भएको छ। कूटनीतिज्ञहरूले स्वीकृतिको सङ्ख्या पछिल्ला दिनहरूमा फेरि बढ्न थालेको बताएका छन् ।

पर्यटक आकर्षण केन्द्र फ्रान्स, स्पेन र इटाली यसरी सबैभन्दा धेरै भिसा प्रदान गर्ने देशहरू हुन्।कडा रोक लगाउनु पर्ने पक्षधर मुलुकहरूले साधारण रूसीहरूले युद्धबाट बढी प्रभाव महसुस गर्नुपर्छ भन्ने कुरामा जोड दिए पनि, क्रेमलिनका विपक्षीहरूले समूहलाई युरोपबाट उनीहरूलाई अलग नगर्न आग्रह गरेका छन्।

विपक्षी नेता युलिया नाभाल्नायाले सेप्टेम्बरमा भन्नुभएको थियो, “व्यापक प्रतिबन्धहरू लगाउने निर्णय ‘गम्भीर गल्ती’ हुनेछ किनकि यसले सबै रूसीहरूप्रति युरोप शत्रुतापूर्ण धारणा राख्छ भन्ने क्रेमलिनको दावीलाई बढावा दिनेछ ।

उहाँले युरोपेली सङ्घलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका अभिजात वर्गलाई लक्षित गर्दै रूसी नेतालाई दबाब दिन प्रयास गर्न तर सबै रूसी नागरिकलाई आवतजावतमा रोक नलगाउन आग्रह गर्नुभयो । “युरोपमा शान्ति प्राप्त गर्ने उद्देश्यका लागि रूसी समाजलाई अलग गर्न रूसी अधिकारीहरूलाई सहयोग गर्नु प्रतिकूल हुनेछ,” नाभाल्नायाले कल्लासलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

प्रदर्शनको क्रममा लुटिएको ‘ग्यास गन’ सहित एक जना पक्राउ

काठमाडौँ – गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीगट्ठाहरूमध्ये निज ढुङ्गानाले आफ्नो कोठामा लुकाइ राखेको भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो ।”

निजको साथबाट प्रहरीले ११००६०८१ नम्बर भएको कोरियामा बनेको एन्टी रायट गन ३८ मिमी लेखिएको मल्टी ‘ग्यास गन’ एक थान, भीड नियन्त्रणमा प्रयोग हुने ‘लेग गार्ड’ एक थान तथा सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।

आज निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।”

रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

जापानद्वारा दुई वर्षमा पहिलोपटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध अन्ततः हटेको छ । जापानले शुक्रबार यस कदमपछि पहिलोपटक चीनलाई समुद्री खाद्य निर्यात पुनः सुरु गरेको घोषणा गरेको हो ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार, होक्काइडोमा उत्पादन गरिएको करिब छ मेट्रिक टन (६.६ टन) स्क्यालप बुधबार चीन पठाइएको थियो । यो ढुवानी सन् २०२३ को अगस्टमा बेइजिङले सबै जापानी समुद्री खाद्य पदार्थमाथि लगाएको प्रतिबन्धपछि पहिलो आधिकारिक निर्यात हो ।

किहाराले पत्रकारहरूलाई भन्नुभयो, “यो पुनः सुरु जापान–चीन सम्बन्धमा सकारात्मक प्रगति हो । सरकारले यसलाई समुद्री खाद्य निर्यातका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।” उहाँले चिनियाँ पक्षलाई बाँकी जापानी निर्यातकहरूको आवेदन पुनः दर्ता गर्न आग्रह गर्नुभएको छ ।

चीनले लामो वार्तापछि गत जुन महिनामा प्रतिबन्धलाई क्रमशः सहज बनाउने र आयात पुनः सुरु गर्ने तयारी गर्ने घोषणा गरेको थियो ।

फुकुसिमा दाइची ऊर्जा संयन्त्रबाट प्रशोधित फोहोर पानीको निकासी जापान भित्रै लामो समयदेखि विवादास्पद विषय बन्यो । यसले स्थानीय उत्पादनको प्रतिष्ठामा असर मात्र नपारी छिमेकी देशहरू — विशेष गरी चीन र दक्षिण कोरिया — सँगको सम्बन्धमा पनि तनाव ल्यायो ।

प्रतिबन्धका कारण जापानको समुद्री खाद्य उद्योग, विशेषतः स्क्यालप र समुद्री काँक्रा निर्यातमा ठूलो असर परेको थियो । चीन जापानी समुद्री खाद्य पदार्थहरूको सबैभन्दा ठूलो विदेशी बजार हो ।

हाल पनि चीनले फुकुसिमा र वरपरका नौ प्रान्तका समुद्री उत्पादनमाथि प्रतिबन्ध कायम राखेको छ । किहाराका अनुसार, जापानले बाँकी प्रतिबन्धहरू हटाउन र जापानी गोमांसको आयात पनि पुनः सुरु गर्न चीनलाई निरन्तर आग्रह गर्नेछ ।

सन् २०११ मा गएको भीषण भूकम्प र सुनामीपछि फुकुसिमा दाइची संयन्त्रमा भएको ट्रिपल मेल्टडाउनले ठूलो मात्रामा रेडियोधर्मी फोहोर पानी चुहावट गरेको थियो । त्यसपछि उक्त फोहोर पानी सङ्कलन गरी ट्याङ्कीहरूमा भण्डारण गरिएको थियो ।

सरकारको स्वीकृति र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को समर्थनसहित जापानले प्रशोधित र कमजोर बनाइएको पानीलाई बिस्तारै समुद्रमा छोड्ने निर्णय गरेको थियो । ट्याङ्कीहरूमा सीमित स्थानले प्लान्टको विघटन कार्यमा अवरोध सिर्जना गर्दै आएकाले अधिकारीहरूले यो कदम आवश्यक भएको बताएका थिए ।

जापानी अधिकारीहरूका अनुसार, प्रशोधित पानीले वातावरण वा मानिसमा पर्ने प्रभाव अत्यन्त न्यून हुनेछ । आइएइएको विस्तृत प्रतिवेदनले पनि पानीको निर्वहनले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेको पुष्टि गरेको छ ।

किहाराले भन्नुभयो, “हाम्रो लक्ष्य जापानी समुद्री खाद्य उद्योगप्रति विश्वास पुनः स्थापित गर्नु र पारदर्शिताका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायलाई निश्चिन्त गराउनु हो ।”

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुईवटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। विष्फोट के कारण भएको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताए ।

उत्तरी जकार्ताको माध्यमिक तहकोसमेत पढाइ हुने मस्जिद नजिकै रहेको क्याम्पसमा स्थानीय समय अनुसार दिउँसो १२ः१५ बजे विस्फोट भएको राजनीति तथा सुरक्षा उप–समन्वय मन्त्री लोडेविज्क फ्रेड्रिक पाउलसले बताउनुभयो ।

के भयो र किन भयो भन्ने बारे तत्काल बोल्नु हतार हुने उहाँले बताउनुभयो । “यो आतङ्कवादी कार्य हो भन्ने निष्कर्षमा नपुग्नुहोस्,” अन्तारा राज्यको सञ्चार माध्यमले लोडेविज्कलाई उद्धृत गर्दै लेखेको छ।

विस्फोट मस्जिदको पछाडि र विद्यालयको ढोका नजिकै भएको थियो।जकार्ता प्रहरी प्रमुख एसेप एडी सुहेरीलेपनि बिष्फोटको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताउनुभयो ।

“हामीले प्राप्त गरेको प्रारम्भिक तथ्याङ्कले लगभग ५४ जना प्रभावित भएको सङकेत गर्छ,“ कोम्पास टिभीद्वारा प्रसारित टिप्पणीमा पत्रकारहरूसँग एसेपले भन्नुभयो।

उहाँले भन्नुभयो, “घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको र उनीहरूलाई सामान्य उपचारपछि घर फर्काइएको छ भने केही व्यक्ति अस्पतालमा उपचाररत छन् ।”

खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल

बनेपा (काभ्रे), २१ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर)बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइकार्यको औपचारिक शुभारम्भ गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा पुगेर उहाँले प्रिन्टिङ प्रेस लाइसेन्स छपाइको आज शुभारम्भ गर्नुभएको हो । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइकार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले यस कार्यले आमसेवाग्राहीले भोगेका सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातका रूपमा रहेको लाइसेन्स छपाइ स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षामात्र गर्दैन, छपाइका नाममा बाहिरिने अर्बौँको विदेशी मुद्रासमेत बचत गर्नेछ ।”

सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताउँदै भन्नुभयो, “वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहरजस्तो भएको थियो ।”

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्र सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

सो अवसरमा सञ्चार सचिव एवं सुरक्षण मुद्रण केन्द्रका अध्यक्ष राधिका अर्यालले आजको दिन विशेष रहेको बताउँदै ‘हजार माइलको यात्रा पहिलो पाइलाबाटै सुरु हुने’ र सोको शुभारम्भ आज सवारीचालक अनुमतिपत्र छपाइबाट सुरु गरिएको बताउनुभयो ।

केन्द्र ऐनले दिएको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सचिव अर्यालले क्रमशः सबै प्रकारका सुरक्षण मुद्रणका सामग्रीहरू स्वदेशमै छपाइ गर्ने दिशामा अघि बढ्न कार्यकारी निर्देशकलाई निर्देशन दिनुभयो ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले केन्द्रबाट लाइसेन्स छपाइ सुरु भएकामा अत्यन्तै उत्साहित रहेको भन्दै यसको दिगोपनाका लागि नगरपालिकाकातर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको पहलमा आफ्नै प्रेसबाट लाइसेन्छ पछाइ सुरु गरेर राज्यको सम्पत्तिको सदुपयोग भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले केन्द्रमा जडित अत्याधुनिक मेसिनरीले सवारी चालक अनुमतिपत्रमात्र नभइ नागरिकता, अन्तःशुल्क स्टिकर, भिसा स्टिकर, लालपूर्जा, हुलाक टिकट र अन्य संवेदनशील सुरक्षण कागजात छाप्न सक्षम रहेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको समझदारीपत्र (एमओयु) बमोजिम केन्द्रले १२ लाख थान स्मार्ट लाइसेन्सको छपाइ आगामी छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

निर्देशक ढुङ्गानाले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ ले दिएको म्यान्डेटअनुसार केन्द्रलाई आत्मनिर्भर बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म करिब रु तीन अर्ब लगानी भइसकेको जनाइएको छ ।

यस छपाइकार्यको शुभारम्भसँगै सवारी चालक अनुमतिपत्रको पर्खाइमा रहेका लाखौँ सेवाग्राही लाभान्वित हुनेछन् भने सार्वजनिक सेवा प्रवाहमा पनि उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले लाइसेन्स छपाइ सुरुसँगै सेवाग्राहीले राहत पाउने बताउनुभयो । उहाँका अनुसार अहिले करिब ३० लाख कार्ड राजस्व लिएर पनि उपभोक्तालाई दिन सकिएको छैन ।

केन्द्रका अनुसार नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ । केन्द्रले छ महिनाभित्र करिब १२ लाख नयाँ लाइसेन्स छाप्ने सहमति गरेको छ । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले नयाँ कार्डमा ‘क्यूआर कोड’ हुने र त्यसमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने बताइएको छ । उहाँले भन्नुभयो, “नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् । ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर स्क्यान गरेर जाँच गर्न सक्नेछ ।”

ढुङ्गानाका अनुसार यो कार्ड ‘स्मार्ट’ हुने भए पनि अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत सुरक्षा प्रविधि भएको हुनेछ । गत जेठ महिनामा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।

संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।

नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टी समेत संकटमा रहेको बताए । उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ ।’

डा. महतले महासमितिको बैठकमा सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रीत भएको बताए उनले २४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न नसकिने बताए ।

उनले भने ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौं तर २४ गते भएको विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिदैन । सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने ।

३६ साल, ४२ साल, ४६ र ६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे, ‘म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ ।’

उद्योग वाणिज्य महासङ्घले ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार काठमाडौँमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासङ्घले जनाएको छ ।

यस्तै कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधि तथा निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारीको सहभागिता रहनेछ ।

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासङ्घले जनाएको छ । उद्योग वाणिज्य महासङ्घले यसअघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो शृङ्खला आयोजना गरेको थियो ।

नेपाल–भारत सीमा नाकामा आवागमन बन्द

चन्द्रपुर (रौतहट), २१ कात्तिक : भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ः०० बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६ः०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिनुभयो ।

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानिँया

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको आज आयोजित २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सार्वजनिक पुस्तकालय निर्माणका लागि बागमती प्रदेशले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले युवालाई प्रविधियुक्त पुस्तकालयमा जोड्नका लागि यस्ता सार्वजनिक पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

सार्वजनिक पुस्तकलायलाई अन्तरराष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री यस पुस्तकालयमा अद्यावधिक गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पुस्तकालयलाई यसअघि सङ्घीय सरकारबट सहयोग प्राप्त भइरहेको भए पनि पछिल्लो समय सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको बताउनुभयो । उहाँले पुस्तकालयको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

शिक्षा मन्त्रालयअन्तर्गत केशर पुस्तकालयका प्रमुख यादवचन्द्र्र निरौलाले प्रदेश सरकारको आफ्नै पुस्तकालयका रूपमा यस सार्वजनिक पुस्तकालयलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारभित्र यसलाई नमूना पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकाय समाजका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य याङकिला शेर्पा, पर्वतस्थित मोती पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, समाजका सदस्यद्धय तीर्थराज वन्त र भोलाकुमार श्रेष्ठलगायतले पुस्तकालयको संस्थागत विकासका लागि तीनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले पुस्तकालयका संस्थापक सदस्य जुजुभाइ डङ्गोलद्वारा लिखित ‘पुस्तकालय ः अध्ययन संस्कृतिको आधार’ पुस्तक विमोचन गर्नुभएको थियो ।

संस्थापक सदस्य डङ्गोलले राजधानी काठमाडौँका बासिन्दालाई अध्ययन संस्कृतिको विकास गर्नका लागि योगदान पुर्याउने उद्देश्यले २०६० सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको जानकारी दिनुभयो ।

पुस्तकालयका प्रशासक तथा व्यवस्थापक लीलाप्रसाद भट्टराईले पुस्तकालयमा दैनिक दुई सयभन्दा बढी पाठकहरू अध्ययनका लागि आउने गरेको बताउनुभयो । यस्तै दैनिक ५० भन्दा बढी पाठकले घरमा पुस्तक लगेर पढ्ने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री डा नारायण खड्का, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर, पूर्वसचिव किशोर थापा, पूर्व राजदूतद्वय राजेश्वर देवकोटा र डा मोहनप्रसाद लोहनी, संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति डा कुलप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ – राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने बताउनुभएको छ । प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताउनुभयो । यसले लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने बिर्सन नहुने उहाँको धारणा थियो ।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिनसक्ने, बुझि नसक्ने र कार्यान्वयन गर्नसक्ने संरचना निर्माण गर्नु हो ।”

उहाँले नेपालको संविधान केवल एउटा कानुनी दस्तावेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबैको प्रतिबद्धता भएको बताउनुभयो । राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ भन्ने सबैलाई जानकारी भएको बताउँदै मुलुक जटिल र गम्भीर अवस्थामा पुगेको अवस्थामा त्यो आपत्तिबाट मुलुक र जनता जोगाउन मात्र कार्यकारी भूमिकामा देखिने जस्तो गरि निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिले हस्तक्षेप गर्नेपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तीत र सचेत छु ।”

उहाँले मुलुकलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेका सुरक्षित अवतरण गराउने जिम्मेवारी राजनीति दलहरूको रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले तर राजनीतिक दलका नेताहरूले मुलुकको यथार्थ अवस्थालाई नजरअन्दाज गरेर अभिव्यक्ति दिँदा त्यसले देश र जनतालाई अन्योलमा पार्ने बताउँदै भन्नुभयो, “राजनीतिक दल र दलका नेताहरूले देश र जनतालाई अन्योलमा राख्ने होइन । मुलुकलाई अन्यौल मुक्त गराउने नेताहरूको धर्म हो ।”

अनलाइन ठगीका घटना बढेको भन्दै सावधानी अपनाउन प्रहरीको आग्रह

गण्डकी – अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो ।

अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर एकिन गरेर मात्र सहयोग गर्न भनेको हो ।

अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न भनिएको छ ।

सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।

‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पित

काठमाडौँ, २१ कात्तिकः नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक आज लोकार्पित भएको छ ।

चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरु शान्तिप्रिय, कुवेर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले सामूहिक रुपमा विमोचन गर्नुभएको हो ।

बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सङ्घका अध्यक्ष बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिक तुल्याउँदै नयाँ पुस्तालाई सक्रिय बनाउन लागि परेको बताउनुभयो । कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारिताका विषयमा बोर्डका अध्यक्ष डिसी, कलाकार सङ्का अध्यक्ष निरौला, पत्रकारहरु शान्तिप्रिय, धु्रव लम्साल र मदन रिजाल र रघुनाथ सापकोटाबीच विचार मन्थन भएको थियो ।

छलफलमा चलचित्र पत्रकारहरुले कुनै निश्चित चलचित्रको प्रचारक नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो ।

श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा घुमाइयो पशुपतिनाथको मूल मन्दिर

काठमाडौँ – श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्र घुमाइएको छ ।चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले राससलाई जानकारी दिनुभयो ।

चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकहरुमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बुधबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई त्यस दिन बेलुकी नै चारुमती बिहारमा लगेर बिसाइएको थियो ।

जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात गराएको स्थानीयवासीको भनाइ छ । श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् बुधबारदेखि सुरु भएको हो ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । मार्गशीर्ष कृष्ण तृतीयाका दिन शनिबार अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा गर्ने परम्परा रही आएको जनाइएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमामा चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भुपालेन्द्र मल्लका पालादेखि नै रही आएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन : औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्नु

भक्तपुर, २१ कात्तिक : बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्यका बेथिति अन्त्य गर्ने लक्ष्यका साथ औषधि, सर्जिकलका सामानदेखि उपकरणसम्मको खरिदमा जिल्ला अस्पतालले अनिवार्य बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि जिल्ला अस्पतालहरूले औषधिदेखि औषधिजन्य स्वास्थ्य सामग्रीहरू खरिदका क्रममा टुक्राटुक्रा पारेर महिनैपिच्छे बिचौलियाको दबाबमा औषधि खरिद गर्ने गरेको सूचना पाएपछि मन्त्रालयले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालहरूलाई यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालहरूलाई औषधि एवं औषधिजन्य पदार्थ र उपकरण खरिदसम्ममा अनिवार्य बोलपत्र आह्वान गर्नुपर्ने निर्देशन जारी गरेको जानकारी दिनुभयो ।

जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थाहरूले रु २० लाखसम्मको खरिदमा बोलपत्र आह्वान नगरी सिधै खरिद गर्न सक्ने नियममा टेकेर बिचौलियाको प्रभावमा अस्पतालहरूले पटकपटक गरेर महिनैपिच्छे औषधि एवं औषधिजन्य पदार्थ खरिद गरी अनियमितता गरेको आरोप लाग्दै आएपछि मन्त्री थापाले यस्तो निर्देशन दिनुभएको हो ।

स्वास्थ्यमन्त्री थापाले भन्नुभयो, “हामी बिरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गरिरहेका हुन्छौँ, तर केही बिचौलियाहरूले नेताहरू तथा उपल्लो निकायको हवाला दिँदै जिल्लाका जनस्वास्थ्य प्रमुखहरू, अस्पतालका निर्देशकदेखि प्रशासनसम्मलाई दबाब दिने र कतै मिलोमतो गरेर टुक्राटुक्रा पारेर एक आर्थिक वर्षसम्ममा करोडभन्दा बढीको खरिद गरेको पाइएपछि यस्ता बेथितिलाई रोक्न मन्त्रालयले रु १० लाखसम्मको औषधि एवं अन्य सामग्री खरिदमा पनि अनिवार्य बोलपत्र प्रक्रिया पूरा गर्न निर्देशन दिएका हौँ, यो कार्यान्वयनमा आउँछ ।”

उहाँले प्रदेशका १३ वटै अस्पताललाई चालु आर्थिक वर्षदेखि नै यो निर्देशनलाई कार्यान्वयनमा ल्याउन परिपत्र गरेको बताउँदै स्वास्थ्य मन्त्रालयमा समेत बिचौलियाले प्रभाव पार्न खाजेको बताउनुभयो ।

मन्त्री थापाले मन्त्रालयदेखि अस्पतालसम्मका कर्मचारीहरूलाई बढुवा गरिदिने, कतिपयलाई राम्रो अस्पतालमा सरुवा गरिदिने, कतिपयलाई अस्पतालका निर्देशक बनाइदिन्छु भन्दै खरिद प्रक्रियामा प्रभाव पार्ने गरेको पाइएपछि मन्त्रालय यसलाई रोक्न लागिपरेको बताउनुभयो ।

केही अस्पतालका निर्देशकहरूले औषधि एव औषधिजन्य सामान खरिदमा टुक्रा पारेर सिधैँ खरिद नगरी बोलपत्र आह्वान गरेमा सरुवा गरिदिने धम्की बिचौलियाले दिएको जानकारी गराएको बताउँदै स्वास्थ्य क्षेत्रका यस्ता गलत कार्य रोक्न लागिरहेको मन्त्री थापाले बताउनुभयो ।

मन्त्रालयका कर्मचारीदेखि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र अस्पतालका निर्देशक एवं कर्मचारी, जनप्रतिनिधिसमेतको मनोबल गिर्नेगरी बिचौलियाले बजेट र कार्यक्रम नभएको शीर्षकमा पनि सामान खरिद गर्न दबाब दिने गरेको, धम्कीपूर्ण फोन र म्यासेज गर्ने गरेको पाइएपछि मन्त्रालयले बिचौलिया रोक्न रु १० लाखसम्मको सामान खरिदमा पनि अनिवार्य बोलपत्र आह्वान गर्ने व्यवस्था लागू गरेको मन्त्रालयका भनाइ छ ।

स्वास्थ्य मन्त्रालय आपूर्ति महाशाखाका प्रमुख अर्जुन सापकोटाले बिचौलियाको पटकपटकको धम्कीले कर्मचारी आजित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कर्मचारी हौँ, नीति नियम मान्नै पर्यो तर नेतादेखि उपल्लो निकायका कर्मचारीको हवाला दिँदै बिचौलिया हाबी हुन्छन्, उनीहरूले भनेजस्तो गरी खरिद प्रक्रिया अगाडि नबढाए, आवश्यक भए पनि नभए पनि उनीहरूले भनेका सामान खरिद नगरे फोनबाट ‘टर्चर’ दिन्छन्, हाम्रै फोटो रोखेर केही मिडियामा हाम्राविरुद्ध समाचार बनाउँछन् र चरित्र हत्या गरेर बदनाम गर्छन्, यो चल्दै आएको छ, अहिले मन्त्रालयले बिचौलिया रोक्न खोज्दा थप धम्की आएका छन् । सही गरौँ बिचौलियाको तनाब, गलत गरौँ अख्तियारको तनाब हामी कर्मचारी साँच्चै मारमा छौँ ।”

कर्मचारीका विरुद्ध बिचौलियाले अनावश्यक एवं झुटा समाचार लेखाएर जेनजी वा कसैको नाममा मन्त्रालय तोडफोड भयो वा कर्मचारीमाथि हातपात भयो भने त्यसको जिम्मा कसले लिने भन्दै मन्त्रालयका कर्मचारीहरूले बिचौलिया अन्त्य गर्न सिङ्गो सरकार र जनप्रतिनिधिले साथ दिन माग गरेका छन् ।

बिचौलियाहरूले मन्त्रालयको आपूर्ति महाशाखादेखि सचिवसम्मलाई, विभिन्न अस्पतालका निर्देशक र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरूलाई आफूहरूसँग भएका सामान खरिद गरिदिन र आर्थिक वर्षको अन्त्य आउन लाग्दा मिति सकिन लागेको सामानसमेत खरिद गरिदिन दबाब दिने गरेका पाइएको छ ।

मन्त्रालयका अनुसार अस्पताल र जनस्वास्थ्य प्रमुखहरूलाई बिचौलियाले आफूहरूसँग भएको औषधि, उपकरण, सर्जिकलका सामानहरू कानुन मिचेर सिधैँ प्रक्रियाबाट खरिद गरिदिन दबाब दिने, मन्त्रालयदेखि जिल्लामा दबाब दिन ओहोरदोहोर गर्दा बिचौलिाको गाडीमा पेट्रोलसमेत हालिदिन दबाब दिने गरेको छ ।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार बोलपत्रको प्रक्रियाबाट जाँदा व्यवसायीहरूमाझ स्वच्छ प्रतिस्पर्धा हुने, गुणस्तरीय सामान आपूर्ति हुने र बजेटसमेतको वचत हुने भएपछि सबै सामान खरिदमा अनिवार्य बोलपत्रको व्यवस्था गरिएको मन्त्री थापामगरले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीचको भेटमा के भयो ?

काठमाडौँ, २१ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले   जानकारी दिनुभयो ।

हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

एक करोड ७० लाख लागतमा पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी – काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।

यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।

समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै काठमाडौँ उपत्यकाका सांस्कृतिक परम्परा गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई यो समुदायले निरन्तरता दिँदै आएको छ ।

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ, २१ कात्तिकः कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएका छन् ।

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ७०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ५५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ११५, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १६०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तीतो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकेजी रु २५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २४०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० र काक्रो (लोकल क्रस) प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

त्रिवेणी सिन्थेटिकले बुझायो डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौता

काठमाडौँ, २१ कात्तिकः बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले राससलाई जानकारी दिनुभयो ।

त्रिवेणी सिन्थेटिकको रु चार करोड ३९ लाख ८३ हजार बक्यौता रहेकामा त्यसलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताबापत त्रिवेणी सिन्थेटिकले रु १५ लाख ७१ हजार तिरेको हो ।

सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका – ६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बुधबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी, २१ कात्तिक : यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।

“एक वर्षअघि गरेको अध्ययनका क्रममा दर र मुदीमा चिरकालिज भेटिएपछि संरक्षणका लागि विद्यालय र समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “दुर्लभ पन्छी भएकाले चिरकालिजको महत्व जानकारी गराएर सङ्ख्या वृद्धि र संरक्षणको पहल थालिएको हो ।”

मुदीको वुत्तिविकास र मुनाको धवलागिरि माविका विद्यार्थीलाई चिरकालिजका बारेमा अभिमुखीकरणका साथै हाजिरी जवाफ प्रतियोगिता भएको छ । रानीखोला र दरखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारी, सदस्य र स्थानीयवासीलाई दरमा संरक्षण शिक्षासम्बन्धी प्रशिक्षण दिइएको छ ।

जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौडेल, पन्छीविद् सङ्घका केशव चोखाल र रजकले चिरकालिजको परिचय, महत्व र संरक्षणको आवश्यकताका विषयमा जानकारी गराउनुभएको थियो । “चोरीसिकारी, अनियन्त्रित डढेलो र जलवायु परिर्वतको बढ्दो प्रभाव चिरकालिज संरक्षणको चुनौती हो”, अध्यता चोखालले भन्नुभयो, “चोरीसिकारीका अलावा, गुँडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने अनियन्त्रित डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ ।”

सङ्घले पछिल्लो पाँच वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा धवलागिरि गाउँपालिकाका साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्यक्रम गर्दै आएको जनाएको छ । कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए ।

दुर्लभ पन्छीको संरक्षण गरेमा जैविक विविधता, पर्यावरणका हिसाबले योगदान पुग्नुका साथै पर्यटक भित्र्याएर आयआर्जन र ग्रामीण अर्थतन्त्र सुधारमा सहयोग पुग्ने जैविक विविधता संरक्षण समाजका अध्यक्ष पौडेलले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।

भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको बासस्थान हो ।

नेपाल पन्छीविद् सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार नेपालमा चिरकालिजको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख पन्छीका रूपमा सूचीकृत गरेको छ ।

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

भोजपुर, २१ कात्तिक : देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।

स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ ।

“यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उहाँले भन्नुभयो, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उहाँले बताउनुभयो । भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उहाँको भनाइ छ ।

परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् ।

पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।