`

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखा, १७ भदौ : काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

आजको मौसम :कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।

जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक सम्पन्न

लुम्बिनी, १७ भदौः लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौबुँदे निर्णय गर्दै सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका बताउँदै अहिले केही निर्णय कार्यान्वयनका चरणमा रहेका जानकारी दिनुभयो ।

“संविधानले प्रदेशलाई प्रदान गरेका जुन अधिकार हुन्, त्यसलाई अहिले पनि सङ्घीय सरकारमार्फत प्रत्यायोजित हुन सकिरहेको अवस्था छैन । संविधानले दिएको अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गराउन समन्वय र सहकार्य गरेर अघि बढ्ने छौँ”, उहाँले भन्नुभयो, “प्रदेशसँग जोडिएका क्षेत्रमा देखिएका पूर्वाधारको समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेशका सीमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकारबीचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “दुवै प्रदेशलाई योग र ध्यानका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “अन्तर प्रदेश सहकार्य र समन्वयले काम गर्ने शैली तथा अनुभवमा पुनर्ताजगी ल्याउने भएकाले यस प्रकारका अभ्यासलाई बढाउँदै लैजानुपर्नेछ ।”

बैठकमा संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रूपमा अघि बढाउने सहमति गरिएको छ ।

निर्णयअनुसार गत माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिबद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र सङ्घीय सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरबाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेस गर्ने, कात्तिकमा उत्तरबाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

बैठकले सिकाइ आदानप्रदानका लागि प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानुनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीयस्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुवै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकार भएका निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

बैतडी, १७ भदौः लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अविरल रूपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ ।”

मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ । यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गर्नुभएको छ ।

यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । गत तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, १७ भदौ : गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

गलकोट (बागलुङ), १७ भदौः नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो ।

जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख राजस्व राजस्व सङ्कलन गरिएको छ ।

दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिकास्थित भाटेखोला बगरबाट सङ्कलन गरिएको चार हजार ९७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलनका लागि नगर कार्यालय पठाइएको थियो ।

बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगरलगायत बगरबाट अवैध रूपमा उत्खनन गरी बालुवा सङ्कलन गर्ने विभिन्न व्यक्तिलाई कारबाही गरी रु १५ लाख राजस्व सङ्कलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेलाई कारबाही गरेको हो ।

गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि रातिको समयमा दोहन गरी नदी छेउमा राखिएको सामग्री जफत गरी राजस्व सङ्कलन गरिएको रेग्मीको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर नगरपालिकालाई कारबाहीका लागि पठाएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मूल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताउनुभयो ।

“अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्डअनुसार निकाल्न मिल्छ । तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, प्रमुख थापाले भन्नुभयो ।

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

म्याग्दी, १७ भदौः डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलव ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि विसं २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । आयोजना निर्माणस्थलमा तीन हजार ९३६ वटा रुख छन् ।

पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ताबापतको रकमसमेत उपलब्ध गराइएको बताउँदै आयोजना प्रमुख रोशन अग्रवालले बताउँदै डिभिजन वन कार्यालयले रुख कटान आदेश दिन ढिलाइ गरेकाले समस्या भएको उल्लेख गर्नुभयो ।

“आयोजनाको तर्फबाट एक वर्षअघिनै जग्गा खरिद गरेर वनलाई सोधभर्ना गरेका थियौँ । बिरुवा हुर्काउने पहिलो किस्ताबापतको बजेट पनि पाँच महिनाअघि दिएका थियौँ”, उहाँले भन्नुभयो, “वनले कटान आदेश दिन ढिलाइ गर्नु, भौगोलिक समस्या र राहुघाट सबस्टेसनमा थप काम गर्नुपर्ने भएकाले आयोजनाको म्याद थप गर्नुपर्ने अवस्था आएको हो ।”

प्रमुख अग्रवालका अनुसार आगामी २०२६ अप्रिलभित्र आयोजना सम्पन्न गर्ने नयाँ समय तालिका ठेकेदारले पेस गरेको छ । “मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटरमा १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद गत जुलाई १६ मा सकिएको हो”, उहाँले भन्नुभयो ।

एक सय ३२ केभी क्षमताको डबलसर्किट प्रसारण लाइनअन्तर्गत हालसम्म ५९ टावरको जग राखिएकामा ४५ वटाको काम सकिएको प्रमुख अग्रवालले जानकारी दिनुभयो । रुख काट्नुपर्ने चार वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रसारण लाइन र सबस्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ ।

आयोजना प्रमुख अग्रवालले ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउने काम थालिएको छ ।

अम्वाङमा सबस्टेसन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । राहुघाट, म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय लाइनमा जोड्ने उद्देश्यले डाँडाखेतमा सबस्टेसन निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले जनशक्तिको कमीका कारण स्थलगत अध्ययन, प्रतिवेदन तयार र कटान आदेशको निर्णय गर्न ढिलाइ भएको बताउनुभयो । “असारसम्म कार्यालयको नियमित काममा व्यस्त हुनुप¥यो, पाँच वटा सबडिभिजनका तीन जना वन अधिकृतको नेतृत्वमा प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “सबडिभिजनबाट प्रतिवेदन पाउने बित्तिकै माथिल्लो निकायबाट स्वीकृति गराएर कटान आदेश दिने छौँ ।”

सङ्घीय सरकारको ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रसारण लाइनका लागि रुख कटान आदेश शीघ्र दिन डिभिजन वन कार्यालयलाई ताकेता गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जलविद्युत् आयोजना, सबस्टेसन र प्रसारण लाइन निर्माणमा वन डिभिजनको ढिलासुस्तीसम्बन्धी जानकारी हुनुपर्ने विषय प्रदेशसभा बैठकमा उठाउनुभएको थियो ।

कुल रु चार अर्ब ८७ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी रहेको आयोजना प्रमुख अग्रवालले जानकारी दिनुभयो ।

रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु एक करोड ५० लाख मुआब्जा वितरण गर्नुका साथै वन क्षेत्र प्रयोग गरेबापत रु चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमल्सिनाले जानकारी दिनुभयो ।

म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला–राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परिक्षण उत्पादन थालेका छन् ।

प्रमुख अग्रवालका अनुसार ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेका छन् ।

तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर निर्माण भई २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनले विद्युत् आपुर्ति गराउन थालेका उहाँले उल्लेख गर्नुभयो ।

महाकाली नदीको कटानले बस्ती जोखिममा

दोधारा चाँदनी (कञ्चनपुर), १७ भदौः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

“नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उहाँले भन्नुभयो, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।”

विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

“विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ”, स्थानीय खडक बुढाले भन्नुभयो, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उहाँले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

दोधारा-चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताउनुभयो । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उहाँले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिनुभयो ।

तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भन्नुभयो ।

प्रधानमन्त्री ओली आज बेइजिङ जादै, चीनका उपराष्ट्रपतिसँग भेट गर्ने

थियानजिन (चीन), १७ भदौ : चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै हुनुुहुन्छ ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

धरान (सुनसरी), १७ भदौः सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

“ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको सङ्केत स्वरूप जनाइन्छ । रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन सङ्केत गर्दछ”, उहाँले भन्नुभयो ।

हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जलसतह लगातार बढिरहेकाले सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११० रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ छ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, १७ भदौः राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । सोमबार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेस हुन नसकेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यसैगरी, आजै दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ । यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

चीन । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ।

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच सोमबार साँझ भेटवार्ता भएको हो।

उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘पहाडबाट पलायन भएको जनशक्ति अथवा नागरिकलाई उतैतिर फर्काउने अवस्था कसरी निर्माण गर्न सकिन्छ । मेरो विचारमा कृषिसँगको सम्बन्धले हाम्रो गाँउ बस्तीहरु जनसांखिक हिसाबले सम्पन्न थिए । कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले हाम्रा गाँउ बस्तीहरु रित्तिदै गएको अवस्था सिर्जना भएको छ ।’

यस्तै, उनले आजको जलवायु परिवर्तन र पर्यावरणिय प्रदूषणका कारण मानिस गाँउ फर्किनुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै त्यसको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराको विकास गाँउमा पनि गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो समृद्धिको आधार पनि कृषि नै हो । त्यसैले आधुनिक कृषि प्रणाली पहाडमा कसरी विकास गर्ने, आजको यो जलवायु परिवर्तन अथवा पर्यावरणिय प्रदूषणले गर्दा हामी फेरि फर्किने गाँउ तिरै हो । सहरमा धेरै बसिन्छ जस्तो लाग्दैँन् तर हामी त्यता फर्किनको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुरामा विकास गरेको हुनुपर्छ

सोही क्रममा जनता पूर्व विद्यार्थी समाजको अध्यक्ष जलेश्वर पाण्डेले उक्त कार्यक्रमले थोरै भएपनि सांस्कृतिक तथा सांगितिक परम्परा, अभ्यास र प्रवृत्तिप्रति सबैलाई सजक बनाउँदै एकताबद्ध गर्न योगदान पु¥याउने आशा गरेको बताए ।

कञ्चनपुरस्थित जोगबुढा नदीको बाढीमा फसेका २५ जनाको सेनाद्वारा उद्धार

काठमाडौँ, १६ भदौ: नेपाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ ।

बाढीले नदीको तटबन्धलाई पार गरी जग्र्गा टोल र ट्यापु गाउँमा पस्दा डुबानमा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरस्थित रणसिंह दल गणबाट खटिएको टोलीले रबर बोट तथा विपद्का अन्य सामग्री प्रयोग गरी उद्धार गरेको सेनाले जनाएको छ ।

यस्तै, सेनाले नुवाकोटको शिवपुरी गाउँपालिका–४ स्थित पिङ्क हाइट इलाकामा हाइकिङ जाने क्रममा बाटो बिराएर हराएका १४ जनाको सकुशल उद्धार गरेको छ । उनीहरूलाई यही आइतबार राति उद्धार गरिएको हो ।

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, १६ भदौ: गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ । आज यहाँ सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिनुभएको छ । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गर्नुभएको छ ।गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गर्नुभएको छ ।

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएको छ ।

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ सर्वसम्मत पारित

गण्डकी, १६ भदौ: गण्डकी प्रदेशसभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकले ऐन सर्वसम्मत पारित गरेको हो । यसअघि २०८१ चैत १५ गते उक्त विधेयक सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो । सरोकार भएका, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी सभामा प्रस्तुत गरिएकामा सभाले पारित गरेको हो ।

विधेयकका सम्बन्धमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले विधेयक प्रदेशकै उत्कृष्ट कानुनी अभ्यास भएको बताउनुुभयो । विधेयकमा परम्परागत पेसा, जातीय भेदभाव र छुवाछूत अन्त्य गर्ने प्रावधानलाई जोड दिइएको उहाँले जानकारी दिनुुभयो ।

मन्त्री थापाले दलित समुदायले भोग्दै आएका हरेक समस्याको दीर्घकालीन सम्बोधन गर्ने कानुनी आधार निर्माण भएको उल्लेख गर्दै यसलाई समयानुसार संशोधन गर्दै लैजान सकिने बताउनुुभयो ।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले विधेयक आउनु गण्डकी प्रदेश सरकारको प्रशंसनीय काम भएको बताउनुुभयो । सदस्य राजकुमारी भुजेलले गण्डकी प्रदेशमा विधेयक प्रदेशमा रहेका १८ दशमलव दुई प्रतिशत दलित समुदायको हितका लागि सशक्त कदम भएको धारणा राख्नुुभयो ।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशमा कानुनी संरचना नहुँदा दलित समुदायले समस्या भोगिरहेका सन्दर्भमा संविधानले दिएका अधिकार सुनिश्चित गर्न अब कानुनी ढोका खुलेको बताउनुुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरू विन्दु पौडेल, टीकाकुमारी बस्याल, यशोदा रिमाल, दिलमाया पौवीलगायतले ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुुभयो ।

देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्छ : अध्यक्ष दाहाल

पाटन (ललितपुर), १६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभएको छ ।

सिजन मिडियाको १७ औँ वार्षिकोत्सवको अवसरमा एसियाली मुलुकका विभिन्न पेसा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा आज आयोजित ‘एसियाली व्यावसायिक उपलब्धि पुरस्कार २०२५’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले यस्ता कार्यले सकारात्मक र नयाँनयाँ काम गर्नेहरुलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

“देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान पु¥याउनेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ,” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताउनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरको यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पले क्षति पु-याएका सबै देवालय, शिवालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।

सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरुलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूरदराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्नुपर्नेमा जोड दिनुभयो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याएका एसियाली मुलुकका २९ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम, १६ भदौः सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको छ ।पहिरोका कारण बीच बाटोमै रोकिएका यातायातका साधन पहिरो पन्छाए पछि आज अपराह्नदेखि गन्तव्यतर्फ लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य धनगढी– डडेलधुरा (भीमदत्त)राजमार्गको भातकाँडा खण्डमा गएको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो ।

यसैगरी कैैलालीको सहजपुर सडक, बैतडीको झुलाघाट सडक, गिरीगडा सडक र देहीमाडौँ सडक खण्डको पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको हो । सडक अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमै रोकिएका थिए ।

पहाडी क्षेत्रको मुख्य राजमार्ग डडेलधुरा–दिपायल सडकखण्डको रडुवा खोलामा पहिरो रोकिएको छैन । निरन्तरको वर्षासँगै यहाँ पटक पटक पहिरो जाने र पन्छाएर यातायात सञ्चालन गर्ने क्रम जारी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी दार्चुलाको मलिकार्जुन गाउँपालिका–३ को तेर्सेलेकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । सुदूरपश्चिम प्रदेशमा गत आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सबैभन्दा बढी १९६.४ मिलिमिटर र डडेलधुराको जोगबुढामा ११३.८ मिमि वर्षा मापन भएको छ ।

अन्य क्षेत्रमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जय साहले महाकाली नदीमा जलसतहले आज सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराइएको जानकारी दिनुभयो ।

वर्षासँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीको बाढीले झोलुङ्गे पुल नजिकैको बाँध भत्काएपछि कुतियाकवर, शान्ति टोललगायतका बस्तीका ४५ घरधुरी डुबानमा परेका छन् । डुबान प्रभावित परिवारलाई सुरक्षितस्थलमा सारिएको छ ।

साहले भन्नुभयो, “जोगबुढा नदीमा यसै वर्ष पूर्वसूचना दिने यन्त्र जडान गरिएकाले तटीय क्षेत्रका वासिन्दालाई सम्भावित बाढीको जोखिमबारेमा पूर्वसूचना दिएर मानवीय क्षति हुनबाट बचाएका छौँ, अन्य नदीहरुमा पनि पूर्वसूचना दिने यन्त्र यसअघि जडान गरिएको छ ।”

जलसतह बढेसँगै महाकाली नदीमाथिको पुलमा भारतीय पक्षले चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विभागले आगामी २४ घन्टा कैलाली र कञ्चनपुर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन र डोटी, डडेलधुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र बाजुरा जिल्लावासीलाई सतर्कता अपनाउन सचेत गराएको छ ।

पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र निर्णायक शक्ति बन्नेछः महासचिव पोखरेल

काठमाडौँ, १६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताउनुभएको छ ।

एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेख्नुभएको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज यहाँ पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा विमोचन गर्दै उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउन रहेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,“त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामथ्र्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामथ्र्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्दछ । यसका पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन ।”

उहाँल हाल पार्टीले सरकारको नेतृत्व गरिरहे पनि आफ्नो नीतिलाई राष्ट्रको नीति बनाउने एकल सामथ्र्यको अवस्था नरहेको बताउनुभयो ।

अब पार्टीको वर्ग सङ्घर्ष चुनावमा केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । “हाम्रो वर्ग सङ्घर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो । हाल चुनावलाई वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको माध्यमका रूपमा बुझ्न छाडेका छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय निर्वाचनलाई अवसर प्राप्तिका लागि र विगतमा आफूले प्राप्त गरेका योगदानकोे सम्मानका रूपमा मात्र लिन थालेका छौँ ।”

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणका समस्या रहेको भन्दै महासचिव पोखरेलले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा हालिस गर्न सकिने धारणा राख्नुभयो । उहाँले दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा लेखक तथा नेता पोखरेलले कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरालाई उल्लेख गर्नुभएको बताउनुभयो । उहाँले पुस्तकले पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई अभिप्रेरित गरेको बताउनुभयो ।

पुस्तकका लेखक नेता पोखरेलले पुस्तकमा १४ वटा खण्ड रहेकामा त्यसमध्ये १२ वटा खण्डमा कम्युनिष्ट पार्टी निर्माण र दुई खण्डमा समसामयिक विषय लेखिएको बताउनुभयो ।

गण्डकी प्रदेशमा भौतिक र वित्तीय प्रगति चार वर्षयताकै उच्च

गण्डकी, १६ भदौः गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्र्षयताकै उच्च रहेको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि प्रदेशसभा बैठकका शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यस वर्र्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगति ७६.५२ प्रतिशत पुगेको र यो चार वर्षयताकै उच्च रहेको बताउनुभयो ।

सडकतर्फ आव २०८१/०८२ सम्म जम्मा २३१ वटा बहुवर्षीय योजना क्रमागत रुपमा सञ्चालनमा रहेकामा ४५ वटा बहुवर्षीय सडकका योजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी आव २०८१/०८२ मा २४५.८८ किमी प्रादेशिक सडक कालोपत्रे/पक्की, ६६.७३ किमी सडक चौडा र ग्राभेलस्तरमा स्तरोन्नति गरिएको र २९३.६९ किमी कच्ची सडक नियमित मर्मतसम्भार गरिएको छ ।

उहाँका अनुसार सडक पुलतर्फ जम्मा ६९ वटा बहुवर्षीय वर्षीय योजना क्रमागत रुपमा सञ्चालनमा रहेकामध्ये १५ वटा योजना सम्पन्न भएका छन् भने झोलुङ्गे पुलतर्फ जम्मा १७ वटा बहुवर्षीय योजना सञ्चालनमा रहेकामा चार वटा सम्पन्न भएका छन् ।

भवनतर्फ जम्मा चार वटा बहुवर्षीय योजना सञ्चालनमा रहेकामध्ये एउटा सम्पन्न भएको छ । गण्डकी प्रदेशसभा भवनको ठेक्का सम्झौता भई यही भदौ ३ गते शिलान्यास गरी निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो ।

यातायाततर्फ राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी भएको र केही समयभित्रै कार्यान्वयन हुने उहाँले बताउनुुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको जानकारी दिँदै उहाँले यस अवधिमा मन्त्रालयका काम कारबाहीमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँका अनुसार आव २०८२/०८३ को बजेटमा नयाँ जारी हुने सवारी चालक अनुमतिपत्र प्रदेशबाटै छपाइ गर्ने गरी आवश्यक बजेट विनियोजन भएको र सवारी कर तथा सवारी दर्ता किताब नवीकरण अनलाइन माध्यमबाट गर्न बजेट विनियोजन गरिएको छ ।

सवारीसाधन ‘ट्रायल’मा भएको ‘सिण्डिकेट’ हटाई आ–आफ्नो सवारीसाधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सवारी चालक अनुमतिपत्रको नतिजा १० दिनभित्र गर्नेमा दुई दिनभित्र गर्ने निर्देशन दिइएको जानकारी मन्त्री केसीले दिनुभयो । पुम्दीभुम्दी फेदीखोला सडक मर्मत सम्पन्न भए तापनि निर्माण व्यवसायीका कारणले अन्तिम बिलको भुक्तानी नलिएको ठेक्का चालु अवस्थामा रहेको हुँदा मर्मत निर्माण व्यवसायी आफैँ गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमानुसार सम्पन्न गर्न निर्माण व्यवसायी र कार्यालय प्रमुखलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

कुस्मीसेरा बरेङ शान्तिपुर सडक निर्माण ढिलासुस्ती भएको जानकारीप्राप्त भएपछि मन्त्रालयमा तुरुन्त निर्माण व्यवसायीलाई बोलाइ छलफल गरी निर्माण तत्काल अगाडि बढाउन निर्देशन दिइएको उहाँको भनाइ छ ।

पहिलो चौमासिकको सुरुमा २० लाख रुपैयाँभन्दा माथिका सालवसाली योजना ठेक्का प्रक्रियामा लान समयमा नै मन्त्रालयवाट पत्राचार गरी सोअनुसार मातहतका कार्यालयबाट कार्य भएको र सो कार्यले गुणस्तर कायम भएको उहाँको जिकिर छ ।

प्रदेश सरकारबाट सञ्चालित बहुवर्षीय योजनामा न्यून बजेट भएका योजनामा सालवसाली योजनाबाट ठेक्का व्यवस्थापन गरी दुई अर्ब ३५ करोड ९३ लाख ८१ हजार रुपैयाँ बचत रकम नियमानुसार बहुवर्षीय योजनाहरुमा रकमानान्तर गरी केही भए पनि बजेट अभावको समस्या समाधान गरिएको उहाँको भनाइ छ । बहुवर्षीय योजनामा नपुग रकम प्रायः सबै जिल्लामा सालवसाली ठेक्का व्यवस्थापन भएर बचत भएको रकमलाई काम भएका बहुवर्षीय योजनामा रकमान्तर गरी भुक्तानी दिएको र बाँकी सम्पन्न भएपछि आगामी वर्षमा भुक्तानी हुने उहाँले बताउनुभयो ।

सबै जिल्ला पूर्वाधार कार्यालयलाई गत वर्र्ष बहुवर्षीय योजनामा रकम जम्मा २९ प्रतिशत मात्रै विनियोजन भएकाले योजना समयमा सम्पन्न गर्न ढिला सुस्ती भएकामा चालु आवमा करिब ६५ प्रतिशत रकम बहुवर्षीय योजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएकाले योजनाहरु यस वर्ष छिटो सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

दयाहाङ राईको चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने

काठमाडौँ, १६ भदौ : नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई यसमा समेटिएको छ । भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृतिमा चलचित्रको कथा तयार पारिएको छ ।”

उहाँले ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भएता पनि सन्दर्भअनुसार ‘तरुनी’को रूपमा प्रयोग गरिने बताउनुभयो । अन्तिम संस्कारका लागि गुरुङ समुदायमा छोरी अनिवार्य मानिने संस्कृतिलाई चलचित्रमा देखाइएको उहाँको भनाइ छ ।

“गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ”, अभिनेता राईले भन्नुभयो ।

चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिनुभयो । आफैँ गुरुङ समुदायको भएकाले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

“म यो चलचित्रमा जोडिनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाउनुभएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ”, अभिनेत्री गुरुङले भन्नुभयो ।

उक्त चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्रध्वज कार्कीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन रहेको छ । चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

जुम्ला, १६ भदौः कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ ।

गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् ।

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेकाले सडक खोल्न समय लागेको जनाइएको छ । नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । दुई दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुसमेत बिचल्लीमा परेको स्थानीयवासी कल्पना बुढाले बताउनुभयो ।

सप्तकोशी नदीमा जलसतह बढ्दै, कोशी ब्यारेजका ३४ ढोका खोलिए

धरान (सुनसरी), १६ भदौ : सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् ।

दिउँसो ३ः०० बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका खोलिएका थिए । आइतबार बेलुका १०ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुग्दा ३१ ढोका खोलिएका थिए ।

प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएका छन् । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो ।

सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ: मन्त्री गुरुङ

ललितपुर १६ भदौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको छ ।

ललितपुरमा आज नेपाल टेलिकम (एनटिसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तक्र्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वकको पहुँच विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको डिजिटल फेर्मवर्क (डिएनएफ)को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमको ध्यानार्कषण गराउनुभयो । “साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी भने निकै पछि परेका छौँ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।”
मन्त्री गुरुङले नेपाल टेलिकम जनताको अतिआवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्यसम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिनुभयो । चालु आर्थिक वर्षमा कार्ययोजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले सतप्रतिशत लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सहसचिव कोशहरि निरौलाले कार्यसम्पादनमा उब्जिएका समस्या समाधान गर्दै योजना सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटिसीका सात वटै प्रदेशका निर्देशकहरूले आ–आफ्ना भावी कार्ययोजनाको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आजदेखि बैतडीमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक

बैतडी, १६ भदौः बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

गृहमन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो । उहाँले भन्नुभयो, “अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ । त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।” यो नियम आज रातिदेखि लागू हुनेछ ।

जापानमा भालु आक्रमण बढ्दो

जापानमा भालुहरूको आक्रमण बढेपछि सरकारले सिकारीहरूलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुकहरु प्रयोग गर्न सजिलो हुने गरी हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारणहरू भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रहरूमा धेरै जङ्गली भालुहरू देखिने गरेकोे छ ।

यस वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको तथा अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएको जनाइएको छ । उत्तरी सहर किताकितामा रहेको अपाङ्गता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो । जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो ।

कडा हतियार नियन्त्रण प्रणाली अवलम्वन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाको लागि सिकारीहरूलाई राइफल र बन्दुककको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिइएको छ ।

सोमबारदेखि अधिकारीहरूले बासिन्दाहरूको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीहरूलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ । सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसहरूलाई भालुले आक्रमण गरेका थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो ।

उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएका थिए । मारिएका भालुको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो ।ग्रामीण जनसङ्ख्याको ह्रास र मौसम परिवर्तनले भालुहरूको खाना र बसोबासलाई असर गर्दा धेरै जनावरहरू सहर नजिक जान बाध्य भइरहेको विज्ञहरूले जनाएका छन् ।जापानको घट्दो जनसङ्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जङ्गली क्षेत्रहरू बढिरहेको जनाइएको छ ।

अधिकांश वृद्ध जनसङ्ख्याको अवस्था भएका कारण सिकारीहरूको सङ्ख्यामान कमी आएको र भाल्ुको जनसङ्ख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ । पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालुहरू दखा परेको रिपोर्ट गरिएको छ ।

गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एकजना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ ।सरकारी सञ्चार माध्याम एनएचकेका अनुसार यस वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएका छन् ।

प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ, १६ भदौः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन आज बुझाएको छ ।प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले आयोगले गर्र्ने दरखास्त आव्हान, परीक्षा, उम्मेद्वार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पार्नुभयो ।

प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिश गर्ने गरेकामा प्रशंसा गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष गुरागाईँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेद्वार सिफारिश गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४.६ प्रतिशत सिफारिश भएको जानकारी दिनुभयो ।

कर्णाली नदीले बनघुस्रामा तटबन्ध बगाएपछि आधादर्जन गाउँ जोखिममा

बर्दिया । बर्दिया र कैलालीको विचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका वडा नं २ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन् ।कर्णाली नदीको कटानले करिब तीन सय मिटर तटबन्ध बगाएपछि आधादर्जन गाउँहरू जोखिममा परेका हुन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध बगाएको छ । पाँच बर्ष अघि करिब तीन करोडको लागतमा निर्माण भएको छटबन्ध र स्पर नदी बगाएको आयोजनाले जनाएको छ ।

करिब ५ वर्षअघि झण्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । नदी कटानले लम्बाई करिब तीन सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए । कटानको रोक्नका लागि स्थानीयले रोकथामका उपाय गरिरहेका छन्
नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ ।

अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १६ भदौ: नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । आज यहाँ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्नुभभएको हो ।

बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा रामपदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने ‘द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफिक कन्ट्रिज्’ विषयक सम्मेलनमा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेश घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै, यही भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने ‘आइसिआइडीयुएस मेगा इभेन्ट’, चौथो ‘वर्ल्ड इरिगेसन फोम तथा ७६ औँ इनटरनेसनल एक्जुकेटिभ काउन्सिल’ आइसी’ को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिँचाइ) सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय रहेको छ ।

यसैगरी भदौ २३ देखि २५ गतेसम्म भारतमा आयोजना हुने ‘डाइलग नेक्स्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै, नेपालमा सञ्चालन हुने गैर नाफामूलक सङ्घ संस्था (एनपिओ) हरूको एकीकृत विवरण राख्ने प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने ‘एनपिओ पब्लिक पोर्टल सफ्टवेयर’ सञ्चालनका लागि आवश्यक विवरण प्राप्त गर्न उक्त पोर्टललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपिआइ)’ मार्फत आबद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बुमन पोलिटिकल लिडर्स (डब्लुपिओ) ले नेपाललाई प्रदान गर्ने ‘डब्लुपिएल कन्ट्री अवार्ड २०२५’ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रममा सहभागी हुन (असोज १२ देखि १४ गते) परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बैठकले राजस्व न्यायाधीकरण नेपालगञ्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेल, झापालाई नियुक्त गर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि आर्थिक वर्ष २०८२/८३ का लागि अधिकृतस्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णग गरेको छ ।

बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, आव २०८२/८३ मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय ‘एन्टिडोपिङ ऐजेन्सी’मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम आव २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको गोन्जाउ र साङ्घाईमा भदौ २७ देखि असोज ४ गतेसम्म हुने १२ औँ बेजिङ साङ्घाई फोरममा सहभागी हुन प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई स्वीकृति प्रदान गर्ने, कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ‘ग्लोबल हायर एजुकेसन’ सम्बन्धी ‘रिलाइन्स, भ्यालुस्, इनोभेसन सर्भाविङ एन्ड थ्रिभिङ इन अ भोलाटाइल वर्ल्ड’ विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको छ ।

यसैगरी ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणका लागि १२३५ दशमलव ७४ क्युफिट काठ उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजस्व रोयल्टी रकम रु १० लाख १९ हजार ४६९ मिनाहा गर्ने, ‘कोस्क्याप साउथ एसिया प्रोजेक्ट’ छैटौँ चरणको कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया सरकारबीच ‘एग्रिमेन्ट अन जेनरल वर्कस् रिक्रुट्मेन्ट बिटविन द गर्भमेन्ट अफ नेपाल एन्ड द गर्भमेन्ट अफ द किङडम अफ साउदी अरेविया’ विषयक श्रम सम्झौता गर्ने सरकारले निर्णय गरेको छ ।

यसका साथै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायाँनाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२ २०८७) स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र पहलकदमी आवश्यक रहेको बताएका छन् ।सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले पार्टीको मजबुतीका लागि लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’
पाण्डेले एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने धारणा भ्रमपूर्ण रहेको दाबी गरे । ‘केही साथीहरूलाई अहिलेपनि एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने भ्रम छ । तर, वास्तवमा प्रक्रियाबाट हाम्रो एकता भएको हो । अनौपचारिक लेनदेन र सेटिङजस्ता प्रवृत्तिबाट एकता भएको देखिँदा लोकतान्त्रिक अभ्यास कमजोर बन्यो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’उनले भने ।

कार्यक्रममा उनले अन्य पार्टीबाट आएका व्यक्तिहरूका लागि उमेर हद हटाउने निर्णयबारे पनि चर्चा गरे । ‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौँ। कार्यकालको कुरा पनि उठेको छ । कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने ।पाण्डेले पार्टीलाई मजबुत बनाउन आन्तरिक लोकतन्त्रको अभ्यास र संस्थागत प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

पहिराबाट होक्मा गाउँका छ घर उच्च जोखिममा

ताप्लेजुङ, १६ भदौ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिराका कारण विस्थापित भएका छन् ।

गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् । स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ ।

चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएको छ ।

प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपतिसुसौलिथ बीच भेटवार्ता

थियानजिन (चीन), १६ भदौ : शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियोे । भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

कृत्रिम गर्भाधानले दूध तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ

गलकोट (बागलुङ), १६ भदौ : पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच सय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

खासगरी व्यावसायिक पशुपालन फर्मका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । विसं २०७६/७७ मा एक हजार छ सय गाईभैँसीको कृत्रिम गर्भाधान गरेकोमा त्यसको सङ्ख्या क्रमश बढेर अहिले दुई हजार पाँच सय ४३ पुगेको हो ।

आर्थिक वर्ष २०७७÷७८ एक हजार आठ सय, आर्थिक वर्ष २०७८/७९, एक हजार आठ सय, आर्थिक वर्ष २०७९/८० एक हजार सात सय, आर्थिक वर्ष २०८०/ ८१ दुई हजार दुई सय गाईभँैसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।
बागलुङ जिल्लामा हाल आठ वटा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् भने १२ जना कृत्रिम गर्भाधानकर्ता सक्रिय रहेर सेवा दिइरहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अस्पतालमार्फत छ सय ४१ पटक र अन्य स्थानमार्फत एक हजार नौ सय दुई पटक सेवा दिइएको छ ।

पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो । किसानको दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पु¥याएको सापकोटाको भनाई छ । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।

कृतिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने पशुपालक किसान नन्दलाल सापकोटाले जानकारी दिनुभयो । गुणस्तरीय जातका गाईभैँसीबाट प्राप्त विर्य प्रयोग गर्ने भएकाले दूध उत्पादन गर्ने क्षमता बढी भएको सन्तान प्राप्त गर्ने गरेको पाइन्छ ।
यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको विर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्न गर्दा दूधको उत्पादनमा तीन गुणासम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउँछन् ।

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

भद्रपुर (झापा), १६ भदौ-प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु ३७ करोड ९८ लाख ६८ हजार, अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख, अम्लिसो रु आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु छ करोड १० लाख, बन्दा रु चार करोड सात लाख, मसुरो दाल रु दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट रु एक अर्व ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको

डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले समेत सम्झौतामा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सहभागी प्रहरी प्रमुखहरूले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाउँदै आफ्ना क्षेत्रमा वार्षिक लक्ष्य तय गरी समयमै कार्यान्वयन गर्ने अठोट व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकता नभई प्रहरी सेवामा चुस्तदुरुस्त र आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने महत्वपूर्ण माध्यम भएको बताए। उनले योजनाबद्ध ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै सम्झौता सफल हुने विश्वास व्यक्त गरे।

सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो कामको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा प्रदेश प्रहरी कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।

हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।

हैजा राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने : गृहमन्त्री लेखक

वीरगन्जं । गृहमन्त्री रमेश लेखकले बारा पर्सामा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन् । उनले सुरक्षाका तीन वटै अंगमा रहेका चिकित्सक तथा विज्ञहरुलाई परिचालन गर्नु परेर भएपनि हैजाको महामारीलाई यथासिर्घ नियन्त्रणमा ल्याइउने बताए ।

नेपाली काँग्रेस आपूर्ती तथा उपभोग्ता विभागले आइतबार वीरगन्जमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिस्चिता उपभोक्तको अधिकारी हाम्रा चासो विषयक अन्तरकृया कार्यक्रालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वीरगन्ज र यसआसपासका क्षेत्रमा देखा परेको हैजाको संक्रमण केबाट फैलिएको हो त्यसको स्रोत सरकारले पत्ता लगाइ छाड्ने बताएका हुन् ।

महामारिको रुपमा बदलिएको हैजा फैलिनमा कहा चुक भएकोहो, त्यसको खोजि निती सरकारले गर्ने र त्यसकालागि आवश्यक भए विज्ञहरुको टोली समेत सरकारले परिचालन गर्न सकिने उनले जानकारी दिए ।

वीरगंन्जमा देखिएको जलसंकटलाई सम्बोधन गर्न सरकारले डिप वोरिङमार्फत सर्वसाधारलाई पानि वितरण गर्दा भएका कमी कमजोरिको सरकारले समिक्षा गर्ने जानकारी दिँदै मन्त्री लेखकले हैजाको प्रकोप नियन्त्रणमा कुनै कमी सरकारले बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले लोतकतन्त्र र गणतन्त्रको विकल्प अन्य कुनै तन्त्र हुनै नसक्ने र लोकतन्त्र मासिए मुलुकमा समाधान हुनै नसकिने द्वन्दको सुरुवात हुने खतरा रहेको गृहमन्त्री लेखकले चिन्ता व्यक्त गरे ।

कार्यक्रमा कानुन तथा न्याय मन्त्री अजय चौरसियाले संविधान र लोकतन्त्रलाई कमजोर पर्नेलाई कानुनी दायरामा ल्याउन ऐन निर्माण गर्ने तयारीमा सरकार रहेको जानकारीदिए ।उनले हजारौको बलिदानि र सात दशको संर्घषबाट प्राप्त भएको संघीय लोकतान्त्रिक समावेशिता सहितको संविधानलाई जलाउने, त्यसको अपमान गर्नेलाई कारवाही गर्न कानुन निर्माण भइरहेको बताए ।

उद्योगि व्यपारिको प्रतिष्ठालाई जोगाउन र व्यपार मैत्रि वातावरण मुलुकमा निर्माण गर्न सरकारले देवानी मुद्दामा अग्रीम जमानतको प्रावधान कानुनमै राख्ने तयारीमा लागेको कानुन मन्त्री चौसियाले जानकारी दिए ।उनले उद्योगि व्यपारिलाई आफु पक्राउ पर्न सकिने सम्भावन रहेका महसुर भएपछि अदालतबाट पक्राउ पर्नु अगाडी नै अग्रिम जमानत लिन सकिने कानुनमा व्यवस्था गर्न लागिएको र त्यसको मसौदा निर्माणको क्रममा रहेको बताए ।

ढोरपाटन पुग्ने हिलाम्मे सडकले पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ), १६ भदौ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ ।

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकवेंसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन भएन ।”

नवलपुरबाट ढोरपाटन घुम्न आउनुभएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उहाँको भनाइ छ ।

“ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ”, उहाँले भन्नुभयो ।

विसं २०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । हालसम्म काम हुन नसकेको हो ।

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ ।महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,आज दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै,आज रातीको समयमा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक– दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।