`

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १८ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४७, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, लोकल बन्दा प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली (तराई) प्रतिकिलो रु ६५, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ९५, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ६५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २५, रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो साग प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २७०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ७५०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १८० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १३५, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७५, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु ३००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ

काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा समितिको आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

बेनी (म्याग्दी), १८ भदौः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।

हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।

वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उहाँ चिन्तित हुनुहुन्छ । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उहाँको जोड छ ।

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ : जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् ।

“हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी वाग्लेले भन्नुभयो । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् ।

शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् । यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ ।

चीनमा ‘न्यानोप्रविधि’ मा आधारित कम्पनीहरू तीव्र गतिमा वृद्धि

विगत २५ वर्षमा विश्वभर स्वीकृत ‘न्यानोप्रविधि’सम्बन्धी आविष्कार अधिकार (पेटेन्ट) हरूको ४३ प्रतिशत हिस्सा चीनको रहेको छ । यो तथ्य आइतबार बेइजिङमा आयोजित एक औद्योगिक मञ्चमा सार्वजनिक गरिएको ‘चीन न्यानोप्रविधि उद्योग २०२५’ शीर्षकको श्वेतपत्रमा उल्लेख गरिएको हो ।

‘पेटेन्ट’ भन्नाले कुनै नयाँ आविष्कार, प्रक्रिया, उपकरण वा प्रविधिमा अधिकार प्रदान गर्ने कानुनी प्रमाणपत्र हो, जसले आविष्कारकर्तालाई एक सीमित अवधिको लागि त्यो आविष्कारको उपयोग, उत्पादन र वितरणमा विशेष अधिकार दिन्छ । यसको उद्देश्य नवप्रवर्तनलाई प्रोत्साहन गर्नु हो । पेटेन्ट पाएको आविष्कार अरूले बिना अनुमति प्रयोग गर्न पाउँदैनन्, जसले प्रतिस्पर्धामा पारदर्शिता र आविष्कारको व्यावसायीकरणलाई सहयोग पु¥याउँछ ।

सन् २००० देखि २०२५ सम्म विश्वभर १० लाख ७० हजारभन्दा बढी न्यानोप्रविधिसम्बन्धी अधिकार प्रमाणपत्र (पेटेन्ट) जारी गरिए, जसमध्ये चार लाख ६४ हजार चीनले प्राप्त गरेको छ । यो संख्या अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पाएका प्रमाणपत्रहरू भन्दा धेरै हो ।

श्वेतपत्रमा उल्लेख अनुसार, चीनका पेटेन्टहरू मुख्यतः अर्धचालक उपकरण (सेमिकन्डक्टर), उत्प्रेरक रसायन, जैविक औषधि र नयाँ सामग्री जस्ता प्रमुख प्रविधिमा केन्द्रित छन् । अर्धचालक प्रविधिमा बेइजिङ, सांघाई, शेन्जेन र सुछोउ अगाडि रहेका छन् भने जैविक औषधिमा बेइजिङ, सांघाई र ग्वाङझोउ मुख्य केन्द्रहरू हुन् ।

चीन विज्ञान प्रतिष्ठानले २३ हजार ४०० आविष्कार अधिकार प्राप्त गरी विश्वका सबैभन्दा धेरै पेटेन्ट भएका संस्थाको रूपमा पहिलो स्थान हासिल गरेको छ । चीनमा न्यानोप्रविधिसम्बन्धी अधिकारहरू स्थानान्तरण दिने दर ८ प्रतिशत नाघिसकेको छ, जसले प्रविधिको व्यावसायीकरणमा प्रगति भइरहेको देखाउँछ ।

सन् २०१८ सालको अन्त्यसम्म चीनमा न्यानोप्रविधिमा आधारित कम्पनीहरूको संख्या ३४ हजार ५०० नाघेको छ, जसमध्ये ७३९ कम्पनी शेयर बजारमा सूचीकृत छन् । यो क्षेत्रले करिब ९९ लाख मानिसलाई रोजगारी प्रदान गरिरहेको छ ।

श्वेतपत्रमा विश्व न्यानोप्रविधि बजार सन् २०२५ को अन्त्यसम्म १.५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जसको वार्षिक औसत वृद्धिदर सन् २०१८ देखि २०२५ सम्म १७ प्रतिशतभन्दा बढी रहेको छ ।

उक्त श्वेतपत्र १०औं अन्तर्राष्ट्रिय न्यानोविज्ञान तथा प्रविधि सम्मेलन अन्तर्गत आयोजित एक उप–मञ्चमा सार्वजनिक गरिएको हो । सम्मेलन शनिबारदेखि सोमबारसम्म बेइजिङमा आयोजना गरिएको थियो, जसको व्यवस्थापन चीनको राष्ट्रिय न्यानोप्रविधि केन्द्रले गरेको हो ।

सम्मेलनमा सात जना विश्वस्तरीय वैज्ञानिकहरूले प्रमुख सम्बोधन प्रस्तुत गरे भने ६०० भन्दा बढी विज्ञहरूले न्यानोप्रविधिका १५ चर्चित विषयहरूमा अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उद्घाटन समारोहमा सम्मेलन अध्यक्ष बै चुनलीले भन्नुभयो, “न्यानोप्रविधि हरित ऊर्जा, जैविक औषधि र सूचना प्रविधिजस्ता रणनीतिक क्षेत्रहरूमा परिवर्तन ल्याउने प्रमुख शक्ति हो । यसले उत्पादन प्रणालीमा गुणात्मक सुधार ल्याउन मद्दत गर्छ ।”

उहाँले कृत्रिम बुद्धिमत्ताको विकासले न्यानोप्रविधिको अनुसन्धान पद्धतिमा आमूल परिवर्तन ल्याएको बताउनुभयो । भविष्यमा आधारभूत अनुसन्धानलाई बल दिनुका साथै, प्रयोगमुखी प्रविधि विकास, अन्तर्राष्ट्रिय सहकार्यको गहिरोकरण र विश्व नवप्रवर्तनमा न्यानोप्रविधिको भूमिका अझ सशक्त बनाउने कार्यमा जोड दिइनेछ ।

यो सम्मेलन सन् २००५ देखि सुरु भई लगातार ९ संस्करणसम्म बेइजिङमै आयोजित हुँदै आएको छ ।

कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १८ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

काठमाडौँ, १८ भदौ: विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ ।

तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ ।

हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको छ ।

साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ । बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो ।

उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताउनुभयो ।

आफूहरुले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो ।”

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् । यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ ।

निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उहाँको भनाइ छ । “विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सगरमाथाको छ हजार एक सय ३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उहाँको भनाइ छ । “हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरेका थियौँ, यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर सङ्कलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहर सङ्कलनको योजना छ”, उहाँले भन्नुभयो । एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर सङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ ।

साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प–१ बाट ड्रोनको प्रयोग गरी दुई सय ८६ केजी फोहर सङ्कलन भइसकेको छ भने यस याममा थप फोहर सङ्कलन जारी छ । “एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो”, उहाँले भन्नुभयो, “यसपटक साइमेक्स इङ्क र एयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजी फोहर सङ्कलन सुरु गरेका छौँ ।”

जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहर सङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको बताउनुभयो । “रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकाले समस्या भएको बताउनुहुन्छ । उहाँले सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकै सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरोहीहरुसँग प्रत्येक पटक फोहरका शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमा राख्छ तर पछि फिर्ता पनि दिन्छ, तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको छ ।” उहाँका अनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौँ, १८ भदौः सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।

मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, के छ आजको कार्यसूची ?

काठमाडौँ, १८ भदौः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ ।

यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुहुनेछ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

सो समितिमा बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । यस्तै, उहाँले शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी, प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

विकास निर्माणका काम समयमा सम्पन्न गर्न मुख्यसचिव अर्यालको निर्देशन

मोरङ, १७ भदौ: नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका शासकीय सवाल विषयक अन्तरक्रिया उहाँले जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी समयमा काम गर्न आग्रह गर्नुभयो ।

मुख्यसचिव अर्यालले राजस्व चुहावट नियन्त्रण र लागुऔषध नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष तीन प्रतिशतले साधारण खर्च वृद्धि भइरहेकामा चिन्ता व्यक्त यसले जनताको आयवृद्धिमा समस्या सृजना भइरहेकाले मितव्ययिता अपनाउनुपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्न ऐन कानुन संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिउपज भारत निकासीका लागि प्रदेशको खाद्य प्रयोगशालामा आवश्यकताअनुसारको कर्मचारी नियुक्त गर्न सुझाव दिनुभयो ।

कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले तीन तहका सरकारबीच समन्वय कायम गरी कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीलगायतले आफ्नो कार्यालयले गरेका काम र समस्याबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घीय कार्यालयका प्रमुख, प्रदेशका मन्त्रालयका सचिव, तीन वटा सुरक्षा निकायका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो ।

गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ परे राजेन्द्र

कञ्चनपुर, १७ भदौ : दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई आज प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ ।

बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ । निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

वर्तमान सरकारको विरुद्ध परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ, १७ भदौ : सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक विषय भएकाले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश गरेको हो ।

“निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा प्रस्तुत निवेदनको पूर्ण सुनुवाइ भई छिटो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत निवेदनमा सबै विपक्षीहरुबाट लिखित जवाफ परेको वा पर्ने अवधि भुक्तान भएको सात दिनभित्र निवेदनको सुनुवाइलाई अग्राधिकार दिई सोअगावै देहायका कार्यहरू सम्पन्न गर्नु”, आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा नेपालको संविधानको धारा १००(२) को व्याख्याको जटिल संवैधानिक प्रश्न समावेश भएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) ग बमोजिम पूर्ण इजलासमा पेस गर्नु ।”

अदालतले वर्तमान सरकार गठन हुँदाको २०८१ असार ३१ मा गठन हुँदाका बखत पेस भएको दलहरूको समर्थन पत्र राष्ट्रपति कार्यालयबाट झिकाउन भनेको छ । आदेशमा २०८१ साउन ६ गते वर्तमान सरकारलाई विश्वासको मत दिने राजीतिक दलहरूपिच्छेको मतसङ्ख्या देखिने विवरण सङ्घीय संसद् सचिवालयबाट झिकाउन भनिएको छ ।

अदालतले २०८१ साउन ६ मा वर्तमान सरकारलाई विश्वासको मत दिने सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (अशोक राई) र समाजवादी पाटी (उपेन्द्र यादव) बाट भएको निर्णयसम्बन्धी राजनीतिक दलको कार्यालयबाट कागजात झिकाउन भनिएको छ ।

अधिवक्ता वीरेन्द्र केसीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएको उल्लेख गर्दै गत सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

पहिलो जननिर्वाचित महिला नेत्री प्रधानको स्मरण

काठमाडौँ, १७ भदौ : मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने भएको छ ।

पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उहाँले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीनित सङ्घर्षको प्रतिफलका रूपमा भदौ १७ गतेलाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो ।

साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र नभएर, पहिलो महिला सम्पादक, एसएलसी पास गर्ने पहिलो चार महिलामध्ये एक महिला पनि हुनुहुन्थ्यो ।

अखिल नेपाल महिला सङ्घ र साधन स्मृति समाजले आज पहिलोपटक साधना प्रधानको सम्झानामा नेपाली महिलाले पहिलोपटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा पुस्तक समेत सार्वजनिक गरेको छ ।

पहिलो महिला मुख्यमन्त्रीको जिम्मेवारीमा सम्हाली सक्नुभएकी नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घरको जिम्मेवारी सम्हालेर पुरुषलाई राजनीतिक अभियानमा लाग्न प्रेरित गर्ने महिलाको भूमिकालाई पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विवाहपश्चात् साधना प्रधानले घरको जिम्मेवारी सम्हाली दिएकै कारण मनमोहन अधिकारीले राजनीतिको उच्च तहमा पुग्न सफल भएको भन्दै महिलाको त्यो कामलाई पनि राजनीतिक आन्दोलनको रूपमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

विषम् राजनीतिक अवस्थाका क्रममा आन्दोलनको अगुवाइ गरेका दुई महिलालाई सो अवसरमा सम्मान गरिएको छ । विसं २०४३ मा तत्कालीन चम्पादेवी गाउँ पञ्चायत (कीर्तिपुर)मा उपप्रधानपञ्चमा निर्वाचित भवानी रिजाल (भानु) र तत्कालीन इटहरा गाउँ पञ्चायत मोरङका उपप्रधानपञ्चमा निर्वाचित गङ्गा डाँगीलाई सम्मान गरिएको छ । कार्यक्रममा दुई सम्मानित महिला नेताहरूले भूमिगत अवस्थामा आफूहरूले गरेको राजनीतिक सङ्घर्षको स्मरण गर्नुभएको थियो ।

नेपाल महिला सङ्घका अध्यक्ष उषा रावतले आफ्नो सङ्गठनले पनि अगुवा राजनीतिक महिलाहरूको दस्तावेज राख्ने काम गरिरहेको उल्लेख गर्दै साधना प्रधानको राजनीतिक जीवनीको किताबले आफूहरूलाई त्यो कामका लागि मार्गनिर्देश गर्ने बताउनुभयो ।

नेकपा (केन्द्र माओवादी) का नेता तथा पूर्वमन्त्री शशि श्रेष्ठले सबै राजनीतिक महिलाहरूको साझा आन्दोलनको परिणामस्वरूप अहिलेको उपलब्धि भएकाले त्यसको रक्षाका लागि सबै दलका महिला एक हुनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका महिला प्रतिनिधिलगायतका सहभागिता थियो । कार्यक्रममा नेकपा एमाले नेता तथा अनेमसङ्घ इञ्चार्ज सीता पौडेल, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यलगायतले साधना प्रधानको राजनीतिक जीवनका बारेमा स्मरण गर्नुभएको थियो ।

साधना स्मृित समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई अब प्रत्येक वर्ष दिवसका रूपमा मनाउन, साधना प्रधानको राजनीतिक सङ्घर्षले प्राप्त उपलब्धिको स्मरण गर्न समाजको स्थापना भएको बताउनुभयो । अनेमसङ्घ अध्यक्ष टुकाभद्र हमालले भदौ १७ गते दिवसका रूपमा मनाउने नेतृत्व अनेमसङ्घले लिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको पुस्तक साधना विमोचन गरिएको थियो । साधना स्मृित समाजले प्रकाशन गरेको पुस्तकको संयोजन डा विन्दा पाण्डेले गर्नुभएको हो ।

गाजामा मानवीय सङ्कट गहिरिंदै, इजिप्टद्वारा आलोचना

इजिप्टको परराष्ट्र मन्त्रालयले सोमबार गाजामा इजरायलले जारी राखेको सैनिक आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लंघन भन्दै गम्भीर रूपमा भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायलको ‘सैन्य विस्तार’ ले युद्ध रोक्न इजिप्ट र कतारले अघि सारेको नयाँ युद्धविराम प्रस्तावसहितको विश्वव्यापी कूटनीतिक प्रयासलाई असफल तुल्याएको उल्लेख गरिएको छ । साथै, यसले गाजाको युद्ध अन्त्य गर्ने, क्षेत्रीय तनाव कम गर्ने र शान्ति स्थापना गर्ने कुरामा इजरायलको कुनै चाहना नरहेको स्पष्ट पार्दछ ।

मन्त्रालयले इजरायलले अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको दुई स्वतन्त्र राष्ट्रको अवधारणा अनुसारको शान्ति प्रक्रियाबाट आफूलाई पछि हटाएको थप उल्लेख गरेको छ । त्यस्तै, गाजामा निहत्था सर्वसाधारण नागरिकहरूमाथि गरिएको नाकाबन्दी र भोकमरीको नीतिले त्यस क्षेत्रको मानवीय संकटलाई अझ भयावह बनाउने खतरा बढाएको छ ।

अगस्ट ८ गते, इजरायलले आफ्नो सुरक्षा परिषद्ले गाजा शहरलाई नियन्त्रणमा लिने योजना पारित गरेको घोषणा गरेको थियो, जसको आलोचना स्वदेश तथा विदेश दुबैतर्फबाट भएको थियो ।

अगस्ट २८ गते इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक सैनिक कारबाही सुरु गरिसकेको र शहरको छेउछाउमा तीव्र गतिविधि भइरहेको जनाएको थियो ।

यसैबीच, इजरायली सेनाले शहरमा लागू गरिएको दैनिक १० घण्टाको मानवीय विश्रामसमेत रद्द गरिएको घोषणा गरेको छ, र गाजा शहरलाई ‘अत्यन्तै खतरनाक युद्ध क्षेत्र’ घोषणा गरिएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका अनुसार, २०२३ अक्टोबर ७ गतेदेखि हालसम्म इजरायली सैनिक कारबाहीका कारण ६३ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ६० हजार ६ सय ६० जना घाइते भएका छन् । त्यस्तै, भोकमरी र कुपोषणका कारण तीन सय ४८ जनाको मृत्यु भएको छ, जसमा एक सय २७ जना बालबालिका रहेका छन् ।

मधेस प्रदेशबाट उठ्ने राजस्वको ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज (सप्तरी), १७ भदौः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताउनुभएको छ ।

लोसपा सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मात्र मधेसमा आउने गरेको बताउनुभयो । अध्यक्ष ठाकुरले भन्नुभयो, “जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट हुनुपर्छ । यसैगरी यस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत बजेट मधेसले पाउनुपर्छ । तब मात्रै यहाँको विकास हुनसक्छ ।”

मधेसमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्ने क्रममा आफू पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै उहाँले त्यस बेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन नभएको बताउनुभयो । प्रधानमन्त्रीले ५०० ‘डिप बोरिङ’ दिने घोषणा गरे पनि कार्यान्वयन नभएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

अध्यक्ष ठाकुरले अन्न भण्डार मधेसमा भएको खडेरी र खानेपानी समस्याबारे आफ्नो पार्टीले सरकार र सदनमा आवाज उठाउने काम गरिरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झासहित पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो । राजविराजमा बुधबार आयोजना हुने सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन उहाँहरू यहाँ आइपुग्नुभएको हो ।

होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइनेछ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, १७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइने बताउनुभएको छ ।

जिल्ला होटल व्यवसायी सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागेको बताउनुभयो ।

मन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकाले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउन उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

सङ्घले होटल व्यवसाय निरन्तर घाटामा गइरहेको र सञ्चालन खर्च धान्न कठिन भइरहेको भन्दै विद्युत् महसुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरेको थियो ।

सङ्घका अध्यक्ष सुरेश बरालले पर्यटन क्षेत्रलाई राजस्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा योगदान पुर्‍याएको भन्दै होटललाई विशेष सुविधा दिनुपर्ने माग गर्नुभयो ।

सरकारले चालू आवको बजेटमा होटल र रेस्टुराँलाई उत्पादनमुखी उद्योग सरह मान्यता दिँदै विद्युत् महसुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सङ्घको गुनासो छ ।

अध्यक्ष बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यावसायिक अवस्थाबीच होटल व्यवसायीलाई विद्युत् महसुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो ।

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार (सुर्खेत), १७ भदौ : आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

काठमाडौँ, १७ भदौः बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

सभाअध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रियसभाबाट पारित गर्नुपर्ने आज अन्तिम समयसीमा रहेको थियो ।

मन्त्री न्यौपानेले यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवदेनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विधेयकले सङ्घीयताको मर्मअनुसार कर्मचारीको व्यवस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रियसभाले एउटा इतिहास रचेको छ । सङ्घीयतालाई कार्यान्वयन गर्न आवश्यकपर्ने महत्त्वपूर्ण यस विधेयकमा अत्यन्तै हार्दिकताका साथ सहमति जुटेको छ”, मन्त्री न्यौपानेले भन्नुभयो, “सङ्घीयतामा गएको यतिका वर्ष भइसक्यो, तर त्यसको मर्मअनुसार कर्मचारीको व्यवस्थापन हुन सकिरहेको थिएन । अब कर्मचारी व्यवस्थापनमा भइरहेको असहजता र अन्योलताको हल गर्ने परिस्थिति बन्नेछ ।”

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, गोपाल भट्टराई, राधेश्याम पाश्वान, पद्मबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, कृष्णबहादुर रोकाय र मायाप्रसाद शर्माले धारणा राख्नुभएको थियो ।

सभाको आजकै पहिलो बैठकमा विधान व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले उक्त विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले विधेयकले प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउने बताउनुभएको थियो ।

“प्रतिवेदनले निजामती सेवाका कर्मचारीलाई आफ्ना कामप्रति व्यावसायिक, निष्ठावान् र प्रतिबद्ध बनाउँदै नीतिनिर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनी महत्त्वपूर्ण प्रावधान राखेको छ । खासगरी अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न वा कुनै नियुक्ति लिन नपाउने गरी प्रबन्ध गरिएको छ”,सभापति दाहालले भन्नुभयो ।
विधेयकको व्यवस्थाअनुसार अब ऐन प्रारम्भ भएको वर्ष ५८, दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अनिवार्य अवकाश उमेर हद लागू हुनेछ ।

सभाको अर्को बैठक भदौ २३ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

काठमाडौँ महानगरबाट २०४ जना विपन्न, असहायले लिए निःशुल्क सेवा

काठमाडौँ, १७ भदौ : काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट अहिलेसम्मा २०४ जनाले सेवा लिनुभएको छ ।

उक्त सेवा २०८० फागुन १ गतेदेखि सञ्चालनमा ल्याएको हो । सेवा लिनेमध्ये सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिनुभएको छ । यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया रहेको कामपाले जानकारी दिनुभएको छ ।

कामपाका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन् । सात जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वाशसम्बन्धी, १२ जनाले मूत्र प्रणाली तथा पिसाबसम्बन्धी समस्यामा सेवा लिनुभएको छ ।

सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिनुभएको छ । काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जनाले, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट नौ जनाले सेवा लिनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

सेवाप्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिनुभएको छ । यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेस प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जना बिरामीले सेवा लिनुभएको छ । यो करिब रु ७४ लाख १६ हजार उपचार सेवा हो ।

लक्षित वर्गलाई निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा नआएपछि कामपाले अनिवार्य गराएको थियो । यसलाई कार्यान्वयन गराउन कामपाले लक्षित वर्गको उपचार गराउनेसम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया कामपाको यस प्रणालीमा आबद्ध भएका छन् ।

यस सेवासम्बन्धी थप जानकारीका लिन कामपाको निःशुल्क कल सेन्टर ११८० मा फोन गर्न सकिने बताइएको छ । बिरामीले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि अस्पतालअनुसार श्यया खाली छ वा छैन विवरण आवश्यकताअनुसार बुझ्न पनि सकिनेछ ।

सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष महतो

मोरङ, १७ भदौ : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मित्र राष्ट्र भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।

सो पार्टीको मोरङ कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिनुभयो । अध्यक्ष महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकका दलहरूले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राख्नुभयो । उहाँले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घ, संस्थालाई नागरिक समाज संस्था सहजीकरण प्राधिकरणमार्फत व्यवस्थित गर्न गृहमन्त्रीसमक्ष माग

काठमाडौँ, १७ भदौः सङ्घ, संस्थालाई निजामती कर्मचारी रहने विभाग मातहत नराखी नागरिक समाज संस्था सहजीकरण प्राधिकरणमार्फत व्यवस्थित गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिएको छ ।

दुई दर्जन बढी नागरिक समाजका संघ संस्थाका प्रतिनिधिले आज गृहमन्त्री लेखकलाई यहाँ मन्त्रालयमा भेटगरी ज्ञापनपत्रसहित यस्तो माग गरिएको सामुदायिक सारथी संस्थाका ताराबहादुर भण्डारीले जानकारी दिनुभयो । ज्ञापनपत्रमा नागरिक समाज संस्था तल्लो तहसम्म पुग्ने लोकतन्त्रका खम्बा भएकाले यी संस्थालाई नियमन गरिनुपर्ने तर नियन्त्रण गर्न नहुनेमा जोड दिएको उहाँले सुनाउनुभयो ।

त्यस अवसरमा गृहमन्त्री लेखकले राष्ट्रिय निर्देशन ऐन र सङ्घ संस्था दर्ता ऐन ज्यादै पुरानो भएको र यसले हालका चुनौतीलाई सामना गर्न नसक्ने भएकाले नयाँ विधेयक प्रस्ताव गरिएको बताउनुभयो ।

सङ्घसंस्थाको आम्दानी र खर्चको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गर्दा यस्ता संस्थाको गौरव अझ बढ्ने र अपारदर्शिताको आरोप पनि नलाग्ने भएकाले यस्तो प्रस्ताव गरिएको उहाँले बताउनुभयो । यसबाहेक लोकतान्त्रिक मूल्यमान्यतालाई नियन्त्रण गर्न नखोजिएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो ।

बल्मा नदीमा बगेर एक जना बेपत्ता

दोधारा चाँदनी (कञ्चनपुर), १७ भदौ : कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन् । “बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ ।” कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ ।

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ, १७ भदौः जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ ।

यहाँ कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक यहाँ भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

यहाँ सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।

यहाँ सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्षको सो अवधिभन्दा हाल सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात् (२२ दशमलव १४) प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात् (२० दशमलव ९७) प्रतिश पर्यटक वृद्धि भएको देखिन्छ ।

मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्कका एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना पर्यटक थिए ।

कार्यालयको विवरणअनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेका छन् । यहाँ भित्रिने अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जनाइएको छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको यात्रा सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नुपर्ने सूचीमा सूचीकृत गरेसँगै यहाँ विदेशी पर्यटकको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुन थालेको जानकारहरू बताउँछन् ।

यो जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधतासँगै यहाँको पृथक भूगोलका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँ सदियाँै पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, तालतलैया, लोमान्थाङ ऐतिहासिक दरबार, कोरलानाकालगायत पर्यटकीय गन्तव्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

विद्यालय शिक्षा विधेयक सञ्चाउनुपर्ने शिक्षकहरूको माग

काठमाडौँ, १७ भदौः शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा धर्नासमेत दिएका छन् ।

विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले सङ्घर्षका कार्यक्रम गर्दै आएको छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलबलगायत विषयमा आफना माग राख्दै आएका छन् ।

यस्तै, द्वन्द्वपीडित र संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत महासङ्घले उठाउँदै आएको छ । सोही अवसरमा शिक्षकको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि सुरू

काठमाडौँ, १७ भदौः निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि सुरू भएको छ । आज बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिनुभयो । उहाँले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उहाँले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै हुनहुन्छ ।

उहाँहरुसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ ।

विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेख्नुभएको हो ।

‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु

काठमाडौँ, १७ भदौ: सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीद्वारा मार्चपास गरियो ।

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरियो । यसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि सङ्गठनका नाममा कायम रहेको रेर्कड तोड्दै तीन मिनेट ५४.०२ मा दूरी पार गरी प्रथम हुनुभयो । त्यसैगरी मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो घोषित हुनुभयो ।

महिलातर्पmको ८०० मिटर दौड प्रतियोगितामा १३ नं बाहिनाका अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीका सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तृतीय हुनुभयो । सोही समारोहमा विजयी प्रतियोगिता प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गर्नुभयो ।

आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, बलिवल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन् । प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा हुनेछन् ।

विसं २०६५ देखि शुभारम्भ भएको प्रतियोगिताले उत्कृष्ट खेल प्रतिभाको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्दै खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको झण्डा फहराएर नेपाल र नेपालीको गौरव उच्च बनाइरहेको सेनाले जनाएको छ ।

विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा समेत सेनासँग आबद्ध २६ खेलाडी सहभागी भई सफलता प्राप्त गर्नुमा पनि यस्ता प्रतियोगिताको महत्त्वपूर्ण योगदान रहेको सेनाले जनाएको छ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक धु्रवप्रकाश शाहले त्रिभुवन आर्मी क्लब स्थापनाको उद्देश्य र सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल क्षेत्रमा पु¥याएको योगदान र पछिल्लो समय प्राप्त गरेको सफलता एवं पदकसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।

नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन

बैतडी, १७ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

आज पाटनमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा मन्त्री भण्डारीले सरकारी कार्यालयबाट सम्पादन हुने कामहरू अपेक्षाकृत रूपमा नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सरकारी कार्यालयले गर्ने काममा जनताले अनुभूति गर्ने गरी हुनुपर्छ, जसमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्ने जनताको गुनासो आउनुभएन ।”

पूर्वाधारका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै मन्त्री भण्डारीले अनुदानका काममा नतिजा आउने गरी कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । बर्सातको समय रहेकाले विपद् पूर्वतयारी तथा उद्धारका लागि तयारी अवस्थामा रहन र चाडपर्व लक्षित बजार अनुगमनलाई कडाइ गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विपद् पूर्वतयारी र उद्धारका लागि कुनै कसर बाँकी नराख्नुहोला । चाडपर्व नजिकिएकाले बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुस् ।”

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, १७ भदौ : प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सदस्यहरूले उठाउनुभएको विषयको जवाफ दिनुहुँदै मन्त्री अधिकारीले जग्गा व्यवस्थापनका लागि प्रत्येक वडा, पालिकामा त्यहाँ क्रियाशील सबै दलका प्रतिनिधि रहेको सर्वदलीय समितिले पारित गरेर गरिने भएकाले कुनै बदमासी नगरी सही रूपमा काम हुने प्रतिबद्धता जनाउनुभयो । जग्गा कमाइ आएको छ तर उसका नाममा देशभर कतै जग्गा नभएका अव्यवस्थित बसोबासीलाई त्यही जग्गा दिने, त्यो जग्गामा कुनै पनि खालका जोखिम अन्यत्र व्यवस्थित गरिने मन्त्रीको अधिकारीको प्रतिबद्धता थियो ।

बैठकमा सदस्यहरू गोपीबहादुर सार्की अछामी, घनश्याम रिजाल, किरणबाबु श्रेष्ठ, इन्दिरादेवी गौतम, मोहम्मद खालिद, जगप्रसाद शर्मा, नारायणदत्त मिश्र, मदनकुमारी शाही (गरिमा), गोपाल भट्टराई, भुवनबहादुर सुनार, पदमबहादुर परियार, राधेश्याम पासवान, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, कृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्मालगायतले प्रस्तावमाथि विचार राख्दै कृषि, उद्यम गर्न राखिएका जग्गालाई प्लटिङ गर्न खोजेको भन्ने विषयलाई प्रष्ट पारिनुपर्नेमा जोड दिनुभएको थियो ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकालाई बसोबासका लागि जग्गाको व्यवस्था गरिनुपर्ने, केही विवाद भएको विषय अझै मिलाउन बाँकी रहेको, अव्यवस्थित बसोबासी बसेको जमिन सुरक्षित नरहेको, भू–माफिया र दलालका लागि पो यो विधेयक ल्याइएको हो कि भन्ने चर्चा बाहिर भइरहेकाले यसलाई मन्त्रीले प्रष्ट पारिनुपर्नेमा सदस्यहरूले जोड दिनुभएको थियो । विधेयकबाट सरकारी, सार्वजनिक र गुठी जग्गा धेरै अपचलन हुने देखिएकाले पुनर्लेखन गर्नुपर्नेमा पनि केही सदस्यहरूले जोड दिनुभएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ राष्ट्रियसभासमक्ष पेस गर्नुभएको थियो । प्रतिवेदन पेस गर्नुहुँदै उहाँले निजामती कर्मचारीले अवकाश पाएको दुई वर्षसम्म अन्यत्र कतै कामका लागि नियुक्ति नपाउने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो ।

चिया श्रमिकले अब दैनिक न्यूनतम पाँच सय ६५ पाउने

झापा, १७ भदौ : नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको बताउनुभयो ।

नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, श्रमिक सङ्गठनहरुको तर्फबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गर्नुभएको छ ।

नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम रु पाँच सय ६५ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम रु १५ हजार ६९९ पाउने भएका छन् । हरेक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्ने पुरानो सहमति अनुरुप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन् ।

यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ रु पाँच सय र मासिक पारिश्रमिकतर्फ रु १३ हजार ८९३ पाउँदै आएका थिए । सहमतिअनुसार दैनिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु ३९ र महँगी भत्तामा रु २६ वृद्धि भएको छ । मासिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु एक हजार १६२ र महँगी भत्तामा रु छ सय ४४ वृद्धि भएको छ ।

रोजगारदाता र श्रमिकका ट्रेड युनियनहरुबीच भएको यस सहमतिलाई नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरेर पठाइने नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राईले जानकारी दिनुभयो ।

उक्त समितिले यही सहमतिका आधारमा निर्णय गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित गर्ने उहाँले बताउनुभयो । दुवै पक्षबीच २०८२ साल साउन १ गतेदेखि नै पारिश्रमिक वृद्धि लागू हुने सहमति भएको छ । पारिश्रमिक वृद्धिका लागि मजदुरको ट्रेड युनियनहरूले साउन १८ गतेदेखि आन्दोलनको सुरुआत गरेपछि नेपाल चिया उत्पादक सङ्घसँग वार्ता थालिएको थियो । सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुङ्गिएको छ ।

जिल्ला नेपालमै सबैभन्दा बढी चिया बगान रहेको जिल्ला हो । बगानमा नियमित र मौसमी गरी दुई प्रकारका मजदुर रहँदै आएका छन् । नियमित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आगामी असोज मसान्तसम्ममा समेट्नका लागि कार्यरत मजदुरहरूको लगत सङ्कलन गरिनेसमेत सहमति भएको छ ।

एभरेस्ट महिला भलिबल लिग खेल्ने कर्णाली यशभिसका ३ खेलाडी नेपाल आइपुगे

काठमाडौं । पोखरामा हुने ’एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं ओर्लिएका उनीहरु आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् ।

ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय ’आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन् ।

सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् ।

खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन् । आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो । सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

मायरा भिटोरिया पनि अनुभवी खेलाडी भित्र पर्दछिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको र कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी पेश गरे ।

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र

ढोरपाटन (बागलुङ), १७ भदौः पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिराले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिनुभयो । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उहाँको भनाइ छ ।

योबाहेक अरु वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताउनुभयो । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उहाँको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उहाँले बताउनुभयो ।

“पहिरो धेरै ठूलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्”, उहाँले भन्नुभयो, “आवतजावत गर्नका लागि अरु वैकल्पिक सडक नहुँदा गाह्रो भयो ।” मौसम र सडकको अवस्था बुझेरमात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ ।

धादिङ–मलेखु सडकः दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन

मलेखु (धादिङ), १७ भदौ : धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

विसं २०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आउनुभएका स्थानीयवासी भरत ढुङ्गाना भन्नुहुन्छ, “पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिराले धकेल्ने क्रम झन् बढेको छ ।”

सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ –८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिराले क्षति पुर्यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताउनुभयो ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नुपर्ने बाध्यता छ ।

अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ । चालक डम्बरबहादुर श्रेष्ठले भन्नुभयो, “पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ्ग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचुम्ला भन्ने आश छैन ।”
पहिरोको लम्बाइ करिब एक सय मिटरमात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ । सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन ।

जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलोपटक यस वर्ष केही भागमा ग्यावियन जाली लगाइयो । त्यो ग्यावियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काममात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताउनुभएको थियो । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ वैकल्पिक बाटो

वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्कन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कने बाटो पनि छ ।
–––

महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

कञ्चनपुर, १७ भदौ : डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।

बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छभने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ ।

त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ । आज बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ । सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् ।

नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।

सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुट्यो, ४२ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौँ, १७ भदौः एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

आयोजनामा सिटिजन्स बैंकले रु दुई अर्ब ५० करोड, नवील बैंकले रु एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु एक अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान एक÷एक अर्ब लगानी गर्ने भएका हुन् ।

सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कूल रु नौ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिनुभयो । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।

नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफीकोट सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रुपमा २८३ दशमलव ३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।

भदौ २७ र २८ गते धुलिखेलमा १३औं नीति सम्मेलन हुँदै

काठमाडौं । समृद्ध समाज होस, या देश निर्माणका लागि सार्थक नीति चाहिन्छ । नीतिमाथि पनि मन्थन र सम्वाद जरुरी छ । यही सत्य आत्मसाथ गरेर चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला आयोजना गर्दैछ ।

१३औं चैतन्य नीति सम्मेलनमको नाम दिइएको छ ‘नीतिदेखि सम्वृद्धिसम्म ः राष्ट्र निर्माणको सार्थक यात्रा’ । सम्मेलनको शिर्षकबारे चैतन्य ग्रुपका सिईओ गणेश जोशी भन्छन्, ‘समृद्धि तब सम्भव हुन्छ, जब नीति सबल हुन्छ । सबल नीतिले सम्वृद्ध देश बनाउन सम्भव छ । समृद्ध देशबाट नै बलियो राष्ट्रको कल्पना सम्भव छ ।’

भदौ २७ र २८ गते धुलिखेलको हिमालय दृश्य रिसोर्टमा आयोजना हुने नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्न अहम् भूमिका खेल्ने आयोजनकको विश्वास छ ।

वर्तमान नेपालमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सवल अभ्यास र आधुनिक प्रविधिको प्रयोग जस्ता विषयमा सम्मेलनमा दिग्गज र प्रवुद्ध व्यक्तित्वद्वारा गहिरो मन्थन गरिने सिईओ जोशीले जानकारी दिए।

राष्ट्र निर्माणका विविध आयामहरूमाथि केन्द्रित यो सम्मेलन सम्बद्ध नीति–निर्माण, सम्वाद र सामूहिक समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा राखिएको छ ।

सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेता, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, साशन, सेवाप्रवाह, विकास र जलविद्युतमात्र नभएर परराष्ट्र नीतिमाथि समेत मन्थन र चिन्तन गरिने छ ।

यसका लागि सम्मेलनमा नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीहरूको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नीति सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइने छ । युवा, महिला, मधेस, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिइने र सम्भावना, आशा र सकारात्मकताको संचारलाई मूल मर्मका रूपमा समेटिन आयोजनकले जनाएको छ ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्ति वाचन आँचल बसलेलले गर्ने कार्यक्रम छ । कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. अच्युतप्रसाद वाग्ले रहने छन् ।

विभिन्न सेसनमा अर्थविज्ञ, नीति निर्माता, राजनीतिज्ञ समाजसेवी, अध्यात्म अध्ययता, शिक्षाविद्, विचारक, पत्रकार र वौद्धिक व्यक्तित्वको सहभागिता रहने सिईओ जोशीले बताए।

यस्तै वरिष्ठ पत्रकार टिकाराम यात्रीले नीति बहस शब्दले नै एउटा गाम्भिर्यता बोकेको बताएका छन्। तेह्र वर्ष पहिले यो अभियान सुरु गर्दा सकसपूर्ण रहे पनि अहिले सफल हुँदै तन्नेरी बन्दै गएको बताए।

‘यो नीति बहस सरकारी होइन, गैरसरकारी पनि होइन, बौद्धिक मात्र पनि होइन। यो बहस सबैको समीश्रण हो। सरकारले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई यो कार्यक्रमले टेवा पु¥याउँदै आएको छ,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यात्रीले भने। कार्यक्रममा उच्च सरकारी अधिकारी, राजनीतिक दल, तीनै तहका सरकारको उत्तिकै सहयोग र सदीक्षा रहेका कारण कार्यक्रम आजको स्थानसम्म आइपुगेको उनले बताए। उनले आफू पनि आठ वर्षदेखि चैतन्यको यस अफियानमा जोडिएर काम गरिरहेको यात्रीको भनाइ थियो।

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

म्याग्दी (बेनी), १७ भदौः जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

“दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भन्नुभयो ।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको उहाँले बताउनुभयो । उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उहाँहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी सुरु गरिएको छ ।

मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उहाँले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकीन गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो ।

सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उहाँहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पैडेलले जानकारी दिनुभयो ।

दैलेखको पेट्रोलियम अन्वेषण : पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल

जलजले (दैलेख), १७ भदौ : पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ ।

खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ ।

यो जम्मा चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र प्रारम्भिक नतिजा हो । बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।

नेपालमै यति ठूलो पेट्रोलियम भण्डारण भेटिएपछि त्यसको उत्खनन र व्यावासयिक उत्पादनको काम कहाँ पुगेको छ भनेर सर्वत्र चासो व्यक्त भइरहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी एवं भूगर्भविद् प्रकाश लुइँटेल पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल रहेको बताउनुहुन्छ । चिनियाँ टोलीले अहिले नमूनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ ।

सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन प्राप्त हुने उहाँको भनाइ छ । अन्तिम प्रतिवेदनबाट पेट्रोलियम पदार्थको परिणामसहित विभिन्न तथ्य तथ्याङ्क प्राप्त हुनेछ । “जियोफिजिकल र जियोलोजिकल अध्ययनको विस्तृत तथ्याङ्कसहित अन्तिम प्रतिवेदनको पर्खाइमा छौँ”, विभागका भूगर्भविद् लुइँटेलले भन्नुभयो, “अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्य काम अघि बढ्छ ।”

सरकारले पनि उक्त स्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्रगतिमा अघि बढाउने दृढता व्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त पेट्रोलियम परियोजनाबाट व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन निर्देशन दिइसक्नुभएको छ ।

सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रिस्तरीय निर्णयबाट गठित समितिमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिष्ट धर्मराज खड्का, परियोजनाका मनिष कर्ण र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल रहनुभएको छ ।

निगमकै पहलमा मन्त्रालयले उक्त समिति निर्माण गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट प्राकृतिक ग्यासको सदुपयोगको सम्भाव्यताबारे उक्त समितिले अध्ययन गर्ने बताउनुहुन्छ । “जलजले क्षेत्रमा देखिएको ग्यास कुनकुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ, त्यसलाई सदुपयोग कसरी गर्ने भन्नेलगायत विषयमा समितिले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो । निगम अध्ययन प्रतिवेदनका आधारमा सरकारले दिने निर्देशनको पर्खाइमा छ ।

समितिले पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिसकेको छ । “मन्त्रालयले दिएको क्षेत्राधिकारभित्र रहेर समितिले अध्ययन थालेको छ, ‘साइट भिजिट’का सिलसिलामा समितिका सम्पूर्ण सदस्य दैलेख पुगेका हौँ”, समिति संयोजक उपाध्यायले रासससँग भन्नुभयो । समितिले दैलेखसँगै सुर्खेतमा रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे पनि अध्ययन गरेको छ ।

“कतिपय विषय पूर्ण प्राविधिक भएका कारणले पनि धेरै कुरा पछि थाहा हुनेछ”, उहाँले भन्नुभयो, “तर प्रारम्भिक रूपमा हामीलाई दिएको जिम्मेवारीको सिलसिलामा केके गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौँ ।” समितिले प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यताबारे पेट्रोलियम विज्ञ, अध्येतालगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ । समितिलाई ग्यासको सदुपयोग, व्यावसायिक उत्पादन, आवश्यक पूर्वाधारको आवश्यकता र लागतलगायत बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

नेपाल र चीनबीच सन् २०१९ मा भएको सरकार–सरकारबीचको सम्झौतापछि पेट्रोलियम अन्वेषणको काम सुरु भएको थियो । जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो ।

स्थानीयका लागि जमिनबाट आफँै बल्ने ग्यास र तेलजस्तै पदार्थ चुहिने विषय नौलो भने होइन । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा भारतीय अघोषित नाकाबन्दीले मुलुकभर इन्धन सङ्कट भएपछि सरकारले स्वदेशकै ऊर्जा स्रोतको उत्खननको प्रक्रिया अघि बढाएको हो ।

विसं २०७५ माघमा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भएको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छसात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान छ ।

धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना (पाइलट) परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ । त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो ।

खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । पेट्रोलियम अन्वेषणको प्रक्रियामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र र आमनागरिकको पूर्ण सहयोग र समर्थन रहेको थियो ।

परियोजनाले सफलता पाउँदै गएपछि दैलेखवासी मात्र नभई सिङ्गो मुलुक नै उत्साहित बनेको छ । उत्खनन, प्रशोधन, आपूर्ति शृङ्खला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीयस्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ ।

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखा, १७ भदौ : काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।