`

१० रुपैयाँ किलोमा पनि बिक्दैन आलु

Nepal One HD ७ चैत २०८२ २१:००
अर्थ समाचार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् ।

खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ ।

‘आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ’, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे ।

गत हप्ता रु १० देखि रु १५ सम्म बिक्री भएको आलु हाल रु सातसम्म झरेको छ । यसले स्थानीय किसानहरू निकै चिन्तित छन् । सापकोटा भन्छन्, ‘मूल्य नपाएपछि बारी खन्ने कि नखन्ने भनेर अलमलमा छौँ । खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।’

यस वर्ष आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । अगुवा किसान सापकोटाका अनुसार केही किसानले आफैँ काठमाडाँैको कालीमाटीस्थित तरकारी बजार लैजाँदा पनि आलु बिकेको छैन । आफ्नो मूल्यभन्दा पनि व्यापारीकै भाउमा छाडेर आउनुपर्दा लगानी जोखिममा परेको छ ।

स्थानीय किसानका अनुसार अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गरेको छ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब प्रतिकेजी करिब रु १८ देखि रु २० सम्म खर्च हुन्छ । विगतका वर्षमा यही समयमा प्रतिकेजी रु २८ देखि ३५ सम्म बिक्री हुने गरेको थियो । स्थानीय विजय पराजुलीले भने, ‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकेजी रु १० सम्ममा आलु बेचिरहेका छौँ ।’

पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने अनुमान गरिएको छ ।

सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न नसकेसम्म समस्या समाधान नहुने स्थानीय समाजसेवी दामोदर अधिकारीको भनाइ छ ।

मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षिय पशुपति श्रेष्ठ भन्छन्, ‘यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बरले आलु फलेको पाइयो, तर भाउ भने घटिरहेको छ । यसले उत्पादन बढ्दा पनि कुनै खुसी हुने अवस्था छैन । ।’

यहाँको ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक आलुलगायतका तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । स्थानीय किसान नारायण श्रेष्ठले उक्त फाँटमा यस ‘सिजन’मा दुई सय रोपनीमा आलु रोपिएको र आफूले मात्रै विगत पाँच वर्षदेखि करिब १२ रोपनीमा आलु रोप्न थालेको बताए । उनले भने, ‘गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, तर भाउ भने पोहोरकोभन्दा तेब्बरले घटेको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिकटन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्‍याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । त्योमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *