`

आजदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु

भादगाउँ, १९ भदौः परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ ।

पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।

जिएसआईमा नेपालले कुनै सहमति नगरेको सरकारको भनाई, भ्रममा नपर्न अनुरोध

काठमाडौँ, १९ भदौः सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ ।

चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

सङ्क्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले “मुुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ । ”

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताउनुभयो ।

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गर्नुभएको थियो, तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ ।

पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गर्नुभयो ।

“हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाउनुभयो ।

रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताउनुभएको थियो ।

पुटिनले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।”

एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गर्नुभएको थियो ।

पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।

“यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भन्नुभयो ।

मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशत गिरावट,उत्पादनमा कमी

रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा ८ लाख ७७ हजार ६ सय नयाँ सवारीसाधन बिक्री भएका छन्, जसमा यात्रु बोक्ने सवारी, हल्का व्यवसायिक सवारी, ठूलो मालबाहक सवारी र यात्रुवाहक ठूला सवारी समावेश छन् । देशमै निर्माण भएका नयाँ सवारीसाधनको बिक्री ६ प्रतिशतले घट्दै चार लाख ८३ हजारमा झरेको देखिएको छ ।

विशेष रूपमा हेर्दा, यात्रु सवारीको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ । त्यस्तै, हल्का व्यवसायिक सवारीको बिक्री २१ प्रतिशतले घटेर ६६ हजार ४ सयमा झरेको छ । मालबाहक सवारीको बिक्री झन् धेरै घट्दै ५६ प्रतिशतको गिरावटसहित ३५ हजार ९ सय ६० मा सीमित भएको छ। ठूला यात्रुवाहक सवारीको बिक्री पनि ४९ प्रतिशतले घट्दै ७ हजारमा झरेको छ ।

अगस्ट महिनाको मात्र कुरा गर्दा, गत वर्षको सोही महिनाको तुलनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घट्दै १ लाख ३५ हजार ५ सयमा पुगेको छ । यद्यपि, अघिल्लो महिनाको तुलनामा भने बिक्री एक प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न समन्वय विभागको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको गुनासो आएकोले यस्तो निर्देशन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले नेपाली कांग्रेसको २०८२ आषाढ १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पदावधि समाप्त भएका विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई २०८२ पौष मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको स्मरण गराएका थिए ।

उनले केन्द्रीय समितिको निर्णयपश्चात् साउन महिनामा कार्यसमितिको बैठक बसी कार्यतालिका तय गरी २०८२ साल आश्विन महिनाभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरी नामावली केन्द्रीय कार्यालयमा पठाई विभागसंग समन्वय गरी अधिवेशनको मिति तय गर्न सबै जनसम्पर्क समितिहरूलाई केन्द्रीय कार्यालयबाट परिपत्र समेत भैसकेको जानकारी गराए ।

केन्द्रीय कार्यालयको परिपत्र पश्चात् विभागको समन्वयमा विदेशस्थित जनसम्पर्क समितिहरुलाई क्रियाशील र जनसम्पर्क सदस्यता पठाइएको तर केही देशमा सदस्यता वितरणमा गुनासो आएकोले पार्टीका महामन्त्रीको संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय गरेको पनि उनले जानकारी गराए । बैठकले सबै जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसको विधान र नियमावली अनुरुप काम गर्न पनि निर्देशन दिएको छ ।

‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव :डा शशाङ्क कोइराला

बनियानी (झापा), १९ भदौः नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उहाँले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामथ्र्य नेपालसँग रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताउनुभयो । उहाँले देश विकासको आधार नै कृषि भएको धारणा राख्नुभयो ।
एक अर्को प्रसंगमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पु¥याइने बताउनुभयो । पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उहाँले आग्रह गर्नुभयो ।

ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताउनुभयो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य सरिता प्रसाईं, नेताहरू गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन, कांग्रेस झापा सभापति देउकुमार थेवेलगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २५, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २७०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १३५, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु ३००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
–––

विधान महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने उनले जानकारी दिए ।

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ, १९ भदौः आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२÷८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।

पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ, १९ भदौः एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ (चितवन), १९ भदौः मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ । यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन् ।

सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू (बच्चाहरू) हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ । प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आउनुभएको छ ।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो । उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए । प्रसाईंले भन्नुभयो, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ ।”

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उहाँले बताउनुभयो । “आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन । घाइतेजस्तो पनि देखिएको थिएन । हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो । त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ । अनि उपचार र पालन–पोषण गरिएको हो ।”

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए । बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो । बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ ।

केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताउनुभयो । “यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्”, उहाँले भन्नुभयो, “यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।”

गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ ।

यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ । यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छो ।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ । उनीहरू प्रायः निकुञ्ज तथा सौराह आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ । छवटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सक्नुभएका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न हुनुहुन्छ । उहाँले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्नुहुन्छ । “बच्चा अवस्थामा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन सुरु गरिन्छ”, महतराले भन्नुभयो,“मैले हासम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडाहरू हुर्काइसकेको छु । यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तङ्ग्रिँदै छन् ।”

यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई सुरुमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा सडौलाले बताउनुभयो । उहाँका अनुसार, सामान्य गाई–भैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन । त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उहाँको भनाइ छ ।

बच्चाहरूका बचपनमै बढी कुरा सिक्ने भएकाले माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंको भनाइ छ । उहाँले भन्नुभयो, “कोशीमा लगिएका गैँडालाई पनि त्यही उद्देश्यका लागि नयाँ बासस्थानमा लगिएको हो । माउ गैँडासँग हुँदा बच्चाले खान, हिँड्न र शत्रुबाट जोगिने सीप सिक्छ, तर मानव संरक्षणमा हुर्काइएका यिनीहरूले आमा गैँडाको मार्गदर्शन नपाउने भएकाले, अन्य गैँडाको हूलसँग घुलमिल हुन केही कठिनाइ हुन्छ ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १० पैसा र बिक्रीदर १०९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २ पैसा र बिक्रीदर १८ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ २५ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आज बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १९ भदौः आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, १९ भदौः प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तत गर्नुहुने छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुहुने विषय पनि आजको कार्यतालिका राखिएको छ ।

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । आफ्नो औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।

उनी केहीबेरअघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे।

प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

त्यस्तै उनले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका थिए ।

कतारमा मृत्यु भएका मनोज बरामको शव नेपाल ल्याइदिन आफन्तजनको आग्रह

गोरखा, १८ भदौ : कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन”, वडा सदस्य गोलबहादुर बरामले भन्नुभयो, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

बरामको एक छोरा र एक छोरी छन् । उहाँको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताउनुभयो । उहाँका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा पूर्वमन्त्री शङ्कर भण्डारीको जोड

दमौली (तनहुँ), १८ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहनुभएका भण्डारीले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । भण्डारीले नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

समुदायस्तरबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शैक्षिक उन्ननयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो क्याम्पसमा हाल तीन हजार १०० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

त्रसित घरबारविहीन अफगानी भूकम्पपीडित खुला आकाशमा रात बिताउन बाध्य

पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि घरबारविहीन भई भोकभोकै रहेका परिवारहरू पराकम्पन आउन सक्ने डरले भूकम्पबाट बाँकी रहेका केही भवनहरूमा पाइला टेक्ने आँट गर्न सकेका छैनन् ।

गत आइतबार मध्यरातमा अफगानिस्तानलाई केन्द्रविन्दु बनाई गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले पाकिस्तानसँग सीमा जोडिएका दुर्गम क्षेत्रमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान लिएको छ।

हरियो पहाडको बीचमा रहेका केही कृषिकर्ममा व्यस्त ग्रामिण इलाकाहरू पहिरोका कारण समतल भएका थिए । भूकम्प गएको लामो समय (तीन दिन) सम्म पनि मानिसहरू भग्नावशेषमुनि रहेका छन् भने उद्धार प्रयासहरू जारी छन् ।

नान्गाहार प्रान्तको दार–ए–नुर गाउँमा भूकम्पले आफ्नो घर भत्काएपछिको ‘अँध्यारोे रात’ बाट अझै पनि डराएका इमरान मोहम्मद अरेफले भन्नुभयो, “भूकम्पपछि अहिलेसम्म पनि परिवारका अन्य चार सदस्यहरूसँग प्लास्टिकको म्याटमा खुला आकाशमा आफुले रात बिताउनु परेको छ।”

“हिजो पनि भूकम्प गएको थियो र आज बिहान पनि भूकम्प गएको छ,” अरेफले एएफपीसँग भन्नुभयो।

“अहिले हामीसँग बस्ने ठाउँ छैन र हामी सबैसँग सहयोगको याचना गरिरहेका छौँ,” उहाँले बताउनुभयो ।

साधनस्रोत भएकाहरू गाउँ छोडेर भागेपनि उनीहरूलगायत हजारौँ गाउँलेहरूलाई विनाशको बीचमा जे पायो त्यही खाएर अस्थायी आश्रयस्थलहरूमा सँगै बस्नुबाहेक अरू कुनै विकल्प थिएन।

जलालावादमा चिकित्सकका रूपमा काम गर्दै आएका फेरेस्ताले भन्नुभयो, “नान्गाहार प्रान्तको राजधानी जलालाबादमा पनि भूकम्प र त्यसपछिका पराकम्पनहरू महसुस गरिएको र यसले हामीलाई निकै तर्साएको छ । हामी निकै डराएका छौँ ।”

उहाँले भन्नुभयो, “हरेक पटक जब म एक कदम चाल्छु, मलाई लाग्छ कि जमीन हल्लिरहेको छ। हामी घरभित्र बस्दैनौँ । बगैँचामा सुत्छौँं । फेरि भूकम्प आउँछ भन्ने मनमा त्रास रहिरहेको छ।”

– सुरक्षित आश्रयको याचना –

भूकम्प र त्यसपछिका पराकम्पनका कारण आएको पहिरोका कारण सहायताबाट बञ्चित रहेका कुनार प्रान्तका केही एकान्त क्षेत्रमा पनि यस्तै दृश्यहरू देखा परिरहेका छन्।

कुनारको नुर्गल जिल्लाका एक वरिष्ठ अधिकारी एजाज उलहाक यादले चेतावनीको स्वरमा भन्नुभयो, “प्रायः अग्लो जमिनमा बनाइएका आफ्नो घर छोडेर भाग्ने र तल्लो खेत, नदी किनार वा सडक किनारमा शरण लिने क्रममा पराकम्पन आएमा चट्टानहरू खस्ने खतरा हुन्छ।”

“यो क्षेत्र निकै खतरनाक छ, तपाईं त्यहाँ लामो समयसम्म बस्न सक्नुहुन्न वा त्यहाँबाट हिँड्न पनि सक्नुहुन्न,” यादले भन्नुभयो।

संयुक्त राष्ट्रसङ्घले वितरणका लागि १४ हजार टेन्ट तयारी अवस्थामा रहेको जनाएको छ ।

इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज (आइएफआरसी) ले एएफपीसँग कम्तीमा ७०० वटा टेन्ट उपलब्ध रहेको तर गाउँमा पुग्न कठिन भएकाले पीडितलाई वितरण गर्न नसकिएको जनाएको छ ।

“हामीलाई सहयोग गर्नुहोस्, हामीलाई आश्रय दिनुहोस्, मेरा छोराछोरीलाई सहयोग गर्नुहोस्, हामीसँग केही बाँकी छैन,” भूकम्पमा घाइते भएकी एक गृहिणी सोरातले आफ्ना पति र छोराछोरीसहित आइएफआरसीको टोलीसँग बिन्ती गर्नुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “उद्धारकर्ताहरूले घरको भग्नावशेषबाट निकालेपछि उहाँलाई क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उहाँलाई गाउँ फर्काइएको थियो । गाउमा उनीहरूको केही पनि बाँकी छैन । सबै भग्नावशेषमुनि पुरिएको छ।”

“हामी पहाडले घेरेको केही सुरक्षित स्थलमा सहायताको पर्खाइमा बसिरहेका छौँ,” तीन साना छोराछोरीले घेरिएको परम्परागत साधारण बुनेको ओछ्यानमा निलो रङ्गको बुर्का ओढेर बसिरहेकी उहाँले भन्नुभयो ।

विश्व खाद्य कार्यक्रमले भनेको छ, “यो अफगानिस्तानमा करिब दुई दशक यता धेरै मानवीय तथा भौतिक क्षति निम्त्याएको घातक भूकम्प हो।”

भूकम्पका कारण पहिले नै कुपोषित साना बालबालिका भएका परिवारलाई आवश्यक पर्ने पर्याप्त खाना छैन तर यहाँ यस्ता बालबालिकाको ठूलो हिस्सा छ।”

दशकौँको युद्ध र लामो मानवीय सङ्कटपछि पनि कमजोर रहेको अफगानिस्तानमा हालैका वर्षहरूमा सन् २०२३ मा पश्चिमी हेरातमा र इराननजिकै देशको अर्को छेउमा ठूला भूकम्प आएका थिए । दुई बर्ष पहिले आएको ६.३ म्याग्नीच्यूडको पहिलो भूकम्पपछि कम्तीमा आठवटा शक्तिशाली पराकम्पनहरू आउँदा धेरै गाउँहरूमा कच्ची अवस्थामा रहेका घरहरू ध्वस्त भएका थिए ।

नेतन्याहूद्वारा बेल्जियमका प्रधानमन्त्रीलाई ‘कमजोर’ नेताको आरोप

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिनुभएको छ ।

“इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक आतङ्कवादलाई खुसी पार्न चाहने बेल्जियमका प्रधानमन्त्री (बार्ट) डे वेभर एक ‘कमजोर नेता’ सावित हुनुभएको छ । उहाँले बेल्जियमलाई खानुअघि गोहीलाई खुवाउन चाहनुहुन्छ,” नेतन्याहूको कार्यालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ।

अस्ट्रेलिया, क्यानडा र फ्रान्सले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको घोषणा गरेपछि बेल्जियमले यसै महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘एक्स’ मा एक पोस्ट गर्दै गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताउनुभएको छ ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय कदमपछि कब्जा गरिएको पश्चिम किनाराको केही भागलाई गाभिनुपर्ने बताउनुभएको छ ।

गाजामा आफ्नो करिब दुई वर्ष लामो अभियान अन्त्य गर्न देश तथा विदेशमा बढ्दो दबाबका बावजुद इजरायलले हालै गाजा शहर कब्जा गर्ने आधार तयार पार्दै अभियानलाई तीव्र बनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको घोषणा गरेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका कारण एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६३ हजार ७४६ प्यालेस्टिनीको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक दुई हजार पाँच सय रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो ।

द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एक महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाइ जीवननिर्वाह भत्ता दिन थालेको हो ।

नगरपालिकाले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताईन् । उनले बेपत्ताका श्रीमतीलाई थोरै भएपनि घर चलाउन सहज हुने बताईन् ।

तीन बर्ष यता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार जिवन निर्वाह भत्ता दिँदै आएको थियो । ठाकुरबाबा नगरपालिकाले जिवननिर्वाह भत्ता दिएसँगै बर्दियाका आठ ओटा पालिका मध्ये दुई ओटा पालिकाले बेपत्ताका श्रीमतीलाई जिवननिर्वाह भत्ता दिन थालेका हुन् । सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैले दिनु परेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए ।

सरकारले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीका परिवारलाई जिविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाई छ ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका अनुसार बर्दिया जिल्लामा दुई सय ६१ जना व्यक्ती बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् । नेपाल भरीमा २६ सय भन्दा बढि व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ ।

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा, १८ भदौ : सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको बहुप्रतिक्षित पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति धनुषा, सिरहा र सप्तरी जिल्लाका स्थानीय तह प्रमुखले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा आज सम्पन्न अन्तरक्रियामा ती जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिनुभयो ।

विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ । बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो ।

पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी विल्डर्सले जिम्मा लिँदा पनि समयमा काम पूरा गर्न नसकेको जनाउँदै अब जिम्मेवार र सक्षम निर्माण कम्पनीमार्फत काम अगाडि बढाइनुपर्ने आवाज पनि उठेको छ ।

अन्तरक्रियामा जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियापट्टी गाउँपालिका अध्यक्ष महतो, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत प्रतिनिधिहरूले यसपटक पुल निर्माणमा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन् ।

बरियापट्टी गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “अब जिल्लास्तरीय अन्तरक्रियासमेत गर्दै निर्माण कार्य सुरु गराउन दबाब सिर्जना गरिनेछ ।” पुल नहुँदा बर्सेनि बाढी, आर्थिक गतिविधिमा बाधा, विद्यार्थीको पढाइ, बिरामीको आवतजावतजस्ता विषयमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

काठमाडौँ, १८ भदौः काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको थियो । त्यसमध्येका विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।”आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

काठमाडौँ, १८ भदौ : गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत हुन सकेन ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएपछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक सङ्ख्या यकीन गर्न माग गर्नुभयो । सभामुख घिमिरेले तीन मिनेट जनाउ घण्टी बजाइ सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै सांसद उपस्थित हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव पारित गर्न कूल सदस्य सङ्ख्याको एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, गणपूरक सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन ।

त्यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले पशु चिकित्सा व्यवसायलाई परिभाषित गर्दै पशु चिकित्सक र निज अध्ययन गर्ने शैक्षिक संस्थाको नियमनलाई थप स्पष्ट पार्न खोजिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ऐनको क्षेत्राधिकारमा पशु चिकित्सक र पशु चिकित्सा अध्ययन गर्ने शैक्षिक संस्थाको नियमन रहेको छ । योग्यता नै नपुगीकन पशुको सर्जरीजस्ता गम्भीर कार्य गर्नेजस्ता कार्य भएकाले पशु कल्याणका विषयलाई सुनिश्चित गर्न खोजिएको छ ।”

यो ऐनले पशुपालन वा पशु विज्ञान अध्ययन गरेका पशु चिकित्सक बाहेकका अन्य प्राविधिक वा विशेषज्ञ जनशक्तिलाई नियमन नगर्ने बताउँदै मन्त्री अधिकारीले पशुपालक किसानले गुणस्तरीय सेवा उपभोगको संवैधानिक हकलाई सुनिश्चित गर्न खोजिएको बताउनुभयो ।

उहाँले पशुको निरोगिता प्रमाणपत्र, मानव स्वास्थ्यलाई असर पर्ने काम यस विधेयकले नियन्त्रण गर्ने उल्लेख गर्नुभयो । फरक एक प्रसङ्गमा उहाँले दूध किसानलाई चाँडै बक्यौता भुक्तानी गर्ने दिशामा सरकार रहेको जानकारी दिनुभयो ।

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

त्रिशूली (नुवाकोट), १८ भदौ : तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् ।

विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । खोलाले बगाएर उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिनुभयो ।

उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

बर्डफ्लुको उच्च जोखिमः कुखुराजन्य पदार्थ आयातमा रोक

बैतडी, १८ भदौः भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । उहाँले भन्नुभयो, “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।”

यहाँको भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्दछ । बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् ।

बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्छ ।

चौथो पटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने

भक्तपुर, १८ भदौ : इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठ यस वर्ष चौथो पटक जिब्रो छेडेर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर पुगेर फर्कने हुनुभएको छ ।

इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ अर्थात् भदौ २२ गते आइतबार साँझ ७ बजे जिब्रो छेडेका श्रेष्ठ महाद्विप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दतात्रय दर्शनको लागि जाने आज मध्यपुरथिमि नगरपालिकाले अयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेले करिब १० इञ्च लामो सुइरोले श्रेष्ठको जिब्रो छेडाएर भक्तपुर परिक्रमा गर्ने हुनुभएको हो ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ‘आइतबार दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा जिब्रो छेड्ने जात्राको विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्ने बताउनुभयो ।

भीड कम गर्न दुई पोखरी र बालकुमारी मन्दिरमा ठूला दुई वटा एलइडी राखेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको बताउँदै उहाँले जात्राको भक्तपुर पुग्दा नगरपालिकाले स्वागत गर्ने तयारी गरेको जानकारी दिनुभयो । नगर प्रमुख श्रेष्ठले जात्राबाट देशविदेशको पर्यटकको आगमन गर्ने र पर्यटनको विकास गर्न टेवा पु¥याउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जात्राको सुरक्षाका लागि जिल्ला सुरक्षा संयन्त्रको बैठक बसेर सुरक्षाको व्यवस्था मजबुद गर्ने बताउँदै जात्रालाई स्थानीय परम्पराअनुसार सम्पन्न गर्न प्रशासनले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले मध्यपुरथिमिवासीले रोग, भोग, सङ्कटको सामना गर्न नपर्ने जनविश्वास रहँदै आएको यो जात्रा सयौँ वर्ष अगाडिदेखि चल्दै आएको र बीचमा रोकिएको भए पनि अहिले निरन्तरता पाउँदा यहाँको पहिचान विश्वभर फैलिएको बताउनुभयो ।

जिब्रो छेड्ने तयारी गर्नुभएको वीरेन्द्रभक्तले यसअघि पहिलो पटक २०७४ सालमा, त्यसपछि २०७९ र २०८१ मा पनि जिब्रो छेडाउनुभयो । यसवर्ष जिब्रो छेडाएर ‘भ्ये’ बोकेर खाली खुट्टा हिँडेरै भक्तपुर नगरको नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने उहाँले बताउनुभयो ।

गतवर्ष खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म २८ किलोमिटर सडक ओहोरदोहोर गरेको बताउँदै उहाँले यसवर्ष पनि भक्तपुर पुगेर फर्कंदा करिब १३ किलोमिटर यात्रा गरिने बताउनुभयो ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपति मन्दिर, चाँगुनारायण मन्दिर, भक्तपुरका विभिन्न मन्दिर, स्वयम्भू, नमोबुद्धसम्म जिब्रो छेडेर पुर्खाहरू पुगेको इतिहास रहेको बताउँदै यसवर्ष छलफल र जिब्रो छेड्नेको चाहनाअनुसार नवदुर्गा र दत्तात्रयको दर्शनसमेत गर्नेगरी जात्रा लैजान लागेको हो ।

येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले आयोजना गर्ने जात्रामा मध्यपुरथिमि नगरपालिकाले तीन लाख, बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले रु दुई लाख सहयोग गर्ने र बाँकी नपुग रकम समितिले स्थानीयको सहयोगमा सम्पन्न गर्नेगरी तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जात्रा दिगुटोलबाट सुरुभई बालकुमारी मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुनः शङ्खधर चोक थिमि फर्किनेछ ।

त्यसैगरी शङ्खधर चोकबाट मुख्य सडक हुँदै राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डाँै, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर फर्कनेछ ।

त्यसपछि बंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी विहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हँुदै बालकुमारी मन्दिर पुगेर जिब्रोबाट सियो निकालेर जात्रा विसर्जन गरिने भएको छ ।

यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बिचबिचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उहाँले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाउनुभएको थियो ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएको यो जात्रा २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउन भएको थियो ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार : ऊर्जामन्त्री खड्का

काठमाडौँ, १८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्न नीतिगत सुधार गरिएको बताउनुभएको हो ।

“निजी क्षेत्रलाई सधैँ साथमा लिएर हिँड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई सङ्कट परेका बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

उहाँले विद्युत् उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुनःनिर्माण गर्दा केही समय बत्ती जाने गरेको बताउनुभयो । विद्युत्भार कटौती भने अब नहुने उहाँको भनाइ थियो ।

जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

काठमाडौँ, १८ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको सङ्कल्प हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए सङ्घीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्ध भइरहेको षड्यन्त्रविरुद्धको सङ्कल्प लिनुहुनेछ”, उहाँले भन्नुभयो ।

उहाँले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताउनुभयो । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरूद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।”

अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ–जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।”

माओवादीका उपाध्यक्ष पम्फा भुसालले पूर्ण महिला अधिकार स्थापनाका लागि वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिँदै प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

“उत्पादनको स्रोतमाथिको समान पहुँच, समान क्षमता र योगदानबाटमात्रै महिला मुक्ति सम्भव छ”, उहाँले भन्नुभयो, “महिलामाथि हुने विभेद भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वर्गीय रुपमा हटे पनि महिला पुरुषबीचको भेदभाव चिन्तनको समस्या हो, यो लामो समयसम्म रहन्छ, उक्त चिन्तनकाविरुद्ध सङ्घर्ष गर्नुपर्छ ।”

माओवादी नेत्री शशि श्रेष्ठले संविधानमा व्यवस्था भएका महिला हक अधिकार कार्यान्वयन गर्न सम्पूर्ण महिला एकताबद्ध हुनुपर्ने बताउनुभयो । “सबै प्रकारको विभेद अन्त्य गरेर समतामुलक नेपाल निर्माण गर्न क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ”, उहाँले भन्नुभयो, “संविधान संशोधनका क्रममा महिलाका अधिकार खोसिन सक्छ, यसतर्फ सबैले खबरदारी गर्नुपर्छ ।”

माओवादी नेत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको तथ्य प्रस्तुत गर्दै महिलालाई थप अधिकार दिन कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित पुस्तक ‘जुनकिरी हराएको रात’को लोकार्पण गर्नुभएको थियो ।

घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीयवासी

दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौः बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन् ।

आइतरबारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन् । त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नं ८ का २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

“बस्तीमा जमेको पानी घटेपछि उनीहरु घर फर्किन थालेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन् ।” कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए । सो डुबानमा १६५ जना विस्थापित भएका थिए । बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए ।

दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नं ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताउनुभयो । “बस्तीमा पानी घटे पनि घरभित्र हिलो भएकाले बस्न सक्ने अवस्था छैन”, प्रवक्ता धनाडीले भन्नुभयो, “उहाँहरू भोलीसम्ममा घर फर्किनुहुन्छ ।” विस्थापितको खानपानको व्यवस्थापन स्थानीय सङ्घसंस्थाको सहयोगमा दोधारा–चाँदनी नगरपालिकाले गरिरहेको छ ।

महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

पार्टीभित्र कसैको पनि असहमति छैन – महासचिव पोखरेल

काठमाडौँ, १८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि कसैको पनि असहमति नरहेको स्पष्ट पार्नुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने उल्लेख गर्दै पार्टीभित्र कसैको पनि असहमति नरहेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीका दुई उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयमा असहमति जनाए पनि उहाँहरूको वैचारिक असहमति नरहेको स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन हुनुहँुदैन भन्ने पार्टीको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयमाथि उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत राख्नुभएको जानकारी दिनुभयो ।

“उहाँहरूले पार्टीको नवाँै केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कन हुँदैन र उहाँको सदस्यता नवीकरण गर्ने अस्वीकार गर्नुपर्दछ भन्ने निर्णय माथि असहमति राख्नुभएको छ”, महासचिव पोखरेलले भन्नुभयो, “कसलाई सदस्यता दिने र नदिने भन्ने विषय दस्तावेजको विषय होइन । त्यसकारण उहाँहरूको दस्तावेजमा फरक मत होइन । निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मतको बिषय विधान महाधिवेशनले छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनले गर्ने भन्ने कुरा सचिवालय बैठकले निरूपण गर्ला ।”

महासचिव पोखरेलले दस्तावेजमाथि फरकमत राखेको अवस्थामा सम्बन्धित महाधिवेशनमा छलफल गर्ने पार्टीको वैधानिक व्यवस्था रहेको बताउनुभयो । “फरकमत आयो भने वैधानिक व्यवस्थाअनुसार छलफल हुन्छ । अहिले निर्णयमाथिको असहमति रहेकाले विचारमाथिको असहमति होइन”, उहाँले भन्नुभयो, “विधान महाधिवेशनमा दस्तावेजमाथि छलफल हुन्छ ।”

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

एमालकोे विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

प्रतिनिधिसभा बैठक : जिएसआईका बारेमा यथार्थ जानकारी गराउन माग

काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा चीनद्वारा प्रस्तावित ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जिएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसियटिभ’(जिसीआई) मा नेपालले सहमति जनाएको भन्ने विषयमा सांसदहरूले यथार्थ जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सोबारे चीनद्वारा गरिएको दाबीको यर्थाथबारे सदनमा जानकारी गराउनुपर्ने सांसदहरूले माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फका सांसदहरूले यस विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयले सदनमा जवाफ दिनुपर्ने माग राख्नुभएको हो ।

उक्त भ्रमणका क्रममा ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूमि हो’ भनेर स्पष्ट ढङ्गले विषय उठान हुनु सकारात्मक रहेको सांसदहरूको साझा धारणा थियो । सुरक्षा रणनीति तथा सैन्य सहकार्यमा समेत नेपालले सहमति जनाएको भनी चीनको विदेश मन्त्रालयबाट सार्वजनिक भएको धारणा स्वीकार्य नहुने भन्दै प्रधानमन्त्रीले यसबारे सदनलाई स्पष्ट पार्नुपर्ने माग सांसदहरूबाट आएको हो ।

विशेष समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुँदा लिपुलेकको विषय उठाइनु सकारात्मक रहेको बताउनुभयो । उक्त क्षेत्रमा व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच भएको सहमति नेपाललाई स्वीकार्य नहुनेबारे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग राख्नुभएको धारणा सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद बडूले महाकाली नदीको मुहान लिम्पियाधुरामा रहेको र सुगौली सन्धिअनुसार महाकालीपूर्वका सबै भूभाग नेपालको रहेको भन्दै यो विषय चीनका राष्ट्रपतिलाई प्रधानमन्त्रीमार्फत जानकारी गराइनु नेपालको कूटनीतिक उपलब्धिका रूपमा चर्चा गर्नुभयो । उक्त भेटका क्रममा छलफलको एजेण्डामा समेत नराखिएको जिएसआईको विषय चीनको विदेश मन्त्रालयबाट जारी वक्तव्यमा किन र कसरी आयो भनेर उहाँले प्रश्न गर्नुभयो । यस विषयमा परराष्ट्र मन्त्रालयले सदनमा स्पष्ट पार्नुपर्ने उहाँको माग छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले नेपाल जिएसआईमा सहमत भएको भनी चीनबाट जारी वक्तव्यका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग राख्नुभयो ।

“प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँगको भेटपछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले सुरक्षा रणनीति जिएसआईमा समर्थन गरेको भनेर दाबी गरेको छ । नेपाल हालसम्म कुनै पनि सुरक्षा तथा सैन्य रणनीतिसँग नजोडिएको र असंलग्न परराष्ट्र नीति अवलम्बन गरिरहेको अवस्थामा यसलाई स्वीकार गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “नेपाल कुनै सुरक्षा तथा शैन्य रणनीतिमा लाग्दा सुरक्षा पासोमा पर्नसक्ने जोखिम हुन्छ । जिएसआई मान्ने विषय नेपालका लागि आपत्तिजनक छ । यसकारण प्रधानमन्त्रीले यस विषयमा संसद्मा जवाफ दिनुपर्छ । ”

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा अवैध रूपमा रुसी शैन्यमा भर्ती भएका नेपालीबारे छलफल भए नभएको जानकारी दिन उहाँले माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद जुलीकुमारी महतोले (महासेठ) ले नेपालको अभिन्न भूभाग लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी चीन र भारतले सहमति गरेकामा नेपालले त्यसको विरोध जनाएको बताउँदै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उक्त विषय स्पष्ट ढङ्गले उठान भएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीको यो भ्रमण राजनीतिक रूपमा मात्र नभई कूटनीतिक रूपमा पनि सफल भएको उहाँको भनाइ छ । सहकारी पीडित बचतकर्ताको पैसा फिर्ताको प्रत्याभूति हुनुपर्ने धारणा महतोले सदनमा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा नेपालको कूटनीतिक क्षमता प्रदर्शन गर्न नपुगेको बताउनुभयो । परराष्ट्र मामिलामा सिङ्गो देश एक ठाउँमा हुनुपर्ने उल्लेख गर्दै उहाँले कुनै व्यक्तिले मात्र अपरिपक्क निर्णय लिन नहुने तर्क राख्नुभयो ।

भारत र चीनले नेपालको जानकारी बिना व्यापारिक प्रयोजनार्थ लिपुलेक क्षेत्र प्रयोग गर्ने भनेर सहमति गरेकाप्रति संसद्बाटै प्रतिवाद गर्नुपर्ने र सरकारको तर्फबाट मन्त्रिपरिषद्बाट निर्णय गरेर असहमति जाहेर गर्नुपर्नेमा सांसद दाहालले जोड दिनुभयो । यो विषयलाई नेपालले संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय अदालतसम्म लैजानुपर्ने उहाँले धारणा राख्नुभयो ।

मुख्य राजमार्ग अवरुद्ध हुनेगरी उखु किसानले आन्दोलन गर्ने बताइरहँदा सरकारले उनीहरूका जायज माग सम्बोधन गर्नुपर्ने धारणा दाहालको छ । त्यस्तै, सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरूका समस्या समाधानका लागि सरकार गम्भीर हुन नसकेको आरोप उहाँले लगाउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले तराई मधेसमा अहिले पनि खानेपानीको अभाव रहेको विषय सदनमा उठाउनुभयो । किसान सधैँ पीडित हुनुपर्ने अवस्था कहिलेसम्म रहन्छ भनेर पनि उहाँले प्रश्न गर्नुभयो । राज्य संयन्त्रले किसानलाई उपेक्षामा पार्न नहुने सांसद झाको धारणा थियो ।

जनमत पार्टीका सांसद अब्दुल खानले उखु तथा दुग्ध किसानको आन्दोलनलाई छलफलमार्फत समाधान गरिनुपर्ने बताउनुभयो । कवाडी व्यवसायी, राहत शिक्षक, सहकारी तथा लघुवित्त पीडितलगायत आन्दोलनहरू भइरहेकाले यस्ता समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बिमा

कीर्तिपुर (काठमाडाँै), १८ भदौः यसवर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ ।

गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो ।

राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना संलग्न रहने गर्छन् । “तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने करिब १०० जनालाई एकदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्न लागेका हौँ”, संस्थानका कार्यकारी प्रमुख शैलेशराज कँुवरले भन्नुभयो ।

यसवर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेर सुरु भई २६ गते बेलुका १०ः३० बजे समापन हुँदैछ । यसका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायबीच समन्वय गुठी संस्थानले गरिरहेको छ । जात्रा सम्पन्न गर्न हनुमानढोका दरबार कार्यालय, काठमाडौँ महानगर, नेपाली सेनादेखि नेपाल विद्युत् प्राधिकरणसम्मका निकाय संलग्न छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही भदौ ९ गते सूर्यविनायक नगरपालिकाको चित्तपोल वनबाट लिङ्गालाको रुख काटेर सुरु भएको यसवर्षको जात्रामा १५ गते उक्त लिङ्गोलाई हनुमानढोका पु¥याउने काम भएको छ । अब १९ गते ध्वजापताकासहितको उक्त लिङ्गो उठाएपछि राजधानीमा इन्द्रजात्रा सुरु हुन्छन् ।

त्यसैगरी २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा भएपछि २६ गते राति १०ः३० बजे इन्द्रध्वज पतन गरी जात्राको औपचारिक समापन गरिन्छ ।

जात्रा अवधिभर आकाश भैरवको मूर्तिलाई खटमा राखी पूजा गर्ने, महाकाली, एरावत नाचहरु, त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरवको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्नेजस्ता क्रियाकलाप हुन्छन् ।

यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र नेवार समुदायमा पाहुनापासालाई निम्ता गरी ‘समय बजि’ (चिउरा, राँगाको छोइलासहितको र कालो भटमाससहितको परिकार) खुवाउने काम हुन्छ ।

हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्लराजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो ।

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक, २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । यस्तै, २०८१ फागुन ५ गते सामान्य छलफल भएको थियो । यसैगरी, समितिमा दफावार छलफलका लागि २०८१ चैत १८ गते पठाइएको थियो । समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा गत असार ५ गते पेस भएको थियो ।

यस्तै, गत असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । राष्ट्रियसभाले यही भदौ ६ गते पारित गरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको थियो ।

सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा गृहमन्त्री लेखकले वर्तमान सरकारले नागरिकलाई सहज एवं सरल रूपमा सेवा प्रवाहका लागि विभिन्न विधेयक प्रस्तुत गरेको र सङ्घीय संसद्ले प्राथमिकता दिएर अगाडि बढाएकामा धन्यवाद दिनुभयो ।

संवैधानिक हकसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा साथ छलफल गरेर समृद्ध बनाउन पहल गरेकामा उहाँले प्रशन्नता व्यक्त गर्नुभयो । यो विधेयकले आमाका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र संविधानमा नै भएको व्यवस्थालाई कार्यान्वयनमा सहज भएको गृहमन्त्रीले स्पष्ट पार्नुभयो । यो विधेयकले ऐतिहासिक प्रस्थान गरेको तर्क गर्दै उहाँले बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था हालसम्मकै महत्त्वपूर्ण व्यवस्था भएको उल्लेख गर्नुभयो ।

आमाको नामबाट नागरिकता लिन सकिने, आमाको मात्रै नाम राखेर नागरिकता लिन सकिने, विदेशमा रहँदा जन्मेको सन्तानलाई नागरिक दिन सकिने व्यवस्था विधेयकमा गरिएको र सन्तानको हकलाई समेत स्थापित गरेको गृहमन्त्रीको भनाइ छ । नागरिकता प्राप्तिका लागि प्रक्रियागत सरलीकृत समेत गरिएको उहाँले सदनलाई जानकारी गराउनुभयो ।

कुनै पनि नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहोस् भन्नेतर्फ विधेयकले विशेष ध्यान दिएको, जन्मका आधारमा नागरिकता प्राप्त गरेकाहरूको सन्ततिलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

विधेयकमा रहेको स्वघोषणाको व्यवस्था दुरूपयोग नहुनेमा आश्वस्त तुल्याउँदै गृहमन्त्री विधेयक शीघ्र कार्यान्वयनमा जाने विश्वास दिलाउनुभयो । गैरनेपालीले नागरिकता नपाउन् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्रीले जानकारी दिनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकका सन्दर्भमा संविधान प्रदत्त व्यवस्थाअनुसार नागरिकता प्रदान गर्ने र आर्थिक तथा सांस्कृतिक अधिकार प्रदान गर्नका लागि छुट्टै कानुन सदनमा शीघ्र प्रस्तुत गरिने बताउनुभयो ।

त्यसअघि, सांसद वासुदेव घिमिरेले आमाको नाममा नागरिकता दिने अधिकार यस विधेयकले दिएको उल्लेख गर्दै लैङ्गिक समानताका आधारमा पनि महत्त्वपूर्ण रहेको र नेपाली नागरिकलाई सहज रूपमा नाकगरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको बताउनुभयो ।

सांसद श्यामकुमार घिमिरेले यस विधेयकले धेरै बालबालिका, किशोरले नागरिकताका लागि खेप्नुपरेको समस्यालाई समाधान गर्ने गरी व्यवस्था गरिएकाले यो महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपालको संविधानको भावना र आशयलाई सम्बोधन गर्नेगरी विधेयक आएकाले नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएका नागरिकलाई सम्बोधन गरेको उल्लेख गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले आमाको नामबाट नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएकामा सरकारलाई धन्वयाद दिनुभयो । तराईको डोम, मुसहर समुदाय, दलित तथा कमजोर समुदायले लामो समयदेखि नागरिकता पाउन नसकेको अवस्थालाई पनि सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद मैना कार्कीले एकल महिलाका सन्तानले सहज रूपमा नागरिकता पाउने व्यवस्थाले धेरै नागरिकताविहीनले न्याय पाउने बताउनुभयो । सांसद प्रतिमा गौतमले लामो समयदेखि नागरिकता पाउन नसकेका नागरिकलाई सहज रूपमा नागरिकता प्रदान गर्नसक्ने व्यवस्था विधेयकमा गरिएकाले सरकारलाई धन्यवाद दिनुभयो ।

सांसद रञ्जुकुमारी झाले नागरिकताका प्राप्त गर्ने सन्दर्भमा विधेयकमा धेरै विषय सकारात्मक भए पनि केही विषयमा भने कमजोरी रहेको धारणा राख्नुभयो ।

विधेयकमा उल्लेख भएको सन्तानले बाबुको पत्तो नभएको भन्ने विषयमा स्वघोषणा गर्ने प्रावधान नराखेको भए पनि हुने थियो भन्ने तर्क गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीले नागरिकता वितरणमा रहेको अस्पष्टता हटाउने र नागरिकताविहीन नेपालीलाई सहज रूपमा पहिचान प्रदान गर्ने व्यवस्था विधेयकमा रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा गलत प्रयोग हुनसक्ने अवस्थाकोसमेत ख्याल गर्नुपर्ने धारणा राख्नुभयो ।

सहजै रूपमा नागरिकता प्राप्त गर्ने प्रावधान राखिँदा राष्ट्रियतामा खलल आउनसक्नेतर्फ ध्यान दिनुपर्ने सांसद घर्तीको भनाइ छ ।

सांसद हितराज पाण्डेले यो विधेयकले महिलाको सम्मान गरेको र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको र कानुनमा प्रष्टता नभएकाले समस्या आउने गरेकालाई समेत सहज हुने धारणा राख्नुभयो ।

सांसद सहराज अहमद फारुकी, ज्वालाकुमारी साह, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमिल्सिना, प्रेम सुवाल, रामप्रकाश चौधरी, प्रकाश ज्वाला, जावेदा खातुन जागा, रामहरि खतिवडाले सो विधेयकका सम्बन्धमा धारणा राख्नुभएको थियो ।

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

दमौली (तनहुँ), १८ भदौ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ ।

एएफसी यू –२३ एसियन कप छनोट : नेपाल ताजाकिस्तानसँग भीड्दै

काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ ।

नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने हुन् भने टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी रहेका छन् । डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा छन् ।

मिडफिल्डरमा आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ रहेका छन् । फर्वाड निराजन धामी र रोहन खड्की हुन् । एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन् ।

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

धनगढी, १८ भदौः हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

धनगढी उपमहानरपालिकाका प्रमुख गोपी हमालले सरसफाइलाई पालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएको बताउनुभयो । “सडक, पुल, भवन नभई हाम्रो गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ हो”, उहाँले भन्नुभयो, “स्थानीय तहको कम प्राथमिकतामा पर्दै आएको फोहर व्यवस्थानलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ, त्यहीअनुसार वार्षिक बजेट र कार्यक्रम तय गरिएको छ ।”

उहाँले व्यक्ति र समुदायलाई फोहर नगर्ने बानीको विकास गर्न सकिएमा फोहर व्यवस्थापनमा देखिएको जटिलता कम हुने बताउनुभयो । नगरप्रमुख हमालले प्लास्टिकजन्य फोहर फैलन नदिन गु्ट्खालगायत एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको बताउनुभयो ।

उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरबाट बायो ग्यास उत्पादनदेखि फोहर प्रशोधन गरेर विभन्न वस्तु उत्पादन गर्ने तयारी भइरहेको बताउनुभयो । पञ्चानब्बे प्रतिशत फोहर घरघरबाटै वर्गीकरण भएर आउने गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालजन्य फोहर व्यवस्थापनका लागि बेग्लै संरचना बनाएर काम सुरू गरिएको अधिकृत अवस्थीले बताउनुभयो । फोहरको सूक्ष्म वर्गीकरण केन्द्र पनि सञ्चालनमा छ । निजी क्षेत्रसँगको सहकार्यमा समुदाय, विद्यालयगायत सामाजिक सङ्घसंस्थालाई पनि फोहर व्यवस्थापनमा परिचालन गरिएको छ ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ योजनामार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले उक्त परियोजनाबारे जानकारी गराउनुभएको थियो । फोहर व्यवस्थापनमा उल्लेखनीय काम गरेका स्थानीय तहहरूबीच सीप र अनुभव आदानप्रदान गर्न अवलोकन भ्रमणको आयोजना गरिएको उहाँले बताउनुभयो । अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ । परियोजनामार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ उद्योग स्थापनामा जोड दिइएको छ ।

हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास छ । परियोजनाले फोहर सङ्कलन, ढुवानी र वर्गीकरणका लागि समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताउनुभयो । परियोजनाले पोखराका एक सय ३६ वटा टोलमा अभियान सञ्चालन गर्दै आएको छ ।

नवलपुरमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

नवलपुर (नवलपरासी), १८ भदौ : बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ सबल र दीर्घकालीन स्थिरता प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ । यो कुरा उहाँले स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्चमा सोमबार व्यक्त गर्नुभएको हो ।

डा. ओकोंजो–इवेलाले भन्नुभयो,“हाल विश्व व्यापार प्रणालीमा देखिएका अवरोधहरूलाई अवसरको रूपमा लिई आगामी वर्षहरूमा व्यापारलाई अझ मजबुत आधारमा स्थापित गर्न सकिन्छ ।” उहाँले विश्व व्यापार प्रणाली अहिले स्थिरताको अवस्थामै भए तापनि अस्थिर सन्तुलनमा रहेको उल्लेख गर्नुभयो ।

महासचिवले युरोपेली सङ्घलाई अन्तर्राष्ट्रिय व्यापार सुधारमा अग्रणी भूमिका खेल्न आग्रह गर्दै बहुपक्षीय व्यापार प्रणालीले विश्वभरका जनताका लागि रोजगारी र समृद्धि प्रदान गरेको बताउनुभयो ।

त्यसै क्रममा, युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारी आयुक्त जोजेफ सिकेलाले युरोपको तेस्रो मुलुकहरूसँगको व्यापार, उत्पादन र लगानी सम्बन्धहरू भविष्यको आर्थिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

स्लोभेनियाको अर्थ मन्त्रालयका राज्य सचिव मातेभ्ज फ्राङेजले डब्ल्यूटीओका मूल सिद्धान्तहरूलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै उहाँले हालै सम्पन्न युरोप र अमेरिकाबीचको व्यापार सम्झौतालाई अन्यायपूर्ण र असन्तुलित रहेको टिप्पणी गर्नुभयो ।

त्यसै दिन ब्लेड रणनीतिक मञ्चमा ‘भविष्य ५००’ नामक नयाँ कार्यक्रम पनि सुरु गरिएको थियो । यस कार्यक्रमले मध्य, पूर्वी र दक्षिणपूर्वी युरोपका सम्भावनाशील ५०० उद्यमहरूलाई चिनारी दिने र तिनीहरूलाई आवश्यक लगानी तथा रणनीतिक साझेदारहरूसँग जोड्ने उद्देश्य राखेको छ । कार्यक्रमको नेतृत्व अटलान्टिक काउन्सिल र ब्लेड व्यवस्थापन विद्यालयले गर्नेछन् ।

यो वर्ष ब्लेड रणनीतिक मञ्चको २०औं संस्करण हो । सन् २००६ मा स्थापना गरिएको यो मञ्च स्लोभेनियाको वैदेशिक तथा युरोपेली मामिला मन्त्रालय र युरोपेली दृष्टिकोण केन्द्रले संयुक्त रूपमा आयोजना गर्दै आएको हो । विगत दुई दशकमा यो मञ्च स्लोभेनियाको सबैभन्दा प्रतिष्ठित वैदेशिक नीति तथा आर्थिक सम्मेलनको रूपमा स्थापित भएको छ, जहाँ राष्ट्रप्रमुख, नीति निर्माता, प्राज्ञिक र व्यवसायिक नेतृत्वकर्ता एकै ठाउँमा भेला भई युरोपको भूमिकाबारे गम्भीर छलफल गर्छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १८ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४७, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, लोकल बन्दा प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली (तराई) प्रतिकिलो रु ६५, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ९५, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ६५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २५, रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो साग प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २७०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ७५०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १८० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १३५, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७५, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु ३००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।