रौतहटमा वर्षा र हावाहुरीका कारण चार करोड बराबरको काँचो इँट्टा नष्ट
रौतहट । चैत ६ र ७ गते परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ ।
खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ । संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका छन् ।
वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्रै ५५ लाख भन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिए । यस्तै बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी लगायतका ५० वटा उद्योगहरू नराम्ररी प्रभावित भएका छन् ।
