`

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

Nepal One HD १० चैत २०८२ १८:२६
अर्थ समाचार

काठमाडौं,चैत १० –नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् ।

ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् ।

नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उक्ति परिमाणमा ग्यास आयात भइरहेको निगमले जनाएको छ ।

बेलाबखत हुने अभावको समस्या समाधानका लागि सरकारले भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने भट्टले बताए । नेपालमा एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक भइसकेको छ,भट्टले भने ।

पाइपलाइन नहुँदा ग्यास ढुवानीमा मात्रै वार्षिक छ अर्बभन्दा बढी खर्च हुँदै आएको उनले बताए । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक भएको हो । ग्यास पाइपलाइन र भण्डारण पूर्वाधारमा लगानी भएमा अर्बौँ बचत हुन्छ । यसबाट आपूर्ति प्रणाली सुधार भई उपभोक्ताले पनि सहजै ग्यास पाउने अवस्था बन्छ, उनले भने ।

तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माणको नीति भए पनि त्यसतर्फ काम हुन सकेको छैन ।भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले एक वर्षअघि नै भारतसँग प्रस्ताव रोखेको थियो । उक्त विषयमा भारतले हालसम्म पनि नेपाललाई कुनै जवाफ दिएको छैन । हामीले एक वर्षअघि नै प्रस्ताव राखेका थियौँ । अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन,कार्यकारी निर्देशक भट्टले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *