`

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

काठमाडौँ, २० भदौ : मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ ।त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ ।

स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना दुई दाम सार्वजनिक जमिनमा प्यागोडा शैलीमा तामाको छानासहितको बङ्गलामुखी निर्माण गरिएको थियो । करिब चौवालिस लाखको लागतमा मन्दिर निर्माण गरी वार्षिक धार्मिक अनुष्ठान तथा शोभा रथयात्रा गरिँदै आएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सिंखडाले जानकारी दिनुभयो ।

उक्त मन्दिर निर्माणमा धर्मानुरागी भक्तजनले आर्थिक सहयोग पुर्याएका थिए भने केही भक्तजनबाट मूर्ति स्थापनामा सहयोग भएको अध्यक्ष सिंखडाले जानकारी दिनुभयो । उक्त मन्दिरमा यस वर्षको जात्रा बिहीबारदेखि सुरु भएको छ ।

हिन्दू एवं बौद्ध परम्पराअनुसार मानिआएका थुप्रै देवीदेवता एवं बुद्धका मूर्ति स्थापना गरी परम्परा र जीवित संस्कृतिलाई जीवन्त राख्न रथारोहण (रथयात्रा)को थालनी गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । बङ्गलामुखीको ख्याति एवं मन्दिर परिसरमा प्रतिस्थापित देवीदेवता एवं बुद्धका मूर्तिका कारण दैनिक दर्शनार्थीको सङ्ख्या वृद्धि भइरहेको छ ।

मुलुकको जीवन्त संस्कृतिको जर्गेना र जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न तथा असल संस्कारयुक्त परिवारको निर्माण गरी जीवनलाई सार्थक तुल्याउन उक्त धार्मिकस्थलबाट आमनागरिकलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ, २० भदौ : सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

मनाङ सिडिओ पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

मनाङ, २० भदौ : प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्र्वाटरको निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा सिडिओ पौडेलले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर लाग्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले आसन्न मनाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) उपनिर्वाचनका लागि सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, उहाँले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागुपदार्थ न्यूनीकरण, आइसिटीको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारी अनुशासित, व्यावसायिक र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ थियो ।

प्रजिअ पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको पनि निरीक्षण गर्नुभएको छ । निरीक्षणमा प्रशासन, तालिम, सञ्चार, आर्थिक प्रशासन, कार्य÷सीमा शाखा, ब्यारेक र अन्य संरचना अवलोकन गर्नुभएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेसनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा जिल्ला अधिकारी पौडेलले सशस्त्र प्रहरीको कार्य अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको मूल्याङ्कन गर्दै आसन्न उपनिर्वाचन सुरक्षामा प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २० भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ पैसा र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जना

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

दमौली (तनहुँ), २० भदौ- तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ । उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।

हनुमानढोका दरबार क्षेत्रको राजस्व १९ करोड ४६ लाख सङ्कलन

काठमाडौँ, २० भदौः गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।

प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा रु १९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए ।

त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ ।

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।

उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ः०० देखि १२ः३० सम्म र साँझ ५ः०० देखि ८ः०० बजेको समय तोकिएको छ ।

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ ।

यस वर्ष पनि ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा आशाअनुरूप पर्यटक आउने विश्वास रहेको बताइएको छ । उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ ।

एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।

मनाङमा कात्तिक १७ मा उपनिवार्चन हुने

मनाङ – हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।

उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उहाँले बताउनुभयो ।

गुरुङ नेपालको संविधानको धारा १७८ (१) (ङ) बमोजिम तोकिएको योग्यता नभएको तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) बमोजिम सजाय भुक्तान गरेको मिति छ वर्ष नभएसम्म उम्मेदवार हुन अयोग्य हुने ठहर भएको तथा ऐ. ऐनको दफा १६ बमोजिम आफ्नो पदबाट मुक्त हुने र नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता नभएका निज प्रत्यर्थीको स्थान ऐ. धारा १८० को खण्ड (ख) बमोजिम रिक्त हुने देखियो भन्ने व्यहोराको सर्वोच्च अदालत, संवैधानिक इजलासबाट २०८२ असार ४ मा फैसला भई नेपालको संविधानको धारा १८० को खण्ड (ख) बमोजिम प्रदेशसभा सदस्यको पद विसं २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको जनाइएको छ ।

प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगको बैठकबाट मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा रिक्त गण्डकी प्रदेशको प्रदेशसभा सदस्य पद एकको लागि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय भएको निमित्त निर्वाचन प्रमुख अधिकृत अर्यालले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।

गत निर्वाचनमा जिल्लामा छ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो ।

उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।

एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ ।

ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराउनु भएको छ ।

उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गर्नुभयो । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उहाँले भन्नुभयो, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।”

त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

उहाँले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिनुभयो । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उहाँले भन्नुभयो ।

एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

इटहरी । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।
बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिए ।

यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो ।

हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जनाएको छ ।

निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चतुर्दशीको जात्रा प्रारम्भ

बैतडी, १९ भदौः यहाँको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने जात्रा सुरु भएको छ । मेला भाद्र शुक्ल द्वादशीबाट सुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका मूल पुजारी देवदत्त भट्टले जानकारी दिनुभयो ।

भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उहाँले बताउनुभयो । । सोही प्रचलनअनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको छ ।

भाद्र शुक्ल द्वादशीबाट जात्रा सुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न सुरु गरेको पुजारी भट्टले बताउनुभयो । चतुर्दशीका अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीले जात्रा ल्याउने प्रचलन रहिआएको छ ।

परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रहिआएको हो । यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको स्थानीय दीपेन्द्र बोहराले बताउनुभयो ।

भाद्र शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन रहिआएको छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रहिआएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष एवं भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत दर्शनका लागि पुग्ने गर्दछन् ।

महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्यपूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको भण्डारे बोहराले बताउनुभयो । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलामा देउडासमेत हुने गरेको छ ।

पश्चिमले युक्रेनमा सेना तैनाथ गर्न बिषय रुसले निर्णय गर्ने होइन : नेटो प्रमुख

नेटोका प्रमुख मार्क रुट्टले युद्धविराम भएमा सुरक्षा प्रत्याभूतिका लागि पश्चिमा शक्तिले युक्रेनमा सेना तैनाथ गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा रुससँग भिटो अधिकार नभएको बताउनुभएको छ ।

“युक्रेनमा रहेका सैनिकका बारेमा रुसले के सोच्छ भन्नेमा हामी किन चासो राख्छौँ ? यो सार्वभौम सत्ता सम्पन्न देश हो । उनीहरूले निर्णय गर्ने कुरा होइन”, रुटले भन्नुभयो, “यसमा रुसको कुनै सरोकार छैन ।”

फ्रान्स र बेलायतको नेतृत्वमा रहेको तथा कथित गठबन्धनका नेताहरूले योजनाबद्ध सुरक्षा प्रत्याभूतिमा योगदान पुर्याउन बिहीबार वार्ता गर्दैछन् ।

“यदि युक्रेनले शान्ति सम्झौतालाई समर्थन गर्न युक्रेनमा सुरक्षा सुनिश्चतता बल राख्न चाहन्छ भने यो उनीहरूमा निर्भर गर्दछ । अरू कसैले पनि यसको बारेमा निर्णय गर्न सक्दैन”, रुटले प्रागको भ्रमणका क्रममा भन्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “मलाई लाग्छ हामीले पुटिनलाई अति शक्तिशाली बनाउन भूमिका खेल्नुहुँदैन । यसलाई गर्नुपर्छ ।”

रुसले युक्रेनमा सम्भावित शान्ति सम्झौताका लागि कुनै पनि पश्चिमी सेना तैनाथ गर्ने विषयमा कडा विरोध जनाएको छ ।पश्चिमा कूटनीतिज्ञहरूका अनुसार युक्रेनका लागि सम्भावित ‘आश्वस्त पार्ने शक्ति’ बारे छलफल गरिरहेका करिब ३० देशहरूको समूहसँग अब उनीहरूले गर्न सक्ने सैनिकहरूको ठोस सङ्ख्या छ ।

युरोपेली राष्ट्रहरूले आशा गरेका छन् कि टेबलमा स्पष्ट योजना राखेर उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी सैन्य समर्थन प्रदान गर्ने वाचा पूरा गर्न सहमत गराउन सक्छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ तर क्रेमलिनले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने प्रयासलाई रोकेको छ ।

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट उत्पन्न भएको छ : जसपा अध्यक्ष यादव

मलङ्गवा (सर्लाही), १९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ ।”

यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो । भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उहाँको भनाइ छ ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”

महाकाली नदीमाथिको पुलमा चार दिनपछि यातायात सञ्चालन

कञ्चनपुर, १९ भदौः पश्चिमी सीमा नाका गड्डाचौकीस्थित महाकाली नदीमाथिको पुलमा आज साँझदेखि यातायात सञ्चालनमा आएको छ ।

महाकाली नदीमा पानीको प्रवाह घटेसँगै चार दिनदेखि बन्द यातायात सञ्चलनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीमा पानीको प्रवाह घटेर ९८ हजार ६२८ क्युसेकमा झरेको छ ।

नदीमा पानीको प्रवाह एक लाख क्युसेक माथि पुगेपछि पुलमा ‘रेड अलर्ट’ जारी गरी तीन र चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरिन्छ ।

अविरल वर्षासँगै नदीको बहाव एक लाख क्युसेक माथि पुगेपछि पुलमा भदौ १६ गतेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

महाधिवेशन नेतृत्व चयन, नीति र उद्देश्य निर्धारण गर्ने थलो होः सभापति देउवा

पाटन (ललितपुर), १९ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।

‘आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले १४ वर्षपछि हुन लागेको यस महाधिवेशनले नेपाली किसानमा नयाँ ऊर्जा र हौसला प्रदान गर्ने बताउनुभयो ।

“म सङ्गठनलाई अझ प्रभावकारी, उत्तरदायी र किसानमैत्री बनाउन महाधिवेशन सफल होस् भन्ने कामना गर्दछु”, उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको गौरवशाली इतिहासमा किसान आन्दोलन सधैँ प्राथमिकतामा रहिआएको छ, नेपाली कांग्रेसले समाजवादको बाटो अपनाउँदा, त्यो बाटो किसान, श्रमिक र सर्वसाधारणको उन्नति, प्रगति र मुक्तिका लागि थियो ।”

उहाँले नेपाली कांग्रेसको लक्ष्यप्राप्तिका लागि लोकतन्त्रवादी किसानलाई गोलबद्ध गर्दै किसानको हकहितका पक्षमा आवाज बुलन्द गर्न महासङ्घ स्थापना भएको उहाँको भनाइ थियो । “आज हामी त्यस्तो समयको मोडमा छौँ, जहाँ कृषकले विभिन्न चुनौतीको सामना गरिरहनुभएको छ, जलवायु परिवर्तन, उत्पादनको उचित मूल्य नपाउनु, सिँचाइको अभाव र कृषि अनुदान तथा सहुलियत सेवामा पहुँचको अभावजस्ता समस्याले किसान पीडित छन् । यस्तो अवस्थामा, किसान महासङ्घले यी विषयलाई नीतिगत तहमा पु¥याउनु र समाधानका लागि दबाब सिर्जना गर्नु अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले कृषिमा आत्मनिर्भर हुन वास्तविक किसानले अनुदान प्राप्त हुने अवस्थाको सुनिश्चितता आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले कृषिलाई व्यवसायीकरण गर्ने, कृषि उत्पादनमा प्रविधिको प्रयोग बढाउने, कृषकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनमार्फत आउने नेतृत्वले पार्टीको केन्द्रीय समितिलाई किसानको समस्या समाधानका लागि नीतिगत विषयमा सुझाव दिन आग्रह गर्नुभयो । उहाँले निराशा बाँडेर कुनै उपलब्धि हासिल गर्न सक्दैनौँ भन्दै किसानको समस्या समाधानका किसान महासङ्घको आउने नेतृत्वले प्रभावकारी काम गर्नेमा विश्वास गर्नुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङले कृषिमा उत्पादकत्व कसरी बढाउने भन्नेमा ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको सरकारले किसान र कृषि क्षेत्रको समस्या समाधान गर्नेगरी लाग्न आवश्यक रहेको बताउनुभयो । पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा कृषि क्षेत्रमा सम्भावना धेरै रहेको भन्दै कृषिको बजेटलाई बढाएर त्यहीअनुसार व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उत्पादन हुने खेतबारी कङ्क्रिटयुक्त हुँदै गएको भन्दै राज्यले खेतीयोग्य जमिनको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नाका साथै किसानका समस्या समाधानमा पार्टीका तहगत संरचनाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न भोलिदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ ।

महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउनेक्रम जारी छ ।

एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ ।

विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ ।

एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उहाँले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।”

एमालेले नवौ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाएको छ । उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा (एमाले)को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई सिँगारिएको छ ।

पार्टीको पाँचाँै महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताउनुभयो ।

सनराइज सम्मेलन केन्द्रभित्र छिर्ने चार वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।

भित्र प्रवेश गर्नका लागि परिचय स्क्यान गर्नुपर्नेछ । यसका लागि छ वटा कम्प्युटरका बुथ रहनेछन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन् ।

हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अङ्ग्रेजीमा ‘सिपिएन युएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न पाइनेछ । साथै नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ ।

मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्नेछन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नुहुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

महाधिवेशन पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सातदोबाटो चोकबाट महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था गरिएको छ ।

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, १९ भदौ-काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी र उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : महामन्त्री थापा

पाटन (ललितपुर), १९ भदौः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासङ्घ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो ।

“नेपाल किसान महासङ्घले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, चार अर्ब रुपैयाँभन्दा बढीको आयात गरेर खान्छौँ, हाम्रो उत्पादकत्व बढाउन किसान महासङ्घले पहल गरोस्”, उहाँले भन्नुभयो ।

उहाँले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका प्रवक्ता एवं डा प्रकाशशरण महतले दुई तिहाइ किसान कृषि पेसामा आबद्ध हुँदा पनि देशको आम्दानीमा एक चौथाइ मात्रै उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणका माध्यमबाट कम जनशक्तिको उपयोगबाट उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनमा आउने आर्थिक परिवर्तनले देशको आर्थिक समृद्धि हासिल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामार्फत किसानको हकहितलाई बलियो बनाउन योग्य नेतृत्व चयन गर्न शुभकामना दिनुभयो ।

नेपाल किसान महासङ्घको महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै

गलकोट (बागलुङ), १९ भदौः बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् । साउनयता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण देखिँदा १५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा आठ गुणाबढी स्क्रब टाइफस देखिएको छ । स्क्रब टाइफसका सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन् ।

गलकोट नगरपालिकामा १३५ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन् । त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन् । अन्य जिल्ला ठेगाना भएका छ जना सङ्क्रमित भएका छन् । गलकोट नगर अस्पतालमा १५८ जनामध्ये १५३ जना, धौलागिरी अस्पतालमा चार जना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

गलकोट नगर अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँच जनासम्मका बिरामीमा स्क्रब टाइफस देखिएको छ । अन्यत्रभन्दा यहाँ धेरै परीक्षण गरेका कारण सङ्क्रमणको सङ्ख्यासमेत बढी पाइएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । उहाँले अहिले अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत रहेका र अन्य बिरामी उपचारपछि घर फर्केको जानकारी दिनुभयो ।

स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलने भएकाले सावधानी अपनाउन पर्ने स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितलाई उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग आउनेलगायतका लक्षण देखिने गर्छ ।

यसैगरी, बागलुङमा चालु आर्थिक वर्षमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामै रहेको पाइएको छ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनस्वास्थ्य निरीक्षक शर्माले बताउनुभयो । उहाँका अनुसार बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामा नौ जना सङ्क्रमित छन् ।

ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा एक÷एक जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । अन्य पालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन् ।

डेङ्गु सङ्क्रमित २० मध्ये गलकोट नगर अस्पतालमा ११, बुर्तिबाङ अस्पतालमा पाँच र धौलागिरि अस्पतालमा चार जना उपचारपछि घर फर्केका छन् ।

म्यान्माको विनाशकारी भूकम्पपछिको पाँच महिना, पुनर्निर्माण जारी

दक्षिणपूर्वी एशियाली देश म्यान्मामा गएको विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि अझै भग्नावशेषमा शव फेला पर्ने क्रम जारी छ । गत मार्च २८ मा गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा परी तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

पहिले नै गृहयुद्धमा फसेको म्यान्मामा भूकम्प आएपछि जनजीवन निकै प्रभावित बनेको छ ।

म्यान्मामा सशस्त्र लडाकू र प्रजातन्त्र समर्थक शक्तिहरूले २०२१ मा आङ सान सुकीको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारबाट सत्ता कब्जा गरेको सेनाको नेतृत्वको सरकारविरुद्ध लडिरहेका छन्।

विपत्तिग्रस्त क्षेत्रको दुर्लभ यात्राको क्रममा म्यान्माले समाजलाई सामान्य जनजीवनमा फर्काउनका लागि काम गर्नका लागि आवश्यक पर्ने सडक, मन्दिर, अस्पताल, विद्यालय र सरकारी भवनहरूको पुनर्निर्माणमा काम गरिरहेको छ ।

सेनाले एपीलाई राजधानी नेपिडो र देशको दोस्रो ठूलो शहर मान्डलेमा भूकम्पले पुर्‍याएको क्षतिबारे रिपोर्टिङ गर्न अनुमति दिएको छ । यी दुवै क्षेत्र सेनाको नियन्त्रणमा छन् । एपीका प्रतिनिधिहरू टोलीसँग सबै निर्माणस्थलमा पुगेका थिए ।

भूकम्पले भत्किएका संरचना निर्माणस्थल भ्रमण गर्ने क्रममा मान्डलेको विश्वविद्यालय र कोन्डो कम्प्लेक्समा पुग्दा निर्माण कार्य युद्धस्तरमा भइरहेको देखिन्न्थ्यो । भूकम्पका कारण कोन्डो कम्प्लेक्सको भग्नावशेषबाट करिब २०० मृत शरीरहरू निकालिएको थियो ।

नेपिडको संसद परिसरमा क्षतिग्रस्त भएका पाँच वटा महत्वपूर्ण भवनहरूमा ५०० जनासम्म मानिस दिन रात काम गरिरहेका छन् । ती भवनहरू डिसेम्बरको अन्त्यमा हुने चुनावका लागि समयमै प्रयोग गर्न सकियोस् भन्ने सरकारको ध्येय रहेको छ।

आलोचकहरूले यो निर्वाचनलाई सैन्य कब्जालाई सामान्यीकरण गर्ने ढोङ भएको बताएका छन्।

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुर, १९ भदौ : मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जाल सम्बन्धि सरकारको निर्णय गलत छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्णय गलत भएको बताएका छन् । सरकारको निर्णयलाई उनले सरकार उल्टो बाटो हिँडेकाले पुनर्विचार गर्न आग्रह गरेका छन् ।

विहीबार उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनुपर्ने औंल्याएका छन् । थापाले सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेकाले छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छनः

सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ।

सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।त्यसैले सरकार सँग पुनः आग्रह छ–यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस।

अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण

काठमाडौं । वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ । बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन् ।

अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ । परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् ।

सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देश बिच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको भन्दै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए ।

कार्यक्रममा बलाधिकृत, अमेरिकी विदेशी सैन्य वित्तपोषण का प्रमुख उपनिर्देशक रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरूलगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

मन्त्री गुरुङले भन्नुभयो, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।”

मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताउनुभयो । उहाँले सिधा कुरा डटकमको मुद्दामा अदालतले फैसला गर्दा सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ ।

“सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछाँै”, मन्त्री गुरुङले भन्नुभयो, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन ।”

महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।
मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।

विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए ।

आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारीहरु विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।

एमाले विधान महाधिवेशन शुक्रबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १९ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनुहुनेछ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र

आजदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु

भादगाउँ, १९ भदौः परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ ।

पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।

जिएसआईमा नेपालले कुनै सहमति नगरेको सरकारको भनाई, भ्रममा नपर्न अनुरोध

काठमाडौँ, १९ भदौः सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ ।

चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

सङ्क्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले “मुुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ । ”

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताउनुभयो ।

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गर्नुभएको थियो, तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ ।

पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गर्नुभयो ।

“हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाउनुभयो ।

रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताउनुभएको थियो ।

पुटिनले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।”

एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गर्नुभएको थियो ।

पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।

“यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भन्नुभयो ।

मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशत गिरावट,उत्पादनमा कमी

रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा ८ लाख ७७ हजार ६ सय नयाँ सवारीसाधन बिक्री भएका छन्, जसमा यात्रु बोक्ने सवारी, हल्का व्यवसायिक सवारी, ठूलो मालबाहक सवारी र यात्रुवाहक ठूला सवारी समावेश छन् । देशमै निर्माण भएका नयाँ सवारीसाधनको बिक्री ६ प्रतिशतले घट्दै चार लाख ८३ हजारमा झरेको देखिएको छ ।

विशेष रूपमा हेर्दा, यात्रु सवारीको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ । त्यस्तै, हल्का व्यवसायिक सवारीको बिक्री २१ प्रतिशतले घटेर ६६ हजार ४ सयमा झरेको छ । मालबाहक सवारीको बिक्री झन् धेरै घट्दै ५६ प्रतिशतको गिरावटसहित ३५ हजार ९ सय ६० मा सीमित भएको छ। ठूला यात्रुवाहक सवारीको बिक्री पनि ४९ प्रतिशतले घट्दै ७ हजारमा झरेको छ ।

अगस्ट महिनाको मात्र कुरा गर्दा, गत वर्षको सोही महिनाको तुलनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घट्दै १ लाख ३५ हजार ५ सयमा पुगेको छ । यद्यपि, अघिल्लो महिनाको तुलनामा भने बिक्री एक प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न समन्वय विभागको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको गुनासो आएकोले यस्तो निर्देशन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले नेपाली कांग्रेसको २०८२ आषाढ १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पदावधि समाप्त भएका विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई २०८२ पौष मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको स्मरण गराएका थिए ।

उनले केन्द्रीय समितिको निर्णयपश्चात् साउन महिनामा कार्यसमितिको बैठक बसी कार्यतालिका तय गरी २०८२ साल आश्विन महिनाभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरी नामावली केन्द्रीय कार्यालयमा पठाई विभागसंग समन्वय गरी अधिवेशनको मिति तय गर्न सबै जनसम्पर्क समितिहरूलाई केन्द्रीय कार्यालयबाट परिपत्र समेत भैसकेको जानकारी गराए ।

केन्द्रीय कार्यालयको परिपत्र पश्चात् विभागको समन्वयमा विदेशस्थित जनसम्पर्क समितिहरुलाई क्रियाशील र जनसम्पर्क सदस्यता पठाइएको तर केही देशमा सदस्यता वितरणमा गुनासो आएकोले पार्टीका महामन्त्रीको संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय गरेको पनि उनले जानकारी गराए । बैठकले सबै जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसको विधान र नियमावली अनुरुप काम गर्न पनि निर्देशन दिएको छ ।

‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव :डा शशाङ्क कोइराला

बनियानी (झापा), १९ भदौः नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उहाँले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामथ्र्य नेपालसँग रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताउनुभयो । उहाँले देश विकासको आधार नै कृषि भएको धारणा राख्नुभयो ।
एक अर्को प्रसंगमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पु¥याइने बताउनुभयो । पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उहाँले आग्रह गर्नुभयो ।

ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताउनुभयो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य सरिता प्रसाईं, नेताहरू गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन, कांग्रेस झापा सभापति देउकुमार थेवेलगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २५, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २७०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १३५, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु ३००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
–––

विधान महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने उनले जानकारी दिए ।

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ, १९ भदौः आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२÷८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।

पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ, १९ भदौः एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ (चितवन), १९ भदौः मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ । यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन् ।

सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू (बच्चाहरू) हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ । प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आउनुभएको छ ।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो । उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए । प्रसाईंले भन्नुभयो, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ ।”

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उहाँले बताउनुभयो । “आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन । घाइतेजस्तो पनि देखिएको थिएन । हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो । त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ । अनि उपचार र पालन–पोषण गरिएको हो ।”

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए । बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो । बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ ।

केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताउनुभयो । “यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्”, उहाँले भन्नुभयो, “यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।”

गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ ।

यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ । यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छो ।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ । उनीहरू प्रायः निकुञ्ज तथा सौराह आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ । छवटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सक्नुभएका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न हुनुहुन्छ । उहाँले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्नुहुन्छ । “बच्चा अवस्थामा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन सुरु गरिन्छ”, महतराले भन्नुभयो,“मैले हासम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडाहरू हुर्काइसकेको छु । यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तङ्ग्रिँदै छन् ।”

यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई सुरुमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा सडौलाले बताउनुभयो । उहाँका अनुसार, सामान्य गाई–भैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन । त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उहाँको भनाइ छ ।

बच्चाहरूका बचपनमै बढी कुरा सिक्ने भएकाले माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंको भनाइ छ । उहाँले भन्नुभयो, “कोशीमा लगिएका गैँडालाई पनि त्यही उद्देश्यका लागि नयाँ बासस्थानमा लगिएको हो । माउ गैँडासँग हुँदा बच्चाले खान, हिँड्न र शत्रुबाट जोगिने सीप सिक्छ, तर मानव संरक्षणमा हुर्काइएका यिनीहरूले आमा गैँडाको मार्गदर्शन नपाउने भएकाले, अन्य गैँडाको हूलसँग घुलमिल हुन केही कठिनाइ हुन्छ ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १० पैसा र बिक्रीदर १०९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २ पैसा र बिक्रीदर १८ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ २५ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आज बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १९ भदौः आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।