`

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३८, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३९, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकेजी रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २२०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु १०००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटर प्रतिकिलो रु ६०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १५०, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १३०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

कञ्चनपुर – मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताउनुभयो ।

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भन्नुभयो, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।” मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्नु हुदै उहाँले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताउनुभयो ।

“यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ”, उहाँले भन्नुभयो, “यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।”

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तरराष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ”, उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।”

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उहाँ बताउनुहुन्छ ।

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।

विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ ।

यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् ।

अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए । अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिनुभयो । साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ । कोही हेलिकप्टरबाट पनि आउने गर्छन् ।

विभागको तथ्याङ्कमा सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताउनुभयो । “बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।” यसअघि गत वर्ष यो सिजनमा मनास्लु आरोहणका लागि चार सय एक जनाले अनुमति लिएका थिए ।

खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला हो : अध्यक्ष दाहाल

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशीला भएको उल्लेख गर्नुभएको छ ।

कीर्तिपुरमा आयोजित अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रपछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको र यसको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको स्मरण गराउनुभयो ।

उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा नै गाउँदेखि केन्द्रसम्म खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी हजारौँ खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले अघिल्लो शासन प्रणालीमा खेलकुद क्षेत्रलाई निरङ्कुशता र पञ्चायती व्यवस्थाको संरक्षणका लागि प्रयोग गरिएको भए पनि गणतन्त्रको स्थापनापछि यस क्षेत्रलाई सभ्य समाज, राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचाराका लागि उपयोग गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली खेलाडीले अन्तरराष्ट्रियस्तरमा विभिन्न पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा विश्वमाझ उजागर गरेका उदाहरण प्रस्तुत गर्दै राज्यले यदि खेलकुद क्षेत्रलाई अझ बढी प्राथमिकता दिएमा उल्लेखनीय गुणात्मक प्रगति सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनको सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले अखिल नेपाल खेलकुद महासङ्घ र माओवादी केन्द्रले खेल क्षेत्रलाई थप सशक्त बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादी नेतृत्वमा मात्र खेल क्षेत्रमा सुधार सम्भव भएको समेत उल्लेख गर्नुभयो ।

बागलुङका धेरैसजो ग्रामीण क्षेत्र सुनसान, गाउँमा बुढापाका र बालबालिका मात्रै छन्

ढोरपाटन (बागलुङ) – बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन् । ताल्चा ठोकेको घर पनि चिरिएर रुग्ण बनेका छन् । खास गरी जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी, गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको सङ्ख्या धेरै छ ।

अहिले गाउँमा बुढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति पनि विदेश पलायन भइरहेका छन् । यसले गर्दा वर्षेनी उर्वर जमिन बाँझोमा परिणत हुँदैछ । बसाइँसराइ र जनशक्तिको विदेश मोहको असर उत्पादनमा परेको छ । बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ । त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ । हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

कूल जमिनको २५ प्रतिशत मात्रै खेती योग्य जमिन रहेकोमा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको अधिकारीले बताउनुभयो । बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको उहाँको भनाइ छ ।

आगामी वर्ष अझै घट्ने संभावना रहेको अधिकारीले बताउनुभयो । खेतबारीमा काम गर्ने जनशक्ति विदेशिने र बजार झर्ने गर्दा खेतीयोग्य जमिन बाँझो हुँदै गएको उहाँ बताउनुहुन्छ । आगामी वर्षहरुमा बाँझो जमिन थप बढ्दै जाने संभवना रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बागलुङ जिल्ला भरि ४६ हजार १४८ हेक्टर जमिनमा खेतीयोग्य जमिन छ, तर अहिले जम्मा ३० हजार ५०३ हेक्टरमा मात्रै खेती भइरहेको छ, यो सङ्ख्या पनि अझै घटिरहेको छ, १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ भने एक हजार २० हेक्टर जमिनमा खती नगरि अन्य प्रयोगनका लागि प्रयोग भएका छन्, जबसम्म गाउँबाट बजार झर्ने र विदेश पलायन हुने अवस्था रोकिदैन तबसम्म खोतीयोग्य जमिन बाँझौँमा परिणत हुँदै जाने संभावना बढेको छ ।”

जैमिनी –४ की देवी शर्माले बारीमा काम गर्ने मान्छे नहुँदा अहिले आफ्नो ८० प्रतिशत खेती गर्ने बारीमा झाडी पलाएको बताउनुभयो । छरछिमेकी बसाइँ सरेर चितवन, गैडाकोट र भैरहवा गएको उहाँको भनाइ छ । पहिले २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले पाँच÷सात मुरी उब्जाउन गाह्रो पर्ने शर्माले बताउनुभयो । पैसा दिएर खनजोत गर्ने खेतालासमेत नपाइने उहाँ बताउनुहुन्छ ।

“जुग जमान फेरिए, हाम्रो पालामा यो गाउँघर कति रमाइलो थियो, वरपरका खेतबारीमा धान, मकै, गहुँ उत्पादन हुन्थ्यो, बाहिरबाट केही पनि ल्याएर खान पर्दैनथ्यो, अहिले त गाउँमा गरि खाने थाले (ठाउँ) भएर पनि काम गर्ने मान्छे पाइँदैनन्” उहाँले भन्नुभयो, “हेर्दाहेर्दै मेरो हात पाखुराले दुःख गरेर अन्न फलाएको ठाउँ यस्तो झाडीले ढाक्ने भयो, पछि–पछि त अहिले खेती हुने ठाउँ पनि जङ्गलमा परिणत हुन्छन् भन्ने पिर लाग्न थाल्यो ।”

काठेखोला –८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँका आधा बढी खेतीयोग्य जमिन बाँझो बनेको सुनाउनुभयो । पहिले बारीमा उत्पादन गरेको धान बेचेरै वर्षभरी खान लाउन पुग्ने गरेको भन्दै अहिले बारी भएर पनि उत्पादन गर्न नसक्ने उहाँको भनाइ छ । युवा विदेश जाँदा गाउँमा बुढाबुढी मात्रै रहेको भन्दै आफूहरुले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको कँडेलले बताउनुभयो ।

जिल्लामा कूल खेतीयोग्य जमिनको २५.८७% जमिनमा मात्र सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई हजार ८४१ हेक्टर जमिनमा मात्रै बाह्रै महिना सिँचाइको सुविधा रहेको छ ।

शुक्रबार देशभर ३४ विपदका घटना

काठमाडौँ – शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन् ।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति रु तीन लाख ९५ हजार बराबर भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका न् । यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन् । यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन् । त्यसमा परेर २२१ जनाको निधन भएको छ ।

यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन् । ती घटनामा परेर छ हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।

कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन् । यस्तै, १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिावर प्रभावित भएका छन् । यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका छन् ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन् । आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन्

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, धर्मशास्त्रविद् तोयराज नेपालले भन्नुभयो ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ ।

अनन्त चतुर्दशी

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपालले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आर्थिक वर्षको बजेट

काठमाडौँ – हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ ।

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।

मधेस प्रदेश अन्तर्गत सप्तरीका मात्रै पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सिरहाका तीन, धनुषाको १०, महोत्तरी एक, सर्लाहीको पाँच, रौतहटको पाँच, बाराको पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार वाग्मती प्रदेश अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, दोलखाको बिगु, धादिङको खनियाबास र गल्छी गाउँपालिकाले बजेट ल्याएका छैनन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ ।

लुम्बिनी प्रदेशको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिका र लहमी नगरपालिकाको बजेट सार्वजनिक भएको छैन ।

कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै, सुदूरुपश्चिम प्रदेशको टिकापुर नगरपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ । यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ, २० भदौ : स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग आज कार्यसम्पादन सम्झौतामा गरेको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताउनुभयो । “यो सम्झौता केवल केही बुँदाहरूको सूचीमात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशिला हो । यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहिता र पारदर्शी कार्ययोजना तथा तथ्याङ्कमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य सचिव डा विकास देवकोटाले उक्त सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । सम्झौतालाई मन्त्रालय र प्रतिष्ठानहरूको साझा लक्ष्यको दस्तावेजका रूपमा व्याख्या गर्दै यसको सफलताका लागि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उक्त सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटलाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि लिएर हरेक प्रतिष्ठानका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका दर्जनौँ बुँदाहरू समावेश गरिएका छन् । मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ ।

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर, २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि बिहान ८ बजे बस्ने गरी आज महाधिवेशनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । उहाँले आज प्रस्तुतीकरण गर्न समय अभावका कारण नभ्याइएका निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भोलि बिहान प्रस्तुत हुने बताउनुभयो । “आज हामीले सबै प्रतिवेदन प्रस्तुत गर्न भनेका थियौँ”, उहाँले भन्नुभयो, “समय अभावका कारणले तीन वटा भोलि प्रस्तुत हुनेछ ।”

भोलि बिहान तीन वटा प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने उहाँले बताउनुभयो । आज पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भोलि बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।

महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भटटराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौँ, २० भदौ : सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर नीति, सादा प्याकेजिङ र कडा अनुगमन प्रणाली प्रभावकारी उपाय हुन सक्ने विज्ञहरुले सुझाएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ ‘धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव नियन्त्रणमा कर वृद्धि’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । सो अन्तरक्रियामा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा जयकुमार गुरुङले भन्नुभयो, “उच्च कर दरले उपभोग घटाउन, युवालाई सुरु गर्नबाट रोक्न र सरकारलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने अतिरिक्त राजस्व सङ्कलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।” उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कर नीति सबैभन्दा शक्तिशाली रणनीति मानिने उल्लेख गर्नुभयो ।

कर प्रणालीलाई सरल बनाएर अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याटमा समानुपातिक संरचना लागू गर्दा प्रशासनिक अनुगमन सजिलो हुने उहाँको भनाइ छ । “अन्तःशुल्क र स्वास्थ्य जोखिम करलाई निरन्तर र उल्लेखनीय रुपमा वृद्धि गर्नुपर्ने अपरिहार्यता छ”, उहाँले भन्नुभयो, “जसले सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्छ ।” कर प्रणालीलाई थप प्रभावकारी बनाउन विलासिता कर, वातावरण कर, खुद्रा व्यापार दर्ता शुल्क जस्ता अतिरिक्त माध्यम अपनाउन सकिने उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य सचेतना तथा सुर्तीजन्य नियन्त्रण शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नकालागि सादा प्याकेजिङ नीति प्रभावकारी देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सादा प्याकेजिङले सुर्तीजन्य पदार्थको ब्रान्डिङ र डिजाइन हटाउँछ जसले गर्दा उत्पादनहरु कम आकर्षक देखिइ युवाहरुमा यसको लोभ्याउने क्षमता घटाउँछ । आकर्षक ब्रान्डिङ नहुँदा प्याकेटमा छापिएका स्वास्थ्य चेतावनीहरु अझ स्पष्ट देखिने हुन्छ र उपभोक्ताले स्वास्थ्य जोखिमबारे राम्ररी बुझ्न सक्छन् ।”

राप्रपामा कुनै गुटउपगुटको समस्या छैनः अध्यक्ष लिङ्देन

लमजुङ, २० भदौः राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताउनुभएको छ ।

बेँसीसहर नगरपालिका–७ मा आज आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको धारणा राख्नुभयो ।

देश र जनताका लागि सङ्घर्ष गर्दै आएको पार्टी भएकाले एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर राप्रपाले काम गर्ने अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभयो । प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री हुनुपर्ने माग आफ्नो पार्टीको रहेकामा उहाँले जोड दिनुभयो ।

गाजा सिटीमा बन्धक बनाइएका इजरायली नागरिकहरूको भिडियो सार्वजनिक

प्यालेस्टिनी विद्रोही समूह हमासको सशस्त्र शाखाले शुक्रबार एक भिडियो सार्वजनिक गरेको छ, जसमा सन् २०२३ अक्टोबरको इजरायलमाथि भएको हमलामा अपहरण गरिएका दुई इजरायली बन्धकलाई गाजा सिटीमा जीवित देखाइएको छ ।

भिडियोमा बन्धक गिल्बोआ–डलाललाई एक गाडीमा देखाइएको छ, जुन ध्वस्त भएका भवनहरूको बीचबाट गुडिरहेको छ । उहाँ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा सिटीमाथि आक्रमण गर्नका लागि योजना बनाएको सैन्य अपरेशन रोक्नको लागि अपिल गर्दै हुनुहुन्छ ।

गिल्बोआ–डलाल नोवा सङ्गीत महोत्सवमा सहभागी थिए, जुन दक्षिणी इजरायलमा आयोजित थियो र त्यहाँ उग्रवादीहरूले उहाँलाई अपहरण गरेका थिए । यो घटना दुई वर्षअघि भएको थियो र यसलाई एक दुर्लभ र ठूलो आक्रमणको रूपमा सम्झना गरिन्छ । यो फुटेज अगस्ट २८ मा खिचिएको हो ।

भिडियोको अन्त्यतिर, उहाँ अर्को बन्धक अलोन ओहेलसँग भेट गर्दै देखिन्छन् । यो ओहेलको अपहरणपछि सार्वजनिक गरिएको पहिलो भिडियो हो ।एएफपीले यो भिडियो र त्यसको मिति तत्काल प्रमाणित गर्न सकेको छैन ।

पछिल्लो समय, फेब्रुअरीमा, हमासले गिल्बोआ–डलाल र अर्को बन्धकलाई गाडीमा राखिएको र बन्धक रिहाई समारोह हेर्दै गरेको अर्को भिडियो सार्वजनिक गरेको थियो, जुन एक छोटो युद्धविरामको समयमा खिचिएको थियो ।

सन् २०२३ को हमासको आक्रमणले एक हजार २१९ इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए, र यो तथ्यांक इजरायली स्रोतका आधारमा एएफपीले संकलन गरेको हो ।

यस आक्रमणमा २५१ बन्धक अपहरण गरिएका थिए, जस मध्ये ४७ जना अझै गाजा सिटीमा रहेका छन् । इजरायली सैन्यका अनुसार २५ जनालाई मृत घोषित गरिएको छ ।

इजरायली सैनिक आक्रमणको जवाफमा, गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार, कम्तिमा ६४ हजार ३०० फलस्तीनी नागरिकको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक थिए ।

बेपत्ता युवाको शव कालीगण्डकी नदीमा फेला

बेनी (म्याग्दी), २० भदौ : सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनीस्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर बेपत्ता भएका बेनी नगरपालिका–६ जामुना खर्कका हरिप्रसाद शर्मा (रिजाल)को शव फेला परेको हो ।

बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीको किनारमा आज बिहान रिजालको शव फेला परेको र हुलियाका आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाइएको बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल शर्मा सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान नदी किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खबर गरेका थिए । बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो ।

रिजालसँगै बेपत्ता भएका म्याग्दीको रघुगङङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ । बेनीको बैंकरोडस्थित एक होटलमा सँगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदीमा खसेको दृश्य सिसीटिभीमा कैद भएको थियो ।

दुर्घटना भएको भएको सडक छेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेलापरेको थियो भने बेनीनगरपालिका–१ थाङ्नेबगरस्थित कालीगण्डकी नदी किनारमा उनीहरू सवार पल्सर १५० सिसी मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी र आफन्तजनसँगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए ।

यसैबीच एउटै मोटरसाइकलमा सवार भई कालीगण्डकीमा दुर्घटनामा परेर बेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । कुमारको अवस्था पत्ता लाग्न नसके पनि घटना घटेको तत्कालीन समयमा उपलब्ध सिसीक्यामेराका दृश्यमा उनीहरू एउटै मोटरसाइकलमा सवार रहेको देखिएको र अर्का युवाको शव भेटिएपछि काजकिरीयाजन्य धार्मिक संस्कारका लागि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् ।

एमाले विधान संशोधन प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, दुई प्रकारका पार्टी सदस्यता

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

विधानको धारा १६ (२) मा तीन सय एकको केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित दुई सय ५१ को केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गर्नुभएको छ । प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छभने छ उपाध्यक्षको सङ्ख्यालाई घटाएर तीनमा झारिएको छ । प्रस्तावअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सातसतिह १५ जना पदाधिकारी रहनेगरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एकजना अनिवार्य गरिएको छ ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको सङ्ख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छभने ९९ सदस्यीय पोलिटब्यूरोको सङ्ख्या घटाएर बढीमा एकतिहाइ रहनेगरी निर्वाचनमार्फत पोलिटव्यूरोको पूर्ति निर्वाचन प्रक्रियाबाट गरिने प्रस्ताव गरिएको छ ।

दुई प्रकारका पार्टी सदस्यता

एमालेले पार्टी सदस्यलाई दुई प्रकारले गर्ने प्रस्ताव गरेको छ । पार्टीको विधानको धारा ४ को (क)लाई थप गर्दै पार्टी सदस्य र सङ्गठित सदस्य गरेर दुईखाले सदस्यता रहने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । दुवै सदस्यताका लागि एमालेको नीति विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुल्क तिर्न तत्पर व्यक्तिले मात्र अब एमालेको सदस्यता लागि योग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

जनताको बहुदलीय जनवाद, पार्टीले लिएका नीतिमा समर्थन जनाउने व्यक्तिलाई साधारण सदस्यता प्रदान गरिने छ । यसको परीक्षणकाल छ महिनाको राखिएको छ । यस्ता सदस्यहरू पार्टीका सम्बन्धित कमिटीले तोकेको सङ्गठनमा सङ्गठित भई काम गर्नुपर्ने छ । सङ्गठित सदस्यले कुनै न कुनै कमिटीमा अनिवार्य रूपमा आबद्ध भएको हुनुपर्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको छ ।

एमालेले आफ्ना सातवटा केन्द्रीय निकायमा वृद्धि गरेर आठ पुर्याएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राख्नुभएको विधान संशोधन प्रस्तावमा केन्द्रीय निकायका रूपमा राष्ट्रिय महाधिवेशन, नीति अधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्लाई राखिएको छ । पोलिटब्यूरो र स्थायी कमिटीलाई पनि केन्द्रीय कमिटीमातहत राख्ने गरी संशोधन प्रस्ताव अघि सारेको छ ।

धारा १५ को विधान अधिवेशनलाई अबेखि नीति अधिवेशनका रूपमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । गोदावरीको सनराइज हलमा सुरु भएको एमाले विधान महाधिवेशनमा उपाध्यक्ष पौडेलले गर्नुभएको विधान संशोधनको प्रस्तावमा पार्टी अध्यक्षको अधिकार थप गरिएको छभने वरिष्ठ नेताको व्यवस्थालाई हटाइएको छ ।

धारा २१ (१) (ग) र (घ) मा संशोधन गर्दै पार्टी अध्यक्षले केन्द्रीय निकाहरूको अध्यक्षता गर्ने, केन्द्रीय निकायमा अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदन पेस गर्ने कुरा थप गरिएको छ । त्यसैगरी पार्टीमा केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीको बैठकका लागि महासचिवलाई निर्देशन दिने, बैठकमा कार्यसूची प्रस्ताव गर्ने, बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने र बैठकका निर्णय प्रमाणीकरण गर्ने र अन्तरपार्टी निर्देशन जारी गर्ने काम अध्यक्षका लागि थप गर्ने प्रस्ताव गरिएको छ ।

यसअघि पार्टीको शक्तिशाली निकायका रूपमा रहेको सचिवालय र केन्द्रीय कार्यालयको संरचनालाई हटाउने प्रस्ताव गरिएको छ । धारा २१ (४) क र ख मा गरिएको सचिवालय र उपधारा ४ (ङ) मा व्यवस्था गरिएको केन्द्रीय सचिवालय र कार्यालयका कामलाई पार्टी अध्यक्षको निर्देशनमा महासचिवले गर्ने प्रस्ताव गरिएको छ । दुई महाधिवेशनको बीचमा आयोजना गरिने महाधिवेशन प्रतिनिधि परिषद्लाई एकपटक आयोजना गर्ने व्यवस्था गरिएको छ ।

पार्टीका केन्द्रीय निकायका रूपमा रहेका केन्द्रीय आयोगहरू (अनुसाशन/लेखा/निर्वाचन)का अध्यक्षहरूको मर्यादाक्रम पार्टीको पोलिब्यूरो सदस्यसरह हुने र आयोगका सदस्यहरूको मर्यादाक्रम केन्द्रीय सदस्यसरह हुने व्यवस्थासहित प्रस्ताव गरिएको छ ।

एमालेले काठमाडौं उपत्याकाका तीन जिल्ला रहेको राजधानी विषेश कमिटीलाई प्रदेश कमिटीसरहको कमिटीका रूपमा प्रस्ताव गरेको छ । प्रदेश मातहत चारवटा तहगत संरचनाको प्रस्ताव गरिएको छ । बन्दसत्रमा प्रस्तुत विधान संशोधन प्रस्तावमा धारा २८ मा टोल/प्रारम्भिक कमिटी, वडा/शाखा कमिटी, पालिका/इलाका कमिटी, जिल्ला कमिटीका रूपमा रहने व्यवस्था अघि सारिएको छ । त्यसैगरी राजधानी विशेष कमिटी, सम्पर्क विशेष कमिटीलाई प्रदेश कमिटीसरह र विशेष जिल्ला कमिटी, प्रदेश सम्पर्क विशेष कमिटीलाई जिल्ला कमिटीसरहको कमिटीका रूपमा स्थापित गर्ने व्यवस्था गरिएको छ ।

सबै प्रदेश कमिटीको पदाधिकारीमा एक जना महिलालाई अनिवार्य व्यवस्था गरिएको छ । एमालेले पालिकामा ७५, उपमहानगर ८५, महानगर एक सय एक सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव गरेको छ । यसैगरी यो विधान पारित भए एमालेका वडा कमिटी ३१ देखि ५१, टोल कमिटी २१ सदस्यीय हुनेछन् ।

कमिटीको उम्मेरदवार हुन प्रशिक्षण अनिवार्य

एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीमा उम्मेदवार बन्नका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

धारा ६३ (१२) मा संशोधन प्रस्ताव गर्दै एमालेले हरेक नेतालाई पार्टीको नीतिसँग साक्षात्कार हुनुपर्ने नीतिलाई कार्यान्वय गर्न यस्तो व्यवस्था गरिएको उपाध्यक्ष पौडेलले बताउनुभयो । यद्यपि, जुन व्यक्ति अहिले रहेको विद्यमान कमिटीको पदका लागि उम्मेरदवार हुन चाहेको खण्डमा प्रशिक्षणमा सहभागी बनेको प्रमाण आवश्यक पर्ने छैन ।

उमेर हदको व्यवस्था हटाउने

सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्थालाई हटाउने प्रस्ताव अघि सारिएको छ । पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको उक्त व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौँ केन्द्रीय कमिटीको बैठकले निष्क्रिय गरेको उक्त व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव महाधिवेशनमा गरिएको छ ।

बन्दसत्रमा उपाध्यक्ष पौडेलले गरेको विधान संशोधन प्रस्तावमा पार्टीका बैठकको समयमा हेरफेर गरिएको छ । धारा ७० मा केन्द्रीय कमिटी बैठक छ महिनामा, प्रदेश कमिटी चार महिना, जिल्ला कमिटी तीन महिना, पालिका कमिटी दुई महिना र वडा कमिटी एक महिनामा बस्नेगरी समय निर्धारण गरिएको छ ।

 

न्यायालयको काम कानुनी शासनको रक्षा गर्नु नै हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ, २० भदौ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल–भारत दुवै देशको न्यायालयको मूल काम मानवअधिकारको रक्षा, समानता प्रवर्द्धन र कानुनी शासनको रक्षा गर्नु भएको बताउनुभएको छ ।

सर्वोच्च अदालतद्वारा आज यहाँ आयोजित ‘नेपाल–भारत न्यायिक संवाद–२०२५’ मा प्रधानन्यायाधीश राउतले सामाजिक समानता, जलवायु परिर्वतन आदिजस्ता विषयहरू नेपाल र भारतका साझा कानुनी विषय भएको बताउनुभयो ।

“नेपाल र भारतले साझा कानुनी परम्परा साझा गरेको हुनाले, वर्षौँदेखि नेपाली कानुनी र न्यायिक समुदायहरूसँग निरन्तर सहकार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “नेपाल–भारतबीच न्यायिक सहयोग हुँदै आएको छ, कानुन र न्यायका विभिन्न आयामहरूमा एकअर्कालाई सफलतापूर्वक सहयोग गर्दै आएका छौँ ।”

प्रधानन्यायाधीश राउतले नेपालले अहिले नयाँ पुस्ताका कानुनी चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो । सो चुनौतीहरुमा साइबर अपराध, उपभोक्ता संरक्षणदेखि वातावरणीय ह्रास, जलवायु परिवर्तन, लैङ्गिक न्याय र आदिवासी तथा सीमान्तकृत समुदायको अधिकार रहेको बताउनुभयो ।

भौगोलिक र सांस्कृतिक सम्बन्धको अतिरिक्त नेपाल र भारतले कानुनी तथा न्यायिक क्षेत्रमा पनि बलियो व्यावसायिक सहकार्य रहेको बताउँदै उहाँले सुधारिएको मुद्दा व्यवस्थापन, सूचना प्रविधिको प्रयोगले काम गर्न सहजता भएको उल्लेख गर्नुभयो ।

भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवाईले भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच पहिलादेखि उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्दै आएको, आगामी दिनमा पनि संवाद, सहयोग र सहकार्यलाई अभिवृद्धि गर्ने बताउनुभयो ।

“दुई संस्थाहरूबीच उत्कृष्ट अभ्यास आदानप्रदान गर्न, संवादलाई बढावा दिन र सहयोगलाई गहिरो बनाउन समझदारी जरुरी छ”, उहाँले भन्नुभयो, “दुवै देशको लोकतान्त्रिक शासन सुढृढीकरण गर्ने, न्यायपालिकाले अभिभावक र सुधारका रूपमा काम गर्दछ ।”

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले नेपालको न्यायालयले स्वतन्त्र, निष्पक्ष न्याय दिन प्रयास गर्दै समानताका लागि निकै राम्रो काम गरेको बताउनुभयो ।

सर्वोच्च अदालतले छोरीलाई सम्पत्तिको अधिकारलाई स्थापित गर्दै समलिङ्गी विवाहलाई मान्यता दिँदै विवाह दर्ता गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार र सबैलाई अवसर, मर्यादा, समानताका लागि निरन्तर काम गरिरहेको जानकारी गराउनुभयो ।

“अदालतको फैसलाले सामाजिक न्यायका लागि, मानवअधिकारको संरक्षण र आमनागरिकमा न्यायको पहुँचका लागि काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, सामाजिक सञ्जाल ट्रायलजस्ता धेरै चुनौतीहरू छन्, ती सबैको सामना गरेर अघि बढिरहेका छौँ ।”

नेपालका प्रधानन्यायाधीश राउतको निमन्त्रणामा बिहीबार नेपाल आउनुभएका भारतका प्रधानन्यायाधीश गवाई आजको औपचारिक कार्यक्रममा सरिक भएर भोलि लुम्बिनीमा गौतमबुद्ध जन्मस्थल पुगी मायादेवी मन्दिरको दर्शन गरेर भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

श्रम र उत्पादन प्रेरित गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ : एमाले प्रचार विभाग

पाटन (ललितपुर), २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी राजनीतिक प्रतिवेदन प्रस्तुत भएको बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरूका बारेमा जानकारी दिनुहुँदै विभाग प्रमुख गौतमले अध्यक्षले प्रस्तुत गर्नुभएको ९१ पेजको राजनीति प्रतिवेदनमा परिपूर्ण लोकतन्त्रलाई आधार बनाएर गौरवशाली इतिहास र आशापूर्ण वर्तमानको व्याख्या गर्दै उत्पादन पद्धतिमा आएको फेरबदललाई समेत विश्लेषण गरिएको बताउनुभयो ।

“प्रतिवेदनमा क्षणिक असन्तुष्टि र आवेगलाई समातेर लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले दीर्घकालीन सोचका साथ राष्ट्रिय नेतृत्व गर्न सक्दैनन् भन्ने विषय समेटिएको छ, श्रम र उत्पादनप्रति प्रेरित गर्ने, उद्यमबिनाको आय, श्रमबिनाको उपलब्धिलाई निरुत्साहित गर्ने सोेच राखिएको छ, नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गरिएको छ, नेपालको भूराजनीतिक प्रभाव, अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका बारेमा चर्चा गरिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख गौतमले नेपालले स्वतन्त्र राष्ट्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने विषय उल्लेख गरिएको छ भन्नुभयो । “पहिलो पार्टी निर्माण र दोस्रो देशको निर्माणको विषयलाई समेटिएको छ, समृद्ध नेपाल, सुखी नेपालीलाई कार्यान्वयन गर्ने व्याख्या प्रतिवेदनमा समेटिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले क्षेत्रीय पार्टीले राष्ट्रिय सोचका आधारमा चल्न सक्दैनन् भन्ने तर्क गर्नुभयो । “नयाँ भनिएका दलहरूको कुनै कार्यक्रम, स्थापित नीति, सिद्धान्त छैन लोकप्रियताका आधारमा पार्टी निर्माण गर्नेहरूले निराशा मात्रै बटुल्ने काम गरे, यिनीहरूको दीर्घकालीन नीति छैन, राष्ट्रलाई सुशासन दिन नेतृत्व दिन सक्दैनन्, उनीहरू एउटा सीमाभित्र मात्र केन्द्रित छन्”, उहाँले भन्नुभयो ।

प्रमुख गौतमले राजनीतिक प्रतिवेदनमा सिङ्गै कम्युनिष्ट आन्दोलनको समीक्षा र कमजोरीका बारेमा समीक्षा गरिएको जानकारी गराउँदै नेपाली विशेषतासहितको समाजवाद र कार्यक्रमको व्याख्या गरिएको उल्लेख गर्नुभयो ।

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए ।

ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किच्दा उनको टाउकोमा गम्भीर चोट लागि तत्कालै घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन् । प्रहरीका अनुसार निजको खोजी कार्य जारी छ । उक्त घटनापछि मृतक बालकको शव कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो । बस भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, घटनाप्रति थप अनुसन्धान गर्न स्कुलका संस्थापक एवं प्रधानाध्यापक दिलीप बुढाथोकीलाई हिरासतमा लिई प्रहरीले सोधपुछ गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा तीन जनाको मृत्यु

नवलपुर (नवलपरासी), २० भदौः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु भएको छ । गत साउन २० देखि हालसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको जानकारी दिनुभयो ।

मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उहाँहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकामा त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । “सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उल्लेख गर्नुभयो । “सङ्क्रमित दुवै बिरामीको काठमाडौँमा उपचार भइरहेको छ”, उहाँले भन्नुभयो, “ जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिको सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उहाँहरूको अवस्था गम्भीर बन्न थाल्छ ।”

उहाँका अनुसार सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका चार र हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक÷एक जना छन् ।

“सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ”, उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएकाको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उहाँहरूको अवस्था सामान्य छ ।” सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमा बसिरहनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रयोगशाला प्राविधिक निरीक्षक तिवारीका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको उहाँको छ ।

जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्म बिरामीको मृत्युसमेत हुनसक्ने निरीक्षक तिवारीले बताउनुभयो । यो रोग हाँस, कुखुरालगायत चराचुरुङ्गी र सुँगर, बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उहाँले जानकारी दिनुभयो ।

तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । जिल्लामा जापानिज इन्सेफलाइटिसबाट एक महिनामा तीन जनाको मृत्यु भएपछि कार्यालयबाट समुदायमा सचेतना फैलाउने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थी एवं नागरिक समाजको सहकार्य र समन्वयमा यो रोग लाग्ने सम्भावना, जोगिने उपायलगायत विषयमा सचेतना फैलाइएको तिवारीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट जोगिन हाँस, कुखुरा तथा सुँगुर, बङ्गुर खोर, समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएकामा आव २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जलवायु सङ्कट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल

काठमाडौँ, २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असरबारे गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले उक्त सङ्कटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताउनुभयो ।

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले जलवायु परिवर्तनको असरलाई पुँजीवादी विकास मोडलको असफलताको परिणामका रूपमा चित्रित गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा छ । यसको समाधान यदि सही ढङ्गले गर्न सकिएन भने यो सङ्कट झन् गहिरो हुँदै जानेछ ।”

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तरराष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाएको उल्लेख गर्दै भन्नुभयो, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तरराष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भीर ढङ्गले उठाउँदै आएका छौँ ।”

उहाँले धनी राष्ट्रहरूको नाफामुखी अवधारणाकै कारण कार्बन उत्सर्जन भइरहेता पनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले व्यहोर्नुपरेको र कार्बन क्षतिपूर्तिस्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएकामा विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष दाहालले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भए पनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताउनुभयो ।

कार्यक्रममा तयार पारिएको अवधारणापत्रको प्रशंसा गर्दै अध्यक्ष दाहालले यो केवल पार्टीको दस्तावेजमात्र नभई अन्तरराष्ट्रिय हस्तक्षेप र संवादको महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्तिबहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेता तथा विज्ञहरूको समेत उपस्थिति थियो ।

जापानको अर्थतन्त्रमा सुधारको सङ्केत, घरेलु खर्च १.४ प्रतिशतले वृद्धि

जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धि पछिल्ला तीन महिनायता लगातार भएको वृद्धि हो, जुन उपभोग सुधारको सङ्केत मानिएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, उक्त महिनामा यस्ता घरपरिवारहरूले औसत रूपमा तीन लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए ।

सिजनअनुकूल समायोजनसहितको मासिक आधारमा हेर्दा, जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार, यो वृद्धि मुख्यतः बढ्दो विद्युत् महसुल र सवारी साधनसम्बन्धी खर्चका कारण भएको हो । तर, मूल्यवृद्धिका कारण खाद्य वस्तुहरूमा खर्च घटेको उल्लेख गरिएको छ । उहाँका अनुसार, उपभोग सुधार देखिए पनि यो अझै सशक्त रुपमा देखिएको छैन ।

जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हिस्सा घरेलु खर्चबाट आउने भएकाले, घरेलु उपभोग आर्थिक सूचकको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छः अध्यक्ष रेग्मी

सुदूरपश्चिम, २० भदौः लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताउनुभएको छ ।

आयोगकोे हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा प्रतिबद्ध रहेको बताउनुभयो ।

वर्षभरिमा आयोगले निजामतीतर्फ करिब चार हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी गुणस्तर र प्रतिबद्ध प्रतिस्पर्धी खोजिरहेका छौँ ।”

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष एवं स्वच्छ कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा आयोगको समग्र विषय समेटिएको वृत्तचित्रका साथै कार्यपत्र प्रस्तुत गरिएको थियो । आयोगले विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थी सहभागी थिए ।

एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

काठमाडौँ, २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि भएको छ ।

ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शङ्कर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताउनुभयो । पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

साङ्गठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् ।

जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको छ । आज दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेन जारीे छ ।

संसदीय सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडा चयन

काठमाडौँ, २० भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन हुनुभएको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले समर्थन जनाउनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

केही समयअघिसम्म उहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो । सवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उहाँले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुनेछ ।

सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्छ : उपसभापति गुरुङ

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जाललाई कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

“म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालनमा आयो, एउटा चिया पसल दर्ता हुनुपर्ने, संसारभर चल्ने सामाजिक सञ्जाल दर्ता नभए पनि चल्ने यो हुन सक्दैन”, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सामाजिक सञ्जालको बारेमा लिएर भएका तर्क विर्तकभन्दा पनि के गर्दा मुलुकलाई राम्रो हुन्छ त्यहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक : मन्त्री न्यौपाने

काठमाडौँ, २० भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साझा अधिकार कार्यान्वयनका क्रममा स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताउनुभयो ।

मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधानका लागि अझै स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

“हामीले सङ्घर्ष गरेर तीन तहको सरकार ल्याउन सकेका छौँ । जनताले नजिकबाट सेवा प्रवाह लिन सकिने भनेको स्थानीय सरकारबाटै हो । संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । केही एकल र केही साझा अधिकार दिएको छ । तर साझा अधिकार कार्यान्वयनको सन्दर्भमा अस्पष्ट छ । त्यसलाई कानुन बनाएर स्पष्ट बनाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई संविधानले जे अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐनले पनि धेरै अधिकार दिएको छ । अब अधिकारलाई थप बलियो बनाउन जरुरी छ ।”

गाउँगाउँमा सिंहदरबार पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो बनाउन सहयोग गर्ने र यसलाई सशक्त बनाउन सबै जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ ।सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।

लिनले टी२० फम्र्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिग हरु मा समेत खेलिसकेको अनुभव छ ।

टिम मालिक स्वतन्त्र प्रताप शाह, ‘बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौं । क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुशी छौं र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौं ।’

क्रिस लिनले आफ्नो उत्साह प्रकट गर्दै भने, ‘म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु। यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ ।’

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

काठमाडौं । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।

पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।

कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन् । साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ ।

उत्तर कोरिया र रुससँग सहकार्य गर्नु अमेरिकाविरुद्धको षड्यन्त्र नहुने चीनको भनाइ

चीनले दोस्रो विश्वयुद्धको स्मरण गर्न आयोजित कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई आमन्त्रण गर्ने आफ्नो निर्णयको बिहीबार बचाउ गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा आयोजित विशाल परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा चीनको सैन्य शक्ति प्रदर्शन गरेपछि आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले आफ्ना चिनियाँ समकक्षीलाई सङ्केत गर्दै चीनले अमेरिकाविरूद्ध षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।

ट्रम्पले लेख्नुभएको छ, “भ्लादिमिर पुटिन र किम जोङ उनप्रति मेरो हार्दिक सम्मान छ, तर तपाइँले संयुक्त राज्य अमेरिकाविरुद्ध षडयन्त्र गरिरहनुभएको छ ।”

ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले बिहीबार दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा ‘विदेशी पाहुना’लाई निमन्त्रणा गरिएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “इतिहासलाई स्मरण गर्नु, शहीदको स्मृतिको कदर गर्नु, शान्तिको कदर गर्नु र भविष्य निर्माण गर्न शान्तिप्रिय देश र जनतासँग मिलेर काम गर्नु हो ।”

“चीनले कुनै पनि देशसँग कूटनीतिक सम्बन्ध विकास गर्नु कुनै पनि तेस्रो पक्षविरुद्ध निर्देशित हुँदैन,” उहाँले भन्नुभयो ।

क्रेमलिनले बुधबार सामाजिक सञ्जालमा ट्रम्पले लगाएको आरोप मजाक मात्र भएको बताएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले रुसको सरकारी टेलिभिजनलाई ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा भन्नुभयो, “मलाई लाग्छ यी तीनै जनाले अमेरिकाविरुद्ध षडयन्त्र रचिरहेका छन् भन्ने कुरा एक विडम्बनापूर्ण अभिव्यक्तिबाहेक अरू केही होइन।”

रामकुमारी झाँक्री भन्छिन् – वाक स्वतन्त्रताको नाममा गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारेकी हुन् । उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्वपूर्ण हुने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ ।’

झाँक्रीले पशुपतिनाथको दर्शनलाई उदाहरण दिँदै नियमनको पक्षमा तर्क प्रस्तुत गरेकी छन् । उनले भनिन्, ‘मानौं, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरिकको अधिकार हो । तर हजारौं मान्छेलाई दर्शन गर्न सहजताका लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ । बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि ।’

उनले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीगलौज गर्न नपाइने भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता औंल्याएकी छन् ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढ्दो घृणा, गलत सूचनाको प्रसार र व्यक्तिगत आक्षेपलगायत विषयले सार्वजनिक चासो बढाएको छ । यस्तो परिवेशमा झाँक्रीको टिप्पणीलाई धेरैले समर्थन तथा आलोचना दुबै दृष्टिकोणबाट हेरिरहेका छन् ।

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिन नहुँने बताइन् ।
उनले भने ‘बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।’

हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उनले बताइन् ।

मन्त्री डा. राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताइन् ।

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उनले बताइन् । मन्त्री डा. राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रुपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रुपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरुले देखाएको स्पष्ट गरिन् ।

सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उनले बताइन् ।

सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ ।’

प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहलमा चुक्दै ‘दर्ताको नाममा’ प्रतिबन्ध लगाउने गैरजिम्मेवार रवैया देखाएको आरोप लगाइएको छ ।

‘सरकारको यस कदमले नागरिकलाई सूचनाको हकबाट बञ्चित गर्नेसहित अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रेस सेन्टर नेपालले सरकारको निर्णयलाई निरङ्कुशता र पश्चगामी प्रवृत्तिको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ । साथै, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाई निर्णयमा पुनर्विचार गर्न र दर्ताका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

सेन्टरले सामाजिक सञ्जाल लाखौं नेपालीको रोजगारीसँग समेत जोडिएको भन्दै यस्ता प्लेटफर्म निस्क्रिय पार्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

आज अन्तर्राष्ट्रिय परोपकार दिवस, मदर टेरेसाको स्मरण गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ । विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो दिवस मनाइँदै छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २० भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३८, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९५, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ६५, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ६५, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु ५००, निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २३०, जिरीको साग प्रतिकिलो रु १३०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु १०००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३८, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १२५, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १४०, हरियो धनियाँ प्रतिकिलो रु २२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु ३८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।

यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै उनले उक्त कदम तरुन्त सच्याउन माग गरेका छन् ।

मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । राति कोशी प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

कञ्चनपुर, २० भदौ : सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।

उहाँले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उहाँले भन्नुभयो, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हँु, मौखिक रूपमा इतिहासका पात्रहरू (वीरविरङ्गनाहरू)को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”

“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उहाँ थप भन्नुहुन्छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उहाँले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।

ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा विस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्नुहुन्छ, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”

सुदूरपश्चिमको लोककलाका जानकार गोरे दमाई भन्नुहुन्छ, “लोकसंस्कृतिलाई जोगाउनुपर्छ भन्ने सबैको भनाइ हुन्छ, तर कसैले पनि हुडकेली सिक्ने, अभ्यास गर्ने चासो देखाउँदैनन्, हुडकेली लोप हुनै लाग्दा पनि चासो छैन ।”

पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार युद्धमा लड्ने सैनिकहरूको मनोबल उच्च राख्न वीरगाथा सुनाएर मनोरञ्जन दिने माध्यमका रूपमा यसको प्रयोग हुन्थ्यो । हुडकेली नृत्यका प्रस्तुतकर्ताले वीरगाथा, ऐतिहासिक घटना र वीरताको कथा गीतमार्फत प्रस्तुत गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसै क्रममा नृत्यमा तलबार र ढालको करतब देखाइन्छ । गायनलाई दमाहा, हुडका र घुँघरुको तालले साथ दिइन्छ, हुडकेलीका नृत्यङ्गनाले टाउकोमा मखमलको पगडी, शरीरमा भोटो र सेतो रङको झकुलो (विशेष पहिरन) लगाउँछन् ।”

हातमा हुडका, हुडकाको डोरीमा घुँघरु, चौँरीगाईको चमर, कम्मरमा कूलदेवताका घण्टी, चौँरीगाईको पुच्छरको सजावटसहित नृत्य गरिने चलन रहेको उहाँले बताउनुभयो । “परापूर्वकालमा राजारजौटाहरू युद्धमा जितेर फर्केपछि खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, यो नृत्य डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ”, उहाँ भन्नुहुन्छ ।

एक जना नाच्दै हुडका बजाउँछन् र गीतिकथा भट्याउँछन् । दुई जनाले युद्धको झल्को दिनेगरी तलबार र ढालको करतब देखाउँछन् । पाँच जनाले दमाहा बजाउँदै गीतमा साथ दिने गर्छन् । नृत्यङ्गनाको सिको गर्दै गाउनेलाई पछुवा वा ‘जोले’ भनिन्छ ।

यसरी प्रस्तुत हुने हुडकेली आफैँमा रोमाञ्चकमात्र नभई डोटेली इतिहासका पात्रहरूको सम्झना गर्ने माध्यम रहेको उहाँ उल्लेख गर्नुहुन्छ । “पहिलाका दिनमा हुडकेली लगाउँदा गाउँभरिका मानिस एकैठाउँमा भेला भएर हेर्ने प्रचलन थियो”, टीका दमाईले भन्नुभयो, “दलित समुदायका हुडकेली लगाउने कलाकारलाई थितो दिने, जग्गामा बालो बर्सी (एक वर्ष अन्न कमाएर खाने अधिकार) दिने चलन हुडकेलीसँग गाँसिएको थियो, हुडकेली नै लोप हुने सङ्घारमा पुगेकाले पुराना रीतितिथिहरू पनि विस्तारै ओझेलमा पर्दै गए ।”

हुडकेली नृत्य केवल सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमै सीमित नभएर भारतको उत्तराखण्ड प्रदेश (कुमाउँ–गढवाल)मा समेत शुभअवसरमा यसलाई प्राथमिकता दिने गरिन्थ्यो । लोकसंस्कृतिका जानकार मानसिं भण्डारी भन्नुहुन्छ, “हुडकेलीमा वीरगाथा सुनाइन्छ, युद्धकौशल देखाइन्छ, वंशावलीको वर्णन हुन्छ, यसले तत्कालीन राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई प्रतिविम्बित गर्छ ।”

उहाँका अनुसार हुडकेली नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । बाइस पाट कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित गीतिकथा हुडकेलीको प्रारम्भमा सुनाइने भएकाले यो नृत्य भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण मानिन्छ ।

हुडकेली सुरु गर्दा गुरु र देवताको नाम स्मरण गर्ने भएकाले यसले धार्मिक आस्था, समाजिक सद्भाव र मान्यतालाई अगाडि बढाउने कार्य गरेको उहाँ बताउनुहुन्छ । डोटेली इतिहासका वीरपात्र शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतका कथा हुडकेलीमा गाइन्छ । यो नृत्य वीरगाथा सुन्ने, मनोरञ्जन गर्ने र इतिहास सम्झाउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।

नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले अनौठा कलाकौशल पनि देखाउँछन् । उदाहरणका लागि उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कामसमेत गरिन्छ । यो साहसीमात्र नभई कठिन कलाका रूपमा लिइन्छ ।

“हुडकेली दमाई समुदायले जगेर्ना गर्दै आएको नृत्य हो”, भीम दमाईले भन्नुभयो, “यो पुर्खाले सिकाएको कला परम्परा नयाँ पुस्ताले सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ ।” यसैले संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेलीलाई पुनर्जीवित गर्न पहल नगरेसम्म सुदूरपश्चिमको यो गौरवमय लोकनृत्य इतिहासकै पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको सुदूरपश्चिमको संस्कृतिका जानकारहरूको भनाइ छ ।