`

निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई सेवा दिनुपर्छः मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगतवी न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन् ।

२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको आज युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताएकी हुन् ।
व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने भन्दै मन्त्री न्यौपानेले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बताइन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ । त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’उनले भनिन्‘निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाई र सुधार मार्फत हामीले नागरिकको विश्वास आर्जन गर्न सक्छौँ’ मन्त्री न्यौपानेले भनिन्, ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो ।’

मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्नेछ भन्ने विश्वास गर्दै शुभकामना व्यक्त गरिन् ।

चुली हिमाल आरोहणका लागि खुला

काठमाडौँ । चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।

कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ ।

नेपाल पर्वतारोहण सङ्घले आरोहणका लागि व्यवस्थापन गर्दै आएको सो हिमाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको हो ।

भाद्र शुक्ल पूर्णिमा आज, बिहानैदेखि इन्द्रदहमा मेला

काठमाडौँ, २२ भदौः भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार शनिबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

शनिबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

दिवङ्गतहरू स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

मोटरसाइकलसहित खोलाले बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक घाइते भएका छन् ।

काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका–१ दूधपानी खोला तर्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन् । मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले मनिषको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान (सुनसरी)-लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढेको छ । उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईले शुक्रबार कार्यपालिका बैठकको बहुमतबाट संशोधनसहित बजेट सिलिङ पारित भएको र यही भदौ २६ गतेको नगरसभाबाट बजेट पारित गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

यहाँ उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको मतभेदका बजेट प्रक्रिया अवरुद्ध हुँदै आएको छ । शुक्रबारको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तोकेको रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ पारित गरेको छ । यद्दपि, यसमा नेकपा (एमाले) को असहमति छ ।
बैठकले पुँजीगत तर्फको कूल बजेट १० प्रतिशत कटौती गर्ने निर्णयसमेत गरेको छ । एमाले कार्यपालिका सदस्य सावित्री परियारले पेस गर्नुभएको उक्त संशोधन प्रस्तावमा बैठकले सर्वसम्मत समर्थन गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ शीर्षकमा विनियोजित रकमलाई ‘नगर भिजन’ नामाकरण गर्ने र यसअन्तर्गत करिब रु १५ लाख बराबरको योजना राख्ने निर्णय गरेको छ । पालिका गानका रूपमा छनोट भएको गीतमा प्रयोग भएको ‘श्रमिक’ शब्दलाई ‘श्रमदाता’ मा परिवर्तन गरी रेकर्ड गरिएको विषयमा विवाद उत्पन्न भएकामा यस सम्बन्धमा लेखकसँग परामर्श गरेर मात्र निर्णय गर्ने सहमति भएको छ ।

बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने र एमालेले प्रस्तुत गरेका बुँदागत सुझाव समेटी अर्को बैठकमा अनुमोदन गर्ने निर्णय गरेको पनि जनाइएको छ । थप विषयमा छलफल गर्न आइतबार कार्यपालिका बैठक बस्दैछ । उक्त बैठकमा नीति तथा कार्यक्रम, राजस्व पुनरावलोकन, नयाँ बसपार्क सञ्चालन प्रतिवेदन, सडक उपयोग सेवा शुल्क, दररेटलगायत विषयमा छलफल हुने प्रवक्ता भट्टराईले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार १० भित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरपालिकाले हालसम्म बजेट ल्याउन सकेको छैन । बजेट पारित नहुँदा विकास निर्माण, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार ठप्प छन् ।

यस्तो थियो विवाद

उपमहानगर प्रमुख राई र उपप्रमुख बेघाबीच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङ निर्धारणलगायत विषयमा उत्पन्न विवादका कारण कार्यपालिका बैठकसमेत बस्न सकेको थिएन । उपप्रमुखको नेतृत्वमा गत वैशाख ३० गते सम्पन्न राजस्व परामर्श समितिले करिब रु एक अर्ब ६० करोड १५ लाखको बजेट प्रस्ताव गरेको थियो । अन्तिम रूप दिनुअघि नै उहाँहरूबीच मतभेद बढ्दै गएपछि कार्यपालिका बैठक बस्न नसकेर बजेट प्रक्रिया अवरुद्ध भएको हो ।

वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार बजेट पारित नहुँदा गत असार १ गतेयता विकास योजनाका ठेक्कापट्टा, सडक मर्मत, फोहोर व्यवस्थापन, स्वास्थ्य सामग्री आपूर्ति, कर्मचारीको तलब भुक्तानीलगायत काम रोकिएका छन् ।

यसअघि, उपमहानगरका २० वटै वडाका लागि करिब रु २१ करोड बराबरको बजेट सिलिङ निर्धारण गरेर एमालेको असहमतिबीच गत ४ गते वडामा पठाइएको थियो ।

यस्तै, श्रमदान कार्यक्रममा प्रयोग भएको तारजालीको भुक्तानी तथा वडा नं १६ स्थित नौलोबस्तीस्थित बहुभाषिक पाठशाला संरक्षणसम्बन्धी विवादले बजेट प्रक्रियामा अवरोध भइरहेको छ । उपमहानगर प्रमुख साम्पाङले सो कार्यको भुक्तानी नदिए अन्य योजनाको भुक्तानी रोक्ने चेतावनी दिइरहनुभएको छ भने उपप्रमुखसहित केही वडाध्यक्षले उक्त कार्यलाई गैरकानुनी भन्दै असहमति जनाइरहेका छन् ।

यस्ता विवादका बीच पटकपटकको छलफलपछि कार्यपालिकाले बजेट सिलिङ पारित गरेको छ । अब भने बाँकी प्रक्रिया अघि बढाउन सहज भएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीले व्यक्तिगत विवाद र राजनीतिक खिचातानीका कारण नगरको समग्र विकास रोकिएकाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई सहमति जुटाउन आग्रह गर्दै आएका छन् ।

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा

ढोरपाटन (बागलुङ), २२ भदौ : एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुवै स्नाकोत्तर उत्तीर्ण हुनुहुन्छ । उहाँहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् ।

परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले छ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आउनुभएको छ ।

विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थाल्नुभएको हो । रु ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा रु एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हाँै, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन् ।”

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गर्ने तीर्थले बताउनुभयो । आफूहरूले वार्षिक रु ५० लाख बराबरको कारोबार गर्ने उहाँको भनाइ छ । दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई रु ५० मा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उहाँले सुनाउनुभयो ।

मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

महोत्तरी, २२ भदौ : भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो ।

“मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ”, महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्नुहुन्छ, “देवर्षि पितृ तर्पणसँगै पितृपक्ष सुरु भएको मानिने मैथिल परम्परा छ ।” आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गत स्वजनलाई तर्पण दिइनेछ ।

पितृपक्षमा दिवङ्गत पितृको दुई प्रकारका श्राद्ध विधान छ । पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यसपक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ ।

त्यसैगरी पितृपक्षभित्रै दिवङ्गत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ । एकोपार्वणमा एकोदिष्ट (दिवङ्गत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकोपार्वण’ भनिएको पण्डित झाको भनाइ छ ।

मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू आफ्नो बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् । मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । यो परम्पराले आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको भीड भएको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।

असोज कृष्णपक्षको अवधिलाई पितृपक्ष (मैथिली बोलीचालीमा पितरपक्ष) र सोह्रश्राद्ध भनिने गरिएको छ । यसपक्षमा पितृहरु (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

पितृपक्षमा बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिबास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायतका नदीतटमा तर्पण दिने यजमान (श्राद्ध गर्ने कर्ता) लाई सङ्कल्प पढाउन पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई धपेडी पर्ने गर्छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू मैथिल पितृपक्षमा तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । यस पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष)सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिने चलन छ ।

दसैँं, तिहार र छठजस्ता मुख्य चाडवाडअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास गरिन्छ । यी पर्वबाहेक घरमा आयोजन गरिने माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादिसहितका शुभकार्य) अघि पनि पितृहरूलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने हिन्दू वैदिक परम्परा रहेको भङ्गाहा–५ का बासिन्दा मैथिल कर्मकाण्डी पुरोहित चन्द्रकान्त झा बताउनुहुन्छ ।

वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको झाको कथन छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

आजको मौसम पूर्वानुमानः कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान, तीन महिनादेखि भएन उडान

फिक्कल (इलाम), २२ भदौः जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् ।

विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् ।

यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो ।

“पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।”

नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ ।

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताउनुभयो । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।”

तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् । स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गर्नुभएको थियो ।

रैथाने इँटा बिछ्याएपछि ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक

ललितपुर, २२ भदौः विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ ।

महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार “तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका हौँ ।”

नगरप्रमुख महर्जनका अनुसार तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ ।

स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिनुभएको छ । “पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ ।”

महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर, २२ भदौः जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपा

मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना

अत्तरिया (कैलाली), २२ भदौः हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ । सत्र वर्ष अगाडि अर्थात् २०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनःस्थापना भने हुनसकेको छैन । उनीहरु कष्टकर जीवन जिउन बाध्य छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराका अनुसार सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये हालसम्म १२ जिल्लाका १३ हजार ५४६ परिवारले मात्र पुनःस्थापना प्याकेज पाएका छन् । पुनःस्थापना प्याकेज पाएकामध्ये एक हजार १०४ घरपरिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता नपाएको उहाँले बताउनुभयो ।

“सरकारले प्रमाणीकरण गरेकामध्ये एक हजार १३५ परिवारको पुनःस्थापना हुन अझै बाँकी छ”, कार्यकारी निर्देशक बोहराले भन्नुभयो ।

मुक्त हलियाको पुनःस्थापनाका सवालमा राज्य गम्भीर हुनपर्ने राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “हलिया मुक्ति घोषणाको लामो समय भइसक्दा पनि सबै मुक्त हलियाको पुनःस्थापना हुनसकेको छैन । यो दुःखद् कुरा हो । परिचयपत्र पाएकाको समेत पुनःस्थापना हुनसकेको छैन, अझै परिचयपत्र पाउन बाँकी पनि छन् ।”

रोजगारीको अवसर नहुँदा पुनःस्थापना भएका मुक्त हलियालाई पनि गुजारा चलाउन मुस्किल भएको र कष्टकर जीवन बिताइरहेको अध्यक्ष सुनारले बताउनुभयो । शिक्षा, स्वास्थ्यलगायत आधारभूत कुरामा मुक्त हलियालाई समस्या भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा राजनीतिक परिवर्तन भयो, व्यवस्था बदलियो तर सरकारले मुक्त हलियाको समस्यालाई गम्भीरतापूर्वक नलिँदा अझै यो समस्या समाधान हुन सकेन । पुनःस्थापनाको समयावधि लम्बिँदै जाँदा पुनःस्थापनाको पर्खाइमा रहेका मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुनसकेको छैन् ।”

मुक्त हलियाको पुनःस्थापनासँगै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण, समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । महासङ्घको पैरवीले पछिल्लो समय केही स्थानीय तहले मुक्त हलिया पुनःस्थापना कार्यविधि बनाएको अध्यक्ष सुनारले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिमका ३० र कर्णाली प्रदेशका एक पालिकाले कार्यविधि बनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि मुक्त कमैया, हलिया तथा कम्लरी पुनःस्थापना कार्यविधि बनाएको उहाँले बताउनुभयो ।

अध्यक्ष सुनारले भन्नुभयो, “पुनःस्थापना कार्यविधि बने पनि कार्यान्वयन हुनसकेको छैन । स्थानीय तहले बजेटको समस्या देखाउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि त बनायो कार्यान्वयनमा जान सकेको छैन । यी कार्यविधि कार्यान्वयन भए मुक्त हलियाको समस्या समाधानमा सहज हुन्थ्यो ।”

विसं २०७८ मा सङ्घीय सरकारले गठन गरेको मुक्त हलिया, कमैया, कम्लरी तथा हरुवाचरुवा समुदायको वस्तुस्थिति अध्ययन समितिका सदस्यसमेत रहनुभएका हलिया अधिकारकर्मी एवं संविधानसभा सदस्य हरि श्रीपाइलीले तीन तहका सरकारले आआफ््नो जिम्मेवारी बहन गरिदिए मुक्त हलियाको पुनःस्थापनामा समस्या नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अध्ययनपछि सङ्घ, प्रदेश र स्थानीय सरकारले के गर्ने भन्ने विषय प्रतिवेदनमा उठाएका छौँ । मुक्त हलिया, कमैया, कम्लरी तथा हरुवाचरुवा समुदायको यथार्थ अवस्था प्रतिवेदनमा उल्लेख छ । त्यसलाई कार्यान्वयनमा लैजाने हो भने मुक्त हलियाको पुनःस्थापना सहजै हुन्छ । हामीले प्रतिवदेनमा छुट मुक्त हलिया, परिचयपत्र पाएकाको पुनःस्थापनाको कुरा, उनीहरूका शिक्षा, स्वास्थ्य रोजगारको कुरा उठाएका छौँ । त्यसलाई सरकारले कार्यान्वयन गर्ने होभने सबै समस्या समाधान हुन्छ ।” पुनःस्थापना हुन बाँकी थोरै मात्र मुक्त हलिया परिवार भएकाले तीनै तहका सरकारले चाहे पुनःस्थापनामा धेरै समय नलाग्ने उहाँको भनाइ छ ।

म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण

म्याग्दी, २१ भदौः बेनीमा समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले उद्यम गर्न चाहने विद्यार्थीलाई बिनाधितो निर्व्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक रु सात लाख २० हजार ऋण पाएको हो ।

बेनीमा आज भएको २४औँ क्याम्पससभामा श्रेष्ठलाई पहिलो किस्तावापत रु चार लाख ३२ हजार उपलब्ध गराएको बताउँदै क्याम्पसले तोकेको काम गरेपछि बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराइने क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

“शिक्षालाई रोजगार र उद्यमसँग जोड्नका लागि विद्यार्थीलाई परियोजनामा आधारित बिनाधितो र बिनाव्याजमा चार वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्नेगरी ऋण उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “विश्व विद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराएका हौँ ।”

श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीको उच्च पहाडी भूगोलमा पाइने मसलेदार फल टिम्मुर खेती, प्रशोधन र बजारीकरणका लागि प्रस्ताव गरेको परियोजना आयोगले छनोट गरेको थियो । योसँगै १८ वटा क्याम्पसले परियोजना प्रस्ताव गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले क्याम्पसका विद्यार्थीहरूले १३ वटा परियोजना पेस गरेकामा बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको टोलीले अन्तर्वार्ता माध्यमबाट छनोट गरेका पाँच वटा प्रस्तावलाई आयोगमा सिफारिस गरिएको जनाउनुभयो । उहाँका अनुसार श्रेया र श्रीकृष्णको परियोजना छनोट भएको हो ।

“दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उहाँले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने आन्तरिक सहमति भएको छ”, उहाँले भन्नुभयो, “अनुदान आयोगले उपलब्ध गराएको अनुदानलाई बिउ पुँजी मानेर अन्य विद्यार्थीको परियोजनामा लगानी गर्ने योजना छ ।”

ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवर्द्धन कोषमा राखिने जनाउँदै संयोजक सुवेदीले त्यसलाई विद्यार्थीको उद्यमशीलता विकासमा परिचालन गरिने बताउनुभयो । आयोगले गतवर्ष उपलब्ध गराएको रु १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीलाई दुई महिना तालिम दिएको थियो । साथै पर्वत, बागलुङ र म्याग्दीका उद्योगको भ्रमण गराएर सहभागीलाई व्यावसायिक योजना मागेको थियो । तालिममा सहभागी ४२ मध्ये १३ जनाले मात्र परियोजना प्रस्ताव गरेका थिए ।

एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित

कास्की, २१ भदौ: पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् ।पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । ललितपुरले काठमाडौँलाई २५–१९, २५–२३, २५–२१ ले हरायो । ललितपुरको यो लगातार दोस्रो जित हो ।

यसैगरी आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले राजित गरेको थियो । पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो ।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछन् । पहिलो खेल मधेस युनाइटेड र काठमाडौं स्पाईकर्सबीच दिउँसो २ बजेबाट सुरु हुनेछ । आइतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल साँझ ४ बजेबाट सुरु हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म सञ्चालन हुनेछ ।

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व सङ्कलन

गण्डकी, २१ भदौः पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट गत आवमा रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर प्रवेश गरेका पर्यटकबाट रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८०/८१ मा रु २३ करोड ८९ लाख ६६ हजार प्रवेश शुल्क सङ्कलन भएकामा गत आवमा पर्यटक आगमन बढेसँगै प्रवेश शुल्कबाट हुने आम्दानी बढेको हो ।

एक्याप आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकले पाँच सय डलर र नार फू जाने पर्यटकले एक हजार डलर तिर्ने गरेका छन् । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको बताउँदै उहाँले सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ ।

उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका प्रमुख डा कडरियाले बताउनुभयो । निषेधित ठाउँबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका विदेशी पर्यटकबाट गत आवमा रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ प्रवेश शुल्क सङ्कलन भएको थियो । आव २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएपछि राजस्व बढी सङ्कलन भएको उहाँको भनाइ छ ।

आव २०८०/८१ मा पर्यटक प्रवेश शुल्कवापत रु ३८ करोड ९४ लाख ६१ हजार ४८३ सङ्कलन भएको थियो । आयोजना कार्यालयको आँकडा अनुसार अघिल्लो आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा गत आवमा पर्यटक सङ्ख्या बढेर दुई लाख ७८ हजार एक सय १३ पुगेको थियो । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक थिए ।

आयोजना प्रमुख डा कडरियाले दक्षिण एसियाली मुलुकका पर्यटकका लागि रु एक हजार र अन्य विदेशी पर्यटकका लागि रु तीन हजार (भ्याटसहित) प्रवेश शुल्क तोकिएको जानकारी दिनुभयो । निषेधित क्षेत्रको भ्रमणमा जाने पर्यटकले भने छुट्टै प्रवेश शुल्क तिनुपर्ने उहाँको भनाइ छ । संरक्षण क्षेत्रमा प्रवेश गर्ने पर्यटकको शुल्क आयोजना कार्यालयले उठाउने गरेको जनाउँदै उहाँले अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क भने सङ्घ सरकारको राजस्वमा जाने गरेको बताउनुभयो ।

पर्यटक शुल्कलगायतबाट हुने आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । ‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।

करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका एक मजदुरको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), २१ भदौ: यहाँको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिनुभयो ।

आज दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उहाँको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।

समाजवाद स्थापनामा उद्योगी व्यवसायीको योगदान अपरिहार्य छ: अध्यक्ष दाहाल

कास्की, २१ भदौ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादको दिशामा अघि बढ्न उद्योगी तथा व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल उद्योग व्यापार महासङ्घले आज पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक उद्घाटन गर्दै उहाँले समाजवाद स्थापनामा सबैले योगदान गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादमा पुग्ने हो । यसमा तपाई उद्योगी व्यवसायीको योगदान धेरै महत्त्वपूर्ण हुन्छ ।”

अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताउनुभयो । उहाँले माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान पार्टीको प्राथमिकता भएको धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले पछिल्लो समय माओवादी घटक, इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासङ्घका इन्चार्ज गङ्गा कार्की, महासङ्घका अध्यक्ष खिमलाल भण्डारी तथा गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो ।

उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा

इनरुवा (सुनसरी), २१ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले उराँव समुदायको उत्थानका लागि स्थानीय र प्रदेश सरकार बढी सक्रिय भएर योजना बनाउनुपर्ने बताउनुभयो । उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग उहाँले आग्रहसमेत गर्नुभयो ।

सभापति देउवाले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्न स्थानीय तथा प्रदेश सरकारसहित सङ्घीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्ने खाँचो औँल्याउनुभयो । यो समुदायको उत्थानका लागि नेपाली कांग्रेसले नेपाल उराँव सङ्घ गठन गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, राजिव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायत व्यक्तिको सहभागिता थियो ।

उदयपुरमा एन्फा १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी फुटबल प्रतियोगिता

गाईघाट (उदयपुर), २१ भदौ: जिल्लाको गाईघाटस्थित थारुहट रङ्गशालामा आजदेखि १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी प्रतियोगितात्मक फुटबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला फुटबल सङ्घ उदयपुरको आयोजनामा आजदेखि भदौ २९ गतेसम्म जिल्लाभरिका निजी तथा सरकारी विद्यालयका १४ वर्ष मुनिका विद्यार्थीको सहभागितामा प्रतियोगिता सुरु भएको अध्यक्ष रञ्जन कार्कीले जानकारी दिनुभयो ।

आज भएको पहिलो खेलमा त्रियुगा नमूना मावि गाईघाटले पुष्पाञ्जली बोर्डिङ स्कुल गाईघाटका विद्यार्थीलाई टाइब्रेकरमा शून्यविरुद्ध एक गोलले जीत हासिल गरेको छ ।खेलमा १७ विद्यालयले सहभागिता जनाएका छन् ।

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली, २१ भदौः भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज यहाँ ज्ञापनपत्र बुझाएको छ ।

नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारतीयबाट आयत हुने सस्तो मूल्यका केराका कारण आफ्नै देशभित्र उचित मूल्य र बजार नपाएको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घको संयुक्त टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको सङ्घले जनाएको छ । उत्पादन लागत उठ्न नसक्दा केरा किसान ऋणमा डुब्ने अवस्था आएको, अधिकांश किसान घाटा भएपछि केराखेतीबाट निरुत्साहित भई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायीको भनाइ छ ।

नेपाली किसानद्वारा उत्पादित केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व रहेको कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारुले बताउनुभयो ।

भारतबाट आयात गरिने केरा मङ्सिरसम्म पूर्णरूपले बन्द गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्नुपर्ने, नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न आमउपभोक्तालाई राष्ट्रियस्तरमा सरकारले आह्वान गर्नुपर्ने, नेपाली केरा उत्पादक किसानको रक्षा सरकारले गर्नुपर्ने र तत्काल नेपाली केराको उचित मूल्यसहित बजार सुनिश्चित गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष थारुले जानकारी दिनुभयो ।

युवा उद्यमीद्वारा ‘जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स’ को शुभारम्भ

नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ गरिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एक विशेष कार्यक्रममा कम्पनीको उद्घाटन गर्नुभयो।

नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वस्तरमा चिनाउन युवा उद्यमीहरूले सुरु गरेको यस कम्पनीमार्फत हिमाल आरोहण, पदयात्रा, ग्रामीण भ्रमण, सांस्कृतिक र धार्मिक यात्रा, प्राकृतिक दर्शनलगायतका आकर्षक प्याकेज उपलब्ध गराइने जनाइएको छ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले भन्नुभयो, “युवा उद्यमीहरूले सुरु गरेको यस्तो पहलले नेपालको पर्यटन क्षेत्रलाई नयाँ जोश दिनेछ। हाम्रो मुलुकको समृद्धि सम्भावना पर्यटनमै छ, त्यसलाई व्यावसायिक, प्रविधिमुखी र विश्वसनीय बनाउन यस्ता कम्पनीहरूको ठूलो योगदान रहनेछ।”

यस्तै कम्पनीका सह–संस्थापक बसन्त काफ्लेले भन्नुभयो, “हामीले नेपालको ग्रामीण पर्यटन र मौलिक जीवनशैलीलाई विश्वसामु चिनाउने लक्ष्य लिएका छौँ। यसमार्फत ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ।”

कम्पनीले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै यात्रुलाई सुरक्षित, सहज र जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने रहेको छ। कम्पनीले ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने अठोट समेत व्यक्त गरेको छ।

युवाद्वारा सुरु गरिएको “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” को यो कदमले नेपालको पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, ग्रामीण विकास र राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान गर्ने विश्वास गरिएको छ।

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौँ, २१ भदौ: नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गर्नुभयो ।

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गर्नुभयो । यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने निर्वाचित हुनुभएको छ । सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ ।

समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी), कमल धिताल (बाह्रखरी), भोजराज भण्डारी (कर्पोरेट समाचार), राजु बास्कोटा (क्लिकमाण्डु) र सीमा तामाङ (कान्तिपुर दैनिक) निर्वाचित हुनुभएको छ ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गर्नुभएको हो । त्यस अवसरमा उहाँले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षसमेत रहनुभएका झाले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।

‘औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ’ : झलनाथ खनाल

काठमाडौँ, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार सङ्गठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभयो । उहाँले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राख्नुभयो ।

अहिले कम्युनिष्ट पार्टी नीति तथा सिद्धान्त विहीन भएकाले नेताको आदर्श र जीवनशैलीमा विचलन देखापरेको बताउँदै नेता खनालले राजनीतिमा विकृति र विसङ्गति देखिएकाले त्यसलाई सुधार्न विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन जरुरी रहेकामा जोड दिनुभयो ।

मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको भएको ऐतिहासिक तथ्य र आधारहरू रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा उक्त विषयमा प्रष्ट धारणा राख्नुहुने नेता खनालले विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

सूडानमा सुन खानी भत्किँदा छ जनाको मृत्यु, दर्जनौं वेपत्ता

सुडानको उत्तरी क्षेत्र स्थित एक सुन खानी भत्किँदा छ जनाको मृत्यु भएको र २० जनासम्म फसेको आशङ्का गरिएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।बेर्बर स्थानीय निकायका कार्यकारी निर्देशक हसन इब्राहीम करारका अनुसार, यो दुर्घटना शुक्रवार रिवर नाइल राज्यको बेर्बर सहरको पश्चिमी उम आउद क्षेत्रको सुन खानीमा भएको हो ।“फसेका व्यक्तिहरूलाई उद्धार गर्न प्रयासहरू जारी राखिएको छ,” करारले भन्नुभयो, यद्यपि खानी भत्किनुको कारणको बारेमा कुनै विशेष जानकारी दिनुभएको छैन ।

सूडानमा २०२३ को अप्रिलदेखि जारी सेना र अर्धसैनिक रापिड सपोर्ट फोर्सहरू बीचको युद्धका कारण, दुवै पक्षले आफ्नो संघर्षको लागि प्रमुख रूपमा देशको सुन उद्योगबाट आर्थिक स्रोत जुटाएका छन् ।
अधिकारी र गैरसरकारी संस्थाका अनुसार, सुडानको अधिकांश सुन व्यापार संयुक्त अरब इमिरेट्स मार्फत निर्यात हुन्छ, जसले रापिड सपोर्ट फोर्सलाई हतियार आपूर्ति गरेको आरोप सामना गरेको छ, तर इमिरेट्सले यो आरोप नकारेको छ ।

युद्धका बावजुद, सेना–समर्थित सरकारले सन् २०२४ मा ६४ टन सुन उत्पादनको रेकर्ड घोषणा गरेको थियो ।
तर यहाँको अधिकांश सुन कच्ची खानी र साना खानी कार्यवाहिहरूबाट निकालिन्छ, जहाँ सुरक्षा उपायहरूको अभाव र खतरनाक रसायनिक पदार्थहरूको प्रयोगले खानीकर्मी र आसपासका समुदायहरूको स्वास्थ्यमा गम्भीर जोखिम पुर्याउँछ ।

सूडानको युद्धले २५ लाखभन्दा बढी मानिसलाई भोकमरीको उच्च जोखिममा पुर्याएको छ । विशेषज्ञहरूको अनुसार, युद्धका दुवै पक्षले उत्पादन गरेको अधिकांश सुन चाड, दक्षिण सुडान र इजिप्ट हुँदै संयुक्त अरब इमिरेट्स पुग्छ, जुन अहिले संसारको दोस्रो ठूलो सुन निर्यातक हो ।

यस युद्धले हजारौं मानिसहरूको जीवन लिइसकेको छ र लगभग १० लाख मानिसलाई विस्थापित गरेको छ । यसका अतिरिक्त, चार लाखभन्दा बढी सुडानीले शरणको लागि सीमा पार गरेका छन् ।

एमाले विधान महाधिवेशन: प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न

ललितपुर, २१ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ । ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए । यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए ।

प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ ।”

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो ।

महाधिवेशनमा भोलि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।

नेपालमै पहिलोपल्ट एकै व्यक्तिमा तेस्रो पटक मिर्गाैला प्रत्यारोपण

भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए।

तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए।

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई शिनबार ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।

‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।’

चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए।

नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।

काठमाडौँको गोठाटारस्थित सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, २१ भदौः काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैचीच काठमाडौँको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरूष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

दोधारा चाँदनी (कञ्चनपुर), २१ भदौः गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए । उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निमार्ण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो ।

“महाकाली र जोगबुढा नदीको बाढी र डुबानका कारण दोधारा चाँदनीमा हरेक वर्ष प्रभावित हुँदै आएको छ”, उहाँले भन्नुभयो, “बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली र जोगबुढा नदीका अधिकांश स्थानमा तटबन्ध निमार्ण भइसकेको छ, बाँकी रहेका ठाउँमा पनि तटबन्ध निमार्ण गर्न बजेट विनियोजन भएकाले चालु आवभित्र काम हुन्छ ।” कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने यहाँका बासिन्दा अहिले तटीय क्षेत्रमा बाँध बनेपछि सुरक्षित बनेका गृहमन्त्री लेखको भनाइ छ ।

यसैबीच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् । जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए ।

वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको अध्यक्ष दाहालको आरोप

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् ।शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा बोल्दै उनले वर्तमान सरकार बुद्धिले बनेको नभई दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाए ।

उनले भने,‘ कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको हो । आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’

अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भने,‘२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ । म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु ।’

उनले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे ।

प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भने,‘हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं । ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन् ।’
उनले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताए ।

सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भने,‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उनले भने,‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए ।

राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।
सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत , सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशअवतारलगायत, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

पाटन (ललितपुर), २१ भदौ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहो¥याएका छन् ।

शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए । मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे । नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान हुँदाहुँदै पनि अन्य मुलुककै कारण नेपालले यसको नकारात्मक प्रभाव भोग्नु परेको औँल्याए । जलवायु परिवर्तनकै कारण नेपालीले बसाइसराइ गर्नु परेको तथ्याङ्क न्यून भए पनि नेपालले जलबायु परिवर्तनले ल्याउन सक्नु चुनौतिको सामना गर्न आवश्यक वातावरणीय र पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

सामाजिक र आर्थिक अवसरको खोजीमा नेपाली ऐतिहासिक कालदेखि देशभित्रै वा विदेश गएको स्मरण गर्दै नेपाली पलायन भए वा मुलुक नै नरित्तिएको स्पष्ट पारे ।
वैदेशिक रोजगारीमा जाने र फर्किने सङ्ख्याको तथ्याङ्क हेर्दा यस्तो नदेखिएको उल्लेख गरे। वैदेशिक रोजगारीलाई आप्रवासन भयो वा पलायन भन्नु उपयुक्त नहुने भन्दै मुलुकको दीर्घकालीन विकासको लागि नेपालमै सामाजिक र आर्थिक अवसरको खोजी गर्नु पर्नेमा मन्त्री भण्डारीको जोड रहेको थियो ।

उनले दक्षिण कोरिया, न्युजिल्यान्ड र आयरल्यान्डको विकास अनुभवलाई उदाहरण दिँदै सरकारले दीर्घकालीन रणनीतिक योजना बनाइरहेको जानकारी दिए ।
कोभिड–१९ महामारीका समयमा ठूलो संख्यामा नेपाली फर्किनु परेको र पछिल्लो अवस्थामा केही मुलुकको आप्रवासी सम्बन्धी नीति परिवर्तनले नेपाली आफ्नै मुलुकमा फर्किनु परेको जानकारी दिए । मुलुक नेपाली आफैंले बनाउनुपर्ने भएकाले विदेशमा सिकेको ज्ञान, पूँजी र सीपलाई आफ्नै मुलुकको आर्थिक विकास तथा रोजगारी सृजनामा प्रयोग गर्न सरकारले सकारात्मक वातावरण निर्माण गर्न लागेको जानकारी दिए ।

रेमिटेन्सले व्यक्तिको र परिवारको जीवनमा सुविधा पुगेपनि राष्ट्रिय अर्थतन्त्रलाई जोखिममा पार्ने भएकाले रेमिटेन्सलाई पूँजी निर्माण र परिचालनमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारी प्रक्रियामा ठगी रोक्न डिजिटल प्रविधि प्रयोग भइरहेको जानकारी दिए । उनका अनुसार, श्रम संसार प्रणालीमार्फत करिब एक करोड ९२ लाख श्रमशक्तिलाई सेवामा जोडिनुपर्ने धारणा राख्दै समग्र वैदेशिक रोजगारीका चरणहरुलाई सूचना प्रविधिमा जोडिने प्रक्रिया अघि बढेको बताए ।

औपचारिक वा अनौपचारिक क्षेत्रका श्रमिक, देशभित्र वा विदेशमा रहेका, महिला वा पुरुष –सबै नेपाली संविधान प्रदत्त अधिकारका हकदार भएको बताउँदै यस्तो भेदभाव नहुनको लागि आफू प्रयत्‍नशील रहेको बनाउदै कानुनीमा समेत परिवर्तन गर्न लागेको जानकारी दिए ।उनले नागरिकलाई एकीकृत सेवा उपलब्ध गराउन स्थानीय तह र प्रदेशमा रहेको श्रम तथा रोजगार कार्यालयलाई प्रादेशिक संरचनामा रुपान्तरित हुन लागेको बताए ।

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

काठमाडौँ, २१ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा युनेस्को काठमाडौैँको संयुक्त आयोजनामा काठमाडौँमा शुक्रबार सम्पन्न राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलनमा मन्त्री पन्तले भन्नुभयो, “हामीसित पुख्र्याैली ज्ञान अथाह छ, शिक्षा र सीपलाई जीवनसँग कसरी जोड्ने भन्ने अहिलेको मूल चुनौती भएको छ । परम्परागत ज्ञान, सीप र कला आधुनिकताको चपेटामा परी हराउँदैछन् ।”

शिक्षा मन्त्रालयद्वारा अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भइसकेको छ, जसमा अनौपचारिक शिक्षाका तह १–४ सम्मलाई सम्बोधन गरिएको छभने अहिले तह ५ को तयारी पनि भइरहेको छ ।

मन्त्री पन्तले पुख्र्यौली ज्ञानलाई निरन्तरता दिँदै वैज्ञानिक रूपमा व्याख्या गर्नुपर्नेमा जोड दिए । “मौसमी तरकारी तथा फलफूलको मात्र बास्ना र स्वाद पाइन्छ तर अहिले बेमौसमी तरकारी र खाद्यान्नको बाहुल्य छ । नयाँ पुस्ताले पुख्र्याैली ज्ञान र सीप बिर्संदै गयो”, मन्त्री पन्तले थन्नुभयो, “अझ प्रकृतिलाई हेर्ने दृष्टिकोणमा पनि हामी चुकेका छौँ, जसको उदाहरण जलवायु परिवर्तनको असर हो । नयाँ पुस्ताले प्रविधिमात्रै जान्यो, प्रकृतिलाई कतिसम्म लिने र प्रयोग गर्ने भन्ने पनि जानेन ।”

मन्त्री पन्तले औपचारिक शिक्षाले आजीवन सिकाइ, पुख्र्याैली ज्ञान, प्रकृतिको संरक्षण र खाद्य संस्कृतिलाई सम्बोधन गर्न नसक्ने भएकाले अनौपचारिक शिक्षालाई अपनाउनुपर्नेमा जोड दिुनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेलले कसैलाई पछाडि नपारी गुणस्तरीय समावेशी शिक्षा दिन अनौपचारिक शिक्षाको माध्यम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँले १६ औँ योजनाको दीर्घकालीन सोच र लक्ष्य पूरा गर्न अनौपचारिक शिक्षालाई सफल बनाउनुपर्ने बताउनुभयो । पन्ध्रदेखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू अहिले पनि निरक्षर रहेकाले गार्मेन्टजस्ता कलकारखानामै गई अनौपचारिक शिक्षा दिने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । अन्तर–मन्त्रालयहरूलाई शिक्षा मन्त्रालयले समन्वय गरी अनौपचारिक शिक्षाका विविध आयाममा छलफल गर्न खोजेमा योजना आयोगले सघाउने पनि सदस्य पौडेलले बताउनुभयो ।

आजीवन सिकाइका अभियन्ता तथा शिक्षाविद् विमलकुमार फुँयालले ‘नेपालमा आजीवन सिकाइ प्रवद्र्धनका लागि अनौपचारिक शिक्षाको सुदृढीकरण’ विषयक प्रस्तुती थियो । उहाँले अनौपचारिक शिक्षाका नाममा औपचारिकजस्तै पद्धति अपनाइयो भने त्यसले फेल खाने बताउनुभयो । उहाँले आजीवन शिक्षाको इतिहासदेखि वर्तमानसम्मको अभ्यासबारे जानकारी दिँदै अब नव अनौपचारिक शिक्षालाई समेत समेट्नेगरी अनौपचारिक शिक्षासम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीले साक्षरतासँगै आजीवन शिक्षालाई पनि आफूहरूले जोडिरहेको जानकारी दिनुभयो । अनौपचारिक शिक्षासम्बन्धी राष्ट्रिय कार्यढाँचा बनेको र त्यो छिट्टै पारित हुने पनि जनाउनुभयो । काप्रीले निरन्तर शिक्षा र आयआर्जनलाई जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, नेपालको साक्षरता वृद्धिमा सामुदायिक सिकाइ केन्द्रहरूको योगदान अतुलनीय रहेको पनि स्पष्ट पार्नुभयो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले नेपालले विगतका वर्षहरूमा शैक्षिक अवसरहरू विस्तार र साक्षरता दर सुधार गर्ने सन्दर्भमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । तर महिला, अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी र गरिबीको रेखामुनि रहेका सीमान्तकृत समूहहरूले समान रूपमा लाभ उठाउन अझै चुनौतीपूर्ण रहेको टोइटले औँल्याउनुभयो । युनेस्कोले साक्षरतालाई आधारभूत मानवअधिकार, शिक्षा एजेन्डा २०३० र दिगो विकास लक्ष्य ४ मा परिकल्पना गरिएअनुसार आजीवन सिकाइको आधारलाई आत्मसात गरेको प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “आजको संसारमा साक्षरतालाई अगाडि बढाउन समानता र समावेशीकरणमा बलियो ध्यान केन्द्रित गर्नुपर्छ । खासगरी डिजिटल संसारमा, कसैलाई पनि शिक्षा हासिल गर्नबाट पछाडि पारिनुहुँदैन ।”

युनेस्को काठमाडौँका शिक्षा प्रमुख ध्रुव रेग्मीले ध्रुवराज रेग्मीले आजीवन सिकाइ र अनौपचारिक शिक्षाका निम्ति सरकारसँग सहकार्य गर्दै युनेस्कोले सघाउने स्पष्ट पार्नुभयो।

अनौपचारिक शिक्षा सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल गरिएको थियो जसमा ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ र ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’शीर्षक थिए । ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुली, प्रा डा सुशन आचार्य, सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्मा र युनिसेफकी पूर्णिमा गुरुङले विचार व्यक्त गरेका थिए ।

यसैगरी, ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’ सम्बन्धी छलफलमा युनेस्को क्लब बागमतीका प्रतिनिधि तथा युवा वैज्ञानिक निश्चल बानियाँ, पिठुवा सामुदायिक सिकाइ केन्द्र रत्ननगरका अध्यक्ष नेत्र घिमिरे, बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमति चौधरी, देवीथान सामुदायिक सिकाइ केन्द्र पर्वतकी सहजकर्ता रिमा गुरुङ र लक्ष्मी सामुदायिक सिकाइ केन्द्र सप्तरीका अध्यक्ष माधव चौधरीले भाग लिनुभएको थियो ।

डेङ्गी सङ्क्रमणको जोखिम कायमै ,सचेत रहन आग्रह

काठमाडौँ, २१ भदौ : काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ ।

भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गी सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नुगर्दैन त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मेवार बन्न आवश्यक छ ।

भुसालका अनुसार कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ । कामपाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको भुसालले जानकारी दिनुभयो ।

डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । “घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गीको लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ”, भुसालले भन्नुभयो, “सामान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सबैभन्दा उत्तम हुन्छ ।” त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतनाको कार्यक्रम कामपाले गरिसकेको छ ।

डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टे सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ ।

विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार निजामती सेवा दिवस मनाइँदै

काठमाडौँ, २१ भदौ : मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउनुहुन्छ ।

‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउने निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो ।

निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।

यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई प्रमुख अतिथिको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

समारोहमा पुरस्कृत हुने कर्मचारीबाट अरुलाई पनि असल र निष्ठावान हुन प्रेरणा प्राप्त मिल्ने दिनका रूपमा यो दिवसलाई लिने सकिने सहसचिव दाहाल बताउनुहुन्छ । यो दिवस राष्ट्र र जनताका लागि असल काम गर्न प्रण गर्ने दिन हो ।

केही कर्मचारीले भ्रष्टाचार र अनियमित कार्य प्रदर्शन गरेका तथा कतिपय राजनीतिज्ञले समेत जनहितका लागि आफूले गर्न चाहेको काम कर्मचारीकै असहयोगमा अघि बढ्न नसकेको भन्ने हल्का टिप्पणीले समग्र सेवाप्रति गलत प्रचार हुन पुगेको निजामती कर्मचारीको बुझाइछ ।

निजामती कर्मचारीलाई ढिलासुस्ती, प्रक्रियामुखी, काम पन्छाउने, समयमा निर्णय नगर्ने भन्ने खाले आरोप लाग्दैआएको बताउँदै सहसचिव दाहाल भन्नुहुन्छ, “पछिल्ला समय निजामती कर्मचारीप्रति आमनागरिक, आमसञ्चार, राजनीतिकर्मीबाट हेर्ने दृष्टिकोणलाई भने चिर्न जरुरी छ ।”

निजामतीलाई खासगरी नागरिकले हाम्रो हितमा काम गर्दैनन्, सेवामुखी हुन सकेनन बरु उल्टो शासकजस्तै बन्न खोजेको भन्ने आक्षेप पनि लाग्दै आएको छ । जनतालाई सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा प्रदानको प्रणाली विकास र अनुशरण गर्न सकिएमा सेवाको साखलाई उँचो बनाउन सहयोग पुग्ने निजामती कर्मचारीको भनाइ छ ।

अर्कातर्फ योग्यता, क्षमता र आवश्यकताका आधारमा नभई राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हुने अवसर, सरुवा, बढुवा र पुरस्कारले सक्षम व्यक्ति ओझेलमा परेको गुनासो समेत निजामती सेवामा प्रशस्त सुनिदैआएको छ ।

निजामती सेवा काविल नभई सरकार वा राजनीतिक कहिले सफल नहुने भएकाले राजनीति र प्रशासनबीचमा सुमधुर सम्बन्ध अहिलेको आवश्यकता रहेको नेपालको निजामती प्रशासनका भुक्तभोगी बताउँछन् । हाल निजामती सेनाका राष्ट्र सेवक कर्मचारी सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडिएर काम गरिरहेका छन् ।

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

लम्की (कैलाली), २१ भदौ : यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ ।

आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताउनुभयो ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन् । नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ ।

नासाका अनुसार, यो मिसनमा प्रयोग हुने साइग्नस अन्तरिक्ष यानमा पठाइने अनुसन्धान सामग्रीहरू मुख्य रूपमा नयाँ पुस्ताका प्रविधिका लागि अर्धचालक (सेमिकन्डक्टर) क्रिस्टलको गुणस्तर सुधार गर्ने, हानिकारक सूक्ष्मजीवहरूको सङ्ख्या घटाउने, औषधि उत्पादन प्रक्रियामा सुधार ल्याउने र अन्तरिक्षमा इन्धनको दबाब व्यवस्थापनसम्बन्धी परीक्षण गर्ने उद्देश्य राखिएको छ ।

नासाले यस मिसनमार्फत वैज्ञानिक अनुसन्धान र प्रविधिमा थप प्रगति हुने अपेक्षा व्यक्त गरेको छ ।

म्याक्रोँद्वारा युद्धविराम पछि युक्रेनलाई समर्थन गर्न २६–राष्ट्रको गठबन्धन घोषणा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रूससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशहरूको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने वाचा गर्नुभएको छ ।

सहभागी राष्ट्रहरूले स्थलगत, समुद्र, तथा आकाश लगायतका युक्रेनी क्षेत्र भित्र सेना तैनाथ गरेर सुरक्षा योगदान दिनसक्ने उहाँले बताउनुभएको छ ।

युक्रेनी समर्थनको गठबन्धन बैठकपछि बोल्दै म्याक्रोँले गठबन्धनको उदेश्य बलपूर्वक रूससँग युद्धमा संलग्न हुनु नभई युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्नु भएको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियोमार्फत् भएको कुराकानीपछि म्याक्रोँले वासिङ्टनले यस पहललाई समर्थन गरेको र आगामी दिनमा अमेरिकी संलग्नताको विवरण स्पष्ट हुने पुष्टि गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपतिले युक्रेनले कुनै पनि शान्ति वार्ताको क्रममा आफ्नो सेनाको आकार वा क्षमतामा कुनै असहजता सामना गर्नु नपर्ने सुरक्षा सनिश्चितता रहेको बताउनुभएको छ ।

यदि मस्कोले शान्ति प्रक्रियामा संलग्न हुन अस्वीकार ग¥यो भने युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा रूसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको पनि उहाँले पुष्टि गर्नुभएको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने राष्ट्रपति ट्रम्पले केही इयू देशहरूले अझै रूसी तेल खरिद जारी राखेकोमा निराशा व्यक्त गर्नुभएको छ ।

मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको पूर्वी बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो।

आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।

हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।