देशका धेरै ठाउँमा आज भारी वर्षा, भोलि पनि यी स्थानमा भारी बर्षा
काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ । त्यसमध्ये विभिन्न सात जिल्लामा भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ ।
त्यसैगरी रुकुममा ५१ मिलीमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलीमिटर वर्षा भएको छ । ५० मिलीमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिन्छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रहरूमा भारी उन्मुख वर्षा ४० देखि ५० मिलीमिटर वर्षा भएको बताए । आज साँझदेखि देशभर नै बदली भएको तथा छिटफुट जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबार पनि जारी रहने उनले बताए।
उनका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरे।
