`

नयाँ सरकार गठनसँगै आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु

काठमाडौँ। नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ ।अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले आज तीनवटा मन्त्रालयसँग प्रारम्भिक छलफल गरेको छ । आयोगका प्रवक्ता हरिशरण पुडासैनीका अनुसार अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आज बजेटसम्बन्धी छलफल गरिएको हो ।

“मध्यमकालीन खर्च संरचना, राष्ट्रिय स्रोत अनुमान समितिले निर्धारण गरेको बजेट सीमा (सिलिङ) र अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शनका आधारमा मन्त्रालयहरूले तयार पारेका योजना तथा कार्यक्रममाथि छलफल सुरु गरिएको छ”, प्रवक्ता पुडासैनीले भन्नुभयो,“निर्धारित सीमाभित्र रहेर प्राथमिकता निर्धारण गर्दै प्रभावकारी योजना छनोटबारे छलफल सुरु भएको हो ।” आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार प्रत्येक मन्त्रालयले प्राप्त बजेट सीमा र मार्गदर्शनको अधीनमा रही आफ्नो मातहतका निकायहरूको नीति, कार्यक्रम र बजेट प्रस्ताव तयार गरी समयसीमाभित्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।

यसअनुसार अर्थ मन्त्रालयले चैत १५ गतेभित्र सबै मन्त्रालयलाई आफ्ना योजना तथा कार्यक्रमहरू प्रस्ताव गर्न परिपत्र गरेको थियो । नयाँ सरकार गठन भएपछि भने मन्त्रालयहरूले पूर्ण रूपमा काम थाल्न समय नपाएको भन्दै समयसीमा पुनः समीक्षा गर्नेबारे अर्थ मन्त्रालय लचिलो हुने देखिएको छ ।

“विषयगत मन्त्रालयहरूलाई एलएमबिआइएस प्रणालीमा चैत १५ गतेभित्र आगामी आवको योजना तथा कार्यक्रमका लागि बजेट प्रस्ताव प्रविष्ट गर्न भनिएको थियो, तर शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची, सत्तारूढ दलको चुनावी प्रतिबद्धता र अन्य सुधार कार्यक्रम समेट्न समय आवश्यक पर्ने देखिएकाले म्याद थप गर्न सकिन्छ”, अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले भन्नुभयो ।

सरकारले बजेट प्रस्ताव गर्दा स्पष्ट मापदण्ड अपनाउन मन्त्रालयहरूलाई निर्देशन दिएको छ । सरकारको विद्यमान नीति तथा आवधिक योजनासँग मेल खाने, मध्यमकालीन खर्च संरचनाअनुसारका आयोजना, लागत अनुमान गरिएका, आगामी तीन वर्षको खर्च र स्रोतको प्रक्षेपण समावेश भएकालगायत योजना तथा कार्यक्रम बजेटको प्राथमिकतामा पर्ने आयोगले जनाएको छ ।

यस्तै, बहुवर्षीय दायित्व तथा बाँकी भुक्तानीलाई समेट्ने, कार्यक्रमहरूको लाभ–लागत विश्लेषण अनिवार्य गर्ने, विगतको वित्तीय तथा भौतिक प्रगति विवरण समावेश गर्ने विषयलाई पनि गम्भीरपूर्वक हेरिने आयोगले जनाएको छ । आगामी आवका लागि प्राप्त प्रस्तावहरूको प्राविधिक, आर्थिक तथा कार्यान्वयन पक्षको विस्तृत अध्ययन गरी आयोगले प्रतिवेदन तयार पार्नेछ ।

त्यसपछि उक्त प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गरिनेछ । यसैबीच, अर्थ मन्त्रालयले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको गहिरो अध्ययन सुरु गरेको छ । राजस्व सचिव भूपाल बराल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेललाई उक्त जिम्मेवारी दिइएको छ ।

आगामी पाँच दिनभित्र समग्र आर्थिक तथा मौद्रिक सूचकहरूको विश्लेषणसहित प्रतिवेदन बुझाउन भनिएको छ । आगामी बजेटसँगै आउने कर नीतिका लागि राजस्व परामर्श समिति गठन गरी अध्ययन अघि बढाइएको छ ।

यस्तै, आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको प्रगति विवरण (पहेँलो किताब) तयार पार्ने काम पनि समानान्तर रूपमा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ सरकारको नीतिगत प्राथमिकता, राजस्व सङ्कलनको यथार्थ अवस्था, खर्च व्यवस्थापनको क्षमता तथा वैदेशिक सहयोगको सुनिश्चितताजस्ता पक्षहरूले आगामी बजेटको स्वरूप निर्धारण गर्नेछन् ।

सीमित स्रोतबीच उच्च अपेक्षा पूरा गर्ने चुनौती सरकारसामु रहेको छ । विशेषगरी हाल सरकारले लिएको आर्थिक सुशासन, सेवा प्रवाह सुधार, पूर्वाधार विकास र उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्ने लक्ष्य हासिल गर्न बजेट कतिको यथार्थपरक र कार्यान्वयनयोग्य बन्छ भन्ने चासो सबैतिर छ ।

बालेन सरकारसँग आशावादी हेटौँडा सिमेन्ट उद्योग

हेटौँडा, चैत १५-देशको पुरानोमध्येको एउटा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बेलामौकामा सञ्चालन भइरहन्छ । ठूलो हल्लाखल्लापछि केही दिन सञ्चालनमा आउँछ, त्यसपछि कहिले मेसिनका पाटपुर्जा बिग्रिन्छन्, कहिले कच्चा पदार्थ खरिद गर्ने पैसाको अभाव हुन्छ त कहिले कर्मचारीलाई तलब भत्ता खुवाउन नसकेका कारण बन्द भइहाल्छ । वार्षिक करोडौं रकम घाटा बेहोरीरहेको यो उद्योगले सञ्चालनभन्दा बढी बन्द भएर रेकर्ड बनाएको छ । भदौ २४ गतेदेखि बन्द रहेको यो उद्योगले १४ गते शनिबारदेखि क्लिङ्कर उत्पाद सुरु गरेको छ ।

लामो समयदेखि बन्द रहेको यो उद्योग पछिल्ला केही वर्षहरूमा केही दिन खुल्ने र फेरि लामो समय बन्द हुने क्रम निरन्तर चलिरहेको छ । अन्तिमपटक गत वैशाख पहिलो सातादेखि उत्पादन सुरु गरेको हेटौंडा सिमेन्ट उद्योग चार हप्ता जति सञ्चालन भएपछि पुनः बन्द भयो । त्यसपछि फेरि केही समय सञ्चालनमा आएको उद्योग भदौ २४ यता बन्द अवस्थामा छ । तर बन्द हुनुको कारण भने त्यतिबेला मुलुकमा भएको जेन जी आन्दोलन नभएर उद्योगले बेहोरी रहेको आर्थिक संकट मुख्य हो, भन्छन् सहकाय प्रबन्धक भक्तिराम श्रेष्ठ । ‘गत भदौ २४ देखि उत्पादन बन्द भएको अवस्था छ । त्यसको मुख्य कारण आर्थिक संकट हो । पछिल्लो ३/४ वर्ष यता उद्योगले आर्थिक संकट बेहोर्नु परेको छ,’ श्रेष्ठ भन्छन् ।

चुनावपूर्व नै उद्योग सञ्चालन गर्ने प्रयास गरे पनि कर्मचारीहरू चुनावमा खट्नु पर्ने भएका कारण नसकेको उनको भनाइ छ । उत्पादनमा ढिलाई हुँदा बल्लबल्ल जोहो भएको सामग्री नास हुने चिन्ता व्यक्त गरिरहेका उनले संयोगवस बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको दोस्रो दिनदेखि नै क्लिङ्कर उत्पादन सुरु भएको जानकारी दिएका छन् ।

वर्षौंदेखि भोगिरहेको वर्सेनिको करोडौं आर्थिक घाटा, कर्मचारीको अभाव र सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्न नसकेका कारण उद्योग वर्षमा केही दिन सञ्चालन हुने र बन्द हुने गरेको छ ।

कर्मचारीको अभाव, तलब खुवाउनै समस्या

श्रेष्ठ प्रवेश गर्दा उद्योगमा ११ सय कर्मचारी थिए, अहिले त्यो संख्या घटेर १३६ मा सीमित भएको छ । ‘एकातिर जनशक्तिको अभाव, अर्कोतिर प्लान्टमा जोडिएका पुराना मेसिनका कारण सोचेजस्तो उत्पादन गर्न सकिरहेका छैनौँ,’ श्रेष्ठ भन्छन्, ‘आर्थिक अभावका कारण यसलाई चाहिने बढी लागत लाग्ने कोइलालगायत कच्चा पदार्थको आपुर्ती समेत हुन सकेको छैन ।’

हाल उद्योगका लागि स्वीकृत दरबन्दी ६५५ जना हो । तर विज्ञको टोलीले सर्वेक्षण गरेर ५४१ जनाको दरबन्दी मन्त्रालयमा पठाएका छ । श्रेष्ठ अहिले ४ सिफ्टमा चल्ने भएकाले कम्तिमा ४०० हाराहारीमा कर्मचारी भए पनि उत्पादनलाई निरन्तरता दिन सकिने बताउँछन् । तर त्यसका लागि सरकारले प्रक्रिया अघि नबढाउँदा समस्या भएको उनको भनाइ छ । बालेन नेतृत्वको सरकारले यसलाई निरन्तरता दिनेमा उनी आशावादी छन् ।

‘हामी आफैँले जनशक्ति व्यवस्थापन गर्न सक्दैनौँ, नेपाल सरकारले लोकसेवामार्फत गर्छ । त्यसका लागि कर्मचारीको संख्या सर्भे गरेर मन्त्रालय पठाए पनि निर्णय भएको छैन । दुई वर्षभन्दा बढी भयो,’ उनले भने ।

हाल उपलब्ध कर्मचारीले दोहोरो तेहोरो ड्युटी गर्नुपर्ने अवस्था छ । त्यसैमा सबै विभागमा दक्ष कर्मचारी नै अपुग छन् । उद्योगको ‘किल’ विभागमा मात्रै ४/५ जना बर्नरको तत्काल नै आवश्यक्ता छ ।

उद्योगले तत्कालका लाि २५ करोड रकम ऋण स्वरूप सहयोग गर्न मन्त्रालयलाई आग्रह गरेको छ । अहिले उद्योगको कुल दायित्व १ अरब १६ करोड छ । सिमेन्ट उत्पादनका लागि चाहिले कच्चा पदार्थ खरिद र बिग्रिएका मेसिनका पाटपुर्जा बनाउन चाहिने रकम एकातिर छ भने अवकाश भइसकेका कर्मचारीलाई समेत भुक्तानी दिन नसकेको समस्या अर्कातिर छ ।

श्रेष्ठका अनुसार अहिले उद्योगलाई कच्चा पदार्थमा ३१ करोड, स्पेयर्स पार्टमा २ करोड ३३ लाख र कर्मचारीका लागि ६० करोड दायित्व रहेको छ । ०७९ सालदेखि अवकाश भएका कर्मचारीलाई भुक्तानी गर्न नसकिएको उनले बताए ।

चार वर्षअघि सेवा निवृत्त भएका कर्मचारीलाई समेत उद्योगले भुक्तानी दिन सकेको छैन । ‘जिन्दगीका ४० वर्ष यहाँ बिताएर रित्तो हात अवकाशमा जानुभयो । यहाँ बसिरहनु भएको कर्मचारी साथीहरूलाई ९ महिनादेखि तलब खुवाउन सकिएको छैन,’ उनले भने ।
श्रेष्ठले ३४ महिनाको पे ब्याक शेड्युलसहितको आर्थिक प्रस्ताव मन्त्रालयमा पेस गरे पनि कुनै जवाफ नआएको बताए ।

पुरानो प्लान्टः लागत धेरै, उत्पादन कम

उद्योग घाटामा जानुका पछाडी प्लान्टमा जोडिएका पुराना मेसिन पनि कारण रहेको कर्मचारीहरू बताउँछन् । उद्योगको वार्षिक उत्पादन क्षमता ७ सय २२ टन बराबर हो । तर, क्षमताभन्दा कम परिमाणमा सिमेन्ट उत्पादन गरेका कारण उद्योगले सञ्चालन खर्च पनि धान्न सकिरहेको छैन ।

उद्योगकको किल विभागमा कार्यरत कर्मचारी रुबिन माझी धेरैपछि खुलेका निजी उद्योगहरूले आधुनिक प्लान्ट जडान गरेका कारण झन्डै दोब्बरभन्दा बढी नियमित उत्पादन गरिरहेको, तर प्रसस्त पूर्वाधार हुँदा पनि हेटौंडा सिमेन्ट उद्योगले भने विविध समस्यासँगै पुरानो प्लान्टकै कारण उत्पादनमा गति लिन नसकेको बताउँछन् ।

‘धेरै पुरानो मोडलको मेसिन भएकाले कतिपय स्पयर्स पार्ट पाउँदैन । अहिले भएको मोडलका मेसिन पुराना भइसके । जसले एक महिनामा ३ करोड ७० लाखसम्म बिजुलीको बिल निकाल्छन्,’ उनले भने, ‘यिनै मोटरबाट काम हुन सक्दैन भनेर पनि हामी मन्त्रालयमा प्रस्तावमा पठाएका छौँ । हामीले एउटा १ अरब ६० करोडको प्रस्ताव मन्त्रालयमा पठाएका छौँ । २८ सयदेखि ३ हजार मेट्रिक टन उत्पादन क्षमता राख्छ ।’यसभन्दा कम क्षमताको सिमेन्ट प्लान्ट सर्भाइभ नै हुन नसक्ने उनी बताउँछन् ।

बालेन सरकारसँग आशा

निर्वाचनको एक हप्ताअघि भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले फागुन १५ गते चितवनमा आयोजित चुनावी सभामा हेटौंडा सिमेन्ट उद्योगको नामै लिएर सरकारले सञ्चालन गर्ने बताएका थिए ।
‘हाम्रो देश अहिले हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। त्यहाँ मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ तर बन्द छ,’ शाहले भनेका थिए, ‘अब चल्नुपर्‍यो। नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै अब त्यो पनि चल्नुपर्‍यो। पुरै देशभरि चल्नुपर्‍यो, सयवटा भन्दा बढी देशमा जानुपर्‍यो।’

उनले देशका उद्योग कलकारखानाहरूलाई चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने पार्टीको रूपमा रास्वपा अघि बढ्न चाहेको बताएका थिए ।

उनले चितवनमा भाषण गरेको १० दिनपछि देशमा सम्पन्न निर्वाचनको परिणाम करिब आइसकेको थियो, उनै बालेनको पार्टी रास्वपाले सरकार बनाउन मिल्ने गरी चुनावको परिणाम आइसकेको थियो । चुनावको परिणामले हेटौंडा सिमेन्ट उद्योगकका कर्मचारी खुशीले यसै गदगद थिए ।

भू(गर्भविदका रूपमा कार्यरत सविन शर्माले गर्छौं भन्ने नेताहरूले चुनाव जितेका कारण आफू आशावादी भएको बताए । उद्योगको संकट आर्थिक अभाव भए पनि कुसल व्यवस्थापक भएको खण्डमा उत्पादन गरेर कर्मचारी पाल्न समस्या नहुने उनको बुझाइ छ ।

‘उत्पादन नभएपछि उद्योगमा समस्या हुन्छ नै, त्यही कारण अब यो बन्द गर्नुपर्छ वा निजीकरण गर्नुपर्छ भन्नु उचित हुँदैन,’ भू-गर्भविद शर्माको भनाइ छ, ‘अहिले पनि उद्योगसँग प्रसस्त स्रोतहरू छन् । सरकारको इच्छाशक्ति भयो भने सजिलै सञ्जालन गर्न सकिन्छ । निजी उद्योगको तहमा नाफा समेत कमाउन सकिन्छ ।’

उनले उद्योगमा चल्ने राजनीतिक खिचातानी, कर्मचारीको अभाव, खरिदका जटिल प्रक्रिया आदि कारणले चल्न नसकेको भन्दै यसको प्रमुख कारण व्यवस्थापकीय अभाव भएको बताए । ‘पर्याप्त चुनढुंगा हुँदा पनि कोइला र स्पेयर्सपार्टलगायत पाटपुर्जा किन्न सकिएको छैन, यहाँ रहेका पुराना गाडी र मेसिनका पाटपुर्जा बिक्री गरेर मात्रै पनि धेरै रकम जुटाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर त्यसका लागि पैसा भएर मात्रै हुँदैन, कुसल व्यवस्थापक नै चाहिन्छ ।’

उनले अबका प्रधानमन्त्री बालेन आफैँ पनि इन्जिनियर पृष्ठभूमिको भएका कारण पनि यस्ता उद्योगहरू सञ्चालन हुने विश्वास व्यक्त गरे ।

सहायक प्रबन्धक श्रेष्ठ पनि बालेन प्रधानमन्त्री बनेपछि उद्योग नियमित सञ्चालन हुने र उत्पादनबाटै नाफामा लैजान सकिनेमा आशावादी देखिए । ‘बालेनजीले नै देशभर बिक्री गर्ने हिसाबले चलाउनु पर्छ भन्नु भयो । अहिले उहाँहरूले नै सरकारको नेतृत्व गरिरहँदा हामी उत्साहित भएका छौँ,’ उनले भने ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु ८५, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक, १५ चैत : मिति २०८२ चैत १३ गते शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।

शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । उक्त खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो ।

बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो । गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ ।

शुक्रबारको बाढीपहिरोले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । राजमार्ग अवरुद्धपछि राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारी रोकिएको थियो ।

भोजपुरका ग्रामीण भेगका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर, १५ चैत : भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।

जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उहाँको भनाइ छ ।

कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिनुभयो । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उहाँ बताउनुहुन्छ । आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

“हामी यो समयमा चैते धान रोप्नमा व्यस्त छौँ”, उहाँले भन्नुभयो, “यतिबेला रोपेको धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुन्छ, त्यसपछि पुनः अर्को बाली लगाउँछौँ ।”

यद्यपि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।

परम्परा र संस्कृति बचाउन देवाली थान संरक्षणमा लगानी

हतुवागढी गाउँपालिका–१ घोडेटारले स्थानीय संस्कार तथा संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ । पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित वडाले विभिन्न सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको हो ।

स्थानीयले मान्दै आएको परम्परागत संस्कृतिलाई पुनर्जीवन दिने लक्ष्यका साथ खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उक्त थानको संरक्षणले स्थानीय पहिचान जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी रु चार लाख ५० हजारको लागतमा देवाली थान संरक्षण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो । “स्थानीय संस्कार–संस्कृतिको संरक्षणमा हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “विभिन्न जातजातिका परम्परा र पहिचानसँग जोडिएका यस्ता सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिएका छौँ ।”

पछिल्लो समय आधुनिकता र तीव्र बसाइँसराइका कारण गाउँघरमा परम्परागत संस्कार हराउँदै जान थालेपछि यसको संरक्षणमा विशेष ध्यान दिइएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहको प्राथमिकतामा परेका पुराना संस्कृति, रीतिरिवाज तथा धार्मिकस्थलहरूको संरक्षणले परम्परा जोगाउन टेवा पुगेको स्थानीयवासी विनोद बस्नेतले बताउनुभयो ।

“पहिले देवाली थानको संरक्षण नहुँदा विभिन्न समस्या थिए”, उहाँले भन्नुभयो, “अहिले स्थानीय सरकारको सहयोगमा घेराबारसहित संरक्षण भएपछि पूजा–आराधना गर्न सहज भएको छ । यसबाट करिब एक सय बस्नेत घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।”

यस्ता प्रयासले नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानप्रति सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको विश्वास छ । गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार स्थानीय तहले विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिकस्थलको संरक्षण, पुनर्निर्माण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले संस्कृतिको दिगो संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी छ । हिजो पार्टी सम्बद्ध जनसङ्गठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष ओली पक्राउका विषयमा बिहान १०ः३० बजे कानुनविसँग अन्तर्संवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार सङ्गठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।

फिसिङ र बोटिङ सुविधाले रास तालमा पर्यटकको भिड

धरान (सुनसरी), १५ चैत : जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ ९माछा मार्ने० सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् ।

विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताउनुभयो । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमूना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित रु ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमूना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

समितिका सचिव माझीका अनुसार यहाँ रु तीन सय शुल्क तिरेपछि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।

यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिनुभयो । यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बीचमा करिब रु १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीनवटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब रु २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।

पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् ।

बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौँ-सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो ।नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।

(क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास

१) संवत् २०८२ फागुन २१ मा सम्पन्न आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने ।

२) सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने । यसको लागि प्रत्येक मन्त्रालयले ७ दिनभित्र प्रमुख १० कार्य, तिनका समयसीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने । ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने व्यवस्था मिलाई उक्त कार्यालयमार्फत नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिपोर्टिङ सुनिश्चित गर्ने ।

३) नेपालको संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संश्लेषण गरी ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने । उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने ।

४) देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने ।

५) दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने ।

६) संवत् २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनस्र्थापना र राज्यप्रतिको विश्वास पुनस्र्थापना गर्न एकीकृत पहल गर्ने । यस पहलअन्तर्गत शहीदका परिवार तथा घाइतेहरूको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनस्र्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न १०० दिनभित्र योग्यताअनुसार सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनस्र्थापना सहायता समेटिएको समन्वित प्याकेज कार्यान्वयन गर्ने ।

साथै उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाउने ।

७) संवत् २०८२ भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।

८) विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न ३० दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरु गर्ने ।

(ख) प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता

९) मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने । मन्त्रालयहरूको सङ्ख्या पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरबन्दीहरूसमेत व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने । सोबमोजिम सेवा निरन्तरताका लागि सङ्क्रमण मार्गचित्र (ट्रान्जिसन रोडम्याप) तयार गर्न, जनशक्ति, बजेट तथा कार्यक्रमलगायतका प्रबन्ध मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ गठन गर्ने ।

१०. सबै सार्वजनिक निकायले सेवा प्रवाहमा विद्यमान दोहोरोपन, जटिलता तथा अनावश्यक प्रक्रियाका कारण सेवा प्रवाह ढिलो, खर्चिलो र अप्रभावकारी भएको अवस्थालाई अन्त्य गर्न आआफ्ना निकायमा प्रचलनमा रहेका प्रक्रियाहरूको व्यापक समीक्षा गरी अनावश्यक तथा दोहोरिएका प्रक्रियाहरू हटाउन, निर्णय प्रक्रियामा रहेका बहु–स्वीकृति तहलाई बढीमा तीन तहमा सीमित गर्न तथा बिजनेश प्रोसेस रि–इन्जिनियरिङ (बिपीआर) मार्फत सम्पूर्ण सेवा प्रवाहलाई सरल, छिटो तथा परिणाममुखी बनाउनका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा अनुगमन प्रणाली ३० दिनभित्र तयार÷संशोधन गरी लागू गर्ने । कानुनी व्यवस्था गर्नुपर्ने अवस्थामा सो अवधिभित्र कानुन संशोधनको मस्यौदा तयार गर्ने ।

११) नेपाल सरकारअन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाहरूको समग्र मूल्याङ्कन गरी खारेज, एकीकरण वा पुनर्संरचना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू रहेको एक उच्चस्तरीय कार्यदल गठन गर्ने तथा सो कार्यदललाई एक महिनाभित्र स्पष्ट सिफारिससहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिने ।

१२) सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने । यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कडाइका साथ विभागीय कारबाही गर्ने ।

साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने । यसका लागि आवश्यक कानुनी व्यवस्था विशेषतः सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने ।

१३) विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरूको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्ने । साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने ।

१४) सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने ।

१५) शिक्षकको सिटरोल दर्ता तथा अवकाशपश्चातका सेवा सुविधा व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयबाटै गर्ने व्यवस्था मिलाउने ।

१६) कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्ने । कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गर्ने ।

१७) सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार गर्ने ।

१८) सरकारी कार्यालयहरूको भौतिक पूर्वाधार र स्तरीकृत विन्यासका लागि सहरी विकास मन्त्रालयले दुई महिनाभित्र न्यूनतम मापदण्ड तर्जुमा गरी १०० दिनभित्र कार्यान्वयनमा लैजाने ।

१९) कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाससम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन महिनाभित्र कर्मचारी व्यवस्थापन सूचना प्रणालीको आर्किटेक्चर तयार गर्ने ।

(ग) सार्वजनिक सेवा प्रवाह र गुनासो व्यवस्थापन

२०) नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने, प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने तथा समय र लागत दुवै बढ्ने अवस्थाको अन्त्य गर्न प्रमुख सहरहरूमा एजेन्सिफिकेसन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने । त्यस्ता केन्द्रहरूलाई दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

२१) नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने, वडास्तरबाट डिजिटल सिफारिस प्रणाली लागू गर्ने, राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रूपमा प्रयोग गर्ने तथा सबै सेवा प्रक्रियालाई फेसलेस, टाइम–बाउन्ड र ट्रयाकिङ योग्य बनाउने ।

२२) फ्रन्ट डेस्कमा काम गर्ने सबै कर्मचारीहरूलाई कार्यालयबाट उपलब्ध हुने सबै सेवाहरूको तालिम प्रदान गर्न त्यस्ता कर्मचारीहरू सूची र तालिमको आवश्यकता सबै कार्यालयहरूले १५ दिनभित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपलब्ध गराउने । मन्त्रालयले सम्बन्धित तालिम प्रदायक संस्थाहरूसँग समन्वय गरी ६ महिनाभित्र आवश्यक तालिमको व्यवस्था गर्ने । तत्पश्चात पनि सो प्रकृयालाई प्रत्येक निरन्तर सञ्चालन गर्ने ।

२३) सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउन प्रत्येक कार्यालयले एक महिनाभित्र समय र गतिको अध्ययन गरी कार्यालयको पुनर्विन्यास योजना तयार गर्ने ।

२४) देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने । सोको लागि फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहु–च्यानलको व्यवस्था मिलाउने ।

२५) हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी नागरिक संवादको प्लेटफर्मका रूपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति (रियल टाइम) मा अनुगमन गर्ने ।

२६) पासपोर्ट, नागरिकता, सवारी चालक अनुमतिपत्रलगायतका सेवाहरू नागरिकलाई छिटो, सहज र बिचौलिया–मुक्त तरिकाले पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउने व्यवस्था लागू गर्ने तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने ।

२७) सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजातहरू÷सामग्रीहरू घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने ।

(घ) डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चार

२८) सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित तथा अन्तरआबद्ध बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान (जिआइओएमएस) प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने ।

२९) सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण (जस्तैः नागरिकता नम्बर हाल्दा नाम÷ठेगाना) पुनः सोध्नुको सट्टा ‘अटो फिल’ हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले आफ्ना प्रणालीहरूमा ६० दिनभित्र गर्ने । नागरिकले आफ्नो विवरण (जस्तैः नागरिकता नम्बर) सरकारलाई एकपटक दिएपछि, अन्य सरकारी निकायले सोही डेटा प्रयोग गर्ने वातावरण मिलाउने ।

३०) सरकारी एप वा पोर्टलहरू अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य १०० दिनमा सम्पन्न गर्ने ।

३१) अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एपमार्फत आवेदन दिने व्यवस्था मिलाउने । यसरी नागरिक एपमार्फत आवेदन दिँदा व्यक्तिले आफ्नो फोनमा रहेको एपले ‘लोकल्ली स्टोर’ गरेको विवरण वा अन्य प्रणालीबाट प्राप्त विवरणको आधारमा ‘फर्म फिल–अप’ गर्ने व्यवस्था मिलाउने । तर नागरिक एपले ‘सेन्ट्रली डाटा स्टोर’ गर्न भने नमिल्ने बनाउने । यस्तो व्यवस्थाबाट प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमतिपत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने ।

३२) आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था भएमा उपलब्ध मिति र समयमध्ये नागरिकलाई आफ्नो सुविधाको दिन र समयको ‘अपोइन्टमेन्ट’ लिन सक्ने व्यवस्था गरी सोहीअनुसार नागरिक सेवा केन्द्र वा सरकारी निकायमार्फत सेवा प्रवाह गर्ने व्यवस्था गर्ने तीन महिनाभित्र मिलाउने ।

३३) ‘डिजिटल सिग्नेचर’ हाल ‘सर्टिफिकेट’को माध्ययबाट हुने गरेकोमा एनआइडी कार्ड, बायोमेट्रिक वा ओटिपीको प्रयोग गरी इ–सिग्नेचर गरी नागरिकले आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था गर्ने । यसको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भौतिक तथा साङ्गठनिक सुदृढीकरण गर्ने । राष्ट्रिय परिचयपत्र नम्बरलाई आधार बनाई नागरिकका सबै सेवाहरूमा डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली लागू गर्न गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन दिने ।

३४) फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने ।

३५) प्रमाणपत्रहरू नागरिकले आधिकारिक मोबाइल एप÷नागरिक एप वा इमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने ।

३६) सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआबद्ध प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म’ स्थापना गरी डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन गर्ने । यसअन्तर्गत ‘एउटा विवरण एकपटकमात्र बुझाउने’ सिद्धान्त अवलम्बन गर्दै सबै तहका सरकारका सेवा, डाटा र प्रणालीहरूलाई एकीकृत गरी डिजिटल सार्वजनिक पूर्वाधारमा आधारित राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य १०० दिनभित्र प्रारम्भ गर्ने ।

३७) नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन, सेवा प्रवाहमा दोहोरोपनको अन्त्य गर्न, पारदर्शिता अभिवृद्धि तथा समय र लागत उल्लेख्य रूपले घटाउन डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानुनको तर्जुमा ६० दिनभित्र गर्ने ।

३८) सूचना प्रविधि तथा डिजिटल गभर्नेन्ससम्बन्धी नियम बनाउने र नियमन गर्ने स्वतन्त्र नियामक निकायको स्थापनाका लागि आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध ६० दिनभित्र गर्ने ।

३९) नेपालको सूचना प्रविधि तथा विद्युतीय शासन प्रणालीमा विद्यमान खण्डीकृत संरचना, अन्तरआबद्धताको अभाव, मापदण्ड तथा संस्थागत समन्वयको कमजोरी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको कमी तथा सेवा प्रवाहमा देखिएको अप्रभावकारिता समाधान गरी एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने । हालको सूचना प्रविधि विभाग खारेज गर्ने तथा सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायहरूलाई यस कार्यालयअन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

४०) सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने ।

४१) National Enterprise Architecture Framework ६० दिनभित्र तयार गर्ने ।

४२) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने ।

ङ) सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण

४३) देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने । सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्ने । सोको लागि आवश्यक कानुनी तथा प्राविधिक संयन्त्र विकास गरी सम्पूर्ण प्रक्रिया पारदर्शी र नतिजामुखी हुने सुनिश्चित गर्ने । उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्नेलगायतका अधिकार प्रदान गर्ने । पहिलो चरणमा विसं २०६२÷६३ देखि हाल (२०८२÷८३)सम्म सार्वजनिक पदधारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने । दोस्रो चरणमा विसं २०४८ देखि २०६१÷६२ सम्मको अवधिमा सार्वजनिक पदधारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने । छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा समितिले पेश गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

४४) सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न राष्ट्रिय सतर्कता केन्द्रको पुनर्संरचना योजना ३० दिनभित्र तयार गरी कार्यान्वयनमा ल्याउने ।

४५) भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिनभित्र, बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने ।

४६) भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि अनुकूल हुने गरी भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना १५ दिनभित्र जारी गर्ने ।

४७) सदाचारिता प्रवर्द्धन, सूचनादाताको संरक्षण र हित÷स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गर्ने तथा सम्बन्धित कानुन तर्जुमा तथा संशोधन प्रकृया अघि बढाउने ।

च) सार्वजनिक खरिद र परियोजना व्यवस्थापन सुधार

४८) सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक खरिद ऐनलाई ३० दिनभित्र संशोधन गरी Value for Money, Life Cycle Costing, EGov Market Place tyf Performance–Based Contracting जस्ता अवधारणाहरू लागू गर्ने । खरिद प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी तथा ट्रयाकिङयोग्य बनाउने तथा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने ।

४९) आयोजना व्यवस्थापनका लागि देहायका कार्य गर्नेः

क) देशका प्राथमिकता प्राप्त विकास परियोजनाहरूमा स्पष्टता ल्याउन राष्ट्रियस्तरको प्रोजेक्ट पाइप लाइन तयार गर्ने, सबै परियोजनाहरूलाई आर्थिक, सामाजिक तथा वातावरणीय आधारमा प्राथमिकता निर्धारण गर्ने तथा प्रत्येक परियोजनाका लागि उपयुक्त लगानी मोडालिटी (सरकारी, पिपिपी, विदेशी लगानी आदि) तय गर्ने कार्य राष्ट्रिय योजना आयोगले दुई महिनाभित्र सम्पन्न गर्ने ।

ख) लामो समयदेखि अलपत्र परेका, रुग्ण अवस्थामा रहेका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाहरूको पुनरावलोकन गरी बजेट व्यवस्था, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति, ठेक्का तोड्नेलगायतका प्रक्रियाहरू सरल बनाउने । रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना र प्रतिफलविहीन लगानी भइरहने समस्या समाधान गर्न ३० दिनभित्र अध्ययन टोली गठन गरी उक्त टोलीले आयोजनाको औचित्य र सम्भाव्यता मूल्याङ्कन गरी निरन्तरता दिनुपर्ने वा नपर्ने अवस्थाको बारेमा सिफारिस गर्ने । साथै, कुनै आयोजनाहरूको निर्माण तथा सञ्चालनका लागि अन्तरनिकाय समन्वय गर्नुपर्ने भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल समन्वय र सहजीकरण गर्ने ।

ग) राष्ट्रिय गौरवका तथा ठूला रणनीतिक आयोजनाहरूको कार्यान्वयनलाई शीघ्र, समयबद्ध तथा गुणस्तरीय बनाउन जग्गा प्राप्ति, मुआब्जा निर्धारण, रुख कटान तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिसम्बन्धी प्रक्रियाहरूलाई “फास्ट ट्रयाक मेकानिजम” अन्तर्गत सञ्चालन गर्न, सम्बन्धित सबै निकायहरूबीच समन्वय गरी एकीकृत र स्वचालित स्वीकृति प्रणाली लागू गर्न, अनावश्यक ढिलासुस्ती तथा दोहोरो प्रक्रियाहरू हटाउन, स्पष्ट समयसीमा तोकी कार्यान्वयन गर्न तथा आयोजना कार्यान्वयनमा देखिने अवरोधहरू समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रत्यक्ष अनुगमन तथा सहजीकरण गर्ने ।

घ) राष्ट्रिय तथा प्राथमिकताप्राप्त पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा ठेक्का प्रक्रियामा बारम्बार असफलता अन्त्य गर्न दुई पटकभन्दा बढी ठेक्का नलागेका वा ठेक्का प्रक्रिया असफल भएका आयोजनाहरूलाई सरकारी पूर्वाधार निर्माण कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने व्यवस्थाका लागि ३० दिनभित्र कानुन तर्जुमा गरी उक्त कम्पनीका लागि आवश्यक पर्ने स्रोत, साधन, जनशक्ति तथा उपकरण व्यवस्थापन गर्ने ।

५०) आयोजना छनोटदेखि भुक्तानीसम्मका विभिन्न चरणहरूमा ट्रयाकिङ नहुँदा अनियमितता, भेरिएसन आदेशको दुरुपयोग र ढिलाइ हुने समस्या समाधान गर्न ९० दिनभित्र data–based end–to–end e–procurement monitoring प्रणाली लागू गर्ने ।

५१) परियोजनाहरू विभिन्न कानुन, स्वीकृति र निकायगत प्रक्रियामा अल्झिँदा आयोजना निर्माण तथा सञ्चालनमा वर्षोँ लाग्ने समस्या समाधान गर्न ६० दिनभित्र परियोजना सहजीकरणसम्बन्धी छाता कानुनको मस्यौदा तयार गर्ने ।

५२) लामो समयदेखि नागरिकलाई दैनिक सास्ती दिइरहेका प्रमुख सडक तथा यातायात पूर्वाधार आयोजना समयमा पूरा नहुने समस्या समाधान गर्न तत्कालै आयोजना निगरानी कार्यतालिका बनाई कार्यान्वयन गर्ने । राजमार्गका रणनैतिक क्षेत्रहरूमा अध्ययन गरेर तौल पुल ४५ दिनभित्र राख्ने ।

छ) लगानी, उद्योग, निजी क्षेत्र प्रवर्द्धन तथा पर्यटन

५३) देशमा लगानी वातावरण सुधार गर्न उद्योग दर्ता, स्वीकृति तथा सञ्चालन प्रक्रियालाई सरल, छिटो तथा पारदर्शी बनाउन उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्रमा खटिने कर्मचारीलाई थप अधिकार प्रत्यायोजन गरी प्रभावकारी बनाउने ।

५४) देशको पूर्वाधार विकासलाई द्रुत, व्यवस्थित तथा लगानीमैत्री बनाउन नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका सम्पूर्ण परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गर्ने । सोको लागि राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा ९० दिनभित्र सबै परियोजनालाई सरकारी कोष, सार्वजनिक निजी साझेदारी, निजी लगानी वा मिश्रित लगानी ढाँचामा वर्गीकरण गरी पुँजी परिचालन, जोखिम बाँडफाँट, कार्यान्वयन ढाँचा तथा समयसीमासहितको ‘नेशनल प्रोजेक्ट स्टकचर्ड पाइप लाइन’ ९० दिनभित्र तयार गरी सार्वजनिक गर्ने । उक्त संरचनाअनुसार परियोजनाहरूलाई लगानीयोग्य बनाउँदै कार्यान्वयन प्रक्रिया द्रुत रूपमा अघि बढाउने ।

५५) स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरुलाई एकीकृत रूपले सहजताका साथ निर्धारित समयावधिभित्रै तोकिएबमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपालअन्तर्गत आगामी एक महिनाभित्रै एकद्वार स्वीकृति प्रणाली स्थापना गरी एक महिनाभित्र सञ्चालनमा ल्याउने ।

५६) देशमा उद्यमशीलता प्रवर्द्धन, लगानी वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो (दुई दिनभित्र) र झन्झटरहित बनाउन “स्टार्टअप फास्ट ट्रयाक” प्रणाली लागू गर्ने ।

५७) साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था नेपाल राष्ट्र बैकले ३० दिनभित्र मिलाउने ।

५८) व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमति लिनुपर्ने विषयलाई एकीकृत गरी ४५ दिनभित्र ‘वान डोर बिजनेश प्लेटफर्म’ मार्फत सेवा उपलब्ध गराउने । सेवा प्रवाहको क्रममा सम्पूर्ण प्रक्रिया डिजिटल, पारदर्शी तथा ट्रयाकिङयोग्य बनाई कार्यान्वयनका लागि कानुनी, प्राविधिक तथा प्रक्रियागत सुधार तत्काल लागू गर्ने ।

५९) देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा सुदृढ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलगायतका संस्थाहरूले संयुक्त रूपमा कार्य गर्नेगरी रोजगार सेवा केन्द्रहरूलाई ६० दिनभित्र ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा रूपान्तरण गर्ने ।

सो केन्द्रले रोजगारविहीनहरूको दर्ता र सार्वजनिक रोजगार कार्यक्रमका अतिरिक्त स्थानीय सीप तथा सोको माग नक्साङ्कन, तालिम समन्वय, उद्यमशीलता सहजीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनःएकीकरण सम्बन्धी कार्यहरू सञ्चालन गर्ने । स्थानीय तहलाई उक्त केन्द्रको प्रभावकारी परिचालन गर्न न्यूनतम बजेट विनियोजन एवं वार्षिक सीप विकास योजना समावेश गरी कार्यसम्पादनमा जवाफदेहिता सुनिश्चित गर्न अनुरोध गर्ने । उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक डिजिटल प्रणाली, मापदण्ड तथा कार्यविधि तत्काल निर्माण गरी लागू गर्ने ।

६०) देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण तथा निजी क्षेत्रको विश्वास पुनस्र्थापना गर्ने उद्देश्यले, “निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने । सो रणनीतिमार्फत भौतिक सुरक्षा तथा सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान तथा नियामकीय सरलीकरण र लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलतासम्बन्धी कार्यनीतिहरू तत्काल कार्यान्वयन गर्ने ।

६१) गृह मन्त्रालयले औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र ३० दिनभित्र विकास गर्ने ।

६२. सुरक्षा निकायहरूले निजी सम्पत्तिमा भएको क्षति, लुटपाट तथा आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कानुनी कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने ।

६३) अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले जेनजी जनआन्दोलनका क्रममा प्रभावित व्यवसायहरूका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज जारी गर्ने ।

६४) देशको लगानी, उत्पादन, निर्यात, उत्पादकत्व तथा विकास वित्त प्रणालीलाई एकीकृत, प्रभावकारी तथा परिणाममुखी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत “प्रधानमन्त्री कार्यसम्पादन एकाइ” तत्काल स्थापना गर्ने । उक्त एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूका लागि मुख्य कार्यसम्पादन सूचक, मन्त्रालयगत कार्यसम्पादन ट्रयाकिङ, समस्या तथा अवरोध समाधान संयन्त्रसहितको केन्द्रीय ड्यासबोर्ड सञ्चालन गर्ने ।

६५) लगानी बोर्ड नेपाल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, उद्योग विभागलगायतका निकायहरूबीच रहेको कार्यजिम्मेवारीको दोहोरोपन अन्त्य गर्न ३० दिनभित्र एकीकृत संरचनाको विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्भेका लागि तत्काल एक कार्यदल गठन गर्ने । उक्त कार्यदलले लगानी प्रवर्द्धन, निर्यात विस्तार तथा प्रवर्द्धन, उद्योग विकास, परियोजना संरचना तथा विकास वित्तसम्बन्धी कार्यहरूलाई एकीकृत रूपमा एकल बिन्दु सेवा प्रणालीमा रूपान्तरण गर्न स्पष्ट रोडम्याप, कार्यात्मक संरचना तथा आवश्यक कानुनी व्यवस्थासहितको प्रतिवेदन पेश गर्ने । सो प्रतिवेदनका आधारमा आवश्यक संस्थागत तथा कानुनी सुधार प्रक्रिया तत्काल अगाडि बढाउने ।

६६) नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनलाई सरल, पारदर्शी र बिचौलिया मुक्त बनाउन, साना उद्योग दर्ता प्रक्रियामा रहेको दोहोरो अभ्यास अन्त्य गरी २५ करोडसम्मका उद्योगहरूलाई एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फतमात्र दर्ता हुने व्यवस्था गर्ने तथा दर्ता शुल्क खारेज गर्ने व्यवस्था ४५ दिनभित्र गर्ने ।

६७) कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेका उद्योग व्यवसायसँग सम्बन्धित विवरणहरू स्वचालित रूपमा आदान प्रदान हुने प्रणाली दुई महिनाभित्र विकास गर्ने । कम्पनी तथा उद्योग दर्ता र आयात÷निर्यात सम्बन्धमा सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरण गर्न निःशुल्क परामर्श सेवा डेस्क स्थापना गर्ने, डिजिटल प्रणाली विकास गरी बिचौलियाको संलग्नता अन्त्य गर्ने कार्य १५ दिनभित्र गर्ने । साथै तीनै तहका सरकारी निकायबाट दर्ता भएका उद्योग, व्यवसाय तथा फर्महरूको तथ्यांकलाई अद्यावधिक गरी ‘रियल टाइम डेटा’ लिने प्रणाली तीन महिनाभित्र विकास गर्ने ।

६८) औद्योगिक प्रतिष्ठानहरूको ‘कर्पोरेट सोसल रेस्पोन्सविलिटी’ (सिएसआर) रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोषमार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने तथा यसका लागि आवश्यक कानुन संशोधन तथा निर्माण गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने ।

६९) जेनजी आन्दोलन तथा सार्वजनिक प्रदर्शनका कारण निजी क्षेत्रको लगानी वातावरण र रोजगारीमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सुरक्षित, स्थिर र विश्वसनीय व्यावसायिक वातावरण सुनिश्चित गर्ने उद्देश्यले, देहायबमोजिम गर्ने–

क) निजी क्षेत्र, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि “प्राइभेट सेक्टर प्रोटेक्सन स्टाट्रेजी’ बनाई तत्काल लागू गर्ने ।

ख) उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कता कायम गर्न तथा विशेष सुरक्षा प्रबन्ध गर्ने ।

ग) प्रदर्शनका कारण अवरोध भएका व्यवसाय सञ्चालन तथा पुनःसञ्चालनको लागि प्राथमिकताका साथ प्रशासनिक सहजीकरण गर्ने ।

घ) व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी आवश्यक राहत, पुनस्र्थापना तथा सहुलियत प्याकेज (जस्तैः कर छुट, ब्याज सहुलियत, ऋण पुनर्संरचना) तयार गर्ने ।

ङ) निजी क्षेत्रसँग निरन्तर संवाद तथा समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग–वाणिज्य संवाद परिषद्लाई सक्रिय गराउने ।

७०) आपूर्ति शृङ्खलामा अवरोध हुन नदिन आयात निर्यात हुने मार्गमा ढुवानीका साधन बिनाअवरोध सञ्चालन हुने व्यवस्था गृह मन्त्रालयले तत्काल मिलाउने ।

७१) वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न स्वच्छ लगानी वातावरण सुनिश्चित गर्ने, स्वचालित लगानी स्वीकृति प्रणाली लागू गर्ने, लगानीकर्ताको वास्तविक स्वामित्व खुलाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय कर तथा वित्तीय पारदर्शिता मापदण्ड लागू गरी पुँजी पलायन तथा मनी लाउन्डरिङ नियन्त्रण गर्ने ।

७२) उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने ।

७३) नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत)को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने । साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “नेपाल वेलनेस इयर २०२७” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने ।

ज) ऊर्जा तथा जलस्रोत
७४) उर्जा क्षेत्र विकासका लागि देहायका कार्य गर्नेः
क) ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने ।
ख) देशको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोधहरू तत्काल हटाई द्रुत विकास सुनिश्चित गर्ने उद्देश्यले पेन्डिङ रहेका सबै विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्रसम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने ।

ग) विद्युत् निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार (विशेष गरी साँझको पीक समय) मा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयनमा लैजाने ।

घ) नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारसम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने ।

ङ) ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गर्ने । साथै, उक्त सुधारहरू कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने ।

७५) खानेपानी तथा सरसफाइ क्षेत्रका विभिन्न निकायबीच समन्वयको अभाव अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभाग समावेश गरी एकीकृत संयन्त्र तयार गर्न एक उच्चस्तरीय “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गर्ने । यसले ३० दिनभित्र एकीकृत संरचना र सुधार प्रस्ताव पेश गर्ने ।

७६) पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिनाभित्र प्रक्रिया अघि बढाई जलाधार क्षेत्रको प्रभावकारी रूपमा संरक्षण गर्ने ।

७७) सहरी विकास विधेयक र फोहरमैला व्यवस्थासम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने स्वीकृतिका लागि दुई महिनाभित्र मन्त्रिपरिषद्समक्ष पेश गर्ने ।

झ) राजस्व सुधार

७८) राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने तथा अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्य ९० दिनभित्र सम्पन्न गर्ने ।

७९) राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल तथा प्रभावकारी बनाउन ठूला व्यवसायहरूले अनिवार्य रूपमा इ–बिलिङ प्रणाली एक महिनाभित्र लागू गर्ने ।

८०) कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना अर्थ मन्त्रालयले ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने ।

८१) करिब १३९ भन्दा बढी कोषहरू छरिएर, दोहोरिएर वा कम प्रभावकारी रूपमा सञ्चालन हुँदा सार्वजनिक स्रोतको उपयोग कमजोर भएको समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका कोषहरूको एकीकरण तथा रकम उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने ढाँचा तयार गर्ने ।

८२) खानी तथा खनिज क्षेत्रका निष्क्रिय अनुमतिपत्र खारेज गर्ने तथा सक्रिय फर्महरूको कडाइका साथ नियमन गर्ने । खानी तथा खनिज पदार्थ ऐन, २०४२, सम्बन्धित नियमावली तथा कार्यविधिहरूलाई समयानुकूल संशोधन तथा परिमार्जन गरी लगानीमैत्री, पारदर्शी तथा कार्यान्वयनयोग्य बनाई विभागअन्तर्गतका प्रयोगशालाहरूमा आधुनिक उपकरण जडान गरी परीक्षण क्षमता अभिवृद्धि गर्ने कार्य तीन महिनामा प्रारम्भ गर्ने । साथै, रणनीतिक खनिजहरूको एकीकृत डाटाबेस निर्माण गर्ने ।

८३) भन्सार प्रणालीलाई व्यापार सहजीकरणमुखी रूपमा पुनर्संरचना गर्ने, वाणिज्य तथा उपभोक्ता संरक्षणसम्बन्धी कार्यहरूलाई अलग गरी प्रभावकारी नियमन सुनिश्चित गर्ने तथा बजारमा ‘म्याक्सिमम रिटेल प्राइस’ (एमआरपी) अनिवार्य कार्यान्वयन र सघन अनुगमन गर्ने ।

८४) अड्डा अदालत तथा सरकारी निकायमा रहेको ठूलो धरौटी रकम निष्क्रिय भई विकास निर्माणमा उपयोग हुन नसकेको समस्या समाधान गर्न ६० दिनभित्र त्यस्तो रकम परिचालन गर्ने कानुनी आधार तयार गर्ने ।

ञ) स्वास्थ्य, शिक्षा र मानव विकास
८५) स्वास्थ्य क्षेत्रको सुधारका लागि देहायका कार्य गर्नेः

क) विपन्न, असहाय तथा वेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने । सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमनका लागि “फ्रि हेल्थ पोर्टल” विकास गरी उक्त पोर्टल ३० दिनभित्र देशभर लागू गर्ने ।

ख) बिरामीको उपचार इतिहास, रिफेरल, पुनःसेवा र क्लिनिकल फलोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने । अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफर प्रोटोकल लागू गर्ने ।

ग) सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न Attendance Monitoring, Conduct Review/Cleanliness Audit एक हप्ताभित्र अनिवार्य गर्ने तथा सम्पूर्ण सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउने ।

घ) अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली तीन महिनाभित्र सञ्चालन गर्ने । नागरिकलाई गुणस्तरीय तथा सस्तो मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्यले, देशभरका सरकारी अस्पताल तथा प्रमुख स्वास्थ्य संस्थाहरूमा ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने व्यवस्था लागू गर्ने, उक्त फार्मेसीमार्फत आवश्यक औषधीहरू जेनेरिक नाममा न्यूनतम मूल्यमा उपलब्ध गराउने, निजी क्षेत्रसँग सहकार्य गरी आपूर्ति व्यवस्थापन सुदृढ गर्ने र उक्त कार्यक्रम १०० (एक सय) दिनभित्र चरणबद्ध रूपमा देशभर सञ्चालनमा ल्याउने ।

ङ) जलन उपचारका लागि प्रदेशस्तरमा सुविधासम्पन्न अस्पतालको अभाव हुँदा मृत्युदर, अपाङ्गता र दीर्घकालीन पुनस्र्थापना समस्या बढ्ने अवस्थाको समाधान गर्न ३० दिनभित्र अधिकांश अस्पतालहरूमा बर्न वार्ड स्थापना प्रक्रिया सुरु गर्ने । जलनका बिरामीका लागि सहुलियत दरमा उपचार हुने व्यवस्था मिलाउने ।

च) सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था तत्काल लागू गर्ने ।

८६) शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय÷विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल÷भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकास गर्ने ।

८७. विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डरअनुसार निकाल्ने ।

८८) विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने ।

८९) कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने ।

ट) कृषि, भूमि, पूर्वाधार र आधारभूत सेवा
९०) कृषि क्षेत्रको विकासका लागि देहायका कार्य गर्नेः

क) प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या समाधान गर्न ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने ।

ख) कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गर्ने र सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गर्ने, कृषि उपजको बजार पहुँच सुदृढ गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस÷डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने, प्रत्येक पालिकामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्न स्थानीय तहलाई सहजीकरण गर्ने, कृषि उपजको भण्डारण तथा बजारीकरण सुधारका लागि “एक पालिका एक चिस्यान केन्द्र” कार्यक्रम प्रारम्भ गर्ने । प्रत्येक जिल्लामा सार्वजनिक निजी साझेदारीमा चिस्यान केन्द्र स्थापना गर्न १० दिनभित्र सम्भाव्यता अध्ययन गर्ने ।

ग) व्यावसायिक कृषि फार्म सञ्चालन गरेका कृषकहरूलाई स्वाइल हेल्थ कार्ड दिने व्यवस्था तीन महिनाभित्र सम्पन्न गर्ने ।

९१) देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० दिनभित्र समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट–अफ मिति, आय स्तर, अन्य सम्पत्ति स्वामित्व) लागू गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा ‘जिआइएस’मा आधारित डिजिटल डाटाबेस तयार गर्ने, पहिचान भएका वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा उपलब्ध गराउने वा घना सहरी क्षेत्रमा वैकल्पिक रूपमा एकीकृत आवासमार्फत पुनर्वासको व्यवस्था मिलाउने । जग्गा वितरण तथा पुनर्वास प्रक्रियालाई पूर्णतः पारदर्शी बनाउन सार्वजनिक ड्यासबोर्ड सञ्चालन गर्ने तथा सम्पूर्ण कार्यक्रमको समन्वय, अनुगमन र कार्यान्वयन सम्बन्धित मन्त्रालयको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने ।

९२) सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने । नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने । नेपाल बाल सङ्गठनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग (हरिबाबु आयोग)को प्रतिवेदन बमोजिम बाल सङ्गठनको जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धान १५ दिनभित्र सुरु गर्ने ।

ठ) अन्य रणनीतिक तथा सामाजिक सुरक्षासम्बन्धी निर्णयहरू

९३) कसूरजन्य सम्पत्ति व्यवस्थापन प्रकृयालाई सरल, सहज बनाउन र एकरूपता कायम गर्न कसूरजन्य सम्पत्ति (रोक्का, नियन्त्रण र जफत) नियमावली दुई महिनाभित्र संशोधन गर्ने ।

९४) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई प्रविधियुक्त बनाउन तत्कालै कम्तीमा १ करोड रूपैयाँ उपलब्ध गराउने ।

९५) अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर–मन्त्रालय कार्यदल गठन गर्ने, सोको आधारमा आवश्यक नीति तथा रणनीति तयार गर्ने कार्य परराष्ट्र मन्त्रालयको संयोजकत्वमा ३० दिनभित्र सम्पन्न गर्ने । मध्यपूर्वका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृङ्खला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्नसक्ने बहुआयामिक प्रभावहरूको समयमै मूल्याङ्कन तथा व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयहरू (परराष्ट्र, श्रम, अर्थ, उद्योग, आपूर्ति, ऊर्जालगायत)को प्रतिनिधित्व रहनेगरी एक उच्चस्तरीय अन्तर–मन्त्रालय अध्ययन कार्यदल गठन गर्ने ।

उक्त कार्यदलले विस्तृत अध्ययन गरी ७ (सात) दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायहरूसहित प्रतिवेदन पेश गर्ने । सो प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने ।

९६) भन्सारमा थन्किएका सवारीसाधनहरूको विवरण सङ्कलन गरी तिनीहरूको प्रयोग, व्यवस्थापन वा लिलामी गर्ने व्यवस्था तत्काल मिलाउने ।

९७) महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।

९८) सार्वजनिक यातायातमा हुने लङ्ैगिक हिंसा रोकथाम गर्न सबै सवारीसाधनमा सिसीटिभी÷ड्यासक्याम जडान गर्ने र राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने ।

९९) सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने ।

१००) आमनिर्वाचन २०८२ को जनादेश, नेपालको संविधानको मूल मर्म र राजनीतिक दलहरूले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, संवैधानिक निकायहरू, निजामती प्रशासन, नेपाली सेनालगायत सबै सुरक्षा निकाय, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू, राजनीतिक दलहरू, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारहरूले एकताबद्ध भई नतिजामूलक सहकार्य गर्ने र सो सहकार्यलाई संस्थागत तथा परिणाममुखी बनाउन आवश्यक नीतिगत, संरचनात्मक तथा कार्यक्रमगत व्यवस्था मिलाउने । साथै, उक्त साझा राष्ट्रिय दायित्व निर्वाहमा सबै सरोकारवालालाई सक्रिय, समन्वित र उत्तरदायी भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्ने ।

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

काठमाडौँ- सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ ।

मिति २०८२ चैत १३ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बधी एक सय कार्यसूची सार्वजनिक गर्दै निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा समावेश कार्यान्वयनयोग्य विषय संश्लेषण गरी ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गरिने पनि जनाइएको छ ।

नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वनका लागि प्रत्येक मन्त्रालयले सात दिनभित्र प्रमुख १० कार्य, तिनको समयसीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरिने छ । ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने तथा सोको नियमित अनुगमन, मूल्याङ्कन र सार्वजनिक रिपोर्टिङ सुनिश्चित गरिने उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त सूची आज प्रधानमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको हो ।

राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गरिने उक्त सूचीमा उल्लेख छ ।

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ-सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ ।

उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइनेछ ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकको न्याय, पुनःस्थापना र राज्यप्रतिको विश्वास पुनस्थापना गर्न एकीकृत पहल गर्ने उल्लेख छ । उक्त पहलअन्तर्गत शहीद परिवार तथा घाइतेको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनःस्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न एक सय दिनभित्र योग्यताअनुसारको सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको ‘प्याकेज’ घोषणा गरिने कार्यसूचीमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।
ओली र लेखकलाई प्रहरीले शनिबार प्रक्राउ आफ्नै निबासबाट प्रक्राउ गरेको थियो ।

ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

वीरगन्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

पर्सा । वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।

यसैबिच, वीरगन्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँच चौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमालयन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगन्ज नाका हुँदै भित्रिएका जानकारी दिए ।

“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।

देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ ।

नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात गर्दै आएको छ । त्यसलाई नीतिगत रूपमा थप प्रष्ट पार्ने र कार्यान्वयनयोग्य बनाउने भएको छ । एक महिनाभित्र उक्त रणनीति तय गरिने उल्लेख गरिएको छ । त्यसैगरी, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौतालाई एक सय ८० दिनभित्र गरिने भएको छ ।

जलविद्युत् उत्पादनलाई थप विस्तार गर्ने र निजी क्षेत्रको मागअनुसार उक्त सम्झौता गर्ने समयवाधिसमेत निर्धारण गरिएको हो । समग्रमा ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कार्ययोजनाहरू अघि सार्दै सरकारले विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्र सम्बन्धी निर्णय अधिकतम १८० दिनभित्रमा गर्ने स्पष्ट पारेको छ ।

देशको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोध तत्काल हटाई तीव्रगतिमा विकास सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । यस्तै विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार त्यसमा पनि विशेषगरी साँझको ‘पिक’ समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।

नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारसम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने कार्ययोजनामा समावेश छ । त्यस्तै ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गरिनेछ ।त्यस्तो सुधार कार्ययोजना कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने आज सार्वजनिक विवरणमा समावेश छ ।

रोशी खोलामा बाढी : बीपी राजमार्गमा प्रहरीद्वारा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक। शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ ।उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाएको छ । शुक्रबार साँझको वर्षात्पछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको छ ।

शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटकपटकको वर्षाका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । उहाँका अनुसार रोशी खोलाको पानीको बहाव घट्यो भने आइतबार बिहानदेखि उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनार्थ प्रयास जारी गरिनेछ ।

गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

डाइभर्सन बगाएको स्थानमा रोशी खोलामा पानीको बहाव घट्न थालेपछि शनिबार बिहानदेखि पुनर्निर्माण थालिए पनि निरन्तरको वर्षाका कारण डाइभर्सन निर्माणमा कठिनाइ भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार स्थायी पुनर्निर्माण सुरु गरिएका स्थानमा भने बाढीले कुनै प्रकारको क्षति पुर्याएको छैन ।

गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । “रातिको बाढीले बगाएको स्थानमा डाइभर्सन बनाउन सुरु गरेका थियौँ, निरन्तरको वर्षाका कारण शनिबार साँझसम्म सवारीसाधन सञ्चालन गराउने प्रयास असफ भयो”, योगेशले भन्नुभयो । उहाँका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको छ ।

रोशी खोलाको बाढीको सतह घट्न थालेपछि शनिबार बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने तथा डाइभर्सन बनाउन सुरु गरिएको थियो । रोशी खोलामा आएको बाढीले बगाएर शुक्रबार राति ९ः०० बजे उक्त राजमार्गमा कार्यरत रोशी गाउँपालिका–७ निबासी अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार उक्त कार्यालयका सुपरभाइजर मृतक तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन बिपी राजमार्गमा समेत काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ । यस्तै सोही समयमा चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेकामध्ये सात जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको छ ।

यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधन ‘होल्ड’ गरेको थियो । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ¬ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन ‘होल्ड’ गराइएको थियो ।

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३३ पैसा र बिक्रीदर २३ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८४ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो । “उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उहाँले भन्नुभयो ।

अस्पतालका प्रवक्ता डा सेढार्इंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताउनुभयो ।

अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम। हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् ।

इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उहाँका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।

फरक क्ष्मता (अपाङ्गता) हुनुभएका लिम्बू स्पष्टसँग बोल्न सक्नुहुँदैन । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उहाँ श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आउनुभएको छ । “हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ”, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भन्नुभयो, “यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।”

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उहाँको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उहाँले गुजारा चलाउँदै आउनुभएको छ । सीमित आम्दानीबीच पनि उहाँले एउटा गाई, केही बाख्रा र सुङ्गुर पाल्नुभएको छ । “त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ”, कृष्णबहादुरले भन्नुभयो ।

उहाँका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राख्नुभएको छ । अहिले कक्षा छमा पढ्दै गरेकी नौ वर्षीया कान्छी छोरी उहाँसँग छिन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उहाँको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उहाँ यही कुरा दोहो¥याउँनुहुन्छ ‘घर बनाउनु छ ।’ उहाँको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।

यसैबीच उहाँको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गर्नुभएको छ । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।

“हालसम्म करिब रु तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो”, जबेगुले भन्नुभयो, “कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।” कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जीवनभर सङ्घर्षमा बिताउनुभएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उहाँले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भन्नुभयो, “गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।”

नेपालबाट प्रत्येक वर्ष तीन करोड जोर जुत्ता विदेश निर्यात

काठमाडौँ । नेपालबाट प्रत्येक वर्ष तीन करोड जोरजुत्ता विदेश निर्यात हुँदै आएको छ । जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले आज एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए ।

‘नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोरजुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोरजुत्ता निर्यात हुँदै आएको छ’, उनले भने । आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको सङ्घले जनाएको छ ।

स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहको सङ्घले यही चैत २९ र ३० गते काठमाडौँमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत कार्यसमितिको सदस्यमा सङ्घका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ । मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक सङ्घले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुनाका साथै जुत्ता निर्यातमार्फत वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आइएको सङ्घका महासचिव भट्टराईले बताए । जुत्ता उत्पादन र निर्यातका क्रममा देखिएका समस्यालाई नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत समाधान र खबरदारी गर्नका लागि अध्यक्ष बन्जाडेलाई महासङ्घको सदस्यमा आफूहरूले अघि सारेको उनले उल्लेख गरे ।

नेपाली जुत्ता उद्योगको विकास, संवर्द्धन र नेपाली जुत्ताको बजार प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको जनाउँदै सङ्घले राखेको लक्ष्यलाई प्राप्त गर्न महासङ्घमा अध्यक्षको सशक्त प्रतिनिधित्व हुनु जरुरी रहेको महासचिव भट्टराईले बताए ।

जनताले तत्काल अनुभूति गर्ने काम गर्न कर्मचारीलाई मन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरेका हुन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, ‘देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन् । त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।’

उहाँले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए । ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्‍यो । कुनै पनि विवादित कामहरू हुनुभएन’, मन्त्री डा तिमिल्सिनाले भने, ‘सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’

उनले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले ‘डिजिटल डिभाईड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो औँल्याए । तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिन सकिने कामको कार्ययोजना तयार पार्न पनि उनले निर्देशन दिए ।

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ, १४ चैतः प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद । हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु ।”

त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद । म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan भनिएको छ ।

यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद । हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भन्नुभएको छ ।
रासस

आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ। आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको बताउनुभयो । काठमाडौँमा पनि आज साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उहाँले २५ भन्दा बढी वर्षा मापन केन्द्रमा आज २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिनुभयो ।

विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिनुभयो । वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उहाँको भनाइ छ ।

विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । विभगाले आज साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

त्यसपछि विस्तारै वर्षा कम हुँदै जाने छ । तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उहाँले बताउनुभयो । हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।

काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ। काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ

चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरी नगरपालिका–१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा आज राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ। शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको युएईमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको बताएपछि युक्रेनले यसको खण्डन गरेको छ ।

इरानी सेनाले यसअघि युएइमा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा क्षति पुर्याएको दावी गरेको थियो । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले भन्नुभयो, “यो झुट हो, हामी यो सूचनाको आधिकारिक रूपमा खण्डन गर्छौं ।”

युक्रेनले युद्धमा रूसले प्रयोग गरेका इरानी डिजाइनबा ड्रोनहरूलाई आक्रमण गर्नबाट रोक्न ड्रोन प्रतिरक्षा प्रणाली विकास गरेको थियो । अहिले युद्धमा हतियार उपलब्ध गराएको युक्रेनको मुख्य सहयोगी अमेरिकालाई मध्यपूर्वमा सहयोग गर्न र खाडी मुलुकमा रहेका अमेरिकी सेनाको सुरक्षाका लागि ड्रोन प्रतिरोधी प्रणाली उपलब्ध गराएको इरानको दावी रहेको छ।

युक्रेनले अमेरिकी सेनाका आधार शिविर रहेका खाडी देशहरूमा सुरक्षाका लागि उक्त प्रणाली उपलब्ध गराउन त्यस क्षेत्रका युएई, साउदी अरब, कतारलगायतका देशलाई उक्त प्रणाली दिन सम्झौता गरेको समाचारहरू बाहिरिएका समय युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको दावी र यसको खण्डन आएका हुन् ।

इरानको केन्द्रीय सैन्य कमान्डले खातम अल–अनबियाले युएईको एउटा डिपो ध्वस्त पारेको बताएपछि युक्रेनी विदेशमन्त्रीले आफ्नो प्रणालीमा केही नभएको दावी गर्नुभएको हो ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

बागलुङ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो ।दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलकोसमेत सिकार गर्न अनुमति दिइएको छ ।

ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिइएकामा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार खेलेर फर्किएका जनाउँदै रेञ्जर सुवेदीले हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटन क्षेत्रमा सिकार खेल्न व्यस्त रहेका बताउनुभयो ।

“विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजश्व बुझाएर अनुमति लिन्छन् । दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसँग आवश्यक सामग्री व्यवस्थापनमा व्यस्त छन्”, रेञ्जर सुवेदीले भन्नुभयो । उहाँका अनुसार दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न अनुमति पाएका छन् ।

यस्तै ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालिमार्फत अमेरिका, बेल्जियम र फ्रान्सका नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमति पाएका छन् । नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्सका नागरिकले सिकार खेल्ने अनुमति पाएसँगै तयारीसहित नेपाल आउन लागेका रेञ्जर सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै ग्लोबल सफारिज प्रालिमार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले चार नाउर, दुई झारल र चार बनेलको सिकार गर्न अनुमति पाएका छन् भने हिमालयन सफारिज नेपाल प्रालिमार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बनेल सिकारको अनुमति पाएकामा एक नाउर र एक झारलको सिकार भइसकेको छ ।

ट्रेक एण्ड देलर्स प्रालिमार्फत स्पेनी नागरिकले एक झारल, एक नाउर र एक बनेल सिकारको अनुमति पाएका सुवेदीले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो सिकारयाममा रु तीन करोड तीन लाख राजस्व सङ्कलन भएकामा दोस्रो सिकारयामका लागि सिकारी आउनेक्रम जारी रहेकाले राजस्व सङ्कलनको काम भइरहेको छ ।

रेञ्जर सुवेदीले भन्नुभयो, “१४ नाउर, १० झारल र १३ बनेलको सिकार खेल्न विभागले अनुमति दिएकामा अहिलेसम्म एक नाउर र एक झारलको सिकार भइसकेको छ । अन्य केही सिकारी सिकार खेल्न व्यस्त छन् भने केही सिकारी नेपाल आउने क्रममा छन् ।”

पहिलो सिकार याममा एउटै नाउरबाट रु १९ लाख र झारलबाट १८ लाखसम्म राजस्व सङ्कलन भएको जनाउँदै उहाँले दोस्रो यामका लागि कम मूल्यमा सिकार अनुमति दिइए पनि सिकारी आउनेक्रम जारी रहेकाले सिकारयाम सकिएपछि मात्रै राजस्व सङ्कलनको वास्तविक विवरण आउने बताउनुभयो ।

सिकारी बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो सातादेखि नेपाल आउन थालेका छन् । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् । सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका रेञ्जर सुवेदीले बताउनुभयो । उहाँका अनुसार विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गरी अनुमति दिने गर्दछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकारयाम असोज-मङ्सिर र दोस्रो सिकारयाम फागुन-वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ । “विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमा बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्दछ । नाउर र झारलको मूल्य, ब्लकको अग्रिम भुक्तानी, अनुपति (लाइसेन्स), हेलिकप्टरलगायत बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीको करिब रु ३० देखि रु ३५ लाखसम्म खर्च हुने गरेको रेञ्जर सुवेदीले जानकारी दिनुभयो ।

विदेशी तथा आर्थिक अवस्था सबल भएकाको रोजाइमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले भने पाएका छैनन् । सिकार आरक्षको सुरक्षा विसं २०७३ देखि नेपाली सेनाले गर्दै आएको छ । विंस २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ भने यसको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ ।

पाकिस्तानी मध्यस्थताको इरानी राष्ट्रपतिद्वारा प्रशंसा

तेहरान। इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि पाकिस्तानले गरेको मध्यस्थताको शनिबार प्रशंसा गर्नुभएको छ।पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको कुराकानीमा पेजेश्कियानले इस्लामिक गणतन्त्र विरुद्धको आक्रमण रोक्नका लागि मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिनुभएको हो ।

साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू मध्यपूर्वको युद्धबारे वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका बेला यो फोनवार्ता भएको र मध्यस्थताका लागि आभार व्यक्त भएको हो ।यसअघि, इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको थियो । जवाफ दिएपछि इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहने बताएको थियो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन ।

अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत बुधबार राति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै तस्निमले जनाएको थियो ।

इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ। पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ ।

एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित

काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताले देशभर आन्दोलन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो ।

भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसैक्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका पवन भट्टराईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । भट्टराईका अनुसार एक जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।सुरक्षामा खटिएका प्रहरीहरुले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए । प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै नेपाली कांग्रेस सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन छानबिन हुनुपर्ने पक्षमा दृढ रहँदै आएको बताए ।

उनले भने, ‘२०८२ साल भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो । त्यसैगरी भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दुवै दिनका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो ।’

प्रवक्ता चालिसेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक नभएको र सरकारले विधिसम्मत ढंगले सार्वजनिक नगरेको आरोप लगाए ।

उनले भने, ‘प्रतिवेदनमा भदौ २४ गतेका घटनाबारे पूर्ण छानबिन गर्न नभ्याएको उल्लेख छ भने त्यो एकपक्षीय र अपूर्ण देखिन्छ ।’चालिसेका अनुसार चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगका सिफारिसमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । तर एउटै प्रतिवेदनको सिफारिसमा सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेसको भनाई छ ।

उनले भने, ‘भदौ २३ गतेको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिसमा पनि सरकारको व्यवहार फरक देखिन्छ, जुन गलत हो । भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ ।’उनले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टीको समर्थन रहने स्पष्ट पारे । तर उनले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत : लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् ।शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत भएको दाबी गरे ।

उनले भने, ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको सुरुआत गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौँ, कानुनी उपचारको पक्षमा जान्छौँ । राजनीतिक पार्टी र राजनीतिक पार्टीको नेता नेकपा (एमाले)को अध्यक्ष र नेपाली कांग्रेसको पूर्वगृहमन्त्री समेत एकैचोटि पक्राउ जुन गरिएको छ, यो प्रतिशोधको राजनीतिको सुरुआत गरिएको हुनाले गर्दा यसको प्रतिवाद नेकपा (एमाले)ले गर्छ । नेपाली कांग्रेसले के गर्छ, अरू थाहा छैन ।’

उनले प्रतिशोधबाट सुशासन प्राप्त हुन नसक्ने उल्लेख गर्दै एमाले सँधै सुशासन र कानुनी उपचारको पक्षमा रहने बताए । साथै, उनले यस्तो कदमले राजनीतिक स्थायित्वभन्दा द्वन्द्व निम्त्याउने चेतावनी दिए ।

पण्डितले एमाले अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वगृहमन्त्रीलाई एकैपटक पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिशोधको उदाहरणका रूपमा व्याख्या गर्दै यसको प्रतिवाद गर्ने स्पष्ट पारे । उनले नेपाली कांग्रेसले के गर्ने भन्ने विषय उक्त पार्टीकै निर्णयमा निर्भर रहने पनि बताए ।

कानूनी राज्य र बिधिको शासनको उपहास भयो :योगेश भट्टराई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने बताएका छन् । उनले सामाजिक सामाजिक संञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाएका छन् ।

उनले यस्तो लेखेका छन् ।

लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनु पर्दछ ।प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ ।

हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।

जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस, सरकारको ध्यानाकर्षण गर्दछु ।हाम्रो पार्टीले कानूनी र राजनीतिकबाटो लिनु पर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ ।

पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनीसमेत दिइएको छ ।

एमालेका अनुसार भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद विघटन गर्दै गैर संवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोग गठन गरेको दाबी गरिएको छ । सोही आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पार्टी अध्यक्षसहित नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भएको एमालेको निष्कर्ष छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न, प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न सरकारसँग माग गरिएको छ ।

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक। शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ । उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ ।

यसैबीच शुक्रबार साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी (खहरेखोलामा पानीको बहाव उच्च रहको)ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताउनुभयो ।

धाँजूका अनुसार शुक्रबार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भएको थियो । गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।

यसैबीच वर्षाका कारण विपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले जानकारी दिनुभयो ।

ओली र लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले भने-  बालेन युगमा जान्छ भन्थे-ब्याकहोलतिर जाने देखियो

पूर्वप्रधानमन्त्री केशी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले लेखेका छन् – बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।

पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।

ओली र लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ – महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्तेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताउका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।

बालेन सरकारद्वारा सुधन गुरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।

सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दु:ख लाग्छ।

प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ।

ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ ।एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् ।बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामुयीक बिसयमा छलफल गर्ने उनले बताए ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

त्रिवेणी (नवलपरासी), १४ चैतः नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो ।

दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाई

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त अधिराज्य बेलायतले बधाई दिएको छ । यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गरेको हो ।

नेपालसँग बेलायतको मित्रता अब आधुनिक साझेदारीतर्फ रूपान्तरण भइरहेको र यसले वर्तमान आवश्यकताहरू आर्थिक वृद्धि, युवा रोजगारी, तथा जलवायु उत्थानशीलतामा केन्द्रित रहेको दूतावासले उल्लेख गरेको छ ।नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दै जाँदा, यी तथा अन्य क्षेत्रमा सहकार्य गर्न उत्सुक रहेको दूतावासको भनाइ छ ।

गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् ।ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।