`

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

म्याग्दी, २३ भदौः म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ ।

तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिनुभयो । “प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,” उहाँले भन्नुभयो “खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।”ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताउनुभयो ।

यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिनुभयो । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्वाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताउनुभयो ।

“खानी उत्खनन भयो भने पुस्तौँअघिदेखि बसोबास गर्दै आएको थातथलो छोड्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो “उत्खनन अघि बस्ती स्थानान्तरण र रोजगारीको अवसरमा प्रभावितलाई प्राथमिकता दिनुपर्छ ।”स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका– ४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् ।

खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।

यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई

काठमाडौं । एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए भने मोहम्मद नवाजले २५ र कप्तान सलमान आगाले २४ रनको योगदान दिए ।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ पूर्णरूपमा धराशायी भयो । अफगानी टोली १५.५ ओभरमै जम्मा ६६ रनमा समेटिएको हो । कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानको जितमा अलराउन्डर मोहम्मद नवाज नायक बने । उनले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चेर पाँच विकेट लिए । अब्रार अहमद र सुफियान मुकिमले दुई–दुई विकेट हात पार्दै नवाजलाई बलिङमा साथ दिए ।

अफगानिस्तानका लागि बलिङतर्फ कप्तान राशिद खानले तीन विकेट लिए भने फजलहक फारुकी र नुर अहमदले दुई–दुई विकेट लिए ।
सिरिजको समूह चरणमा पाकिस्तान र अफगानिस्तानले समान तीन–तीन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए ।

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

भादगाउँ, २३ भदौः मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।

यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

दुवै जात्राको आ–आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ््याएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।

साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडाँैंको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहनुभएको थियो ।

बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर । वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गर्नुभयो । वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन । केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए । त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पु¥याए । त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकार्नुभयो । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडिदिनुभयो ।

कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिनुभयो । त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाउनुभयो । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गर्नुभयोे । त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्कनुभयो । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए ।

वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गर्नुभयो । त्यसपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गर्नुभयो । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गर्नुभएको हो । त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुग्नुभएको थियो । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गर्नुभएको थियो ।

दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए । वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए । वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए । भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११.३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुग्नुभयो । दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उहाँ भक्तपुरको नवदुर्गा द्योछें पुग्नुभयो । त्यहाँ नवदुर्गाको दर्शन गरी पुनः दत्तात्रय, सुकुलढोका हुँदैँ उहाँ टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुग्नुभयो ।

टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो ।

बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बस्नुभएको थियो । पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिनुभयो र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटोे राखेपछि जात्रा सम्पन्न भयो । वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो । उहाँले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाउनुभएको हो । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उहाँ जिब्रो छेडाउन तयार हुनुभएको हो । उहाँले दोस्रो पटक २०७९ मा जिब्रो छेडाउनुभएको थियो, भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको हो ।

विसं २०८० मा भने मध्यपुर थिमि–५ का बालकराम नानिचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । थिमिको इतिहास, परम्परा र संस्कृतिलाई जीवन्त राख्न आफूले जिब्रो छेड्न तयार भएको वीरेन्द्रभक्तले बताउनुभयो । “मध्यपुर थिमि जीवन्त कला संस्कृतिको धरोहर हो । यहाँको यही धरोहरलाई विश्वसामु चिनाउन जिब्रो छेडाउन तयार भएको हुँ । यसले मध्यपुरथिमिको पहिचान दिलाउन सफल हुन्छ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । उहाँले गतवर्ष पशुपतिनाथको दर्शन गरेको र यसवर्ष दत्तात्रय र नवदुर्गाको दर्शन गर्ने इच्छाभएकाले भक्तपुर गएको बताउनुभयो ।
यो जात्राको इतिहासमा दिगुलीमा जिब्रो छेडेर बालकुमारीमा आइ सम्पन्न भएको र जिब्रो छेडेर काभ्रे पनौती, भक्तपुरको चाँगुनारायण मन्दिर र पश्चिममा पशुपतिनाथ मन्दिरसम्मको यात्रा गरेको इतिहास भए पनि दत्तात्रय र नवदुर्गा मन्दिरको दर्शन गरी भक्तपुर नगरपरिक्रमा गरेको इतिहासमा पहिलो भएको पमानायो श्यामकाजी श्रेष्ठले बताउनुभयो ।

‘जात्रालाई पर्यटन प्रवद्र्धनसंग जोड्न आग्रह ’

पहिलो पटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुर थिमिको दिगुली पुग्नुभएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जात्रा अत्यन्त मौलिक र अलौकिक पाएको बताउनुभयो । उहाँले जिब्रो छेडाउनु नै साहसी कार्य भएको जनाउँदै यस्तो साहसी कार्यलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि र जात्रा व्यवस्थापन समिति यस्तो जात्रालाई पर्यटनसँग जोडेर लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले अन्यत्र कहीँ पनि नभएको अलौकिक जिब्रो छेड्ने जात्रा नेपालको मौलिक संस्कृतिमध्ये एक भएको बताउँदै यसको संरक्षण, प्रवद्र्धन र निरन्तरताको लागि बागमती प्रदेश सरकारले प्रत्येक वर्ष रु दुई लाख दिने निर्णय गरेको जानकारी गराउनुभयो ।

जात्रा अवलोकन गर्न प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीसमेत मध्यपुरथिमि आउनुभएको थियो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गत वर्ष पशुपति पुग्नुभएका वीरेन्द्रभक्तले यसवर्ष भक्तपुर नगरपरिक्रमा गरेर यो जात्राको प्रचारप्रसारका लागि ठूलो योगदान दिनुका साथै ऐतिहासिक कार्य गरेको बताउनुभयो ।
दिनभरी मौन व्रत लिई, जिब्रो छेडेर ४० किलो भन्दा बढी वजनको भ्ये बोकेर घण्टौँसम्म खाली खुट्टा पैदल हिँड्नु आफैंँमा साहसी कार्य भएको र एउटा दैवीशक्ति नै भएको उहाँले बताउनुभयो । उहाँले वीरेन्द्रभक्त जस्ता साहसी युवाहरुको प्रेरणाले अन्य युवा पनि जात्रालाई निरन्तरता दिन तयार हुने विश्वास व्यक्त गर्दै जात्राको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यो जात्रा मध्यपुरथिमिको मौलिक सम्पदा भएको बताउँदै यसलाई पर्यटनसँग जोडेर लैजाने प्रयास नगरपालिकाले गरिरहेको बताउनुभयो । यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिब्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको जनाउँदै भागेको जनश्रुति रहेको छ ।

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।

जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन् ।

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो ( तस्बिर )

काठमाडौँ, २३ भदौ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उहाँले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

चिनाईदै जैमिनी ऋषिको तपोभूमि,धाममा धमाधम पूर्वाधार निर्माण

गलकोट ९बागलुङ०, २३ भदौः बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धाममा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकारको सहयोग तथा पालिकाको लगानीमा जैमिनीधामको महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ ।नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रर्वद्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको मूर्ति निण गरिएको छ ।

जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापनमा दाता विक्रम पाण्डेका लगानीमा झण्डै रु २० लाख खर्चेर जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ । कालीगण्डकी करिडोर कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सामाजिक उत्तरदायित्व अनुसार करिडोरको छेउमै रहेको जैमिनी धाममा जैमिनी ऋषिको मूर्ति निर्माण गरेको हो ।

जैमिनी–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा जग्गा व्यवस्थापन, १०८ धारा निर्माण, ध्यान पार्क निर्माणका लागि जग्गा व्यवस्थापन लगायतको काम भइरहेको र अहिले नगरपालिका र निर्माण कम्पनीका सहकार्यमा जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनी धामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारको काम भइरहेको सन्र्दभमा जैमिनी ऋषि चिनाउनका लागि पहिला मूर्ति निर्माण गरिरहेकोे उहाँको भनाइ छ । उहाँले जग्गा छनोट, जग्गा व्यवस्थापन नगरपालिकाले गरेको र मूर्ति निर्माणको काम निर्माण कम्पनीले गरेको जानकारी दिनुभयो ।

मूर्ति ६ फिट भन्दा अग्लो र चार फिट चौडा रहेको छ । ऐतिहासिक धार्मिकस्थललाई चिनाउन मूर्तिले ठूलो भूमिका खेल्ने छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्र भएसँगै जैमिनीधामको महत्व बढेको र सडकबाटै देखिनेगरी मूर्ति निर्माण गरिएको हो ।

राजमार्गमा गुड्ने सवारीधानमा हिँडेका पर्यटक जैमिनी धाम दर्शनका लागि पुग्न थालेपछि पूर्वाधार निर्माणमा समेत नगरपालिकाले जोड दिएको हो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिइएको बताउदै उपप्रमुख शर्माले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाखबाट ध्यान केन्द्रका लागि पूर्वाधार निर्माणको थालनी, १०८ धारा लगायतका संरचना तयार गरिएको बताउनुभयो ।

पूर्णकदको मूर्तिले जैमिनी ऋषिको महत्व बढाउने शर्माको भनाइ छ । नगरपालिकाले निर्माण गरेको जैमिनी ऋषिको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा जैमिनी धामको पुनःनिर्माण, शङ्कशिला, देव शिला र नाग शिला र जैमिनी ऋषिले तपस्या गरेको गुफा संरक्षण लगायतका पूर्वाधार निर्माण गर्ने उल्लेख अनुसार काम थालिएको छ । जैमिनीधामा पूर्वाधार निर्माण गर्न डिपिआर अनुसार झण्डै रु १४ करोड खर्च लाग्ने अनुमान छ ।

स्वास्थ्य बिमा नेपालको स्वास्थ्य सेवाको कोसेढुङ्गाः अध्यक्ष थापा

गण्डकी- स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बिमा नेपालको स्वास्थ्य सेवाको कोसेढुङ्गा बन्ने बताउनुभएको छ ।स्वास्थ्य बिमा बोेर्डद्वारा पोखरामा आयोजित दर्ता अधिकारीहरूका लागि पुनःताजगी तालिम तथा स्वास्थ्य बिमाको गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष थापाले आम सर्वसाधारणको स्वास्थ्य सेवामा सहज पहुँचकै लक्ष्यका साथ यो कार्यक्रम अघि बढेको बताउनुुभयो । स्वास्थ्य बिमालाई व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै विभिन्न व्यवस्था गर्दै बोर्ड अघि बढेको उहाँले बताउनुभयो । सबै स्थानीय तहमा प्रथम सेवा विन्दु पु¥याउने लक्ष्यका साथ बोर्ड अघि बढेको जिकिर गर्दै अध्यक्ष थापाले बिमित भइसकेको तीन महिनापछि मात्रै सेवा पाउने अवस्थाको अन्त्य गर्दै एक महिनापछि नै सेवा पाउने गरी व्यवस्था गरिएको बताउनुुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले सरकारको पहिलो प्राथमिकताको कार्यक्रमका रुपमा स्वास्थ्य बिमा रहेको बताउनुुभयो । विश्वका १५० जति मुलुकमा स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले नेपालमा यो कार्यक्रम सुरु भएको १० वर्षे अवधिमा राम्रो उपलब्धि हासिल भएको बताउनुभयो । विद्यम।न जटिलता, समस्याको समाधान गर्दै केही वर्षमा नै यसलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउँदै राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा यसलाई अघि बढाइने उहाँले बताउनुुभयो ।

स्वास्थ्य बिमा बोर्डका सदस्य रामकुमार पोमु लिम्बूले बोर्ड स्थापनाको थोरै समयावधिमा धेरै काम भएका जिकिर गर्नुभयो । स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले गण्डकीमा बिमाप्रतिको आकर्षण बढ्दो अवस्थामा रहेको जानकारी दिनुुभयो । गण्डकीमा कुल बिमितको सङ्ख्या १२ लाख ९४ हजार ५०६ जना रहेको उहाँले बताउनुुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, बोर्डका लेखा उपसचिव पदमप्रसाद पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली, डा सलोजा पोखरेल, स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश समन्वय समितिका सदस्यसचिव डा रमेश केसी, गण्डकी मेडिकल कलेजका डा टुमाया घले, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनालगायतले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुुभयो ।

सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा

गण्डकी-पोखरास्थित हिमालय आँखा अस्पतालमा ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका चार बिरामी उपचाररत छन् । उनीहरु पछिल्लो एक सातामा अस्पताल भर्ना भएका हुन् ।

आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको अस्पतालका स्वास्थ्य निर्देशक डा बबिता गुरुङले जानकारी दिनुभयो । एक बिरामी सामान्य उपचारपछि निको हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

“सापू रोगको जोखिम बढेको छ, गत सातायता दैनिक जसो सापूका बिरामी अस्पताल आउन थालेका छन्”, डा गुरुङले भन्नुभयो, “वर्षापछिको मौसममा सापूको सङ्क्रमण फैलने हुँदा विशेष सावधानी अपनाउनुपर्छ ।” असोजदेखि मङ्सिरसम्म सापूको सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमण दर बढ्दै जाने उहाँले बताउनुभयो ।

पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापू रोग भेटिएको थियो । नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको डा गुरुङले बताउनुभयो । “दुई वर्षको अन्तरमा यो रोग देखिने गरेको छ, सन् २०२३ पछि अहिले आएर सङ्क्रमण पुष्टि भएको हो”, उहाँले भन्नुभयो, “सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।”

बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट सापू रोग लाग्ने गरेको डा गुरुङले बताउनुभयो । “सापू रोगको सङ्क्रमण भएको २४ घण्टाभित्र उपचार नभए आँखाको दृष्टि नै गुम्न सक्छ, लक्षण देखिएमा जतिसक्दो चाँडो उपचार सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो रोग लाग्दा धेरै दुःखाइ नहुने र आँखा रातो मात्र हुने गर्छ, यसले एउटा मात्र आँखामा असर गर्छ ।” सापू रोग लाग्नुको यकिन कारण अझै पत्ता नलागेको उल्लेख गर्दै डा गुरुङले बिरामीको रगतबाट वंशाणुगत अध्ययन गर्ने तयारी भइरहेको बताउनुभयो ।

अहिलेसम्मको अध्ययनले सेतो पुतलीको रौँ र झुस आँखामा पुग्दा सापूको सङ्क्रमण हुने गरेको पाइएको छ । यो रोगबाट जोगिन सेतो पुतलीको सम्पर्कमा नजान, साँझपख बालबालिकालाई बाहिर खेल्न दिन नहुने, रातिमा धेरै उज्यालो बत्ती नबाल्ने, सुत्दा झुल ओढेर सुत्न डा गुरुङको सुझाव छ । सापूको सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुनेजस्ता लक्षण देखिन्छन ।

जटिल अवस्थाका बिरामीलाई सुइ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको डा गुरुङले बताउनुभयो । सापू रोग समुदायमा फैलन नदिन स्वास्थ्य सजगता अपनाउनुपर्ने उहाँको भनाइ छ । सापूका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क रहेको अस्पतालले जनाएको छ । बेलैमा उपचार भएमा सापू निको हुने डा गुरुङले बताउनुभयो । वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा सापूको सङ्क्रमण फैलने गरेको छ ।

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै

काठमाडौँ, २३ भदौः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २३ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १२ पैसा र बिक्रीदर २२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

काठमाडौँ, २३ भदौः सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस हुने र तत्काल नतिजा देखिने गरी सबै तहका सरकारी निकायबाट नागरिकलाई सेवा प्रवाहको उचित प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ ।

उक्त बैठकमा मुख्यसचिव अर्यालले राज्यको उपस्थिति देखिने गरी बजार अनुगमन तथा यातायात सञ्चालनलाई सहज बनाउने गरी गम्भीरताका साथ काम गर्न सम्बद्ध सबै पदाधिकारीलाई निर्देशन दिनुभयो ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत काठमाडौँ उपत्यका तथा उपत्यका बाहिर उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनताका गुनासो सङ्कलनका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने र प्राप्त भएका गुनासोको तत्काल सम्बोधन गर्ने निर्णय भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मासुलगायतका खाद्य सामग्रीको नमूना सङ्कलन, परीक्षण र आवश्यक नियमन प्रभावकारी तवरले गर्ने र यस प्रयोजनका लागि मोबाइल भ्यानसमेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय गर्ने बैठकको निर्णय छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आमनागरिकको यात्रालाई सुरक्षित तथा व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीमार्फत चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको लामो दूरीको रुट परमिटको व्यवस्था, भाडादर, यात्रुसीट क्षमताका आधारमा अनलाइन प्रणालीसमेतबाट टिकट बुकिङको व्यवस्था गरिने छ ।

सडक विभागले सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने, विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक आगामी असोज १० गतेभित्र पुनःसञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सञ्चालन गर्ने समयावधिर उडान सङ्ख्या वृद्धि गर्न रूपमा अस्वाभाविक हवाई यात्राको भाडादरको वृद्धि हुन नदिन आवश्यक नियमन र सहजीकरण गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले समाजमा अमर्यादित र अवान्छित गतिविधि हुन नदिई भयरहीत वातावरण र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने भनिएको छ ।

प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चौपायामा फैलिएको लम्पीस्कीन रोग नियन्त्रणको उचित व्यवस्था मिलाइने छ । आन्तरिक राजस्व विभागले राजस्व छली नियन्त्रण गर्न वस्तु तथा सेवा बिक्री भएकै अवस्थामा वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी गर्न लगाउने, सो प्रयोजनका लागि बजार अनुगमनलाई सघन बनाइने भएको छ । राजस्व अनुसन्धान विभागले वस्तु तथा सेवाको अनौपचारिक कारोबारबाट हुनसक्ने राजस्व छली रूपमा गैरकानूनी कारोबार कडाइका साथ नियन्त्रण गर्न अनुगमन र निगरानीलाई सघन बनाउने बैठकको निर्णय छ ।

साथै बैठकका निर्णय कार्यान्वयनको प्रगति पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।

नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो ।

इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौं घाइते

इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधिकारी मोहमद आदम हमदानीले जानकारी दिनुभएको हो ।

उक्त भवनमा करिब सय जना मानिस, मुख्यतः महिला, पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा कुरान पाठका लागि भेला भएका थिए । सोही समयमा भवन अकस्मात् ढलेको बताइएको छ ।
“प्रारम्भिक विवरण अनुसार ८४ जनाको उपचार भइरहेको छ र ३ जनाको ज्यान गएको पुष्टि भएको छ,” अधिकारी आदमले बताउनुभयो ।

उहाँका अनुसार भवन सामुदायिक सभा तथा धार्मिक कार्यक्रमको लागि प्रयोग गरिन्थ्यो । अत्यधिक भिडका कारण भवनको संरचना कमजोर भएर भत्किएको अनुमान गरिएको छ ।
“शायद भवनको संरचना बलियो थिएन, तर मानिसहरू अत्यन्त उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए,” उहाँले भन्नुभयो ।

भवन भित्र रहेका सबै व्यक्तिको खोजी सकिएको बताइएको छ । अधिकांश घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको र उनीहरू सामान्य चोटपटकबाट प्रभावित भएको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा वर्षा भएको थिएन र कुनै भूक्षय (पहिरो) को लक्षण पनि देखिएको थिएन ।

इन्डोनेसियामा कमजोर निर्माण मापदण्डका कारण भवन दुर्घटनाको समस्या बारम्बार उठ्दै आएको छ । सन् २०२२ मा दक्षिण कालिमन्तानमा तीन तल्ले पसल भवन ढल्दा पाँच जनाको मृत्यु भएको थियो । त्यसअघि पनि जाकार्तामा पाँच तल्ले भवनको एक भाग भत्किँदा दुई जना घाइते भएका थिए ।

सन् २०१८ मा जाकार्ताको पूर्वी क्षेत्रमा रहेको चिरेबोनमा संगीत अभ्यास गरिरहेका किशोरकिशोरीसहित ७ जनाको ज्यान गएको थियो । सोही वर्ष जाकार्तामा रहेको सेयर बजार भवनको माथिल्लो तलाको भाग खस्दा ७५ जना घाइते भएका थिए ।

बर्सौंपछि ऐलानी जग्गाको धनी पुर्जा पाउने आशा

सुदूरपश्चिम, २४ भदौः धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरीलाई आफूले अढाइ दशकदेखि भोगचलन गरेको ऐलानी जग्गाको धनी पुर्जा पाउने आशा जागेको छ ।

भूमि समस्या समाधान आयोगको पहलमा वडा कार्यालयले जग्गा दर्ता गर्न आवेदन फाराम भरेकाहरूका लागि दाबीविरोधसम्बन्धी सूचना जारी गरेपछि उहाँलाई जग्गा पाउने आशा जागेको हो ।

अन्दाजी दुई कट्ठा ऐलानी जग्गामा बसोबास गर्दै आउनुभएका उहाँले यसअघि पटक पटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए पनि धनीपुर्जा पाउन सक्नुभएको छैन । “अढाइ दशकदेखि यही बसेका छौँ, कुनै सरकारले चासो लिएन”, उहाँले भन्नुभयो, “हाल भूमि आयोग र वडा कार्यालयले धनीपुर्जा दिने प्रक्रिया अघि बढाउँदा काम हुने आशा जागेको छ ।”

स्थानीय मीनबहादुर कुँवर पनि दशकौँपछि अब भने ऐलानी जग्गामा बसोबास गरेका परिवारका साथै भूमिहीनहरूले जग्गा पाउने विश्वास बढेको बताउनुहुन्छ । “सहरी क्षेत्रमा रहेका नगर विकास समितिले हालसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने भनेर आश्वासन मात्रै दिए”, उहाँले भन्नुभयो, “सहरी क्षेत्रकै ग्रामीण वडालगायत बस्तीका नागरिक पनि धनीपुर्जाबाट वञ्चित भइरहेका छन् ।”

यहाँका पालिका र आयोगको संयुक्त पहलमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्य यसअघि नै भइसकेको छ । स्थानीय देवराज पण्डेय भने अझै पनि जग्गा दर्ता हुने नहुनेमा शङ्का व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “लालपुर्जा बने वर्षौंदेखि जग्गा दर्ता नभएर पीडित बनेकाहरूलाई ठूलो राहत महसुस हुन्थ्यो ।”

ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गरिरहेकाहरू जग्गा दर्ता हुनेमा खुसी छन् । सँगसँगै र्ता गर्दा लिइने राजस्व रकम कसरी जुटाउने भन्ने चिन्तामा पनि छन् । लगत सङ्कलनसम्बन्धी आयोगको कार्यविधिमा बस्तीको तहगत क्षेत्र निर्धारण गर्नुपर्ने उल्लेख छ । उक्त कार्यविधिअनुसार धनगढी उपमहानगर क्षेत्रमा अधिकांश वडाका बस्तीको सहरी क्षेत्र, सहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्र गरी तीन तहको क्षेत्र निर्धारण भइसकेको छ ।

जग्गाको सरकारी मूल्याङ्कनको आधारमा पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्न लागिएको छ । मूल्याङ्कनको पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय बताउनुहुन्छ ।

“विपन्न परिवार नै ऐलानी जग्गामा बसोबास गर्ने भएकाले पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्नुपर्छ भन्नेमा आफूले केन्द्रमा धेरै मेहनत गर्नुप¥यो”, उहाँले भन्नुभयो, “आफूहरूको सुझावबमोजिम न्यूनतम् राजस्व लिइए वर्षौंदेखि जग्गा दर्ता नभएर पीडित बनेकाहरू लाभान्वित हुने देखिन्छ ।”

आयोग र स्थानीय निकायबीच भएको सम्झौताबमोजिम भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत अधिकांश स्थानीय तहले पहिले नै सङ्कलन गरिसकेका छन् ।

आयोगका अध्यक्ष उपाध्यायले जिल्लाभर यस्तो जनसङ्ख्या एक लाख ४० हजार ३५८ रहेको जानकारी दिनुभयो । यहाँ ऐलानी जग्गामा बसोबास गर्ने अव्यवस्थित बसोबासीलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने उपलब्ध भइरहेको छ । त्यसबाहेक जग्गा देखाएर अन्य कारोबार गर्न भने समस्या छ ।

छिटोछरितो र पारदर्शी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन

महेन्द्रनगर (धनुषा), २२ भदौः मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले राष्ट्रसेवक कर्मचारीलाई छिटोछरितो र पारदर्शी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

हित निजामती सेवा दिवसका अवसरमा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले कर्मचारी नै जनतासँग जोडिने सरकारको प्रतिनिधि भएकाले सेवाको प्रभावकारिताका लागि क्रियाशील हुन निर्देशन दिनुभयो ।

कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका यादवले जनताको आस्था, विश्वास र अपेक्षालाई पूरा गर्नेगरी सेवा प्रवाह गर्न प्रशासन अग्रसर हुनुपर्ने र त्यसमा आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मदन भुजेल, धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, उच्चपदस्थ अधिकारी, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न

गोदावरी (ललितपुर), २२ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महाधिवेशनमा तीनवटा दस्तावेज र सातवटा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएका थिए । ती समूहमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जङ्गली र उपत्यका, जनसङ्गठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिनुभएको थियो ।

प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताउनुभयोे ।

“जबज सिद्धान्त हो, मूल कानुन होइन । यो मार्गदर्शक सिद्धान्त हो, यसको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौँ । यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढ्नेछौँ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विधान संशोधनसम्बन्धी प्रस्तावबारे प्रष्ट पार्दै उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको र त्यो निन्दनीय भएको बताउनुभयो ।

उहाँले विधानको प्रस्तावनामा राखिएको नेपाली मौलिकता र विशेषतामा आधारित समाजवादबारे चर्चा गर्दै नेपालले अन्य मुलुकका समाजवादको नक्कल नगर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले पार्टी सही नीति, सक्षम तथा भरोसायोग्य नेतृत्वका साथ अगाडि बढिरहेको बताउँदै पार्टीका नीतिलाई राष्ट्रका नीतिमा अनुमोदित गर्न मिसन–२०८४ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । सोही उत्साह र आत्मविश्वासका साथ कार्यक्षेत्रमा फर्कन सहभागी प्रतिनिधिहरूलाई उहाँले आग्रह गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदनमाथि आएका सुझावका लागि धन्यवाद दिँदै जिज्ञासाबारे स्पष्ट पार्नुभयो । उहाँले जबजलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताउनुभयो । जबजले दिशानिर्देश गरेबमोजिम पार्टी निर्माणमा लोकतान्त्रिकरणको अगुवाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको महासचिव पोखरेलको भनाइ थियो ।

उहाँले पार्टी निर्माणको केन्द्रविन्दु मिसन २०८४ हुनुपर्ने र पार्टीलाई आगामी निर्वाचनमा एकल बहुमत दिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले राजनीतिक प्रतिवेदन पारित भएसँगै त्यसको आधार र प्राप्त सुझावअनुसार अन्य प्रतिवेदनहरू परिमार्जन र परिस्कृत गरिने स्पष्ट गर्नुभयो ।

यही भदौ २० देखि आजसम्म सञ्चालन भएको विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको थियो । एमालेले विसं २०७८ असोजमा सोही ठाउँमा पहिलो विधान महाधिवेशन सम्पन्न गरेको थियो । दोस्रो विधान महाधिवेशन सम्पन्नसँगै अब एमाले राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुनेछ ।

एमालेको विधान २०४९ (दशौँ राष्टिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । सोही धाराअनुसार विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनको बीचमा आयोजना गर्ने उल्लेख छ ।

स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।

आइतबार स्वास्थ्यमन्त्री पौडेलले कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका हुन् ।
यसैक्रममा बोल्दै पौडेलले हरेक वर्ष २५ सयका दरले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न सके यस वर्ष बाल कान्ति अस्पतालका २५० जना स्वास्थ्यकर्मीहरु आउनसक्ने बताए ।

उनले भने, ‘हामीले डाक्टर, नर्स, स्वास्थ्यकर्मि बाहेक केही राखेका छैनौ । पहिला स्वास्थ्य संस्थाहरु प्राविधिक स्वास्थ्यकर्मीहरुले भरिएको हुनुपर्छ । त्यसैले हामीले स्वास्थ्य प्राविधिकहरुको ५ वर्षसम्म हरेक वर्ष २५ सयका दरले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने प्रस्ताव गरेका छौ । त्यसमा यही वर्ष त्यो ओएनएम भयो भने २५० स्वास्थ्यकर्मीहरु कान्ति अस्पतालमा आउनसक्ने छ ।’

यस्तै उनले हरेक वर्ष २५ सयका दरले ओएनएम गरी ५ वर्षमा साढे १२ हजार प्राविधिक स्वास्थ्यकर्मीहरु पुग्ने पनि जानकारी दिए ।
साथै उनले कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रमा अस्थायीरुपमा काम गरिरहेका ७२ जना कर्मचारीहरुको विज्ञापन गरी छिट्टै पदपूर्ती गर्ने समेत बताए।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमौली (तनहुँ), २२ भदौः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले आज ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

‘त्रिवि क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना’ – प्रकाशमान सिंह

कीर्तिपुर (काठमाडौँ) – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना बन्न पुगेको बताउनुभएको छ ।

निमाणाधीन रङ्गशालाको प्रगति विवरण बुझ्न आज कीर्तिपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तोकिएको समयभन्दा केही बढी समय लागे पनि नमूना योजना बनेको बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अरु आयोजना समयावधिभन्दा दोब्बर, तेब्बर ढिलो बन्ने प्रवृत्ति हेर्दा यसमा धेरै ढिला भएको छैन । यद्यपि, ढिलाइ हुने प्रवृत्ति निरुत्साहित गर्न जरिवानाको प्रावधानलाई बिना मोलाहिजा लागू गरिएको छ । यो आयोजनाले हामीलाई उत्साहित बनाएको छ ।”

रङ्गशाला स्तरीकरणको पहिलो चरणअन्तर्गत प्यारापिट निर्माण सम्पन्न भएको र फ्लडलाईट जडान पनि अन्तिम चरणमा पुगेकाले केही दिनमै १० हजार दर्शकलाई खेल देखाउन सक्ने गरी रङ्गशाला तयार हुने उहाँको विश्वास थियो ।

उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीहरूले त्यहाँको कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएकै दिन पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालालाई ३०० दिनभित्र सबै सुविधायुक्त र रातिसमेत खेल्न मिल्ने गरी अन्तरराष्ट्रियस्तरको बनाउने निर्णय गरेको थियो ।

यसअन्तर्गत पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण र छ वटा फ्लडलाई जडान गर्ने योजना छ । दोस्रो चरणमा भने १५ हजार थप दर्शक अट्ने गरी प्यारापिट, ड्रेसिङ रूम, सञ्चार तथा विशिष्ट कक्षसमेत निर्माण हुने जनाइएको छ ।

एमाले निर्वाचन आयोगका अध्यक्षमा डा सुब्बा निर्वाचित

ललितपुर, २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा विजय सुब्बा पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाविधेशनले आयोगको अध्यक्षमा डा सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि पनि उहाँ अध्यक्ष रहनुभएको थियो ।

यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन् । आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन, मातहतका कमिटी र जनसङ्गठनको निर्वाचन गराउने छ ।

कर्तव्य ज्यान मुद्दामा फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

काठमाडौँ, २२ भदौः प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।

दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गर्छौंः प्रधानमन्त्री ओली

गोदावरी (ललितपुर), २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्न र जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेकाले तिनलाई क्रमशः कार्यान्वयन गर्दै जाने बताउनुभयो । “सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अगाडि बढ्नुपर्ने छ । अनेक प्रकारका बखेडा निकाल्नेभन्दा निष्कर्षमा पु¥याउने गरी काम हुन्छ । समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासको काम हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले धेरै कुरा राजनीतिक प्रस्तावमा सविस्तार उल्लेख गरिएको भन्दै परिपक्वताका साथ काम गरिने स्पष्ट पार्नुभयो । “प्राप्त सुझावलाई ध्यान दिएर काम गर्नेछौँ । वर्तमान संविधान निकै मिहेनत गरेर हामीले जारी गरेका हौँ । ३१ वटा मौलिक हकका लागि हामीले पैरवी गरेका हौँ । जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो । बाटो बनाउने बेलामा विरोध हुन्छ, बाटो बनिसकेपछि त्यो बाटोमा हिड्दिनँ भनेर कसैले भन्दैन, हामी देश, जनता र विकासको बाटोमा अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
राजनीतिक प्रतिवेदनमाथि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उहाँले एमालेमा हिजोको जस्तो परिस्थिति नरहेको र एमाले जवाफदेहिताको केन्द्र तथा प्रतिस्पर्धाको राजनीतिमा रहेको बताउनुभयो । “अहिले वामएकताको नारा दिइरहेका छन् । हिजो हामीलाई सिध्याउन भनेर हिँडेका हैन ? पार्टी खिइँदै गएर दुई चार जनामा सीमित भएकाहरूलाई फेरि एकताको नारा लगाइरहेका छन् । हामीले फर्मालिन हाल्न किन जानु”, उहाँले भन्नुभयो ।
एमालेसँग गौरवपूर्ण इतिहास, भरलाग्दो वर्तमान र आशालाग्दो भविष्य रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ‘पपुलिष्ट’ राजनीति गर्नेविरुद्ध किन बोल्न र लेख्न नसकेको भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो,“प्रदेश र स्थानीय तहमा रहेका हाम्रा साथीहरूले कुनै खोट नआउने गरी काम गर्नुपर्छ । हामी एउटा महान् उद्देश्यमा छौँ, त्यसैले यसमा दृढ भएर काम गरौँ ।”

उहाँले वितरणमुखी बजेटले देशको विकास नहुने भएकाले सबै क्षेत्रको विकासका लागि समुचित बजेट व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले चुरे दोहनका कारण वातावरणमा समस्या भएको भन्दै चुरे संरक्षणका लागि ठोस् राजनीतिक कदम आवश्यक रहेकाले यसका लागि नीति र कार्यक्रम बनाएर छुट्टै प्रबन्ध गरिने धारणा राख्नुभयो ।

उहाँले जनसरोकारका विषयमा महिलामाथि भइरहेका ज्यादति, युवाका चासो, किसानका माग, विद्यार्थीका आवश्यकताका विषयमा एमालेले अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सूचना प्रविधिको जमाना भएकाले त्यसको उपयोग गर्दै आम्दानी गरेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । “मानिसको मस्तिष्क अहिले उत्पादनको साधन भएको छ । प्रविधिसँगको पहुँच भएको व्यक्तिले विश्वस्तरमा व्यापार र उद्यम गर्नसक्छ । आज शारीरिक श्रमभन्दा मानसिक श्रम बलियो भएको छ, छोराछोरी पढाइदियो मात्रै भने पनि आज परिवार सम्पन्न हुन्छ । त्यसले समयलाई चिनेर काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो । “एमालेले दश वर्ष शासन गर्न पायो भने देशमा धेरै विकास हुन्छ । हामीकहाँ १० महिना पनि सरकार टिक्दैन, १० महिनामा त जग हालेको घर पनि पूरा भएको हुँदैन । अहिले भने मैले नै धेरै समय सरकार टिकाएको हो । त्यसैले जनसरोकारका पक्षमा काम गरौँ एमालेलाई कसैले बिर्सिंदैन”, उहाँले भन्नुभयो ।

जनसङ्गठनहरू जाग्दो र आशलाग्दो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले एमालेले आफ्नो शक्तिलाई पनि चिन्नुपर्ने बताउनुभयो । उहाँले एमालेको सदस्यता च्यातेर देखाउनेलाई फेरि सदस्यता दिनुपर्दैन भन्दै ‘बलत्कार गर्नु र एक थप्पड हान्नु उस्तै’ भन्नेका पछाडि दौडिनुभन्दा जनताको आवश्यकतामा ध्यान दिएर लाग्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले देशभित्र आर्थिक जागरण ल्याउन प्रवासी नेपालीलाई पनि ध्यान दिन अनुरोध गर्नुभयो ।

मोहना नदीमा झोलुङ्गे पुल बन्यो,ओहोरदोहोर गर्न सहज

कैलाली, २२ भदौः धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । उक्त झोलुङ्गे पुल बनेसँगै मोहना नदी ओहोरदोहोर गर्न सहज भएको छ ।

दुवै ठाउँलाई मोहना नदीले छुट्याएको छ । पुल निर्माण हुनुभन्दा अघि लामो समयसम्म राजघाटका स्थानीयलाई नदी ओहोरदोहोर गर्न समस्या थियो । राजघाटवासीका लागि दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा सँगै जोडिएको कैलालीको धनगढी बजार नजिक पर्दछ । उनीहरुले अधिकांश कामका लागि धनगढी नै धाउनुपर्ने हुन्छ । त्यसैले मोहना नदीमा झोलुङ्गे पुल अति आवश्यक बनेको थियो ।

झोलुङ्गे पुल निर्माणसँगै ओहोरदोहोर गर्न सहज भएको कृष्णपुर नगरपालिका–९ राजघाटकी पूर्ववडासदस्य एवं स्थानीय शारदादेवी चौधरीले राससलाई जानकारी दिनुभयो । “औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा पहिले वडा नं ८ मजगई भएर लामो दूरीको कष्टपूर्ण बाटोबाट धनगढी जाने गरेका थियौँ”, उहाँले भन्नुभयो ।

पुल निर्माणपछि घरायसी सामान किनमेलदेखि सबै कामका लागि सहज भएको स्थानीय पदम विकले बताउनुभयो । स्थानीय रेखा चौधरी वर्खामा नदीका कारण गाउँलेले समस्या झेल्दै आएका बताउनुहुन्छ ।

झोलुङ्गे पुल निर्माण गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजार ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले बताउनुभयो । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल निर्माण भएको हो ।

रसियाबाट युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार

युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागी समेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् ।
प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भन्नुभयो,“युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।”
प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको छ ।

युक्रेनको आपतकालीन सेवा विभागले राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् ।

उत्तरी गोरखामा किसान बगैँचाबाट धमाधम स्याउ टिप्दै बजार लैजाने तयारीमा

गोरखा, २२ भदौः उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरु स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिनुभयो । उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन् ।

“गाला स्याउ टिपिसकियो । अब गोल्डेन टिप्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको एक महिनामा फुजी स्याउ पनि टिप्ने बेला हुन्छ ।” यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “दुई ट्रक स्याउ काठमाडौँ पठाइसकेको छु । काठमाडौँमा बिक्री गर्न समस्या छैन ।”

चार वर्षअघि लगाइएको लामाको बगैँचामा यतिबेला १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्रान्डिङ गर्दैआउनुभएको छ ।

यसैगरी दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग हुनुहुन्छ । चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ । गाला जातको स्याउ टिप्ने बेला भइसकेको सञ्चालक लामाले बताउनुभयो । उहाँको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न थाल्ने उहाँले जानकारी दिनुभयो ।

लामाको बगैँचामा तीन वर्षदेखि स्याउ उत्पादन हुन थालेको हो । उहाँले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गर्नुभएको छ । लामाले गत वर्ष आठ हजार किलो स्याउ उत्पादन गर्नुभएको थियो । पहिलो वर्ष भने उहाँको बगैँचामा सात सय किलो मात्र स्याउ उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताउनुभयो ।

“यस वर्ष १० हजार किलो उत्पादन हुने अनुमान छ”, लामाले भन्नुभयो । ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरथोरै स्याउ उत्पादन गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चार वर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ ।

“हाम्रो स्याउ फर्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउखेतीको अध्ययन गर्नेका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ”, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्नुहुन्छ, “यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ ।” चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अन्य किसानले पनि व्यावसायिक स्याउखेती गर्न थालेका छन् ।

सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

काठमाडौँ, २२ भदौः सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्कविन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकार भएकाहरूमा पुनः आग्रह गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेपश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा पुनः जानकारी गराइन्छ ।”

सम्मानित सर्वोच्च अदालतको आदेश परिपालनाका लागि समेत लागि यही भदौ ९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिकाबमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि यही भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तोकिएको समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले सूचीकरण हुन पटक पटक आह्वान गरेको पनि मन्त्रालयले स्मरण गराएको छ । “यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं ०८०–सिएफ–००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका ‘अनलाइन’ तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको पनि अवगत नै छ”, विज्ञप्तिमा उल्लेख छ, “मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाललाई निष्क्रिय गराइसकेपछि यही भदौ २२ सम्ममा ‘स्मार्ट आइडिया प्राइभेट लिमिटेड’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्राइभेट लिमिटेड’ दर्ता भई सक्रिय भइसकेका छन् । यसैगरी, सामाजिक सञ्जालहरू ट्विटर (एक्स) र विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराई सकिएको छ ।”

प्रवक्ता ठाकुरले नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको र त्यस्ता सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भिपिएन) प्रयोग नगर्न÷नगराउनसमेत अनुरोध गर्नुभएको छ ।

मन्त्रालयले सरकारको निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको जनाउँदै यसमा सहयोग गर्न आमनागरिक र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

इजरायलद्वारा ‘मानवता क्षेत्र’ घोषणा, गाजा सिटीमा सैन्य कारबाही तीव्र

इजरायली सुरक्षाबल (आईडीएफ) ले गाजा सिटीमा सैन्य कारबाही अगाडि बढाउने तयारी गर्दै गाजाको दक्षिणी क्षेत्र खान युनुसमा नयाँ ‘मानवता क्षेत्र’ घोषणा गरेको छ । तर, गाजा सिटीका अधिकांश बासिन्दाहरूले उक्त स्थानतर्फ सर्न अस्वीकार गरेका छन् ।

३८ वर्षीय चार सन्तानका पिता सामेर अबु सामराले भन्नुभयो, “हामीलाई पहिले नै भीडभाड भएको ठाउँमा जान भनिएको छ । न त हामीसँग त्यहाँ जाने साधन छ, न त बस्ने पाल । हामी भोक र थकानले ग्रस्त छौं ।”

त्यसैगरी गाजाका शिक्षक नासेर अल–अत्तरले अनुभव सुनाउँदै भन्नुभयो,“पहिले दक्षिणतिर विस्थापित भएको थिएँ, त्यो मेरो जीवनकै सबैभन्दा पीडादायी अनुभव थियो। दक्षिण पनि सुरक्षित छैन । हामी यहाँ रहनु कुनै बहादुरी होइन, विकल्पको अभाव हो ।”

अल–शाती शरणार्थी शिविरमा आंशिक रूपमा ध्वस्त भएको घरबाहिर बसेका अबु लुअईले भन्नुभयो,“घेराबन्दी, भोकमरी र बमवर्षा सबै उपाय प्रयोग गरियो । उनीहरूको उद्देश्य शहर खाली गराउनु हो। तर, हामीका लागि यहीँ बस्नु नै एकमात्र विकल्प हो ।”

स्थानीय सामाजिक कार्यकर्ताहरूका अनुसार करिब ८० प्रतिशत गाजा सिटीका बासिन्दाहरू अझै पनि शहरमै रहेका छन् ।इजरायली सेनाले शनिबार दिएको वक्तव्यअनुसार,“गाजा सिटीमा जारी स्थल कारबाही तथा हमासका किल्लाहरू कब्जा गर्ने अभियान अन्तर्गत नयाँ मानवीय क्षेत्रको व्यवस्था गरिएको हो, जहाँ खाद्यान्न, औषधि, टेन्ट र अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गरिनेछ ।”

यद्यपि, गाजा सिटीमा इजरायली सैन्य कारबाही अझै तीव्र बनाइएको छ । हालै इजरायली हवाई आक्रमणमा शहरका उच्च आवासीय टावरहरूलाई ध्वस्त पारिएको छ । शुक्रबार १३ तलाको मुश्ताहा टावर ध्वस्त पारिएको थियो, जसबारे इजरायली पक्षले हमासले त्यहाँ गुप्तचरी उपकरण राखेको दाबी गरे पनि टावर प्रशासनले उक्त दाबी अस्वीकार गरेको छ ।शनिबार फेरि १५ तलाको अल–सुसी टावरमाथि बमवर्षा गरिँदा केही मिनेटमै भवन पूर्ण रूपमा ध्वस्त भयो, वरपरका घर, पसल र सडकहरूमा पनि ठूलो क्षति पुगेको छ ।

गाजाका नागरिक सुरक्षाका प्रवक्ता महमुद बसालले भन्नुभयो, “बमवर्षाको उद्देश्य नागरिकहरूलाई डर देखाएर शहर छाड्न बाध्य पार्नु हो ।”
हमासले भने पछिल्ला आक्रमणहरूलाई ‘व्यवस्थित रूपमा गरिने जबरजस्ती विस्थापन नीति’ भन्दै आलोचना गरेको छ । साथै, अगस्ट १८ मा कतार र इजिप्टले प्रस्ताव गरेको ६० दिने युद्धविराममा आफूहरू अझै प्रतिबद्ध रहेको पनि बताएको छ ।

हमासले भनेको छ, “भविष्यको कुनै पनि सम्झौताले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनु, मानवीय सहायता निर्बाध रूपमा प्रवेश पाउनु र अन्तर्राष्ट्रिय मध्यस्थतामा कैद विनिमय वार्ता हुनु आवश्यक छ ।”

सन् २०२३ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा गरेको आक्रमणबाट झण्डै एक हजार २०० मानिसको ज्यान गएको थियो र करिब २५० जना बन्धक बनाइएका थिए । त्यसयता इजरायली आक्रमणबाट गाजामा ६४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ६१ हजार जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ ।

शनिबार कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले बेलायती विदेशमन्त्री इभेट कुपरसँग टेलिफोन वार्ता गर्दै गाजामा युद्ध अन्त्य गर्ने प्रयासमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गर्नुभयो ।

 

एभरेष्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो ।

पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो ।

काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण

काठमाडौं । बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।आइतबार बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्विस कमाण्ड र स्टाफ कोर्स २०२५ मा सहभागी हुन नेपाल आएका डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेज ९म्क्ऋक्ऋ० का शिक्षार्थीहरूले भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण गरी नेपाली सेनाका बारेमा जानकारी गराएका हुन् ।

नेपालको ७ दिने अध्ययन भ्रमणका लागि हिजो शनिबार नेपाल आएको ५२ सदस्यीय भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ ।
यस किसिमको भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौँ, २२ भदौः मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उहाँले उपभोग्यवस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो ।

मुख्यसचिव अर्यालले भन्नुभयो, “चाडपर्वमा उपभोग्यवस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा तपाईंहरु गम्भीर भएर लाग्नुस् ।”

उहाँले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरूरी रहेकामा जोड दिनुभयो । ‘अनलाइन’मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्रीवितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिनुभयो ।

उहाँले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्न तीनवटै सुरक्षा निकायलाई आग्रह गर्नुभयो । राजस्व छली नियन्त्रण तथा सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन अर्यालले गृह मन्त्रालयलाई समन्वयका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजस्व छली नियन्त्रण, वस्तु खरिदको वास्तविक बिल बीजकको सुनिश्चित गरिनुपर्छ । वीरगञ्जमा सामान ‘लोड’ हुन्छ । ठमेलमा बिल बन्छ, यो बदमासी कडाइका साथ नियन्त्रण हुनुपर्छ । व्यावसायिक प्रशासनको प्रत्याभूति दिनसक्नुपर्छ । सुनको बदमासीलाई पनि नियन्त्रण गरिनुपर्छ ।”

मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहका प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बजार अनुगमनलगायत क्रियाकलापमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । बैठकबाट भएका निर्णयको कार्यान्वयनको प्रगति समीक्षा गर्न दसैँअगाडि बैठक बस्ने जानकारी दिँदै उहाँले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ क्रियाशील हुन सबैलाई सचेत गराउनुभयो ।

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले चाडपर्वमा महँगी र कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले चाडपर्वलक्षित खाद्य सहजताका लागि देशभर सुपथ मूल्य पसल खोलिने र आपूर्ति व्यवस्थालाई सहज बनाइने विश्वास दिलाउनुभयो । उहाँले उपभोग्य वस्तुको आपूर्ति सहजता र बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्षाले अवरुद्ध सडक सञ्चालन गर्न र सवारी आवागमनलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभयो । उहाँले दसैँमा बसको यात्रालाई व्यवस्थित बनाउन अनलाइन ‘टिकेटिङ’को व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटक व्यवस्थापन र सुरक्षा प्रणाली बलियो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चाडपर्वको समयमा यात्रु आगमनलाई सहज बनाउन विमानस्थलको उडान समयावधि बढाउने र उडान सङ्ख्या थपेर यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउन पहल गरिने बताउनुभयो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्वलक्षित सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिने परीक्षार्थी पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन् ।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो ।

‘जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,’ प्रमुख यादवले बताए ।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ ।

पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ । पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, ‘क्याम्पस प्रशासनबाट बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।’

राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउनेगरी विधान बन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले) स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनका बारेमा बोल्दै सबैभन्दा उपयुक्त पार्टी संरचना निर्माण गरी राजनीतिक शक्तिकोरुपमा नेकपा (एमाले) स्थापित गर्नेगरी विधान बन्ने बताएका हुन् ।

उनले भने, ‘रचनात्मक, मननयोग्य ,ग्रहणयोग्य सबै सुझावलाई समावेश गरेर एकदमै राम्रो विधान बनाउने काम यो भन्दा अगाडिको पाँचौ, छैठौ, सातौँ, आठौँ, नौँ हुँदै १० औँ भन्दा उपयुक्त सबैभन्दा राम्रो विधान बनाएर त्यसै ढंगको पार्टी संरचना निर्माण गरेर निर्णयक राष्ट्रिय राजनीतिक शक्तिकोरुपमा नेकपा (एमाले) स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्छ ।’

नेता गुरुङले विधानमा उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेका विधान संशोधन प्रस्तावमा १० वटै समुहबाट रचनात्मक, मननयोग्य ,ग्रहणयोग्य सबै सुझावलाई समावेश गर्ने समेत बताए ।

नेपाललाई करातेमा दुई कास्य

काठमाडौँ, २२ भदौः नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।

चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै बर्दियाका किसानले बुझाए ज्ञापन पत्र

बर्दिया । बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन् ।
केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भारतको केरामा अत्याधिक बिषादी प्रयोग हुने भएको हुनाले बिषादी परिक्षण गर्नुपर्ने, नेपाली केरा उत्पादन किसानहरूको संरक्षण गर्नुपर्ने, केराको उचित मुल्य तोक्नु पर्ने र व्यवसायिक केरा किसानहरूलाई रासायनिक मल सहज रुपमा उपब्ध गराउनुपर्ने माग गरेका छन् ।
सिजनकै समयमा भारतबाट अत्याधिक केरा आयाता हुन थालेपछि बर्दिया केरा बोट मै कुहिन थालेको केरा खेती गर्ने किसान टिका सम्सेलीले बताए ।
उनले गत बर्ष सहजै विक्री भएको केरा यस बर्ष भारतबाट बढी केरा आएको हुनाले नबिकेको बताए । यस्तै अवस्था रहेमा बर्दियाका केरा खेती गर्ने किसानहरूले केरा मास्नुपर्ने बाध्यता आउन सक्ने बताए ।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।जसमा बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुदै आएको छ ।हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दिया अध्यक्ष टोपलाल बिकले बताए ।

आगामी मंसिर महिनासम्मको लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भएपनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए ।
बर्दियामा हाल केरा खेती बिस्तारसँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।

लम्जुङमा प्रचण्डको मर्निङ वाक : सहिद परिवारसँग भेट र विद्यालय अवलोकन

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन् ।

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उहाँले विद्यालयप्रति चासो व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दा को सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन।

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भादगाउँ (भक्तपुर), २२ भदौः आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ ।

यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छभने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जनाभन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ्याएको व्यक्ति धेरै भएमा एक जनाभन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।

यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात् रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोहीअनुसार वीरेन्द्रभक्तले गत वर्ष पनि जिब्रो छेडाएर काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरिने भएको छ ।

सोहीअनुसार वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

जात्राको परम्पराअनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोहीअनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको हो । त्यसपछि बालकुमारी शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु, दरबार स्क्वायर, सुकुलढोका, दत्तात्रय मन्दिर, नवदुर्गा द्योछेँसम्म, सोही रुट फर्की टौमढी पाँचतले मन्दिर, वंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, निगुपुखु हुँदै बालकुमारीमा पुगेर जात्रा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वीरेन्द्रभक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाउनुभएको हो । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जीवन्तता दिन त्यतिखेर उहाँ जिब्रो छेडाउन तयार हुनुभएको हो । उहाँले दोस्रोपटक २०७९ मा जिब्रो छेडाउनुभएको थियो भने तेस्रोपटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको हो ।

थिमिको इतिहास, परम्परा र संस्कृतिलाई जीवन्त राख्न आफूले जिब्रो छेड्न तयार भएको वीरेन्द्रभक्तले बताउनुभयो । “मध्यपुरथिमि जीवन्त कला, संस्कृतिको धरोहर हो । यहाँको यही धरोहरलाई विश्वसामु चिनाउन जिब्रो छेडाउन तयार भएको हुँ । यसले मध्यपुरथिमिको पहिचान दिलाउन सफल हुन्छ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । उहाँले गत वर्ष पशुपतिनाथको दर्शन गरेको र यस वर्ष दत्तायत्र र नवदुर्गाको दर्शन गर्ने इच्छा भएकाले भक्तपुर जाने निधो गरेको बताउनुभयो ।

जात्रा सञ्चालनका लागि एक महिनाअघि नै कमीनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने गरिन्छ । सुइरो निर्माणका लागि जिब्रो छेडाउने व्यक्तिले एक महिनाअघि कुखुराको रातो भालेसहित कमीनायोलाई सुइरो बनाउन आग्रह गर्नुपर्छ ।

जात्राका लागि राजदरबारको प्रतिनिधिका रूपमा काठमाडौँको हनुमानढोका दरबारबाट राजखड्गसमेत ल्याइने थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठले बताउनुभयो । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरिन्छ । जात्राका लागि आठ दिनअघि भालेसहितको बलि पूजा गरी द्य सालेगु पूजा गरी भोज खानुपर्ने परम्परा छ । जात्राको अघिल्लो दिन पनि छोय्ला ब्व भ्वये खानुपर्ने प्रचलन छ ।

जात्रा सुरु हुनुअघि जिब्रो छेडाउने व्यक्ति बाजागाजासहित थिमिका सबै देवीदेवताका मन्दिर पुगेर बत्ती दिइन्छ । त्यससँगै जिब्रो छेड्ने कमीनायो, राजखड्गसहित पमानायोलाई बाजागाजासहित ससम्मान डबलीमा ल्याइन्छ । सबै विधि पूरा भएप्छि जिब्रो छेड्न तयार भएका व्यक्तिलाई परम्परागत पोशाकमा दिगु भैरव ल्याइन्छ । दिगु भैरवबाट डबलीसम्म उल्टो हिँडाएर मञ्चमा लगिन्छ र उपस्थित हजारौँका सामुन्ने कमीनायोले पमानायोका आदेशमा जिब्रो छेडिदिन्छ ।

त्यसपछि सबैको जयजयकार गर्दै जिब्रो छेडाएका व्यक्ति दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्रकारको महादीप ‘भ्ये’ काँधमा बोकेर नगर परिक्रमाका लागि निस्कन्छ । उपस्थित सर्वसाधारण पनि जिब्रो छेडाएको व्यक्तिको पछिपछि जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्कन्छन् ।

नगर परिक्रमा गर्दा सायमी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता पनि अघिअघि लगिन्छ । जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको नगर परिक्रमा पनि अन्तिममा बालकुमारी परिसरमा पुगेपछि पमानायोले सुइरो झिकेर बालकुमारी मन्दिरमा ठोकिदिन्छ र जिब्रोको घाउमा बालकुमारीको माटो हालिदिन्छ र जात्रा सम्पन्न हुन्छ । त्यसपछि घरमा पुगेर भोज खाने प्रचलन छ ।

यस वर्ष जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतको उपस्थिति रहने मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

इन्द्रदहमा भक्तजनको घुइँचो

भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी)मा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्छ ।

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउन रातभर त्यही राख्ने परम्परा छ । सोहीअनुसार शुक्रबार साँझ इन्द्रायणी देवीलाई इन्द्रदह पुर्याइएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्न आज भक्तजनको भीड लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रूपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रूपमा समेत लिने गरेका छन् । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरे ठूलो पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख, समृद्धि मिल्ने जनविश्वास छ । इन्द्रदहमा वासुकी नागको बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएका बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।

इन्द्रदह परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरू रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको बन्देजप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको उक्त कदमको निन्दा गरेका हुन् ।
बस्नेतले भने, ‘सरकारले उद्योग कलकारखानाहरु बन्द गर्यो । हामी मुखदर्शक भएर बस्यौँ । नेपाल सरकारले मुलकभित्र रोजगारीको सम्भावना बन्द गरिदियो । हामी चुप बस्यौं । आज सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि ठाडो हस्तक्षेप गर्यो, हामी मौन छौं ।’

उनले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने सरकारको स्वेच्छाचारी प्रशासनिक निर्णयलाई अधिनायकबाद तर्फको सरकारको कदमको रुपमा व्याख्या गरेका छन् ।

उनले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई कुण्ठित गर्ने सरकारको कदम प्रति कडा आलोचना गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।सामाजिक सञ्जालमाथिको प्रतिबन्धले नागरिकबीचको सञ्चार र सामाजिक सम्बन्धहरुमा अवरोध हुने उनको भनाइ छ ।

अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् ।

लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।’

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे । उनले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने,‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लम्जुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।’अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे ।

दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताउनुभयो । तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उनले उल्लेख गरे ।

उनले भने,‘हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।’

एमाले विधान महाधिवेशन बन्दसत्रमा प्रतिवेदनमाथिको समूहगत सुझाव प्रस्तुतीकरण हुँदै

काठमाडौँ, २२ भदौ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

महाधिवेशनको बन्दसत्र बिहान ८ः०० बजेबाट सञ्चालन हुनेछ । उहाँका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नुहुनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनुहुनेछ ।

समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको छ ।

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

मुग्लिन (चितवन), २२ भदौः चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ । उहाँले भन्नुभयो, “हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरूको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।” उहाँका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो ।

न्वांगीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको अध्यक्ष चेपाङले बताउनुभयो । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।