भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै नेपाली कांग्रेस सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन छानबिन हुनुपर्ने पक्षमा दृढ रहँदै आएको बताए ।
उनले भने, ‘२०८२ साल भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो । त्यसैगरी भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दुवै दिनका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो ।’
प्रवक्ता चालिसेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक नभएको र सरकारले विधिसम्मत ढंगले सार्वजनिक नगरेको आरोप लगाए ।
उनले भने, ‘प्रतिवेदनमा भदौ २४ गतेका घटनाबारे पूर्ण छानबिन गर्न नभ्याएको उल्लेख छ भने त्यो एकपक्षीय र अपूर्ण देखिन्छ ।’चालिसेका अनुसार चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगका सिफारिसमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । तर एउटै प्रतिवेदनको सिफारिसमा सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेसको भनाई छ ।
उनले भने, ‘भदौ २३ गतेको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिसमा पनि सरकारको व्यवहार फरक देखिन्छ, जुन गलत हो । भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ ।’उनले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टीको समर्थन रहने स्पष्ट पारे । तर उनले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए ।
