`

पत्रकारमाथिको धरपकडलाई राज्य आतङ्कको संज्ञा, खतिवडाले मागे संसदीय छानबिन समिति

Nepal One HD १६ कार्तिक २०८३ १७:३३
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पत्रकारमाथि भइरहेको धरपकड र पक्राउलाई राज्य आतङ्कको संज्ञा दिँदै सरकारको कदम प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताएका छन् ।

पत्रकारमाथि समाचार लेखेकै आधारमा पक्राउ गर्ने, सञ्चारमाध्यममा प्रहरी प्रवेश गराउने तथा पत्रकारहरूलाई लक्षित गरेर कारबाही अघि बढाउने गतिविधि लोकतान्त्रिक व्यवस्थाको मर्मविपरीत भएको उनको भनाइ छ ।

खतिवडाले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै पत्रकारमाथि राज्यसत्ताको दबाब र हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । लोकतन्त्रमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, कमजोरी औँल्याउने र जनतालाई सूचना दिने अधिकार पत्रकारिताको आधारभूत जिम्मेवारी भएको उनको धारणा छ ।

उनले पत्रकारमाथिको कारबाही प्रकरणमा सरकारकै संलग्नता देखिएकाले सरकारले गठन गर्ने छानबिन समितिबाट निष्पक्ष अनुसन्धान हुनेमा विश्वास गर्न नसकिने बताएका छन् ।

‘सरकारकै संलग्नता देखिएको विषयमा सरकारले नै छानबिन समिति बनाएर कसरी निष्पक्ष अनुसन्धान हुन्छ ?’ भन्ने प्रश्न उठाउँदै खतिवडाले सरकारी छानबिन समिति आफूहरूलाई मान्य नहुने स्पष्ट पारेका छन् ।

उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही सुनिश्चित गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताबारे प्रश्न उठेको अवस्थामा संसद्ले स्वतन्त्र रूपमा छानबिन गर्नुपर्ने उनको जोड छ ।

पछिल्लो समय पत्रकार पक्राउ प्रकरणले राजनीतिक वृत्तमा समेत बहस सिर्जना गरेको छ । समाचार लेखेकै विषयमा पत्रकार पक्राउ परेको, सञ्चारगृहमा प्रहरी प्रवेश गरेको तथा पत्रकारहरूको सूची तयार पारिएको दाबीसँगै सरकारको कार्यशैलीमाथि प्रश्न उठिरहेका छन् ।

यस प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहले घटनाबारे आफूलाई जानकारी नभएको बताएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि प्रश्न उठेको छ । पार्टीको सचिवालय बैठकमा समेत यस विषयमा गृहमन्त्री सुदन गुरुङसँग स्पष्टीकरण माग्नुपर्ने आवाज उठेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *