`

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत : लालबाबु पण्डित

Nepal One HD १४ चैत २०८२ ११:५१
राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् ।शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोधको सुरुआत भएको दाबी गरे ।

उनले भने, ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको सुरुआत गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौँ, कानुनी उपचारको पक्षमा जान्छौँ । राजनीतिक पार्टी र राजनीतिक पार्टीको नेता नेकपा (एमाले)को अध्यक्ष र नेपाली कांग्रेसको पूर्वगृहमन्त्री समेत एकैचोटि पक्राउ जुन गरिएको छ, यो प्रतिशोधको राजनीतिको सुरुआत गरिएको हुनाले गर्दा यसको प्रतिवाद नेकपा (एमाले)ले गर्छ । नेपाली कांग्रेसले के गर्छ, अरू थाहा छैन ।’

उनले प्रतिशोधबाट सुशासन प्राप्त हुन नसक्ने उल्लेख गर्दै एमाले सँधै सुशासन र कानुनी उपचारको पक्षमा रहने बताए । साथै, उनले यस्तो कदमले राजनीतिक स्थायित्वभन्दा द्वन्द्व निम्त्याउने चेतावनी दिए ।

पण्डितले एमाले अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वगृहमन्त्रीलाई एकैपटक पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिशोधको उदाहरणका रूपमा व्याख्या गर्दै यसको प्रतिवाद गर्ने स्पष्ट पारे । उनले नेपाली कांग्रेसले के गर्ने भन्ने विषय उक्त पार्टीकै निर्णयमा निर्भर रहने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *