आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
काठमाडौँ। आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको बताउनुभयो । काठमाडौँमा पनि आज साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उहाँले २५ भन्दा बढी वर्षा मापन केन्द्रमा आज २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिनुभयो ।
विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिनुभयो । वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उहाँको भनाइ छ ।
विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । विभगाले आज साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यसपछि विस्तारै वर्षा कम हुँदै जाने छ । तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उहाँले बताउनुभयो । हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।
