`

‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद् : एमाले

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ ।

आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।

“आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना हो”, विज्ञप्तिमा भनिएको छ ।

एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ । यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते बस्ने

मकवानपुर  । बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते अपराह्न १ः०० बजे बस्ने भएको छ ।

सोही दिन बिहान ११ः०० बजे प्रदेशसभा सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बसी अपराह्न बस्ने प्रदेशसभाको बैठकका लागि कार्यसूची तयार गर्ने र सदस्यहरुलाई बैठकमा बोल्ने समय निर्धारण गर्नुको साथै सचिवालयमा दर्ता रहेका दुई वटा विधेयकमाथि छलफलका लागि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभाको यही भदौ १७ गते बसेको बैठकमा सभामुख पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

कांग्रेसका नेता डा. शेखर कोइराला भन्छन् – सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् ।

कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे । ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’

त्यस्तै उनले आजको नदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ ।’ कोइरालाको भनाइ छ ।

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो ।

निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले देशमा उत्पन्न असहज परिस्थितिका कारण देशभरिका सबै परीक्षा केन्द्रका परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।

स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने उहाँले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशबीचको खेल स्थगित

काठमाडौँ, २३ भदौः नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बङ्गलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

वीरगञ्ज (पर्सा), २३ भदौ : सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारगेट नजिकै मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया निशाकुमारी सहनीलाई गोली प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटलमा कार्यरत भारतीय महिलाको बाँया गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।

“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटलको पूर्व–दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त शर्माको साथबाट लोड गरिएको एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ”, उहाँले भन्नुभयो ।

चुम उपत्यका तीन दिनदेखि विद्युत् र सञ्चार सेवाविहीन

गोरखा, २३ भदौ, जिल्लाको चुम उपत्यका विगत तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिका–७ मा रहेका छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक तीन दिनदेखि विद्युत् तथा सञ्चार सम्पर्कविहीन भएको स्थानीय दोर्जे लामाले जानकारी दिनुभयो ।

गत आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको उहाँले बताउनुभयो । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएर आइतबार बिहानदेखि विद्युत् उत्पादन बन्द भएको छ”, लामाले भन्नुभयो, “तीन दिनदेखि वडा नं ७ का लार, पाङ्दुन र निलेबाहेक सबै ठाउँ बस्तीमा बत्ती छैन ।”

सोही पावरहाउसबाट लगेको विद्युत्को लाइनले मोबाइलको टावर चलेको भन्दै उहाँले विद्युत् नभएपछि टेलिफोन र इन्टेरको टावर पनि नचलेको लामाले बताउनुभयो ।

विद्युत्का प्राविधिकसँग बुझ्दा मेसिनमा खराबी आएकाले समस्या भएका बताएको उहाँले सुनाउनुभयो । गाउँमा विद्युत् सेवा नहुँदा कुटानीपिसानी मिल, काष्ठ मिल र घरायसी विद्युतीय उपकरण चलाउन पाइएको छैन ।

काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।

महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाइरहेको हो । यसअघि महानगरले प्रदर्शनका क्रममा घाईते भएकाहरुको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो । जसको कारण मेयर बालेन शाहको चौतर्फि चर्चा चलिरहेको छ ।

बक्यौता भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कैलाली, २३ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विभिन्न दुग्ध सहकारी संस्था र किसानको एक टोलीले माघ २०८१ देखि हालसम्मको दूध बिक्रीको बक्यौता रकम भुक्तानी हुन नसकेको भन्दै आज यहाँ मुख्यमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउन पुगेको थियो । सो टोलीलाई सम्बोधन गर्दै उहाँले बक्यौता भुक्तानी दिलाउने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

दुग्ध विकास संस्थान धनगढी, दुग्ध वितरण आयोजना अत्तरिया कैलालीलाई निरन्तर दूध आपूर्ति गर्दै आएका किसान र सहकारी संस्थाले बक्यौता रकम नपाउँदा तरलताको समस्या उत्पन्न भई किसान चिन्तित छन् ।

बक्यौता रकम नपाउँदा सहकारीहरूले किसानलाई भुक्तानी दिन नसक्ने स्थिति आएको बताइएको छ । सहकारी र किसानले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, “पटकपटक रकम उपलब्ध गराउन अनुरोध गर्दासमेत हाल आयोजना प्रशासनिक तथा आर्थिक कक्षमा ताला बन्द रहेका कारण रकम भुक्तानी हुनसकेको छैन ।”

महासचिव भुसालद्वारा मृतकप्रति श्रद्धाञ्जली प्रकट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको आन्दोलनका क्रममा मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

पार्टी महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाउनुभयो ।

महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग गर्नुभएको छ । उहाँले आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग नगर्न आन्दोलनरत युवालाई आग्रह पनि गर्नुभएको छ ।

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

काठमाडौँ – गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताउनुभयो ।

आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

प्रदर्शनकारीले काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन्भने प्रहरीले काठमाडौँबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्र उपलब्ध थियो । तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालये घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सङ्घीय अस्पताललाई सर्कुलरसमेत जारी गरिसकेको छ ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि युरोपेली नेताहरूको अमेरिका भ्रमणको तयारी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे छलफल गर्न युरोपेली नेताहरूले सोमबार र मङ्गलबार अमेरिकाको भ्रमण गर्ने घोषणा गर्नुभएको छ ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चाँडै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “केही युरोपेली नेताहरू सोमबार वा मङ्गलबार व्यक्तिगत रूपमा हाम्रो देश आउँदैछन् ।” तर, उहाँले कुन नेताहरूलाई लक्षित गर्दै बोलिरहनुभएको थियो भन्ने स्पष्ट थिएन ।

यसअघि, अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले वासिङ्टन रुसमाथि थप दबाब बढाउन तयार रहेको जनाउँदै युरोपलाई पनि मस्कोलाई वार्ताको टेबलमा ल्याउन ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो ।

यी टिप्पणीहरू रुसले ड्रोन र मिसाइलको सबैभन्दा ठूलो लहर लिएर युक्रेनमाथि रातारात आक्रमण गरेको केही घण्टापछि आएका हुन् ।

बेसेन्टले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग धेरै रचनात्मक कुराकानी गरेको जानकारी दिनुभयो । उहाँले आफैँले पनि भोन डेर लेयनसँग छलफल गरेको बताउनुभयो ।

उहाँका अनुसार, अमेरिका र युरोपेली सङ्घ (इयु) बीच रुसमाथि दबाब बढाउने तयारीसहित संयुक्त कारबाहीबारे विचारविमर्श भएको छ ।

यदि अमेरिका र इयुले रूसी तेल खरिद गर्ने मुलुकहरूलाई लक्षित गर्दै थप प्रतिबन्ध र माध्यमिक भन्सार शुल्क लगाए भने रूसी अर्थतन्त्र पूर्ण रूपमा कमजोर हुनेछ र यसले राष्ट्रपति पुटिनलाई वार्ताको टेबलमा बस्न बाध्य पार्नेछ भन्ने बेसेन्टको विश्वास छ ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुुखसँग छलफल गर्नुभएको थियो ।

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् । उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’

‘जेनजी’ प्रदर्शन : सवारी आवागमन अस्तव्यस्त, हवाई उडान सामान्य

काठमाडौँ – ‘जेनजी’ प्रदर्शनले काठमाडौँ उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताउनुभयो ।

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौँ बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

‘जेनजी’को प्रदर्शनले काठमाडौँका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।

निजामती कर्मचारी अस्पतालमा मात्रै १३५ घाइतेको उपचार

काठमाडौँ, २३ भदौ : नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । “प्रदर्शनकारी र प्रहरीबीचको झपडमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ”, उहाँले भन्नुभयो, “घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।”

अपराह्न १२ः०० बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरु उपचारका लागि आउन थालेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ ।

निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध, राति १० बजेसम्म कर्फ्यु

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ ।

आज उपत्यकामा ‘जेनजी’को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौँले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।

रेडक्रसको एम्बुलेन्स र प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त

काठमाडौँ, २३ भदौः नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले आज जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारमा एम्बुलेन्ससहित खटिएका प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

शाखाका सभापति श्यामकाजी डोटेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको मध्यबानेश्वरमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स र प्राथमिक उपचारमा खटिएका टोलीमाथि अभद्र व्यवहार र ढुङ्गा प्रहार गरिएको घटनाले दुःखी तुल्याएको उल्लेख छ ।

“घाइतेको उपचार, अस्पतालसम्म पु¥याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग गरिदिनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ”, जारी विज्ञप्तिमा भनिएको छ ।

कोरलानाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

मुस्ताङ, २३ भदौ: चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ । आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने सहमति भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

आज उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकार भएकाहरूको बैठकले चिनियाँ स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको उहाँले बताउनुभयो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र व्यापारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङले हाल स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेर मौखिक सहमति भएको चाँडै लिखित निर्णय गरिने बताउनुभयो ।

यसअघि सामान्य रूपमा उपल्लो मुस्ताङका लागि मात्रै खुला भएको कोरलानाका आइतबार पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो ।

यसअघि स्थानीय व्यापारीले सानो परिमाणमा सामान आयात गर्ने गरेकामा अब भने भन्सार विभागको नियममा रहेर चाहेजति सामान नेपाल ल्याउने व्यवस्था मिलाइएको भन्सार कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने उहाँले बताउनुभयो ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, २३ भदौः नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

भोलि भदौ २४ गते बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । आज ‘जेन–जी’ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छभने सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।

जेनजी आन्दोलन : मृतकको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् ।

उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।

उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा आज आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ ।

माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

जेन–जी आन्दोलन : प्रदर्शनकारीद्वारा एकीकृत समाजवादीको कार्यालय तोडफोड

काठमाडौं । जेन–जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १४ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते छन् ।

इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी

इटहरी । देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए ।इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ : ऊर्जामन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालीकोटको सर्वदलीय बैठकमा उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताउनुभयो ।

उहाँले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशनसमेत दिनुभयो । “देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, ‘टाइमलाइन’ अनुसार काम गर्न कम्पनीलाई परिपत्र गर्नुस्,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न नागरिकलाई बिनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युत्को शेयर खरिद गर्ने वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

कांग्रेस कालीकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालीकोट र सिङ्गो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने बताउनुभयो । ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडको लगानीमा निर्माण हुनेगरी सम्झौता भएको थियो ।

नेकपा (माओवादी केन्द्र) को आकस्मिक बैठक

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

३६ अंकले घट्यो नेप्से

काठमाडौं । यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि ३५.९९ अंकले घटेर बन्द भएको छ । आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको नेप्से आज ३५.९९ अंक घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ । यद्यपी, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।

साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८६ अंक घटेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४३०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४.३५ प्रतिशत वृद्धि भई १,१३७.३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ । त्यस्तै, युनाइटेड हाइड्रोपावर शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशत बढ्दै ४६३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०४ प्रतिशत बढेर ४१२.८२ रुपैयाँमा अन्मि कारोबार भएको छ ।

आजको नेप्से कारोबारमा केही कम्पनीका शेयरमा उल्लेख्य गिरावट देखिएको छ । सबैभन्दा धेरै घट्ने सूचीमा बुटवल हाइड्रोपावर रहेको छ । यस कम्पनीको शेयर मूल्य ५.२८ प्रतिशत ले घटेर ६७१.५५ रुपैयाँ मा झरेको छ । त्यसपछि नेशनल माइक्रोइन्स्योरेन्स कम्पनीका शेयर मूल्य ४.४४ प्रतिशत ले घट्दै १,१९९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, गाण्डकी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.२७ प्रतिशत ले घटेर १,००५.२५ रुपैयाँ मा पुगेको छ । यसदिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल रिइन्स्यारेन्स र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ – प्रधानमन्त्री

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीेले बागलुुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाउनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका सचिव देवेन्द्र पौडेल, नेकपा (एमाले) का सङ्घीय सांसद देवीप्रकाश भट्टचन, जनमोर्चा नेपालका सङ्घीय सांसद तुुलप्रसाद विश्वकर्मा, गण्डकी प्रदेशसभाका सदस्यहरु जितबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, संविधानसभामा सदस्यहरु मनकुमारी जिसी, निरज पुन, नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका कार्यबाहक प्रमुख फमलाल निउरेलगायत हुनुहुन्थ्यो ।

वामदेव गौतम भन्छन् – सामाजिक सन्जाल बन्द गर्नु गलत हो, धेरै दिन टिक्दैन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।नेपाल न्यूज बैकसँगको विशेष कुराकानीमा गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्नुपर्छ । तर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पाइँदैन । यो नेपालको संविधानको विरुद्धको काम हो ’ ।

त्यस्तै उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारले ठीक नगरेकोप्रति आक्रोश व्यक्त गरे । । उनले सामाजिक संजाललाई चाँडो भन्दा चाँडो जस्ताको तस्तै गराउने प्रयास गर्नुपर्ने औंल्याए ।

‘सामाजिक सञ्जाल सञ्चालन गरिरहेका र प्रयोग गरेर आफ्ना अभिव्यक्तिहरु नेपाल राष्ट्रको पक्षमा वा संसारभरका पक्षमा अभिव्यक्त गरिरहेका छन् । त्यसैले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारको ठीक काम होइन, गलत छ । त्यति भनिरहँदा प्रयोगकर्ताहरुले पनि जथाभावी गर्न पाउँदैनन्,’ उनले भने ।

त्यस्तै उनले सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्ध धेरै समय नटिक्ने बताए । उनले सरकारले जे गरेको छ त्यो बेठिक गरेको बताए ।

सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक

काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह १ः१५ बजे बस्ने गरी सारिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ ।

जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा तीन जना प्रदर्शनकारीको दुखद निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उता, ट्रमा सेन्टरमा उपचाररत थप ५ आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ

काठमाडौँ – गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।

एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा एकाएक सामाजिक सञ्जाल बन्द हुँदा संसारभरि रहेका लाखौँ प्रवासी नेपालीहरूलाई प्रत्यक्ष असर परेको जनाइएको छ।

विज्ञप्तिमा चाडपर्वको समयमा विदेशमा रहेका नेपालीहरूका लागि परिवारसँग सम्पर्क गर्ने सामाजिक सञ्जाल नै एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गरिएको छ। यसले गर्दा अहिले लाखौँ परिवारमा चिन्ता बढेको संघले जनाएको छ ।

साथै, प्रतिबन्धका कारण सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने र आफ्नो वृत्ति विकास गर्ने लाखौँ नेपाली विद्यार्थी तथा युवाहरू पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका छन् ।

‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता

काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्।सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।

हालै खाडी मुलुकहरु, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए। उनले लाखौं युवा विदेश पठाएर देशले उन्नति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए। उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल पुरा हुन चार महिना मात्रै बाँकी रहंदा पदबाट बर्खास्त गरिए पछि विदेश भ्रमणमा निस्किएका कुलमानलाई प्रवासी नेपालीका संघसंस्थाहरुले नागरिक अभिनन्दन तथा सम्मान गर्दै नेपालको रुपान्तरणमा अगाडी बढ्न आग्रह गरेका थिए।

यसै बीच काठमाडौँ महानगरका मेयर बालेन शाहले २८ वर्षभन्दा कम उमेरका जेन जी पुस्ताका युवाहरुले आह्वान गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्। उनले आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। विभिन्न संघसंस्था तथा दलहरुले पनि उक्त आन्दोलनप्रति समर्थन जनाएका छन्।

प्रचण्डको स्टाटसमा मेयर बालेनकाे टिप्पणी : एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक सञ्जालमै स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र टिप्पणी गरेका छन् ।

प्रचण्डले फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’

उनको यही स्टाटसमाथि प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगतको प्रसंग उठाउँदै प्रचण्डलाई प्रत्यक्ष कटाक्ष गरेका छन् । बालेनले प्रचण्डको पोष्टको कमेण्टमा लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे।’

बालेनको उक्त टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ । केहीले बालेनको टिप्पणीलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागको रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक तहमा हुने खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन् । सरकारले हालैको केही दिनदेखि सामाजिक सञ्जालमा बन्देज लगाएको र त्यसको विरुद्धमा राजधानी काठमाडौं लगायतका स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । यो विषय राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोको विषय बनेको छ।

भौतिक मन्त्री दाहाल मनिला प्रस्थान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।

एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधी, विकास साझेदार एवम् विज्ञहरुको सहभागीता रहने छ । मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १२ः३० बजे सुरु हुनेछ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयज्यूहरुसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । त्यस्तै, विहान ९ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल हुने कार्यसूची छ ।