`

सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ ।सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो ।

आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो । सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सदरमुकामदेखि ४० किलोमिटर दुरीमा पर्छ ।

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ। प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो ।

घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवा

खोटाङ। नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् ।रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र १० जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् ।

नागरिक–सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरका माध्यमबाट नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका छन् ।”

जिल्ला अस्पताल खोटाङ र साकेला आधारभूत अस्पतालको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्यसम्बन्धी परामर्श र सचेतनामूलक सेवा निःशुल्क प्रदान गरिएको सेनाले जनाएको छ ।

सेनाको यो पहलले स्थानीयस्तरमा बसोवास गर्दै आएका नागरिकका लागि स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग पुगेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो ।

रतन्छास्थित साकेला आधारभूत अस्पतालको प्राङ्गणमा सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका प्रमुख राई, प्रमुख सेनानी लामिछाने, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

नेपाली सेनाको ‘नागरिक–सैन्य सम्बन्ध सदृढ कार्यक्रम’ अन्तर्गत रणभीम गण मुडे खोटाङले जिल्लाका विभिन्न ठाउँमा गएर सामाजिक काम गर्दै आएको छ ।

रणभीम गणले यसअघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा फर्निचर निर्माण गरिदिएको थियो । यसका साथै नेपाली सेनाले जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रतिकार्य पूर्वअभ्यास, सडक मर्मत, सरसफाइलगायत सामाजिक काम गर्दै आएको छ ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र

काठमाडौँ। सरकारले देशभर नौ हजार १२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।निवेदन दर्ता गरेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत पुर्जा वितरण गरिएको हो ।

आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिनुभयो ।

पुर्जा वितरणका लागि एकद्वार प्रणालीबाट लगत सङ्कलन गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको थियो । आयोग मातहतका जिल्ला समिति, सम्बन्धित पालिका तथा वडा तहसँग समन्वय गरी सबैको प्रमाणीकरण गरिएपछि पुर्जा वितरण गरिएको हो ।

विज्ञ सदस्य शाहका अनुसार भूमिहीन सुकुम्बासी भन्नाले देशभर कहीँकतै जमिन नभएका परिवार तथा परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई बुझिन्छ ।

पूर्जा वितरणका क्रममा ‘भूमिहीन दलित’लाई प्राथमिकता राखिएको छ । ‘भूमिहीन दलित’ राष्ट्रिय दलित आयोगद्वारा दलित भनी सूचीकृत समुदायका भूमिहीन सुकुम्बासीलाई मानिएको छ ।

‘अव्यवस्थित बसोबासी’ भन्नाले देशको कुनै स्थानमा जमिन भएर पनि अन्यत्र कतै दशकौँदेखि आवादी गरी बसेका, जग्गा जमिन उनीहरूको नाममा दर्ता नभएका परिवार छन् ।

कम्तीमा १० वर्षदेखि आवाद कमोत गरी घरटहरा बनाई बसोबास गरेका व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई उक्त वर्गमा परिभाषित गरिएको छ । उनीहरूलाई तोकेको राजस्व लिएर पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । प्रमाणीकरण कार्य जारी रहेको आयोगले जनाएको छ ।

भूमिहीन सुकुम्बासीको व्यवस्थापन राज्यको दायित्व भएको भए पनि सार्वजनिकस्थल, सांस्कृतिक सम्पदालगायत अतिक्रमण गरी बनाइएका बस्ती प्रमाणीकरण नगर्ने आयोगले जनाएको छ ।

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनुभएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको हो । प्रवक्ता डा सेढाईंले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताउनुभयो ।

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग आज भएको भेटमा उहाँले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । “हामी देश बनाउने हुटहुटीका साथ आएका छौँ, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौँ । तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो,“इमान्दार उद्योगी–व्यवसायी कानुनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन हामी प्रतिबद्ध छौँ ।”

अर्थमन्त्री डा वाग्लेले उद्योग–व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका विषयमा निजी क्षेत्रबाट सुझाव मागिनेसमेत बताउनुभयो । “अर्थतन्त्र निर्माणका लागि राज्यले गर्नुपर्ने सबै कार्य गर्न तयार छौँ, तर निजी क्षेत्र पनि इमानदार हुनुपर्छ” उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै निजी क्षेत्रसँग पारदर्शिता र जिम्मेवारीको अपेक्षा गर्नुभयो । “निजी क्षेत्र इमानदार भए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, म त्यसको जिम्मा लिन्छु”, उहाँले भन्नुभयो, “तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुन्छ ।”

अर्थमन्त्री डा वाग्लेले नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउने बताउनुभयो ।

आज साँझदेखि बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ ।आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताउनुभयो । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ ।

यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो ।गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय

बागमती। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिनुभयो । यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।

बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ । यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय नभएको सचेतक महर्जनले बताउनुभयो ।

प्रदेशसभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्काे दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यहाँ विगत सात महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरू विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने पनि निर्णय भएको छ ।साथै बैठकले नेकपा एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा। किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड बढी मुआब्जा वितरण गरिएको छ ।सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताउनुभयो । हालसम्म आयोजना प्रभावित क्षेत्रका २६ जना जग्गाधनीले रु १८ करोड मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताउनुभयो ।

प्रभावित स्थानीयलाई करिब ४५ करोड मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउने छन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो ।

आयोजना निर्माणस्थल क्षेत्रमा साविक भोटखोला–१,३,४ र ६ नम्बर वडामा पर्ने ७०० रोपनी क्षेत्रका १५० घरधुरी प्रभावितले मुआब्जा पाउने छन् । किमाथाङ्का अरुण जलविद्युत् आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडले निर्माणको जिम्मा लिएको छ । भोटखोला–२ चेपुवामा अरुण नदीको पानी ६ किलोमिटर सुरुङ मार्ग निर्माण गरेर विद्युत् गृहस्थल लिङ्गमा लगिने छ । उक्त आयोजनाको लागत करिब रु ९३ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ । आयोजनाले निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ ।मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाउनुभएको हो ।

डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा रोहिता बज्राचार्य, डा जोसनलाल बज्राचार्य, डा विशालकुमार देव, डा प्रकाश ढकाल र डा सुशील समदर्शी काज फिर्ता गरिएको छ ।

यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ ।

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेशका लागि पहल गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग आज भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना ल्याउनुपर्ने बताउनुभएको हो । बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य मन्त्री गुरुङको रहेको छ ।

यस कार्यक्रममार्फत विद्यार्र्थीलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग

कोलम्बो। श्रीलङ्का सरकारले भ्रष्टाचारविरुद्धको प्रयासलाई अझ प्रभावकारी बनाउन सोमबार (३१ मार्च २०२६) बाट ‘केन्द्रीकृत इलेक्ट्रोनिक सम्पत्ति घोषणा प्रणाली’ सुरु गरेको छ ।यस प्रणालीअन्तर्गत अब सरकारी अधिकारी, राज्य संस्थामा काम गर्ने कर्मचारी र कानुनले तोकेका अन्य व्यक्ति आफ्नो सम्पत्ति र दायित्वको विवरण अनलाइन मार्फत पेश गर्न बाध्य छन् ।

यसअघि सम्पत्ति घोषणा कागजातमा भरेर आयोगमा बुझाउनुपर्ने व्यवस्था थियो, तर नयाँ प्रणालीले डिजिटल माध्यमको प्रयोग गरेर सम्पूर्ण प्रक्रिया छिटो, पारदर्शी र निगरानीयोग्य बनाएको छ ।
उक्त कदम २०२३ मा पारित भएको भ्रष्टाचारविरुद्धको ऐन अनुसार लागू गरिएको हो, जसले सम्पत्ति र दायित्व विवरणको लागि एक केन्द्रीकृत डेटाबेसको स्थापना गर्न व्यवस्था गरेको छ ।

यसले केवल दर्ता प्रक्रिया सजिलो मात्र बनाउँदैन, बरु वित्तीय हितसंघर्षको पहिचान, गलत प्रयोग रोकथाम र सार्वजनिक निगरानी पनि मजबुत बनाउँछ । यस प्रणालीले व्यक्तिगत सम्पत्तिका विवरणहरू आयोगको डेटाबेसमा सुरक्षित राख्नेछ र आवश्यक परेमा सार्वजनिक रूपमा पहुँच योग्य बनाइनेछ ।

श्रीलङ्कामा सम्पत्ति घोषणा कानुनको इतिहास लामो छ । सन् १९७५ मा लागू भएको सम्पत्ति र दायित्व घोषणा कानून अनुसार केही सरकारी अधिकारीहरूलाई मात्र आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने प्रावधान थियो ।

१९८८ मा यसलाई संशोधन गरेर दायरा विस्तार गरिएको थियो । नयाँ ऐनले अब अझ बढी अधिकारी र कर्मचारीलाई यस प्रक्रियामा समावेश गरेको छ, जसले भ्रष्टाचार नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न मद्दत पु¥याउँछ ।

अधिकारीहरूले आयोगको अनलाइन पोर्टलमार्फत आफ्नो सम्पत्ति विवरण पेश गर्नेछन् । प्रणाली स्वचालित रूपमा जानकारीको जाँच र व्यवस्थापन गर्नेछ, जसले मानव त्रुटि कम गर्छ र छिटो रिपोर्टिङ सम्भव बनाउँछ ।

साथै, आयोगले आवश्यक जानकारी सार्वजनिक गर्न र निगरानी बढाउन कटौती गरिएको विवरण उपलब्ध गराउनेछ । यसले जनताले सरकारी अधिकारीहरूको वित्तीय गतिविधि निगरानी गर्न सजिलो बनाउनेछ ।

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका आठ स्थानीय तहसम्बन्धी एक सय २६ वटा उजुरी परेका छन् ।कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताउनुभयो । तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताउनुभयो ।आयोगले स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ । आयोग प्रदेश कार्यालयअन्तर्गत कर्णाली प्रदेशका १० सहित लुम्बिनी प्रदेशको पूर्वीरुकुम जिल्ला रहेको छ ।

चीनद्वारा ‘लिजियान–२ वाइ–१’ रकेट प्रक्षेपण

जिउछ्वान। चीनले सोमबार ‘लिजियान–२ वाइ–१’ नामक वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटले तीनवटा उपग्रह बोकेको थियो ।रकेट स्थानीय समयअनुसार बेलुका ७ बजे उत्तरपश्चिम चीनस्थित व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रमा रहेको प्रक्षेपण केन्द्रबाट उडान भरेको हो । प्रक्षेपण सफल भई सबै उपग्रहहरू निर्धारित कक्षमा स्थापना भएका छन् ।

उपग्रहहरूमध्ये छिङझोउ कार्गो अन्तरिक्ष यान परीक्षण उपकरण पनि समावेश रहेको छ, जसलाई चिनियाँ विज्ञान एकेडेमी अन्तर्गत माइक्रोस्याटेलाइट नवप्रवर्तन एकेडेमीले विकास गरेको हो । यस परीक्षण उडानमा २७ वटा परियोजना समावेश छन् र कुल तौल १.०२ टन रहेको छ । यसले २०० देखि ६०० किलोमिटरसम्मको उचाइमा कक्षीय परीक्षण गर्नेछ ।

यो प्रक्षेपण लिजियान–२ रकेटको पहिलो उडान हो । विकासकर्ताहरूका अनुसार यो ‘सामान्य बूस्टर कोर’ डिजाइन प्रयोग गर्ने चीनको पहिलो रकेट हो । यसको उचाइ ५३ मिटर, तौल ६२५ टन र थ्रस्ट क्षमता ७५३ टन रहेको छ । यसले ५०० किलोमिटर सूर्य–समकालिक कक्षमा ८ टन र तल्लो पृथ्वी कक्षमा १२ टनसम्म सामग्री लैजान सक्छ ।लिजियान–२ परियोजनाका कमाण्डर याङ हाओलियाङका अनुसार यो प्रक्षेपण चीनको नयाँ पुस्ताको अन्तरिक्ष ढुवानी प्रणाली विकासमा महत्वपूर्ण उपलब्धि हो । यसले एक मात्र रकेट प्रणालीमा निर्भरता घटाउँदै बहु–रकेट प्रणालीमार्फत लचिलो र सुरक्षित सेवा उपलब्ध गराउने आधार तयार गरेको छ ।

उहाँले थप बताएअनुसार पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिमा पनि काम भइरहेको छ । प्रारम्भिक परीक्षणहरू सफल भइसकेका छन् र यस वर्ष थप परीक्षण गर्ने योजना रहेको छ ।विकासकर्ताहरूले भविष्यमा व्यावसायिक रकेटहरूको प्रयोग बढ्दै जाने र यसले लागत घटाउँदै कार्यक्षमता र सुरक्षा दुवैमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ ।नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ ।बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज (मंगलबार)देखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो ।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।उक्त निर्णयलाई सफल बनाउन मन्त्रालयले सम्बन्धित सबै निकाय र कर्मचारीलाई निर्देशित गरिसकेको छ ।

छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न

गुल्मी। जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ ।सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो ।

पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो । निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् ।

वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो । यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १४०, कोइरालो प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३३० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ ।

अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

रसुवा। चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सुचारु भएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो ।

क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले जनाएको छ । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पु¥याएको थियो । मौज्दात नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुरु गरिएको हो ।

चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो ।ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो ।

जिल्लामा विद्युत् उपभोग गर्ने करिब १० हजार ६०० ग्राहक रहेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर मरमत गर्न तत्काल कर्मचारी परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिनुभयो । एकैपटक जिल्लाभर समस्या उत्पन्न हुँदा सबै स्थानमा एकसाथ प्राविधिक पुर्याउन चुनौती भएको उहाँको भनाइ छ ।

जिल्ला विद्युत् उत्पादनको हब भए पनि निरन्तर विद्युत् आपूर्ति हुनसकेको छैन । समयसमयमा बत्ती निभ्ने पुरानो रोग अझै पनि विद्यामान छ । टिमुरे, रसुवागढी, खैदी तथा थुमन क्षेत्रको विद्युत् सेवाका प्रसारण लाइन भने रसुवागढी जलविद्युत् आयोजनामार्फत विस्तार गरिएको हो ।

प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरण मौज्दात राखिएको जनाएको छ । विपद्का बेला विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्ने तयारी सधैँ राखिएको शाखा प्रमुख तामाङले बताउनुभयो । जिल्लामा मासिक करिब डेढ करोड रुपैयाँबराबर विद्युत् महसुल सङ्कलन हुँदै आएको छ ।

हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै

हुम्ला। यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाबाट एक हजार ३०० जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।निमित्त शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्लाभर रहेका ३२ वटा माध्यामिक विद्यालयका सात वटा परीक्षा केन्द्रमा गरी एक हजार ३०० विद्यार्थीले सहभागिता जनाउने जानकारी दिनुभयो ।

जिल्लाभरका ३२ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आधारमा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह रहेको हुम्लामा नाम्खा र चङ्खेली गाउँपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्र तोकिएका हमालले बताउनुभयो । सिमकोट र सर्केगाड गाउँपालिकामा दुई÷दुई वटा परीक्षा केन्द्र तोकिएका छन् भने अन्यमा एक रहेका छन् ।

परीक्षा केन्द्रमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमिततर्फ १३३ र ग्रेड वृद्धितर्फ ३२ जना रहेका छन् । त्यस्तै, सोही गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयमा नियमिततर्फका १४३ र ग्रेड वृद्धितर्फका ९९ जनाले सहभागिता जनाउने छन् । हिमज्योति माध्यामिक विद्यालय सर्केगाड केन्द्रमा १९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २१३ जना परीक्षार्थी, कोट मावि रोडिकोटमा १०६ जना नियमिततर्फका विद्यार्थी छन् भने ग्रेड वृद्धिका विद्यार्थी नभएका उहाँले जानकारी दिनुभयो ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको सूर्योदय माध्यामिक विद्यालयमा १४० जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने ३६ जना ग्रेड वृद्धिका, मदनदेव माविमा २०५ नियमित र ८७ ग्रेड वृद्धिका र सीता मावि खार्पुनाथमा ७९ नियमित तथा २७ ग्रेड वृद्धिका गरी एक हजार ३०० जना परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।

परीक्षालाई मर्यादित बनाउनका लागि जिल्लाका सातवटै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखसँग समन्वय भइरहेको बताउँदै प्रश्नपत्र सम्बन्धित स्थानीय तहका प्रहरी चौकीमा र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको निमित्त इकाइ प्रमुख हमालले बताउनुभयो । गत वर्ष चैत सात गतेदेखि भएको परीक्षामा एक हजार १०४ जना सहभागी भएका थिए ।

आज देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग्रहावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर। भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।

हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ ।

भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् ।

स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार-व्यवसाय पनि विस्तार हुन थालेको छ ।

सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ ।

आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले गर्यो क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि स्तन, पाठेघरको मुख तथा सर्भाइकल (पाठेघरको तल्लो भागमा पलाउने) क्यान्सर निःशुल्क परीक्षण सुरु गरेको छ । कामपाले वीर अस्पतालसँगको सहकार्यमा सोमबारदेखि महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण लिएको हो ।

सोमबार कार्यक्रमको शुभारम्भ गर्दै कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वास्थ्य जाँच गराएकी छन् । सो क्रममा उनले भनिन्, “समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ । आर्थिक अवस्था कमजोर बनाउनुका साथै परिवारको मानसिक अवस्थालाई पनि कमजोर बनाउँछ । जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ ।” महिलाले घरमा परिवारका सदस्य बिरामी पर्नुहोला कि भनेर जसरी सचेतना अपनाउनुहुन्छ त्यसरी नै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न उनले सबै महिलालाई अनुरोध गरिन् ।

चिकित्सा विज्ञान–प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै कामपाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा रहेको बताए ।

“पाठेघरको मुखको क्यान्सर भए/नभएका बारेमा समयमा परीक्षण गराउँदा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) पोजेटिभ देखिए महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउनुहुन्छ । एचपिभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सरको जोखिम हुनसक्ने सम्भावनाको सङ्केत हो”, वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा सन्ध्या चापागाईँले भनिन् । महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपिभी–१६ र एचपिभी–१८ को परीक्षण हुँदै आएको गर्ने गरिएको उनले जानकारी दिइन् ।

क्यान्सर रोग विशेषज्ञ प्रा डा चापागाईँका अनुसार गत वर्ष ९८ जनाको परीक्षण गर्दा एचपिभी–१६ र एचपिभी–१८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपिभी–६, एचपिभी–११, एचपिभी–१६, एचपिभी–१८, एचपिभी–३१, एचपिभी–३३, एचपिभी–४५, एचपिभी–५२ र एचपिभी–५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए । तीस वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्नेमा उनले जोड दिए ।

एक जनाभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरै पटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने क्यान्सर रोग विशेषज्ञ प्रा डा चापागाईँले उल्लेख गरिन् ।

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

काठमाडौँ । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत् शुल्कमा थप वृद्धि हुने बताएको हो ।

आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, “आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो।”

अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रुपैयाँ अर्थात् ०.२८ अमेरिकी डलर हुनेछ ।

यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत् उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभोक्ताका लागि ११।११ प्रतिशतले मूल्यवृद्धि हुनेछ ।

श्रीलङ्काले यस महिनामा तीन पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाइभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक बिदा तोकेको छ।सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ ।

गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकलामा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ।

श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ ।

उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ ।

मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो ।

श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको सशर्त कर्जा सहयोग प्राप्त गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइनेछ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए । “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने । छलफलमा प्रधानमन्त्री शाहले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचित सांसद मल्ल प्रधानमन्त्रीसँगको छलफल आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमा केन्द्रित रहेको राससलाई जानकारी दिए । छलफलमा सहभागी सांसदहरूले आगामी वर्षको बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दिन, प्रदेशको शासकीय सुधार तथा भौतिक पूर्वाधार निर्माणलगायत बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

“जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुन पूर्व तयारी, कर्णाली, भेरी, राप्तीलगायत विभिन्न सडक करिडोर तथा मध्यपहाडी, मदनभण्डारी, लुम्बिनी–रारालगायत लोकमार्ग तथा सडक पूर्वाधार, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम खानी अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन, शिक्षा क्षेत्रका प्राथमिकताबारे प्रधानमन्त्रीसँग कुरा राखेका छौँ”, सांसद मल्लले भने ।

छलफलमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी थिए ।

‘प्रदेश सरकारले नतिजामुखी बजेट निर्माण गरिनेछ’ मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर योजना छनोट र योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले विगतमा हामीले गर्दै गएको असन्तुलित अभ्यासलाई यस पटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरेको बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले योजना बैंकलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी यसपटकको बजेटमा बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाले यस पटक देखिने गरी काम गर्नका लागि आग्रह गर्दै यसअघि बजेट निर्माणमा भएका कमीकमजोरी यस पटक नदोहरिने गरी जिल्ला तहबाट बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिए । मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा विकासका गति अघि बढ्न नसकेका उनले गुनासो गरे ।

प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पससँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

प्रदेश योजना आयोगमार्फत परम्परागत रूपमा परिवारमा उत्पादन गरिँदै आइएको घरेलु मदिरा (रक्सी) को उत्पादन, गुणस्तर मापन, परीक्षण, बजारीकरण, ब्रान्डिङलगायत विषयका सन्दर्भमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैंकलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

कार्यक्रममा प्रदेशका सभामुख, विभिन्न मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

दाङका १० जनाले बुझाएन चुनावी खर्चको विवरण

दाङ । गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।

त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए ।

सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् ।

नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए ।

अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिएका छन् ।

महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । “महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उनले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

महावीरले दिएका अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने र सत्यको पालानले इमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन छ ।

लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पार्नुभएको छ । ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउने र यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ ।

“महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो । यस अवसरमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति सङ्गीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउँछ । यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धीकरण गर्न र समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

भगवान् महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने अमूल्य सन्देश दिएको स्पष्ट पार्दै उपराष्ट्रपतिले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न प्रेरित गरेको पुष्ट पारेका छन् । महावीरको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिने सन्देशमा उल्लेख गरेका छन् ।

महावीरले देखाएको सत्मार्गलाई आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने सङ्कल्प लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले यस जयन्तीले हरेक नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस्, पुनः शुभकामना व्यक्त गरेका छन् ।

लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर । जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ ।

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ ।

सोही क्रममा हिजो मात्रै पूर्व(पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् ।

स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको जाँचमा १६ जना चालकको परीक्षण गर्दा चार जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

उनका अनुसार लागुपदार्थ सेवन गरेर सवारी चलाउनु केबल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध र सार्वजनिक सुरक्षामाथिको खेलबाड हो । लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ ।

“यस प्रविधिमा चालकको र्‍यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ । जसबाट चालकले लागुपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ”, प्रहरी निरीक्षक नाथले भने । सेवन गरेको पुष्टि भएमा लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ ।

यसअघि मादक पदार्थ सेवन (मापसे) को मात्र जाँच हुँदै आएकामा अब चिकित्सकको निगरानीमा लागुपदार्थ सेवन जाँच सुरु गरिएकाले लागुऔषध प्रयोग गरेर सवारी चलाउने चालक कानुनी दायरामा आउन थालेका छन् ।

उनका अनुसार लागुपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले राजमार्ग क्षेत्रमा महिनामा लागुपदार्थ सेवनबारे दुई(तीन पटक छड्के जाँच गर्ने र साँझको समयमा दैनिक मापसे जाँचलाई निरन्तरता दिने कार्य गर्दै आएको छ ।

“यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक नाथले भने, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने काम पनि हुँदै आएको छ ।” सडकमा लापसे जाँच गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले उल्लेख गरे ।

राजमार्गमा हुने दुर्घटना कम गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।

लहानमा आधुनिक ‘ब्लड बैंक’ निर्माण हुने

सिरहा। सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ ।

रगतको अभावमा बिरामीले भोग्नुपरिरहेको सास्तीलाई दृष्टिगत गर्दै आज लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाता परिवारबीचको त्रिपक्षीय समन्वयमा परियोजना अघि बढाइएको छ ।

ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौतासमेत भएको छ । यसका लागि लहान नगरपालिका–१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमती भएको छ ।

भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले रु ४० लाख सहयोग गर्ने र उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिने जनाइएको छ । यसैगरी, लायन्स क्लबले बैंकका लागि आवश्यक पर्ने रु एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापनाले यस क्षेत्रको स्वास्थ्य उपचारमा ठूलो योगडदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या छ”, उहाँले भन्नुभयो, “अब स्थापना हुने ब्लड बैंकले आपत्कालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई समाधान गर्नेछ ।”

समाजसेवी मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवामा लगानी गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडवाडी सेवा सदन जस्ता संस्थाहरूको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्लाहरू सप्तरी, धनुषा र उदयपुरका बिरामीसमेत लाभान्वित हुनेछन्

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन। चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ । उहाँले यस रोगले व्यावसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत सङ्क्रमण फैलन सक्ने बताउनुभयो ।

उहाँका अनुसार भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ । घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उहाँले आग्रह गर्नुभयो ।

बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनमा २०७८ सालपछि बर्डफ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन ।” अघिल्लो पटक २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम छ । उहाँले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो कुखुरापालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै रहेको छ । एउटै सवारीसाधनले विभिन्न फार्ममा अण्डा सङ्कलन तथा दाना आपूर्ति गर्ने गर्छ । यसरी सङ्कलन र आपूर्ति गर्ने क्रममा सङ्क्रमित फार्मबाट स्वस्थ फार्ममा जाँदा भाइरस सर्नसक्ने जोखिम रहन्छ ।”

जिल्लामा गत आर्थिक वर्षको तथ्याङ्कअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ ।

‘मिडियामा महिला मुद्दामा खोजी समाचारको अभाव छ’

काठमाडौँ । आमसञ्चारमाध्यममा महिलाका मुद्दाबारे खोजी समाचारभन्दा घटनाप्रधान विषय केन्द्रित रहेको सञ्चारिका समूहको एक अध्ययनले देखाएको खुलाएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा छ महिनाको अवधिमा मिडिया अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिइयो । समूहका अध्यक्ष कमला पन्थीद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा अझै पनि मिडियामा महिलाका मुद्दा खोजीका विषय बन्न नसकेको पाइएको उल्लेख छ ।

प्रदेशगत आधार सुदूरपश्चिममा छाउपडी र स्वास्थ्यसम्बन्धी घटना धेरै समाचार बनेका, केही घरेलु हिंसाका घटना समेटिएका र काठमाडौँ केन्द्रित मिडियामा भने महिलाका नीतिगत बहसका विषय समाचार हुने गरेका अध्यक्ष पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाका विषय विगतमा भन्दा बढी लेखिन थालेका छन् तर, खोजीका मुद्दा भने बन्न सकेका छैनन् ।”

यस्तै, सञ्चारीका समूहले महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले २१ जना महिला पत्रकारले लेखेको ‘उद्यमी पाइला’ शीर्षकमा समाचार तयार पारेको थियो । त्यसमा समेटिएका उद्यमी महिलाका सफलताबारे कार्यक्रममा छलफलसमेत गरिएको थियो ।

उक्त समाचार सम्पादन गर्नुभएका पत्रकार हरिबहादुर थापाले महिलाका सफल कथा लेख्दा समाजमा सकारात्मक दृष्टिकोण सिर्जना हुने बताउनुभयो । उहाँले अबको पत्रकारिता लेखनमा भाषा सरल र पुस्ताअनुसारको शैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा उद्यमी श्याम बदन श्रेष्ठले विसं २०४१मा नेपाल नट क्राफ्ट सेन्टरको स्थापना गरेर धेरै महिलालाई उद्यमी बनाएको अनुभव सुनाउनुभयो । उहाँले महिला सशक्तीकरण हुन आर्थिक प्रगति मुख्य आधार भएको उल्लेख गर्दै यसका लागि उद्यमी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकारिताका माध्यमबाट महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । ‘फेलोसिप’ का ‘मेन्टर’ पत्रकार दुर्गा कार्कीले महिला पात्रलाई मिडियामा उभ्याउने र प्रस्तुत गर्ने दृश्य रूपान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले आज छलफल गरेका छन् ।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्र्ने गरी अघि बढाइने बताउनुभयो । उहाँले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताउनुभयो ।

छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अगवत गराइएको छ ।

छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलेको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौँ, चैत १६ गते । सरकारले सहकारी क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र, २०८२’ मार्फत बहुआयामिक सुधारको खाका सार्वजनिक गरेको छ ।सार्वजनिक मार्गचित्रले बचतकर्ताको रकम फिर्ता, नियामकीय संरचना पुनर्गठन, कानुनी कडाइ र प्रविधिमैत्री निगरानी प्रणाली लागू गर्ने प्रबन्ध मिलाउन सिफारिस गरेको छ । सरकारबाट पछिल्लो समय देशभर समस्याग्रस्त सहकारीहरूमा अर्बौं रकम फसेको पृष्ठभूमिमा मार्गचित्रमार्फत यस्तो सुझाव आएको हो ।

सो मार्गचित्रअनुसार सरकारले सबैभन्दा पहिलो प्राथमिकता साना बचतकर्तालाई दिएको छ । समस्याग्रस्त सहकारीका बचतकर्ताहरूमध्ये पाँच लाख रुपैयाँसम्म बचत भएका सदस्यहरूको पहिचान गरी ‘बचत तथा कर्जा सुरक्षण कोष’मार्फत प्राथमिकताका आधारमा तत्काल बचत फिर्ता गर्ने प्रस्ताव गरिएको छ ।

यसका लागि निश्चित समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्ने र निक्षेप सुरक्षाको कानुनी प्रत्याभूति दिने उल्लेख छ । यदि असुल गरिएको सम्पत्तिबाट रकम फिर्ता हुन नसकेको अवस्थामा पनि सुरक्षण कोषबाट पाँच लाख रुपैयाँसम्मको रकम फिर्ता हुने ग्यारेन्टी गरिनुपर्ने मार्गचित्रमा उल्लेख छ ।

साना बचतकर्ताको रकम फिर्तालाई सहज बनाउन सरकारले आवश्यक परे सहकारी ऋणपत्र जारी गरी तरलता व्यवस्थापन गर्ने योजना पनि अघि सारेको छ । त्यस्तै, पाँच लाख रुपैयाँ भन्दामाथिको बचतका हकमा दामासाहीका आधारमा वितरण गरिनुपर्ने र निक्षेपकर्ताको प्राथमिकता सूची तयार गरिनुपर्ने उल्लेख छ ।बचत फिर्ता नभएसम्म समस्याग्रस्त सहकारीका सञ्चालकहरूको अन्य व्यावसायिक कारोबार र आम्दानीमाथि समेत कानुनी निगरानी राखिने प्रावधान प्रस्ताव गरिएको छ ।

मार्गचित्रले संस्थागत सुधारतर्फ थप कडा प्रावधान सिफारिस गरेको छ । हालको सहकारी विभाग खारेज गरी अर्धन्यायिक र कार्यकारी अधिकारसहितको स्वायत्त ‘सहकारी नियमन प्राधिकरण’ बनाइनुपर्ने प्रस्ताव गरिएको छ ।

उक्त प्राधिकरणलाई दोषी सञ्चालकको राहदानी रोक्का गर्ने, बैंक खाता र सम्पत्ति फ्रिज गर्ने तथा व्यक्तिगत सम्पत्ति जफत गरी लिलाम गर्नेसम्मका अधिकार दिने योजना छ । मन्त्रालयमा भने नीतिगत कार्यका लागि सहकारी महाशाखा मात्र राखिने उल्लेख गरिएको छ ।

त्यस्तै, प्रत्येक समस्याग्रस्त सहकारीका लागि छुट्टाछुट्टै ‘डेडिकेटेड टास्क फोर्स’ गठन गरिने र सम्पत्ति व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ मोडेलमा स्थायी संरचना बनाइने प्रस्ताव गरिएको छ । साथै, नियमनकारी निकायमा वित्तीय विश्लेषण, फोरेन्सिक अडिट र साइबर नियमनका विज्ञहरू अनिवार्य रूपमा राख्ने व्यवस्था गरिने जनाइएको छ ।

सङ्घीय संरचनाअनुसार सहकारीको क्षेत्राधिकार पुन:वर्गीकरण गर्ने विषय मार्गचित्रको अर्को महत्वपूर्ण सिफारिस हो । सहकारीको कारोबार रकमका आधारमा एक करोड रुपैयाँसम्म स्थानीय तह, ५० करोड रुपैयाँसम्म उपमहानगर, एक अर्ब रुपैयाँसम्म प्रदेश र पाँच अर्ब रुपैयाँभन्दा माथि सङ्घीय तहको अधिकार क्षेत्र हुने प्रस्ताव गरिएको छ । साथै, कारोबार सीमा नाघेपछि स्वत: स्तर परिवर्तन हुने ‘अटो अपग्रेड/डाउनग्रेड’ प्रणाली लागू गरिनुपर्ने उल्लेख छ ।

तीनै तहका सरकारबीच तथ्याङ्क आदानप्रदान गर्न एकीकृत डिजिटल सर्भर स्थापना गर्ने, अन्तरसरकारी सुपरीवेक्षण संयन्त्र बनाउने र एक तहमा समस्याग्रस्त घोषित सञ्चालकलाई अर्को तहमा जिम्मेवारी लिन कानुनी बन्देज लगाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ । नयाँ सहकारी दर्ता स्थानीय तहबाट मात्र हुने र प्रदेश तथा सङ्घीय तह नियमनमा सीमित रहने नीति लिइएको छ ।

कानुनी सुधारअन्तर्गत सहकारी ऐन तथा नियमावली संशोधन गरी क्षेत्राधिकार र व्यावसायिक सीमाहरू स्पष्ट पारिनुपर्ने उल्लेख छ । ‘एक व्यक्ति, एक सहकारी’ नीति कडाइका साथ लागू गरिने र व्यक्तिगत बचतको सीमा तोक्ने प्रावधान ल्याइने जनाइएको छ । महासङ्घहरूलाई बचत तथा ऋण कारोबार गर्न पूर्ण रूपमा बन्देज लगाई केवल प्रवद्र्धनात्मक भूमिकामा सीमित गरिने प्रस्ताव गरिएको छ ।

रुग्ण सहकारीलाई सबल संस्थासँग गाभ्ने बाध्यात्मक तथा प्रोत्साहनमूलक ‘मर्जर’ नीति लागू गरिनेछ भने सहकारीलाई गैरकानुनी सम्पत्ति शुद्धीकरणको माध्यम बन्न नदिन एएमएल/सीएफटीसम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन गरिनेछ । सञ्चालक तथा पदाधिकारीहरूको योग्यता, अनुभव र आचरणसम्बन्धी कडा मापदण्ड पनि तोकिने भएको छ ।

प्रविधि र वित्तीय सुशासनतर्फ सहकारी, बैंक तथा सरकारी निकायबीच सूचना प्रणाली अन्तरआबद्ध गरिने जनाइएको छ । कोपोमिस प्रणाली अनिवार्य गरी एकीकृत डिजिटल तथ्याङ्क निर्माण गरिने र गलत विवरण दिने संस्थाको कारोबार रोक्का गरिने उल्लेख छ ।

सहकारीको बचत घरजग्गा वा सेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न रोक लगाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिनुपर्ने मार्गचित्रको सिफारिस छ ।अन्तरराष्ट्रिय वित्तीय मापदण्डको अनिवार्य पालना, त्रैमासिक वित्तीय श्वेतपत्र प्रकाशन र लगातार तीन वर्ष लेखापरीक्षण नगर्ने संस्थालाई दर्ता खारेजीसम्मको कारबाही गर्ने कडा प्रावधान पनि प्रस्ताव गरिएको छ ।

सरकारको यो मार्गचित्रले सहकारी क्षेत्रमा देखिएको विद्यमान सङ्कट समाधान गर्ने प्रयास गरे पनि यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने देखिन्छ ।विगतमा पनि नीतिगत घोषणा भए पनि कार्यान्वयन कमजोर रहँदा समस्या झन जटिल बनेको थियो । त्यसैले, प्रस्तावित कडा प्रावधान व्यवहारमा कति लागू हुन्छन् भन्ने नै अबको मुख्य चुनौतीका रूपमा हेरिएको छ । रा

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि आज दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

छनोट हुने टोलीको कप्तानी इन्दु बर्माले र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने जनाइएको छ ।

घोषित अन्य खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् ।

यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएकी छन् । रुवान्डामा आयोजना हुने उक्त प्रतियोगिता अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ संरचनाअनुसार पहिलोपटक हुँदैछ ।