`

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् ।प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन रेका हुन् ।

सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ ।

रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन् ।

आज हनुमान जन्मजयन्ती ,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ ।

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ ।

भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

यस अवसमरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रका रूपमा चिनिनु हुन्छ ।

पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।

हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको आशा, अपेक्षा र आकाङ्क्षाको प्रतिनिधित्व गर्नुपर्दछ ।

हालै सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा उल्लेख्य सङ्ख्यामा युवा तथा नयाँ अनुहार जनताका प्रतिनिधिका रूपमा छानिएका छन् । विगतको संसद्मा प्रतिनिधित्व गर्ने अनुहारसँग तुलना गर्ने हो भने हालको प्रतिनिधित्व खासमा नाति पुस्तामा सरेको छ । केही दिनअघि संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराइरहेको दृश्यबाट त्यस्तै देखिन्थ्यो । यो नयाँ ऊर्जा, नयाँ सोच र नवीन ‘एजेन्डा’ बोकेको उमेर पनि हो र यसले जनताको भावना र चाहनाको पनि प्रतिनिधित्व गर्दछ ।

नयाँ जनादेशसहित अब बस्न लागेको संसद्को अधिवेशन केवल औपचारिक बैठकमा मात्र सीमित नभएर देशको दिशा निर्धारण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो । युवा सांसदहरूको उपस्थितिले यो अधिवेशन अझ परिणाममुखी, उत्तरदायी र जनमुखी हुनुपर्छ ।

सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण वर्तमान सरकार र संसद्को पहिलो प्राथमिकता हो । हुन त यो यसअघिका सरकार र संसद्को पनि प्राथमिकताकै विषय हो, तर हिजो ती प्राथमिकता केवल भाषणमा सीमित रहे । त्यसैकारण परिणाम पनि निस्किएन । वर्तमान संसद् र सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको हो । सो आन्दोलनको पहिलो र प्राथमिक ‘एजेन्डा’ भनेकै सुशासन र भ्रष्टाचारको अन्त्य हो । यसकारण पनि भ्रष्टाचारविरुद्ध कडा नीति, कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनका उपायहरू यो संसद्ले तय गर्नुपर्छ ।

सार्वजनिक निकायहरूको पारदर्शिता बढाउने र जिम्मेवार बनाउने विषयमा संसद्ले ठोस भूमिका खेल्नुपर्छ । संसद् सबै राजनीतिक दलहरूका आवाज र योजना मुखरित हुने थलो हो । विपक्षी दलहरूले अघि सार्ने योजना र उनीहरूले राख्ने गुनासा पनि पहिले संसद्मै आउँछन् र संसद्को बाटो भएरै सरकारसमक्ष पुग्ने गर्दछन् । यसकारण पनि यस विषयमा संसद् अझ बढी जागरुक र चनाखो हुनुपर्ने अवस्था छ ।

यो उद्देश्य प्राप्तिका लागि सबैभन्दा पहिले नयाँ संसद्ले जनताको विश्वास जित्न पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिनुपर्दछ । हिजोका दिनमा संसद्प्रतिको जनताको बुझाइ र भोगाइमा व्यापक परिवर्तन ल्याउनु जरुरी छ । विगतको त्यो निराशा र अविश्वासलाई चिर्न संसद्ले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्दै प्रत्येक निर्णय र गतिविधि जनउत्तरदायी र जनमुखी बनाउन आवश्यक छ । संसद्का छलफलहरू पनि केवल संसदीय व्यवस्थाको निरन्तरता र शब्दजालले भरिएका लम्बेतान बहस मात्र नभएर सार्थक, तथ्यपरक र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनु जरुरी छ ।

जनतालाई दिनुपर्ने ‘डेलिभरी’का विषमा केन्द्रित नीति तथा कानुन निर्माण अबको संसद्को मुख्य आकर्षण हुनेछ । यस विषयमा यो संसद्ले नवीनता र व्यावहारिकता थप्ने अपेक्षा जनताको छ । युवा सांसदहरूको आगमनले सूचना प्रविधिको विकास, नवप्रवर्तनसहितको उद्यमशीलता, रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवाको विस्तार जस्ता क्षेत्रमा नयाँ सोचले प्रवेश पाउने अपेक्षा छ । देशका विद्यमान समस्या जस्तै बेरोजगारी, गरिबी, भ्रष्टाचार र असमानताको समाधानतर्फ केन्द्रित एजेन्डा पनि संसद्ले सुरुमै तय गर्नुपर्दछ ।

संसद्मा एउटै पार्टीको बहुमत नरहेको धेरै समय भयो, जसकारण मुलुकमा राजनीतिक स्थिरता छैन । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट मात्र होइन दुई तिहाइ नजिकको जनमत हासिल गरेकाले यो जनमतको सम्मान गर्दै हिजोका दिनमा संसद्भित्र देखिने गरेका दलहरूबीचका शक्ति सङ्घर्ष एवं संसद्कै गरिमा घटाउने खालका क्रियाकलापहरू हुन दिने छैन । यसकारण राष्ट्रिय हितका मुद्दाहरूमा संसद्ले साझा समझदारी कायम गर्दै सहकार्यको संस्कृति विकास गर्ने अपेक्षा छ । बहस र आलोचना त संसद्मा हुन्छ नै, त्यो पनि आवश्यकताको सिद्धान्तका आधारमा होस् र विकास र समृद्धिको मार्गमा संसदीय कारबाही अघि बढोस् भन्ने आशा सबै नेपाली जनताले राखेका छन् ।

हिजोका दिनमा सांसदहरूले जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सकेनन् । उनीहरू चुनाव जितेर राजधानी फर्किएपछि प्रायः गाउँ फर्किएनन् । यो कसैप्रतिको आरोप नभएर प्रतिनिधिसभाको गत निर्वाचनमा जनताले नै मत माग्न जाने उम्मेदवारहरूसँग गरेको गुनासो हो । वर्तमान संसद्का प्रतिनिधिहरूले कम्तीमा पनि आफ्ना मतदाताको आवाज बन्नुपर्ने दायित्वलाई नभुलून् र नियमित रूपमा जनतासँग संवाद गरी समाधानका प्रयास गरून् । यो जनताको अपेक्षा हो र यसले लोकतन्त्रलाई अझ सशक्त पनि बनाउनेछ ।

विकास निर्माण होस् या अन्य कुनै अग्रगामी योजना तर्जुमा, सबैभन्दा जटिलता र समस्या देखाउने गरिएको विषय कानुनको अभाव हो । धेरै काम कानुनको अभावले रोकिएका र कतिपय योजनाको ढिलाइमा कानुन नै बाधक देखिने गरेको विगतमा धेरै सुनिएको हो । यसकारण पनि यी सबै बाधा–व्यवधानहरूको अध्ययन गरी प्रभावकारी कानुन निर्माण संसद्को यो अधिवेशनको प्राथमिकतामा पर्नुपर्दछ । यो अधिवेशनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित कानुनहरूलाई प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासनका क्षेत्रमा सुधार ल्याउने विधेयकहरू ल्याएर छिटो पारित गर्नुपर्ने आवश्यकता छ ।

सरकारको कामको निगरानी त संसद्को मुख्य काम हो नै । संसद्ले नै सरकारलाई कामयाबी र जवाफदेही बनाउनु पर्दछ । मन्त्रीहरूलाई कामका विषयहरूमा प्रश्न गर्ने, कामको प्रगति माग्ने र समीक्षा गर्ने अनि आवश्यक निर्देशन दिने कार्य पनि संसद्को हो । त्यसैले यस काममा पनि संसद् सक्रिय हुनु जरुरी छ ।

यसैगरी, आर्थिक विकास र बजेट तयारीको दिशामा पनि यो संसद् थप सक्रिय हुनुपर्दछ । खासमा सरकारले सुशासन र विकासका कामहरू दिने र सेवाको ‘डेलिभरी’ दिने काम बजेटमार्फत गर्नुपर्ने हुन्छ । यसकारण देशको आर्थिक अवस्था सुधार गर्न दीर्घकालीन योजना, लगानीमैत्री वातावरण, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित छलफललाई संसद्ले थप सिर्जनात्मक र प्रभावकारी बनाउनुपर्ने हुन्छ । यो पनि वर्तमान संसद्को आगामी बजेटका लागि एक प्रकारको स्पष्ट मार्गदर्शन हो ।

कतिपय पुराना राम्रा योजना तथा कार्यक्रमलाई निरन्तरता दिए पनि यो सरकारले कामको ‘मोडालिटी’ भने नयाँ नै प्रस्तुत गर्नुपर्ने छ । युवामैत्री र नवीन एजेन्डा नै वर्तमान सरकारले अघि बढाउनुपर्दछ । यसका लागि आवश्यक पर्ने नियम, कानुनमा यो संसद्ले ध्यान दिनुपर्ने हुन्छ । नयाँ सांसदहरूले ‘स्टार्टअप’, ‘डिजिटल’ अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन जस्ता विषयमा विशेष प्राथमिकता दिनुपर्छ र यसका लागि आवश्यक कानुन निर्माणमा जुट्नुपर्दछ । खासमा यसले नै मुलुकलाई आधुनिक विकासतर्फ अघि बढाउन मद्दत गर्नेछ ।

राष्ट्रिय एकताका साथै मुलुकको निकासका लागि आवश्यक पर्ने सहकार्यको वातावरण निर्माण गर्ने थलो संसद् हो । संसदीय प्रजातन्त्रमा संसद् विपक्षीहरूको सत्ता हो भनिन्छ । विपक्षी दलहरूले आफ्ना कुरा सदनमै राख्छन् र सरकारको ध्यानाकर्षण गराउँछन् । सरकारले पनि विपक्षीहरूको मागको तथा जनताका आवाजको जवाफ सदनमै दिनुपर्दछ । त्यसैले दलहरूबीच सहकार्यको भावना विकास गर्दै राष्ट्रिय हितका मुद्दामा एकजुट भएर काम गर्न यो संसद्को अभिभारा गहन हुन आउँछ । विगतमा संसद् अवरोधको शृङ्खला हामीले निकै लामो देख्दै आएका छौँ । संसद् अवरोध हुने बहाना विपक्षीहरूले खोजी नै रहेका हुन्छन् । यसलाई पनि सरकारले समयमै सम्बोधन गर्नुपर्दछ ।

संसद्लाई सिधै जनतासँग जोड्नका लागि संवाद र सहकार्य जरुरी छ । सरकारले पनि संसद्लाई बिजनेस दिनुपर्ने हुन्छ अनि संसद्ले सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्दछ । संसद्मा मन्त्रीको उपस्थिति जरुरी छ र आफ्नो मन्त्रालयका बारेमा संसद्मा उठेका प्रश्नहरूको जवाफ पनि मन्त्रीहरूले त्यहीँ नै दिँदा प्रभावरकारी हुन्छ । यसका लागि अधिवेशनका छलफलहरू पनि जनताले चासो राख्ने र जनजीविकासँग जोडिने विषयमा केन्द्रित हुनुपर्छ । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका मुद्दाहरू उठाउने र समाधान खोज्ने प्रयास यही थलोबाट गर्नुपर्छ । अन्यथा यो संसद् पनि हिजोका जस्तो निस्प्रभावी र जनताको आकर्षण हुन नसकेको संसद्का रूपमा हुन आउनेछ ।

संसद् केवल नीति र कानुन बनाउने मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन भए– नभएको अनुगमन गर्ने पनि निकाय हो । यस कार्यका लागि प्रभावकारी संसदीय संयन्त्र आवश्यक छ र त्यसैम आधारमा संसद्को काम–कारबाहीका साथै संसद्ले निर्माण गरेका कानुन, नीति नियमहरूको कार्यान्वयनको अवस्थालाई बलियो बनाउनु पर्दछ ।

यसरी यो संसद् अधिवेशनले खासमा काम गर्ने संसद् एवं कामयाबी संसद्को सन्देश दिन सक्नुपर्दछ । यसले थोरै बहस र धेरै परिणामलाई प्राथमिकतामा राख्नुपर्छ । जस्तो कि बजेट छलफलका क्रममा आउने एक रुपैयाँ घटाइयोस् भन्ने जस्ता प्रस्तावहरूमा दिनहुँ छलफल हुुने, तर पछि त्यो प्रस्ताव फेल हुनेजस्ता नाटकीय कार्यसूचीमा अल्मलिएर समय बर्बाद गर्ने जस्ता काम यो संसद्मा हुनुहुँदैन ।

यस्तै कामहरूका साथै नाराबाजी तथा सानातिना दलीय मागहरूमा पनि संसद् अवरुद्ध गर्ने जस्ता कारण हिजोका दिनमा संसद्प्रति जनताको धारणा सकारात्मक छैन । यसलाई चिर्नका लागि पनि आगामी संसद् अधिवेशनले जनअपेक्षाअनुसार काम गरेर संसद्प्रति जनविश्वास आर्जन गर्ने र मजबुत बनाउने काममा ठूलो योगदान दिन सक्दछ । हालको संसद्मा जसरी युवा र सिर्जनशील उमेर समूहकाहरूको बाहुल्यता छ, ठीक त्यसैगरी सिर्जनात्मक काम गर्न सक्यो भने नेपालको संसदीय मूल्यमान्यतामा यो संसद्को कामकारबाही नयाँ मानक पनि बन्नसक्छ ।

यदि यसो हुन सक्यो भने अबको संसद्ले दीर्घकालीन दृष्टिकोणका साथ देशको समृद्धि र सुशासनतर्फ मुलुकलाई मार्गनिर्देश गर्न सक्दछ । नयाँ पुस्ताको नेतृत्वले पुराना कमजोरीहरूलाई सुधार्दै सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्न सकेमा मु्लुकको यो संसद् साँच्चिकै नयाँ सोच, नयाँ ‘एजेन्डा’ र नयाँ दिशा बोकेको संस्थाका रूपमा सुपरिचित र स्थापित हुनेछ ।

यसका लागि नयाँ सांसदहरूको ऊर्जा, प्रतिबद्धता र जनमुखी कार्यशैली आवश्यक छ । संसद्लाई प्रभावकारी, विश्वासिलो र परिणाममुखी बनाउन अबको संसद् हिजोको जस्तो निरर्थक बहस मात्र गर्ने नभई देश र जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने दिशामा अघि बढ्न सक्दछ । आजदेखि सुरु हुन लागेको संसद् अधिवेशनबाट नेपाली जनताले यही अपेक्षा गरिरहेका छन् ।

आजदेखि संसद अधिवेशन प्रारम्भ हुँदै,कार्यसूची यस्तो छ

काठमाडौं। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बिहिबार दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए  । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

बिहिबार प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

बिहिबारको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य-सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने  सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

बिहिबार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्नुहुने सम्भावित कार्यसूची समेत रहेको छ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले बताउनुभयो । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ आठ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ तीन पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आजदेखि एसईई परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं। यस वर्षको एसइई परीक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये प्राविधिक धारतर्फ १६ हजार ३१२ जना विद्यार्थीले परीक्षा दिनेछन् भने आंशिकतर्फ २६४ जनाले परीक्षा दिनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु हुनेछ ।

नागरिकको अपार सहयोग र समर्थनले थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको छ : महानिरीक्षक कार्की

लुम्बिनी। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताउनुभएको छ ।

विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीका झण्डै आधा युनिटमा भवन, आवश्यक साधनस्रोत र पर्याप्त कानुन नहुँदा पनि जनताप्रतिको जिम्मेवारी बहन गर्न नचुकेको बताउनुभयो ।

नेपाल प्रहरीका हरेक क्रियाकलापमा पछिल्लो समय नागरिकको अपार समर्थन पाएको बताउँदै उहाँले नागरिकको त्यही सहयोग र समर्थनले थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल प्रहरी विभिन्न राजनीतिक, सांस्कृतिक र सामाजिक किसिमका सङ्घर्ष चिर्दै र त्यसको बीचबाट शान्ति सुरक्षा, सार्वजनिक सुरक्षा, अमनचयन र घटित अपराधको सफल अनुसन्धान यहाँ सम्मको ७० वर्षको यात्रा तय गरेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संविधानले सुनिश्चित गरेका महिला बालबालिका र ज्येष्ठ नागरिकको सेवाको लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले मोतिपुर औद्योगिक क्षेत्रभित्र वडा प्रहरी कार्यालय आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र खत्री, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा परियोजनाका प्रमुख इन्द्र न्यौपाने, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पौडेल लगायतले नवनिर्मित भवनबाट प्रदान हुने सेवाले महिला र बालबालिकाको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो ।

महिला र बालबालिकाको सुरक्षा र न्यायमा पहुँच वृद्धिका लागि नेपाल प्रहरीका लागि हालसम्म ४२ वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । त्यस्तै १० वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । यस कार्यालयबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण र दुव्र्यवहारका घटनाको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितलाई उद्धार तथा कानुनी सहयोग प्रदान गर्ने उद्देश्य रहेको छ ।

इलाका प्रहरी कार्यालय परिसरमा २८७ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा उक्त भवन निर्माण गरिएको हो । कूल रु दुई करोड ४१ लाख ४३ हजार ७५३ लागतमा निर्माण सम्पन्न भएको भवनमा ११ वटा कोठा रहेका छन् । भवनभित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, सामान्य केस दर्ता, परामर्श कक्ष, बैठक र सम्मेलन कक्षलगायत रहेका छन् ।

दुईतले उक्त भवनमा अपाङगमैत्री शौचालय निर्माण गरिएको छ भने सौर्य ऊर्जा प्रणाली, सुरक्षाको लागि तारबार र फर्निचर तथा उपकरणहरूको समेत व्यवस्था गरिएको छ ।

माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई कृषि विभागको आग्रह

काठमाडौँ। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ ।विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माटो परीक्षणका लागि किसानलाई आह्वान गरेको हो ।

माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । किसानलाई नजिकका कार्यालयमा प्राविधिकको सल्लाह लिएर गुणस्तर वृद्धि गर्न भनिएको छ ।

विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ । गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाइएको थियो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय माटोले सहयोग पुग्ने बताउँदै करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको जानकारी दिनुभयो ।

पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ । गत वर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो क्षरीय प्रकृतिको पाइएको थियो ।

गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको विभागले जनाएको छ । नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ ।

एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताउनुभएको छ ।

आज मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी उहाँले आफ्ना कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।

जस अन्तर्गत केही समयमै जनकपुरबाट सीप मेला सुरुवात गरेर एक वर्षभित्र सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिनुभएको हो । मन्त्री साहका अनुसार दक्ष जनशक्तिले नै मुलुकको समृद्धिमा टेवा पुग्ने हुँदा स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको लक्ष्य छ ।

“दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ, मेला सम्पन्न गर्न मन्त्रालयसँग स्रोत पर्याप्त छैन”, उहाँले भन्नुभयो, “यद्यपि सिएसआर मोडलमा जाने छौँ । प्राइभेट कम्पनी जोसँग सिएसआर फन्ड छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने छौँ ।”

त्यसैगरी मन्त्रालयले हालै पाँच वटा देशसँग श्रम सम्झौता थप गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले श्रमिकले सुरक्षित र व्यवस्थित कार्यस्थल पाए नपाएको बारेमा मन्त्रालयले अनुगमन गर्ने र श्रमशोषण देखिएमा कारबाहीको दायरामा ल्याउनेसमेत बताउनुभयो ।

इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

तेहरान। इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले बुधबार खण्डन गरेको छ।

इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताउनुभएको हो ।

यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको थियो ।

“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गर्नुभएको छ,” राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेख्नुभएको छ।

उहाँले अगाडी लेख्नुभएको छ, “स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेभएको छ।इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुने भएको हो ।

ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर यो सम्बोधनको मिति राष्ट्रपति ट्रम्पले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको केही घण्टापछि आएको हो ।“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गर्नुभएको छ,” राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेख्नुभएको छ।

“स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन समय अनुसार बुधबार राति ९ः०० बजे सम्बोधन गर्नुहुनेछ ।

उहाँको टिप्पणी एक अनिश्चित राजनीतिक क्षणमा आएको हो। पछिल्लो सर्वेक्षणले ट्रम्पको ख्याति अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखाएको छ । युद्ध र यसको प्रभावले पारेको आर्थिक गिरावटले अमेरिकी मतदाताहरू रूष्ट छन् । त्यसैले उहाँलाई अनुमोदन गर्नेको प्रतिशत ५० को दशकको मध्यतिरभन्दा माथि चढेको छ ।

इरान अभियानको समर्थन आफैँमा अस्पष्ट छ, बहुसंख्यकले आक्रमणको विरोध गरिरहेका छन् र स्वतन्त्रहरू यसको विपक्षमा छन् ।

आर्थिक चित्रले समस्यालाई झनै जटिल बनाएको छ । पेट्रोलको मूल्य वर्षौंमा पहिलो पटक प्रति लिटर एक डलरभन्दा माथि बढेको छ, भने उपभोक्ताको विश्वास कमजोर भएको छ । यसले अर्थव्यवस्थामा ट्रम्पको पहिले नै देखिको कमजोर अडानलाई थप तल तान्छ।

यसैबिच, राष्ट्रपतिको सन्देश वृद्धि र फिर्ताको बीचमा मोडिएको छ। हालैका दिनहरूमा ट्रम्पले दुई वा तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको कुरामा जोड दिनुभएको छ ।

यद्यपि उहाँले इरानको ऊर्जा पूर्वाधारमा विस्तारित आक्रमणको चेतावनी पनि दिनुभएको छ र स्थल कारबाहीको सम्भावनालाई पनि अघि सार्नुभएको छ । सहयोगीहरूले निजी रूपमा प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा अनिश्चितता स्वीकार गरेका छन् ।

एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा

भक्तपुर। यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षाको सबै तयारी पूरा गरेका छौँ, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक सम्पन्न गर्‍यौँ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रूपमा परीक्षा हुनेमा ढुक्क छौँ, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौँ ।”

चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् ।

उहाँका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।

बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो ।

पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिँदै उहाँले परीक्षामा सोधिने प्रश्न छ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

एक महिनामा नतिजा प्रकाशन गरिने

प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।

परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो ।

यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धाङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।

अफगानी अधिकारीसँग चीनमा वार्ता भइरहेको पाकिस्तानको दाबी

पाकिस्तान । पाकिस्तान र अफगानिस्तानले सीमापार आक्रमणका कारण महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयास गर्न चीनमा वार्ता गरिरहेका छन् ।
पाकिस्तानका विदेशमन्त्री इशाक दार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्न मङ्गलबार बेइजिङ पुगेपछि उत्तरपश्चिमी शहर उरुम्चीमा बैठक भएको हो ।

उनीहरूबिच संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा इस्लामाबादको भूमिकाबारे छलफल भएको र र द्वन्द्व अन्त्यका लागि संयुक्त पाँचबुँदे योजना तय भएको बताइएको छ।

गत सप्ताहन्तमा पाकिस्तानी राजधानीमा साउदी अरब, इजिप्ट र टर्कीका विदेश मन्त्रीहरूको भेट भएको पाकिस्तानको कूटनीतिक प्रयासका लागि चिनियाँ समर्थनपछि दार बुधबार इस्लामाबाद फर्किएका थिए ।

चीनले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो द्वन्द्वमा मध्यस्थता गर्न खोजेको छ । उसले विशेष दूत पठाएको छ र तनाव कम गर्न रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

पाकिस्तानले सीमापार आक्रमण गर्ने चरमपन्थीहरूलाई निशाना बनाइरहेको बताएको छ, तर काबुलका अधिकारीहरूले आतङ्ककारीहरूलाई आश्रय दिएको अस्वीकार गरेका छन्।

यसैबिच अफगान सरकारसँग सम्पर्क गर्दा पाकिस्तानी विदेश मन्त्रालय र सेनाले वार्ताका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

पाकिस्तानका एक वरिष्ठ सुरक्षा अधिकारीले भने, “पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल अफगान तालिवानसँग वार्ता गर्न उरुम्कीमा पुगेको छ ।”

“चिनियाँ मित्रको आग्रहमा यो बैठक हुन लागेको हो,” उनले भने । अर्का वरिष्ठ सरकारी अधिकारीले पनि वार्ताको पुष्टि गर्दै भने, “यो बैठक पूर्ण स्तरको संवादको आधार तयार गर्नका लागि पहल हो ।”

अफगानिस्तानबाट पाकिस्तानको माग यथावत रहेको र काबुललाई चरमपन्थीविरुद्ध ‘प्रमाणित कारबाही गर्न’ र ‘समूहलाई कुनै पनि समर्थन अन्त्य गर्न’ आग्रह गरेका छन्।

उसले अफगानिस्तानको भूमिलाई पाकिस्तानविरुद्ध आक्रमण गर्ने अखडा नहोस् भन्ने पनि सुनिश्चित गर्न चाहेको छ ।

पाकिस्तान यस क्षेत्रमा चीनको सबैभन्दा नजिकको साझेदार हो र बेइजिङले अफगानिस्तानसँगको इस्लामावादको द्वन्द्वमा ‘शान्त र संयम’ रहन आग्रह गरेको छ।

कतार र टर्कीले सहयोग गरेका मध्यस्थता प्रयासहरू स्थायी युद्धविराम प्राप्त गर्न असफल भएपछि यो बैठक पहिलो महत्त्वपूर्ण संलग्नता हो, जसले इस्लामाबादलाई अफगानिस्तानको भित्री भागमा हवाई आक्रमणहरू सहित एक ठूलो सैन्य अभियान सुरु गर्न प्रेरित गरेको छ ।

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर। लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि एकमहिने विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।

‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानमा स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ ।

अभियानअन्तर्गत पालिकामा बसोवास गर्ने नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी रोग, मोटोपनलगायत नसर्ने रोगहरूको परीक्षण गरिनुका साथै उचाइ र तौलका आधारमा बीएमआई मापन गर्ने कार्य भइरहेको छ ।

साथै क्षयरोगका लक्षण देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा रेफरल सेवा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

लालझाडी गाउँपालिकाका सबै छ वटै वडामा सञ्चालन भइरहेको ‘नसर्ने रोग खोजपड्ताल स्क्रिनिङ अभियान २०८२’ अन्तर्गत विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार नागरिकहरू स्वास्थ्य संस्था पुगेर सेवा लिन कुर्नुभन्दा स्वास्थ्य सेवा नै नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँघरमै स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परे थप उपचारका लागि स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस अभियानमार्फत दादुरा, कालाजार, हात्तीपाइले, क्षयरोग, मधुमेह र कुष्ठरोग जस्ता रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा धेरैजसो नागरिकले नियमित स्वास्थ्य परीक्षण नगर्ने र रोग ढिलो थाहा हुने समस्या रहेको अवस्थामा यस्तो घरदैलो अभियान प्रभावकारी हुने विश्वास उहाँले लिनुभएको छ ।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्यकर्मीको टोली घरदैलोमा पुगेको समयमा आवश्यक परीक्षण गराइ सहयोग गर्न अनुरोध गरेको छ । साथै ३० वर्षमाथिका नागरिकहरूले आफू नजिकको स्वास्थ्य संस्थामा पुगेर नसर्ने रोग पहिचानका लागि परीक्षण गराउन सक्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

लालझाडी गाउँपालिकाको यस प्रयासले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बोजिम न्याय, प्रशासन तथा विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनिएको प्रस्तावमा कुनै सदस्यले सहभागी जनाएनन् ।

त्यसैगरी बैठकमा ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस् भनी आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीले पेस गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तुत गर्नुभएको निर्णयार्थ सर्वसम्मतिले पारित भएको थियो ।

सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभाका सदस्यहरुले उठाउनु भएका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले दिनुभएको थियो ।

उहाँले सरकारले आफ्नो सीमित साधन र स्रोतको बाबजुद पनि यी क्षेत्रमा इमान्दारिताकासाथ काम गरिरहेको स्पष्ट पार्नुभयो । न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धित समितिको प्रतिवेदन सभामा पेस गर्नुभएको थियो ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट मालतीकुमारी लिम्बूले सरकारले बालबालिकाको हित र अधिकारका निम्ति आवश्यक कानुन बनाउनुपर्ने जिकिर गर्नुभयो ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य सुनिता गुरुङ, मैया श्रेष्ठ, सिर्जना राई, मीना श्रेष्ठ, गीतादेवी रेग्मी र तारादेवी ढकालले विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सभाको अर्को बैठक यही चैत २२ गते अपरान्ह १ बजे बस्नेछ ।

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर। बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन ।शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । “प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,” महानिर्देशक विष्टले भन्नुभयो, “परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको छ ।” उहाँका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन् । सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन् । दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन हजार ४८ परीक्षार्थी रहेका छन् ।

महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ ।

प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ ।

वीर अस्पतालको निर्णय, ढिलो आए कारण दिनुपर्ने

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ भने कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यालय समय आगामी वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ । समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न १४ वटा महत्वपूर्ण निर्णय गरिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले जानकारी दिए ।

अस्पतालको सरसफाइ तथा अनुशासन सुधार गर्न सरसफाइ (क्लिनिलेन्स अडिट) र हाजिरी (अटेन्डेन्स अडिट) समिति गठन गरिएको उनले बताए । क्लिनिलेन्स अडिट समिति नर्सिङ प्रशासकका प्रमुख सङ्गीता श्रेष्ठको संयोजकत्वमा र अटेन्डेन्स अडिट समिति सहायक निर्देशक डा मीनचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको छ ।

यसैगरी चिकित्सकले बिरामीको पुर्जा, डिस्चार्ज विवरण तथा अन्य रिपोर्टमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने नभए कानुन बमोजिम कारबाही हुने भनिएको छ । साथै सबै स्वास्थ्यकर्मीले परिचयपत्र वा एप्रोन अनिवार्य रूपमा लगाउनुपर्नेछ ।

व्यवस्थापन समितिले ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने विषय पनि अघि बढाइएको छ । फार्मेसी सेवामा सुधार गर्दै औषधिको उपलब्धता सुनिश्चित गर्ने तथा सेवाग्राहीलाई छिटोछरितो सेवा दिने व्यवस्था मिलाइने र उपलब्ध औषधिको स्टकबारे सेवाग्राहीलाई जानकारी दिने प्रणाली विकास गरिने बताइएको छ ।

अस्पतालका निर्देशक डा शर्माका अनुसार बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि तय गरिएको शासकीय सुधार मार्गचित्रलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने निर्णय गरेको हो ।

श्रीलङ्काद्वारा ३९ वटा देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी

काठमाडाैँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।

पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई २१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरुलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरुसँगको साक्षात्कारमा बताएका छन् ।

अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ । जुन नियमहरु अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो ।

विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने ।

हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । “अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरुप उडान गर्नेगरी तयारी गरिरहेका छौँ”, उनले भने, “यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौँ ।”

उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए । हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् ।

कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ । “चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ”, उनले भने ।

उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ ।

प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजे बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि आह्वान भएको छ ।

संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सुनाउने कार्यसूची छ ।

यस्तै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने ५ । यस्तै बैठकमा तीन वटा अध्यादेश पनि पेश हुनेछन् ।

मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने सूची पनि छ । भने, सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।

अफगानी अधिकारीसँग चीनमा वार्ता भइरहेको पाकिस्तानको दाबी

इस्लामावाद। पाकिस्तान र अफगानिस्तानले सीमापार आक्रमणका कारण महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयास गर्न चीनमा वार्ता गरिरहेका छन् ।पाकिस्तानका विदेशमन्त्री इशाक दार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्न मङ्गलबार बेइजिङ पुगेपछि उत्तरपश्चिमी शहर उरुम्चीमा बैठक भएको हो ।

उनीहरूबिच संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा इस्लामाबादको भूमिकाबारे छलफल भएको र र द्वन्द्व अन्त्यका लागि संयुक्त पाँचबुँदे योजना तय भएको बताइएको छ।गत सप्ताहन्तमा पाकिस्तानी राजधानीमा साउदी अरब, इजिप्ट र टर्कीका विदेश मन्त्रीहरूको भेट भएको पाकिस्तानको कूटनीतिक प्रयासका लागि चिनियाँ समर्थनपछि दार बुधबार इस्लामाबाद फर्किनुभएको थियो ।

चीनले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो द्वन्द्वमा मध्यस्थता गर्न खोजेको छ । उसले विशेष दूत पठाएको छ र तनाव कम गर्न रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।पाकिस्तानले सीमापार आक्रमण गर्ने चरमपन्थीहरूलाई निशाना बनाइरहेको बताएको छ, तर काबुलका अधिकारीहरूले आतङ्ककारीहरूलाई आश्रय दिएको अस्वीकार गरेका छन्।

यसैबिच अफगान सरकारसँग सम्पर्क गर्दा पाकिस्तानी विदेश मन्त्रालय र सेनाले वार्ताका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।पाकिस्तानका एक वरिष्ठ सुरक्षा अधिकारीले भने, “पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल अफगान तालिवानसँग वार्ता गर्न उरुम्कीमा पुगेको छ ।”

“चिनियाँ मित्रको आग्रहमा यो बैठक हुन लागेको हो,” उहाँले भन्नुभयो । अर्का वरिष्ठ सरकारी अधिकारीले पनि वार्ताको पुष्टि गर्दै भने “यो बैठक पूर्ण स्तरको संवादको आधार तयार गर्नका लागि पहल हो ।”

अफगानिस्तानबाट पाकिस्तानको माग यथावत रहेको र काबुललाई चरमपन्थीविरुद्ध ‘प्रमाणित कारबाही गर्न’ र ‘समूहलाई कुनै पनि समर्थन अन्त्य गर्न’ आग्रह गरेका छन्।उसले अफगानिस्तानको भूमिलाई पाकिस्तानविरुद्ध आक्रमण गर्ने अखडा नहोस् भन्ने पनि सुनिश्चित गर्न चाहेको छ । पाकिस्तान यस क्षेत्रमा चीनको सबैभन्दा नजिकको साझेदार हो र बेइजिङले अफगानिस्तानसँगको इस्लामावादको द्वन्द्वमा ‘शान्त र संयम’ रहन आग्रह गरेको छ।

कतार र टर्कीले सहयोग गरेका मध्यस्थता प्रयासहरू स्थायी युद्धविराम प्राप्त गर्न असफल भएपछि यो बैठक पहिलो महत्त्वपूर्ण संलग्नता हो, जसले इस्लामाबादलाई अफगानिस्तानको भित्री भागमा हवाई आक्रमणहरू सहित एक ठूलो सैन्य अभियान सुरु गर्न प्रेरित गरेको छ ।

राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ।रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।

राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उहाँले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गनुभएको थियो भने रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पार्नुभएको थियो । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो ।

तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो ।

दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते,केहीको अवस्था गम्भीर

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दासढुङ्गामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्याङ्करलाई ठक्कर दिएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ । घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ । दुर्घटनापछि बस र ट्याङ्करका चालक फरार रहेका छन् ।

त्यसैगरी आजै घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको इभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन् ।

दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्र (नम्बर ८८)’ का सदस्यहरू सवार थिए ।सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ ।

 

गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

गण्डकी। बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् ।परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुभयो । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि समूहका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

जिल्लागत विवरणअनुसार प्रदेशमा सबैभन्दा बढी कास्कीमा १० हजार ८४३ विद्यार्थी सहभागी हुने उहाँले बताउनुुभयो । तनहुँमा छ हजार १५५, नवलपुरमा छ हजार ७१२, स्याङ्जामा चार हजार २८८ र बागलुङमा चार हजार २३९ विद्यार्थी रहेका छन् ।

गोरखामा तीन हजार ७९७, लमजुङमा दुई हजार ८६२, पर्वतमा दुई हजार २१७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १८६ जना विद्यार्थी रहेको महाशाखाले जनाएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ ।प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको र सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गर्नुभएको छ ।लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति यादवले नेपालको राजदूतमा नियुक्ति हुनुभएकोमा राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो, “सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रही आएको छ ।”

उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदानको आवश्यकता औँल्याउँदै हालै सम्पन्न साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरूको साउदी भ्रमणलाई स्मरण गर्नुभयो ।

नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारहरूको हकहितको संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्दै २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौता श्रम सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भएको बताउनुभयो ।

पर्यटनका सन्दर्भमा उपराष्ट्रपति यादवले नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति र नेपालीहरूको मिलनसार व्यवहारका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो । साथै, नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि हरेक वर्ष साउदी अरेबिया जाने गरेको उल्लेख गर्दै यस सम्बन्धमा साउदी सरकारको सहयोगप्रति धन्यवाद दिनुभयो ।

राजदूत फाहद मोहम्मद ए मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ ।आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् ।

आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा एक हजार ५६९ व्यापारिक प्रतिष्ठान, एक हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् ।यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन् । गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन् ।

यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताउनुभयो । यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।

राजस्व बाँडफाँट, अनुदान थप समन्यायिक बनाउन आग्रह

नुवाकोट। संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार स्पष्ट भए पनि कानुनी र व्यवहारगत रूपमा स्थानीय तहले पाउनुपर्नेभन्दा कम अनुदान प्राप्त हुने अवस्था रहेकामा चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहकार्यमा नुवाकोटको शिवपुरी गाउँपालिकाले मङ्गलबार गाउँपालिकाको कार्यालय शेराबगरमा आयोजना गरेको अन्तक्र्रियामा मुलुकको राजस्व बाँडफाँट, विद्यमान अनुदान स्थिति, बजेट अपर्याप्तता र विकास निर्माणका विषयमा छलफल भएको हो ।

छलफलमा आयोगका सदस्य र जनप्रतिनिधिले संविधानको मर्मअनुसार वित्तीय सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले संविधानले दिएको स्थानीय तहको अधिकारको प्रभावकाकरी उपयोग नभएको बताइयो ।

वित्त आयोगका सदस्य विपिनराज निरौलाले संविधान र कानुनमा कतिपय भिन्नता हुँदा आयोगले गरेका सिफारिसबमोजिम सबै पालिकामा वस्तुगत रूपमा अनुदान वितरण हुन नसकेको बताउनुभयो । उहाँले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार तोकिए पनि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को पालना गर्नुपरेका कारण राजस्व कम उठ्ने पालिकालाई बढी समानीकरण अनुदान दिन नसकिएको स्वीकार गर्नुभयो ।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीय तहको आर्थिक अधिकार सङ्कुचन हुन नहुने विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घले पनि पटकपटक आग्रह गरेको स्मरण गराउँदै सङ्घीयता लागू हुन बाँकी नै रहेको बताउनुभयो । आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गत आर्थिक वर्षकै रु पाँच करोड छ लाख ८०० दायित्व बाँकी रहेकामा यस आर्थिक वर्षका कार्यक्रममा त्यसको असर परेको बताउनुभयो । सशर्त अनुदानलाई अन्य शीर्षकमा खर्च गर्न नपाइने र त्यसबारे सबैलाई बुझाउन नसक्दा रकम भएर पनि खर्च गरेन भन्ने गुनासो खेप्नुपरेको उहाँको भनाइ थियो ।

संविधानको धारा ६० को उपधारा २ ले सङ्घीय सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय सरकारलाई समन्यायिक ढङ्गले वितरण गर्ने अधिकार आयोगलाई दिइएको छ । अन्तरसरकारी वित्तीय ऐनको परिच्छेद ३ को दफा ६ ले मूल्य अभिवृद्धिकर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कको प्रदेशले प्राप्त गर्ने १५ प्रतिशत र स्थानीय तहले प्राप्त गर्ने १५ प्रतिशत रकम आयोगले तयार पार्ने ढाँचामा बाँडफाँट गर्नुपर्ने उल्लेख छ ।

ऐनले जनसङ्ख्या, भूगोल, मानव विकास सूचकाङ्क, पूर्वाधार विकास, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरिएको प्रयास र विशेष अवस्थालाई आधार मानेर राजस्व बाँडफाँट हुने गरेको छ । प्र्राकृतिक स्रोतबाट प्राप्त हुने लाभको बाँडफाँटमा प्रदेश र स्थानीय तहले उचित हिस्सा पाउने व्यवस्था छ ।

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती। चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो ।‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो ।

विभिन्न राज्यहरूमा मूल्य फरक–फरक रहेको छ, जसको कारण आपूर्ति, कर दर र स्थानीय अवस्था रहेका छन् ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो ।

अर्थतन्त्रमा असर पर्ने सम्भावना

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ ।

हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तित रहेका छन् ।

ढुवानी र सेवा क्षेत्रमा असर

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ । डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूलाई थप भार परेको छ ।

विश्व आपूर्ति सङ्कट

विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ ।

भण्डार प्रयोग गर्ने प्रयास

मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ । अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ ।

भविष्यको अवस्था

युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना छ ।

फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् । बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा

रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ ।
साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो ।

प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ।

प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध बनाएको थियो। करिब ३६ घण्टापछि आइतबार बिहानबाट मात्रै सवारी सञ्चालन पुनः सुरु गरिएको थियो।

शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा बनाइएको अस्थायी सडकसमेत बगाएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडादेखि नेपाल थोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बाढीले क्षति पु¥याएको थियो। त्यसपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प बनेको थियो।गत वर्ष असोजमा आएको बाढी पहिरोले चौकी डाँडा–नेपाल थोक सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन हुँदै आएको थियो।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६५, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २६०, रातो बन्दा प्रतिकिलो रु ३०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ९०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेकाे छ ।

केही दिनअघि मात्र पेट्रोल र डिजेलमा न्यूनतम मूल्य समायोजन गरिएकाले उपभोक्तालाई थप आर्थिक भार नपरो भन्ने उद्देश्यले यी प्रमुख इन्धनहरूको खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी। रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ ।एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो ।

हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

गण्डकी। गण्डकी प्रदेशसभाको मङ्गलबारब बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो ।

प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । त्यसअघि उहाँले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिनुभएको थियो ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको समयको अभावका कारण यस हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताउनुभयो । उहाँले सुशासन, पारिदर्शिता, भ्रष्टचार नियन्त्रण र मितव्ययीता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको अधिकार स्थापित गर्न सबै पक्षबीच एैक्यबद्धताको खाँचो रहेको धारणा राख्नुभयो ।

बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर र श्यामराजा महतले समसामयिक विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ।

गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमीस्थितिबारे जानकारी लिन तथा आवश्यक सावधानी अपनाउनु हुन सर्वसाधारलाई महाशाखाले अनुरोध गरेको छ ।

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ। चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ ।नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।

गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक लाख ५३ हजार, चैत ७ गते रु चार लाख ३८ हजार, चैत ८ गते रु एक लाख ७० हजार, चैत ९ गते रु एक लाख ७१ हजार तथा चैत १० गते रु चार लाख ९२ हजार सङ्कलन भएको थियो ।

यस्तै चैत ११ गते रु तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते रु १० लाख ४४ हजार सङ्कलन भएको अध्यक्ष खड्काले बताउनुभयो । नवमीको दिन रु चार लाख ८० हजार र दशमीको दिन रु तीन लाख ५५ हजार ७३५ सङ्कलन भएको छ ।

“चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी सङ्कलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष पाँच लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”, अध्यक्ष खड्काले भन्नुभयो, “अष्टमीमा एकै दिन चार लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे प¥यो ।”

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो ।राजकुमारी कालिका देवी भएको अनन्य भक्त हुनुहुन्थ्यो । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९० पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।