`

झापामा कर्फ्यू : घर बाहिर ननिस्कन प्रशासनको आग्रह

झापा, २५ भदौ : प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज अपराह्न ३ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि झापा जिल्लाभर कर्फ्यू आदेश जारी गर्नुभएको छ ।‘जेन–जी’ आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

कर्फ्यू अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षाकर्मीसँग अनुमति लिन प्रशासनले आग्रह गरेको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जनाइएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि अराजक समूहले झापाका अधिकांश स्थानीय तहका भवन, विर्तामोड र काँकडभिट्टाका भाटभटेनी सुपरमार्केट, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेको छ ।

विराटनगरसहित मोरङमा कफ्र्यू आदेश जारी

विराटनगर । विभिन्न समूह र पक्षले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किने सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले कफ्र्यू आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २५ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गरेका हुन् ।प्रशासनले जारी गरेको आदेशअनुसार मिति २०८२ भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म मोरङ जिल्लाभर कफ्र्यू लागु हुनेछ ।

कफ्र्यू अवधिमा दमकल, एम्बुलेन्स, शववाहन र स्वास्थ्यकर्मी सवार सवारीबाहेक कुनै पनि किसिमका सवारीसाधन सञ्चालन गर्न नपाउनेछ । त्यस्तै सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।प्रशासनले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

लहानस्थित खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट

सिरहा, २५ भदौ : ‘जेन–जी’ आन्दोलनका क्रममा मङ्गलबार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ । ठूलो समूहमा आएका उनीहरुले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन् ।

कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भन्नुभयो, “गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।”

उहाँका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए । लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ । हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन् ।

साझ ६ बजेदेखि कर्फ्यु आदेश झन कडा

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कर्फ्यु आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।

पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।सेनाले निषेधाज्ञा तथा कर्फ्यु को अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।

नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ, २५ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताउनुभएको छ ।

आयोगले वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतःजनताका हकअधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्दछ”, आयोगले भनेको छ ।

आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबैपक्ष संयमित हुनु पनि आग्रह गरेको छ ।

“विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुःखद् घटनाप्रति सबैको चिन्ता हुनु स्वाभाविकै हो । अब यसप्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ”, आयोगले अगाडि भनेको छ ।

आयोगले सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको भन्दै यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको बताएको छ ।

आयोगका प्रवक्ता डा पोखरेलले काठमाडौँलगायत देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ ।

उहाँले देशका विभिन्न सहरमा भएको दुई दिनको प्रदर्शनपश्चात् लागेको निषेधाज्ञाको समयमा समग्र मानवअधिकारको स्थिति एवं मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको जनाउनुभएको छ ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक

बैतडी, २५ भदौ : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ । ‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन ।”

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ । प्रजिअ पौडेलले भन्नुभयो, “भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ ।”

धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

मलेखु (धादिङ), २५ भदौ : जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो ।

घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफुहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए ।

गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

डडेल्धुरा, २५ भदौ : डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो । यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए ।

पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आब्हान

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै पुनः सक्रिय हुन आवश्यक रहेको बताएका छन् ।बुधबार उनले विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने दुबिधा नरहेको भन्दै पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसंग तत्काल संवाद गर्न आवश्यक रहेको बताए ।

उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए ।

‘हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मीहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु,’विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्रप्रत प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो ।

यसले लगानीको बातावरणलाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’

प्रिय साथीहरू,
कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ ।

नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ’ ।

 

भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते

हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्।कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।

त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।

सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।

कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउन्ड हवाई फायर गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्: भारतीय प्रधानमन्त्री

काठमाडौँ, २५ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उहाँले उल्लेख गर्नुभएको छ ।

दुई दिन शेयर कारोबार नहुने

काठमाडौँ, २५ भदौः आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्यो

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ । मुलुकभर जारी विभिन्न अवरोधबीच आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्ने उद्देश्यले विभिन्न सेवा निःशुल्क गरिएको एनसेलको भनाइ छ ।

उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि आज (मंगलबार) साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टा अर्थात् दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुबै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको विज्ञप्तिमा उल्लेख गर्दै दुःखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गरेको छ ।

जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

जुम्ला । जुम्लाको जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्।

डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।

काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ । प्रहरीका अनुसार राती कैदीहरूले प्रहरी माथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ।

हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै,घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध

काठमाडौँ, २५ भदौः काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।

साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।

हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो । जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

धैर्य गरौ‌, हामी फेरि उठ्ने छौ‌ : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका नेता शंकर पोखरेलले आफूहरु फेरि उठ्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै धैर्य र संयमित बनौ भन्दै आफूहरु फेरी उठ्ने बताएका छन् ।

सोमबारदेखि शुरु भएको जेनजी आन्दोलनले मंगलबार उग्ररुप लिएको थियो । देशका धेरैजसो सबै सरकारी कार्यालय र नेता मन्त्रीका घर प्रदर्शनकारीले जलाएका थिए ।

उनले लेखेका छन् – आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।

बागलुङमा एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयका फर्निचर र कागजात जलाइयो

गलकोट (बागलुङ) २५ भदौः बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले यहाँस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पु¥याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरुले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाइएको छ । त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाइएका थिए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै,युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३३,जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

यसैगरी चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १५ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा, हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा तोकेको छ ।

आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।जसले गर्दा देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशको साथै कोशी प्रदेश, बागमती प्रदेश तराई र पहाडी भू–भागका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ, २५ भदौः देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।

सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।

देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँ, २५ भदौ: नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य :प्रहरी

काठमाडौँ, २५ भदौः नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ ।

मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ ।

“यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ ।”

प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूणीय एवं दुःखद भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति अनुरोध गरिएको छ ,

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए

सिमकोट, (हुम्ला) २५ भदौः हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि विदेशी पर्यटकको चाप बढेको हो ।

जेठदेखि भदौसम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका पाँच हजार ८४२ जना पुगेका छन् । जसमा भारतीय तीर्थयात्री पाँच हजार ५१७ र अन्य देशका ३२५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ ।

चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो संख्या हो, भारतीय पर्यटक आउने क्रम निकै बढी छ ।”

उहाँका अनुसार मौसम अनुकुल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगञ्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन् ।

गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । कतिपय पर्यटकहरु गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् ।

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क समेत उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु ११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु १५ सय तोकिएको छ ।

त्रिभुवन विमानस्थलमा १२ बजेसम्म उडान बन्द, टिकट लिएर यात्रा गर्न नपाएकाको पैसा फिर्ता हुने

काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।

देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।

सेवाका लागि तयार छौः वायुसेवा सञ्चालक सङ्घ
वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराउनुभएको हो ।

सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।

हेटौंडाको अधिकांश सरकारी कार्यालयमा आगजनी

बागमती, २४ भदौ : जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आज मकवानपुरको हेटौँडास्थित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनका क्रममा प्रदर्शनीहरूले हेटौँडास्थित बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रमुख कार्यालय बाहेका प्रदेश सरकारका सबै १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका छन् ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिलको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय उच्च अदालत पाटन हेटौँडा इजलास, हेटौँडा उपमहानगरपालिकाको ढाडलगायतको कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै लोकसेवा आयोगको कार्यालय, यातायात सेवा कार्यालय, जिल्ला अदालत मकवानपुर, अख्तियार दुरुपयोग आयोग हेटौँडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले हेटौँडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्स, हेटौँडा उपमहानगरपालिका–५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, कार्यालय, हेटौँडा–४ स्थित नेकपा एमालेका नेता एकालाल श्रेष्ठको घर, हेटौँडा–५ स्थित अजयराज सुमार्गीको घरमा समेत आगजनी गरेका छन् । त्यस्तै जेनजी आन्दोलनकारीहरूले मकवानपुरको मनहरी गाउँपालिका कार्यालय र बकैयाँ गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । आगजनीबाट कार्यालय, फर्निचर र सवारीसाधन जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर, २४ भदौ : आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ । सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ । बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ । भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ ।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं १ स्थित घरमा तोडफोड गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा–४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी, शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन तोडफोड गरिएको छ ।

कार्यालयभित्रका फर्निचर, कम्प्युटरलगायतका सामान तोडफोड गरिएका छन । नगरपालिकाका १२ वटै वडा कार्यालयमा तोडफोडसँगै कार्यालयभित्र रहेका सामान बाहिर निकालेर आगजनी गरिएको छ ।

एमाले कञ्चनपुर इञ्चार्ज निरुदेवी पालको मेन रोडस्थित घरमा तोडफोड गरिएको छ । आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् ।

भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको घरमा तोडफोड गरिएको छ । सत्तारुढ कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन् । दोधारा चाँदनीस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्तामा आउन प्रधानसेनापतिको अपिल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आग्रह गरेका छन् ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

सुरुङ्गा (झापा), २४ भदौ : जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका घरमा आगजनी र तोडफोड भएको हो ।

त्यस्तै सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका जिल्लास्तरीय नेतासहितको घरमा आगजनी र तोडफोड भएको हो । एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)को जिल्लास्थित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बिहानैबाट निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञाको उल्लङ्घन गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले झापाका दर्जर्नौँ सरकारी कार्यालय सहितका भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् ।

बिहानैदेखि आन्दोलनमा उत्रिएको जेनजी पुस्ताका युवा समूहले बिर्तामोडमा प्रदर्शन गरेका थिए । सो क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर अर्जुनधाराका एक युवाको मृत्यु र अन्य तीन जना घाइते भएसँगै थप आन्दोलित भएका उनीहरूले सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । आन्दोलनमा उत्रिएको समूहले दिनभर सरकारी कार्यालय र नेताका घर छानीछानी आगजनी गरेका थिए ।

प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ स्थित लक्ष्मीपूर निवासी गोपाल सुवेदीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा नियन्त्रणमा लिँदै हतियारसमेत खोसेर कार्यालयमा आगजनी गरेका थिए ।

आगजनीका कारण दुवै कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् । योसँगै प्रर्दशनकारीले प्रहरीको हतियार समेत खोसेर लगेका थिए । तर, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसँगको समन्वयमा जेनजी पुस्ताले मानवअधिकारकर्मीको रोहवरमा अरिदमनगण चालआलीलाई हतियार बुझाएका थिए ।

जेनजी पुस्ताको समूहले बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगरपालिका, कनकाई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुरस्थित भन्सार कार्यालय, बिर्तामोडस्थित यातायात कार्यालय, नेपाल टेलिकम, विभिन्न पालिकाका वडा कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । आगजनी र तोडफोडका कारण के कति क्षति भयो भन्न सक्ने अवस्था नरहेको बताइएको छ ।

यता बिर्तामेडस्थित भाटभटेनी सुपर मार्केटमा समेत साँझ प्रर्दशनकारीले आगजनी र तोडफोड गरेका छन् । जेनजी पुस्ताका युवा समूहले कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङ, मेची नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, योजना शाखा प्रमुख अनन्त प्रकाश वस्ती, बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतका घरमा आगजनी र तोडफोड भएको छ ।

आन्दोलनरत पक्षलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पटकपटक आग्रह गर्दासमेत जेनजी पुस्ताको समूहले आन्दोलन रोकेको छैन । आन्दोलनका कारण झापा दिनभर असान्त बनेको थियो ।

आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय अभिलेखालयको कार्यालय अघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन् ।‘इतिहास जोगाऔं’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।मंगलबार बिहान कुल्लु जिल्लाको शरमणी गाउँमा पहिरो जाँदा उक्त घटना भएको हो। राजधानी सिमलाबाट करिब २१० किलोमिटर टाढा पर्ने उक्त गाउँमा पहिरो जाँदा घरहरू पुर्ने स्थिति आएको बताइएको छ।

स्थानीय अधिकारीले जानकारी दिएअनुसार, पहिरो गएको बेला सबै बासिन्दा निद्रामा थिए, जसले गर्दा समयमै सुरक्षित स्थानमा जान सक्ने मौका पाएका थिएनन्।मृतकमध्ये दुई महिला र दुई जना साना बालबालिका रहेका छन्। घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मनसुन सुरु भएयता हिमाचल प्रदेशमा निरन्तर बाढी, पहिरो र बादल फुट्ने घटनाहरूले ठुलो जनधनको क्षति पुर्‍याइरहेका छन्।राज्य आपतकालीन सञ्चालन केन्द्रद्वारा जारी प्रतिवेदनअनुसार, जुन २० देखि सेप्टेम्बर ९ सम्मको अवधिमा मात्रै ३७८ जनाको मृत्यु, ४० जना बेपत्ता र ४३७ जना घाइते भएका छन्।

जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन

काठमाडौं । जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् । सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दिप प्रज्वलन गरेका हुन् ।

आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढि घाईते भएका छन् ।

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज (पर्सा),२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो । ‘‘आज बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेका थियौँ । तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कर्फ्यूको समयावधि थप गरिएको हो ।’’

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्य गेट लगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो ।

प्रशासनले कर्फ्यू लगाए पनि यहाँका जेनजी समूहले भने विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताको घरमा आगजनीका घटना भने रोकिएका छैनन् । प्रदर्शनकारीले नेपाल टेलिकम वीरगञ्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, वीरगञ्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी पर्सा जिल्ला प्रतिनिधिसभाका सांसद तथा राजनीतिक दलका नेताहरूको घरहरूमा पनि आगजनीका घटना भएका छन् ।

सिंहदरबार प्रदर्शनकारीकै नियन्त्रणमा

काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरु मंगलबार साँझसम्म पनि सिंहदरबार अगाडि प्रदर्शनरत छन् ।
मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयहरुमा आगजनी गरेका उनीहरु साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन् ।

प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए । सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरु भित्र छिरेका थिए ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको नियन्त्रणमा छ । तथापी, सेनाले पहरा भने दिइरहेको छ ।

पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।

महासंघले सवै पक्षलाई प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दै देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वार्तामार्फत सम्बन्धित पक्षसँग अपिल गरेको छ ।

अपिल
‘युवा पुस्ता जेन्जीको आन्दोलन र त्यसमा सरकारले गरेको क्रूर दमनको परिस्थितिमा पनि रिपोर्टिङ गरिरहेका पत्रकार माथी भएको गोली प्रहार, कुटपिट र अभद्र व्यवहारले पत्रकारहरुको सुरक्षामै प्रश्न उठेकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।

पछिल्लो आन्दोलनका क्रममा कार्यस्थलमा पत्रकारहरुले गभ्भिर चुनौति भोगेका छन् । हिजो ४ जना पत्रकार गोली लागेर घाइते भएका छन् भने आज कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा आगजनी भएको छ । त्यसैगरी बुटवलमा रहेको रेडियो जागरमा तोडफोड गरिएको छ ।

जेनजीको सोमबारको आन्दोलनमा सरकारले चरम बल प्रयोग गरेपछि भड्किएको आन्दलोलन आज मंगलबार पनि जारी रहेको छ आन्दोलनकारीले संघीय संसद भवन, सिंहदरबा, सार्वजनिक सम्पत्ति, राजनीतिक दल तथा नेतको घरमा समेत आगजनी गरेका छन् ।

महासंघ आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निमार्णका लागि आव्हान गर्दछ । हामी सवै पक्षलाई प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दछौं र देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वर्ता मार्फत सम्बन्धि पक्षसँग अपिल गर्दछौ।’

पूर्व प्रधानमन्त्री खनालकी श्रीमती चित्रकार घाइते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकार जलेर घाइते भएकी छन् । जेनजी प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा उनी जलेर गम्भिर घाइते भएकी हुन् । घटनापछि गम्भीर घाइते  भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको छ ।

राप्रपाका सांसदद्वारा सामूहिक राजीनामा दिने निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ,” प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

काठमाडौं । जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरुमा तोडफोड र आगजनी भएको छ ।

सोमबार काठमान्डौमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरु प्रदर्शनमा उत्रेका छन् । सोही क्रममा मंगलबार (आज) जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरुले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गर्नुका साथै कार्यालय, सवारी साधनलगायतमा आगजनी गरेका छन् ।

युवाहरुले मधेश प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा तोडफोड गर्नुका साथै करीब २ दर्जन सवारी साधनमा आगो लगाएका छन् ।

युवाहरुले जनकपुरधामस्थित नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको निवास, एमालेका नेता रघुविर महासेठको घर, एमाले पार्टी कार्यालयमा पनि तोडफोड गर्नुका सागै आगजनी गरेका छन् ।युवाहरुले केपी ओली मुर्दावाद, शेरवहादुर देउवा मुर्दाबाद, भ्रष्टाचार गर्न पाउँदैनलगायतका नारा लगाएका छन् ।

आज काठमाडौँ उपत्यकासहित कहाँ कहाँ भए तोडफोड र आगजनी ?

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।

काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।

सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वाेच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।

जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।

जेनजी पुस्ताले आन्दोलन चर्काएपछि नेपाल–भारत सीमामा कडाइ

काठमाडौं । नेपालमा जेनजी पुस्ताले आन्दोलन चर्काएपछि नेपाल–भारत सीमामा भारतीय सुरक्षा बलले सुरक्षा व्यवस्था कडा पारेको छ ।
उत्तराखण्ड प्रहरी मुख्यालयले मंगलबार भारत–नेपाल सीमामा सुरक्षा कडा पारेको सीएमओको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पिथौरागढ प्रहरीले एसएसबीका कर्मचारीहरूसँग मिलेर काली नदी र सीमा प्रहरी चौकी क्षेत्राधिकार भित्रका अन्य संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती र कम्बिङ अपरेसन सञ्चालन गरिरहेको छ।

त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मंगलबार नेपाल सीमा नजिकका जिल्लाहरूलाई विरोध प्रदर्शनको बीचमा शान्ति कायम राख्न र ‘हस्तक्षेप’ नगर्न आग्रह गरेकी छिन्।

मिडियासँग कुरा गर्दै, मुख्यमन्त्री बनर्जीले सीमावर्ती जिल्लाहरूलाई आग्रह गर्दै भने कि यो उनीहरूको विषय होइन र यसमा निर्णय गर्ने अधिकार केवल नेपाललाई मात्र छ।

‘नेपालसँगको सीमा नजिकका हाम्रा जिल्लाहरूलाई कृपया शान्ति कायम राख्नुहोस् र यो हाम्रो मामिला नभएकोले कोही पनि कुनै समस्यामा नपरोस्। नेपाललाई आफ्नो आन्तरिक मामिलामा निर्णय गर्न दिनुहोस् । हामी उहाँहरुप्रति सद्भाव राख्छौं, यसमा हस्तक्षेप गर्नु हुँदैन,’ उनले भनिन्।

‘नेपाल मेरो देश होइन । यो विदेशी देश हो । त्यसैले म यसमा टिप्पणी गर्न सक्दिन। भारत सरकारले यसमा टिप्पणी गर्नेछ। तर यो हाम्रो छिमेकी देश हो, र नेपाल, श्रीलंका, बंगलादेश, भुटान र सबै सीमावर्ती राष्ट्रहरूलाई माया गर्छौं। यद्यपि, वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, भारत सरकारले जानकारी गरायो भने, प्रतिक्रिया दिन सक्छौं । अन्यथा, यो मामिलाको हेरचाह गर्ने काम भारत सरकारले नै गर्छ,’ मुख्यमन्त्री ममताले भनिन् ।

देशका विभिन्न भागहरूमा दोस्रो दिन पनि हिंसात्मक विरोध प्रदर्शन जारी रहेपछि नेपालका प्रधानमन्त्री केपी ओलीले मंगलबार राजीनामा दिएका छन्। (एएनआइ)