`

गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

Nepal One HD १८ चैत २०८२ १८:५४
शिक्षा

गण्डकी। बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् ।परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुभयो । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि समूहका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

जिल्लागत विवरणअनुसार प्रदेशमा सबैभन्दा बढी कास्कीमा १० हजार ८४३ विद्यार्थी सहभागी हुने उहाँले बताउनुुभयो । तनहुँमा छ हजार १५५, नवलपुरमा छ हजार ७१२, स्याङ्जामा चार हजार २८८ र बागलुङमा चार हजार २३९ विद्यार्थी रहेका छन् ।

गोरखामा तीन हजार ७९७, लमजुङमा दुई हजार ८६२, पर्वतमा दुई हजार २१७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १८६ जना विद्यार्थी रहेको महाशाखाले जनाएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ ।प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको र सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *