नागरिकको अपार सहयोग र समर्थनले थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको छ : महानिरीक्षक कार्की
लुम्बिनी। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताउनुभएको छ ।
विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीका झण्डै आधा युनिटमा भवन, आवश्यक साधनस्रोत र पर्याप्त कानुन नहुँदा पनि जनताप्रतिको जिम्मेवारी बहन गर्न नचुकेको बताउनुभयो ।
नेपाल प्रहरीका हरेक क्रियाकलापमा पछिल्लो समय नागरिकको अपार समर्थन पाएको बताउँदै उहाँले नागरिकको त्यही सहयोग र समर्थनले थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल प्रहरी विभिन्न राजनीतिक, सांस्कृतिक र सामाजिक किसिमका सङ्घर्ष चिर्दै र त्यसको बीचबाट शान्ति सुरक्षा, सार्वजनिक सुरक्षा, अमनचयन र घटित अपराधको सफल अनुसन्धान यहाँ सम्मको ७० वर्षको यात्रा तय गरेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संविधानले सुनिश्चित गरेका महिला बालबालिका र ज्येष्ठ नागरिकको सेवाको लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले मोतिपुर औद्योगिक क्षेत्रभित्र वडा प्रहरी कार्यालय आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र खत्री, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा परियोजनाका प्रमुख इन्द्र न्यौपाने, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पौडेल लगायतले नवनिर्मित भवनबाट प्रदान हुने सेवाले महिला र बालबालिकाको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो ।
महिला र बालबालिकाको सुरक्षा र न्यायमा पहुँच वृद्धिका लागि नेपाल प्रहरीका लागि हालसम्म ४२ वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । त्यस्तै १० वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । यस कार्यालयबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण र दुव्र्यवहारका घटनाको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितलाई उद्धार तथा कानुनी सहयोग प्रदान गर्ने उद्देश्य रहेको छ ।
इलाका प्रहरी कार्यालय परिसरमा २८७ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा उक्त भवन निर्माण गरिएको हो । कूल रु दुई करोड ४१ लाख ४३ हजार ७५३ लागतमा निर्माण सम्पन्न भएको भवनमा ११ वटा कोठा रहेका छन् । भवनभित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, सामान्य केस दर्ता, परामर्श कक्ष, बैठक र सम्मेलन कक्षलगायत रहेका छन् ।
दुईतले उक्त भवनमा अपाङगमैत्री शौचालय निर्माण गरिएको छ भने सौर्य ऊर्जा प्रणाली, सुरक्षाको लागि तारबार र फर्निचर तथा उपकरणहरूको समेत व्यवस्था गरिएको छ ।
