`

बादलको अभिव्यक्तिपछि नेकपा एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिपछि नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष बनेका बादलले हिजो संसदमा अभिव्यक्ति दिएपछि आलोचना शुरु भएको थियो । त्यसपछि आज एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् ।

गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।

उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् ।साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्देशन दिइएको छ ।

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य , कुनको कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।

निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको छ । हालको अवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर करिब ४७ रुपैयाँ, डिजेलमा १३३ रुपैयाँभन्दा बढी तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहेको जनाइएको छ । मूल्य समायोजन नगरेमा पाक्षिक रूपमा १३ अर्बभन्दा बढी घाटा हुने अवस्था रहेको निगमले उल्लेख गरेको छ ।

यही परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ। अन्य वर्गमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ।

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

काठमाडौँ। सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो ।

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

“मालसामान हुलाक गर्न वा अन्तररास्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो”, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले रासससँग भन्नुभयो, “यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।”

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो । त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ¬्ख्या ११ हजार ७०० हाराहारी छ । जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

सुनसरी। पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’

जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । उहाँ विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली ।

नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाइ गतिविधि सञ्चालन गर्दै आएको हुनाले ‘पिपलबोटे खुला विद्यालय’ नाम दिइएको छ । तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समपर्णले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उहाँले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’को उपमा दिएका छन् ।

सङ्घर्षले सिकाएको सेवा

सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिनुभएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । सामान्य परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालमै अभाव र सङ्घर्ष झेल्नुभयो । गुजाराको खोजीमा आमाबाट रु ५० खर्च लिएर उहाँ २०४४ सालमा इटहरी झर्नुभएको थियो ।

इटहरीमा दाजु आफन्त पर्नेहरूसँग ग्यारेजमा मेसिन बनाउने काम थाल्नुभयो । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गर्नुभयो । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो । कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लाग्नुभयो । विसं २०५१ देखि उहाँले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरु गर्नुभएको थियो । धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला रु २० देखि २३ मा किनिएका बाँस रु २५ मा बिक्री हुने गथ्र्यो, दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायत ठाउँमा बिक्री गर्दै उहाँले आफ्नो व्यवसाय विस्तार गर्नुभयो ।

यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको भण्डारीले देख्नुभयो । “उनीहरूका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो”, उहाँ सम्झनुहुन्छ, “मलाई भने गरिबी र अभावले पढाइ अधूरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।” त्यसपछि उहाँले बालबालिकालाई भेला गरेर पढाउने निधो गर्नुभयो । सुरुमा उहाँले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गर्नुभयो । मलाई लाग्थ्यो बालबालिकालाई ‘अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठूलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुला विद्यालय पनि जन्मियो”, चन्द्र भन्नुहुन्छ ।

विपन्न परिवारका बालबालिकालाई भरोसा

चन्द्रको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिँदै गए । पहिला खोलाकिनारमा सानो कटेजजस्तो टहरो थियो, त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाँजोपाँजो मिलाइएको थियो । बिहान र बेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे । तर २०६० सालमा उक्त कटेज भत्किएपछि उहाँले कक्षा खुला आकाशमुनि नै पढाउँदै आउनुभएको छ । भण्डारी सम्झनुहुन्छ, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियोे, उनीहरूले घरबाट बोरा ल्याएर भुइँमा बिछ्याएर सिकाइमाग्न थाले ।” सुविधा केही थिएन, तर पढ्ने चाहना देखिन्थ्योे”, उहाँ सम्झनुहुन्छ ।

बर्खामासको भेलबाढी होस् वा हिउँदको सुक्खा खडेरी, टेङ्ग्राखोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कहिल्यै अवरोधले रोकेको छ, न कहिल्यै उहाँलाई अल्छी नै लागेको छ ।

बालबालिकालाई ट्युसन पढाउन छाड्नुभएन । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उहाँले हार भने मान्नु भएन, घरबाटै अनलाइन कक्षा सञ्चालन गर्नुभएको थियो । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए । अहिले चन्द्रले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउँदै आएको बताउनुभयो ।

विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने श्रमिक परिवारका छोराछोरी छन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।

भण्डारी ट्युसन पढाउनमात्र सीमित हुनुहुन्न । उहाँले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्नुहुन्छ । कतिपय सहयोगी हातहरू पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइका अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारी बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किरहेको छ भन्नुहुन्छ, “घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”

सेवाको कदर

चन्द्र भण्डारीको स्वःस्फुर्त सेवाभावको कदर गर्दै झन्डै हजारौँ सङ्घसंस्थाले सम्मान गरेका छन् । झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड प्राप्त गरिसक्नुभएको छ । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो ।

विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पुर्याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवका अवसरमा भण्डारीलाई सम्मान गरेको थियो । यस्तै मानवअधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । जनता बहुमुखी क्याम्पस इटहरीले पनि उहाँको कार्यलाई उदाहरणीय ठान्दै सम्मानपत्र प्रदान गरिसकेको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने नयन मिडिया फाउन्डेसनद्वारा सञ्चालित प्रदेश खबर डटकमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’बाट २०८१ सालमा उहाँलाई सम्मान गरिएको थियो । त्यसैगरी, कस्तुरी एकेडेमी इटहरीले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सम्मानपत्र प्रदान गरेको थियो ।

भण्डारीका लागि यी सम्मान केवल कागजमा लेखिएका शब्दमात्र होइनन्, ती सबै उहाँप्रतिको समाजको भरोसा र माया हुन्, जसले उहाँलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्नुहुन्छ, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आश गरेको छैन । मैले जीवनमा गर्नुपर्ने यसबाहेक अर्को कुनै उन्नत काम देखेको छैन । मलाई अहिलेसम्म हजारौँहजार सङ्घसंस्थाले सम्मान प्रदान गरेका छन् ।”

“ती सम्मानहरूले झन् जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।” उहाँका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य र आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निःस्वार्थ भावनाले उहाँलाई तीन दशकभन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ ।

भण्डारी भन्नुहुन्छ, “दुःखसुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ । म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् ।” यही खुसीले उहाँलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रूपमा भण्डारी परिचित हुनुहुन्छ । उहाँले पढाउनुभएका विद्यार्थी हाल कोही उच्चशिक्षा र रोजगारीका सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा, व्यवसायमा संलग्न छन् ।

श्रीमती र छोराहरूको भर

एसएलसीसम्मको मात्र पढाइ पूरा गर्नुभएका भण्डारीले आफूले चाहेजति पढ्न नपाए पनि श्रीमती सावित्री र छोराहरूलाई पढ्ने वातावरण बनाएर आफ्नो रहर पूरा गरिरहनुभएको छ । चन्द्र भण्डारीको खुला विद्यालय र श्रीमती सावित्रीसँगको वैवाहिक जीवनको उमेर बराबरी छ । आफूले उच्च शिक्षा पढ्न नपाएर पनि चन्द्रले श्रीमतीलाई पढ्न पे्ररणा दिनुभयो, हौसला दिनुभयो । विवाह गर्दा एसएलसीमात्र उत्तीर्ण गर्नुभएकी सावित्रीले विवाहपछि नै पढाइलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गर्नुभएको छ । उच्च शिक्षा हासिलसँगै उहाँले अहिले इटहरीकै एक निजी विद्यालयमा पढाउनुहुन्छ । त्यही आम्दानीबाट परिवारले घरको गुजारा गर्दै आएको छ । चन्द्र सावित्रीका छोरा उत्तम र उत्सव अहिले स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ ।

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ ।

सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत जफथ हुने ब्यूरोले स्पष्ट पारेको छ ।

प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम फौजदारी कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा सो कसुरमा संलग्न व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय हुनका साथ सट्टेबाजीबाट आर्जन गरिएको रकम वा प्रयोग गरिएका उपकरणसमेत जफत हुने ब्यूरोेले प्रष्ट पारेको छ ।

बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ ।

बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले त्यस्तो एम्बुलेन्स सञ्चालनमा ल्याउनेबारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको जानकारी दिनुभयो ।

डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशनसमेत दिनुभयो ।

“बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ ? एम्बुलेन्समा कोको छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ”, उहाँले भन्नुभयो, “सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।” कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ ।

छलफलमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले कामपाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नुपर्ने खाँचो देखाउनुभयो । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले लागत घटाएर गुणस्तर सेवा बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताउनुभयो ।

सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले कामपासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको बताउनुभयो । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएको पनि जानकारी दिनुभयो ।

कोभिड–१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो । अहिले कामपाको सातवटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

सम्पर्क गरेपछिको आठ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्डबमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सृजना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउन आवश्यक रहेको बताइएको छ ।

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी। धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।

धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।

“यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।”

थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पुर्याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

आव २०७९÷८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो ।

हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण एक महिनापछि केही दिनअघि सञ्चालन भएको थियो ।

म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले गुर्जासहित म्याग्दीका सबै वडाहरूमा सडक पुगेको बताउनुभयो । “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक पुर्याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकार र समुदायको सहकार्यमा गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएका हौँ ।”

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आवमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५५ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ०९ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् ।

नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ५१ अर्ब १९ करोडबराबर थियो ।

सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु आठ अर्ब ४७ करोड रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

वनमन्त्री चौधरीले गरिन् यस्ता वन क्षेत्रका चार ठूला निर्णय

काठमाडौँ। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आज वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गर्नुभएको छ ।

उहाँले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने, चितवनमा कृष्णसार स्थानान्तरण गर्ने र वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामायिक परिवर्तन गर्ने निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वन मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयबाट प्रदान गरिने सेवासुविधालगायत वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामयिक परिवर्तन गर्ने गरी परियोजनाका लागि सहमति पठाउने निर्णय गर्नुभएको हो ।

नेपालमा उत्पादन भएका काठ तथा वन पैदावार सङ्कलन, अभिलेख तथा व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने मन्त्री चौधरीले निर्णय गरी यसको जिम्मेवारी वन तथा भू–संरक्षण विभागलाई प्रदान गरिएको छ । सो निर्णयअनुसार देशभरका सम्बन्धित सबै वन कार्यालयले अब वन पैदावारको सङ्कलन तथा अभिलेख डिजिटल माध्यमबाट राख्ने व्यवस्था लागू गर्नेछन् । यसले वनजन्य स्रोतको पारदर्शिता, अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने बताइएको छ ।

सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिन यसै आर्थिक वर्षभित्र आवश्यक मापदण्ड तयार गरिने र आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने मन्त्री चौधरीले बताउनुभएको छ ।

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।

यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही स्थानमा हुरीको सम्भावना रहेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले आग्रह गरेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर। बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ।

उक्त घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिजुलीको पोलले विद्युतीय तार छुदाँ करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको हो । गम्भीर घाइते गोलेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर मकवानपुरगढी–२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी–७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन् । दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विष्णु पौडेलले भने – ‘बादल’ले सदनमा राखेको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदनमा राखेको धारणा पार्टी नीतिविपरीत रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत पौडेलले सो अभिव्यक्तिप्रति आपत्ति जनाउदै बादलको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको बताए ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले रास्वपाको जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर बताउका थिए । त्यसपछि उनको सामानजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैबीच पौडेलले बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्व युद्ध अन्त्यका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले द्वन्द्वको द्रुत अन्त्य र द्वन्द्वको दीर्घकालीन समाधानका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।”

खाडी मुलुक इरानी ड्रोन आक्रमणसँग जुधिरहेको बेला युक्रेनले साउदी अरबसँग हवाई रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि यो आह्वान आएको हो ।

रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति पुटिनले बुधबार बताउनुभएको थियो ।

यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभएको थियो, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।”

“इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उहाँले भन्नु्भयो, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।”

‘स्ट्रेट अफ हर्मुज’ लाई सञ्चालन गर्न सैन्य अभियान ‘अवास्तविक’ : म्याक्रोँ

सियोल। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य आवागमनका लागि खुला गर्न सैन्य अभियान ‘अवास्तविक’ भएको बताउनुभएको छ ।

दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोँले भन्नुभयो, “सैन्य कारबाहीमार्फत बलपूर्वक हर्मुज जलमार्गको सञ्चालनका लागि वकालत गर्नेहरू पनि छन्, जुन अडान कहिलेकाहीँ अमेरिकाले पनि व्यक्त गरेको छ।”

“यो हामीले छनौट गरेको विकल्प होइन र हामी यसलाई अवास्तविक मान्छौँ,” उहाँले भन्नुभयो। म्याक्रोँले यस्तो कारबाहीले अत्यधिक समय लिने र जलमार्ग पार गर्नेहरूलाई ‘तटीय खतरा’ हुने देखिएको छ ।

“यो इरानसँग मिलेर मात्र गर्न सकिन्छ,” उहाँले भन्नुभयो । तेलको लागि एक महत्त्वपूर्ण ढुवानी मार्ग हर्मुज घाँटी मध्यपूर्व युद्धका कारण हप्तौँदेखि लगभग अस्तव्यस्त बनेको छ । यसले विश्वव्यापी कच्चा तेल र सम्बन्धित उत्पादनहरूको मूल्य बढाएको छ।

इरानको रिभोलुसनरी गाड्र्सले उसका ‘शत्रुहरू’ का लागि जलमार्ग बन्द राख्ने वाचा गरेको छ भने ट्रम्पले यसलाई युद्धविरामको सर्त बनाउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बुधबार प्राइम टाइममा सम्बोधन गर्दै स्ट्रेटबाट तेल प्राप्त गर्ने देशहरूले ‘त्यो मार्गको ख्याल राख्नुपर्छ’ भन्नुभएको थियो ।

यसअघिका टिप्पणीहरूमा उहाँले युरोपेली र एसियाली देशहरूलाई सङ्केत गर्दै उनीहरू यसलाई खुलाउन अमेरिकासँग सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै भन्नुभयो, “तपाईंलाई थाहा छ, हामीसँग त्यहाँ (उत्तर कोरियामा) आणविक बलको आडमा केवल ४५ हजार सैनिकहरू छन् । दक्षिण कोरियालाई यो गर्न दिनुहोस्।”

“जापानलाई यो गर्न दिनुहोस्। उनीहरूले आफ्नो तेलको ९० प्रतिशत हर्मुज घाँटीबाट प्राप्त गर्छन्। चीनलाई यो गर्न दिनुहोस्। तिनीहरू सबैलाई यो गर्न दिनुहोस्। हामी यो केको लागि गरिरहेका छौँ?”

दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् । जापानको भ्रमण सकेर बिहीबार दक्षिण कोरिया पुगेका म्याक्रोँले पनि द्वन्द्वबारे ट्रम्पको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताउनुभयो । उहाँले आगामी वैशाखदेखि खोप लगाइने बताउनुभयो ।

यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । “दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,” उहाँले भन्नुभयो, “त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।”

यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए ।

शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ ।

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा महासङ्घको आपत्ति

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति उत्पन्न हुने भन्दै सो निर्णयप्रति आपत्ति जनाएको हो ।

महासङ्घले भनेको छ, “कोरोना कहर र जेनजी आन्दोलनको कारण आर्थिक सङ्कट व्यहोरिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक लगाउने सचिवस्तरीय निर्णयप्रति महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ भने यसले ‘प्रेस सेन्सरसिप’को अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर पर्ने हाम्रो ठहर छ ।”

सरकारले आज सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत परिपत्र गरेको छ ।

सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएकोछ ।

सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवनमा दिउँसो सवा दुई बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएको विषयबस्तु र आएका भावनाले नेपालको संसदीय अभ्यासलाई सु–संस्कृत र परिपक्क तुल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

युवापुस्ताको बाहुल्यता रहेको प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलकातर्फबाट शुभकामना दिने क्रममा आ–आफना दलीय दृष्टिकोण सु–स्पष्ट ढङ्गबाट व्यक्त गरियो ।

त्यस अवसरमा सत्तापक्षबाट सुशासन, समृद्धि र विकासका मुद्धालाई स्पष्ट खाकासहित अघि बढाउने प्रतिबद्धता जाहेर भयो भने प्रतिपक्षबाट सरकारले लिने निर्णय र अघि बढाइने कार्यक्रमलाई गुण तथा दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

अघिल्लो प्रतिनिधिसभा बिघटन, त्यसपछि उत्पन्न परिस्थिति, निर्वाचन र वर्तमान सरकार गठन तथा अब देशले लिनुपर्ने नीति तथा कार्यक्रमबारे पनि वक्ताहरुले आ–आफ्नो शैलीमा विषयवस्तु प्रस्तुत गर्नुभयो ।

बैठकको सुरुआतमै एमालेका सांसदहरु आआफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो । जेष्ठ सदस्यको अनुरोधपछि पनि एमाले सासदहरु उठिरहेपछि सांसद गुरु बराललाई उहाँले बोल्न समय उपलब्ध गराउनुभयो ।

सांसद बरालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई यही चैत १४ गते पक्राउ गरिएको घटनाप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभाध्यक्ष केसी

त्यसपछि बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वयको आवश्यता औँल्याउनुभयो । उहाँले जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो ।

त्यसपछि दलीयरुपमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा शुभकामना दिनुभयो ।

सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएकाले सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन् । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिने छैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।”

नेता आङ्देम्बे

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो ।

नेता थापा

नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभयो ।

नेता थापाले निर्वाचनबाट ठूलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिनुभयो ।

नेता पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभयो । जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाल सञ्चालनमा रहेका १८ विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि गृहमन्त्री सुधन गुरुङले सभामा तीन वटा अध्यादेश पेस गर्नुभयो । उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभयो ।

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

यसअघि बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट अधिवशेन आह्वानसम्बन्धी प्राप्त पत्र तथा प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा यही चैत १३ गते नियुक्त गर्नुभएको थियो । बैठकले नयाँ नियमावली नबनाएसम्म हालको नियमावली २०७९ बमोजिम कामकारबाही अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु आरेन राई, गङ्गा छन्त्याल, ताहिर अलि भाट, बासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

बैठकले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठक करिब २ घन्टा सञ्चालन भएको थियो ।

प्रतिनिधिसभाको आगामी बैठकबाट सभामुखको चयन हुनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ ।।

मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो । शर्माद्वारा आज जारी सूचनामा चैत २२ गतेसम्म सडक बन्द गर्न लागिएको जनाइएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ । पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो ।

एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ ।

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

मुस्ताङ। मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य मुलुकबाट पाँच हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

यसअघि सन् २०२५ को जनवरी, फ्रेब्रअरी र मार्च महिनामा कूल २८ हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ । उक्त समयको तीन महिनामा सार्कतर्फ २४ हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ १३ हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ एक हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्तले बताउनुभयो ।

सन् २०२४ मा कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ मा कूल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।

रवि लामिछानेले अब वारेसमार्फत मुद्दा लड्न पाउने

रास्वपाका सभापति रवि लामिछानेले अब वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् । उनलाई पर्सा जिल्ला अदालतले वारेसमार्फत मुद्दा लड्न पाउने अनुमति दिएको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतका न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले रवीको माग बमोजिम सो अनुमती दिएको हो ।

अब उनले तारेखका लागि पर्सा अदालत जानु पर्ने छैन।

मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार भरतपुर अस्पताल अगाडि बसी आवतजावत गर्ने यात्रीहरूलाई दुःख हैरानी दिने चार जना सवारी साधनका चालक तथा सहचालकहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो । सार्वजनिक सेवालाई मर्यादित बनाउन र बिचौलियाको प्रभाव कम गर्न प्रहरीले यस्तो कदम चालेको प्रहरीले जनाएको छ ।

राष्ट्रियसभामा एमालेको दलको नेतामा डा प्रेम दङ्गाल चयन

काठमाडौँ। राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन हुनुभएको छ ।

प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उहाँको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दङ्गाल चयन हुनुभएको हो । नेता दङ्गालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिनुभयो ।

भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गीका बिरामी फेला

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस) का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् ।

अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको बताउनुभयो । केही बिरामीले यसअघि उपचार गराइसकेका छन् । बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।

“सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ,” डा चापागाइँले भन्नुभयो । उहाँका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस सङ्क्रमण पुष्टि भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा सङ्क्रमण सरेको समेत भेटिएको छ ।

भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभागअन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको थियो । ‘भेनस कर्नर’ मा सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।

डा चापागाइँले सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गर्नुभयो । अस्पतालमा गरिएको सो अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी ‘रेकर्ड’मा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो सङ्क्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् ।

भेरी अस्पतालमा सन् २०२६ जनवरीदेखि सुरु भएको सिफलिससम्बन्धी अनुसन्धान यस वर्षको डिसेम्बर अन्तिमसम्म जारी रहने अस्पतालले जनाएको छ ।

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायारणप्रसाद दाहालले दिनुभएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत २२ गते दिउँसो २ः३० देखि अपराह्न ३ः३० बजेसम्म सिंहदरबारस्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ ।

सोही दिन ४ः०० बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते १ः१५ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

काठमाडौँ। सूचना प्रविधिको प्रयोग वृद्धिसँगै ‘डिजिटल’ हिंसा बढ्दै गएकाले कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड दिएका छन् ।

महिला सेवा संस्था नेपालले आज आयोजना गरेको ‘बदलिँदो राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक युवाहरूसँग एक दिवसीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) का सांसद कमल सुवेदीले सूचना प्रविधिको युगमा भएकाले त्यसलाई कानुन बनाएर नै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको मन्त्रिपरिषद्मा युवा सहभागिता राम्रो छ, युवाले सूचना प्रविधिको राम्रो प्रयोग पनि गरेको छ, निर्वाचनमा पनि डिजिटल माध्यमबाटै प्रचार भयो,” सांसद सुवेदीले भन्नुभयो, “तर भ्रमपूर्ण, गलत सूचनाहरु पनि प्रचार हुन सक्छ, त्यसलाई कानुन बनाएर व्यवस्थित गर्नुपर्छ ।”

नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकेले सूचना प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट महिला हिंसा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “महिला हिंसा बढ्दै गएको छ, मलाई त्यो सम्झियो भने आङ सिरिङ्ग हुन्छ,” उहाँले भन्नुभयो, “डिजिटल माध्यमबाट धेरै महिलालाई हिंसा हुने देखिएको छ, त्यो रोक्नुपर्ने जरुरी छ ।”

युवाहरुले डिजिटल प्रजातन्त्रका युवाका आवाज, युवा सहभागिता र युवा सङ्गठनहरुमा एकताबद्ध भएर संवाद गरी मुलुकको समस्याको समाधान दिनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा राजनीतिक दल, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलगायतका युवाको सहभागिता थियो ।

महोत्तरीमा साइकलबाट लडेर एक जनाको मृत्यु

महोत्तरी। गौशाला–फुल्काहा सडकखण्डमा आज साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका–६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो । उनको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो ।

साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ ।

दल भिन्न भए पनि देश एउटै भएकाले अब कसैले देशमा रगत बगाउन नपरोस्- कांग्रेस सांसद भीष्मराज

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए ।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछि गरिएको छानविन आयोगको प्रतिवेदनप्रति लक्षित गर्दै प्रश्न समेत गरे ।उनले भने,‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् ।

अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो – ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको बताएका छन् । उनले आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गर्दै गर्दा यस्तो अवस्था फेरि आउन नदिन अहिलेको सरकारलाई हेक्का रहनुपर्ने बताए ।

उनले भने, ‘अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो । सिंहदरबार जले, भौतिक संरचनाहरू ढले । संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस् ।’

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएकाे छ ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।

कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ ।

कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले आज यहाँ आयोजना गरेको ‘कमलप्रसाद कोइराला स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा पूर्वराष्ट्रपति भण्डारीले उहाँका सबै परिवारका अग्रज फरक राजनीतिक धारको अग्रस्थानमा रहेपनि कोइरालाले आफ्नै वैचारिक मार्ग खोजेको बताउनुभयो ।

“कम्युनिष्ट विचारधारालाई आत्मसात गर्दै उहाँले जीवनपर्यन्त राष्ट्रियता सार्वभौमिकता, सामाजिक न्याय र समानताको पक्षमा दृढदापूर्वक कलम चलाउनुभयो र सङ्घर्षको कठिन बाटो अङ्गाल्नुभयो”, उहाँले भन्नुभयो, “कमल कोइरालाको जीवनशैली अन्यन्त सरल, सादगीपूर्ण र मिलनसार थियो । पद प्रतिष्ठा र विलासिताभन्दा टाढा रही आफ्नो जीवन लेखक र राजनीतिक अभियानका माध्यमबाट जनता र राष्ट्रको सेवामा समर्पित रहनुभयो ।”

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमल कोइराला आफ्नो परिवारको एक्लो कम्युनिष्ट रहेको चर्चा गर्दै पछिल्लो पटक उहाँ कम्युनिष्ट आन्दोलनप्रति नरम हुँदै गएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको जनमत खस्केको भन्दै त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कमल कोइराला सरल, सहज र सादगी व्यक्तिका रुपमा परिचित रहेको बताउनुभयो । कोइरालाको ८७ बर्षको उमेरमा २०८१ चैत १७ गते उपचारका क्रममा निधन भएको थियो ।

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ ।

साहिल खानले तयार पारेको ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती (सुपुष्पा भट्ट)को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ ।

फिल्मले सुन, पैसा र जनावरको अवैध चोरी निकासीलाई मुख्य विषयवस्तु बनाएर प्रेम र पारिवारिक कथा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ । विराजको छोरीको भूमिकामा दिव्या रायमाझी देखिएकी छन्, जसको सुशीलसँग प्रेम रहेको देखाइएको छ । स्व.सुनिल थापा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरले एक्सनप्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।

माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

नेपाली कुस्ती खेलाडीको बिदाइ

काठमाडौँ। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जित्नुभएको थियो । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी हुनुहुन्छ । खेलाडीसहितको तीन सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जानेछ ।

यस्तै अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड विश्व रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गर्नुभयो ।

पाकिस्तानले अफगान युद्धविरामको दबाब काबुलमा राख्यो

इस्लामाबाद, चैत १९ गते । दुवै पक्षले शत्रुता घटाउने प्रारम्भिक वार्ता सुरु गर्दा पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अन्त्य गर्ने मुख्य जिम्मेवारी काबुलमा रहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दार बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्तामा सहभागी हुनुभयो ।

त्यहाँ उहाँले अफगानिस्तानको भूमिको उपयोग गरी पाकिस्तानविरुद्ध आक्रमण गर्ने चरमपन्थी समूहविरुद्ध ‘दृश्यात्मक र प्रमाणित कार्य’ आवश्यक रहेको औँल्याउनुभयो । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले पत्रकारलाई भन्नुभयो, “हाम्रो मुख्य चिन्ता वार्तामा दोहोरिएको छ, तर वास्तविक जिम्मेवारी अफगानिस्तानमा छ ।”

वार्ता कार्य स्तरमा जारी रहेको र प्रतिनिधिमण्डल अझै नफर्किएको उहाँले बताउनुभयो । पाकिस्तानले मध्यपूर्व युद्ध अन्त्यका लागि वासिङ्टन र तेहरानलाई वार्तामा ल्याउने प्रयासमा पनि संलग्नता देखाएको छ । चीनले यस क्षेत्रमा द्वन्द्व फैलिन नदिन र खाडी देशको सुरक्षासँग आफूलाई मिलाएर पाकिस्तानको प्रयासलाई समर्थन गरेको छ ।

साउदी अरब, कतार र टर्कीको अनुरोधमा पाकिस्तान र अफगानिस्तानले गत महिना रमजानको अवसरमा अस्थायी युद्धविरामको घोषणा गरेका थिए । तर सीमावर्ती क्षेत्रमा आक्रमण जारी रहेकाले शान्ति पूर्णरूपमा कायम छैन । तालिबान सरकारले चरमपन्थीलाई शरण दिएको आरोप अस्वीकार गरेको छ ।

गत नोभेम्बरको इस्तानबुल वार्ता र फेब्रुअरीमा साउदी अरब र कतारले मध्यस्थता गरेको प्रयास असफल भएपछि क्षेत्रीय तनाव अझै उच्च छ । पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्वलाई स्थायी समाधानमा ल्याउने दिशामा नयाँ कूटनीतिक पहललाई अघि बढाइरहेको छ ।

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागेको छ ।
चैत शुक्ल चतुर्दशीका दिन स्तूपमा आई दिवङ्गत पितृको सम्झनामा बत्ती बालेमा पितृले मुक्ति पाई कर्ताको जीवनमा पनि सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडा–डाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिई बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा बताउँछन् ।

“चैत शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि छ”, उनले भने ।

यो विधि पूरा गरेमा दिवङ्गत पितृको दुर्गति नहुने र पुनर्जन्म सुखवती भुवनमा हुने भनी बौद्ध धर्म ग्रन्थमा व्याख्या गरिएको तेमाल जात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेषभूषा एवम् र्‍यालीसमेत प्रदर्शन भइरहेको छ । बुधबारदेखि सुरु भएको बौद्धको तेमाल जात्रा बिहीबार बिहानसम्म चल्नेछ । दिउँसोदेखि यहाँ जम्मा भएका भक्तजनले रातभर दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् ।

रातभर मेलामा सहभागी हुने जात्रालुका लागि स्तूप परिसरमा पाल टाँगेर बस्ने व्यवस्था गरिएको समितिले जनाएको छ । जात्रामा विशेष गरी काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, मकवानपुरलगायत जिल्लाका तामाङ समुदाय बौद्ध परिसरमा भेला हुने गर्छन् । जात्राको अवसरमा आज बौद्ध घ्याङ गुठीले स्तूप र अजिमाथानमा विशेष पूजा गरेको जनाइएको छ ।

सदनमा जबाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

काठमाडौं। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जबाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उनीहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए ।

उनले भने, ‘प्रतिपक्षमा रहेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।’

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे ।

उनले भने,’विगतमा सरकार र पार्टी चलाउँदा कहीँ कतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्विकार्नुपर्छ । कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेश अनुसार जबाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिष्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छैँं ।’

नेपाली कम्युष्टि पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए ।

उनले भने, ‘किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ ।’

यस्तै,सङ्घीय संसद्का पूर्वमहासचिव डा भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए ।

उनले भने, ‘हाम्रा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न ।’

प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १३०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४२५, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ९०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १७०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

मालपोत र यातायात कार्यालय सुनसरीबाट १७ जना नियन्त्रणमा

सुनसरी । जिल्ला प्रहरी कार्यालयले यहाँका दुई सरकारी कार्यालयबाट आज १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।

मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको र यातायात कार्यालयबाट चार जना गरेर १७ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मालपोत कार्यालय सुनसरीबाट पक्राउ पर्नेमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीय आयसा मोते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरारआलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताजआलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताए ।

यस्तै, यातायात कार्यालयबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ ।

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।मन्त्री प्रतिभा रावलको निर्देशनमा आज सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको हो ।

कार्यालयहरूमा विभिन्न बहानामा अनधिकृत व्यक्ति प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ । मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातमा अनधिकृत व्यक्तिको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।

निर्देशनमा कार्यालयका विभिन्न फाँटमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने बताएको छ । अनधिकृत व्यक्तिलाई निषेध गरेपछि सेवाग्राहीले निवेदन र कागजात देखाएर सहजै सेवा पाउने विश्वास मन्त्रालयको विश्वास छ ।