`

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

Nepal One HD १९ चैत २०८२ १०:०२
समाचार

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागेको छ ।
चैत शुक्ल चतुर्दशीका दिन स्तूपमा आई दिवङ्गत पितृको सम्झनामा बत्ती बालेमा पितृले मुक्ति पाई कर्ताको जीवनमा पनि सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडा–डाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिई बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा बताउँछन् ।

“चैत शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि छ”, उनले भने ।

यो विधि पूरा गरेमा दिवङ्गत पितृको दुर्गति नहुने र पुनर्जन्म सुखवती भुवनमा हुने भनी बौद्ध धर्म ग्रन्थमा व्याख्या गरिएको तेमाल जात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेषभूषा एवम् र्‍यालीसमेत प्रदर्शन भइरहेको छ । बुधबारदेखि सुरु भएको बौद्धको तेमाल जात्रा बिहीबार बिहानसम्म चल्नेछ । दिउँसोदेखि यहाँ जम्मा भएका भक्तजनले रातभर दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् ।

रातभर मेलामा सहभागी हुने जात्रालुका लागि स्तूप परिसरमा पाल टाँगेर बस्ने व्यवस्था गरिएको समितिले जनाएको छ । जात्रामा विशेष गरी काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, मकवानपुरलगायत जिल्लाका तामाङ समुदाय बौद्ध परिसरमा भेला हुने गर्छन् । जात्राको अवसरमा आज बौद्ध घ्याङ गुठीले स्तूप र अजिमाथानमा विशेष पूजा गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *