`

भक्तपुरका सरकारी कार्यालयसहित २७ भवनमा आगजनी

भक्तपुर, २७ भदौ-जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते आन्दोलनरत समूहले तोडफोड गरी आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास खण्डहरमा परिणत भएको छ ।

ओली निवासमा यतिखेर स्थानीय सलमपाखा युथ क्लबले ताल्चा लगाएर प्रवेश निषेधको बोर्ड टाँसेर राखेको छ । आन्दोलनरत भीडमध्ये केहीले ओली निवासमा रहेका महत्त्वपूर्ण सामान लुटेर लगेको र कवाडी सङ्कलन गर्नेहरूसमेतले सामान लान थालेपछि सोही दिन राति ८ः०० बजे फोडिएका फलामका बार वाइरिङ गरी क्लबले ताल्चा लगाएर राखेको छ ।

आगो लगाइएपछि कतिपय सामान, गाडी तथा मोटरसाइकल, बैठक हलसहितको एउटा र निवास गरी दुई ठूला भवन र सुरक्षाकर्मीको निवास रहेको साना दुईवटा भवन जलेर खण्डहर भएको छ । हजारौँ पुस्तक रहेको पुस्तकालय आधाभन्दा बढी जलेको छ ।

त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको गुण्डुस्थित घर पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले लगाइदिएको आगोले तीनतले घर पूरै जलेर खण्डहरमा परिणत भएको छ ।

त्यसैगरी वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाको घर पनि आन्दोलनकारीले तोडफोड गरी आगो लगाइएको छ । नेता बस्नेतको घर आगजनी गर्ने टोलीले नै वडाध्यक्षको घर तोडफोड गरी आगजनी गरेको सापकोटाले बताउनुभयो ।

आन्दोलनमा उत्रिएको सोही टोलीले गुण्डुस्थित वडा कार्यालयको भवनसमेत जलाएर खरानी बनाएका छन् । कार्यालयमा पार्किङ गरिराखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक एवं सांसद सन्तोष परियार चढ्ने सरकारी गाडी र जिल्ला समन्वय समितिको गाडीलगायत अन्य सवारीसाधन पूर्ण रूपमा जलेको छ । गुण्डुकै प्रहरी चौकी र सँगै जोडिएको खानेपानी कार्यालय जलेर नष्ट छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाकी छोरी सुमित्रा थापाको सूर्यविनायक दार्जिलिङ हाइटमा रहेको घर पनि आन्दोलनकारीले तोडफोड गरी जलाएर पूर्ण क्षति पुर्याएका छन् । घरमै रहेकी सुमित्राले घरभित्र रहेको कुनै पनि सामानसमेत झिक्न नदिई तोडफोड गरी आगो लगाइदिँदा खण्डहर भएको थापाले बताउनुभयो ।

त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरको सूनपा–८ सिपाडोलमा रहेको घर तोडफोड गरेका छन् । प्रहरी बृत्त जगातिबाट लुटेर लगेका दुई बन्दुकसहित पुगेका आन्दोलनकारीले घरमा आगो लगाउन खोज्दा स्थानीय महिला प्रतिकारमा उत्रिएपछि बन्दुक छाडेर आन्दोलनकारी भागेका सुजन थापाले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीको घर तोडफोड गरेका छन्भने एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीले आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चाको वडा कार्यालय भवन पूर्ण रूपमा क्षति भई खण्डहर बनेको छ ।

मध्यपुरथिमि शङ्खधरचोकस्थित मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठको घरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । सूर्यविनायक नगरपालिकाको कार्यालय भवन तोडफोड गरिएको छभने भवन आगो लगाउने प्रयास गरेपछि नगर प्रहरी र स्थानीयले प्रतिकारमा उत्रिएपछि आन्दोलनकारी भागेर गएको स्थानीयले बताएका छन् ।

नजिकै रहेको डिभिजन सडक कार्यालय तोडफोड गरी आगजनी गर्दा धेरै ठूलो क्षति भएको छभने नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय तोडफोड गरिएको छ । आन्दोलनरत समूहले सरकारी कार्यालयतर्फ जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखालगायत पछाडि भाग जलाएर पूर्ण रूपमा क्षति पुर्याएका छन् । मुद्दा शाखाको सम्पूर्ण दस्तावेज र सामग्री जलेको छ भने सँगै रहेको जिल्ला समन्वय समिति, काठमाडौँ नगर विकास कार्यालय, नेपाल स्काउट कार्यालय, क्षयरोग कार्यालय जलाएका छन् ।

महननगरीय प्रहरी वृत्त मध्यपुरथिमिको भवन पूर्ण रूपमा जलाउँदा नष्ट भएको छ भने सँगै रहेको मध्यपुरथिमि नगरपालिकाको कार्यालय भवन जलाउँदा ठूलो क्षति पुगेको छ । मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठको घर ताडफोड भएको भने मनोहरामा खोला किनारामा रहेको प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर बनेको छ ।

मध्यपुरथिमि राधेराधेस्थित स्थानीय विकास श्रेष्ठको घरमा भाडामा रहेको यातायात कार्यालय तोडफोड गरी जलाइएको छ । आन्दोलनकारीले गाडी र मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाएपछि कार्यालयको सटर फोडर भित्र तीन तलासम्मका सबै सामान बाहिर निकालेर तोडफोड गरी आगो लगाउँदा सम्पूर्ण सामानदेखि कार्यालय भवन खण्डहरमा परिणत भएको छ ।

जिल्ला ट्राफिक प्रहरी परिसर कटुञ्जेको भवन पूर्ण रूपमा नष्ट भएको छ । यस भवनमा कारबाहीका लागि ल्याइएको १०० भन्दा बढी सवारीसाधन पूर्ण रूपमा जलाएको जानकारी दिँदै प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले करिब १० वटा मोटरसाइकल १६ बोरा चामल, खाद्यान्न, ट्राफिक प्रहरीको पोशाक, मोबाइललगायत सामग्री आन्दोलनमा आउनेहरूले लुटेर लगेको जानकारी दिनुभयो । कटुञ्जेकै सामुदायिक प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर भएको छ ।

जगातिस्थित प्रहरी बृत्तमा तोडफोड गरी हतियार लुटेर लगेका छन् भने चाँगुनारायण नगरपालिकाभित्रको खरिपाटी प्रहरी चौकी आन्दोलनकारीले आगो लगाउँदा जलेर नष्ट भएको छ भने चाँगुनारायणकै सुडाल प्रहरी चौकी पनि खण्डहर भएको छ ।

भक्तपुरका प्रमख जिल्ला अधिकारी नमराज घिमिरेले प्रहरी कार्यालयलाई सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सरकारी कार्यालयहरूको क्षति भएको विवरण सङ्कलन गरी मुचुल्का उठाएपछि मात्र सञ्चालन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो । आइतबारदेखि नै खण्डहरमा परिणत कार्यालयलाई कुनै न कुनै बिन्दुबाट सेवा सञ्चालन गरेर जनताको काममा फर्किने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति भएको छ । शुक्रबार भएको छलफलमा कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति भएको हो । छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति भएको हो ।

कार्कीको आजै शपथ गराउने तयारी पनि भएको शीतलनिवास सम्वद्ध स्रोतले जनाएको छ । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।

जेनजी आन्दोलनमा सहभागी बाजुराका २३ वर्षिय बुढा मृत फेला

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।
४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए ।

यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।

कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए

गण्डकी – जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये आज साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् ।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । “कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “हामीले आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ ।”

जेनजी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मङ्गलबार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए । प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।

कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पर्वत र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो । भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ । कास्की, म्याग्दीलगायतका कारागारबाट कैदीबन्दी भागेका थिए ।

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ ।

विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताउनुभयो । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो । कुरा गर्दै उहाँले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ । शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ । पत्रविना हामीले शव परीक्षण सुरु गर्न मिल्दैन । प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।”

डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताउनुभयो । विभागमा हाल छ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ । पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ ।

जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ । जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन् ।

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् । गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

अझै एक साता शेयर कारोबार नहुने

काठमाडौँ – जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।

“धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।

पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइने एमालेका ३२ वटा केन्द्रीय विभागको प्रतिबद्धता

काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् ।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन् । “एमालेलाई हालको जेन–जीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ”, अपिलमा भनिएको छ ।

विभागले जेन–जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताउनुभयो । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछाँै । आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ ।

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो

सिरहा, २७ भदौ : जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था स्वरूप आगामी शनिबारसम्म हरेक दिन तीन घण्टाका लागि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, नागरिकको सुरक्षा र जनजीवनलाई सहज बनाउन सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि पर्वको तयारीका लागि दिउँसो ३ बजेदेखि ६ बजेसम्म स्थानीय हाटबजार तथा पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले लहान क्षेत्रमा लाग्ने साप्ताहिक हटिया र पसल यही समयमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक सामग्री किनमेल गर्दा अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै तुरुन्त घर फर्किन अनुरोध गरिन्छ । अन्यथा कुनै अवाञ्छित गतिविधि वा लुटपाट भएमा सुरक्षाकर्मीले आवश्यक कारबाही गर्नेछन् ।”

प्राचीन कालदेखि मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी सुरु हुन्छ । विशेषगरी महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नखाई कठोर व्रत बस्ने यो पर्वलाई पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आगामी आइतबार जितिया पर्व मनाइँदै छ ।

जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

दमौली (तनहुँ), २७ भदौ : जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताउनुभयो ।

प्रनाउ थापाका अनुसार दुईपाङ्ग्रे ३८ सवारीसाधन पूर्ण, १० आंशिक र दुई सामान्य क्षति भएका छन् । चारपाङ्ग्रे १७ पूर्ण र ११ आंशिक क्षति भएका छन् । सरकारी सवारीसाधन दुईपाङ्गेतर्फ ३४ पूर्ण, तीन आंशिक र एक सामान्य क्षति भएका छन् । निजीतर्फ चार पूर्ण, सात आंशिक र एक सामान्य क्षति भएका छन् । सरकारी सवारीसाधन चारपाङ्ग्रेतर्फ १७ पूर्ण, ११ आंशिक क्षति भएका छन् ।

भौतिक संरचनामा सरकारी कार्यालयतर्फ चार पूर्ण, १७ आंशिक र एक सामान्य क्षति भएका छन् भने व्यक्तिगततर्फ नौ वटा आंशिक क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

यही भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

शीतल निवासमा निरन्तर संवाद जारी, कुलमान र हर्कको समर्थनमा नाराबाजी

काठमाडौं । राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।

शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् ।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

‘संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको माग सम्बोधन गर्नुपर्छ’ – पूर्वसभामुखद्वय सापकोटा र महरा

काठमाडौँ, २७ भदौ : पूर्वसभामुखद्वय अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महराले नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

उहाँहरूले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ, राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य छ, सङ्घीय संसद्बाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ ।”

उहाँहरूले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिको संरक्षण गर्नु सबैको दायित्व हुने उहाँहरुको भनाइ छ । जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना उहाँहरूले गर्नुभएको छ ।

‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

काठमाडौँ । सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन ।

जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो ।

आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए । शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताउनुभयो ।

मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ । त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए ।

सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो । आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए ।

गृह मन्त्रालयका एक कर्मचारीले भन्नुभयो, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन ।” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीको प्रवेशलाई सहज तुल्याइएपछि भग्नावशेषको तस्बिर लिन पुगेका फोटो पत्रकारको सङ्ख्या उल्लेख्य देखियो । सिंहदरबारभित्रका मन्त्रालय र सडकको सरसफाइ क्रमशः सुरु गरिएको छ भने तोडफोड भएका सामग्रीको व्यवस्थापन आरम्भ भएको छ ।

सिंहरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ । देशको एकमात्रै फरक डिजाइनको उक्त भवनमा घटना भएको चौथो दिनसम्म पनि आगो निभेको छैन । स्वास्थ्य सचिव डा विकास देवकोटाले भवन जलेर नष्ट भएकाले आफूहरूले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरेको बताउनुभयो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति भएको छ ।

पोखरामा साँझ ७ बजेदेखि कफ्र्यू आदेश जारी

कास्की, २७ भदौः पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नं १ देखि ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको हो ।

पोखरामा आज बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरिएको थियो । वर्तमान अवस्थामा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध, प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुव्यवस्थालाई मध्येनजर गर्दै सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

आदेश जारी गरिएको सम्पूर्र्ण क्षेत्रहरूमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उहाँले जानकारी दिनुभयो । कफ्र्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।

यसैगरी भदौ २८ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ । पोखरामा गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

यहाँका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रशासनले थप क्षति हुन नदिनका लागि भदौ २४ देखि दिउँसो निषेधाज्ञा तथा रातको समयमा कफ्र्यू लगाउँदै आएको छ ।

सुशीला कार्कीलाई एमाले नेता बस्नेतले दिए तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरूको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने निश्चित भएमा बधाई दिदैँ तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अन्तरिम प्रधानमन्त्री भएपछि मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति, राहत र पुनस्र्थापना कोषलगायत अन्य तुरुन्तै गर्न सकिने सुझाव दिएका हुन् ।

उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् ।
बस्नेतले सुझाव दिएका तुरुन्त गर्नुपर्ने कामहरू

१. मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति
आन्दोलनका क्रममा मृत्यु भएकाहरू र घाइतेहरूलाई न्याय दिलाउन द्रुत र स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुहोस्। आयोगले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरोस् र दोषीहरूलाई द्रुत न्यायिक कारबाहीमा ल्याओस्।

२. राहत र पुनस्र्थापना कोष
आगलागी, तोडफोड र क्षतिग्रस्त भएका श्रमिक र परिवारका लागि तलब, उपचार र अस्थायी आवासको व्यवस्था गर्न सार्वजनिक–निजी साझेदारीमा राहत कोष स्थापना गर्नुहोस्।

३. न्याय र दण्ड सुनिश्चित गर्ने व्यवस्था
सरकारी वा गैरसरकारी क्षेत्रमा देखापरेका हिँसा, दुरुपयोग र अपराधमा संलग्नलाई प्रमाणमा आधारित कारबाही गर्नुहोस्। यस प्रक्रियामा कुनै राजनीतिक पक्षपात हुनु हुँदैन।

४. सुरक्षा र सम्पत्ति संरक्षण
निजी व्यवसाय, विद्यालय, अस्पताल र सार्वजनिक संरचनाको सुरक्षा तुरुन्त पुनःस्थापित गर्नुहोस्। बीमाको दावी छिटो टुंग्याइने व्यवस्था मिलाउनुहोस्। साना व्यवसायलाई ब्याजमुक्त वा सहज ऋण उपलब्ध गराउनुहोस्।

५. रोजगारी र आर्थिक पुनरुत्थान योजना
प्रभावित उद्योग र रोजगारी पुनःस्थापनाका लागि कर छुट, अनुदान र सीप तालिम कार्यक्रम सुरु गर्नुहोस्। युवाहरू र गृहिणीहरूलाई लक्षित गर्दै रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउनुहोस्।

६. शिक्षा र नागरिक सेवा सुचारु गर्नुहोस्
विद्यालय, कलेज र नागरिक सेवाका कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउनुहोस्। परिचयपत्र वा प्रमाणपत्र पाउन समस्या परेकाहरूका लागि अस्थायी मोबाइल टोली पठाउनुहोस्।

७. पारदर्शी पुनर्निर्माण
पुनर्निर्माणका लागि तोकिएको रकम र समयसीमा सार्वजनिक गर्नुहोस्। नागरिक समाज र सरोकारवालाले अनुगमन गर्न सक्ने व्यवस्था मिलाउनुहोस्।
नेता बस्नेतले सहर, पसल, विद्यालय र इतिहास ढुङ्गा–माटो नभई रोजीरोटी, शिक्षा र भविष्य भएको बताए । अहिले देशमा आर्थिक क्षतिका साथै आत्मगौरवमा समेत चोट परेको बताए ।

भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं । भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा आग्रह गरेको हो ।

‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा नेपाली सेना आग्रह गर्दछ,’ सूचनामा उल्लेख छ ।

साथै, नेपाली सेना सम्बन्धी सूचना आदान प्रदानको लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरुसँग समन्वय गर्न सकिने बताइएको छ । स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरु ः

पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ्ग, सुनसरी, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा)– ९८५२०८१७०४
मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) – ९८५४०२०७७२
मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ्ग, चितवन)– ९८६३०२८८८४
पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ्ग, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग)–९८५६०११४३९
मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम)–९८६३०२९१३७
उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला) – ९८६३०२९१७७
सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला, बझाङ्ग)– ९७६२३०६५६१
उपत्यका क्षेत्र ( काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक) – ९८६०११३६२२

सामान्य बन्दै पोखराको जनजीवन, सवारीसाधनको चहलपहल बढ्यो

गण्डकी, २७ भदौः जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ ।

बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभयो । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ ।”

अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ । जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो ।

गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पु¥याएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट (हुम्ला), २७ भदौः बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ ।

रूसद्वारा पहिलो एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ

रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ ।
यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो। रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ ।

यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो। यी सवारी साधनहरूले सन् २०३५ सम्ममा ९० प्रतिशत हिस्सा लिने लक्ष्य राख्दै सन् २०३० सम्म शहरले ३०० भन्दा बढी नगर रेल (ट्राम) हरूलाई स्वायत्त प्रविधिले सुसज्जित गर्ने योजना बनाएको छ ।

टिभी ब्रिक्सका अनुसार भर्खरै प्रस्तुत गरिएको एआईबाट सञ्चालित (स्वचालित) रेल स्वतन्त्र रूपमा स्टपहरूमा रोकिने र ढोकाहरू खोल्ने, ट्राफिक सङ्केतहरू पालन गर्ने, पैदल यात्रीहरूलाई सडकमा वारपार गर्न दिन र स्वचालित रूपमा रेलमार्गहरू तय गर्नेजस्ता सबै तालिकाहरूको कडा पालना कायम राख्न सक्षम छ। सन् २०२४ मेदेखि विद्युतीय यो रेलले कुनै पनि ट्राफिक उल्लङ्घन बिना आठ हजार किलोमिटरभन्दा बढी कठोर परीक्षण पूरा गरेको छ । यसले स्वचालित प्रणालीको रेलको विश्वसनीयता र सुरक्षा प्रदर्शन गर्दछ।

हालको संघीय कानून अन्तर्गत प्रणालीको निरीक्षण गर्न र भाडा नियन्त्रण जस्ता गैर–ड्राइभिङ कार्यहरू ह्यान्डल गर्न एक जान अपरेटर सेवाको समयमा रेलको क्याबिनमा रहनेछ । रेलको ड्राइभिङ कार्यहरू पूर्ण रूपमा एआई र मस्कोमा विकसित उन्नत सफ्टवेयर द्वारा सुसज्जित गरिएका छन्।

रेलको शुभारम्भ पहिले तीन चरणको परीक्षणहरू गरिसकिएको छ । पहिलो चरणमा यात्रुहरू बिना रातमा रेलमार्गमा यात्रा, यात्रुहरूसँग पर्यवेक्षण यात्रा र अन्ततः पूर्ण स्वायत्त सेवाको नेतृत्व गर्यो।

सन् २०२५ को अन्त्यसम्म मस्कोले नियमित सेवामा तीन स्वायत्त रेलहरू राख्ने योजना बनाएको छ भने सन् २०२६ मा यसलाई १५ मा विस्तार गर्नेछ ।

रेल परियोजनाको अतिरिक्त शहरले सन् २०२५ डिसेम्बरमा सुरु हुने पहिलो स्वायत्त मेट्रो रेलको परीक्षण गर्ने तयारी गरिरहेको छ। स्वायत्त मेट्रो रेलको पूर्ण यात्री सेवा सन् २०२६ का लागि प्रत्याशित गरिएको छ । यसले स्मार्ट सार्वजनिक यातायात समाधानमा विश्वव्यापी नेताको रूपमा मस्कोको स्थितिलाई अझ बलियो बनाउँनेछ।

यो पहलले प्राविधिक प्रगति र दिगो शहरी गतिशीलताको लागि मस्कोको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यसको उद्देश्य यात्रु अनुभव सुधार गर्ने, उत्सर्जन घटाउने र लामो अवधिमा ट्राफिक दक्षता बढाउने रहेको छ ।

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर, २७ भदौः यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।

व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताउनुभयो । “विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।”

यस वर्ष गाउँघरबाट प्रतिकेजी रु ४० देखि ४५ सम्म बिक्री हुँदै आएको किसानहरुको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताउनुभयो ।

“मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ ।”

मझौले गाउँका एक किसानले ७०० केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुखेती गर्दै आएको उहाँको भनाइ छ । यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ । —

समस्या समाधान गरी यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात सञ्चालनमा ल्याउन अपील गरेको छ ।

जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर यातायात ठप्प हुँदा दैनिक जनजिवन प्रभावित बनेको बताएको छ ।

महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको छ।’

यातायात ठप्प हुँदा व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा संकट ल्याएको र सर्वसाधारण नागरिक असाधारण कठिनाइमा परेको पनि महासंघले जनाएको छ।

महासंघले कानूनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।

जेन जी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गर्दै महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छ ।

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर (रौतहट), २७ भदौः जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ ।

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

देश प्रयोगशाला बन्यो, जसको आन्दोलन उही नेता हुनु – गोकुल बाँस्कोटा

काठमाडौं – नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले देश प्रयोगशाला बनेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले जसको आन्दोलन उसैलाई नेता बनाउन जेन–जीलाई सुझाव पनि दिएका छन्।

उनले भने – ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो। किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्यांग्राको शिकार गर्न मुख बाउँछ, जस्को आन्दोलन उही नेता हुनु नि! फेरि उत्खनन किन?

जेन–जी आन्दोलन निष्कर्षतिर जान थालेको छ। देशमा अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेका छ।

आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।जसले गर्दा देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर, २७ भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्याइएको छ ।

भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका गरी पाँचवटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

त्यसैगरी, निवर्तमानगृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ । तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन् । प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ ।

कारागारबाट भागेकामध्ये एक सय २४ कैदीबन्दी फिर्ता

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ । “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उहाँले भन्नुभयो, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।” उहाँका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै तीन सय ५५ कैदीबन्दी फरार छन् । कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी फर्किए

भरतपुर, २७ भदौः चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफँै फर्किएका हुन् ।

भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताउनुभयो ।

“बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भन्नुभयो, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन् ।” कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए । ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुङ्गानाले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, २७ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भारतबाट फर्कँदै गरेका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर, २७ भदौ : भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका छन् ।पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।

“सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भन्नुभयो, “तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।” कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए ।

दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । “भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ”, कलमबहादुरले भन्नुभयो, “भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बीच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ ।”

लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताउनुभयो । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको बताउनुभयो ।

तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

दमौली (तनहुँ), २७ भदौ : तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो ।

स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन ।

त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

धैर्य र सहमतिबाट मात्र निकास सम्भव : झलनाथ खनाल

काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताउनुभएको छ ।

नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गर्नुभयो ।

आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताउनुभयो ।

शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनःगठन, पुनःस्र्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेल र सभामुखबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताउनुभएको थियो ।

यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उहाँहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

वाशिङ्गटन डिसी (अमेरिका), २७ भदौ : नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।

सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।”

नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।”

शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौँ, २६ भदौः जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये आज राति ८ बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ । यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना र थुनुवा ५८ जना रहेका छन् । अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताउनुभयो ।

आजै प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको छ । उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए ।

सुर्खेतमा पुनः कर्फ्यु ,वीरेन्द्रनगमा उच्च सुरक्षाका लागि सेना परिचालन

कर्णाली, २६ भदौः सुर्खेत पुनः कर्फ्यू लागेको छ । जिल्ला प्रशासनले आज बेलुका ७ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

पछिल्लो विकसित घटना क्रमलाई मध्यनजर गरी कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो । कर्फ्यु जारी भएपछि वीरेन्द्रनगर बजारमा उच्च सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाइएको छ । यस क्षेत्रमा आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न निर्देशन दिईएको छ ।

प्रशासनले आज बिहान ८ः३० बजेदेखि साँझ ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । जारी निषेधाज्ञा उलंघन गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरना गाउँपालिका–३ का १८ वर्षीय महेश कठायत र १८ वर्षीय मिलन बस्नेत, तिलागुफा नगरपालिका–१ का २४ वर्षीय प्रेम बुढा र शुभकालिका गाउँपालिका–३ का २६ वर्षीय पुष्पराज शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरमा कर्फ्यु खुकुलो पारिँदै

वीरगञ्ज (पर्सा),२६ भदौः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ । प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिनुभयो । “भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन ।

पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभएपनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ ।

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौँ, २६ भदौः अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ ।

विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताउनुभयो ।

उहाँका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कफ्र्यु आदेश लागू भएको अवधिमा प्रस्थान गर्नुपर्ने विदेशी नागरिकलाई प्रस्थान गर्ने बिन्दुमा अध्यागमन कार्यालयबाट अतिरिक्त शुल्क नलिइ भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ ।

त्यसैगरी यस अवधिमा राहदानी हराउने र सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिइसकेका विदेशी नागरिकका लागि भिसा स्थानान्तरणको पनि आवश्यक व्यवस्था मिलाइएको छ ।

यस्तो अवस्थामा उनीहरुको भिसा विद्यमान नियमनअनुसार हस्तान्तरण गरिनेछ र सम्बन्धित अध्यागमन कार्यालयबाटै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । अध्यागमन विभागको यो सूचनालाई नेपाल पर्यटन बोर्डले अद्यावधिक गर्दै पर्यटक आवागमन सहजीकरण भइरहेको उल्लेख गरेको छ ।

विमानस्थलबाट पर्यटकलाई होटलसम्म पु¥याउने र त्यहाँबाट विमानस्थल पु¥याउनका लागि सटल बसको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

पर्यटकलाई कुनै पनि समस्या परेका खण्डमा बोर्डले कर्मचारीलाई सम्पर्क नम्बरसहित २४सै घण्टा तैनाथ गरिएको पनि उल्लेख गरेको छ । जेनजीको प्रदर्शनका कारण यही भदौ २४ गते दिउँसो १४ः३० बजेदेखि बन्द विमानस्थल २५ गते बुधबार दिउँसो १४ः३० बजे खुलाइएको थियो । बुधबार साँझदेखि अन्तरराष्ट्रिय उडान सञ्चालन भयो भने आज बिहानैदेखि आन्तरिक उडान पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

मुलुकमा चाँडै शान्तिसुरक्षा कायम गर्न मानव अधिकार प्रतिष्ठानको माग

काठमाडौँ, २६ भदौः राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले लोकतन्त्र, मानव अधिकारको रक्षामार्फत मुलुकमा चाँडै शान्ति, सुरक्षा, अमनचयन, आपसी सद्भाव कायम राख्न माग गरेको छ । लोकतन्त्र र मानव अधिकारको सम्मान एवं सुनिश्चत गर्न राष्ट्रपति, आन्दोलनरत पक्ष, नेपाली सेना, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबै पक्षसमक्ष प्रतिष्ठानले जोडदार माग गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले आज जारी गर्नुभएको वक्तव्यमा जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू घाइते भएका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ ।

प्रदर्शनकारीहरुले मन्त्रालय, अदालत तथा सरकारी कार्यालयहरूमा रहेका अभिलेख, दस्तावेज र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएकाले यसमा संलग्नलाई पनि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

प्रहरी हिरासत र जेलमा रहेका हजारौ कैदीबन्दी जेल तोडेर हिँडेकाले सर्वसाधारणको शान्ति सुरक्षामा थप चुनौती देखिएको एवं देशका विभिन्न भागमा लुटपाटका घटना बढेकाले नागरिकहरू डर, त्रास एवं भयको अवस्थामा रहेकाले छिटो शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

आन्दोलनका क्रममा भएको नरसंहार, तोडफोड, आगजनी, लुटपाट, भौतिक आक्रमण र अन्य त्रासदिपूर्ण काम कारबाही नितान्त आपराधिक र जघन्य अपराध भएकाले यसलाई कुनै पनि बहानामा ढाकछोप नगर्न नहुनेमा प्रतिष्ठानले जोड दिएको छ । यी सबै घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँच आयोग गठन गरी प्राप्त सुझावका आधारमा सत्ताको दुरुपयोग गर्ने र विध्वङ्समा संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग पनि अध्यक्ष खरेलको छ ।

गान्धीविरुद्धको उजुरी अदालतको कानुनी अधिकारभन्दा बाहिरः अदालत

राउज एभिन्यू अदालतले बिहीबार काङ्ग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीविरुद्धको आपराधिक उजुरी खारेज गरिदिएको छ । अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट (एसिजेएम) वैभव चौरसियाले भन्नुभयो, “सूचनादाताले यस अदालतलाई क्षेत्राधिकार ग्रहण गर्न मनाउन खोजेको थियो जुन कानूनमा निहित छैन।”

उहाँले भन्नुभयो, “उजुरी सन् १९८० देखि मतदाता नामावलीको अप्रमाणित फोटोकपीहरूमा मात्र निर्भर थियो र ‘अपराधको आवरणमा नागरिक वा सामान्य विवादलाई प्रस्तुत गर्नु कानूनी प्रक्रियाको दुरुपयोग’ हो।”

आदेशमा भनिएको छ, “प्रमाण र दाबीलाई प्रमाणित गर्ने आवश्यक अतिरिक्त विवरणहरू बिना धोखाधडी वा जालसाजीको आधारबारे कानुनी रूपमा स्थायी आरोपको प्रतिस्थापन गर्न सकिँदैन ।”

क्षेत्राधिकारको सवालमा अदालतले नागरिकताको प्रश्न संविधानको धारा ११ र नागरिकता ऐन, १९५५ अन्तर्गत केन्द्र सरकारको अधिकार क्षेत्रभित्र पर्ने कुरामा जोड दिएको छ । त्यस्तै, मतदाता नामावलीमा नाम समावेश गर्ने वा हटाउने निर्णय गर्ने अधिकार जनप्रतिनिधित्व ऐन १९५० र १९५१ अन्तर्गत भारतीय निर्वाचन आयोगमा निहित छ।

उहाँले भन्नुभयो, “फौजदारी अदालतले यी मामिलाहरूको फैसला गर्ने कुनै पनि प्रयास संवैधानिक रूपमा आरक्षित क्षेत्रहरूमा ‘अनावश्यक उल्लङ्घन’ हुनेछ र भारतको संविधानको धारा ३२९ को उल्लङ्घन हुनेछ।”

आदेशमा भनिएको छ, “जब संविधानले चुनाव र नागरिकताको सम्बन्धमा भारतको निर्वाचन आयोग र केन्द्रीय सरकारको मात्र लोकतान्त्रिक कार्यको दायरालाई सीमित गर्दछ, तब सूचनाकर्ताले निजी उजुरीको माध्यमबाट यस क्षेत्रमा अतिक्रमण गर्न सक्दैन। प्रत्यक्ष रूपमा गर्न नसकिने कुरा अप्रत्यक्ष रूपमा पनि गर्न सकिँदैन।”

लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद : नेपाली सेना

काठमाडौँ, २६ भदौः जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार जना कैदीबन्दी तथा डोटी सिलगढीस्थित बालसुधार गृहबाट भागेका तीन जना बालबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धादिङको गजुरी कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको र त्यसक्रममा एक जना कैदी घाइते भएको पनि सेनाले जानकारी दिएको छ ।

सेनाले काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठ वटा सकेट बम सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।ललितपुरको भैँसेपाटीका स्थानीयले तोडफोडमा परेको त्यहाँको प्रहरी चौकी सरसफाई गरी प्रहरीलाई बस्नका लागि आमन्त्रण गरेको जानकारी दिइएको छ ।

संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

काठमाडौं, २६ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ ।

रास्वपाले आज तीन बुँदे तात्कालीन प्र्रस्ताव जारी गर्दै नेपालको संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता कसैसँग कहिल्यै सम्झौना नगर्ने स्पष्ट पारेको हाे ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालका नाममा जारी प्रस्तावमा राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिनुपर्नेमा जोड दिइएको छ ।