`

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ, चैत २१-आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ ।

केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले राससलाई जानकारी दिनुभयो ।

शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय र प्रेस अवलोकनका गर्नुभएको थियो । त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त भएको थियो ।

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ ।बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताउनुभयो ।

डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने पक्षमा रहेको जिकिर गर्नुभयो । “मलाई सामाजिक सञ्जालमा यो वा त्यो पक्षको भनेर प्रचार गरेको सुनेको छु, तर म पार्टीको कुनै समूहमा छैन । मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने हो, त्यसका लागि म अन्तिमसम्म प्रयास गर्छु”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले पार्टी नछोडी मत मात्रै फेरेको भन्दै आगामी दिनमा त्यो भोटलाई ‘सिफ्ट’ हुन नदिने गरी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण भएको उल्लेख गर्नुभयो ।

बिपी स्मृति अस्पतालका संस्थापक अध्यक्षसमेत रहनुभएका डा कोइरालाले बिपी कोइरालाको नाममा खोलिएको यस अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूले विशेष योगदान दिनसक्ने बताउनुभयो ।

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू

हेटौँडा। जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके, माया गरे… तर आज ऊ नौ वर्ष पुग्दा कसैले उसको हालखबर सोध्दैनन् । स्वथ्य र राम्रो छोरा पायौँ नि भनेर बधाई दिने आफन्त र छिमेकीहरू आज उनको घर आउँदा छोराले ‘चकचक’ गरेको मात्र सम्झिन्छन्, तर उसलाई समाजको सदस्यका रूपमा स्वीकार गर्न तयार छैनन् ।

हेटौँडाका आरम्भ थपलियाको यो पीडा एउटा परिवारको मात्र कथा होइन, समाजले बिर्सिएका धेरै अटिजम भएका बालबालिकाको प्रतिनिधि कथा हो । आरम्भ जन्मिँदा परिवारमा खुसी छाएको थियो । पहिलो सन्तान, त्यसमा पनि स्वस्थ र सुन्दर देखिने बालक–सबैका आशा र सपना उसमै जोडिएका थिए । तर समयसँगै अवस्था बदलिँदै गयो । ऊ ठूलो हुँदै जाँदा व्यवहारमा फरकपन देखिन थाल्यो–बोलाउँदा नफर्किने, आफ्नै दुनियाँमा हराउने, अरूसँग घुलमिल नगर्ने । “कतै लैजाँदा चकचक गर्छ भनेर लैजानै छाडियो, अनि आफन्तले पनि टाढा हुन थाले”, आरम्भकी आमा अस्मिता कालिका भन्नुहुन्छ ।

तीन दिदीहरूको सन्तान हुर्किएको देखिसक्नुभएकी अस्मितालाई बालकको विकासक्रमबारे सामान्य जानकारी थियो । त्यसैले आफ्नै सन्तानमा उमेरअनुसारको व्यवहार नदेखिँदा उहाँको मनले केही फरक महसुस गरिरहेको थियो । तर आत्माले त्यो सत्य स्वीकार्न मानेन । “कोही बच्चा ढिलो बोल्छन्”, भन्ने सोचले केही समय सान्त्वना दियो । तर जब १८ महिनासम्म पनि बच्चाले बोल्न सकेन, चाहेको कुरा व्यक्त गर्न सकेन र प्रतिक्रिया दिन गाह्रो भयो, त्यसपछि उहाँले चिकित्सकको सहयोग लिनुभयो । जाँचपछि आएको निष्कर्ष थियो, अटिजम । त्यो शब्दसँगै अस्मिताको संसार एकाएक भत्कियो ।

“स्वीकार गर्न पाँच वर्ष लाग्यो”, उहाँ सम्झनुहुन्छ, “पहिलो सन्तान, ठूला सपना… कसरी मान्ने ?” विवाहपछि सुखी परिवारको सपना देख्नुभएकी उहाँका लागि छोरा जन्मिनु जीवनको सबैभन्दा ठूलो खुसी थियो । तर दुई वर्ष नबित्दै त्यो खुसी चिन्ता र अन्योलमा बदलियो । काठमाडौँका अस्पतालदेखि विभिन्न विशेषज्ञसम्म धाउनुभयो ।

“म स्वीकार गर्न तयार थिइनँ, त्यसैले धेरै अस्पताल धाएँ”, उहाँले भन्नुभयो । तर जब सबै ठाउँबाट एउटै उत्तर आयो, उहाँ बाध्य भएर वास्तविकता स्वीकार गर्नुभयो । त्यसपछि उहाँको जीवनको दिशा नै बदलियो । उहाँले अटिजमबारे गहिरो अध्ययन गर्न थाल्नुभयो । किताब पढ्नुभयो, भिडियो हेर्नुभयो, तालिम लिनुभयो । आफ्नो बच्चालाई कसरी सहयोग गर्ने भन्ने सिक्दै जानुभयो ।

उसो त माइतमा तीन दिदीहरूको कान्छी बहिनी उहाँले दिदीहरूको छ जना सन्तान हुर्किएको देखिसक्नुभएकाले उमेरसँगै आउने परिवर्तनको बारेमा जानकार नै हुनुहुन्थ्यो । उहाँलाई आमाको नजरबाट यो स्वीकार्न भने असहज भएको थियो । उहाँको कठिन यात्रामा सबैभन्दा गाह्रो कुरा समाजसँग जुध्नु थियो । “जहाँ गए पनि बच्चाबारे प्रश्न आउँथ्यो, कसैले बुझ्न खोजेन”, उहाँ भन्नुहुन्छ, “त्यसैले भेटघाट गर्न मन लागेन ।”

कोरोना महामारीको समयमा उहाँ हेटौँडा फर्किनुभयो । त्यही बेला उहाँले आफूजस्तै पीडामा रहेका अन्य दुई आमासँग भेट गर्नुभयो । साझा पीडाले उनीहरूलाई जोड्यो । तीन जनाले आफ्नै घरको सानो कोठाबाट अटिजम भएका बालबालिकाका लागि कक्षा सुरु गर्नुभएको उहाँको भनाइ छ । सुरुमा स्रोतसाधन थिएन, तालिम सीमित थियो, तर मनमा दृढता थियो ।

त्यो सानो प्रयास आज ‘सेन्टर फर अटिजम मकवानपुर’ का रूपमा विकास भएको छ । यहाँ अहिले २४ जना बालबालिका नियमित रूपमा सिकिरहेका छन् । चार जना बालबालिका सुधार भएर सामान्य विद्यालयसम्म पुगिसकेका छन् ।

अस्मिताको सपना अब आफ्नै सन्तानमा सीमित छैन । “अटिजम रोग होइन, विशेष अवस्था हो । सही सहयोग पाए यी बच्चाहरूले पनि आफ्नो क्षमता देखाउन सक्छन्”, उहाँ भन्नुहुन्छ । उहाँले अहिले अटिजमसम्बन्धी थप अध्ययनसमेत गरिरहनुभएको छ, ताकि भविष्यमा अझ धेरै अभिभावकलाई सहयोग गर्न सकियोस् ।

यस्तै अनुभव हेटौँडाकी उमाकुमारी पौडेल र निस्ला श्रेष्ठको पनि छ । सुरुमा उनीहरूले पनि आफ्ना सन्तानको अवस्था स्वीकार गर्न सकेनन् । समाजको डर, जानकारीको अभाव र भविष्यको चिन्ताले उनीहरूलाई झन अन्योलमा पारेको थियो । तर तालिम र अध्ययनपछि उनीहरूले अटिजमलाई बुझ्न थाले ।

अटिजम भएका बालबालिकामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, बोलेर अभिव्यक्त गर्न नसक्ने, अरूसँग घुलमिल हुन गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । उनीहरूलाई विशेष हेरचाह, स्पिच थेरापी, अकुपेसनल थेरापी, व्यवहारिक तालिम र निरन्तर मनोसामाजिक सहयोग आवश्यक पर्छ । चिकित्सकका अनुसार ‘जिन’ मा हुने परिवर्तन, स्नायु प्रणालीको विकासमा समस्या, गर्भावस्थामा हुने केही असर वा जन्मका बेला हुने जटिलताले अटिजम देखिन सक्छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा चार हजार ८८६ जनामा अटिजम देखिएको छ । बागमती प्रदेशमा मात्र एक हजार २५३ जना छन् । पछिल्लो तथ्याङ्कअनुसार हरेक ३६ जना बच्चामध्ये एक जनामा अटिजम देखिन थालेको छ ।

तर तथ्याङ्कभन्दा ठूलो समस्या समाजको दृष्टिकोण हो । अटिजम भएका बालबालिका बाहिरबाट सामान्य देखिने भएकाले उनीहरूको पीडा देखिँदैन । फलतः उनीहरूलाई बेवास्ता गरिन्छ, परिवारलाई एक्लो बनाइन्छ । अस्मिता भन्नुहुन्छ, “यदि समाजले स्वीकार गरिदियो भने हाम्रो आधा पीडा त्यतिकै कम हुन्छ ।”

आज आरम्भजस्ता धेरै बालबालिका समाजको भीडमै हराइरहेका छन् । न उनीहरूको आवाज सुनिन्छ, न उनीहरूको सपना देखिन्छ । तर ती बच्चाहरू पनि सपना बोकेका छन् । माया पाउने, बुझिने र स्वीकार गरिने । अटिजम भएका बालबालिका बिर्सिने होइनन्, बुझ्ने हुन् ।

उनीहरू फरक छन्, तर कमजोर होइनन् । यदि हामीले उनीहरूलाई स्वीकार गर्न सिक्यौँ भने आज बिर्सिएका ती बच्चाहरू भोलि समाजका उज्याला तारा बन्न सक्छन् ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ ।

पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो ।

सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता कार्य गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताउनुभयो ।

उहाँका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका तयार गरिएको छ ।

“घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ”, जनस्वास्थ्य निरीक्षक सार्कीले भन्नुभयो, “पोषण सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ ।”

घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू खुसी भएका छन् । वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताउनुभयो । “उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिए, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु”, उहाँले भन्नुभयो, “हामी शारीरिक रूपमा कमजोर, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ । हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ । घरमै सेवा पाउँदा सहज हुन्छ ।”

अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी हुनुहुन्छ । उहाँले नियमित क्षयरोगको औषधि खाइरहनुभएको छ । घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको पुनसरामले बताउनुभयो ।

स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताउनुभयो । “दीर्घरोगीलाई नियमित जाँच, औषधि र परामर्श चाहिन्छ”, उहाँले भन्नुभयो, “घरमै गएर सेवा दिँदा उनीहरूको स्याहारमा पारिवारिक सहयोग वृद्धि हुन्छ ।

हामीले सरसफाइ र हेरचाह गर्ने तरिकाबारे पनि परामर्श दिने गरेका छौँ ।” घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ ।

उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्क साम्पाङको दाबी

काठमाडौं – उपसभामुख पदमा हर्क साम्पाङले दाबी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो पार्टीबाट उपसभामुख पदका लागि महिला उम्मेदवार खडा गर्न

लागेको बताएका छन् । उनले लेखेका छन् -‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ। व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा रु चार करोड १६ लाख नौ हजार चार सय ९४ खर्च भएको छ ।

नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार ८१ को लागतमा जग्गा विकास आयोजनाको काम सुरु गरेको हो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा ‘रिटेनिङ वाल’ निर्माणका लागि रु ५९ लाख ९० हजार सात सय ८१ मा ठेक्का लागेको थियो ।

उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।

हालसम्म ‘रिटेनिङ स्ट्रक्चर’लगायत मुख्य ढल निकास र सहायक ढल निकासको अधिकांश निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माण कार्य भइरहेको छ । यस्तै मुख्य ढल निकास नालीको तीन स्थानमा ‘क्रस ड्रेन स्ट्रक्चर’को निर्माणको कार्य सकिएको उहाँले बताउनुभयो । यस्तै स्ट्रक्चरल वाल निर्माण कार्य सम्पन्न भई कार्यालय भवन निर्माण ‘फिनिसिङ’ कार्य अन्तिम चरणमा पुगेको लम्सालले बताउनुभयो ।

यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारण लाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।

नगरपालिकाले आयोजना निर्माणका लागि विसं २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।

जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका तीन सय ४७ कित्ता समावेश गरिएको छ ।

प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपुर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात् पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ ।

व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । आयोजना सञ्चालनका लागि पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटरभित्रबाट सुरु फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ता समावेश छन् ।

पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरू आयोजनामा समावेश गरिएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरू छन् भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे सङ्ग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ता समावेश रहेको नगरपालिकाले जनाएको छ ।

वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार ५३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोसेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।

एमाले सचिवालय बैठक, यस्ता छन् छ वटा निर्णय

काठमाडौं। नेकपा एमालेले नेपाली सेना,कर्मचारी र कूटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत् सम्बन्ध रहेको स्पष्ट पारेको छ ।पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिमा गम्भीर छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समीक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ । विद्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रसारण गर्न रोक लगाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि

काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभवहरू साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरूबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारको लागि थप राय सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बनाए । भूपू सैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पुर्‍याएकाे सेवा र समर्पणको यथोचित सम्मान पनि हो ।

भूपू सैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नुका साथै भूपू सैनिक तथा एकल महिलाहरू र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्त्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपू सैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपू सेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नुका साथै भूपू सैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तक्र्रिया तथा छलफल गर्न कोसेढुङ्गा सावित भएको छ ।

यस वर्ष योजना गरिएको भूपू सैनिक सम्मेलनमा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने अनुमानसहित चैत महिनाको तेस्रो र चौथो तथा वैशाख महिनाको पहिलो हप्ता गरी चार चरणमा भूपू सञ्चालन गर्न लागिएको छ ।

यसवर्ष मध्यपश्चिम पृतनाअन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरुकुम, पश्चिम रुकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासी पूर्व तथा पश्चिम पृतनाअन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतना अन्तरगत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी कूल ३४ जिल्लामा यही चैत २२ देखि आगामी वैशाख ४ गतेसम्म आयोजना हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपू सैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ । यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा समेत वृद्धि भएको पाइन्छ । स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, राय सुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिनसमेत यस प्रकारका कार्यक्रम फलदायी हुनुका साथै कल्याणकारी सेवा सुविधालाई अझै परिमार्जित र परिस्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ ।

आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात तथा सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राती देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात तथा बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो बन्छ : गणेश पराजुली

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकासको लागि निर्यात व्यवसायलाई बढाउन जरुरी रहेको बताएका हुन् ।

“पुरानो नेताको अनुभव र नयाँको ज्ञानलाई प्रयोग गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकार लागेको छ, कसैलाई गाली गरेर होइन, योगदान गरेर मुलुकको विकास गर्नुपर्छ,” उनले भने । मुलुकको आर्थिक उन्नतिका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य पराजुलीले मुलुकमा सुशासन र आर्थिक विकासका लागि रास्वपाले १०० बुँदे बाचापत्र तयार गरेको बताउँदै यसलाई पुरा गर्न वर्तमान सरकार लाग्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नु निजी क्षेत्रका लागि खुसीको कुरा भएको बताए ।उनले रोजगारीका लागि विदेश जाने जनशक्तिलाई रोक्न र देशमै रोजगारी प्रदान गर्न वर्तमान सरकार लाग्नुपर्ने बताए । उनले व्यवसायीको लागि सहज वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष गोकुल भण्डारीले आयतमुखी अर्थतन्त्र भएको देशलाई निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनलाई ध्यान दिनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ, महासङ्घका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहलगायतले सरकारले निर्यात क्षेत्रलाई सहजीकरण गरे मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको थियो ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले निर्यात क्षेत्रलाई सहजीकरण गर्नका लागि अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र स्थापना, विदेशमा हुने मेलाको बजेट व्यवस्थापन, नेपालमा उत्पादित सामान परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला, तालिम केन्द्र, अनलाइनमार्फत नगद अनुदानलगायतका सेवामा सहजीकरण गर्न सरकारलाई आग्रह गरे ।कार्यक्रममा निर्यात गतिविधिलाई समेटेर तयार गरिएको निर्यात स्मारिका’को विमोचन गरिएको थियो ।

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ ।बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए ।

वि।स। २०८१ वैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि दुई वटै पुल बनाउन विसं २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो ।

पर्वतको लामढुङ्गा देखि चीनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ बेलिब्रिज निर्माण भएको छ ।

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हँुदाएक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्युभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ ।राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ।

प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित

पेरिस। मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ ।इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ ।

मार्च १ देखि अप्रिल ३ को बिहानसम्म २२१ जहाजहरू इरान प्रवेश गर्न वा छोड्न हर्मुज जलमार्ग पार गरेका ‘ग्लोबल सामुद्रिक एनालिटिक्स फर्म केप्लर’ ले जनाएको छ ।
केहीले यसलाई धेरै पटक पार गरेका कारण जलमार्गको प्रयोग गर्ने जहाजको सङ्ख्या कुल २४० भन्दा बढी पुगेको छ ।

हर्मुजमा आवागमन भएका १० मध्ये छ वटा जहाज इरानबाट आउने वा जाने जहाजहरू रहेका थिए, कार्गो ढुवानी गर्ने जहाजहरूको जुन हिस्सा ६४ प्रतिशतसम्म पुग्छ ।संयुक्त अरब इमिरेट्स (युएई) २० प्रतिशत, चीन १५ प्रतिशत, भारत १४ प्रतिशत, साउदी अरब आठ प्रतिशत, ओमान आठ प्रतिशत, ब्राजिल छ प्रतिशत र इराक पाँच प्रतिशत रहेका छन् भने विश्व अर्थतन्त्रमा उल्लेख्य भूमिका रहने मुख्य गन्तव्य र देश देशहरू यस तथ्याङ्कबाट धेरै पछाडि छन्।

यो अवघिमा कार्गो बोक्ने ११८ जहाजहरूमध्ये ३७ ले कुल ८.४५ मिलियन टन कच्चा तेल ओसारपसार गरेका थिए ।३७ वटा तेल ट्यांकरमध्ये ३० वटा इरानबाट आएका थिए भने सबै खाडी छोड्दै थिए । धेरै जसोले यात्रा गरिरहेको गन्तव्य बताउन चाहेका थिएनन् ।

आफ्नो गन्तव्य रिपोर्ट गरेका र इरानी तेल बोकेका केही जहाजहरूमध्ये एउटा अपवाद बाहेक सबै चीनतर्फ जाँदै थिए।कार्गो लिएर स्ट्रेट पार गरेका अन्य सात तेल ट्याङ्करहरू साउदी अरबबाट छुटेका थिए र उनीहरूमध्ये एक हङकङको ध्वजाबाहक जहाज न्यू भिजन मार्च १ मा छुटेको थियो र शनिबार फ्रान्सको बन्दरगाह ले हाब्रे आइपुग्ने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ ।अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ। यद्यपि राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो जुन बाध्यकारी आदेश नभई यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्नेछ।

प्रस्तावमा लेखिएको छ, “सन् २०२६ को बजेटले यो बर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो । नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ।”प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो।”

प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त

काठमाडौं -प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त भएकी छिन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्तभएकी हुन् ।

खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछिन् ।

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा। भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी हुनुहुन्छ ।

सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताउनुभयो । यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौँ। सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गरेको कामको पहिलो चरणको प्रगति विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले शासकीय सुधारको बुँदा नं ८५ मा रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कामको पहिलो चरणको प्रगति विवरण आज सार्वजनिक गरिएको बताउनुभयो ।

“शासकीय सुधारका काम द्रुतगतिमा भइरहेको छ । हामीले अस्पताल, सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ । विभिन्न अस्पतालका सुधारका कार्ययोजना पनि बनाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले शासकीय सुधारअन्तर्गत ३२ वटा अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार प्रदान गरिएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको बताउनुभयो ।

त्यसैगरी वीर अस्पताल, शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायतका अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयका सूचना अधिकारी केसीले बताउनुभयो । मन्त्रालयले अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

जलन शय्या सञ्चालन

सुधारअन्तर्गत मन्त्रालयले सुदूरपश्चिम प्रदेशको टीकापुर अस्पताल, महाकाली प्रादेशिक र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन शय्या स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको उहाँले जानकारी दिनुभयो । साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध जलन उपचार सेवा पुनः सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

हवाई एम्बुलेन्स

मन्त्रालयले सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।शासकीय सुधारअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा समन्वय गरिएको सूचना अधिकारी केसीले बताउनुभयो ।

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर। आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका-३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका-८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-२ घरभई हाल सूर्यविनायक नगरपालिका-५ बस्दै आएका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै निजलाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रनाउ जवेगुले जानकारी दिनुभयो ।

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

खोटाङ। खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ ।

श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले राईले आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आमनागरिकको डरत्रासमुक्त भएर बाँच पाउने अधिकार सुनिश्चित गरिदन आग्रह गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

गृहमन्त्री गुरुङको कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडाँरेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीलाई स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापनाका लागि तत्काल पहल गरिदिन माग गरिएको सांसद राईले जानकारी दिनुभयो ।

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने नेपाल सरकारको निर्णयसमेत रोक्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । चिसापानीमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

नागरिकलाई सबैभन्दा पहिले शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइएको सदस्य राईले बताउनुभयो । “नागरिकले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्र अन्य विषयको अपेक्षा गरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले सुरक्षासँग सम्बन्धित समस्या समाधान गरिदिन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छु । उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ”, उहाँले भन्नुभयो, “अब अरु विषयगत मन्त्रालय पुगेर जिल्लाका सबै समस्या राख्नेछु । पार्टीको नीतिअनुसार ज्ञापनपत्र बुझाउन सुरु गरेको छु । बाँकी मन्त्रालयमा चाँडै ज्ञापनपत्र बुझाउनेछु ।”

प्रधानमन्त्री वालेन्द्र शाहले यही चैत १६ गते सांसदहरूसँग राख्नुभएको छलफलमा श्रम संस्कृति पार्टीका कोही पनि सांसद सहभागी भएका थिएनन् । हर्कराज राई ‘हर्क साम्पाङ’ले नेतृत्व गर्नुभएको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी सात जना सदस्य निर्वाचित भएका छन् ।

पार्टीको नीतिअनुसार प्रधानमन्त्रीले बोलाउनुभएको सांसदको भेलामा आफूहरू नगएको महासचिव राईले जानकारी दिनुभयो । “पार्टीको नीतिअनुसार छुट्टाछुट्टै मन्त्रालय पुगेर ज्ञापनपत्रमार्फत जिल्लाको समस्या राख्छौँ । अरु सांसदले पनि मन्त्रालय पुगेरै आ–आफ्नो जिल्लाका समस्या राख्नेछन्”, उहाँले भन्नुभयो, “यो प्रक्रिया प्रभावकारी हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ । हामी जनताका समस्या समाधानका लागि गम्भीर भएर निरन्तर लागिरहन्छौँ ।”

इलाका प्रहरी कार्यालय बाक्सिला बजार तथा अस्थायी प्रहरी चौकीहरू छितापोखरी र भँडारेघाट जीर्ण भवनमा सञ्चालन हुँदै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, चारवटा इलाका प्रहरी कार्यालय (क), दुईवटा इलाका प्रहरी कार्यालय (ख), १९ वटा स्थायी प्रहरीचौकी र १० वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् ।

सबै नागरिकले सुरक्षित महसुस गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आमनागरिकले सुरक्षित महसुस गर्नुपर्ने बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा आयोजित मानवअधिकारसम्बन्धी एक कार्यक्रममा उहाँले राज्य भनेको अभिभावक भएकाले हरेक नागरिकले सुरक्षाको प्रत्याभूत गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “म मुख्यमन्त्री भएकाले राज्यले दिएको सुरक्षा घेराभित्र छु तर आमनागरिकहरू ढुक्कसँग बाँच्नुपर्ने छ । राज्यले यसतर्फ ध्यान दिनुपर्दछ ।”

आन्दोलनमा आन्दोलनरत पक्ष वा राज्य पक्ष होस दुवैले होस गुमाउन नहुने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कहिले पनि हस्तक्षेप नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जब शान्तिपूर्ण आन्दोलनका नाममा जथाभावी हुन थाल्छ अनि प्रहरीले शान्ति सुरक्षा कायम गराउन आफ्नो कर्तव्य पूरा गर्दै आएको छ ।”

प्रहरी पनि मानिस नै भएकाले जे पायो त्यही गरेर दबाब दिन नहुनेतर्फ उहाँले सचेत गराउनुभयो ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् नीतिमाथि आन्तरिक छलफल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गर्नुभएको छ ।

छलफलमा उहाँले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवं संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

आज भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य, तथ्याङ्कसमेत स्पष्ट हुनेगरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले नीतिको मस्यौदामाथि सरोकारवालासँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।

गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा समिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’, ‘कार्बन ट्रेड’जस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

उहाँले आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतीको सामना गर्न तयार हुनेगरी ल्याउनुपर्ने बताउनुभयो ।

नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा

लुम्बिनी। रुपन्देही प्रहरीले भैरहवास्थित नापी कार्यालयमा काम गराइदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल्ने दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।

जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीस्थित नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम छिटो गराइदिन्छु भनी बढी शुल्क लिई बिचौलियाको काम गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका बिचौलिया व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका उहाँले जानकारी दिनुभयो ।

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ। वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ ।

तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन बोर्डसँ आबद्ध सङ्घसंस्थाले देहायको मापदण्डअनुसार प्रचारप्रसार सामग्री कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।”

वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।

थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली,माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।

“बेलुका ८ः०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ”, कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल भन्नुभयो, “सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।” उहाँले यसअघि रातिको समयमा किशोरी र महिलाले दुव्र्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको डङ्गोलले जानकारी दिनुभयो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो ।

सेवा प्रारम्भ गर्दा साँझ ८ः०० बजेदेखि राति ११ः०० बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।

बाँकेको डाँडाटेपरीमा हाइसको ठक्करबाट पाँच वर्षीय  बालकको मृत्यु

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो ।भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।

यसैबीच, यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको भन्ने गुनासो आएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी

जेरूसेलम। इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बताउनुभएको छ।

स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो ।

“हाम्रा अमेरिकी मित्रहरूसँग मिलेर हामी इरानमा ‘आतङ्कवादी शासन’लाई दबाउने क्रमलाई जारी राख्छौँ। हामी कमान्डरहरूलाई निशाना बनाउँदैछौँ । पुलहरूमा बमबारी गर्दैछौँ, पूर्वाधारहरूमा बमबारी गर्दैछौँ,” नेतन्याहूले एक भिडियो वक्तव्यमा भन्नुभएको छ।

उहाँले भन्नुभयो, “हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ ।”

“रिभोलुसनरी गाड्र्सलाई वित्तीय स्रोत र धेरै हतियार उत्पादन गर्ने क्षमताबाट वञ्चित गर्न यो एक ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो ।

इरानका दुई ठूला स्टिल प्लान्टहरू अमेरिका र इजरायली हवाई आक्रमणका कारण कारवाहीमा परेका छैनन्।

इरानको खुजेस्तान स्टिल कम्पनी र मोबाराकेह स्टिल कम्पनीले प्लान्टको पुनर्संरचना गर्न महिनौँ लाग्ने उहाँको दावी थियो ।

रिभोलुसनरी गाड्र्सले स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा यस क्षेत्र र इजरायलका औद्योगिक क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ।

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी। महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन् ।चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा आज फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले बताउनुभयो ।

भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ ।

महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उहाँको शव फेलापारेको जनाएको छ ।

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अवरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अवरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ ।

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग । विशेषगरी यस राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको विभिन्न क्षेत्रस्थित सडकखण्डमा यस र अघिल्लो वर्षको असोजका बाढीपहिरोले ‘थिलथिलो’ नै बनाएको छ । यस राजमार्गको मध्यक्षेत्र अर्थात काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत् तथा बगाएपछि यात्रा जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । उक्त राजमार्गको सडक–सम्पर्क बिच्छेदसमेत भएको हो ।

वर्षायाममा केही भागमा क्षति पु¥याएपनि दुई वटाका असोजका अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको थियो । यसवर्ष पनि गत असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसा नै मेटिनेगरी, पैदलसमेत हिँड्न नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदिएको थियो । गत साल असोजमा क्षत्विक्षत् राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिएपनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बन्नुपर्‍यो ।

डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार करिब चार किलोमिटर सडक नै बगाएको छ । यसका कारण खोलाबाटै डाइभर्सन बनाएर सवारी सञ्चालनमा ल्याउनुपर्‍यो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोडेको छ । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिनपछि गत असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको हो । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल राजमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढीपहिरोले थप क्षतिग्रस्त बनाएको हो ।

राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ । यस्तै गत सालको वर्षाले काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्‍याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।

गत साल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएका थिए । गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्र्याक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो । त्यसलाई पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । यसैबीच पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रुपमा पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको हो ।

राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।

विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए । क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट पर्खाल लगाउन तथा चारसयबेँशी र भकुण्डेबेँशीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताए । उनका अनुसार गतवर्ष र यसवर्षको बाढीले सडक पूर्ण क्षति भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्ने लगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गरी कामलाई तीव्रता दिइने योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो ।

अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,” योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना पनि बनाइएको छ ।

डालाबेँशीदेखि चारसयबेँशीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनाएको छ । यस्तै चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११ दशमलव ८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । विस्तृत अनुगमन निरीक्षण गरी पुनः अस्थायी बनाउने काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीको भनाइ छ ।

गत असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । इन्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत उक्त सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमार्गको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेँशी, घुमाउनेलगायतका स्थानमा निकै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गरिने अधिकारीको भनाइ छ ।

कार्यालयका अनुसार हाल एक सय १० किलोमिटर सडकमा यातायात पुनः सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ । कार्यालयले गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेलाको बाढीपहिरोले आठ किलोमिटर सडक पूरै बगाएको थियो ।

यस्तै क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे हुने र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । राजमार्गमा जोखिमका कारण पटकपटक विशेषगरी राति सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ । दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत भने तेब्बर सवारी साधन ओहोरदोहोर नै गर्छन् ।

त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आएका छन् । बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी बालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि नियम कार्यान्वयन गर्ने निकाय भने प्रायः मुकदर्शक नै बन्ने गरेको पाइन्छ । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रूपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । बेलाबखत प्रहरीले चेकिङ गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन ।पर्साको वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३÷८४ को पूर्व–बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो धारणा राखेका हुन ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको दाबी समेत गरेका छन ।

‘विगतका सरकारहरूलाई जस्तो यो सरकारलाई अहिले छुट छैन,’ उनले भने, ‘किनकी यो सरकारले जुन अभूतपूर्व जनादेश पाएको छ, त्यो सुधार र सुशासनका लागि नै हो ।’पर्सा र बाराका उद्योगी व्यवसायीहरूको गुनासो र सुझाव सुनेपछि मन्त्री वाग्लेले आर्थिक रूपान्तरणकै लागि जनताले रास्वपालाई मत दिएकाले सोही एजेण्डामा काम सुरु भइसकेको स्पष्ट पारे ।
उनले आगामी बजेट आर्थिक रूपान्तरणको मूल ध्येयमा केन्द्रित हुने बताउँदै भने, ‘नीति सही र नियत सफा भए धेरै काम गर्न सकिन्छ । हाम्रो नीति र नियत दुवै स्पष्ट छ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले समेत जनतालाई सास्ती नभई प्रत्यक्ष राहत दिने गरी काम गर्न निर्देशन दिइसकेकाले सरकार सोही दिशामा दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, राजस्व कार्यालयका प्रमुखहरूका साथै बारा र पर्साका उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांक स्पष्ट हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गरेका छन् ।छलफलमा उनले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवम् संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिए ।

शुक्रबार भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांकसमेत स्पष्ट हुने गरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिए।उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए। गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्वन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
उनले भविष्यमा आइपर्ने ऊर्जा क्षेत्रका चुनौतीलाई अहिलेदेखि नै सोच्नुपर्ने बताए ।उनले आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतिको सामना गर्न तयार हुने गरी ल्याउनुपर्ने बताए ।

विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकासमेत महत्वपूर्ण रहेकाले निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिफलको सुनिश्चितता गर्नेतर्फ पनि विद्युत् नीतिले ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।

मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन गरेका छन् । अवलोकन गर्दै ती निकायको कार्यसम्पादनबारे जानकारी लिएका छन् ।

पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउन आवश्यक व्यवस्था गर्न निर्देशन दिनुका साथै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा पढाइ सुरु नहुनुमा देखिएका कानुनी अड्चन फुकाउन आवश्यक समन्वय गर्न निर्देशन दिए ।

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए ।
उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।

डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए ।उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए ।अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

तनहुँ। डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृहको निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।

यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ ।

कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

जुम्ला। कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दशवटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ ।कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का अन्त्य गरिएको सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको जिम्ला सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिनुभयो ।

कार्यालयले कर्णाली राजमार्गअन्तर्गतका कालीकोट जिल्लाको दहीखोला मान्म–नाग्म जुम्ला खण्डमा शाखा सडकमा सडक सुरक्षा कार्यहरू व्यवस्थापन र जुम्लाको कुडारीदेखि कालीकोटसम्म सडकको कल्भर्ट निर्माण र संरक्षण कार्यहरूसहित विशिष्ट मर्मतकार्य गर्नका लागि आव २०७८/७९ धुर्वा निर्माण सेवा सुर्खेतसँग सम्झौता भई उल्लेखित मितिमा निर्माण सम्पन्न गर्नुपर्नेमा सो हुन नसकी पटकपटक म्याद थप गरिएको र थपिएको म्याद पनि समाप्त भइसकेकाले ठेक्का तोडिएको सूचना अधिकारी सिंहको भनाइ छ ।

त्यसैगरी, कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतको कालीकोटको बालीघाट नजिकै विशेष मर्मतकार्य र खुल्लालेदेखि घोडेङ्गासम्म आवधिक मर्मतसम्भार कार्य आव २०७९/८० मा कृष्ण निर्माण सेवासँग सम्झौता भए पनि तोकिएको समयमै निर्माण कम्पनीले काम गर्ने नसकेकाले ठेक्का तोकिएको छ ।

आव २०७९/८० मा अविनास निर्माण सेवासँग नाग्म–गमगडी सडकखण्डको मुगुको ताल्चादेखि रारासम्म सडकको विशिष्ट मर्मतकार्यको सम्झौता भएको थियो । सडक सुधारको काम तुमदेखि लामाचौर सडक राराको प्रतक्की मार्ग च्यनाथ रारा संरचना फराकिलो र फुटपाथको काम विनाम्रा निर्माण सेवा सुर्खेतसँग आव २०८०/८१ मा भएको सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरैपटक भन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको सडक भिडिजन कार्यालय सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

यसअघि कर्णाली राजमार्गका चारवटा रुग्ण अवस्थामा रहेका ठेक्का सडक डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडकखण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक गरी चारवटा ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताउनुभयो ।

निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटकपटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले ठेक्का सम्भौताका शर्तहरूबमोजिम आफ्नो करारीय दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसअघि पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आपत्ति

काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।संस्थाका अध्यक्ष चन्द्रमणी गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त निर्णयप्रति गम्भीर असहमति जनाउँदै यसलाई लोकतान्त्रिक मूल्य र नागरिकको सुसूचित हुने मौलिक अधिकारमाथिको सीधा प्रहार भएको ठहर गरिएको छ।

विज्ञप्तिमा खुला र प्रतिस्पर्धी सूचना प्रणालीलाई “सिन्डिकेट”मा रूपान्तरण गर्ने प्रयास भएको आरोप लगाउँदै यस्तो कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई कमजोर बनाउने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने चेतावनी दिइएको छ। “लोकतन्त्रमा यस्तो निर्णय किमार्थ स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ।

संस्थाका अनुसार स्थानीय सरकारसँग सहकार्य गर्दै सुशासन, आर्थिक पारदर्शिता र ढिलासुस्तीविरुद्ध खबरदारी गर्दै आएका सञ्चारमाध्यमहरूको भूमिकामा पनि यस निर्णयले नकारात्मक असर पार्नेछ।

संस्थाले सरकारसमक्ष चार बुँदे माग राख्दै सरोकारवाला निकायहरूसँग तत्काल व्यापक छलफल गरी निर्णय पुनर्विचार गर्न, निजी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई असर पर्ने नीतिहरू खारेज गर्न, संविधान तथा संघीय संरचनासँग बाझिने निर्णय सच्याउन र सार्वजनिक सूचनाको पारदर्शी तथा समान वितरण सुनिश्चित गर्न आग्रह गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २० र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु १२०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४२५, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २८०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ९०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ४२, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ ।

आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना निकै उच्च छ । काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।