ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् नीतिमाथि आन्तरिक छलफल
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गर्नुभएको छ ।
छलफलमा उहाँले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवं संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
आज भएको उक्त छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य, तथ्याङ्कसमेत स्पष्ट हुनेगरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले नीतिको मस्यौदामाथि सरोकारवालासँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा समिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’, ‘कार्बन ट्रेड’जस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
उहाँले आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतीको सामना गर्न तयार हुनेगरी ल्याउनुपर्ने बताउनुभयो ।
