बाँकेको डाँडाटेपरीमा हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो ।भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।
यसैबीच, यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको भन्ने गुनासो आएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
