`

इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले आइतबार जनाएको छ।

नेटब्लक्सले ट्वीटमा भनेको छ, “इरानको इन्टरनेट अवरोध कुनै पनि देशमा अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो ।

यो लगातार ८६४ घण्टा अर्थात् ३७ औं दिनसम्म पनि खुलेको छैन ।” अर्को ट्वीटमा नेटब्लक्सले उल्लेख गरेको छ, “केही देशहरूले लामो समयसम्म बिच–बिचमा वा क्षेत्रीय–स्तरमा इन्टरनेटको अवरोधको अनुभव गरेका थिए भने उत्तर कोरियामा अहिले पनि विश्वव्यापी इन्टरनेट सञ्जालमा जडान गरिएको छैन ।

“हामी केवल भरपर्दो समाचार सुन्न सक्षम हुन निरन्तर सम्पर्कको उपायको खोजीमा छौँ,” मध्य शहर इस्फाहानकी एक ४७ वर्षीया महिलाले शनिबार एएफपीसँग इन्टरनेट अवरोधबारे चिन्ता व्यक्त गर्नुभयो ।

“इन्टरनेट बिना हुनु मलाई अक्सिजन बिना हुनु जस्तो लाग्छ। म फसेको र निसास्सिएको महसुस गरिरहेको छु,” तेहरानका एक ५३ वर्षीय स्थानीयले बताउनुभयो ।

इरानको अत्यन्त प्रतिबन्धित स्थानीय इन्टरनेटले युद्धभरि काम गरिरहेको छ, जसले मानिसहरूलाई घरेलु वेबसाइटहरूमा जोडिन सम्भव बनाएको छ।

समाचारका लागि अन्तर्राष्ट्रिय इन्टरनेटमा जडान गर्न वा इन्स्टाग्राम जस्ता प्रतिबन्धित सामाजिक मिडिया नेटवर्कहरू, केहीले नेटवर्क उपलब्ध हुँदा दुर्लभ क्षणहरूमा आफ्नो उत्पत्ति लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गरिरहेका छन्।

युद्ध सुरु भएदेखि नै भिपिएन प्रयोग गरेको आशङ्कामा इरानीहरूले उनीहरूलाई पक्राउ गर्ने वा जेल हाल्ने चेतावनी दिने सूचना र सन्देशहरू प्राप्त गर्ने गरेका छन्। धेरै सीमित सङ्ख्या वा व्यक्तिहरूसँग स्टारलिङ्क वा अन्य उपग्रह–आधारित इन्टरनेट प्रदायकहरूमा पहुँच छ ।

इरानमा यो नेटवर्क पनि प्रतिबन्धित छ । यसअघि जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा हजारौँको ज्यान जाने क्रममा इरानीहरूले १८ दिने इन्टरनेट अवरोधको सामना गरेका थिए ।

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ। बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ ।

आज स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथलाई तीन दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।

त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देशन दिएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ ।

स्थानीय सरोकारवाला उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यका साथ अनुमगन गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन उच्चस्तरीय समिति गठन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गर्नुभएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो ।

समितिलाई आगामी १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्ने, बिरामीको उपचार इतिहास, ‘रिफरल’, पुनःसेवा र ‘क्लिनिकल फलोअप’ व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने, अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने, स्पष्ट ‘रिफर प्रोटोकल’लगायतका प्रणाली लागू गर्न समितिलाई कार्यदेश दिएको छ ।

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्न, अस्पताल फार्मेसीमा औषधिको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउन कार्यदेश दिएको जनाइएको छ ।

मन्त्रालयका सूचना अधिकारी केसीले १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको बताउनुभयो ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ ।

आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ

भियना। हालैका आक्रमणहरूमा क्षति भएका ऊर्जा सुविधाहरूको मर्मत गर्नु ‘विशाल धनराशी खर्च हुने र लामो समय लाग्ने पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतवार चेतावनी दिएको छ ।

यसले गर्दा भविष्यमा विश्वव्यापी तेल आपूर्तिमा असर पार्न सक्छ। “ओपेक प्लसले ऊर्जाको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको विशेष महत्त्व रहेको पनि सङ्गठनले बताएको छ ।र्वाधारमा इरानको आक्रमण र स्ट्रेट अफ होर्मुजमा ट्याङ्करहरूको बिरूद्ध धम्कीले खाडी क्षेत्रबाट निर्यातलाई नराम्ररी प्रतिबन्धित गरेको छ।

प्रमुख तेल उत्पादकहरू साउदी अरब र रुस सम्मिलित सङ्गठन ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानमा अमेरिका–इजरायल युद्धको बीचमा विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको प्रतिक्रियामा के उत्पादन क्षमता परिवर्तन हुन सक्छ भन्ने बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।इरानमा अमेरिका(इजरायलको संयुक्त आक्रमणबाट तनावग्रस्त मध्यपूर्वका कारण विश्व बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय

काठमाडौँ। सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारीे गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२, कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

मन्त्रालयले अवैध रूपमा असुलिएको भर्ना शुल्क अभिभावकलाई तत्काल फिर्ता गराउने कानुनी प्रक्रिया अघि बढाउनसमेत स्थानीय तहलाई निर्देशन दिएको छ ।

“सबै विद्यालयबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदेशअनुसार नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्क सङ्कलन नगर्ने व्यवस्था मिलाउन तथा कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावकहरूबाट कानुनविपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराउने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरिन्छ”, मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । सर्वोच्च अदालतले दुई दिनअघि शैक्षिक सुरु हुनुअघि शुल्क नउठाउन आदेश दिएको थियो ।

स्तन क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’

काठमाडौं । जीवनको सबैभन्दा कठिन मोडमा उभिएकी छन् ज्ञानी शाही । बर्दिया राजापुर घर भएकी शाही तीन वर्षदेखि स्तन क्यान्सर भएर संघर्ष गरिरहेकी उनी हरेक दिन पीडा, आशा र निराशाको बीचमा आफ्नो अस्तित्व बचाउन लडिरहेकी छन् ।

एक दिन अचानक थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो क्षण उनका लागि सामान्य खबर थिएन, जीवन नै भत्किएको अनुभूति थियो । ‘आकाशबाट खसेजस्तो भयो,’ उनी भन्छिन्, ‘त्यो बेला लाग्थ्यो म नै छैन, मेरो जीवन नै समाप्त भयो ।’

त्यसपछि सुरु भयो निरन्तर उपचारको यात्रा अस्पताल, औषधि, पीडा र खर्चको अन्तहीन चक्र । सुरुवातमा आफैंले जति सकिन्छ त्यति गर्दै आइन् । तर समयसँगै खर्च बढ्दै गयो, र अहिले अवस्था यस्तो आइपुगेको छ कि उपचारलाई निरन्तरता दिन पनि असम्भवजस्तै भएको छ ।

उनले भनिन्, ‘यस्तो भएको तीन साल भइसक्यो । एक्कासी थाहा भएको हो स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो अवस्था सम्झिँदा साध्य नै छैन । उपचार त भइरहेको छ । अहिलेसम्म त खर्च आफैंले जुटाएको हो । अब खर्च धान्न नि सकिरहेको अवस्था छैन । सहयोग नभएर नै सहयोगको याचना लिएर मिडियामा आएको हुँ ।’

हरेक हप्ता उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता छ । शरीर कमजोर हुँदै गएको छ, तर बाँच्ने चाहना अझै मरेको छैन । उनी अझै पनि आशामा छिन् सायद कसैले देख्ला, बुझ्ला, र हात थाम्ला ।

उनको छिमेकीहरू पनि चिन्तित छन् । ‘उहाँको अवस्था अत्यन्त नाजुक छ,’ छिमेकी तुलबहादुर शाही भन्छन्, ‘हामीसँग पनि धेरै सहयोग गर्ने क्षमता छैन । त्यसैले सबैलाई अपिल गर्छौं सानो भए पनि सहयोग गरिदिनुहोस् ।’

तुलबहादुर शाहीले देश विदेशमा रहेका सबैलाई थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् ।उनले भने, ‘पीडित मेरो छिमेकी बहिनी हो । आर्थिक समस्या भएका कारणले गर्दा अलिकती केही सहयोग हुन्छ की भनेर हामी मिडियामा आएका हौं । हप्तामा एकचोटी किमो चढाउनुपर्छ । कतैबाट सहयोग हुँदैन । मिडियाकै माध्यमबाट भए पनि उहाँको जीवन रक्षाको लागि केही हुन्छ की भनेर अपिल गर्न आएका हौं । बहिनीको स्थिति एकदमै नाजुक छ । देश विदेशमा रहनु भएका सबैले थोरै भएपनि सहयोग गर्दिनुहोला । सम्पूर्णले सहयोग गरिदिनु भयो भने उहाँको जीवन बचाउन सक्छौं ।’

ज्ञानी शाही एक व्यक्तिको पीडा होइन, यो एउटा यस्तो संघर्ष हो । जहाँ आशा अझै बाँकी छ । मानवीयतामा विश्वास अझै जीवित छ । यदि हामी सबैले सानो–सानो साथ दिन सक्यौं भने, सायद उनको जीवनमा फेरि उज्यालो फर्कन सक्छ ।

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी मातहतका निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई थप संवेदनशील, सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी शुल्क असुली, विचौलियाको संलग्नता तथा सम्पूर्ण सेवाग्राही र विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यहरूलाई कडाइका साथ निषेध गरिएको जनाएको छ ।

मन्त्रालयले भनेको छ, “मानव अधिकार, समानता र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको गरिमा, सुरक्षा र सम्मान सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यस सन्दर्भमा कुनै पनि नागरिकले दुव्र्यवहार, उपेक्षा, हिंसा वा अन्याय भोग्न नपरोस् भन्ने हाम्रो दृढ प्रतिबद्धता छ । यदि यस्ता कुनै अनुचित गतिविधि वा व्यवहार भएको पाइएमा सम्बन्धित निकायमा लिखित वा मौखिक उजुरी दिनुहुन अनुरोध गरिन्छ ।

प्राप्त गुनासालाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायमार्फत आवश्यक छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ समावेशी, सुरक्षित र मर्यादित समाज निर्माणमा सबैको सहकार्य, संवेदनशीलता र जिम्मेवारी अपरिहार्य रहेको जनाउँदै मन्त्रालयले यस अभियानमा साथ, सहयोग र सजगता अपनाउन अनुरोध गरेको छ ।

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान। संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा आइतबार इरानले आक्रमण गरेको छ ।इरानले खाडीका महत्वपूर्ण उर्जा पूर्वाधारहरूमा पनि आक्रमण गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा खाडी मुलुकहरूले इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ।

इरानले तेलको लागि सम्मृद्ध खाडी मुलुकहरूमा ऊर्जा र अन्य औद्योगिक पूर्वाधारहरूलाई निशाना बनाएको छ र छिमेकीहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ। ।

खाडी मुलुकहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । आइतबार इरानी ड्रोन आक्रमणबाट कुवेती तेल र पेट्रोकेमिकल प्रशोधन केन्द्रमा गम्भीर क्षति पुगेको सरकारी पेट्रोलियम कम्पनीले जनाएको छ ।

कुवेत पेट्रोलियम कर्पोरेशनले आफ्नो सहायक पेट्रोकेमिकल इन्डस्ट्रिज कम्पनीका धेरै सुविधाहरूलाई लक्षित गरेको बताउँदै भनेको छ, “आक्रमणबाट ‘यी धेरै सुविधाहरूमा आगलागी भएको छ र गम्भीर भौतिक क्षति पुर्याएको छ।”

यसअघि कुवेतको विद्युत तथा जल मन्त्रालयले इरानबाट आएको ड्रोन आक्रमणका कारण दुईवटा विद्युत र पानीको नुनिलो तत्व छुट्टाउने प्लान्टमा क्षति पुगेको बताएको थियो । कुवेती अर्थ मन्त्रालयले इरानको ड्रोन आक्रमणबाट सरकारी भवनमा व्यापक क्षति पुगेको तर मानवीय क्षति नभएको जनाएको छ । मध्य पूर्वमा युद्ध फैलिएको छ ।

खाडीको ऊर्जा पूर्वाधारमा इरानको आक्रमण र एक महत्वपूर्ण विश्वव्यापी जलमार्ग हर्मुज घाँटीको प्रभावकारी बन्दले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ।यसअघि अबुधाबीका अधिकारीहरूले संयुक्त अरब इमिरेट्स (युएई) को उत्तरपश्चिमी तटमा रहेको रुवाइस औद्योगिक शहरमा रहेको पेट्रोकेमिकल प्लान्टमा लागेको आगलागीसँग जुधिरहेका बताएका थिए।

खाडी इमिरेट्सको मिडिया कार्यालयले भनेको छ, “अधिकारीहरूले बोरुज पेट्रोकेमिकल्स प्लान्टमा विशाल आगलागीको नियन्त्रणका लागि काम गरिरहेको छ। यहाँ हवाई रक्षा प्रणालीले आक्रमणका लागि प्रयोग भएको ड्रोनलाई सफलतापूर्वक अवरोध गरेपछि खसेको भग्नावशेष विस्फोट हुँदा आगलागी भएको थियो ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले भनेको छ, “त्यहाँको सेवा तुरुन्त स्थगित गरिएको छ र क्षतिको आकलन गरिएको छ। “कोही कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन ।” संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले यस पहिले मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको थियो ।इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको आल्मुनियम उद्योग र कुवेतमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेको इरानको सरकारी समाचार संस्था आइआरएनएले शनिबार जनाएको थियो । ।

इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ ।खुजेस्तान प्रान्तका उपप्रशासकले शनिबार दक्षिणपश्चिम इरानको पेट्रोकेमिकल क्षेत्रमा भएको आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको बताएका छन् ।

बहराइनको सरकारी ऊर्जा कम्पनीले आइतबार इरानको ड्रोन आक्रमणका कारण भण्डारण ट्याङ्कमा आगलागी भएको जनाएको छ । “बाप्को एनर्जीले आइतबार बिहान उसको भण्डारण सुविधामा एक घटना भएको छ ।शत्रुतापूर्ण इरानी ड्रोन आक्रमणको कारण ट्याङ्कमा आगो लागेको थियो,” कम्पनीले भनेको छ। क्षतिको आँकलन भइरहेको र कुनै चोटपटक नलागेको बताइएको छ ।इरानको बढ्दो आक्रमणले खतराले खाडी मुलुकहरूमा पानी आपूर्तिका लागि धेरै निर्भर रहेका ‘डिसेलिनेशन प्लान्ट’हरूमा पनि क्षति पुगेको छ।

निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा परिवर्तन आवश्यक: चन्द्रप्रसाद ढकाल

मोरङ, २२ चैत: नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराउनुभयो ।कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेकाले यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीलाई आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, लुम्बिनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढललगायतले सरकारले व्यावसायिक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने धारणा राख्नुभयो ।महासङ्घ कोशीका लागि आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

कैलाली। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।

आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवले जानकारी दिनुभयो ।

पुस्तक बिक्रीबाट रु तीन करोड ७४ लाख ७० हजार बराबरको कारोबार गरिएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख यादवले हालसम्म पहाडी जिल्ला बाजुरा, दार्चुला, अछाम र बझाङमा पाठ्यपुस्तक ढुवानी गरिएको र यही चैत ३० गतेभित्र प्रदेशका नौ वटै जिल्लामा पुस्तक पु¥याउने योजना रहेको बताउनुभयो ।

केन्द्रले चैत १६ गतेबाट पुस्तक बिक्रीवितरण सुरु गरेको छ । “हाल दुर्गम ठाउँमा ढुवानी गरिरहेका छौँ । शैक्षिकसत्र सुरु हुनुअगावै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउँछौँ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तक अभाव छैन् ।सबै ठाउँमा समयमै पाठ्यपुस्तक पुग्छ । सोहीअनुसार काम भइरहेको छ ।” कार्यालय प्रमुख यादवका अनुसार केन्द्रले आगामी शैक्षिकसत्रका लागि प्रदेशभरि साढे १६ लाख थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।

जनक शिक्षाले कक्षा ३ र ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्रीवितरण गर्नेे गरेको छ ।चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्म १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री गरेको तथा रु २१ करोड ९३ लाख ७३ हजार ४९४ बराबरको कारोबार गरेको जनाइएको छ ।

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन् ।आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

कँडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य सम्झेको छु । हामी यो प्रभुत्व वर्गसँग मिलेर काम गर्दाखेरी नेपालको फौजदारी न्यायप्रणालीको विकासमा योगदान गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ।’

उनले संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रही नेपाल सरकारलाई उपयुक्त कानुनी राय–सल्लाह प्रदान गर्ने र अभियोजन कार्यलाई वस्तुनिष्ठ तथा प्रभावकारी बनाउने बताए।

साथै, नेपाल सरकारविरुद्धका मुद्दाहरूमा पनि प्रभावकारी प्रतिरक्षा गरिने उनको भनाइ छ।‘नेपाल सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सिमाभित्र रहेर उपयुक्त राय सल्लाह दिने काम गर्छौ र मेरो कार्यकालमा पनि त्यही हुने छ । हामीले फौजकारी कसुरमा अभियोग गर्नेक्रममा हामीले बस्तुनिष्ट भएर प्रभावकारीरुपमा अभियोजन गर्छौ । नेपाल सरकारका विरुद्ध लगाएका मुद्धाहरु पनि प्रभावकारीरुपमा प्रतिरक्षा गर्छौ,’ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह आज नै अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेल नेपाल सरकारका प्रमुख कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दुई वटा विधेयक पेस भएका छन् ।बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो ।

उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले बैठकलाई जानकारी गराउनुभयो ।यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेस गर्नुभयो ।

यसअघि आजको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले गत भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुनुपर्ने माग गरेका छन् ।प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले भदौ २३ र २४ गतेका आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताउनुभयो ।

सदस्य विष्णुप्रसाद पन्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्नुभयो । यस्तै, प्रदेशसभा सदस्य भण्डारीलाल अहिर, हेमा बेल्वासे, अनुराग खड्का, मीनाकुमारी श्रेष्ठ, चन्द्रकेश गुप्ता, दीपेन्द्र पुन र बसिउद्दिन खाँले विविध विषयमा सरकार तथा सभाको ध्यानाकर्षण गराउनुभएको थियो ।

दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

प्रतिनिधि सभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण रूपमा निष्पक्ष, तटस्थ र मर्यादित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै सभामुख अर्यालले पदको गरिमा, तटस्थता र निष्पक्षताको मूल्यलाई आफूले गहिरोसँग आत्मसात् गरेको बताउनुभयो। उहाँले हालको प्रतिनिधि सभा २०८२ को विशेष निर्वाचनको म्यान्डेटबाट गठन भएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ रहेको धारणा राख्नुभयो।

सभामुख अर्यालले संसद् मूलतः प्रतिपक्षको भूमिका बलियो हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो। प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू सशक्त हुने भन्दै उहाँले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ। म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ—यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन्।”

मिडिया र आम नागरिकलाई सकारात्मक सोच र सन्देश प्रवाह गर्न सभामुख अर्यालले विशेष आग्रह पनि गर्नुभएको छ। समाज निर्माणका लागि सकारात्मक ऊर्जा आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “वर्षौँदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ। संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ—कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ।”

सभामुख अर्यालले प्रतिनिधि सभाको मुख्य दायित्व कानुन निर्माण भएको उल्लेख गर्दै सरकारलाई आवश्यक नीति तथा कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भौतिक संरचनालाई ठूलो विषय नबनाई मूल ध्यान नीति निर्माण र कानुनमा केन्द्रित गर्नुपर्ने बताउनुभयो।

उहाँले विगतका दुःखद घटनाहरू दोहोरिन नदिन र नयाँ पुस्ता ‘जेन–जी’ ले त्यस्ता पीडा भोग्नु नपरोस् भन्ने दिशामा आफू केन्द्रित रहने बताउनुभयो। साथै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच समन्वय बढाउँदै तीनै तहका सरकार र दुई सदनबीच राष्ट्रिय हितका विषयमा प्रभावकारी बहस अघि बढाइने उहाँले उल्लेख गर्नुभयो।

पत्रकारहरूप्रति सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै सभामुख अर्यालले समस्या मात्र नभई समाधानमुखी सुझाव र प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो। आफ्नो अनुभव र कार्यशैलीमार्फत संसद् सञ्चालनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै उहाँले त्यसका लागि केही समय धैर्य गर्न आग्रह गर्नुभयो।

महान्यायाधिवक्ता डा. कँडेलद्वारा शपथ ग्रहण

काठमाडौँ। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, सर्वोच्च अदालतका न्यायाधीश र कानुन मन्त्रालयका उच्च अपधिकारीको उपस्थिति थियो ।

अधिवक्ता डा. कँडेल बागलुङ निवासी हुनुहुन्छ । उहाँले आइतबार नै महान्यायाधिवक्ताको रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’ – नेपाल आयाल निगम

काठमाडौँ। नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो।

“बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भन्नुभयो, “अहिले निगमलाई प्रतिलिटरमा १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।”

पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारी साधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताउनुहुन्छ ।

“बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ”, उहाँले भन्नुभयो, “धेरै विद्यालय निजी छन् । तिनले सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ । साथै एसइई परीक्षा जारी रहेकाले सवारीसाधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउछ ।”

तत्कालका लागि सरकारको निर्णय ठिक छ, पर्याप्त हैनः अर्थशास्त्री

सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीहरुको राय छ । तर दीर्घकालीन समाधान छिट्टै खोज्नपर्ने उहाँहरुको सुझाब छ ।

अर्थशास्त्री इसान खरेल यो निर्णयलाई अपरिहार्य मान्नुहुन्छ । उहाँले तत्काल थप अन्य उपाय अपनाउन आवश्यकता औंल्याउनुभयो ।

“अहिलेको अवस्थामा गर्नैपर्ने हो, अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “सरकारले इन्धनमा लिने कर केही प्रतिशत घटाउनुपर्छ । यसले उपभोक्तालाई राहत दिन्छ । तात्विक भिन्नता नदेखिन पनि सक्छ । थोरबहुत सहयोगी होला । थोरै भए पनि बचत होला ।”

अर्थशास्त्री खरेलले सार्वजनिक यातायातलाई प्रोत्साहन, विद्युतीय सवारीसाधनको विस्तार र भारतसँगको सीमा मूल्य मिल्ने गरी अतिरिक्त लागत कटौती गर्नुपर्ने सुझाव दिनुभयो।

अर्का अर्थशास्त्री डा. सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिनुभयो ।

“अहिलेको अभावको सन्दर्भमा यो ठिकै छ । यसले इन्धनमा केही सहज होला”, उहाँले भन्नुभयो, “नेपालमा सरकारी बिदा पहिले नै धेरै छ । थप बिदाले अध्यापन र उत्पादकत्वमा नकारात्मक असर पार्नसक्छ ।”

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ। कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

तनहुँ। विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो ।

घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’सहितको ‘डिजाइन’ तेस्रो पक्षको विज्ञबाट जाँच भएकाले निर्माण अगाडि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए । गत निर्वाचनताका सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले पुल निर्माण नहुँदा यस भेगका जनताले सास्ती खेपिरहेको बताउनुभयो । घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।

बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ साल चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ साल असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दीपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो ।

तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।

घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । रासस

गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना प्रहरी नियन्त्रणमा

हरेक दिन गृहमन्त्री सुदन गुरुङले चमत्कार देखाइरहेका छन् । अघिल्लो सरकारबाट हुन नसकेको कामहरु रास्वपा सरकार आएपछि धमाधम भइरहेका छन् । दिनहुँ गृहमन्त्रीको निर्देशनमा प्रहरीले नयाँ सफलता हासिल गरिरहेको छ । फेरि गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेपछि सोही राति प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पक्राउ परेका थिए । तर पछि छुटेका थिए ।

डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिने भएको छ ।
संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिने कार्यसूची रहेको छ ।

अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन् । उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

पूर्व प्रधानमन्त्री ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो ।

ओली र लेखक यहि चैत्र १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

म्याग्दीको बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा खण्ड स्तरोन्नति भएको हो ।गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷८१ देखि पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।

निर्माण कम्पनीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजना निर्धारित समयभित्रै सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो । “अठार महिनाको ठेक्का अवधि भएको यो योजनाको लक्ष्यअनुसारको भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा वित्तीय प्रगति भने कम छ ।”विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ती र उकालोमा पाँच सय ५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

बरङ्जा खर्कटोलका मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्ची सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्रयाक्टर मुस्किलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन्”, उहाँले भन्नुभयो, “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।”

भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाँडा–सुर्केमेला हुँदै बेनी जोड्ने घुमाउँरो कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताउनुभयो ।

सडक स्तरोन्नति भएकामा बरङ्जावासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताउनुभयो । “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकामा खुसी छौँ”, उहाँले भन्नुभयो, “पखेरदेखि झाँक्रीपानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।”

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने रणनीतिक महत्वको यस सडकलाई स्तरोन्नतिका लागि प्राथमिकता दिएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट विनियोजन भएको यस योजनाका निर्माण व्यवसायी जीवन रोकायाले रु ८० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरहरूलाई ज्याला दिन समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, काउली (तराई) ४० रुपैयाँ, रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, लौका ५० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, चमसुर ७० रुपैयाँ, मेथीको साग ७० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ३५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १४० रुपैयाँ, च्याउ (डल्ले) ३२० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग ७० रुपैयाँ, पुदिना ११० रुपैयाँ र गुन्द्रुक २५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३२० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १३० रुपैयाँ, तरबुजा (हरियो) ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, निबुवा ७० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) २५० रुपैयाँ, आभोकाडो १७० रुपैयाँ र अमला १८० रुपैयाँ निर्धारण गरिएको छ ।

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन। मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकाबारे केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ ।

मौरीपालनका आधुनिक अभ्यास, वैज्ञानिक अनुसन्धान तथा अन्तरराष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको सम्मेलनअन्तर्गत तीन दिन प्राविधिक सत्र सञ्चालन हुनेछन् भने बाँकी दुई दिन मौरीपालनसम्बन्धी क्षेत्रको अध्ययन भ्रमण तथा अवलोकन गराइनेछ । सम्मेलनले मौरी स्वास्थ्य, परागसेचन सेवा, मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि तथा बजार विस्तारका सम्भावनाबारे व्यावहारिक र नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको छ ।

सम्मेलनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर पालले शिक्षण, अनुसन्धान र प्रसार विश्वविद्यालयका मूल उद्देश्य रहेको उल्लेख गर्दै तिनलाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार विश्वका करिब ७० प्रतिशत अन्नबालीको परागसेचन मौरीमार्फत हुने गर्दछ भने करिब एकतिहाइ खाद्यान्न उत्पादन मौरीमा निर्भर छ ।

“मौरी असुरक्षित हुनु भनेको अन्न असुरक्षित हुनु हो”, प्राडा पालले भन्नुभयो । उहाँले जलवायु परिवर्तन, मौसमीय असन्तुलन र तापक्रम वृद्धिका कारण मौरीपालन क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले यस्ता सम्मेलनले नवीन प्रविधि, अनुसन्धान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने बताउँदै यसले कृषि विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

आयोजक संस्थाका डीन प्राडा अर्जुनकुमार श्रेष्ठले नेपाल मौरीपालनका लागि उपयुक्त देश रहेको उल्लेख गर्दै यहाँ विभिन्न प्रजातिका मौरी पाइने जानकारी दिनुभयो । नेपाल मौरीपालनका लागि अत्यन्त उपयुक्त देश रहेको बताउँदै यहाँ एपिस सेरेना, एपिस मेलिफेरा, एपिस डोर्साटा, एपिस फ्लोरिया र एपिस लेबोरियोसा गरी पाँच प्रजाति पाइने जानकारी दिनुभयो ।

प्राडा श्रेष्ठका अनुसार मौरीपालन क्षेत्रमा रोग तथा कीराको व्यवस्थापन, जलवायु परिवर्तन, परागसेचक जीवको घट्दो सङ्ख्या तथा बजार व्यवस्थापनजस्ता चुनौती विद्यमान छन् । उहाँले सम्मेलनले यस्ता समस्याको समाधान खोज्दै नीतिगत सुधारका लागि वैज्ञानिक आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा २० भन्दा बढी देशका करिब दुई सय ५० राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ता, मौरीपालक तथा नीतिनिर्माताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल मौरीपालक महासङ्घको सहकार्यमा हुने यस सम्मेलनले मौरीपालन क्षेत्रलाई सुदृढ बनाउँदै दिगो कृषि प्रणाली र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा मौरीपालन तथा परागसेचनसँग सम्बन्धित प्रमुख विषयमा केन्द्रित छलफल गरिने श्रेष्ठले बताउनुभयो । जसअन्तर्गत मौरीजन्य उत्पादनको औषधीय गुण, अनुसन्धान, गुणस्तर तथा अन्तरराष्ट्रिय व्यापारका सम्भावना, परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत, जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षणका विषय समेटिनेछन् ।

त्यसैगरी मौरीको जीवविज्ञान, व्यवहार, रोग तथा किट व्यवस्थापन, मौरी स्वास्थ्य संरक्षण र नयाँ प्रविधिको प्रयोगबारे पनि चर्चा गरिनेछ । मौरीपालनको सामाजिक-आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता, महिला तथा युवाको सहभागिता र नीतिगत संरचनाका विषयमा समेत बहस हुने जनाइएको छ ।

सम्मेलनअन्तर्गत विभिन्न प्राविधिक सत्र, पोस्टर प्रस्तुति तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ । अनुसन्धानकर्ताहरूको प्रस्तुति, प्रदर्शनी मह चखाउने कार्यक्रम तथा ‘पोस्टकन्फरेन्स’ गतिविधिसमेत समावेश गरिने प्राडा श्रेष्ठले जानकारी दिनुभयो ।

भलिबलको एउटै टिममा एकै घरका चार जना सहभागी

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् ।छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ ।दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् ।

“बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भन्नुभयो, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आउनुभएको छ । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ ।

नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गर्नुभयो । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ ।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जित्नुभएको थियो । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउनुभएको छ ।

आठवटा घोडा पाल्नुभएका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । उहाँहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्टे«लियामा रहेका इम रोकाले शनिबार रु २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गर्नुभएको छ ।

“सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

आजदेखि मतदाता नामावली सङ्कलन पुन: सुरु हुँदै, के–के कागजात चाहिन्छ ?

काठमाडौँ, २२ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो ।

स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।रासस

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ तीन पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ छ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ पाँच पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसान सूचीकरण गर्ने

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ ।किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन ।

सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको उक्त कार्यक्रम प्रभावकारी देखिएकाले १७ लाख ३७ हजार किसानलाई सूचीबद्ध गर्नका लागि पुनः सूचीकरण गर्न सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । बाँकी किसानलाई छिट्टै गणनामा समावेश गरी प्रणालीमा जोड्ने तयारी भइरहेको जनाइएको छ ।

उक्त प्रणालीमा देशभर स्थानीय तहसँग समन्वय गरी वास्तविक किसान पहिचान गरेर किसानको खेती गरेको जमिनको क्षेत्रफल, उत्पादित उपजलगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन तथा अभिलेख राखिएको छ ।

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा अहिलेसम्म २३ लाख ९३ हजार किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले किसानलाई सम्बन्धित स्थानीय तहमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

किसानको जमिनको विवरण, आम्दानीको अवस्था, खेती उत्पादन, निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गरिएको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनुभएको छ । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भई रहेको ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गर असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकरदुई मेघगर्जनरचट्याङ्गर सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

काबुल। अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्।मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएकोे छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ।“मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,” अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भन्नुभयो ।

प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् ।पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर अन्य बालबालिकासँग खेलिरहेका एक बालकको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।

सोही प्रान्तका विभिन्न जिल्लामा डुबेर थप दुई बालबालिकाको मृत्यु भएको छ ।दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ। आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेँसीसहर उस्ता सडकको भित्री सडकदेखि ५०/६० मिटर तल खसेर दुर्घटना भएको थियो । चालकसहित १४ जना घाइते भएकामा उपचारका लागि प्रदेश अस्पताल बेँसीसहरमा लगेपछि दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले घाइते हुनुभएको छ ।घाइतेमध्ये सात वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । अन्य १० जनाको प्रदेश अस्पताल बँेसीसहरमा उपचार भइरहेको छ ।

टर्कीए र युक्रेनी नेताबिच इस्तानबुलमा वार्ता

इस्तानबुल। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सुरक्षा वार्ताका लागि शनिबार इस्तानबुल पुग्नुभएको छ।

राष्ट्रपति एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि यो भ्रमण भएको हो । नेता पु्टिन र एर्दोगानले धेरै युरोपेली देशहरूलाई पनि इन्धन आपूर्ति गर्ने रूस र टर्कीएबिचको ग्यास पाइपलाइनबारे छलफल गरेको बुझिएको छ ।

जेलेन्स्कीले एक्समा भन्नुभएको छ, “निर्धारित महत्त्वपूर्ण बैठकहरूमा सहभागिताका लागि इस्तानबुल आइपुगेँ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ठोस वार्ताको तयारी गरिएको छ।”उहाँले भन्नुभयो, “हामी युरोप र मध्यपूर्वमा जनताको जीवनको वास्तविक सुरक्षा सुनिश्चित गर्न, स्थिरता बढाउन र सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो साझेदारीलाई बलियो बनाउन काम गरिरहेका छौँ।”

टर्कीएका राष्ट्रपतिले पनि भ्रमणको पुष्टि गर्दै भन्नुभयो, “विशेष गरी इस्तानबुल प्रक्रियाको रूपरेखा भित्र बैठक ‘युद्धविराम र युद्धको स्थायी समाधानको प्रयासमा केन्द्रित हुनेछ।”

एएफपीका एक संवाददाताले बोस्फोरसको किनारमा रहेको भव्य डोल्माबाच प्यालेस वरपर ठूलो सङ्ख्यामा प्रहरीको उपस्थिति देखिएको पुष्टि गरेका छन् । टर्कीएले विगतमा किएभ र मस्कोबीच धेरै चरणको वार्ता पनि आयोजना गरेको थियो ।

जेलेन्स्कीले अधिकांश इसाई अर्थोडक्स चर्चका नेता प्याट्रिआर्क बार्थोलोम्यूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।यो भेट युक्रेन र रूस दुवै देशमा मनाइने अर्थोडक्स इस्टरभन्दा एक हप्ता अघि हुनेछ । युक्रेन र रूसले यही अप्रिल १२ मा इस्टर मनाउनेछन् ।

किएभले अर्थोडक्स इस्टर बिदाहरूमा ऊर्जा पूर्वाधारमा आक्रमणहरू रोक्ने युद्धविरामको लागि जोड दिइरहेको छ ।छोटो युद्धविरामको सट्टा स्थायी समाधान चाहेकोरुसले किएभबाट कुनै पनि ‘औपचारिक’ प्रस्ताव नपाएको बताएको छ।

युक्रेनले आफ्नो आक्रमणलाई मस्कोको क्षमतालाई आर्थिक सहयोग गर्ने संरचनालाई कमजोर पार्ने प्रयासमा चार वर्षभन्दा बढीको युद्धको अवधिमा रूसी ऊर्जा पूर्वाधारमा प्रहार गरेको छ ।युक्रेनी ऊर्जा केन्द्रहरूमा रूसी आक्रमणले सन् २०२२ मा युद्ध सुरु भएदेखि लाखौँ मानिसहरू बिजुली र न्यानोको अभावमा दिन विताउन बाध्य भएका छन् ।

युक्रेनमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु, १९ घाइते

युक्रेन। युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ। यस्तै, हमलामा १९ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताए। उहाँले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था ‘गम्भीर’ रहेको बताए। उत्तरपूर्वी सहर खार्किवमा शनिबार भएको घटनाको क्षेत्रीय प्रहरीले समेत पुष्टि गरेको छ।

युक्रेनी वायु सेनाले रूसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ। उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

युक्रेनी आपतकालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो। रूस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिबार अन्कारा पुगेको जनाइएको छ। यसअघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो ।गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशहरूको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ। भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ कन्स्ट्रक्सन प्रा लि खोटाङ, भीषणहाङ कन्स्ट्रक्सन प्रा लि भोजपुर, बराहपोखरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि काठमाडौँ, पाथीभरा निर्माण सेवा उदयपुर, धनसुना कन्स्ट्रक्सन, बी एन्ड बी निर्माण सेवा उदयपुर, खोक्चिीलिपा–साल्मे आरटिडी जेभी, डिबी कन्स्ट्रक्सन उदयपुर र डिजी निर्माण सेवा खोटाङलाई स्पष्टीकरण सोधेको छ ।

शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङले तीन तथा विश्वशिखर निर्माण सेवा उदयपुर, पाथीभरा निर्माण सेवा उदयपुर, बी एन्ड बी निर्माण सेवा उदयपुर, डिबी कन्स्ट्रक्सन उदयपुर र अर्जुन पोइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँले दुई÷दुईवटा योजनाको ठेक्का सम्झौता गरेको छ ।

योजनाको सम्झौता गरेर काम सुरु नगर्नुको कारणसहित सात दिनभित्र स्पष्ट विवरण पेस गर्न पत्रमार्फत लिखित स्पष्टीकरण सोधिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभएको छ । “समयमै काम सुरु नभएमा वर्षा सुरु हुन्छ । आर्थिक वर्षको अन्त्यतिर गरिएका निर्माणको काम गुणस्तरीय हुँदैन”, उहाँले भन्नुभयो, “समयमा काम सुरु नगर्दा योजना अधुरै रहन्छ । योजनाका लागि विनियोजित बजेटसमेत ‘फ्रिज’ हुने जोखिम भएकाले सात दिनभित्र लिखित जवाफ दिन निर्माण कम्पनीहरुसँग माग गरिएको हो ।”

योजना सम्पन्न नहुँदा स्थानीय उपभोक्ता तथा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउने भन्दै कार्यालयले निर्माण कम्पनीहरूलाई तत्काल काम सुरु गर्न पत्रमार्फत चेतावनीसमेत दिएको छ । कार्यालयबाट खटिएका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेखमा तोकिएको समयभित्र गुणस्तर र परिमाणअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएको हो ।

निर्धारित समयभित्र निर्माण कार्य सुरु नगरेमा अनावश्यक म्याद थप नगर्ने र कानुनबमोजिम बैङ्क जमानत जफत गरिने कार्यालयका लेखा अधिकृत सीताराम राउतले बताउनुभएको छ । “पहिलो चरणमा लिखित माग गर्छौं । चित्त बुझ्दो जवाफ अपनाएको खण्डमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइनेछ”, उहाँले भन्नुभयो, “धेरै निर्माण कम्पनीहरुले अनावश्यक म्याद थप गराउने गर्छन् । काम नगर्ने निर्माण कम्पनीको सिधै बैङ्क जमानत जफत गरिनेछ ।”

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा यो वर्ष १२३ योजनामा ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौता भएका २६ वटाबाहेक अन्य योजनाहरु तीव्रगतिमा निर्माण भइरहेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

एकवर्षे र बहुवर्षे योजनाका लागि यस आर्थिक वर्षमा रु एक अर्ब ९४ लाख ७५ हजार बजेट उपलब्ध भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट स्वीकृत भएर आएका आठवटा योजना जग्गा विवादका कारण ठेक्का आह्वान गर्न नसकिएको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

यस्तै, १७ योजनाका लागि कम बजेट स्वीकृत भएर आएकाले बहुवर्षे योजनामा समावेश गरिदिन प्रदेश सरकारमा सिफारिस गरिएको कार्यालयले जनाएको छ । गरिब तथा विपन्न परिवारका लागि कोशी प्रदेश सरकार, जनता आवास कार्यक्रमअन्तर्गत रु दुई करोड लागतमा ६० घर निर्माण भइरहेको जनाइएको छ ।

संरचना भत्काउँदा पीडित भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गर्नुभएको छ ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताउनुभयो ।

हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिनुहुँदै उहाँले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताउनुभयो

औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौँ। वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गर्नुभएको हो ।

यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।

अस्पतालका निर्देशक प्राडा शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति (एमआर) लाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिनुभयो । औषधिको प्रमोसन गर्ने व्यक्ति (एमआर)लाई कार्यालय समयमा बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र शय्यामा गएर औषधि पसलले ‘भिजिटिङ कार्ड’ बाँड्ने गरेकोसमेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई अनुरोध गर्नुभएको छ ।

यस्तो कार्य गरेको पाइएमा अस्पताल प्रशासनबाट नियमानुसारका कारबाही गर्नेसमेत अस्पतालका कार्यकारी निर्देशक प्रा डा शर्माले बताउनुभएको छ ।यसैगरी, अस्पताल प्रशासनले चिकित्सकले औषधि तथा सर्जिकल सामग्रीको कम्पनी वा ब्रान्ड नमिलेको भनी फिर्ता गरी बिरामीलाई अनावश्यक दुःख दिने कार्य नगर्नसमेत आग्रह गरेको उहाँले बताउनुभयो ।

यदि त्यस्तो दुःख दिने कार्य गरेको पाइएमा संलग्न चिकित्सक, नर्सिंङ तथा अन्य कर्मचारीलाई कारबाही गरिने समेतमा अस्पतालले उल्लेख गरेको छ ।

‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

यसैबीच , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन जारी गरेको छ ।मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले ‘हेलो सरकार’बाट आएका गुनासोलाई सम्बोधन गर्नका लागि आफ्नो मातहतका ४६ स्वास्थ्य सङ्घसंस्थालाई जति सक्दो चाँडो ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले सरकारले जारी गरेको शासकीय सुधारका कार्यक्रमको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक ‘प्लेटफर्म’का रुपमा विकास गर्नका लागि फोकल पर्सन तोकेर पठाउन मन्त्रालयमा मातहतका निकाय, अस्पताल र प्रतिष्ठानलाई निर्देशन दिएको बताउनुभयो । उहाँले ति फोकल पर्सनले हेलो सरकारबाट प्राप्त भएका नागरिकका गुनासो सम्बोधनका गर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ४६ वटा विभाग÷अस्पताल÷प्रतिष्ठानलाई पत्र पठाइएको सूचना अधिकारी डा केसीले बताउनुभयो ।

चितवनको आँपटारीचोकमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते

चितवन। भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोको पछाडि ठोक्किएको थियो ।

घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन् । उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

रौतहट । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो।

विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ । सम्भावित क्षतिबाट बच्न र सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ ।

मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा

काठमाडौँ, चैत २१-मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उहाँले रासससँग भन्नुभयो, “हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ । सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।”
छ ।