`

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ, २८ भदौः यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ । कारागार प्रमुख गिरबहादुर सेजुवालले ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिनुभयो । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए ।
यसैबीच, दाङको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ । स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्रदर्शनका कारण बन्द भएका पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने

गण्डकी, २८ भदौ : ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुुभयो ।

यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ । कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् ।

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयोः हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भन्नुभयो । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।

उपप्रमुख डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल ऐतिहासिक र गौरवमय मात्र नभइ मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम क्षण भएको उल्लेख गरेकी छन् ।

उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो ’ उनले भनिन् ।

त्यस्तै उनले ‘ हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । साथै जेन जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ उनले भनिन ।

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

काठमाडौँ, २८ भदौः सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो ।
राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।

आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गर्नुभयो । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भन्नुभयो, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताउनुभयो ।

अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”

अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गर्नुभयो । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताउनुभयो । उहाँले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिनुभयो । सिइओ जोशीले भन्नुभयो, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”

उहाँका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उहाँले बताउनुभयो ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।

नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”

नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।

होटलमा करिब २५ अर्बको नोक्सानी

जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ ।

काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

चितवनमा हट्यो निषेधाज्ञा र कफ्र्यु आदेश

चितवन । चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२÷०५÷२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागु हुने गरी जारी भएको निषेधाज्ञा एवं कफ्र्यु आदेश मिति २०८२÷०५÷२८ गते बिहान ७ बजे देखि लागु हुने गरी हटाइएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिका उल्लेख छ ।

निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्।

ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी

काठमाडौं । जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कफ्र्यू लाग्ने पनि जानकारी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको छ ।एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ।

सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

हजरौँ हुम्ली काम खोज्दै चीनमा,चीन पुग्नेको सङ्ख्या बढ्दो

सिमकोट (हुम्ला), २८ भदौ : जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो ।

ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।

पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् ।

चीन पुग्ने सङ्ख्या बढ्दो

विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ ।

उहाँका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन्भने वितरण भइसकेको छ । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उहाँले बताउनुभयो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताउनुभयो ।

त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ । जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा छ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले छ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् ।

चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा छ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो ।

छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो ।

हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताउनुभयो ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताउनुभयो । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् ।

गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उहाँले सुनाउनुभयो । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उहाँको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ ।

काम पाउन मुस्किल

चीनको ताक्लाकोटमा विगतका वर्षभन्दा यो वर्ष काम पाउन मुस्किल भएको छ । जिल्लाका बेरोजगार युवायुवती रोजगारीको खोजीमा ताक्लाकोट पुग्नेको सङ्ख्या उल्लेखनीय रहेपछि काम पाउन मुस्किल हुने गरेको हो । यतिबेला चीनको ताक्लाकोट पुगेका अधिकांश हुम्लीले हप्ता दिनमा एक दिन मात्रै काम पाउने गरेको गुनासो पोखेका छन् ।

चिनियाँ भाषा जान्नेलाई काम पाउन सजिलो हुने र भाषा नजान्नेलाई काम पाउन मुस्किल हुने गरेको ताक्लाकोटमा काम गर्दै आएका जनक बोहराले बताउनुभयो । ताक्लाकोटमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका विभिन्न बस्तीबाट यहाँ पुगेका लामा समुदाय काम बढी पाउने गरेका छन् । उनीहरूको पुराङ्गवासीहरूसँग भाषा मिल्दोजुल्दो हुने भएका कारण उनीहरू काम बढी पाउने गरेका छन् । यता क्षेत्री बाहुनहरूले भने सोचेअनुसारको काम पाउन नसकेको बोहराको भनाइ थियो ।

जडीबुटी निर्यात, खाद्यान्न र लत्ताकपडा आयात

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्यस्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् ।

हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् । हुम्लीले मैदा, खाद्य पदार्थलगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाइका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्ष अगाडिदेखि चीन प्रमुख आयस्रोतस्थल बन्दै गएको छ ।

बस्तीका युवा सबै चीनमा

हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनवटै बस्तीका नागरिक यतिबेला चीन केन्द्रित हुने गरेको पाइन्छ । लिमीको तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । लिामीका नागरिकहरूको प्रमुख आम्दानी आयस्रोतको क्षेत्र ताक्लाकोट बनेको छ । उनीहरू कोही कोही बाह्रै महिना ताक्लाकोट बस्दै आउने गरेका छन् । कोही दुई तीन वर्षपछि राम्रो कमाइ भएपछि गाउँघरमा फिर्ता हुने गरेका छन् ।

गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख््या बढे पनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेका छन् । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४१, आलु रातो (मुडे) प्रतिकिलो रु ४९, प्याज सुकेको भारतीय प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु १४०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३८, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ८५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १२०, सेलरी प्रतिकिलो रु ३३०, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु १०००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४५०, सरिफा प्रतिकिलो रु १५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २६०, रूख टमाटर प्रतिकिलो रु ३००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

कृषि उपजको सहज ढुवानी र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन कृषि मन्त्रालयको अनुरोध

काठमाडौँ- कृषि विभागले देशभर तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादनको सहज ढुवानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।देशमा विद्यमान असहज र विषम परिस्थितिका कारण कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले यस्तो अनुरोध गरेको प्रवक्ता जगन्नाथ तिवारीले जानकारी दिनुभयो ।

यसका कारण उपभोक्ताले तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादन सहजरूपमा उपभोग गर्न पाएका छैनन् । यसले गर्दा कृषक, कृषि उद्यमी र कृषि व्यवसायीसमेत मारमा परेका छन् । कृषक, कृषि उद्यमी र कृषि व्यवसायीकै मागका आधारमा विभागले यस्तो सूचना जारी गरेको हो ।

देशका विभिन्न स्थानमा उत्पादन भएका तरकारी, फलफूल, बीउबेर्नाजस्ता कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा सिर्जित समस्या समाधान गर्नुपर्नेमा विभागले जोड दिएको उहाँले जानकारी दिनुभयो । ‘अति संवेदनशील र नाशवान कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्य नपु¥याए मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने देखिएको छ,’ विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले आज जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ । शुक्रबार राति पदाधिकारीको आकस्मिक भर्चुअल बैठक बस्दैँ संसदलाई विघटन गर्ने निर्णयको विषयमा छलफल गरिएको थियो ।

बैठक लगतै विज्ञप्ति जारी गर्दै बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णयको गम्भीर रूपमा असहमति रहेको निर्णय गरिएको बताइएको छ ।

‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्वको ‘ओगटन’ आज

महोत्तरी, २८ भदौ : मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही÷चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ ।

पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर समापन गरिने चलन रहेको व्रतको तयारीमा रहनुभएकी भङ्गाहा–५ राजपुरकी हरिप्रिया कुशवाहा बताउनुहुन्छ ।

मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिने परम्परा छ । यसअनुसार यसपालिको जितिया समापन पर्सि सोमबार बिहान ७ः०० बजे हुने हिन्दू परम्पराको मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो । मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन् । पितृपक्षको यो पर्वमा बर्तालु महिलाले एक दिनअघिअर्थात् सप्तमी तिथिका दिन एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गर्छन् ।

यसैक्रममा बर्तालुुले दिवङ्गत सासू, जेठानी÷देउरानी, बूढीसासू, नन्द–आमाजू, माइतीपक्षका तीन पुस्ताभित्रका आमा, बज्यै, दिव र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिन्छन् । यी पितृहरूसँग ‘तिमी आफ्ना पौत्रपौत्री (नातिनातिना), प्रपौत्रप्रपौत्री (पनातिपनातिनी) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

यो पर्वमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा द्वापर युगदेखि यो कठोर व्रत बस्ने परम्परा चलेको मैथिल जनविश्वास छ । जितवाहसँग जोडिएका यस्ता धेरै किम्वदन्ती छन् । हिन्दू वैदिक ग्रन्थमध्येको भविष्य पुराणमा यसको वर्णन पाइने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । यो पर्वको अवसरमा व्रतका दिन महिलाहरूलाई मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ ।

आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा

रौतहट । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मतमा रौतहटका युवाहरु जुटेका छन् ।चन्द्रपुरमा रहेका सचेत तथा अगुवा युवाहरुको समुहले शुक्रबारदेखि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन सरसफाई तथा मर्मतमा सक्रिय भएका हुन् । केहि दिन अघि आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचना क्षति पुगेको छ भने अधिकांश फर्निचर जलेर नष्ट भएका छन् ।

अहिले भवनभित्र जलेका सामानहरु निकालेर सरसफाइ गरिएको युवा अगुवा सुमन गौतमले बताए ।उनका अनुसार करिब दुई साता भित्रमा भवन बस्नयोग्य बनाएर प्रहरीलाई नै हस्तान्तरण गर्ने योजना छ । यसका लागि यहाँ युवाहरुले निःशुल्क श्रमदान र केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए ।
यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।

आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिकलाई उनले आह्वानसमेत गरेका छन् । सफाइमा जुटेका शिवशंकर चौलागाईले भने,‘जलेको भवन मर्मत गरेर प्रहरीलाई पुनः स्थापित गर्नु नागरिकको दायित्व हो, त्यसैले हामी युवाहरु लागेका हौं ।’

भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ । आन्दोलनका क्रममा कार्यालयभित्र रहेका मोटरसाइकल, भ्यानलगायतका सामग्री जलाइएका थियो ।

जेनजी आन्दोलनको क्रममा चन्द्रपुर नगरपालिका ,डिभिजन वन कार्यलय , ट्राफिक भवन , सडक डिभिजन लगायतका कार्यलयमा अगाजनी हुदा महत्त्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएको छ ।

वैवाहिक बन्धनमा बाँधिएको दुई महिनामै जेनजी आन्दोलनमा अस्ताए असहाव ,मुर्लीका बासिन्दा शोकमा

वीरगञ्ज (पर्सा), २८ भदौ : दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनुभयो ।

बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिनुभएको थियो । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।

विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा रहँदै आइरहनुभएको थियो । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उहाँको परिवारले जनाएको छ ।

उहाँको मृत्युसँगै अहिले उहाँको आमा नजला खातुन र उहाँकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा रहनुभएको छ । आफ्नो छोराको मृत्युले विछिप्त हुनुभएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताउनुभयो ।

“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भन्नुभयो, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आइरहनुभएको छ । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उहाँले स्तब्ध हुँदै भन्नुभयो ।

मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उहाँको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिनुभयो ।

“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उहाँको शव ल्याउँदै हुनुहुन्छ ।” छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताउनुभयो ।

असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताउनुभयो । “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस् ।”

वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताउनुभयो । “असहाव भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनले अपुरणीय क्षति भएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँको परिवारमात्रै नभएर सिङ्गो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौँ ।” शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै वीरगञ्जका मुर्लीवासीले वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन् ।

आज यी प्रदेशमा पर्नेछ भारी वर्षा

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

काठमाडौँ – संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौँ – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १४ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’ – उपसभामुख राना मगर

काठमाडौँ – विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनु भएलगत्तै रानाले शुभकामना दिनुहुँदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताउनुभएको छ ।नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तिकरणका लागि लामो समयसम्म गरेको कार्कीको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको उहाँले प्रशंसा गर्नुभएको छ ।

बधाई सन्देशमा भनिएको छ “ महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक सावित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।”उहाँले कलिला बालबालिकाको बलिदानबाट आफूहरु हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहाँस कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताउनुभएको छ । पूर्व उपसभामुख रानाले हजारौं आमाहरु रोएपनि महिलाको एउटा इतिहाँस कोरिएकामा खुसी व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते बिहीबार

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

पुटिनलाई अब धेरै पर्खन नसकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिनुभएको छ ।

फक्स न्यूजमा फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पलाई पुटिनसँगको धैर्यता समाप्त भएको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “यो एक प्रकारको दौडपछि अर्को दौड जस्तो भइरहेको छ ।

सहमतिका लागि भन्दै प्रयासहरू भइरहेका छन् । तर ट्याङ्ंगो (एक प्रकारको नाच) जस्तै यो प्रक्रियालाई घुमाइराखिएको छ । पुटिनले सहमति गर्न चाहँदा जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने भइरहेको छ । यसरी हुँदैन अब हामी धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्छ ।”

उहाँले पोल्याण्ड नजिकै रूसी ड्रोन आक्रमणका गतिविधिको बारेमा देखाइएका चिन्तालाई पनि सम्बोधन गर्दै भन्नुभयो, “तिनीहरू वास्तवमै खसालिएका थिए । अहिले रूसी सेना पोल्याण्डको नजिक हुनु हुँदैन।”

यसअघि बिहीबार अमेरिकी राष्ट्रपतिले ड्रोनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो र यस क्षेत्रमा संयम र समन्वयात्मक कारबाहीको लागि वाशिङ्गटनको अपेक्षालाई जोड दिँदै यस मुद्दाको अन्त्य हुने आशा व्यक्त गर्नुभएको थियो ।

ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “गल्ती भएको हुन सक्छ । जे भए पनि, म त्यो सम्पूर्ण परिस्थितिसँग सम्बन्धित कुनै पनि कुराको बारेमा खुसी छैन। आशा छ कि यो अन्त्य हुनेछ।”

सीएनएनका अनुसार पोल्याण्डको सेनाले युक्रेनमा रुसी आक्रमणको क्रममा आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनहरू गोली हानेर खसालेको पुष्टि गरेपछि यो स्थिति आएको हो।

युक्रेनमा युद्ध सुरु भएयता नेटो सेनाले गोली चलाएको यो पहिलो हो।

त्यसको जवाफमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पोल्यान्डको हवाई क्षेत्रको सुरक्षाका लागि तीनवटा राफेल विमान परिचालन गर्न निर्देशन दिनुभएको थियो ।

सामाजिक सजाल एक्समा गरिएको एक पोस्टमा म्याक्रोँले पोल्यान्डको हवाई क्षेत्रको सुरक्षाका लागि तीनवटा राफेल विमान परिचालन प्रक्रिया अघि बढेको पुष्टि गर्नुभयो । उनले अघिल्लो दिन पोल्याण्डका प्रधानमन्त्रीसँग यो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भन्नुभयो, “मैले यस विषयमा नेटोका महासचिव र पूर्वी भागको रक्षामा संलग्न बेलायती प्रधानमन्त्रीसँग पनि छलफल गरेको छुु ।

युरोपको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी रूसको बढ्दो धम्कीको अगाडि झुक्ने छैनौँ।”

पोल्याण्डका अधिकारीहरूले घटनाको गम्भीरतालाई जोड दिएका छन्। पोल्याण्डका उपप्रधानमन्त्री राडोस्लाव सिकोस्र्कीले ड्रोन घुसपैठको मात्राले यो जानाजानी भएको सङ्केत गर्नुभएको छ ।

पोल्यान्डको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री डोनाल्ड टस्कले पोल्यान्ड युद्धमा नभए पनि स्थिति दोस्रो विश्वयुद्धपछिको कुनै पनि समयभन्दा बढी खतरनाक रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पोल्याण्ड युद्धको स्थितिमा छ भनेर भन्नुको कुनै कारण थिएन, तर यो दोस्रो विश्वयुद्धपछि कुनै पनि समयको तुलनामा द्वन्द्वको नजिक थियो।“

टस्कले भन्नुभयो, “पोल्याण्डले नेटो सन्धिको धारा ४ लागू गरेको छ, जसले गठबन्धनलाई सदस्य राष्ट्रहरूको सुरक्षामा खतराहरूको बारेमा छलफल गर्न अनुमति दिन्छ।”

जापानी प्रधानमन्त्री इशिबाले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियाको भ्रमण गर्ने

जापानका प्रधानमन्त्री शिगेरु इशिबा दक्षिण कोरियामा आगामी महिनाको अन्त्यतिर राष्ट्रपति ली जे म्युङबीच शिखर वार्ता गर्न सियोलको भ्रमण गर्ने हुनुभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
फुजी न्यूज नेटवर्कका अनुसार प्रधानमन्त्री इशिबाले सेप्टेम्बर ३० देखि दुई दिने दक्षिण कोरिया भ्रमणको तयारी गर्नुभएको हो ।

क्योदो न्यूजका अनुसार उनको परिकल्पना गरिएको भ्रमण दुई देशका नेताहरूको ‘नियमित पारस्परिक भ्रमण’ को हिस्सा हुनेछ।

ली र इशिबाले अन्तिम पटक अगस्टमा भेट गरेका थिए, जब उनीहरूले ‘मध्यस्थ कूटनीति“ मार्फत द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेका थिए।

आइतबार इशिबाले घरेलु राजनीतिक सङ्कटका बीच राजीनामा दिने घोषणा गर्नुभएको थियो । जापानले आगामी अक्टोबरमा नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी गरेको छ ।

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने – धेरै धेरै बधाई छ, तपाईं सफल हुनुहोस्, देश सफल होस्

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले आज काठमाडौंमा राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्।

शपथ गराएपछि राष्ट्रपति पौडेलले तपाईं सफल हुनुहोस्, देश सफल होस् भन्दै बधाई दिएका हुन् । राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।’

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए । लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

जटिलपूर्ण परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उहाँलाई नियुक्ति गर्नुभएको हो ।

राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो ।

सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभयो । यसअघि उहाँ लामो समयसम्म वकालत गर्दै सर्वाेच्च अदालतको न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश हुनुभयो ।

न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाउनुभएकी उहाँको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने छ ।

ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

काठमाडौँ, २७ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।

सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्र्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ । यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

ताप्लेजुङमा लगाइएको कर्फ्यू जारी

फुङ्लिङ (ताप्लेजुङ), २७ भदौः ताप्लेजुङको सदरमुकाम फुङ्लिङसहित आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी छ । जेनजीको प्रदर्शनपछि देशमा सिर्जित विषम परिस्थितिका बीचमा हुनसक्ने सम्भावित हुलदङ्गा र अराजक गतिविधि रोक्न तथा शान्ति, सुरक्षा कायम राख्न बुधबारदेखि कर्फ्यू जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आज सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गर्नुभएको छ । सेढाईंद्वारा जारी सूचनाअनुसार शनिबार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यू लागू हुनेछ ।

पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कर्फ्यू लागू हुने सूचनामा उल्लेख छ । कर्फ्यूको समयावधिभर कुनै पनि भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउलगायत गतिविधि गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

कर्फ्यूको अवधिमा एम्बुलेन्स, वारुणयन्त्र, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावतका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन् । उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने प्रजिअ सेढाईंले जानकारी दिनुभयो । कर्फ्यूको उल्लङ्घन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

भारत र इयूबीच सुरक्षा र रक्षा सहकार्य प्रगाढ बनाउने विषयमा छलफल

भारतीय विदेश सचिव विक्रम मिश्रीले शुक्रबार युरोपेली सङ्घ (इयू) को राजनीतिक तथा सुरक्षा समिति (पिएससी) का अध्यक्ष डेल्फिन प्रोन्कको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारत–इयू रणनीतिक साझेदारी अन्तर्गत सुरक्षा र रक्षा सहयोगलाई गहिरो बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको छ।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको छ, “विदेश सचिव मिश्रीले आज अध्यक्ष डेल्फिन प्रोन्कले नेतृत्व गरेको इयूको राजनीतिक र सुरक्षा समितिको प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको छ ।

छलफल भारत–इयू रणनीतिक साझेदारी अन्तर्गत सुरक्षा र रक्षा सहयोगलाई गहिरो बनाउने र नवीनतम क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूमा विचारहरूको आदान–प्रदानमा केन्द्रित थियो।

यसअघि बिहीबार प्रोन्कको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले दिल्लीमा रक्षा सचिव राजेशकुमार सिंहसँग भेट गरेको थियो।

रक्षा मन्त्रालयले एक्समा एक पोस्टमा भनेको छ, “प्रोन्कको नेतृत्वमा इयूको पिएससीले रक्षा सचिव श्री राजेश कुमार सिंहलाई आफ्नो पहिलो भारत भ्रमणमा नयाँ दिल्लीमा भेटेको छ। छलफल क्षमता विकास, क्षमता वृद्धि र उदीयमान चुनौतीहरूमा केन्द्रित थियो। भेटका अवसरमा प्रतिनिधिमण्डललाई सूचना फ्यूजन केन्द्र–हिन्द महासागर क्षेत्र (आइएफसी–आइओआर) को बारेमा पनि जानकारी गराइएको थियो ।

प्रोन्कले छलफलका लागि भारतीय प्रतिनिधिमण्डललाई धन्यवाद दिनुभएको छ ।

एक्समा एक पोस्टमा उहाँले भन्नुभयो, “रक्षा सचिव सिंह, इयू–भारत सुरक्षा र रक्षा सहयोग, क्षेत्रीय र विश्वव्यापी सुरक्षा चुनौतीहरूको बारेमा इयूको राजनीतिक र सुरक्षा समितिसँग आज छलफल गर्नुभएकोमा धन्यवाद। इयू र भारत प्राकृतिक साझेदार हुन्।”

यसैबीच, युरोपेली सङ्घ र भारतले आतङ्कवाद विरुद्ध संयुक्त कार्यदलको १५ औँ बैठक बुधबार ब्रसेल्समा आयोजना गरेका छन्।

वार्ताको सह–अध्यक्षता युरोपियन अतिरिक्त कार्य सेवामा सुरक्षा र रक्षा नीति निर्देशक मासिज स्टेडेजेक र भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव केडी देवलले गरेका थिए।

दुवै पक्षले सन् २०२५ २२ अप्रिल मा पहलगाममा भएको जघन्य आतङ्कवादी हमलाको निन्दा गरेका थिए । सो अवसरमा युरोपेली सङ्घले निर्दोष नागरिकहरूको हत्याका लागि भारतप्रति आफ्नो समवेदना दोहोर्‍याएको थियो।

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान र उहाँकी धर्मपत्नीको सजाय निलम्बनका लागि परेको आवेदन स्वीकार

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १९ करोड पाउन्ड बराबरको भ्रष्टाचारको मुद्दामा सजाय निलम्बनको माग गर्दै दायर गरिएको याचिका बिहीबार स्वीकार गरेको छ ।

ऋदालतले संघीय निकायहरूलाई उनीविरुद्ध दर्ता भएका सबै मुद्दाहरूको नयाँ रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।

मुख्य न्यायाधीश सरदार मोहम्मद सरफराज डोगर र न्यायाधीश मोहम्मद आजम खानको संयुक्त इजलासले दम्पतीको सजाय निलम्बनको निवेदनमाथि छिटो सुनुवाइ गर्ने अनुनयलाई स्वीकृत गरेको हो ।

इमरानका वकिल ब्यारिस्टर सलमान सफदरले अदालतमा भन्नुभयो,“राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले पटक–पटक ढिलाइ गरेका कारण सुनुवाईका लागि पाँच वटा मिति तय गरेपनि याचिकामाथि सुनुवाई हुन सकेको थिएन।”

“कहिले ब्यूरोले अभियोजक नियुक्त नगर्ने गरेको र कहिले थप समय माग्ने गरेको थियो,” ब्यारिस्टरले भन्नुभयो ।

“इमरान र उहाँकी श्रीमतीले कहिल्यै पनि स्वास्थ्यको आधारमा राहत मागेका थिएनन्, तर बीबी अहिले बिरामी हुनुहुन्छ,” उहाँले भन्नुभयो।

अन्य सबै मुद्दाहरूमा खान दम्पतीलाई निर्दोष ठहराइएको वा जमानत दिइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निवेदनमा ‘न्यायको आवश्यकताहरू पूरा गर्न’ ढिलाइ नगरी आवेदनहरूको निर्णय गर्न अनुरोध गरिएको छ।”

प्रधानन्यायाधीश डोगरले अदालतले मुद्दाको टुङ्गो लगाउन कार्यालयलाई निर्देशन दिइसकेको र प्रतिवेदन आह्वान गर्ने आश्वासन दिएको छ। त्यसपछि बेन्चले सजायँ निलम्बनको याचिकालाई प्रारम्भिक सुनुवाइको लागि निर्धारित गर्न आदेश दिएको छ ।

एक छुट्टै सुनुवाइमा न्यायाधीश मोहम्मद आजम खानले इमरानले आफूविरुद्ध परेका सबै मुद्दाहरूको पूर्ण सूची माग गर्दै दायर गरेको याचिकाको सुनुवाइ गर्नुभएको छ ।

खानका वकीलले सलमानले अदालतमा आफ्ना सेवाग्राहीविरुद्ध विगत दुई वर्षमा १२७ मुद्दा दायर गरिएको बताउनुभएको छ । उनीहरूको स्थितिमा स्पष्टता आवश्यक छ।

उहाँले राजनीतिक रूपमा संवेदनशील मुद्दाहरूमा नजिर देखाउँदै बृहत् इजलास गठन गर्न अनुरोध गर्नुभयो ।

“एनएबी र संघीय अनुसन्धान निकाय (एफआईए) ले दुई वर्ष पहिले यो याचिका दायर गरेपछि पनि सूचना जारी गरिरहेका छन्। कुनै पनि सुधारको सट्टा, मुद्दाहरूको संख्या बढेको छ,“ उहाँले तर्क गर्नुभयो । यो कार्यलाई उहाँले ‘राजनीतिक रूपमा प्रेरित’ र असंवैधानिक भन्नुभयो।

स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा

धुलिखेल (काभे्रपलाञ्चोक) – बिपी राजमार्ग अन्तर्गत यहाँको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम र सुनको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आज दिउँसो काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नं को विद्युतीय गाडीमा नगद तीन लाख ५० हजार ३०० रुपैयाँ र १२ लाख २६ हजार ९४ रुपैयाँ उनन्चालिस पैसा बराबरको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेशकुमार यादवलाई नगद र गरगहनासहित नियन्त्रणमा लिइएको हो । “यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ”, प्रनाउ घलेले भन्नुभयो ।

यादवको साथबाट बरामद गरेको गरगहनामा हालको बजार मूल्यअनुसार एक लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा पर्ने ७५ लालको छड्के तिलहरी थान–१, दुई लाख ५९ हजार २१ रुपैयाँ पर्ने १२ दशमलव ६ लालको मंगलसुत्र थान–१, तीन लाख तीन हजार ९६९ रुपैयाँ ६४ पैसा पर्ने ६३ दशमलव तीन लालको बेरुवा औँठी थान–१ र पाँच लाख एक हजार २०५ रुपैयाँ ६३ पैसा पर्ने सिक्री थान ३ रहेको प्रहरीले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

भरतपुर – चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।

ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका–७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ ।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने सेप्टेम्बर १८ तारिखमा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

नेपाली टोलीको गोलकिपरमा पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानियाँ छन् । त्यसैगरी रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।

यसैगरी मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान छन् भने फरवार्डमा समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ छन् ।

लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति

काठमाडौँ, २७ भदौःकाठमाडौँको नयाँबस पार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३० करोडभन्दा बढीको क्षति भएको छ ।जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी भएको थियो । उक्त आगो भोलिपल्ट बिहान ५ः३० बजे नियन्त्रणमा आएको थियो । उक्त आगजनीबाट रु ३५ करोडभन्दा बढीको क्षति भएको लोत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।

दसैँ अगाडि उक्त घटना भएकाले चाडपर्व लक्षित गरी बिक्रीका लागि ल्याइएका कपडासहितका ५० भन्दाबढी कपडा पसल जलेर पूर्ण रुपमा नष्ट भएका प्रालिका अध्यक्ष एवं सञ्चालक दिपक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार कपडाबाहेक मोबाइल, रेष्टुरेन्टलगायत पसलसमेत जलेका छन् । यसअघि २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मल तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

सोहीबेला उक्त मलभित्र रहेको मोबाइल पसल लुटपाट हुनुका साथै प्रहरीको भ्यानहरु जलाइएको थियो । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष कुँवरले व्यावसायिक संरचनामाथि विभिन्न समय आक्रमण तथा आगजनी हुँदा व्यवसायीको मनोबल घट्दै गएको बताउनुभयो ।

“आगजनी र तोडफोडका घटनाले नेपालमा व्यवसाय गर्ने वातावरण हराउँदै गएको छ । व्यावसायिक भवनमा विभिन्न समयमा आक्रमण हुँदा चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो । मलभित्रका पसल लुटपाट गर्ने तथा आगजानी गर्नेलाई सिसि क्यामेरा फुटेजका आधारमा कडा कारबाही गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकासँग सार्वजनिक निजी साझेदारीमा लोत्से बहुउदेश्यीय प्रालिले नयाँबसपार्कमा मल सञ्चालन गर्दै आएको छ । विसं २०७४ मा लोत्से मल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरका सरकारी कार्यालयसहित २७ भवनमा आगजनी

भक्तपुर, २७ भदौ-जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते आन्दोलनरत समूहले तोडफोड गरी आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास खण्डहरमा परिणत भएको छ ।

ओली निवासमा यतिखेर स्थानीय सलमपाखा युथ क्लबले ताल्चा लगाएर प्रवेश निषेधको बोर्ड टाँसेर राखेको छ । आन्दोलनरत भीडमध्ये केहीले ओली निवासमा रहेका महत्त्वपूर्ण सामान लुटेर लगेको र कवाडी सङ्कलन गर्नेहरूसमेतले सामान लान थालेपछि सोही दिन राति ८ः०० बजे फोडिएका फलामका बार वाइरिङ गरी क्लबले ताल्चा लगाएर राखेको छ ।

आगो लगाइएपछि कतिपय सामान, गाडी तथा मोटरसाइकल, बैठक हलसहितको एउटा र निवास गरी दुई ठूला भवन र सुरक्षाकर्मीको निवास रहेको साना दुईवटा भवन जलेर खण्डहर भएको छ । हजारौँ पुस्तक रहेको पुस्तकालय आधाभन्दा बढी जलेको छ ।

त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको गुण्डुस्थित घर पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले लगाइदिएको आगोले तीनतले घर पूरै जलेर खण्डहरमा परिणत भएको छ ।

त्यसैगरी वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाको घर पनि आन्दोलनकारीले तोडफोड गरी आगो लगाइएको छ । नेता बस्नेतको घर आगजनी गर्ने टोलीले नै वडाध्यक्षको घर तोडफोड गरी आगजनी गरेको सापकोटाले बताउनुभयो ।

आन्दोलनमा उत्रिएको सोही टोलीले गुण्डुस्थित वडा कार्यालयको भवनसमेत जलाएर खरानी बनाएका छन् । कार्यालयमा पार्किङ गरिराखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक एवं सांसद सन्तोष परियार चढ्ने सरकारी गाडी र जिल्ला समन्वय समितिको गाडीलगायत अन्य सवारीसाधन पूर्ण रूपमा जलेको छ । गुण्डुकै प्रहरी चौकी र सँगै जोडिएको खानेपानी कार्यालय जलेर नष्ट छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाकी छोरी सुमित्रा थापाको सूर्यविनायक दार्जिलिङ हाइटमा रहेको घर पनि आन्दोलनकारीले तोडफोड गरी जलाएर पूर्ण क्षति पुर्याएका छन् । घरमै रहेकी सुमित्राले घरभित्र रहेको कुनै पनि सामानसमेत झिक्न नदिई तोडफोड गरी आगो लगाइदिँदा खण्डहर भएको थापाले बताउनुभयो ।

त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरको सूनपा–८ सिपाडोलमा रहेको घर तोडफोड गरेका छन् । प्रहरी बृत्त जगातिबाट लुटेर लगेका दुई बन्दुकसहित पुगेका आन्दोलनकारीले घरमा आगो लगाउन खोज्दा स्थानीय महिला प्रतिकारमा उत्रिएपछि बन्दुक छाडेर आन्दोलनकारी भागेका सुजन थापाले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीको घर तोडफोड गरेका छन्भने एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीले आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चाको वडा कार्यालय भवन पूर्ण रूपमा क्षति भई खण्डहर बनेको छ ।

मध्यपुरथिमि शङ्खधरचोकस्थित मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठको घरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । सूर्यविनायक नगरपालिकाको कार्यालय भवन तोडफोड गरिएको छभने भवन आगो लगाउने प्रयास गरेपछि नगर प्रहरी र स्थानीयले प्रतिकारमा उत्रिएपछि आन्दोलनकारी भागेर गएको स्थानीयले बताएका छन् ।

नजिकै रहेको डिभिजन सडक कार्यालय तोडफोड गरी आगजनी गर्दा धेरै ठूलो क्षति भएको छभने नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय तोडफोड गरिएको छ । आन्दोलनरत समूहले सरकारी कार्यालयतर्फ जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखालगायत पछाडि भाग जलाएर पूर्ण रूपमा क्षति पुर्याएका छन् । मुद्दा शाखाको सम्पूर्ण दस्तावेज र सामग्री जलेको छ भने सँगै रहेको जिल्ला समन्वय समिति, काठमाडौँ नगर विकास कार्यालय, नेपाल स्काउट कार्यालय, क्षयरोग कार्यालय जलाएका छन् ।

महननगरीय प्रहरी वृत्त मध्यपुरथिमिको भवन पूर्ण रूपमा जलाउँदा नष्ट भएको छ भने सँगै रहेको मध्यपुरथिमि नगरपालिकाको कार्यालय भवन जलाउँदा ठूलो क्षति पुगेको छ । मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठको घर ताडफोड भएको भने मनोहरामा खोला किनारामा रहेको प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर बनेको छ ।

मध्यपुरथिमि राधेराधेस्थित स्थानीय विकास श्रेष्ठको घरमा भाडामा रहेको यातायात कार्यालय तोडफोड गरी जलाइएको छ । आन्दोलनकारीले गाडी र मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाएपछि कार्यालयको सटर फोडर भित्र तीन तलासम्मका सबै सामान बाहिर निकालेर तोडफोड गरी आगो लगाउँदा सम्पूर्ण सामानदेखि कार्यालय भवन खण्डहरमा परिणत भएको छ ।

जिल्ला ट्राफिक प्रहरी परिसर कटुञ्जेको भवन पूर्ण रूपमा नष्ट भएको छ । यस भवनमा कारबाहीका लागि ल्याइएको १०० भन्दा बढी सवारीसाधन पूर्ण रूपमा जलाएको जानकारी दिँदै प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले करिब १० वटा मोटरसाइकल १६ बोरा चामल, खाद्यान्न, ट्राफिक प्रहरीको पोशाक, मोबाइललगायत सामग्री आन्दोलनमा आउनेहरूले लुटेर लगेको जानकारी दिनुभयो । कटुञ्जेकै सामुदायिक प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर भएको छ ।

जगातिस्थित प्रहरी बृत्तमा तोडफोड गरी हतियार लुटेर लगेका छन् भने चाँगुनारायण नगरपालिकाभित्रको खरिपाटी प्रहरी चौकी आन्दोलनकारीले आगो लगाउँदा जलेर नष्ट भएको छ भने चाँगुनारायणकै सुडाल प्रहरी चौकी पनि खण्डहर भएको छ ।

भक्तपुरका प्रमख जिल्ला अधिकारी नमराज घिमिरेले प्रहरी कार्यालयलाई सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सरकारी कार्यालयहरूको क्षति भएको विवरण सङ्कलन गरी मुचुल्का उठाएपछि मात्र सञ्चालन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो । आइतबारदेखि नै खण्डहरमा परिणत कार्यालयलाई कुनै न कुनै बिन्दुबाट सेवा सञ्चालन गरेर जनताको काममा फर्किने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति भएको छ । शुक्रबार भएको छलफलमा कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति भएको हो । छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति भएको हो ।

कार्कीको आजै शपथ गराउने तयारी पनि भएको शीतलनिवास सम्वद्ध स्रोतले जनाएको छ । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।

जेनजी आन्दोलनमा सहभागी बाजुराका २३ वर्षिय बुढा मृत फेला

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।
४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए ।

यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।

कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए

गण्डकी – जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये आज साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् ।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । “कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “हामीले आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ ।”

जेनजी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मङ्गलबार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए । प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।

कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पर्वत र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो । भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ । कास्की, म्याग्दीलगायतका कारागारबाट कैदीबन्दी भागेका थिए ।

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ ।

विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताउनुभयो । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो । कुरा गर्दै उहाँले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ । शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ । पत्रविना हामीले शव परीक्षण सुरु गर्न मिल्दैन । प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।”

डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताउनुभयो । विभागमा हाल छ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ । पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ ।

जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ । जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन् ।

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् । गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

अझै एक साता शेयर कारोबार नहुने

काठमाडौँ – जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।

“धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।

पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइने एमालेका ३२ वटा केन्द्रीय विभागको प्रतिबद्धता

काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् ।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन् । “एमालेलाई हालको जेन–जीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ”, अपिलमा भनिएको छ ।

विभागले जेन–जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताउनुभयो । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछाँै । आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ ।