स्तन क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’
काठमाडौं । जीवनको सबैभन्दा कठिन मोडमा उभिएकी छन् ज्ञानी शाही । बर्दिया राजापुर घर भएकी शाही तीन वर्षदेखि स्तन क्यान्सर भएर संघर्ष गरिरहेकी उनी हरेक दिन पीडा, आशा र निराशाको बीचमा आफ्नो अस्तित्व बचाउन लडिरहेकी छन् ।
एक दिन अचानक थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो क्षण उनका लागि सामान्य खबर थिएन, जीवन नै भत्किएको अनुभूति थियो । ‘आकाशबाट खसेजस्तो भयो,’ उनी भन्छिन्, ‘त्यो बेला लाग्थ्यो म नै छैन, मेरो जीवन नै समाप्त भयो ।’
त्यसपछि सुरु भयो निरन्तर उपचारको यात्रा अस्पताल, औषधि, पीडा र खर्चको अन्तहीन चक्र । सुरुवातमा आफैंले जति सकिन्छ त्यति गर्दै आइन् । तर समयसँगै खर्च बढ्दै गयो, र अहिले अवस्था यस्तो आइपुगेको छ कि उपचारलाई निरन्तरता दिन पनि असम्भवजस्तै भएको छ ।
उनले भनिन्, ‘यस्तो भएको तीन साल भइसक्यो । एक्कासी थाहा भएको हो स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो अवस्था सम्झिँदा साध्य नै छैन । उपचार त भइरहेको छ । अहिलेसम्म त खर्च आफैंले जुटाएको हो । अब खर्च धान्न नि सकिरहेको अवस्था छैन । सहयोग नभएर नै सहयोगको याचना लिएर मिडियामा आएको हुँ ।’
हरेक हप्ता उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता छ । शरीर कमजोर हुँदै गएको छ, तर बाँच्ने चाहना अझै मरेको छैन । उनी अझै पनि आशामा छिन् सायद कसैले देख्ला, बुझ्ला, र हात थाम्ला ।
उनको छिमेकीहरू पनि चिन्तित छन् । ‘उहाँको अवस्था अत्यन्त नाजुक छ,’ छिमेकी तुलबहादुर शाही भन्छन्, ‘हामीसँग पनि धेरै सहयोग गर्ने क्षमता छैन । त्यसैले सबैलाई अपिल गर्छौं सानो भए पनि सहयोग गरिदिनुहोस् ।’
तुलबहादुर शाहीले देश विदेशमा रहेका सबैलाई थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् ।उनले भने, ‘पीडित मेरो छिमेकी बहिनी हो । आर्थिक समस्या भएका कारणले गर्दा अलिकती केही सहयोग हुन्छ की भनेर हामी मिडियामा आएका हौं । हप्तामा एकचोटी किमो चढाउनुपर्छ । कतैबाट सहयोग हुँदैन । मिडियाकै माध्यमबाट भए पनि उहाँको जीवन रक्षाको लागि केही हुन्छ की भनेर अपिल गर्न आएका हौं । बहिनीको स्थिति एकदमै नाजुक छ । देश विदेशमा रहनु भएका सबैले थोरै भएपनि सहयोग गर्दिनुहोला । सम्पूर्णले सहयोग गरिदिनु भयो भने उहाँको जीवन बचाउन सक्छौं ।’
ज्ञानी शाही एक व्यक्तिको पीडा होइन, यो एउटा यस्तो संघर्ष हो । जहाँ आशा अझै बाँकी छ । मानवीयतामा विश्वास अझै जीवित छ । यदि हामी सबैले सानो–सानो साथ दिन सक्यौं भने, सायद उनको जीवनमा फेरि उज्यालो फर्कन सक्छ ।
