अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काबुल। अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्।मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएकोे छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ।“मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,” अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भन्नुभयो ।
प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् ।पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर अन्य बालबालिकासँग खेलिरहेका एक बालकको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।
सोही प्रान्तका विभिन्न जिल्लामा डुबेर थप दुई बालबालिकाको मृत्यु भएको छ ।दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।
