युक्रेनमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु, १९ घाइते
युक्रेन। युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ। यस्तै, हमलामा १९ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताए। उहाँले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था ‘गम्भीर’ रहेको बताए। उत्तरपूर्वी सहर खार्किवमा शनिबार भएको घटनाको क्षेत्रीय प्रहरीले समेत पुष्टि गरेको छ।
युक्रेनी वायु सेनाले रूसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ। उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
युक्रेनी आपतकालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो। रूस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिबार अन्कारा पुगेको जनाइएको छ। यसअघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो ।गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशहरूको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।
